१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हिमालयको मानव कथा

सम्मोहनकारी वाचनकलाले हिमालयलाई जीवन्त मात्रै तुल्याउँदैन, यसलाई साक्षी राखी यसको काखमा घटेका अनगिन्ती घटना पनि वर्णन गर्छ । किताबले राजनीतिक इतिहासलाई महफ्व दिएको छ, सामाजिक–सांस्कृतिक पाटो समेटेको छैन ।
राम लोहनी

हिमालयबारे कति लेखे कथा पूरा हुन्छ ? यसको कुनै सीमा छैन । हिन्दु, बौद्ध र बोन तीनै धर्ममा हिमालयको आफ्नै महत्त्व छ, आफ्नै गाथा छ । ‘हिमाल’ शब्दले सबै उच्च पर्वतहरूलाई सम्बोधन गरे पनि प्राविधिक अर्थमा ‘हिमालय’ शब्दको सीमा छ । यसले पश्चिमतिर बग्दै आएको इन्दुस नदी, दक्षिणतिर बांगिएको नंगा पर्वतको क्षेत्रदेखि पूर्व बग्दै गएको ब्रह्मपुत्र नदी, दक्षिणतिर बांगिएको नाम्चा बर्वा पर्वतसम्म फैलिएको लगभग २४०० किमि लामो हिमशृंखलालाई जनाउँछ । अन्तरिक्षबाट लिइएको फोटोमा हिमालय एउटा विशाल केरा वा खुर्पेचाँदजस्तो आकारमा देखिन्छ ।

हिमालयको मानव कथा

भौगोलिक विकटता, भौगर्भिक रहस्य र जैविक विविधताको पर्याय हो हिमालय । प्रतिकिलोमिटर उचाइमा ६ डिग्री सेल्सियसको दरले तापक्रम घट्दै जाने हावापानी, तरेली परेका पहाड पर्वत, उच्च वेगमा दक्षिणतिर हान्निएका विशाल नदीहरू हरेकले जनजीवनलाई चुनौतीपूर्ण मात्र बनाएको छैन, सांस्कृतिक विविधता पनि पैदा गरेको छ । बाढी, पहिरो र बेलाबेला आउने भूकम्पका धक्का उत्तिकै डरलाग्दो हुने गर्छन् । हिमालयको उत्तरतिर वायुमण्डलमा कम अक्सिजन, सुक्खा र चट्टानी धरातल, न्यून वर्षा र अत्यधिक ठन्डीका कारण जनजीवन बेग्लै ढंगले कठिन बनेको छ । तर, हजारौं वर्षदेखि मानव बसोबास, हिमालपार ओहोरदोहोर र विविध सभ्यताको केन्द्र रहँदै आएको छ यहाँको भूगोल ।

युरोपेलीहरू रहस्यमय सांग्रिलाको खोजीमा तिब्बत पुग्थे भने तिब्बतीहरू तिब्बतबाहिर कतै रहेको रहस्यमय शाम्बलाबारे जान्न उत्सुक हुन्थे ! चिनियाँ यात्रीहरू फासियान र हुएनशाङले चौथो र सातौं शताब्दीमा गरेको भ्रमणको विवरणमा हिमाली क्षेत्रको प्रारम्भिक विवरण पाइन्छ । तेह्रौं शताब्दीमा चीनको भ्रमण गर्ने मार्को पोलोको यात्रा विवरणमा तिब्बतको चर्चा परेको छ । मार्को पोलोको भ्रमण व्यापारिक उद्देश्यले थियो भने चिनिया यात्रीहरू बुद्ध धर्मबारे जानकारी संकलन गर्न भारत पुगेका थिए । रेशम मार्ग हुँदै व्यापारीहरूको ओहोरदोहोरको इतिहास पनि लामो छ । धर्मप्रचारका लागि आएका इसाई पादरी तथा साहसी खोजकर्ताहरूले हिमाली पदमार्ग र स्थानीय जनजीवनमाथि आ–आफ्ना अनुभवहरू प्रकाशित गराएका छन् । यसै क्रममा उन्नाइसौं शताब्दीको अन्त्यतिर चीनको गान्सु प्रान्तको दुन्हुआङस्थित मोगाओ गुफामा लाखौं दस्तावेज पत्ता लागेपछि तिब्बत र त्यसको आसपास विकास भएका सभ्यताहरूको पनि जानकारी हुन थाल्यो ।

भारतमा अंग्रेजको शासन संस्थागत भएपछि हिमाली क्षेत्रमा पश्चिमा राजनैतिक विस्तारको प्रयास सुरु भएको हो । रुसी साम्राज्यको विस्तार दक्षिणतिर नहोस् भनेर पनि अंग्रेजहरू तिब्बतमा आफ्नो प्रभाव विस्तार गर्न चाहन्थे । पृथ्वीनारायणसँग पराजित भएपछि उनीहरूको काठमाडौं छिर्ने तत्कालीन प्रयास अवरुद्ध भएको थियो । नेपाल–चीन युद्ध (१७९३) पछि काठमाडौं आएका कर्कप्याट्रिकसँगै अंग्रेजहरूको नेपाल प्रवेशको ढोका उघ्रियो । सुगौली सन्धि (१८१६) पछि महाकालीपारिको भूमिमा अंग्रेजको नियन्त्रण कायम भयो भने काठमाडौंमा प्रतिनिधि नै रहन थाले । जम्मुका राजा गुलाब सिंहलाई हात लिएर कश्मीर र लद्दाखमाथि पनि अंग्रेजले अधिकार जमायो । भनिन्छ, गढवाल क्षेत्र अंग्रेजको अधिनमा नपुगेको भए हिमालयको खोजी अझ पछि धकेलिने थियो । नेपाल–सिक्किम सीमा विवाद मिलाउन मध्यस्थ बनेपछि सिक्किममा पनि अंग्रेजको प्रभाव विस्तार भयो । भुटानसँग युद्ध नै भयो (१८६४) । १८६५ को सन्धिपश्चात् कालिम्पोङ क्षेत्र पनि अंग्रेजको नियन्त्रणमा पुग्यो । यसरी हिमालयसम्म अंग्रेजको पहुँच भयो । तर, जेज्युइटहरूको ठाउँमा आएका केपुचिन धर्मप्रचारहरूको असहिष्णुताको कारण तिब्बतले पश्चिमाहरूका लागि आफ्नो ढोका बन्द गरिदियो । फलस्वरूप उन्नाइसौं शताब्दीभर तिब्बतमा औपचारिक रूपमा प्रवेश गर्ने अंग्रेजको प्रयास सफल हुन सकेन । तिब्बतबारे सूचना संकलन गर्न र हिमालयको नक्सांकन गराउन अंग्रेजहरूलाई गढवाली वा नेपालीको सहयोग लिनुपर्ने अवस्था आइपर्‍यो । १९०४ को योङहज्ब्यानको नेतृत्वमा गरिएको सैनिक हस्तक्षेपपछि मात्र तिब्बतमा अंग्रेजको सहज प्रवेश हुन सक्यो ।

यात्रा विवरण र छिटपुट राजनीतिक रिपोर्टमा सीमित हिमालय त्यसपछि भने वैज्ञानिक अनुसन्धानको आकर्षण बन्न थाल्यो । नक्सांकन, सीमांकन र अनुसन्धान प्रतिवेदनहरू प्रकाशित हुन थाले । तर, सिंगो हिमाली परिवेशलाई एउटै न्यारेसनमा उनेर तयार पारिएको अलग्गै किताब भने मुस्किलले भेटिन्छ । हालसालै प्रकाशित (२०२०) एड डगलसको ‘हिमालय ः अ ह्युमन हिस्ट्री’ यस्तै एउटा प्रयास हो । सरल र सुललित भाषामा रचना गरिएको हिमालयको यस गाथाले हिमालयको उत्पत्ति गर्ने पाँच करोड वर्षअघिको भौगर्भिक घटनादेखि एक्काइसौं शताब्दीको नेपाल तथा तिब्बतका समकालीन राजनीतिलाई समेत समेटेको छ । डगलसको सम्मोहनकारी वाचनकलाले हिमालयलाई जीवन्त मात्रै तुल्याउँदैन, हिमालयलाई साक्षी राखेर यसको काखमा घटेका अनगिन्ती घटना पनि उजागर गर्छ । महत्त्वपूर्ण घटनाहरूसँग जोडिएका पात्रहरूको संक्षिप्त जीवन–चरित र प्रासंगिक घटनाहरूको बेलिविस्तार लगाउँदै छरपस्ट विषयलाई एउटै मालामा उन्न सक्ने डगलसको न्यारेटिभ कलाले पाठकलाई निरन्तर बाँधिराख्छ ।

पुस्तक बीस अध्यायमा विभाजित छ । केही भौगोलिक नक्सा र महत्त्वपूर्ण घटनासँग जोडिएर आउने व्यक्ति, कला, वनस्पति आदिका रंगीन तथा श्यामश्वेत चित्रहरूले पुस्तकलाई थप आकर्षक तुल्याएको छ । डगलस हिमाली क्षेत्रको भ्रमणलाई स्थानीय बासिन्दाले झैं तीर्थाटन नै मान्छन् । त्यसैले पहिलो पाठको शीर्षक नै ‘तीर्थाटन’ रहेको छ । भारत उत्तराखण्डको गंगोत्रीको भ्रमण र त्यहाँको शिवलिंग पर्वतको दर्शन, साधुसन्तसँगको सत्संग वर्णनबाट पुस्तकको उठान गरिएको छ । त्यसपछि लेखक हिमायलको उत्पत्तिको भौगर्भिक घटनालाई वर्णन गर्छन् । पाँच करोड वर्ष पूर्व भारतीय प्लेट र एसियन प्लेट ठोक्किँदा यहाँको टेथिस सागर विलय भयो र भारतीय प्लेट एसियन प्लेटमुनि धस्सियो । फलस्वरूप तिब्बतको भूत्वकको मोटाइ दोब्बर भयो र यसको धरातलीय उचाइलाई ह्वात्तै उठाइदियो । बढेको उचाइले वायुमण्डलमा अक्सिजनको मात्रा मात्रै घटाएन, त्यहाँका बासिन्दामा कम अक्सिजनमा निर्वाह गर्न सक्ने जैविक विशिष्टता नै विकास गरायो । डगलसले टेक्टोनिक प्लेटहरू ठोक्किएको घटनालाई गाडी ठोक्किँदा ठूलो गाडीमुनि धस्सिन पुगेको सानो गाडीको बोनेट कच्याककुचुक भएजस्तै भारतीय प्लेटको ‘बोनेट’ कुच्चिएर हिमालय बनेको दृष्टान्तसँग तुलना गरेका छन् । प्रारम्भमा टेथिस साँघुरिँदै जाँदा यसको पीँध उछिट्टिएर यत्रतत्र छरिएका थिए । पूर्वी अरबको यमनको मरुभूमिमा त्यसको अवशेष अझै भेटिन्छ । किनभने टेथिस अझै पूरै समाप्त भइसकेको छैन । सागरको अवशेषस्वरूप पर्सियाको खाडी अझै बाँकी छ । उता भारतीय प्लेट धस्सिने क्रम अझै जारी छ । प्लेटहरूको पश्चिमी सन्धिस्थल नंगा पर्वत क्षेत्रमा बन्दै गरेका नयाँ चट्टानले यसको पुष्टि गर्छ । कालीगण्डकीको गहिरो खोँच भारतीय प्लेटको मध्यभाग हो, जुन त्यो क्षेत्र भ्रमण गर्ने जो कोहीले देख्न सक्छ ।

सातौं शताब्दीमा सोङचेन ग्याम्पोले बौद्ध धर्म स्विकार्नुअघिको तिब्बतको इतिहास प्रस्ट छैन । बोन धर्म र धामी प्रथा (सामनिजम) त्यहाँको मुख्य जीवनशैली थियो । तिब्बतमा बौद्ध धर्म संस्थागत हुँदै गर्दाको इतिहास र विकसित विभिन्न सम्प्रदाय तथा दलाई लामाको उदयको संक्षिप्त विवरण डगलसको पुस्तकको एउटा महत्त्वपूर्ण हिस्सा हो । बोन धर्मको केन्द्रचाहिँ तिब्बतको पश्चिममा विकास भएको झाङझुङ (शाङशुङ) सभ्यता थियो । आठौं शताब्दीमा झाङझुङ सभ्यता समाप्त भएपछि त्यसको जगमा गुगे सभ्यता विकास भयो । गुगेको पहिलो राजधानी पुराङ थियो, जसलाई नेपालमा ताक्लाकोट पनि भनिन्थ्यो । गुगे सभ्यता पनि इस्लामको आक्रमणबाट ध्वस्त भएपछि पुराङलाई मुकाम बनाएर खस सभ्यता खडा भयो । खसहरूको राजधानी पुराङबाट पछि मात्र सिञ्जा स्थानान्तरित भएको हो ।

तिब्बतको राजनीति र स्वतन्त्रताको इतिहास डगलसको कथावाचनमा पटकपटक प्रवेश गर्छ । चीनले तिब्बतसमेत लद्दाख, नेपाल, सिक्किम र भुटानलाई आफ्ना ‘पाँच औंला’ भनेर बताउने गरेको थियो । चिनियाँहरूले तिब्बतीहरूलाई चिनियाँ जाति हानकै वंशज दाबी गरे पनि त्यसो नभएको वंशानुगत अध्ययनका तथ्यहरूलाई पुस्तकले पेस गरेको छ । तिब्बतको कठोर हावापानीमा चालीस हजार वर्षअघिदेखि मानिसको बसोबास हुँदै आएको प्रमाण भेटिन्छ । त्यस्तै, पृथ्वीनारायणको उदयदेखिको नेपालको इतिहासको चर्चाले पनि पुस्तकको महत्त्वपूर्ण भाग ओगटेको छ । पृथ्वीनारायणसँग अंग्रेजहरू मात्र होइन, तिब्बतीहरू पनि खुसी थिएनन् । पृथ्वीको देहावसानको खबर पाएपछि सिगात्सेस्थित टासिलुम्पो गुम्बाका पन्चेन लामाले खुसी व्यक्त गरेको प्रसंग डगलसले उल्लेख गरेका छन् । त्यस्तै पुस्तकले तिब्बत भ्रमण गर्ने पहिलो पश्चिमी व्यक्ति, ल्हासा पुग्ने पहिलो व्यक्ति, गुप्त रूपमा तिब्बतको भ्रमण गर्न विभिन्न व्यक्तिहरूबारे पनि प्रसंगअनुसार यथेष्ट चर्चा गरेको छ । तेह्रौं शताब्दीमा नेपालबाट चीनको कुब्लाइँ खाँको दरबारमा गएका अरनिको र उनको कला तथा नेपाल भ्रमण गर्ने पादरीहरू जोन काब्राल (१६२८), जोहान ग्रुबर (१६६२), इप्पोलितो देसिदेरी (१७२१), आर्मिनियाली व्यापारी होभान्नेस जुघाएस्ती (१६८६) आदि व्यक्तिको चर्चा नेपाली इतिहासका पाठकलाई चाखलाग्दो हुन सक्छ । ग्रबर फर्किंदा हेटौंडाको बाटो फर्केका थिए । यिनले मकवानपुरमा भन्सार रहेको र त्यहाँ मुगल साम्राज्यको उपस्थितिको प्रसंग उठाएका छन् ।

व्यापारका लागि तिब्बत प्रवेश गर्नेबाहेक युरोपेलीहरूको हिमालयमा अर्को चासो वनस्पति थियो । हिमालयबाट थुप्रै फूल र थरीथरीका वनस्पतिका बीउहरू युरोप पुर्‍याइएको प्रसंगलाई पुस्तकले विशेष महत्त्वका साथ चर्चा गरेको छ । वनस्पतिशास्त्रको अध्ययनमा यो ठूलो योगदान हो । यस प्रसंगमा ब्रियान हज्सनको नाम छुटाउन मिल्दैन । लेखकले यिनको लामै जानकारी दिएका छन् । हज्सनसँग जंगबहादुरको सम्बन्ध सुमधुर थियो । हज्सनकै मध्यस्थतामा १८५७ को विद्रोह दबाउन जंगबहादुर लखनउ पुगेका थिए । हज्सनकै सहयोगमा जंगबहादुरका हुनेवाला ज्वाइँ गजराजसिंह थापाले नेपालमा चिया खेती सुरु गरेको तथ्यलाई पुस्तकले प्रस्तुत गरेको छ । लेखकले जंगबहादुरको प्रसंगमा जंगको बेलायत यात्रादेखि लोला मोन्टेज लगायतका युवतीहरूसँगको जंगको सम्बन्धलाई चाखिलो पाराले वर्णन गरेका छन् ।

पुस्तकको अर्को प्रसंग हिमाल आरोहणका कथा र त्यसमा आइपर्ने समस्याहरूबारे छ । हिमालको नामकरण र विशेषगरी सगरमाथाको स्वामित्वलाई लिएर नेपाल र चीनबीच विवाद भएको थियो । हिमालको सीमा विवाद बढेर स्वतन्त्रोत्तर भारत र कम्युनिस्ट चीनबीच युद्धको अवस्था (१९६२) सिर्जना गर्ने म्याकमहोन रेखाको चर्चा गर्न पनि लेखकले भ्याएका छन् । कम्युनिस्ट चीनले तिब्बतलाई कब्जा गरेपछि तिब्बतीहरूले गरेको प्रतिरोध र चीन सरकारले गरेको दमनलाई पनि पुस्तकमा समेटिएको छ ।

पुस्तकमा सन्दर्भग्रन्थको लामो सूची छ । समृद्ध अनुक्रमणिका पनि छ । यसले पठनलाई धेरै पाठकमैत्री बनाएको छ । पुस्तक विशेषज्ञभन्दा पनि सामान्य पाठकलाई लक्षित गरेर लेखिएको हो । तर, न्यारेसनमा उल्लेख प्रसंग र उद्धरणहरूको पाठान्त टिप्पणीको अभाव भने बेलाबला खट्किन्छ । लेखकले यो विषयमा स्पष्टीकरण पनि दिएका छन् । खास विषय वा प्रसंग कहाँ, कसले चर्चा गरेका रहेछन् भनेर जान्न खोज्ने जिज्ञासु पाठकलाई पुस्तकले निराश तुल्याउँछ । विस्तृत विवरण कहाँ होला भनेर सन्दर्भग्रन्थलाई घरीघरी केलाइरहनु पक्कै पनि सजिलो हुन्न ।

त्यस्तै लेखक ठाउँठाउँमा बहकिएका जस्ता पनि लाग्छन्, प्रसंगहरू पुस्तकको मूल थिमबाट पर पुगेजस्तो अनुभूति हुन्छ । पुस्तक पढिसक्दा भुटान, सिक्किम, लद्दाख र कश्मीरको इतिहास नछुट्नुपर्थ्यो भन्ने लागिरहन्छ । पुस्तकले राजनीतिक इतिहासलाई महत्त्व दिएको छ, सामाजिक तथा सांस्कृतिक पाटोलाई समेटेको छैन । पुस्तकको मोटाइका कारण सबै विषय समेट्न नसकिएको तर्क गर्न सकिन्छ । नेपालका लिच्छवि राजा नरेन्द्रदेवलाई अंशुबर्माका ‘वंशज’ बताइएको छ, जुन सही होइन । यी सामान्य गुनासाका बावजुद पुस्तक पठन उत्साहजनक र रोमाञ्चक रहनेमा कुनै सन्देह छैन ।

प्रकाशित : वैशाख १७, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?