सप्रसंग सत्यमोहन- कोसेली - कान्तिपुर समाचार

सप्रसंग सत्यमोहन

पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेजस्तै ‘तिनका साना दुःखले आर्ज्याको नाम होइन– सत्यमोहन जोशी’ ।
सत्यमोहन जोशीको आत्मकथा जरुर हो यो, तर एक व्यक्तिको भोगाइको माध्यमबाट एउटा युग दर्साउने किताब हो । पूरापूर एक सय दुई वर्ष समयको चलचित्र एउटै किताबमा हेर्ने पाइन्छ ।
सरस्वती प्रतीक्षा

त्यसो त जीवन र मृत्यु सँगसँगै हिँड्छन् । मृत्युभन्दा जीवन अगाडि हिँड्दासम्म केही फरक पर्दैन, तर जीवनभन्दा मृत्यु एक कदम अगाडि हिँड्नासाथ मान्छेको कथामा पूर्णविराम लाग्छ । मान्छेको मात्रै होइन, चराचर जगत्का सम्पूर्ण प्राणीहरूको कथामा पूर्णविराम लाग्छ ।

चाखलाग्दो कुरा त के भने १०२ वर्ष बाँचेका व्यक्तिको आत्मकथाको किताब कलिलो उमेरमा हुन लागेको उनको आफ्नै मृत्युको कथाबाट सुरुवात हुन्छ । किताबको पहिलो वाक्य नै ‘मृत्युशय्यामा म छटपटाइरहेको थिएँ’ भन्ने छ । । कहिल्यै काठमाडौं उपत्यका नछोडेका सत्यमोहन जोशी जागिरको सिलसिलामा पहिलो पटक तनहुँ र लमजुङतिर खटाइन्छन् । त्यही बेला औलो लागेर तनहुँको विकट गाउँमा इन्तु न चिन्तु भएर मृत्युलाई कुरिरहेका हुन्छन् । आफूजस्तै औलोको सिकार भएका उनका एक सहयोगीलाई गाउँलेहरूले मृत घोषित गरेर शरीर तल खोलामा फाल्न पठाइसकिएको थियो । यस्तो बेलामा अधकल्चो सास कसरी फेरिरहेका हुँदा हुन् उनी ?

कथाले पल्टा त्यतिबेला खान्छ, जब उनको मृत भनिएको साथी ज्युँदै रहेछ भनेर खोलाबाट फिर्ता ल्याइन्छन् । भाग्यवश उपचारको टोली आइपुग्छ र सत्यमोहन पनि मृत्युको शय्याबाट जीवनको शय्यातर्फ फर्कन्छन् ।

यसरी मृत्युको कथाबाट सुरु भएको सत्यमोहन जोशीको आत्मकथाको किताब ‘सत्यमोहन’ जीवनका कथैकथाहरूले भरिएको छ । गिरीश गिरीको लेखन/सम्पादन रहेको यस किताबमा जम्माजम्मी ३१ अध्याय छन् । ‘जुरेली चरी’ नामक अध्यायबाट सुरु गरेर ‘जुरेली दर्शन’ नामक अध्यायमा टुंगिएको छ किताब । कसैलाई गैरआख्यानमा आख्यानको स्वाद लिन मन लागिरहेको छ भने ‘सत्यमोहन’ उपयुक्त किताब हुन सक्छ । प्रत्येक अध्याय छुट्टाछुट्टै पढ्दा छुट्टाछुट्टै कथाहरू पढेजस्तो लाग्छ । सबै किताब पढिसक्दाचाहिँ एउटा सिंगो र रोमाञ्चक उपन्यास पढेजस्तो आभास हुन्छ ।

संस्कृतमा एउटा भनाइ छ– दैवो दुर्बलघातक : अर्थात् दैवले पनि दुर्बललाई नै मार्छ । चार्ल्स डार्विनको विश्वप्रसिद किताब ‘द ओरिजिन अफ स्पिसिज’ मा वर्णित सिद्घान्त ‘सरभाइभल अफ द फिटेस्ट’ को आशय पनि लगभग उही र उस्तैउस्तै छ– जो आफूलाई विद्यमान परिस्थितिमा फिट राख्न सक्छ, त्यो मात्रै जीवित रहन्छ । ‘सत्यमोहन’ किताब पढिरहँदा सत्यमोहनको सबैभन्दा ठूलो खुबीचाहिँ जहाँ गयो, त्यहीअनुसार आफूलाई ढालेर, भिजेर, रमाएर बाँच्न सक्ने बचाइको कला हो भन्ने लाग्छ । डार्विनको ‘सरभाइल अफ द फिटेस्ट’ का गज्जबका उदाहरण हुन् सत्यमोहन । काठमाडौंको रैथाने नेवार, जसलाई दस वर्षको उमेरसम्म त नेपाली बोल्न पनि आउँथेन, जब ऊ तनहुँ र लमजुङका अनकन्टार डाँडाहरूतिर जान्छ, ऊ त्यहीँको लोकगीत र लोकनृत्यका मिठासहरूमा रमाउँछ । अनुसन्धानका सिलसिलामा जब कर्णालीको सिञ्जामा पुग्छ, त्यहाँको अभाव र विकटताको रङलाई तुरुन्तै आफ्नो रङ बनाएर सधैंको कर्णालीवासी नै हो कि झैं गरी बाँच्न सुरु गर्छ । पहिले कहिल्यै कुनै नेपाली नपुगेको नयाँ देश न्युजिल्यान्डमा जब पहिलो पटक पाइला टेक्छ, फर्कने बेलासम्म त त्यहीँको बल डान्स गर्दै झुम्ने भइसकेको हुन्छ । चीन जाँदा त्यहीँको चिनियाँले झैं चिनियाँ संस्कृतिको केस्राकेस्रा केलाएर आफैँलाई अझ उन्नत बनाउँछ । यसरी सत्यमोहन जोशीको आत्मकथा पढ्दा थाहा लाग्छ– आफू जहाँ गयो, त्यहीँको भएर बाँच्न सक्ने, तर आफ्नो मौलिकता र संस्कृति कहिल्यै नभुल्ने एक आदिवासी विम्ब हुन्, सत्यमोहन जोशी ।

आजकल नाम कमाउन काम गर्ने, अझ भनौं काम गरेजस्तो गर्नेहरूको भीड छ । सत्यमोहन जोशी भने काम गरेर नाम कमाएका व्यक्ति हुन् । पृथ्वीनारायण शाहले ‘मेरा साना दुखले आर्ज्याको मुलुक होइन’ भने जस्तै ‘तिनका साना दुखले आर्ज्याको नाम होइन सत्यमोहन जोशी’ । उनको आत्मकथा पढेपछि यो थाहा लाग्छ । हिजोका दिनमा कलासंस्कृतिको क्षेत्रमा आफ्नो बलबुताले भ्याएसम्म दुःख र मिहिनेत गरेकैले आज सत्यमोहन भन्नासाथ श्रद्घाले जो कोहीको शिर निहुरिन्छ । युनेस्कोले ‘जिउँदो मानव सम्पदा’ का रूपमा उनलाई अभिलेखीकरण गरेको छ । नेपाल सरकारले शताब्दी पुरुषको उपाधि दिएको छ । सरकारले सम्मानमा उनको तस्बिरअंकित हुलाक टिकट प्रकाशित गरेको छ । नेपालको कला, साहित्य, संस्कृति, इतिहास, दर्शन आदिका सवालमा उनी आफैँमा एक इन्साइक्लोपेडिया हुन् ।

मदन पुरस्कारसित जोडिएका सत्यमोहनका अनौठा संयोग र किस्साहरू पढ्न पाइन्छ किताबमा । नेपालकै इतिहासमा पहिलो पटक मदन पुरस्कार पाउने व्यक्ति मात्र होइनन्, तीन–तीन पटक मदन पुरस्कार पाउने ऐतिहासिक रेकर्ड पनि यिनले रचे । ‘हाम्रो लोक संस्कृति’ (२०१३), ‘नेपाल राष्ट्रिय मुद्रा’ (२०१७), ‘कर्णाली लोक संस्कृति’ (२०२८)– यसरी तीन–तीन पटक नै अनुसन्धानात्मक पुस्तकका लागि मदन पुरस्कार पाएका सत्यमोहन जोशीका यी किताब लेख्दाका संघर्ष र मिहिनेतको इतिवृत्ति समेटेएिको छ आत्मकथामा । कर्णाली क्षेत्र आज त विकट मानिन्छ, त्यहीमाथि उतिबेलाको कर्णालीको सिञ्जा ! आजभन्दा कैयन् वर्षअघि त्यो क्षेत्र पुगेर त्यहाँको कलासंस्कृितबारे अनुसन्धान गर्नु चानचुने कुरै थिएन । त्यत्रो दुःख उठाएर र ज्यानकै जोखिम मोलेर भए पनि उनले कसैले नगरेको काम गरिछाडे । नेपाली मुद्राजस्तो रूखो विषयमा अनुसन्धान गरेर किताब निकाल्ने काम पनि यिनैले गरे । पुरातत्त्व र संस्कृति विभागका पहिलो निर्देशकका रूपमा काम गरेर पुरातात्त्विक क्षेत्रमा खास भूमिका खेले । संग्रहालयहरू निर्माणमा अहोरात्र खटे । ‘फर्केर हेर्दा’, ‘बाघभैरव’ जस्ता चर्चित नाटकहरू लेखेर नाटककार अवतारमा पनि उत्तिकै अब्बल साबित भए । उतिबेलाको राष्ट्रिय नाचघर र अहिलेको सांस्कृतिक संस्थानको परिकल्पना तथा स्थापना सत्यमोहनकै दृढ इच्छाशक्तिको नतिजा हो । पूजाकोठाभित्र मात्रै अभ्यास गरिने चर्या नृत्यलाई सार्वजनिक स्थलहरूमा प्रदर्शनका निम्ति निकाल्न पनि यिनैले पहल गरे र सफल भए ।

रोचक त के भने उतिबेला ‘साहुको भ्वाङ’ अथवा ‘साहुको खोर’ भनेर चिनिने पोखरास्थित बाटुलेचौरको गुफामा पहिलो पटक मानव पाइला टेक्ने पनि सत्यमोहन जोशी नै हुन् (किताबमा दाबी गरिएअनुसार) । आज त्यही गुफा महेन्द्र गुफाको नामले चर्चित छ ।

यसरी ‘सत्यमोहन’ किताबमा सत्यमोहनले गरेका उल्लेखनीय कामहरूको लामो फेहरिस्त पाउन सकिन्छ ।

सत्यमोहन जोशीको जीवनको एउटा अर्को महत्त्वपूर्ण पाटो जुरेली दर्शन पनि हो, जुन विषयलाई किताबमा निकै प्राथमिकताका साथ दर्साइएको छ । भागवत गीताका अनुसार, दत्तात्रयका २४ गुरुहरू थिए र ती प्रत्येक गुरुहरूबाट उनले एउटा एउटा ज्ञान हासिल गरेका थिए । दत्तात्रयका २४ गुरुमध्ये दुइटाचाहिँ चराहरू थिए, एउटा परेवा र अर्को कुरर । २४ गुरु बनाउने दत्तात्रयका नाममा भक्तपुरका राजा यक्ष मल्लले इसं १४७० मा भक्तपुरमै प्रख्यात दत्तात्रय मन्दिर बनाए । त्यसको ४५१ वर्षपछि पाटनमा जन्मिएका सत्यमोहनचाहिँ आफ्नो एउटा मात्रै गुरु रहेको मान्छन् र उक्त गुरु जुरेली चरा हो भन्छन् ।

यहाँनेर सामञ्जस्यता के भने दत्तात्रयले ‘लोभलाग्दो वस्तुको संग्रह गर्‍यो भने ज्यान जोखिममा पर्छ । संग्रहबाट होइन, त्यागबाट मुक्ति पाइन्छ’ भन्ने कुरा कुरर चराबाट सिके । जुरेली चराबाट पनि सत्यमोहन जोशीले उस्ताउस्तै कुरा सिके । मायामोह अनि चिन्ताबाट मुक्त भएर जुरेली चराजस्तै रमाएर बाँच्ने, कुनै पनि चीजमा आशक्त नहुने, लोभलाचन नपाल्ने । यही दर्शनलाई नाम दिए– जुरली दर्शन । यति लामो आयु बाँच्नुका पछाडि जुरेली चराले जस्तै हिजोको तनाव र भोलिको सुर्ताबिनै वर्तमानमै रमाएर बाँच्ने उनको कला पनि हो भन्नेमा कुनै शंका छैन ।

भनिन्छ, सय वर्ष बाँचेपछि एउटा मान्छे मान्छे रहँदैन, देवता हुन्छ । यस अर्थमा सत्यमोहन पनि एक ‘देवता’ नै हुन् । देवता पनि आफैँमा पूर्ण त कहाँ हुन्छ र ? देवताको पनि आफ्नो शक्ति र सीमा हुन्छ । सत्यमोहन जोशीको आत्मकथा पढ्दा उनका शक्तिहरूसित साक्षात्कार भइन्छ, तर उनका कमजोरीबारे तपाईं फिटिक्कै कतै केही थाहा पाउन सक्नुहुन्न । आत्मकथा भनेको कन्फेसनको किताब पनि हो । सत्यमोहनका उपलब्धिबारे किताबमा जति वर्णन पाइन्छ, उनका सीमा र कमजोरीबारे एउटा पनि कन्फेसन नहुनुचाहिँ अलि उदेकलाग्दो कुरा हो । १०२ वर्षको लामो आयु बाँच्दासम्म कतै न कतै त पक्कै चुकेका थिए होलान् उनी । कुनै न कुनै अक्षम्य गल्ती वा अपराध गरेका थिए होलान् जानी–नजानी । कुनै न कुनै लोभलालच र मोहले कतै न कतै बहकिएका थिए होलान् पक्कै । आत्मकथाको किताबमा आफ्ना कमजोरीबारे फिटिक्कै नबोल्नु सत्यमोहनको ‘असत्यमोहन’ अवतार हो । सत्यमोहनको त्यो ‘असत्यमोहन’ अवतारसित यो किताबमा जोकोही ठोक्किन सक्छ ।

गिरीश गिरीको लेखन/सम्पादन रहेको यस किताबमा सम्पादकले जति मिहिनेत गर्नुपर्ने हो त्योचाहिँ अलि नगरेको आभास हुन्छ । जति समय दिएर किताब काँटछाँट गर्नुपर्ने हो, त्यो काँटछाँटमा अलि जाँगर नदेखाएको स्पष्ट देखिन्छ । कतिपय प्रसंग र घटनाको पुनारावृत्ति छ किताबमा । गिरीशको भनाइअनुसार, पुस्तक लेखनको मूल स्रोत रेकर्ड गरिएका वार्ता नै हुन् । यसरी हेर्दा आफ्नो आत्मकथा भन्ने क्रममा सत्यमोहन जोशीले सरसर्ती जे बोले, त्यसलाई जस्ताको तस्तै यो किताबमा उतारे कि त गिरीले ?

जीवनी र आत्मकथाबीचको फरक के भने जीवनीमा जीवनीकारले उपलब्ध स्रोत र साधनको सीमामा बाँधिएर लेख्नुपर्छ । आत्मकथामा भने लेखकसित लेख्नलाई खजानाको कनै कमी हुँदैन । ‘सत्यमोहन’ नामक आत्मकथामा सत्यमोहनले आफ्नो सम्पादकलाई जीवनी लेख्न पर्याप्त सूचना दिए, तर आत्मकथा नै लेख्नका लागि पर्याप्त अनुभव र अनुभूतिको पोको इमानदारीपूर्वक फुकाएनन् कि त ! नइ प्रकाशनले यसअघि नै सत्यमोहनको जोशीको जीवनीपरक पुस्तक प्रकाशन गरिसकेको छ, जुन अंग्रेजीमा अनुवाद भएर पनि आइसकेको छ । अनिल पौडेलको सम्पादनमा ‘जुनेली दर्शन’ नामक अनुसन्धानात्मक किताब पनि यसअघि नै बजारमा आइसकेको छ । जीवनीपरक ती किताबहरूमा भन्दा फरक, मौलिक र यसअघि नसुनिएका विषय के आए यो आत्मकथामा ? कुनै पाठकले यो प्रश्न सोधे स्वयम् आत्मकथाकार र सम्पादकले के जवाफ देलान् कुन्नि ?

सबैभन्दा खड्किने विषयचाहिँ सत्यमोहनले जुन दर्शनलाई जुरेली दर्शन भनेका छन्, त्यो आफैँमा दर्शन बन्नलायक कुरा हो कि होइन भन्ने प्रश्न हो । भूत, वर्तमान र भविष्यको चिन्ता नलिई, वस्तुहरू संग्रह नगरी उडीउडी हिँड्ने त हर चराको प्राकृतिक गुण नै हो । यस्तोमा जुरेली चरा होस् वा धोबीचरा, कोइली होस् वा काँडेभ्याकुर, जलेवाहरू हुन् वा साँवरीहरू, जुन चराको नाम लिँदा पनि के फरक पर्छ र ? ८८६ प्रजातिका चरा पाइने देश नेपालमा जुरेली चराको नैसर्गिक स्वभावलाई दर्शनको नाम दिनु उपयुक्त हुन्छ र ? दर्शनले त अलि माथिल्लो स्तरको बौद्घिक अभ्यास, सारतत्त्व र चिन्तनको माग गर्छ ।

यी सबका बावजुद सत्यमोहनको आत्मकथा लेखेर गिरीश गिरीले किताब मात्रै लेखेनन्, एउटा लामो कालखण्डको सामाजिक, सांस्कृतिक, साहित्यिक, आर्थिक हर पक्षको ऐतिहासिक दस्तावेज तयार पारेका छन् । यो ऐतिहासिक कामका लागि उनको जति नै तारिफ गरे पनि कमै हुन्छ ।

सत्यमोहन जोशीको नाम सुनेको, तर उनीबारे खासै जानकार नभएको जोकोहीका निम्ति यो किताब आफैँमा जानकारीको कारखाना हो । ठोस काम गर्न अल्छी लागिरहेका बेला कसैले यो किताब पढ्यो भने उसका जाँगरका सबै पाटपुर्जा आफैँ चलमलाउन थाल्छन् ।

‘सत्यमोहन’ किताब पढेर कसैले सत्यमोहन जोशी भन्ने एउटा संस्कतिकर्मीलाई मात्र बुझेँ भन्छ भनेचाहिँ त्यो गलत भन्छ । ‘सत्यमोहन’ पढेर कसैले सत्यमोहन जोशी भन्ने साहित्यकार वा अन्वेषकलाई मात्र बुझेँ भन्छ भने गलत भन्छ । ‘सत्यमोहन’ सत्यमोहन जोशीको आत्मकथाको किताब जरुर हो, तर यो एक व्यक्तिको भोगाइको माध्यमबाट एउटा युग दर्साउने किताब हो । पूरापूर एक सय दुई वर्ष समयको चलचित्र एउटै किताबमा हेर्ने मन भए ‘सत्यमोहन’ किताबका पाना पल्टाउँदा हुन्छ ।

प्रकाशित : वैशाख १७, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

उमेर गोडा चालीस

एउटा नेपाली कामदारले विदेशमा पसिना मात्रै बगाउँदैन, बैंस र बैंसका धेरै रहर बगाउँछ । उमेर र उमेरका अनगिन्ती हिस्सी बगाउँछ । अधुरो पिरतीको अधुरो अध्याय बाँचेर यादहरूको सिंगो हिमनदी बगाउँछ । आफ्ना केही थान खुद्रा सपनाहरू किन्ने ध्याउन्नमा थोकमा आफैंलाई बगाउँछ ।
सरस्वती प्रतीक्षा

केही समयपहिले एउटा गीतले तहल्का मच्चाएको थियो । हिमाल साउदको शब्द र कालीप्रसाद बाँस्कोटाको सङ्गीतमा हेमन्त रानाले गाएको ‘सुन साइँली चालीस कटेसि रमाउँला’ यसको मर्म र मर्मको गहिराइका कारण धेरैको प्रिय गीत बन्न पुगेको थियो । गीत सुन्दा सामान्यजस्तो लागे पनि यो गीतपछाडि सामाजिक, मानसिक, मनोवैज्ञानिक, शारीरिक, आर्थिक, सांस्कृतिक सबैखाले संवेदनाको मिश्रण घुलित छ ।

विदेशमा काम गर्दा एउटा नेपाली कामदारले पसिना मात्रै बगाउँदैन, सँगसँगै बैंस र बैंसका धेरै रहर बगाउँछ । उमेर र उमेरका अनगिन्ती हिस्सी बगाउँछ । अधुरो पिरतीको अधुरो अध्याय बाँचेर यादहरूको सिंगो हिमनदी बगाउँछ । आफ्ना केही थान खुद्रा सपनाहरू किन्ने ध्याउन्नमा थोकमा आफैंलाई बगाउँछ ।

‘सुन साइँली’ मा भनेजस्तै चालीस कटेपछि मान्छे साँच्चै रमाउन सक्छ कि सक्दैन ? चालीस कटेपछि रमाउनका लागि मान्छेका तनमनका अवयवहरूले साथ देलान् किन नदेलान् ? चाहना आफैं चाउरिन थालेमा के गर्नु ? आफ्नै रहर र उत्तेजनाका पार्टपुर्जाहरूमा खिया लागे के गर्नु ? विदेशीहरूले ‘लाइफ बिगिन्स एट फोर्टी’ भन्ने गरे पनि एउटा औसत नेपालीका लागि चालीसको उमेरले उदयको संकेत गर्छ कि अस्ताचलको ? यी र यस्ता अनगिन्ती प्रश्न मनमा उठ्छन् ‘सुन साइँली’ गीत सुनिसकेपछि ।

चालीस टेक्नु भनेको उमेरको एउटा खुड्किलोमा मात्रै टेक्नु हो भनेर कसैले सोच्छ भने ऊ गलत सोच्छ । चालीस केवल उमेर होइन, संक्रमणकालीन उमेरको प्रवेशद्वार पनि हो । आउनुहोस्, एकै छिन हामी पनि यही प्रवेशद्वारभित्र छिरौं ।

साथीहरूका कुरा

उमेरको कुरा गर्दा अहिले मैले ठ्याक्कै चालीसको संघारमा टेकेँ । मेरा अधिकांश साथी चालीसको संघारमा छन् । कसैले यो संघार टेकिसके । कसैले छिट्टै टेक्नेवाला छन् ।

अचम्मलाग्दो कुरा त के भने यतिका वर्षदेखि एउटै स्वभाव र मुडमा देखेका मेरा सबैजसो साथीमा एकाएक परिवर्तनको महसुस भइरहेको छ मलाई । हिजोसम्म रमाइलोको मुडमा हुने साथीहरूलाई अहिले अचानक गम्भीर मुडमा देख्छु । हिजोसम्म मनमौजी भएर हिँड्ने साथीहरूलाई अहिले अचानक टक्क अडिएर के–के–के–के–के सोचिरहेको भेट्छु । हिजोसम्म सुस्त–सुस्त बौद्घिकताको बाटामा हिँड्न रुचाउने साथीहरूलाई अहिले अचानक उपलब्धिको चिन्ताले रनाहामा परेको देख्छु ।

कोही ‘जीवन सकी त सक्यो अब’ भन्दै बैराग्यको बाटामा देख्छु । कोही शान्त पनि यति शान्त कि बुद्घत्वको बाटोमा देख्छु । म आफैँमा आएको परिवर्तनजस्तै धेरैमा एकाएक परिवर्तन देख्छु ।

उमेरले चालीस कटेपछि मान्छे साँच्चै रमाउन सक्छ कि सक्दैन ? त्यसबेला रमाउनका लागि मान्छेका तनमनका अवयवले साथ देलान् किन नदेलान् ? चाहना आफैँ चाउरिन थालेमा के गर्नु ? आफ्नै रहर र उत्तेजनाका पार्टपुर्जाहरुमा खिया लागे के गर्नु ? विदेशीहरुले ‘लाइफ बिगिन्स एट फोर्टी’ भने पनि एउटा औसत नेपालीका लागि चालीसको उमेरले उदयको संकेत गर्छ कि अस्ताचलको ?

भर्खरै मात्र एसोसिएट प्रोफेसर बनेका साथी डा. रेशम थापा केही समयअघिको भेटमा भन्दै थिए, ‘चालीस लागेपछि अचानक साथीसंगी सबैबाट एक्लिँदै जाँदोरहेछ मान्छे । हिजोसम्म भेट हुने ठाउँहरू र भेटिने साथीहरू सब कताकता छुट्दा रहेछन्, बिराना बन्दा रहेछन् । आफू अधिकतर समय आफैंसँग रह्यो, आफैंसँग संवाद गर्‍यो अनि रमायो । थाहै नपाई जिन्दगीको घेरो साँघुरो बन्दै जाँदोरहेछ ।’

रेशमले भनेजस्तै चालीसमा आएर साथी र संगतको घेरोसँगै जिन्दगीको घेरो बढी नै साँघुरिँदै आएको प्रत्यक्ष महसुस गर्छु म पनि । यस्तो किन भएको होला भन्ने एउटा प्रश्नमा दर्जनौं जवाफ भेट्छु फेरि । सबै साथीलाई यतिबेला कमाउन र सेटल हुन हतारो छ । एउटा मात्रै काम कसैले गरिरहेकै छैन । एकसाथ सबै जना दुई, तीनवटा काममा लागेका छन् । बिहान प्राध्यापकको भूमिकामा भए दिउँसो सेयर बजारको ट्रेडर, साँझ उही फेरि ट्युसन टिचर । बिहान कुनै कोचिङ सेन्टरको सञ्चालकको भूमिकामा, दिउँसो उही मार्केटिङ म्यानेजर, बेलुका फेरि पत्रकार । बिहान कुनै कलेजको पार्ट टाइम लेक्चररको भूमिकामा भए दिउँसो कुनै कर्पोरेट हाउसको मालिक, साँझ फेरि उही कुनै दलको नेताको अघोषित स्वकीय सचिव । प्रोफेसनल्ली धेरैलाई यहाँ एउटै प्रोफेसनमा देख्दिनँ । कुनै कारणवश बिहे नभएको भए अब बिहे गर्न एकदम ढिलो भइसक्यो भन्ने मानसिक दबाब, पारिवारिक दबाब ! बिहे भइसकेको भए छोराछोरी टिनएजमा प्रवेश गरिसकेका वा गर्न लागेका हुनाले सबलाई सहरमा एउटा घर तुरुन्त बनाएर बस्नुपर्ने हतारो ! त्यसैले प्राथमिकतामा साथीभाइ र सृजनशीलताका कुराभन्दा आम्दानीका स्रोतहरू पर्ने ! जुन क्षेत्रमा आफू छ, त्यहाँ खास परिचय स्थापित गर्नुपर्ने टड्कारो आवश्यकताले पनि सबै हतासिएका जस्ता देखिन्छन् । उमेर अब बुढेसकालतिर ढल्किन लाग्यो भन्ने मनोविज्ञानले मान्छे पहिले जस्तो रहन सक्दैन रहेछ ।

त्यहीमाथि आफूभन्दा अघिल्लो पुस्ता बढी नै बूढो लाग्ने र संगत गर्न मन नलाग्ने ! आफूभन्दा पछिल्लो पुस्ता बढी नै कच्चा लाग्ने र घुलमिल हुन नसक्ने ! आफूभन्दा वयस्कहरू पनि फुर्सदमा देखिने र डाहा लाग्ने, आफूभन्दा कनिष्ठ मनमौजी देखिने र डाहा लाग्ने ! आफूजस्तो त कोही नदेखिने ! चालीस र चालीस सेरोफेरोको उमेर वास्तवमै मनोवैज्ञानिक रूपले संक्रमणकालीन उमेर रहेछ ।

मेरो अर्को एउटा साथी छ, जो सामाजिक सञ्जालमा कडाकडा स्टाटस लेखिबस्छ । कुनै यस्तो सामाजिक विषयवस्तु, घटना वा मुद्दा नै हुँदैन, जसमा उसले आफ्नो राय व्यक्त नगरेको होस् । रायभन्दा असन्तोष बढी ! असन्तोषभन्दा आक्रोश बढी ! आक्रोशभन्दा गाली बढी ! दिनमा तीन–चारवटा स्टाटस लेखिबस्नु त सामान्य हो उसका लागि । त्यसैको सवाल–जवाफमा लामालामा कमेन्टमा पनि उत्तिकै सक्रिय रहन्छ । एक दिन कुरैकुरामा मैले उसलाई भनेँ, ‘तिमी किन हरेक कुरामा बोलिरहेको हुन्छौ ? विवाद गरिरहेको हुन्छौ ? एउटा मान्छेले सबै विषयमा बोल्नैपर्छ भन्ने नि हुँदैन । कहिलेकाहीँ रिजर्भ बस्नु नि ! आफ्नो ऊर्जा पनि जोगिन्छ ।’

मेरो कुरामा उसले एउटा इमानदार स्वीकारोक्ति पोख्यो र भन्यो, ‘उमेरले चालीस टेकेपछि मान्छे एकदमै हडबडाउँदो रहेछ सरस्वती । मैले खास केही काम नै गरेको छैन भन्ने आभास हुँदोरहेछ । केही न केही गरेर हस्तक्षेपकारी भूमिकामा देखिनुपर्छ भन्ने लाग्दोरहेछ । यस्तोमा सुस्तरी बोल्दा अरूले नसुन्लान्, आफूलाई नजरअन्दाज गर्देलान् र भीडमा आफू हराउँला भन्ने डरले सताउँदोरहेछ । यही डरका कारण सुरुसुरुमा सामाजिक सञ्जालमा चर्कोचर्को बोल्ने बानी लाग्यो । अहिले आफ्नो त्यही बानीको बानी लागेको छ मलाई । म नबोली बस्नै सक्दिनँ अचेल ।’

चालीसको उमेरमा देखा पर्ने अर्को समस्या भनेको आइडेन्टिटी क्राइसिस पनि रहेछ । अहिले मेरा कतिपय साथीहरू त्यही आइडेन्टिटी क्राइसिसको सिकार भएका छन् । परिचय स्थापित गर्ने दौरानमा धेरै जना आवश्यकताभन्दा बढी चर्को हुँदै गएका छन् । ‘आवाज’ हुनुपर्नेमा फगत ‘हल्लाको कारखाना’ भएका छन् ।

चालीसको उमेर नै यस्तो हो, जति नै शान्त मान्छे पनि एक पटक अशान्त हुन पुग्छ, जति नै नडराउने मान्छे पनि एक पटक डराउन पुग्छ, जति नै मनमौजी मान्छे पनि एक पटक हड्बडाउन पुग्छ । फेरि केही समयपछि हरेक व्यक्तिको कि चरम ठहरावको यात्रा सुरु हुन्छ, कि चरम असन्तोष र अस्थिरताको ।

आफ्नै कुरा

हरेक मान्छेका तीनवटा उमेर हुन्छन् । पहिलो कालानुक्रमिक उमेर, दोस्रो जैविक उमेर र तेस्रो मानसिक/मनोवैज्ञानिक उमेर । एउटा मान्छेको जिन्दगीमा यी सबै उमेर एउटै र उस्तै हुनुपर्छ भन्ने छैन । कालानुक्रमिक उमेर र जैविक उमेर लगभग उस्ताउस्तै रहे पनि मेरो मानसिक उमेर कहिले सुल्टो गतिमा अघि बढ्यो, कहिले उल्टो गतिमा पछि सर्‍यो ।

बाल्यकाल त एउटा सामान्य बच्चाको बाल्यकाल जसरी नै बित्यो । टिनेज सुरु भएको केही वर्ष नबित्दै कविताप्रतिको मोहले मलाई साहित्यकार सरुभक्तकोमा पुर्‍यायो । लगत्तै साहित्यकार सरुभक्त बाबा सरुभक्त बन्नुभयो । बाबाले छोरी मानिसकेपछि र आफ्नी छोरीको साहित्यप्रतिको रुचि र लगाव देखिसकेपछि मेरो रुचि र प्रतिभालाई तिर्खान बाबाले मसित जहिल्यै ठूलाठूला बौद्घिक अनुभव र अनुभूतिका कुरा सेयर गर्नुहुन्थ्यो । मेरो मगजमा अट्ने/नअट्ने सबैखाले पठनका कुरा गर्नुहुन्थ्यो । दिग्गज साहित्यकारसितको आफ्नो उठबस र सान्निध्यको कुरा गर्नुहुन्थ्यो ।

अहिले १६, १७ वर्षका नानीहरू देख्दा यिनीहरू एकदमै कलिला छन्जस्तो लाग्छ । हाँस्ने, खेल्ने, साथीहरूसित रमाइलो गर्ने उमेर यही त होजस्तो लाग्छ । मेरो १६, १७ वर्षको उमेरचाहिँ देश/विदेशका चर्चित कविता, आख्यान र गैरआख्यानका किताबहरू पढेर बित्यो । दर्शनमा पनि विशेष रुचि हुनाले दर्शनका किताब पढेर र बाबासित तिनै दर्शनहरूउपर छलफल गरेर बित्यो ।

अहिले पछाडि फर्केर हेर्दा लाग्छ, जुन बेला मेरा साथीहरू चौरमा बसेर घाम ताप्दै, बदाम र सुन्तला खाँदै उमेरजन्य रमाइला गफ गरिरहेका हुन्थे, त्योबेला म कोठाभित्र बसेर द्वन्द्वात्मक भौतिकवाद, अस्तित्ववाद, मानवतावादजस्ता बोझिला दर्शनमा घोत्लिरहेकी हुन्थेँ । जुन बेला मेरा साथीहरू आफ्ना प्रेमी, प्रेमिकासित घुम्न वा सिनेमा हेर्न गइरहेका हुन्थे, त्योबेला म सार्त्र र सिमोन द बोउआरको अनौठो र अपत्यारिलो प्रेमकथामा भुलिरहेकी हुन्थेँ । यस्तो होइन कि त्यो उमेरमा मैले प्रेम नै गरिनँ । प्रेम त गरेँ, तर त्यो बिलकुलै एकतर्फी अनुराग थियो । म जसलाई प्रेम गर्थें, ऊ अरू कसैसितको प्रेममा थियो । उसलाई त थाहासमेत थिएन कि म उसलाई मन पराउँथें ।

पढाइसँगसँगैको जागिर र खुद्रा लेखन ! विवाह र भावनात्मक रूपमा भिन्नताको आभास ! त्यो बीचमा संवेदनाहरूको यति धेरै तीव्रता महसुस हुन्थ्यो कि त्यसको वेग धान्न म आफैँलाई हम्मेहम्मे पर्थ्यो । हरदिन दुई/तीनवटा कविता लेख्नु र महिनैपिच्छे कविताको डायरी भर्नु त मेरो सोखजस्तै थियो । यो सबका बीच मेरो जवानी कसरी र कहाँ बित्यो ? मैले थाहै पाइनँ ।

तीस कटेपछि एक दिन एक्कासि झसंग भएँ ।

काठमाडौंबाट वाङ्मयिक अभियन्ताहरूको एउटा टोली पोखरा आइपुगेको थियो । त्यो टोलीले पोखराबाट दुर्गा बराल, सरुभक्त, तीर्थ श्रेष्ठ र मलाई भेटघाट, छलफल तथा रात्रिभोजका लागि बोलाएको थियो । भेटघाट र छलफलपछि रात्रिभोज सुरु भयो ।

नपिउने बाबा र बाबाका पिउने साथीहरू ! मैले मित्रवत् मुद्रामा कलाकार दुर्गा बराल र कवि तीर्थ श्रेष्ठसित चियर्स गरेँ र वाइन पिउन थालेँ । त्यो रात वाइन पिउँदा–पिउँदै अचानक मेरो मनमा फरकखालको ख्याल आयो । ‘अरे यार, म त दुर्गा बरालको छोराहरूसित पो बसेर पिउनुपर्ने मान्छे हुँ । तीर्थ श्रेष्ठका छोरीहरूसित पो रमाइलो गर्नुपर्ने उमेरकी केटी हुँ । म सधैं बाबा र बाबाका साथीहरूसित हिँड्दाहिँड्दै कतै यही उमेरमा मानसिक रूपमै वृद्घ त हुँदै जान थालिनँ ?’, पहिलो पटक मलाई दौंतरी उमेरका मान्छेहरूसित संगत गर्ने रहर पलाएर आयो ।

त्यसपछि मेरो संगत आफ्नै उमेरका र आफ्नो उमेरभन्दा सानो उमेरका मान्छेहरूसित हुन थाल्यो । पहिलेपहिले म जसलाई ‘एक कप चिया र एक प्लेट मःमः खाँदै खाइ न पाइका कुरा गर्दै घण्टौं यसै गफ गरेर फाल्छन्’ भनेर सोच्थेँ, उनीहरूसित तिनै छेउ न टुप्पाका, अर्थ न बर्थका खिच्रिङमिच्रिङ कुराहरू गरेर रमाउन थालेँ ।

अनि यस्तो भयो– ३२, ३३ को उमेरबाट मेरो कालानुक्रमिक र जैविक उमेर त ३२, ३३ कै भयो, मेरो मनोवैज्ञानिक उमेरचाहिँ १६, १७ मा फर्कियो । टिनएजमा हिँड्न नपाएका बाटाहरू, देख्न नपाएका सपनाहरू, पूरा गर्न नपाएका रहरहरू र बाँच्न नपाएको त्यो अल्लारे जीवन मैले ३२, ३३ को हाराहारीमा आएर बाँच्न थालेँ । प्रेम पनि यति नखरा, घुर्की र झगडासहितको गरेँ कि ६, ७ वर्षको दौरानमा एउटै मान्छेसित ब्रेकअप नै लगभग ३५० पटक भयो होला र प्याचअप पनि ३५० पटक नै । औसतमा हरहप्तामा एउटा ब्रेकअप र एउटा प्याचअप ! आधा समय रिसाउँदैमा बितिजाने, आधा समय फकाउँदैमा बितिजाने ।

आफूले बाँच्न नपाएको आफ्नो टिनएज आफ्नै जीवनको तीसको दशकमा बाँचेर हेर्दा कम्ता रोमाञ्चक भएन एकएक पल । नदीलाई हेर्दै भावुक भएर नदीका कविताहरू नै लेख्नुपर्छ भन्ने के रहेछ र ? नदीछेउ हिँडिरहेका बेला एक्कासि लुगासहित नै नदीमा हाम फालेर पौडी खेल्दै पनि त जीवनको मज्जा लिन सकिने रहेछ । तालमा मिसिएको मलमूत्र र मिचिएको सीमाको चिन्तालाई छाडेर फेवातालमा खुट्टा डुबाएर डुब्दै गरेको घामलाई हेर्दै मज्जा पनि त लिन सकिने रहेछ । चिन्ता र चिन्तनलाई केही समयका लागि पर हुत्त्याएर कहिलेकाहीँ यतिकै चिल भएर पनि त जिन्दगीलाई अनुभूत गर्न सकिँदोरहेछ । टिनेजरवाला यो बचाइ लगभग ६, ७ वर्ष नै चल्यो ।

यस्तो होइन कि त्यो बीचमा म कहिल्यै गम्भीर नै भइनँ । आफ्नो जैविक उमेर सादृश्यका केही कामहरू पनि गरें । ‘नथिया’ उपन्यास त्यही बीचको सृजना थियो । म एकै समयमा दुई फरक खाले मानसिक उमेर बाँचिरहेकी थिएँ ।

जब चालीस सुरु हुन थाल्यो, त्यसपछि फेरि एक पटक म झसंग भएँ । बिस्तारै मेरा रुचि र प्राथमिकताहरू बदलिन थाले । मान्छेहरूसित बोल्नुभन्दा बोटबिरुवाहरूसित एकोहोरो कुरा गर्नमा रुचि बढ्न थाल्यो । कसरी विकारमुक्त जीवन बाँच्न सकिन्छ भन्नेमा सोच केन्द्रित हुन थाल्यो । बिस्तारै म को हुँ र मेरो वास्तविक खुसी केमा छ भन्ने प्रश्नले सताउन थाल्यो । म बिस्तारै आध्यात्मिक हुँदै जान थालेँ । अल्फा वेभ, बिटा वेभजस्ता तरंगहरूमा रुचि बढ्न थाल्यो ।

म आफैँलाई देखेर आफैँ जिल्ल पर्दै थिएँ– आफूलाई जहिले पनि नव–मार्क्सवादी सोच्ने मजस्तो मान्छे कसरी आध्यात्मिक हुन सक्छ ? जवाफ बिस्तारै मेरो आफ्नै भोगाइले दिँदै गयो । अहिले म पूरै विश्वासका साथ भन्न सक्छु– जुन विन्दुमा मार्क्सवाद र अध्यात्मको सम्मिलन हुन्छ, त्यही विन्दुबाट एउटा सुन्दर जीवनको निर्माण–कथा सुरु हुन्छ । मार्क्सवादले आफू उभिएको धरातल र आफ्नो वरपरको समाजलाई विस्फारित नजरले हेर्न सिकाउँछ र आलोचनात्मक हुन प्रेरणा दिन्छ । अध्यात्मले आफैँभित्रको परिवेशलाई विस्फारित नजरले हेर्न सिकाउँछ र आफूलाई के गर्दा खुसी मिल्छ ? त्यो खुसीको बाटो पहिल्याउन मद्दत गर्छ । धेरैलाई लाग्छ, अध्यात्म धार्मिक कुरा हो । होइन, अध्यात्म त मेटाफिजिकल साइन्स हो । जहाँ विज्ञानको अन्त्य हुन्छ, त्यहीँनेर अध्यात्मको सुरुवात हुन्छ ।

मध्यजीवनको संकट

मिडलाइफ क्राइसिस अर्थात् मध्यजीवनको संकट भन्नु नै चालीस लागेपछि जीवनमा सुरुवात हुने संकट हो । अचानक बोल्दै गरेका साथीहरूसित बोल्न मन लाग्न छाड्नु ! साथीहरूलाई भेट्न मन लाग्न छाड्नु ! जीवनमा मैले केही गर्नै सकिनँ र अब धेरै समय पनि बाँकी छैन भन्ने मानसिकताले निराश–निराश

हुनु ! बिनाकारण हरेक कुराहरूमाथि प्रश्न गर्न मन लाग्नु ! ऐना हेर्दा बिस्तारै चाउरिन थालेको छालाले आफूलाई जिस्क्याएजस्तो लाग्नु ! फुलेको कपाल र पुट्ट निस्केको पेटले आफूलाई खिल्ली उडाएजस्तो लाग्नु ! आफू आफैँलाई मन नपर्दो हुनु ! गरिरहेको कामलाई निरन्तरता दिन मोनोटोनस लाग्नु, तर नयाँ जागिर सुरु गर्न वा नयाँ व्यवसाय सुरु गर्ने जोखिम मोल्ने पनि आँट नहुनु ! दुःखको बिनाकुनै ठोस कारण नै मन दुःखी भइरहनु ! अचानक वर्षौंदेखि पालिराखेको आत्मविश्वास डगमगाउनु ! यसैयसै डर लागेजस्तो हुनु ! मध्यजीवनको मानसिक संकट यस्तै–यस्तै अनुभूतिसहित आउने गर्छ ।

कसैको जीवनमा यो संकट घनीभूत भएर आउला, कसैको जीवनमा यो संकटले पातलो उपस्थिति मात्रै जनाउला, तर चालीसको सुरुवातमा देखा पर्ने मानसिक बेचैनीबाट हरकोही गुज्रेकै हुन्छ । यो बेग्लै कुरा हो कि कसैलाई संकटको महसुस हुन्छ, कसैलाई हुँदैन ।

‘चालीसेले छोयो’ भन्ने नेपाली उखानै छ । ‘चालीसेले छोयो नि ए होइ बूढो भइयो’ भन्ने पूर्वेली लोकगीत पनि छ । चालीसे एउटा यस्तो पुल हो, जुन पुल तर्दै गर्दा जवानी पुलवारि राखेर आफू पुलपारि जानुपर्छ भन्ने आम सोचका कारण पनि मान्छे अनायासै हतास हुनेगर्छ । मेनोपजको भयसँगै बैंस सकिनै लाग्दा अहिले नभोगेपछि आफ्नै शरीरले साथ दिँदैन सोचेर कतिपय स्वास्नीमान्छेले यौन र यौनको फेन्टासीमा असामान्य ढंगले रुचि देखाउन पनि सक्छन् । चालीस कटेपछि स्वास्नीमान्छेको बैंस फेरि एक पटक उर्लिएर आउँछ र क्यारुम् क्यारुम् हुन्छ भनेर यसै त भनिएको होइन । यसका पछाडि गहिरो यौन मनोविज्ञान पनि छ ।

त्यसो त चालीसमा पाइला टेकेपछि अलि बढी अभिनय पनि गर्दोरहेछ मान्छेले । आफू आफैँसँग, आफ्नो जिन्दगीसित दुःखी भइबस्छ, तर आफ्नो दुःख देखाउन पनि चाहँदैन । दुःख छोप्ने सबैभन्दा सजिलो उपाय हो– खुसीको मुकुन्डो पहिरनु ! यसका लागि अधिकांश चालीसेहरूले ‘म खुसी छु’ भनेर देखाउन कुनै कसर बाँकी राख्दैनन् । लाइफ इज ब्युटिफुल ! जिन्दगी रक्स ! डियर जिन्दगी, लभ यु ! भनेर कुनै उमेर तप्काकाले पोस्ट गर्छ भने त्यो सबैभन्दा बढी चालीसेले गर्छ । ऐनामा हेर्दा चाउरिन लागेको आफ्नो छालाले दिक्दार बनाइरहेका बेला जब कसैले आफ्नो फोटोमा ‘तपाईं त कस्तो जवान देखिनुभएको’ भनेर कमेन्ट गर्छ, ऊ यसैयसै मख्ख पर्छ । फेरि–फेरि मख्ख पर्नका लागि फेरि–फेरि एडिट गरिएका फोटोहरू पोस्ट गरिरहन्छ । भ्रम हो भन्ने जान्दाजान्दै मीठो भ्रममा बाँचिरहन्छ ।

मान्छे थाहै नपाई डेल्युजनल डिसअर्डरको सिकार हुने पनि चालीसको सुरुवाती चरणमै हो । डेल्युजनल डिसअर्डर एक प्रकारको मनोरोग हो । यो रोग लागेपछि मान्छे यसैयसै डराउन सुरु गर्छ । आफूलाई ठूलो रोग लाग्दै छ भन्ने डर ! अरूहरूले आफ्नो कुरा गर्दै छन् र आफूलाई हानि गर्ने तयारी गर्दै छन् भन्ने डर ! डरै–डरका बीचमा उत्पन्न आडम्बर ! आवश्यकताभन्दा बढी उन्माद र अनियन्त्रित कामवासना ! चरम शंकालु

प्रवृत्ति ! यी सबै डेल्युजनल डिसअर्डरका लक्षण हुन् । डेल्युजनल डिसअर्डरको समयमै उपचार हुन सकेन भने यसले सम्बन्धित व्यक्तिलाई त हानि गर्छ नै, उसका आसपासका मान्छेहरू पनि मनोसामाजिक हानिको सिकार हुने उत्तिकै सम्भावना रहन्छ ।

मध्यजीवनको संकटमा एउटा मात्रै संकट कहाँ हुन्छ र ? धेरैखाले संकटको एकसाथ सामना गर्न मानसिक रूपमा तयार हुनु जरुरी हुन्छ । सबैखाले ढोङ र आडम्बरबाट आफैँलाई बचाउनु जरुरी हुन्छ ।

धेरैले चालीसको उमेरलाई पतझरको सुरुवातकालीन उमेर माने पनि कतिपयका निम्ति यो उमेर वसन्तको सुरुवातको उमेर पनि हो । धेरैले चालीसको उमेरलाई बैजनी रङको उमेर माने पनि कतिपयका निम्ति यो उमेर नै हरियो रङको उमेर पनि हो । बस्, यो उमेरलाई सम्बन्धित मान्छेले कसरी ग्रहण गर्छ ? धेरै कुरा त्यसमा निर्भर रहन्छ ।

त्यसो त चालीसको उमेरपछि मान्छेले जीवनमा उपलब्धि हासिल गरेका कैयन् उदाहरण हाम्रा माझमा छन् । विश्वप्रसिद्घ लेखक मार्क ट्वेनको पहिलो किताब ‘द एडभेन्चर्स अफ टोम सब्येर’ प्रकाशित हुँदा उनी ४१ वर्षका थिए । अर्का विश्वप्रसिद लेखक फ्रैंक म्याक्कर्टको पहिलो पुस्तक ‘एन्जेलाज एसेज’ प्रकाशित हुँदा उनी त झन् ६६ वर्षका थिए । लेख्नलाई उमेर कहिल्यै बाधक बन्न सक्दैन भन्ने उदाहरणका लागि ह्यारी बर्नस्टेनलाई त झन् कसरी भुल्न सकिन्छ र ? ‘ल इनभिजिल वाल’ का लेखक ह्यारीले ९३ को उमेरबाट लेख्न सुर गरे र ९६ वर्षको उमेरमा पहिलो किताब प्रकाशित गरे ।

केएफसीका परिकल्पनाकार कर्नल सैन्डर्सको संघर्ष र असफलताको कथा पनि कम्ता रोमाञ्चक छैन । जीवनभर अनेकन् काम गर्दा असफलता हात लागेपछि पहिलो पटक केएफसी खोल्दा उनी ६५ वर्षका थिए । रिटायर्ड उमेरमा नयाँ व्यवसाय सुरु गरेका उनको सफलताको कथा सबैलाई थाहै छ । चार्ल्स डार्विनले ‘द ओरिजिन अफ स्पिसिज’ प्रकाशित गर्दा उनी ५० वर्षका थिए । जीवनभर असफल अब्राहम लिंकनले सफलताको स्वाद ५० को उमेरपछि मात्र चाखे । सन् २०१० की सीएनएन हिरो समाजसेवी अनुराधा कोइरालाले ‘माइती नेपाल’ को स्थापना गर्दार् उनी ४४ वर्षकी थिइन् ।

चालीस जीवनको महत्त्वपूर्ण मोड जरुर हो, तर यसलाई सकिनु वा सिध्दिनुको अर्थमा लिन थाल्यौं भने त्यसपछिको जीवन झन् जटिलतातर्फ धकेलिन्छ । कसैले उमेर सोधे ‘जीवन धेरै सकियो, अब थोरै मात्र बाँकी छ, चालीस पुगिसकेँ’ भनेर सुइय सुस्केरा हाल्ने कि ‘चौबीस वर्षको अनुभवसहित मेरो उमेर भर्खरै सोह्र वर्षको भयो’ भनेर मुस्कुराउने ? त्यो आफैँमा भर पर्ने विषय हो ।

चालीसको संक्रमणकालीन सोचनाबाट मुक्तिका लागि कतिपय विद्वान्ले त चालीसका लागि मात्रै पढाइने छुट्टै विश्वविद्यालयको परिकल्पना गरिनुपर्नेमा समेत जोड दिएका छन् । मध्यजीवनको संकटलाई रिब्रान्डिङ गरेर प्रस्तुत गरिनुपर्नेमा पनि कतिपयले राय व्यक्त गरेका छन् ।

मध्यजीवनको संकट केवल उमेरजन्य संकट होइन, यो एक सामाजिक र सांस्कृतिक संकट हो, जसलाई यसै नजरअन्दाज गर्न मिल्दैन । ‘लाइफ बिगिन्स एट फोर्टी’ भनेर जति नै सुन्ने गरे पनि जब कोही चालीसको उमेरमा पाइला टेक्छ, ऊ एक पटक झसंग जरुर हुन्छ । झसंग भएँ योपटक म पनि ।

चालीस नटेक्दासम्म मृत्युको सोचले कहिल्यै सताएन मलाई । पहिले म जीवनलाई औधी प्रेम गर्थें र मृत्युलाई नजरअन्दाज गर्थें । अहिले मृत्युलाई पनि जीवनलाई जत्ति नै प्रेम गर्न सक्ने भएकी छु । बितिरहेका हरदिनलाई मायाले सुम्सुम्याउन सक्ने भएकी छु । रुडयार्ड किप्लिङको ‘इफ’ कविता दिनमा एक पटक पढेर आफैँलाई रिचार्ज गर्ने भएकी छु । रातको बाह्र, एक बजेसम्म अनिँदै बस्ने मान्छे म, आजकल राति नौ बजे नै सुत्छु र बिहान चार बजे उठिसक्छु । पर्सको पैसा खर्च गर्दा बरु एक पटक मात्रै सोच्छु, तर कुनै दिन वा हप्ता खर्च गर्दा दुई पटक सोच्छु । समयको सवालमा म एकदमै मितव्ययी भएकी छु । आफूले आफैँलाई सबैभन्दा बढी समय दिइरहेकी छु ।

अँ साँच्ची, उमेर गोडा चालीसले छोयो कि नाइँ तपाईंलाई ? छोएको छ भने तपाईंचाहिँ कस्तो हुनुभएको छ ?

प्रकाशित : चैत्र १९, २०७८ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×