दोहा विमानस्थलमा एक उदास अनुहार
दोहा विमानस्थलको ट्रान्जिट लाउन्जमा
मेरो एउटा पुरानो कविताकी नायिकाजस्ती
सानो काँटीकी त्यो दुब्ली–पातली स्त्री
उडान पर्खिरहेका यात्रुहरुको भीडमा
नितान्त एक्ली, अन्यमन्यस्क, चुपचाप
मुन्टो निहुराएर बसिरहेकी थिई,
उसको उदास मुहारको क्यानभासमा
कोरिएको थियो –
चिरन्तनदेखि उसले भोग्दै आएको
अथाह पीडाको बीभत्स चित्र !
नितान्त पराइ र निर्मम, धारिलो प्रकाशको आघातले घाइते भएकीजस्ती देखिने त्यो स्त्री
को थिई ? के थियो उसको पहिचान ?
दोहा विमानस्थलको विस्तृत परिसरभित्र
अनेक भेष र भूषाका मानिसहरुले बनाएको
कुरङ कोलाजमा
के खोजिरहेकी थिई ऊ भन्न सकिँदैनथ्यो
आफूभित्र मरिसकेका प्रिय/अप्रिय संवेगहरुको
लासबाट आएको तिखो दुर्गन्धलाई पन्छाउँदै
सजिलैसँग सास फेर्न एकमुठी सफा हावा
पो खोजिरहेकी थिई कि ?
साना काँटीका दुब्ला आइमाईहरु शीर्षकको
मेरो पुरानो कवितामा देखिएकी आमा त
पक्कै पनि थिइन ऊ
हो, त्यस्तै त्यस्तै चाहिँ देखिएकी थिई
तर, आँसु र रगतको सगुन दिँदै
खुसीसाथ पछ्याउँदै हिँड्न ऊसँग
मायालाग्दा लोग्नेमान्छेहरु थिएनन्
उसको हृदयमा खोपिएको लोग्नेमान्छेको विम्ब त बनेको थियो :
उसको छातीमा रगडेर निभाइएका चुरोटका ठुटाहरु, टोकेर रगतमुच्छेल पारिएका घाइते ओठहरु
र कुत्सित वासनाको आगोमा डढेर खग्रास भएको
उसको खोटो मातृत्वबाट !
एक थोपासम्म पनि आँसु बाँकी नभएका
कठोर आँखाहरु उठाएर
जब उसले एकपटक हेरी मतिर
मेरो वरिपरिको संसारमा फैलियो बाक्लो अन्धकार
म उभिन बाध्य भएँ आफ्नै आत्माको कठघरामा
र, बिनादलिल, बिनाबहस, बिनाप्रतिरक्षा
म पुरुषले ठहर गरेँ आफूलाई उसको अपराधी !
प्रकाशित : वैशाख १०, २०७९ ०९:२३