२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

११४ वर्षअघिको त्यो ‘पेरिसदेवी नगरी’

राणा प्रधानमन्त्री जंगबहादुर बेलायत यात्रामा गएको ५७ वर्षपछि राणा प्रधानमन्त्री चन्द्रशमशेर विसं १९६५ वैशाख २८ गते उही रुट पछ्याउँदै बेलायत पुगे । जंगबहादुरकै शैलीमा उनी बेलायतबाट फ्रान्सको पेरिस हुँदै नेपाल फर्के । जंगबहादुरको त्यो यात्राबारे कमलमणि दीक्षितको सम्पादनमा विसं २०१४ मा पहिलोपटक ‘जंगबहादुरको बेलाईत यात्रा’ पुस्तक प्रकाशित भएपछि यसबारे अनेक कोणबाट चर्चा र छलफल भयो । तर, १ सय १४ वर्षअघि चन्द्रशमशेरले गरेको युरोप यात्राबारे भने उति चर्चा र विर्मश भएको देखिन्न ।

११४ वर्षअघिको त्यो ‘पेरिसदेवी नगरी’

चन्द्रशमशेरको युरोप यात्रामा उनका सात भाइ छोरा, ब्रिगेडियर कर्नेल डिल्लीशमशेर थापा, कर्नेल किशोरनरसिंह राणा, भारदारहरू लेस कर्नेल विष्णुकुमार पाण्डे, कर्नेल चन्द्रजंग थापासहित १४ र अन्य १८ नोकरचाकरसहित ४५ जनाको टोली थियो । ‘जंगबहादुरको बेलाईत यात्रा’ खासमा कसले लेखेको हो भन्नेबारे यकिन जानकारी छैन । यसबारे अनेकन अड्कलबाजी आजपर्यन्त जारी छन् । तर, चन्द्रशमशेरको युरोप यात्राबारे भने सहयात्री कर्नेल डिल्लीशमशेरले दुईवटा पुस्तक लेखेको तथ्य भेटिन्छ । ती दुईमध्ये कुन किताब पहिले र कुन पछि छापियो भन्नेबारे यकिन भन्न सकिँदैन । (राणा प्रधानमन्त्री चन्द्रशमशेरका मामा केशरसिंह थापा (१९०१–१९५१) का जेठा छोरा हुन्– डिल्लीशमशेर । डिल्लीशमशेरका खनाति पुस्ताका वरदानशमशेर थापाका अनुसार, डिल्लीले कलकत्ताबाट म्याट्रिक पढेका थिए । उनको मृत्यु विसं १९८५ साउन २ गते भएको थियो ।)

डिल्लीले लेखेको एउटा किताबको नाम हो– ‘अथ युरोप यात्रा प्यारिसकाण्ड’ । संस्कृत भाषामा लेखिएको यो पुस्तक श्री नक्साल भागवत प्रेसबाट प्रकाशित भए पनि प्रकाशित मिति भने पुस्तकमा उल्लेख छैन । संस्कृत भाषामा लेखिएको पुस्तकको प्रति डिल्लीशमशेरका पनाति वरदान थापाको संकलनमा भेटिएको हो । इतिहासकार महेशराज पन्त पनि यो पुस्तकबारे आफूलाई थाहा नभएको बताउँछन् ।

चन्द्रशमशेर युराेप भ्रमणमा छँदाकाे सामूहिक तस्बिर । तस्बिर : जगदिश जग्सकाे संकलनबाट

बरु महेशराजको संकलनमा यिनै डिल्लीले चन्द्रको युरोप यात्राबारे लेखेको अर्को पुस्तक भेटियो । ‘श्री युरोप यात्रा’ नामक यो किताब भने संवत् १९६७ मा पण्डित नरदेव मोतीकृष्ण शर्माले पशुपत छापाखानामा प्रकाशित गरेको देखिन्छ । छन्दमा लेखिएको पुस्तक प्रस्थानकाण्ड, लन्डनकाण्ड, समुद्रकाण्ड र प्यारिसकाण्ड गरी चार खण्डमा बाँडिएको छ । ‘अथ युरोपयात्रा प्यारिसकाण्ड’ पुस्तकमा बेलायतको भ्रमण सकेपछिको यात्राको खण्ड मात्रै वर्णन गरिएको छ । डिल्लीशमशेरले पेरिस भ्रमणमा आफूले के–के देखे भन्ने दृश्यहरूको वर्णन मात्रै गरेका छैनन्, महाराजको यात्रालाई पेरिसले कसरी हेर्‍यो भन्ने तथ्य पनि उल्लेख गरेका छन् ।

विसं १९६५ साउन ८ गते लन्डन छोड्दाको दिन वर्णन गर्दै डिल्लीशमशेरले लेखेका छन्, ‘मन नलागी नलागी लन्डन नगरी छाड्नुपर्ने भयो । यस्तो आनन्दमय ठाउँ कहिले पो देखिएला र !’ लन्डन छाड्न मनै थिएन भनि लेखकलाई विस्मात भइरहेको थियो । परदेश जतिसुकै स्वर्गसमान भए पनि लामो समय बिताउन सकिँदैन भन्दै उनले फर्किने क्रममा विचित्रको सहर फ्रान्स घुम्ने निधो गरेको उल्लेख गरेका छन् । महाराज पेरिस हिँड्नुअघि नै कर्णेल चन्द्रजंग बर्मा पेरिस पुगीवरी बासको तारतम्य मिलाएको देखिन्छ । महाराजले बेलायत छाड्दाको दृश्य डिल्लीशमशेरले लेखेका छन्, ‘९ः५० मा लन्डनको भिक्टोरिया रेलवे स्टेसनबाट पेरिस जान लागेकाले स्टेनसन नै खिन्न देखिन्थ्यो । महाराजहरूलाई बिदाइ गर्न आएका आदरणीय जनहरूद्वारा त्यो स्टेसन शोभायमान भएको थियो ।’ चन्द्रशमशेरको भ्रमण दल बिहान दस बजे हिँडेर घाम अस्ताउनुभन्दा करिब ५० मिनेट अघि पेरिस नगरी पुगेको देखिन्छ । जंगबहादुरको बेलायत यात्रामा पनि करिब–करिब यस्तै देखिन्छ । ‘जंगबहादुरको बेलाईत यात्रा’ मा लेखिएको छ, ‘बेलाईतदेखि १ प्रहर दिन बाँकीमा रेलगाडामा सवार भै जाँदा समुद्रका तीरमा साँझमा पुग्नुभयो ।’

चन्द्रशमशेर पेरिस पुगेको भोलिपल्टै आइफिल टावर चढेको देखिन्छ । डिल्लीशमशेरले टावर चढ्दाको क्षण र त्यहाँबाट देखिएको दृश्य वर्णन यसरी गरेका छन्, ‘त्यो टावरको माथि गएर सौन्दर्य अवलोकन गर्ने उत्सुकताले सबै आश्चर्यचकित भइरहेका थिए । ६६६ हात अग्लो यो टावरले आकाश चुमेको जस्तो देखिन्थ्यो । माथि जानका लागि पनि हिँडेर खुट्टालाई दुःख दिनुपर्दैन । त्यो टावरमा चाहिँ एकदम विचित्र किसिमको यन्त्र थियो । जब मानिसहरू त्यो यन्त्रमा छिर्दथे, त्यसपछि त्यो यन्त्र मन्द गतिले बिस्तारै बिस्तारै माथिल्लो माथिल्लो तल्लातल्ला हुँदै चढ्दै जान्थ्यो । हामी पनि त्यही यन्त्रमा बसेर त्यसैको बलले माथि पुगेर चारै दिशामा आश्चर्यचकित दृश्यहरू देखेर एकदम खुसी भयौं ।’

डिल्लीशमशेर पनि पेरिसको तुलना सुमेरु पर्वतसँग गर्छन् । उनले लेखेका छन्, ‘अग्लो सुमेरु पर्वतमा इन्द्रादि लोक छन् । त्यो लोकमा पुण्यकर्मको फलभोगी मात्र बस्न पाउँछन् । त्यो सुमेरु पर्वतको गुफामा गीत, वाद्यवादन र नृत्य गर्नेहरू पनि बस्छन् भनेर कविहरूले भनेका छन् । शायद उनीहरूले यहि टावरलाई सुमेरु भनेको हुनुपर्छ भनेर लेखकले बिम्बको प्रयोग गरे ।’

डिल्लीशमशेर आइफिल टावरमा रहेको वायरलेस टेलिफोन देखेर चकित परेका छन् । उनले टेलिफोनलाई ‘विचित्र यन्त्र’ भन्दै लेखेका छन्, ‘त्यहाँ एउटा टेलिफोन पनि थियो । यहाँ रुस, अफ्रिका र अन्य परदेशमा रहेका मान्छेसँग वार्ता गर्नका लागि वारलेस नाम गरेको विचित्र यन्त्र थियो । त्यो यन्त्रले तारैबिना केवल तरंगको बलले मात्रै टेलिग्राफले जसैगरी अनेक काम गर्दछ ।’

पेरिस यात्रामा डिल्लीशमशेर सहरको सौर्न्दयबाट मात्रै मुग्ध छैनन्, त्यहाँका महिलाहरूको स्वतन्त्रता देखेर पनि चकित परेजस्ता देखिन्छन् । महिलाहरूका निम्ति पूर्ण रूपमा बन्द रहेको त्यतिबेलाको नेपाली समाजमा हुर्केका डिल्लीशमशेर पेरिसका महिला देखेर चकित पर्नु अस्वाभाविक देखिन्न ।

कमाण्डिङ कर्णेल डिल्लीशम्सेर थापा

डिल्लीशमशेरले लेखेका छन्, ‘पेरिसपुरीका सुन्दरीहरू कस्ता थिए त भने, हात्तीको जस्तो हिँडाइ भएका, कमलको फूलजस्ता अनुहार भएका, नौला किसिमका र आधुनिक वस्त्रहरू लगाउने, राम्रो हुनका लागि अलंकार लगाउनै नपर्ने, मिठो बोली भएका, संस्कारयुक्त स्त्रीहरू थिए । तिनीहरूको त्यो हिँडाइ, बोलाइ, अनुहारको सौन्दर्यको वर्णन गरेर नसकिने किसिमका सुन्दरीहरू त्यहाँ थिए । हावाको गतिको भन्दा पनि तीव्र गतिले वर्णन गर्दा पनि उनीहरूको वर्णन गरी साध्य छैन । संसारमा चाहिँ नारीलाई अवला भन्दछन्, तर पेरिसका युवतीहरू भने सबै शास्त्रहरू जानेका, मुखमा सरस्वतीको बास भएका, विदुषी, गृहकार्य र राजकार्य पनि सबै कामहरू विद्वान् पुरुषले झैं गरी सामान्य किसिमले चलाउने खालका रहेछन् यहाँका ‍स्त्रीहरू । हृष्टपुष्ट, विद्या र धनले युक्त भएका मानिसहरूमात्रै पेरिसपुरीमा बस्ने गर्दथे ।’

जंगबहादुर आधा दशकअघि पेरिस पुग्दा पेरिसले भोग गरेको स्वतन्त्रता र जीवनशैलीबाट चन्द्रशमशेर पनि प्रभावित देखिन्छन् । ‘जंगबहादुरको बेलाईत यात्रा’ मा पेरिस यात्राको खण्डमा लेखिएको छ, ‘बघैचामा जब रात पर्‍यो शहरवासी जवान–जवान लोग्न्या–स्वास्नीहरू आया, नाच–तमाशा गर्‍या, रोटी, मासु, सराप खरिद गरी खाया ।’

जंगको ‘बेलाइत यात्रा’ मा त पेरिस सहरलाई कैलाशसँग तुलना गरिएको छ । लेखिएको छ, ‘यस्ता तह्रको प्यारिस नगरी देख्दा कैलासमा रह्याका जस्तो, कैलास हो कि भन्याजस्तो लाग्न्या ।’ जंगको भन्दा एक कदम अघि बढेर डिल्लीशमशेरले पेरिसको भव्यतालाई स्वर्गसँग तुलना गरेका छन् । लेखेका छन्, ‘पेरिस पुरी चाहिँ सबैको मनलाई हरण गर्ने किसिमको थियो । हामीले धेरै ठाउँमा स्वर्गको वर्णन सुन्यौं, तर अहिले आएर स्वर्ग भनेकै यहि पेरिस रहेछ भन्ने जस्तो लाग्यो ।’

उनले पेरिसलाई ‘नगरीहरूको रानी’ को उपमा दिँदै लेखेका छन्, ‘जसरी हाउभाउ कटाक्षद्वारा राम्री स्त्रीले युवकहरूलाई वशमा पार्छिन् त्यसरी नै पर्यटकहरूलाई पेरिसनगरीले वशमा पार्थ्यो । त्यसैले पनि पेरिसलाई नगरीहरूकी रानी भनिएको हुनुपर्छ ।’

जगंबहादुर ४० दिन पेरिस घुमे । तर, चन्द्रशमशेरको दलबल सात दिनमै पेरिस भ्रमण गरेर साउन १५ मा नेपाल फर्केको देखिन्छ । पेरिसको सुन्दरता छाडी नेपाल फर्किनुपर्दाको समयलाई डिल्लीशमशेरले यसरी लेखेका छन्, ‘पेरिसलाई वियोगमा पार्दै आफ्ना पार्श्ववती र आफन्तहरूसहित भएर अब यो पेरिस छाड्नुपर्छ भन्ने विचार गरी सोही दिन फर्किए । यस्तो सर्वोत्तम र सर्वमुखीले सम्पन्न भएकी यस्ती पेरिसनगरी धन्य छिन् भन्दै उक्त नगरी छाडेर जानुपर्दा विस्मात पनि उत्तिकै भयो । पेरिस चाहिँ सर्वोत्तम र सर्वमुखी भएकाले धन्य छिन्, हामी चाहिँ त्यस्ती पेरिसनगरीलाई हेर्न पाएर धन्य छौँ । यस्ती अनुपम पेरिस देवी सधैं नै आनन्दको चरम अवस्थामा रहिरहुन् भनेर म ईश्वरसँग प्रार्थना गर्दछु ।’

(केही त्रुटि पर्न गएकोमा सच्याइएको छ)

प्रकाशित : वैशाख १०, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?