२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

साहित्यमा कोरलिएका हल्लाका चल्ला !

राजनीतिक दलका नेताहरु जसरी प्रायोजित प्रचारबाजीमा रमाउँछन्, लेखक–साहित्यकार पनि त्यही समाजका उपज हुन्, उनीहरुले फर्जी प्रशंसा नरूचाउने कुरै भएन । पालैपालो प्रायोजित प्रचारबाजीमा उत्रने अनि पुरस्कार पाए हर्षबढाइँ थोपर्ने, पाइएन भनेर रूवाबासी गर्ने  ! लेखकहरुलाई कति चाहिएको हो प्रचार ?
राजकुमार बानियाँ

वर्ष २०७८ को साहित्यतर्फ ‘रिपोर्ट कार्ड’ बनाउन तम्सेको छु । हतारहतार प्रेस पसेका थुप्रै पुस्तक त्यतै कतै अड्केका छन् । तर, वैशाख १५ सम्म तिनले पुरस्कार गुठीहरूको दर्ता नम्बर पाइसक्नेछन् । तिनको रोजाइमा बजारभन्दा पनि पुरस्कार पर्छन् । तिनलाई बजारले वास्ता नगरे पनि पुरस्कारदाताले पत्याइरहेकै छन् । असल—कमसल पुस्तक हरेक वर्ष पुरस्कृत भएकै छन् ।

साहित्यमा कोरलिएका हल्लाका चल्ला !

बजारले पत्याउने साहित्य र नपत्याउने गैरसाहित्य हुने होइन । पुरस्कारले पत्याएका राम्रा र नपत्याएका नराम्रा हुने पनि होइनन् । न त बहुसमीक्षित, बहुप्रशंसित वा बहुसंस्करणित पुस्तक नै उम्दा हुन् ।

उसो त साहित्यको वर्षसमीक्षा पनि कर्मकाण्ड भइसक्यो । वर्षभरि कसले के लेखे वा छापे ? तिनको के कति चर्चा भयो ? कसले के पुरस्कार पाए ? कसले कुन महोत्सव गरे ? कुनकुन साहित्यकार बोलाएर कुनकुन सेसन राखियो ? बेस्ट सेलर को–को भए ? कसले कति कमाए ? कति लेखक उदाए, कति अस्ताए ? त्यस्तो चर्चा गरिबस्नु पनि हदैसम्मको क्लिसे काम हो ।

साहित्यमा वर्षका उपलब्धि के हुन्, क्षति के हुन् ? वर्ष साहित्य समीक्षाको मेनुमा सायद यिनै कुरा पर्दा हुन् । तर, मेनुबाहिर छेउकुनाको यसो चियोचर्चो गर्नु पनि मनासिब हुन्छ । त्यसैले मेरो पुस्तक, पुरस्कार र महोत्सवको सूची दिएन भनेर कोही दुःखी नहुनुहोला ।

साँच्चै भन्ने हो भने नेपाली साहित्य थुप्रै विरोधाभासमा जकडिएको छ । एकातिर प्रकाशक बन्धुहरू निन्याउरो मुख लगाएर किताबको बिक्री छैन भनिरहेका छन् भने अर्कातिर साहित्य पोस्ट्डटकम हरेक महिना ‘बेस्टसेलर सूची’ निकालिरहेको छ । कति अमिल्दो कुरा ! बिक्री नभईकन कसरी बेस्टसेलर भयो होला ? बजारबाट साहित्य अलग नहोला । तर, बजारकै आधारमा साहित्यको मूल्यांकन हुन सक्दैन ।

गत वर्षको सबैभन्दा उल्लेखनीय साहित्यिक समाचार के हो भने उदय अधिकारी (चितवन) समेत अब पाठक रहेनन् । मैले नेपाली साहित्यमा मानेका पक्का पाठक उदय लेखकमा ‘बढुवा’ भए । उनले ६ जना साहित्यकारको अन्तर्वार्ता पुस्तक ‘प्रश्न’ बजारमा ल्याएका छन् । त्यसैले होला, मेरो म्यासेन्जर बक्समा उनको ‘हेलो सर ! हेलो सर !! गुड मर्निङ सर !’ को मात्रा बढिरहेको छ । हुन त पाठक नै लेखक हुने हो । तर, अब स्वयं उदयजी कति पाठक रहने हुन्, मलाई शंका छ । नेपाली साहित्यको चिन्ताजनक स्थिति नै पाठकभन्दा लेखक धेरै हुनु हो ।

म साहित्यहन्ता होइन, तर एक पाठक जरुर हुँ । सबैलाई राम्रो, राम्रो भन्न सक्ने उत्साह मसँग छैन । मलाई थाहा छ, लेख्न सजिलो छैन । हाम्रा लेखकहरू उत्साही छन् । मिहिनेती छन् । उनीहरूको प्रयास राम्रो छ । तर, यति प्रयासले साहित्यलाई पुग्दैन । वाह, बधाई या क्याबात् भन्न मिल्ने रचना साह्रै थोरै छन् ।

नेपालमा राजनीतिक क्षेत्र जति कुरूप छ, साहित्य त्योभन्दा कम्ता छैन । नेतृत्वले राजनीतिको नाममा जतिसुकै डकैती गरोस्, थपडी बजाउने कार्यकर्ता हुन्छन् नै । साहित्यमा पनि पकेटका (पपेट) पाठक छन् । कथित फ्यानहरू आफ्नो लेखकले जे लेखे पनि त्यसको भजन—कीर्तन गर्छन्, आरती उतार्छन् । तिनलाई कृतिसँग मतलबै छैन, सिर्फ व्यक्ति हेर्छन् । छुस्स आलोचना भइहाल्यो भने भिड्न आइलाग्छन् । ती साहित्यका होइनन्, व्यक्तिविशेषका ‘बडिगार्ड’ हुन् । जनता निश्चित पार्टीका मतदाता हुँदा देशलाई घाटा छ भने पाठक निश्चित लेखकको मात्र हुँदा साहित्यलाई पनि मर्का पर्छ ।

वास्तवमा हामीकहाँ मञ्च, प्रशंसा र पुरस्कारलाई लेखकले धान्न सक्ने स्थिति छैन । प्रशंसकलाई लेखकको पहिलो किताबजस्तै किताब चाहिएको छ, प्रकाशकलाई पहिलेको जस्तै चल्ने किताब चाहिएको छ, लेखक बबुरोले यति धेरै दबाब कसरी धानोस् ? उसले सुगम बाटो तय गर्छ, आफ्नै किताबको नक्कल । त्यसपछि नक्कल बमोजिमको नक्कलको सिलसिला चलिरहन्छ । तिनले कति अब्बल, श्रेष्ठ र उत्कृष्ट लेखे कुरा जान्न केही पुरस्कार प्राप्त कृति पढ्यो भने थाहा भइहाल्छ ।

राजनीतिक दलका नेताहरू जसरी प्रायोजित प्रचारबाजीमा रमाउँछन्, लेखक—साहित्यकारहरू पनि त्यही समाजको उपज हुन्, उनीहरूले फर्जी प्रशंसा नरुचाउने कुरै भएन । पालैपालो प्रायोजित प्रचारबाजीमा उत्रने अनि पुरस्कार पाए हर्षबढाइँ थोपर्ने, पाइएन भनेर रुवाबासी गर्ने ! लेखकहरूलाई कति प्रचार चाहिएको हो ? म आफैं छक्क पर्छु । प्रचारबाजी ‘कभर’ बाटै सुरु हुन्छ । बोक्राबाजीको दुनियाँमा गुदीतिर पस्ने कष्ट कसले गरोस् ? खल्तीका अनलाइनमा इमानदार समीक्षा आउने सम्भावना हाललाई देखिँदैन ।

यहाँ कनीकनी एउटा किताब लेखेको नवोदित साहित्यकारले पनि ठूलै पुरस्कार ताकेको हुन्छ । आजको दिनमा पुरस्कार पाउनु नै ठूलो वा राम्रो लेखक हुने प्रमाणचिह्न होइन । पुरस्कार पाउँदा लेखकीय परिचयको फैलावट बढ्न सक्छ । तर, पुरस्कार नितान्त प्राविधिक कुरा हो । त्यसका दाता, निर्णायक सबै मानिस हुन् । मानिसलाई कमजोरीसहित बुझ्नुपर्छ । मानिसले नजिक नै देख्ने हो । टाढाको कुरा अनुमान मात्र हुन्छ ।

लेखकलाई सबैभन्दा भूलभुलैयामा राख्ने माध्यम भएको छ, सामाजिक सञ्जाल । खासमा यी सञ्जाल नामका जञ्जालको कामै हल्लाका चल्ला कोरल्नु हो । लेखकहरू भर्चुअल लाइक, कमेन्ट, रिट्विट, बधाई तथा शुभकामना गन्ने, सुनियोजित रूपमा कसैले आफ्नो किताब च्यापेको फोटो खिचेर टाँस्ने अनि आफू यति लोकप्रिय भएको भ्रम दिने गरिरहेका छन् । त्यसका आधारमा को राम्रो, को नराम्रो छुट्याउन सकिँदैन । उनीहरू यस्ता भ्रामक आकांक्षाबाहिर जान सकेका छैनन् । साहित्य भनेको साहित्य मात्र हो, सनसनी होइन ।

अखबारका लेखोट पढेर जति आनन्द आउँछ, त्यही जति वा त्योभन्दा दोब्बर आनन्द आउँदैन भने त्यो बिलकुल साहित्य होइन । प्रायःजसो लेखोट दोहोर्‍याएर पढिँदैन, दोहोर्‍याएर नपढिने वा पढ्न नसकिने पनि साहित्य होइनन् । यहाँ त एकफेर पनि मेसैसित पढ्न नसकिने साहित्य हुन सक्दैन । मलाई लाग्छ, यहाँ सेलेब्रिटी भनिएका वा महोत्सवहरूमा यसरी लेख्नुपर्छ, त्यसरी लेख्नुपर्छ भन्ने साहित्यकारहरू नै दोहोर्‍याएर पढ्ने खालको लेख्दैनन् ।

गत वर्ष पनि साहित्यले बाजी मारेको भनेको अनुवादमा नै हो । मोहन मैनालीकृत ‘आकाशमुखी’ लाई झोलामै बोकेर हिँडिरहेको छु । निबन्ध वा गैरआख्यानमा रुचि राख्नेले पढे हुने किताब होइन कृति पाएर म गद्गद् छु । ११ जना विदेशी लेखकका उम्दा रचनाले ११ वटै किताब पढे बराबरको ताकत दिनेछन् । विदेशी लेखक मात्र किन ? नेपाली मूलकी लेखिका मञ्जुश्री थापाको उपन्यास ‘अल अफ अस इन आवर वोन लाइभ्स’ को अनुवाद उज्ज्वल प्रसाईकृत ‘एक्लै एक्लै’ को अवतारमा पठनीय ल्याएका छन् ।

अंग्रेजी साहित्यमा पहुँच नहुनेका लागि सुरेश बडालले पाउलो कोएलोको आत्मकथात्मक उपन्यास ‘हिप्पी’ को अनुवाद गरेका छन् । गैरआख्यानमा विनोदविक्रम केसी र नरेश ज्ञवालीले अरुन्धती रोयको ‘ती विद्रोही ती महात्मा’, वसन्त थापाले टोनी हागनको ‘बिल्डिङ ब्रिजेज टु थर्ड वर्ल्ड’ लाई ‘नेपालमा मेरो खोजयात्रा’, योङ्गे मिङ्ग्युर रिम्पोछेको सेल्फहेल्प विधाको पुस्तक ‘जोय अफ लिभिङ’ लाई डा. सरोज धितालले ‘जिउनुको मज्जा’ उल्था गरेर नेपाली पाठकलाई सुन्दर खजाना पस्केका छन् । तिनलाई साहित्य जगत्ले धेरथोर स्वागत गरेकै छ । यस हिसाबले हाम्रा अनुवादकले साहित्यको धर्म छाडेका छैनन् ।

नियात्रा अहिलेको साहित्यमा सबभन्दा फस्टाएको फसल हो । अनौपचारिक तथ्यांकमा गएको वर्ष धेरै नियात्रा विधाका पुस्तक छापिएका छन् । साहित्यकै सबभन्दा रोमाञ्चक विधा भएकाले यसमा नयाँ—पुराना लेखकको घुइँचो हुनु स्वाभाविक छ । यात्रा साहित्यमा धेरै लेखक हुनु उत्साहकै कुरा हो । तर, यो विधाका लेखकहरूले तारानाथ शर्मा, जनकलाल शर्मा, देवीचन्द्र श्रेष्ठ आदि साहित्यकारले थपना गरेको वरपीपल चौतारीमा सुस्ताउनेबाहेक लेखक स्वयंले बिसौनी या ‘सिग्नेचर’ निर्माण गरे भनेर देखाउने आधार कमै छन् ।

धेरैजसो नियात्रामा पर्यटकभन्दा पनि ‘भिजिटर’ का रूपमा एकपटक त्यस ठाउँमा पुगेको छ, खालि स्पोन्सर वा साथीभाइ, नातागोता, इष्टमित्रको मात्र कन्सिरी तात्ने गरी बखान गरेको छ, टुरिस्ट गाइडले जसरी बाटो र ठाउँ भट्ट्याएको छ, तर लेखकीय उद्दाम अनुभूति विरलै छन् । साहित्य लेखनमा सबभन्दा बढी महत्त्वपूर्ण हुन्छ, निजात्मक अनुभूति । मौलिक वा विशिष्ट अनुभूतिबिनाका लेखनले पाठकलाई बाँधेर राख्न सक्दैन । अर्थात् पाठकले लेखकको जुत्ता लगाएर हिँड्नै पाउँदैन ।

समाजले मानेका लेखक वा साहित्यकारलाई तिमीले पढेकै छैनौ भन्नु अपमान हुन जान्छ । तर, के हाम्रा नियात्रा लेखकले अरूले यिनै विषयमा लेखेका पुस्तक पढेका छन् ? शंशय नै लाग्छ । कम्तीमा लेख्नेले स्वदेश वा विदेशमा घुम्ने ठाउँ के–के छन्, र ती कहाँ पर्छन् भन्ने कुरा युट्युबमा भिडियो नै छन् भन्ने हेक्का राखे हुने । यो बाँच्ने विधा बाँझोचाहिँ छैन । गत वर्ष केही पुस्तक दृष्टान्तका रूपमा आएका छन् । तिनलाई पढाकुहरूले पक्कै खोजीमेली गर्नेछन् ।

कविता त नेपाली साहित्यको नियमित र उर्वर फसल भइहाल्यो । तर, कवितालाई नपढिने विधाका रूपमा खुम्चिएको भन्नु अतिशयोक्ति होइन । छन्दबाहेकका कविता लघुकथा, निबन्ध, चुट्किला वा समाचार के हुन्, छुट्याउन मुस्किल परिरहेको छ । कविता कति विवश भरिया भएको छ भने आजका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक मुद्दा उसकै थाप्लोमा छ । मुद्दाको तारेख बोकेर कविता आलसतालस देखिएको छ । कविताले कहिलेसम्म झन्डा बोक्ने ? कतिका एजेन्डा बोक्ने ? विधागत रूपमा कविता वाद होइन, बोधको नजिक हो । तर, वादको बन्धनमा रुमल्लिएका कविहरू राजनीतिक दलका ‘होल टाइमर’ नेता हुन् कि एनजीओका बेतलबी कार्यकर्ता हुन् ? यसै भन्न सकिँदैन । भावुकता या संवेदनाबिनाका कविताको पवित्रतामा जहिल्यै सन्देह हुन्छ । थोत्रा सूत्र र तुकबन्दी वा शब्दको बासी गठबन्धनले नयाँ कविता बन्दैन । विम्बको ठाउँमा नारा राखेर चल्दैन । जसले जेसुकै भनोस्, कविता भन्नु भावुकता वा संवेदनाकै उपज हो ।

वैश्विक चेतना आफ्नो ठाउँमा होला । तर, कविमा ‘कमन सेन्स’ चाहिएला, तर ‘पोलिटिक्कली करेक्ट’ हुने बाध्यता छैन । आजको साहित्यमा राजनीति जबर्जस्त छ । राजनीति ठाडै डकैती भइसक्दा पनि एकथरी कवि कवितामै राजनीति गर्छु भन्न पछि पर्दैनन् । कोरा भाषण, समाचार वा अलि चर्को गाली बेइज्जतीलाई नै सशक्त वा बेजोड कविता मान्ने हामी कुण्ठित हौं, कवि होइनौं । कविताद्वेषी हौं, काव्यप्रेमी होइनौं । राम्रा कविलाई अघि नलगाउने हो भने कविता विधाको स्तत्त्व बिलाउँदै जान सक्छ ।

साहित्यमा सबैभन्दा बदनामी र कुख्याति कमाएको विधा आत्मकथा हो । ‘कन्फेसन’ को ‘क’ पनि नभएको पुस्तकलाई कसरी आत्मकथा मान्ने ? यो आत्मा नै गुमाएको साहित्य बनेको छ । अनौपचारिक इतिहास मान्न सकिने यो विधाको सेना, प्रहरी, निजामतीका हाकिम, व्यापारी, लेखक, पत्रकारले हुर्मत लिइसकेका छन् ।

अहिले कसैको आत्मकथा पनि चल्तीमा छैन । आत्मकथाका उम्मेदवार पनि खासै देखिँदैनन् । वर्षान्तमा आएको सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ ले के कति चमत्कार गर्छ, त्यो भविष्यमै थाहा होला ।

लेखकहरूले औधी रुचाएको विधा हो आख्यान । बजारको बाछिटाजस्तो ‘एक बार ट्राई मारिहालौं’ भन्ने शैलीमा आख्यान प्रवेश चलेको चल्यै छ । वर्ष २०७८ मा आञ्चलिक स्वादको औपन्यासिक उपस्थिति अब्बल देखिँदै छ । तिनले लोक जीवन, लोक परिवेश, लोक लवज अनि लोक शब्दावलीलाई निकै महत्त्व दिएका छन् । यसले नेपाली शब्दभण्डार पनि चुलिएको छ । केही शैक्षिक उपन्यासहरू पनि पठनीय रूपमा आएका छन् । प्रवासबाट पनि कतिपय उपन्यास वैश्विक आवाज बोकेर उदाएका छन् । आख्यानकारहरूको मनसुवा नराम्रो होइन, तर ठ्याक्कै राम्रो हुन बाँकी नै छ ।

गत वर्ष कथामा पनि छिटपुट सम्भावना देखिएका छन् । सबै संग्रहका सबै कथा राम्रा नभए पनि कतिपयले कथामा जेथा थप्ने काम गरेका छन् । विधागत जानकारी नपाएका वा अग्रजका कथा नपढेकाले कतिपय चर्को अन्तरद्वन्द्वमा फसेका देखिन्छन् । घटनाको मुचुल्का उठाउने वा मुचुल्कालाई नै कथा बनाउने उद्यममा अधिकांश कथाकारहरू देखिन्छन् । त्यस्तो धङधङीबाट उन्मुक्त भएको राम्रो ।

साहित्यमा सुखद कुरा अरू पनि छन् । यो वर्ष महाकाव्यहरूले आफ्नो उपस्थिति देखाएका छन् । लगभग भूतपूर्व विधा भइसकेको महाकाव्य बलियोसँग आउनु भनेको साहित्यका निम्ति शुभ संकेत पनि हो । यो विधा बजार, अर्मपर्म वा प्रोपगान्डाका लागि आएको भन्दा पनि दीर्घ साधना अनि साहित्यप्रतिको आस्थाको प्रतिफल हो । अहिले कथित मूलधारमा गीत, गजल, हाइकु आदि विधाको खासै चर्चा परिचर्चा हुँदैन । संख्यात्मकको साटो गुणात्मक स्तरमा आउने चुनौती भए पनि ढिलो—चाँडो ती विधालाई न्याय हुने नै छ ।

इतिहास, संस्कृति, कलाका किताब लगभग दुर्लभ छन् । तर, तिनको पाठक छैनन् भन्ने होइन । लेखक एकदमै थोरै भएकाले उनीहरूलाई परिचयको संकट छैन । साहित्यमा सबैभन्दा उदेकलाग्दो कुरा साहित्य–समालोचना र सिद्धान्तका पुस्तक हम्मेसि देखिँदैनन् । विश्वविद्यालयका अध्यापकहरूले यदाकदा विभिन्न परियोजना अन्तर्गत लेखे पनि स्वतन्त्र अध्येताको सर्वथा अभाव छ । नाटक विधा त साहित्यमा लगभग गयल नै भइसक्यो । राम्रो जीवनी पनि गत वर्ष देखिएनन् ।

गत वर्ष पालिकास्तरीय साहित्य महोत्सव असार नलाग्दै भए । सायद स्थानीय तहमा नेतृत्व नफेरिँदै बजेटको जोहो गर्ने मनोविज्ञानले होला । महोत्सवमा महिला प्रतिनिधित्वले टाउको दुखाउन थालेपछि अब त सामाजिक सञ्जालमा अग्रिम प्रचारप्रसार पनि हुन छाड्यो । पालिकापिच्छे महोत्सव हुनु ठीकै हो । तर, जुन ठाउँको महोत्सवमा पनि काठमाडौंका एक हूल लगेर तिनैका बीचमा पाण्डित्याइँ छाँट्नु पनि कम विस्मयकारी होइन । पाठकहरूलाई के नलागोस् भने यो गत वर्षको कुरा मात्र हो । यहाँ हरेक वर्ष दोहोरिने कुरा यिनै हुन् । फेरि पनि साहित्य लेख्ने साहित्यकारले हो । किताब छाप्ने प्रकाशकले नै हो । पढ्ने काम पाठककै हो । पाठक वा समीक्षक महोदय ! नेपाली साहित्यबारे स्वस्थ बहसमा उत्रौं । साहित्यकारको पनि शुभ–चिन्ता गरौं, तर साहित्यको बेवास्ता नगरौं ।

प्रकाशित : वैशाख १०, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?