आमाको नाममा तीनवटा क्रस

नेपालको संविधान– २०७२ को पहिलो वाक्य छ, ‘सार्वभौमसत्तासम्पन्न नेपाली जनता ।’ तर, नागरिकताको हक दिने बेला संविधानले आफ्नै वाक्य काटेर ‘आमाहरू सार्वभौमिक नागरिक होइनन्’ भन्ने आशय व्यक्त गरेको छ । जति सर्त पूरा गरेर एक सन्तानले बाबुको नामबाट नागरिकता पाउँछ, त्यति नै सर्त पूरा गरेर उसले आमाको नामबाट नागरिकता पाउँदैन ।
एक आमाले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिलाउँदा ‘बाबुको पहिचान नभएको’ खुलाउनुपर्छ, उनको एकल पहिचान मान्य छैन ।
सावित्री गौतम

६ वर्षअघिको एक प्रसंग । साथी अधिकृत भएको सरकारी कार्यालयमा कामविशेषले पुगेको थिएँ । उनले छोरा ब्याचलर पढ्ने बेला भएको र नागरिकता निकालेको प्रसंग सुनाए, ‘बूढी (उनकी श्रीमती) ले छोराको नागरिकतामा मेरो नाम पनि लेखिनुपर्छ भनेकी थिई, रहर पूरा गरोस् न त भनेको, पूरा भएन ।’ आमाको मात्रै नामबाट पनि नागरिकता पाउने संवैधानिक अधिकार छ भनेर दाबी गरिने देशमा बाबुको नामसँगै आफ्नो नाम पनि लेखाउने अधिकार कुनै आमाको ‘पूरा हुन नसकेको रहर’ कसरी बन्न पुग्यो ? बिस्तारमा सोधेँ ।

आमाको नाममा तीनवटा क्रस

छोराको नागरिकता निकाल्न उनले आफ्नो र श्रीमतीको नागरिकता साथै लगेका थिए । कर्मचारीले बाबुको नागरिकता हेरेर उनलाई त छोराका बाबुको रूपमा स्विकारे । तर, आमाको नागरिकता हेरेर ‘आमाले बिहेअघि निकालेको नागरिकता भएकाले आमाको नाम छोराको नागरिकतामा राख्न मिल्दैन, कि आमाले बिहेपछि (लोग्नेलाई ‘वंशज’ मान्दै) बाबुकै थर राखेर निकालेको नागरिकता हुनुपर्छ कि त विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ’ भनेछन् । उनले विवाह–दर्ता प्रमाणपत्र (जसमा धेरैजसो महिलाको पैत्रिक थरपछाडि लोग्नेको पनि थर जबर्जस्ती झुन्ड्याइदिन्छन्) लैजान बिर्सेका थिए । उनी बस्थे पोखरा, नागरिकता प्रमाणपत्र निकाल्नुपर्ने पर्वतबाट । तुरुन्त लिन आउन मिलेन ।

अन्तत छोराको नागरिकतामा ‘आमाको नाम’ भनेर प्रिन्ट गरिएको कोठामा कर्मचारीले तीवनटा क्रस अर्थात् तीन ‘काट्टा’ लगाएर पठाइदिएछन् । छोराकी आमालाई यसबारे सोध्दा उनले भनेकी थिइन्, ‘छोराको नागरिकता हातमा लिनासाथ ह्वाँह्वाँ रुन पुगेछु, एक छिनपछि मात्रै छोरालाई नराम्रो लाग्यो होला भनेर होस आयो । त्यसपछि बाथरुममा गएर धेरैबेर रोएँ ।’

यो सुन्दै गर्दा मेरो छोरा १४ वर्षको थियो । सोचेँ, ‘मेरो छोराको नागरिकता निकाल्न त अझै दुई वर्ष बाँकी छ । त्यतिन्जेल परिस्थिति निकै फेरिइसकेको हुनेछ । छोराको नागरिकता निकाल्ने बेलासम्म त यस्तो कदापि हुनेछैन । म त आफ्नै नामबाट छोरालाई नागरिकता दिलाउने हो ।’

आफ्नै नामबाट सन्तानको नाबालक प्रमाणपत्र वा नागरिकता निकाल्न गएका आमाका शारीरिक थकान र सीडीओ कार्यालयमा सुनेका अश्लील टिप्पणीका कारण हुने मानसिक अवसादका अनुभूति केही आमाहरूले प्रत्यक्ष सुनाइसकेका थिए । बीसौंपटक पढिएको पनि थियो । तर, पनि आखिर संविधानले त ‘दिएको छ’ भन्छन्, बुझौं न । यही सोचेर छोराको नागरिकता निकाल्नु केही महिनाअघिदेखि नै मैले यसबारे सोधपुछ सुरु गरेँ । गृह मन्त्रालयकै कर्मचारी रहेका आफन्त दाइलाई मेसेज गरेँ, ‘मेरो नामबाट छोराले नागरिकता पाउन के गर्नुपर्छ ?’ उनी अहिले पनि कुनै जिल्लाको सीडीओ छन् । र, उनलाई मैले पठाएको उक्त मेसेज आजसम्म पनि अनुत्तरित छ । उत्तर नदिएपछि सोचें, उनी पनि त आमाको नामबाट नागरिकता नदिने ‘अनागरिक उत्पादन कारखाना’ का इमानदार कारिन्दा न हुन् !

एक जना साथीको देवर मेरो स्कुल पढ्दाको साथी । ऊ पनि कुनै जिल्लामा सीडीओ छ । उसको नम्बर माग्न साथीलाई फोन गरें र यही कुरा बताएँ । साथीले भनिन्, ‘आमाको मात्रै नामबाट नागरिकताको त कोसिस नै नगर्नु, एक त सीडीओ कार्यालयमा तिमीमाथि बोलिने अश्लील शब्दको कुनै लेखाजोखा हुनेछैन र दोस्रो ती सबै अपशब्द सुनिसकेर पनि तिमीजस्ता (श्रीमान्सँग नछुट्टिई सँगै ‘सुखी वैवाहिक जीवन’ मा बसिरहेका) का सन्तानलाई दिँदैनन् पनि ।’

त्यसपछि मैले दोस्रो पटक संविधान पढेँ । नेपालको संविधान– २०७२ को पहिलो वाक्य छ, ‘सार्वभौमसत्तासम्पन्न नेपाली जनता ।’ तर, नागरिकताको हक दिनेबेला संविधानले आफ्नै वाक्य काटेर ‘आमाहरू सार्वभौमिक नागरिक होइनन्’ भन्ने आशय व्यक्त गरेको छ । जति सर्त पूरा गरेर एउटा सन्तानले बाबुको नामबाट नागरिकता पाउँछ, त्यति नै सर्त पूरा गरेर उसले आमाको नामबाट नागरिकता पाउँदैन । नेपालको संविधान– २०७२ को ‘नागरिकताको हक’ भाग–२, धारा–११, उपधारा–५ मा उल्लेख छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर, बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुन बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।’

अर्थात् एक जना आमाले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिलाउँदा ‘बाबुको पहिचान नभएको’ खुलाउनुपर्छ, उनको एकल पहिचान मान्य छैन । तर, एउटा बाबुले सन्तानलाई नागरिकता दिलाउँदा ‘आमाको पहिचान हुन नसकेको’ खुलाउनुपर्ने प्रावधान संविधानमा कतै छैन । विदेशी पुरुषसँग बिहे गरेका महिलाको हकमा उसका छोराछोरीलाई विदेशी महिला बिहे गरेका पुरुषको जति नै सर्त पूरा गरेर नागरिकता दिलाउने अधिकार छैन । छोराको नागरिकता निकाल्ने समय आइसक्दासम्म म ‘बाबुको ठेगान नभएको’ भनेर नखुलाएसम्म आमाको नामबाट नागरिकता नपाइने संवैधानिक प्रावधानबारे स्पष्ट भइसकेको थिएँ । मेरो छोराको त ‘बाबुको ठेगान’ छ । हामी सँगै छौँ । यस्तो ‘सुखी’ विवाहित जीवन भोगिरहेकी मलाई त आफ्नो पहिचानबाट सन्तानलाई नागरिकता दिलाउन संविधानले नै रोकेको छ ।

अब म कम्तीमा छोराको नागरिकतामा बाबु–आमा दुवैको नाम लेखियोस् भन्ने सोचमा ओर्लिएँ । साथीको छोराको नागरिकतामा झैं मेरो छोराको नागरिकतामा पनि ‘आमाको नाम’ लेखेको कोठामा ‘काट्टा’ नलागे मात्रै पुग्यो भन्ने भयो । तर, भयो ठ्याक्कै त्यही । २०७५ सालको जेठमा नागरिकता लिन आफ्नो जन्मदर्ता, मेरो र बाबुको नागरिकता लिएर बाबुसँगै छोरा चितवन गयो । पोखरामै जन्मेको भए पनि यहाँ घरजग्गा वा बसाइँ–सराइको प्रमाण नभएकाले ऊ आफ्नो बाबुतर्फका हजुरबाको घरजग्गा भएको ठाउँ रत्ननगरको बासिन्दा बनेर नागरिकता निकाल्दै थियो । खुट्टा घाइते भएकाले म यात्रा गर्न नहुने स्थितिमा थिएँ, पोखरामै रोकिएँ । ‘विवाह दर्ता प्रमाणपत्र ल्याउनुभएन ?,’ मेरो ससुराको गाउँको वडाका नाता प्रमाणित र सिफारिस गर्ने व्यक्तिले सोधेका थिए रे । तैपनि आमाको नाम लेखेको कोठामा मेरो नामसम्म लेखिदिएछन् ।

वडामा विवाह दर्ता किन नल्याएको भनेर सोधे भन्ने खबर फोनमा सुनेपछि मात्र म झसंग भएँ । बल्ल त्यतिबेला साथीले विवाह दर्ता लैजान बिर्सेकाले आमाको नाम नलेखिएको सुनाएको याद आयो । वडाबाट ‘आमाको नाम’ मा मेरो नाम लेखिदिएर पठाए पनि जिल्ला प्रशासन कार्यालयका कर्मचारीले छोराको नागरिकता प्रमाणपत्रमा ‘आमाको नाम’ भन्ने कोठामा मेरो नाम लेख्न पटक्कै मानेनछन् । उनको तर्क पनि त्यही थियो रे, ‘विवाह दर्ता प्रमाणपत्र नभई बच्चाको नागरिकतामा आमाको नाम लेख्न मिल्दैन ।’ मेरो नागरिकता प्रमाणपत्र साथमै भए पनि त्यो बिहेअघिको भएकाले (जसमा लोग्नेको थर छैन) छोराको नागरिकतामा आमाको नाम लेख्न मिल्दैन ।

छोराको जन्मदर्ता गर्ने बेलाचाहिँ ‘म श्रीमान्को थर राख्दिन’ भन्दाभन्दै नगरपालिकाका कर्मचारीले ‘पछि तपाईंको नाता प्रमाणित हुँदैन, विदेश जानुपरे अप्ठ्यारो हुन्छ’ भन्दै जबरजस्ती कोष्ठकमा श्रीमान्को थर राखिदिएका थिए । विवाह–दर्ता लिन तुरुन्त आऊँ भने पनि त्यो छुटेको छ पोखरामा, नागरिकता निकाल्नुपर्नेछ चितवनबाट । र, कर्मचारीले ‘आमाको नाम’ लेखेको कोठामा उसैगरि तीनवटा काट्टा लगाएर पठाइदिए । मेरो नागरिकतामा लेखिएको नाम र छोराको जन्मदर्ता कोष्ठकमा बाउको थर

झुन्ड्याएको उसकी आमाको नाम एकै भएको प्रस्ट देख्दादेख्दै पनि ती कर्मचारीले मलाई मेरो छोराकी आमा मानेनन् । दुई घण्टा बढी बहस गरेपेछि उनले ‘धेरै किचकिच नगर्नुस्, अरू मान्छेलाई डिस्टर्ब नगर्नुस्’ भनेर आमाको नाम लेखिएको ठाउँमा तीनवटा काट्टा धस्काएको नागरिकता प्रमाणपत्र मेरो श्रीमान् र छोरालाई थमाएर पठाएछन् । ‘आमाको नाम’ लेखेको कोठामा तीनवटा काट्टा लगाइएको छोराको नागरिकताले यति अपमानबोध भयो कि दुई हप्ता अवसादमा डुबेँ । त्यो दिनदेखि ‘ओहो तिमी कति साहसी, तिम्रा लेखले साहस दिन्छन्’ भन्ने टिप्पणीले मलाई उत्साहित बनाउँदैनन् । किनभने मेरो सम्पूर्ण हिम्मत र साहसको निर्मम हत्या भएको थियो, २०७५ जेठ १७ गते जिल्ला प्रशासन कार्यालय चितवनमा ।

आजसम्म छोराको नागरिकता हातमा लिन सकेको छैन । एक पटक छोरीले टाढाबाट देखाइदिएपछि हेरेको, ठ्याक्कै ‘काट्टा’ त कसले लगायो कुन्नि, तर प्रमाणित गर्ने प्रशासकीय अधिकृतको नाम भएको ठाउँमा रामचन्द्र ढकाल भन्ने व्यक्तिको हस्ताक्षर रहेछ । मेरो कुरा सुनेपछि केही साथीहरूले मलाई आफ्ना छोराछोरीको नागरिकता प्रमाणपत्र पठाए, जसमा आमाको बिहेअघिकै थरसहितको नाम पनि लेखिएको छ । उनीहरूमध्ये कसैले विवाहदर्ता लिएर गएका थिए, कसैको चाहिँ बाउले अलिकति कडा स्वरमा कर्मचारीलाई भनेपछि नाम लेखिदिए, कसैले आमाको नाम नलेखेको प्रमाणपत्र लिएर जाँदै जान्न भनेपछि आमाको नाम लेखिदिएका थिए । कसैले चाहिँ आमाको नाम लेख्दिनुस् न भन्दा ‘चाहिन्न’ भन्ने ठाडो जवाफ पाएको र काट्टा लगाएको वा खाली राखिएको बताएका थिए । यसको अर्थ आमाको नाम लेखिदिने वा जबर्जस्ती खाली राखेर वा ‘काट्टा’ लगाएर पठाइदिने हर्कत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको व्यक्तिगत तजबिज वा निगाहमा भइरहेको छ भन्ने प्रमाणित हुन्छ ।

यदि यो नियम छ नै भने पनि यस्तो असमान नियम किन राखिएको छ ? बाबुले छोराछोरीलाई नागरिकता प्रमाणपत्र दिलाउन जाँदा कसको श्रीमान् बनेर बच्चा जन्माएको भन्ने प्रमाणित गर्न विवाह दर्ता किन पेस गर्नु नपर्ने ? बच्चाको नागरिकतामा बाउको नाम लेख्दा विवाह दर्ता प्रमाणपत्र नमागी सीधै लेखिने, आमाको नाम लेख्दा विवाहदर्ता प्रमाणपत्र अनिवार्य हुनुपर्ने भनेर उनीहरूले बताउने असमान नियमले कुनै महिला कुनै बच्चाकी आमा हो भनेर मान्यता दिएको देखिँदैन । बरु कसकी श्रीमती बनेर उक्त बच्चा जन्माई भनेर प्रमाण मागिएको देखिन्छ ।

हिन्दु धार्मिक क्यालेन्डरअनुसार, वैशाख कृष्ण औंसीलाई बोलीचालीको भाषामा आमाको मुख हेर्ने दिन भनिन्छ । छोराछोरीले आमालाई सम्मान व्यक्त गर्ने, उपहार दिने दिन । आज–भोलि सामाजिक सञ्जालको माध्यमबाट पनि मान्छेले आ–आफ्ना आमाप्रति सम्मान व्यक्त गर्छन् । सबैका आमाको अनुहार देख्न पाइन्छ । आमा उनीहरूका लागि के हुन् भनेर शब्दमा व्यक्त भएको देख्न पाइन्छ । तर, २०७५ सालपछि आमाको मुख हेर्ने दिन आएपिच्छे मलाई मनमा आउँछ– यो दिन नेपालको संविधान–२०७२ का मस्यौदाकारहरूलाई आ–आफ्ना आमालाई एकाबिहानै त्यसरी सम्मान व्यक्त गर्ने नैतिक साहस कहाँबाट आउँदो हो ? जसले संविधानमै आ–आफ्ना आमाहरू र आ–आफ्ना सन्तानका आमाहरूको, भविष्यमा आमा बन्ने इच्छा गरेको खण्डमा आफ्नै छोरी–बुहारीहरूको असमान अवस्था सुनिश्चित गरेका छन् । संवैधानिक असमानता त एकातिर छँदै छ, जिल्ला प्रशासन कार्यालयका कारिन्दाले

‘आमाको नाम’ लेखिएको कोठामा नामसमेत सजिलै लेखिदिँदैनन् । मैसँग यतिबेला तीनवटा नागरिकता प्रमाणपत्रका तस्बिर छन्, जसमा आमाको नाम या त खाली राखिएको छ या काट्टा लगाइएको छ । एउटा नागरिकता प्रमाणपत्र मेरै छोराको छ ।

यतिबेला मेरो नागरिकता हराएको छ । प्रतिलिपि निकाल्नुपर्नेछ । मैले निकाल्दाताकाको नागरिकता प्रमाणपत्रमा झन् ‘आमाको नाम’ भन्ने कोठै हुँदैनथ्यो । साथीहरूबाट सुनेको छु, नयाँ नागरिकता प्रमाणपत्रमा ‘आमाको नाम’ भन्ने कोठामा सीडीओ कार्यालयका कर्मचारीले आमाको नाम लेखिदिँदैनन् । पुरानो जे छ त्यो बदल्न मिल्दैन भन्ने जवाफ दिन्छन् । मेरी आमाको नाम ‘काट्टा काट्टा काट्टा’ होइन र मलाई त्यो हुँदै नभएको नाम लेखाउन मन छैन । प्रतिलिपि ननिकाली भएको छैन, तर आमाको नाममा काट्टा लगाइने डरले आजसम्म चितवन जिल्ला प्रशासन कार्यालय जान सकेको छैन ।

४ वर्षअघि मेरो छोराको नागरिकता प्रमाणपत्रमा ‘आमाको नाम’ भन्ने कोठामा तीन काट्टा लगाइदिएर मेरो नामलाई ‘तीनवटा काट्टा’ नामकरण गरेको व्यक्ति आजको दिन आफ्नी आमाको नाममा कसरी महिमागान गर्दा हुन् ? ६ वर्षअघि साथीको छोराको नागरिकतामा आमाको नाममा काट्टा लगाइदिएर उसलाई रुवाउने पर्वतको सीडीओ, अफिसको कारिन्दा अनि मेरो भाइ विशाल गौतम र साथीकी छोरी स्वीकृति कट्टेलको नागरिकता प्रमाणपत्रमा ‘आमाको नाम’ खाली राखिदिने चितवनको सीडीओ, अफिसका कारिन्दा आजका दिन के गर्दा हुन् ? यिनीहरूले आजसम्म कति जिल्ला पुगेर कति जना आमालाई ‘काट्टा’ नामकरण गरे होलान् ? वा ‘आमाको नाम’ को कोठा खाली राखिदिएर उनीहरूको अस्तित्वलाई नकारे होलान् ? यी सबैले आज बिहान आ–आफ्नी आमाको दीर्घजीवनको कामना त पक्कै गरे होलान् ।

जबजब आमाको मुख हेर्ने दिनका पोस्टहरू देख्छु, नेपालको संविधान–२०७२ का मस्यौदाकारहरू सम्झन्छु । गृह मन्त्रालयमा कार्यरत आफ्नै आफन्त र साथीहरूलाई पनि एकाबिहानै आमाको फोटो हालेर महिमागान गरेको देख्छु, मलाई अत्यन्त भद्दा हाँसो लाग्छ ।

प्रकाशित : वैशाख १७, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?