२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेलले छाडेका दीर्घ हिक्का

लामकीराजस्तो निरन्तर पछ्याइरहने रेलको झझल्कोबाट निरस्त हुनका लागि नै मैले ‘घामका पाइला’ हरु लेखेँ । यो उपन्यास रेलले लगाएको दीर्घ हिक्का र बाडुलीको भावनात्मक विसर्जन, कथार्सिस हो । रगतमा सधैँ कुदाकुद गरिरहने रेलको हस्याङफस्याङलाई कागजमा ओरालेर लामो धङधङीको थान्को लाउने त्यो स्थायी रचनाप्रक्रिया हो । – धच गोतामे
सुबिन भट्टराई

म बालखै छँदा मेरा हजुरबुवा परलोक हुनुभएको हो । हजुरबासितका रहलपहल र धमिला सम्झना स्मृतिमा उग्राइरहन्छु र काल्पनिक स्नेहले बेला–बेला आफैँलाई छ्याप्ने गरेको छु ।

रेलले छाडेका दीर्घ हिक्का

ती छिटाछिटीले मेरो आत्माको पीँधसम्म तन्काएका तिर्खाका रेखाहरू के पुरिऊन् ? तिर्खाका ती अतल रेखाहरू पुरिनलाई कलम बोकेर कि आफैँ सिर्जनाको डुबुल्कीमा हेलिनुपर्‍यो, होइन भने आफ्नो तिर्खा मेट्ने गहकिलो आख्यानको खोजी गर्नुपर्‍यो ।

‘घामका पाइलाहरू’ मेरा लागि त्यही कोटीको आख्यान हो ।

पण्डित दुर्गानाथ हिमालका शिखरबाट हिउँ पग्लेर फुटेझैँ ज्ञान र स्नेह, आशीर्वाद र करुणाका अजस्र धारो बगाउँछन् । यिनै दुर्गानाथ बाजेले बगाएको ज्ञानको धारोमा रुक्षताबाट धापिँदै, लखेटिँदै, हुर्रिँदै आएर काकाकुलजस्तो आफ्नो लामो तिर्खा कति पटक मेटाएको छु । हजुरबुवा ती असल फूल हुन्, जसको सुगन्ध ‘घामका पाइलाहरू’ मा मात्र सीमित छैन, उनका गन्ध र परागले हावासित मिसिएर आख्यानको चौगिर्दा नाघी, समयको सुदूर किनारमा बाँचिरहेका असम्पृक्त पाठकसम्म निरन्तर ओसारिरहेको छ ।

‘घामका पाइलाहरू’ का दुर्गानाथ बाजेसित सादृशः राख्नेगरी हजुरबुवा मेरो स्मृतिको बाक्लो जंगल छिचोल्दै आउनुहुन्छ र आफ्ना थरथर गरिरहेका, चाउरिएका हटिया लागेको एउटा हातले मेरा मरन्च्याँसे हात समाएर अर्को हातले चस्माको फोकस मिलाउँदै, आँखाका आँसु पुछ्दै मलाई ‘ङिच्चे’ भन्नुहुन्छ, बाजेले पवनलाई ‘फिस्टे’ अथवा ‘जैरे,’ भनेजसरी ।

म हजुरबुवाका परेला औँलाहरूले बिस्तारै पुछिदिन्छु । हजुरबुवाको आँखाको चिसो, मेरा औँलामा सर्छन् ।

मेरो बालख अवतार हजुरबुवाका आँशुमाथि वयस्क प्रश्न गर्छन् । हजुरबुवा मानौँ भन्नुभइरहेको छ, ‘आँशु बजियाको के भाँति छ र ङिच्चे ! बुढ्यौली लागेको आँखामा त्यो परेलासितै लुकेर बसेको हुन्छ । अलिकति प्रसन्नता भए पनि अथवा मनमा सानो ठेस लागे पनि ओइरिदिन्छ ।’

घरीघरी म पनि सुबिन नभएर ‘घामका पाइलाहरू’ को त्यहि पवन हुँझैँ लाग्छ । यो जवाफ दिने दुर्गानाथ नभएर मेरै हजुरबुवाझैँ लाग्छ ।

हजुरबुवालाई चुरोटको तलतल लाग्थ्यो, म खुर्रर पसल जान्थेँ र किनेर ल्याइदिन्थेँ । फलानाको घर लगिदे भन्नुहुन्थ्यो, म लगिदिन्थेँ ।

प्रायःजसो सेतो कुर्ता र सलवार, ढाकाको टोपी, कालो इस्टकोट अनि कालै फ्रेम भएको चस्मा लगाउनुहुन्थ्यो हजुरबुवा । बा–आमाको अनुशासनको घामले चरक्क पोल्यो भने हजुरबुवाको सियाँल खोज्दै जान्थेँ । हजुरबुवा स्नेहको चिसो बतासले हम्किदिनुहुन्थ्यो । मलाई छुट थियो हर सानो–ठूलो बिगो गर्न, जबसम्म हजुरबुवा हामीहरूसित हुनुहुन्थ्यो ।

रोगले छोइसकेपछि उपचार गर्न गाउँ छाडेर काठमाण्डौँमा हामीसित बस्न थाल्नुभएको थियो हजुरबुवा । गरिबी र अनेक हन्डर–ठक्करबीच पौष्टिक आहारका नाउँमा रोगी हजुरबुवाका लागि दिनमा एउटा उसिनेको अण्डा भाग लाग्थ्यो । अण्डाको बोक्रा छोडाएर सेतो भाग आफू खानुहुन्थ्यो र पहेँलो मलाई दिनुहुन्थ्यो । आज पनि जब उसिनेको अण्डा छोडाउँछु, सेतो भागभित्र लुकेर बसेको पहेँलो भागमा हजुरबुवाको अव्यक्त र अदृश्य स्नेह भेट्टाउँछु ।

काठमाडौँ बसुन्जेल म हजुरबुवासितै सुत्थेँ । बाहिरफेर निक्लिनुभो भने हजुरबुवाकै औँला समाएर निक्लन्थेँ । कतिपटक गाउँ जाँदा हजुरबुवाको पुछार लागेर गएको थिएँ ।

‘घामका पाइलाहरू’ का जति–जति पन्नाहरू पल्टिन्छन्, द्रुत गतिमा हिँडिरहेको रेललाई परबाट झिलिक्क देखिएझैँ फोकस नमिलेका दृश्यहरूको लस्कर लाग्छन् । पवनका हजुरबुवा, मेरा हजुरबुवा... ! मेरा हजुरबुवा, पवनका हजुरबुवा... ! रेलको

झ्यालबाट हेर्दा फेरिइरहने रूख वा खेतका अनुहारझैँ आलोपालो लगाउँदै मेरो चेतनामा चियाउँछन् ।

रेलको छुकछुक आवाज जहाँकहीँ सुनूँ, स्टेसनको व्यस्तता र हडबडी चाहे सिनेमामा देखूँ या साँच्चिकै, मेरा लागि त्यो ‘घामका पाइलाहरू’ को सिँगै प्लट बनेर उपस्थिति हुन्छ ।

हजुरबुवा अन्तिम–अन्तिम अवस्थामा हुरुक्कै हुन्जेल खोक्नुहुन्थ्यो, अहिलेका नेटफ्लिक्स र अमेजनका सिरिजभन्दा लम्बाचौड हुन्थ्यो उहाँका खोकीका शृंखला । सुरु मात्र हुनुपर्थ्यो । क्यान्सरले सुकेर समिधाजस्ता हात भएका थिए उहाँका । दुर्गानाथ बाजेको खोकी र घ्यार्रघ्यार्रले मलाई हजुरबाको झल्को दिन्छन् । तासको गद्दी, फिकदानी, लौरो, हुक्काको नली र समग्र बुढ्यौलीका अवशेषहरू कतै न कतै मेरै हजुरबुवाका दौंतरी अवशेष हुन्झैँ लाग्छन् ।

कुनै आख्यानभित्रको पात्रलाई हजुरबाको नातोको बिल्ला भिराएर, उनको सामीप्य र सत्संगबाट यसरी मैले आफूभित्रको चीर वञ्चनाको छिद्र टाल्दै आएको छु । एउटा आख्यानमा बालखै रहेको पात्र कहिल्यै बूढो नहुँदो रहेछ । समयको जुनसुकै त्यान्द्रोमा बसेर आख्यानका पन्ना पल्टाऊँ, पात्र आफ्नो उमेरको लिकबाट एक इन्च पनि डगमगाउँदैनन् । पवन मेरा लागि त्यही पात्र हो, जसको किशोर काया मेरै छाया पारेर कुनै पोखरीको डिलमा उभिइरहेको हुन्छ । लाग्छ, पवनसँगै मैले पनि आफ्नो उमेर त्यही आख्यानमा छोडेर आएको छु । जब–जब परिचितहरू ‘बूढो भइस्’ भनेर मृत्युको अदृश्य भय देखाइदिन्छन्, म त्यही आख्यानमा छिर्छु, आफूले छाडेर आएको उमेरमा गएर गाँसिन्छु अनि पोखरी र नदीनालाहरू जनै–कन्दनी बेरिएजस्तै बेरिएको एउटा गाउँमा पवनसितै डुल्छु, पौडी खेल्छु, त्राण मिल्छ ।

यस्तो लाग्छ, कोही अणुजस्तै किशोर सखासितको मित्रता, आकर्षण र प्रेमका रेखाहरूको अलमल पार गर्न खोज्दाखोज्दैको एउटा अधुरो किस्सा र अज्ञात सम्भावना छोडेर आएको छु । मन लागेका बेला समयको त्यही हाँगोमा चढ्छु र आफ्नो उमेरको स्वाद टिप्छु ।

दुःखको कुरो एउटै छ, जतिचोटि यो आख्यानको डुबुल्की लगाऊँ, उमेरको त्यो स्टेसनमा पुगेर जुनै डब्बामा आफूलाई जतिचोटि हुलूँ, आफूलाई जति छाडा छोडूँ, जति हाँसू, नाचूँ, अन्तिममा पण्डित दुर्गानाथको मलामी जानैपर्छ । मलामीको भीडमा मिसिई आँखालाई ह्वाङ्ग पारेर आँसुका लागि बाटो छोडिदिनैपर्छ ।

त्यसबेला लाग्छ, म साख्यै हजुरबुवाको मलामी फेरि गइरहेछु । भद्दा मजाकझैँ लाग्न सक्छ, एउटै मान्छेको पटकपटक मलामी को जाँदो हो ?

तर, केही गरे यो टार्न सकिन्न । त्यो मलाममा मूर्च्छा परेर पिताप्रति आफ्नो सञ्चित स्नेह बगाइरहेका पीताम्बर, मेरै बा हुन्झैँ लाग्छ । देखेर यसै भाउन्न हुन्छु । आफ्नो टोपी खोलेर ‘मलाई छाडेर जानुभो, म चाँडै आउँछु,’ भनेका अमलेन्दु भट्टाचार्य मेरो कोही सहोदर लाग्छन् । उनको अनुहार देखेर रेलको इन्जिनबाट धूवाँ छुटेझैँ मुटुभित्रैदेखि विरक्ति छुट्छ ।

छेउमा कतै महिलाहरूबाट घेरिएर सारीको सप्कोले सुँकसुकाइरहेकी पवनकी आमा म अर्थात् सुबिनकी आमा लाग्छिन्, जसलाई देखेर पिलपिल गर्दै आँखाबाट शीत ओइरिन्छन् ।

कोही सोधोस् मलाई, सबैभन्दा सुन्दर यात्रा के हो ?

म भन्दो हुँ, सबैभन्दा सुन्दर यात्रा त आख्यानको यात्रा हो, जहाँ पुगेर पनि म कहिल्यै पुग्दिनँ ।

पढिसकेपछि एउटा गहिरो सन्तुष्टि त हृदयका भित्ताहरूमा टाँस्सिएरै बसेकै छन्, तर कता केही छुटेजस्तो । लाग्छ कि मान्छे बसाइँ हिँडेर रित्तिएको घरजस्तो भएको होस् मन । आँखा उठाएर चारैतिर हेर्छु मेला उठेको चौरजस्तो संसार छ । मस्तिष्क जुरुक्कै उठेर दौडिन चाहन्छ, मेरो सर्वस्व कुनै ट्रेनको एउटा सानो डब्बामा कोचिएर टाढा जाँदै छ । ट्रेन लामकीरोजस्तै घसि्रँदै केही टाढा पुगिसकेको छ, लहरे हुसिल बजाउँदै, आँपको घारीमा गएर छोपिन्छ केही छिनमै । म आँखाले फगत सुम्सुम्याउँछु, फलामका समानन्तर एकजोडी रित्ता लिकलाई । मुठ्ठीमा थुनिराखेको थिएँ एउटा पुतलीलाई, जो उड्यो र मेरो आँखाबाट अलप भयो, हत्केलाभरि रङ छोडेर । कुनै अदृश्य सुइरो मेरो पनि मर्मभित्र रोपिएको होस् ।

अमलेन्दु भट्टाचार्य आफ्नो अभिजात्य अंग्रेज रवाफसहित कुनै कुनोबाट चियाउँदै मलाई भनिरहेका हुँदा हुन्, ‘ब्लडी इमोसनल फूल !’

...

पढ्दापढ्दै यिनै लेखकको किताब, एक दिन सपनामा यिनैलाई देखेँ । कुनै धूलौटे गाउँको एउटा पोखरीमा म पौडिरहेको थिएँ । छतिवनको रूखको सियाँलमा लस्तपस्त भएर यिनी बसिरहेका थिए ।

भाकलभुकल गाला, जहाँ चिटचिट पसिनाका साबुदाना उम्रेका थिए । टाउकाभरि फुलेका केश, अनि सफारी सुटमा आएका लेखकलाई परैबाट चिनेँ । एउटा हातमा पेस्तोल पनि थियो । ‘बित्थामा हन्बेर्नोझैँ भयो यो पेस्तोल, वर्षैपिच्छे कर मात्र तिर्नुपर्छ,’ भनी गुनासो पोखिरहेका ।

म उनको नजिकै गएँ । खुसीले गद्गद् भएँ । ‘मेरा प्रिय लेखक !’ अंकमाल गरेँ उनलाई ।

‘प्रिय लेखक, किन लेख्यौ घामका पाइलाहरू ?’ पहिलो प्रश्न मैले उनलाई यही गरेँ ।

पहिला जेबबाट रुमाल झिकेर अनुहारभरिका पसिना पुछे । पर क्षितिजतिर आँखा लगे ।

अनि चलिसकेको बन्दुकबाट बारुदको गन्ध निक्लेझैँ बोलीमा भोजपुरी हरक ल्याउँदै उनले भने, ‘लामकीराजस्तो निरन्तर पछ्याइरहने रेलको झझल्कोबाट निरस्त हुनका लागि नै मैले घामका पाइलाहरू लेखेँ । यो उपन्यास रेलले लगाएको दीर्घ हिक्का र बाडुलीको भावनात्मक विसर्जन, कथार्सिस हो । रगतमा सधैँ कुदाकुद गरिरहने रेलको हस्याङफस्याङलाई कागजमा ओरालेर लामो धङधङीको थान्को लाउने त्यो स्थायी रचनाप्रक्रिया हो ।’

‘प्रिय लेखक, घामका पाइलाहरूको पवन को हो ?’

अनुहारमा हाइफन जत्रै हाँसोको रेखा कोरेर भने, ‘पवन म हुँ सुबिन । पवन सुबिन पनि हो ।’

‘घामका पाइलाहरू कस्तो साहित्य हो ? प्रगतिशील ?’ फेरि सोधेँ ।

‘साहित्य साहित्य मात्र हुन्छ सुबिन, न त्यो प्रगतिशील हुन्छ, न प्रतिक्रियावादी हुन्छ ।’

‘प्रिय लेखक, यति धेरै रोचक संस्मरण लेख्नुभो, हरेकमा उपन्यासको सम्भावना थियो । किन टार्नुभो ?’

‘यी संस्मरणहरूको आलो–काँचो माटालाई किचकाच गरी चक्कामा घुमाएको भए उपन्यासका एक दुई कलाकृति निस्कँदा हुन्, तर त्यसो गर्नतिर

लागिनँ । किनभने यस विधाको लेखन कार्यको आफ्नै रचनासुख छ, जसले मलाई संस्मरणतर्फ नै डोर्‍यायो ।’

...

सपनाबाट झल्याँस्स ब्युँझिन्छु । छेउमा यिनै लेखकका सात थान किताबको एउटा चाङ छ । राति पढ्दापढ्दै तिनै चाङबीच निदाएको रहेछु ।

त्यसो त केही रङसित पहिल्यै चिनापर्ची नभएको होइन, तर इन्द्रेणीको सिंगै चाङ एकएक गर्दै छिचोल्छु । लेखक धच गोतामे आफ्नो शिल्प र बौद्धिकताको प्रकाशको सेतो बिम आफ्नो अनुभूतिको प्रिज्ममा फ्याँक्छन् र त्यहाँबाट निक्लन्छन् यी सात सिर्जना— ‘घामका पाइलाहरू’, ‘यहाँदेखि त्यहाँसम्म’, ‘उत्तरोत्तर’, ‘कालान्तर’, ‘सम्झनाका गल्छेँडाहरूमा’, ‘तीन वास’, ‘संज्ञा सर्वनाम’ ।

सातै रङको धङधङीले यतिखेर सम्पूर्ण आह्लादित हुन्छु । मीठो खाइसकेपछि नचुठूँजस्तै, जिब्रो फट्कारिरहूँजस्तो । जिब्रो लालायित छ, दाँतका काप काप छिरेर स्वाद सोहोर्न खोज्छ । रहलपहल स्वाद मानौं अझै तिनै कापकापमा लुकेर बसिरहेका छन् ।

हतारिएर, आँखा दौडाउँदै पन्ना छिटोछिटो पल्टाएर काम छिन्ने कोटीको साहित्य पढ्ने हो भने यिनलाई नपढे हुन्छ । यिनी आफ्ना अक्षरका उकालीमा घरी पसिना कढाइदिन्छन्, घरी शीतल चौतारो ओछ्याइदिन्छन् र काव्यको ताजा हावाले हम्किदिन्छन् । घरी चिसो ढुंगेधारो पुर्‍याइदिन्छन्, घरी शिल्प–भाषाका मनोरम वन र वाटिकामा लगेर कताबाट के टिप्नू र उठाउनुझैँ गरी पाठकलाई रनभुल्लमा पारिदिन्छन् ।

मान्छे सबैभन्दा निःशब्द त्यसबेला हुन्छ, जुनबेला या ऊसित भन्नलाई केही हुँदैन या ऊसित भन्नुपर्ने धेरै कुरा हुन्छन् । यिनलाई चाटीचुटी पढिसकेपछि मेरो त्यस्तै हाल भएको छ ।

जुन स्टेसनबाट चढेँ, ओर्लिसकेको छु । तर, यात्रा यो यस्तो रह्यो, उत्रे पनि फेरि उही स्टेसन खोज्दै जाऊँ र यात्रा दोहोर्‍याऊँ ।

तिनै खलिहानहरू हेरेर रमाऊँ, जेलको दिवार प्रस्ट देखिने कुमालटोलको त्यही घरमा बास मागूँ, पवन र अणुलाई दौँतरी बनाऊँ, क्रान्तिका तिनै गीत सुनेर निदाऊँ, रक्सौल, वीरगन्जको छपकैयाँ पोखरीदेखि चेरवन्त मुर्किपालियासम्म सबैलाई आँखाका घडामा भर्दै एउटा सिँगै इतिहास आफ्नै मनस्थितिमा ओसार्दै पछार्दै हिँडिरहूँजस्तो ।

धच जब–जब अतीतको सुरुङ खनेर आफ्नो गाउँ र परिवार उग्राउन थाल्छन्, यिनको कवि हृदय भावुकताको काँध हालेर आउँछ र पाठकका चेतनालाई रिमरिम पारिदिन्छन् । अरू पनि थुप्रै लेखकलाई पढ्नुको अनुभवले भन्दै छु, लिपपोत गरेर लेखिएका साहित्यले भन्दा आफ्नो बाल्यकाल र गाउँ सम्झेर लेख्नेले उत्कृष्ट साहित्य लेखेका छन् । धच अपवाद छैनन् । संस्मरणमा जब–जब यिनी गाउँ, माता, पिता, भाइबहिनी र नाता कुटुम्बका कुरा उप्काउँछन्, आफ्ना अनुभूतिका फोहोराले पाठकलाई उद्वेलित गरिदिन्छन् ।

अनुभवका यति विराट भण्डार भएका लेखक, कुशल प्रशासक, देश र विदेशका अनेकन यात्रा, मन्त्री र सचिव, प्रधानमन्त्री, कूटनीतिक, स्वदेशी र विदेशी संगतको महासागरै उपलब्ध भए पनि यिनी आफ्ना सिर्जनामा सबैभन्दा बढी त आफ्नै गाउँ लेख्दा खुकुलिन्छन् । खोइ, यो प्रशासनतन्त्र, राजकाज र राजनीति आफैँ रूखासुक्खा र बर्बर लागेर होला, पढ्दा मजा आए पनि गाउँले जति तिनले रस दिँदैनन् । त्यसैले बेलाबेलामा यिनै लेखकले लेखेका संस्मरणका गहिरो आहालमा चुर्लुम्म डुबेर मथिएका ग्राम्य र बाल्यकालीन अनुभूतिका साहित्यक पौष्टिकले म आफ्नो भोक मेटाउँछु । म यिनका यिनै ग्राम्य संस्मरणका अनुभूतिमा आफूलाई पनि डगरको धूलोमैलो चाट्दै, कट्टु तान्दै, बिनाचप्पल लखनटट्टु हुँदै दौडेको भेट्टाउँछु ।

खोइ, लेखकले महको कुन गुलियो रेखी छरे र म कमिलाझैँ झुम्मिन पुगेँ ।

सायद यिनका साहित्यमा कला बर्खामा छङछङ गड्गडाउँदै, पहाडका भित्ता हिर्काउँदै, भीरपहराबाट झ्वाम्म फाल हान्दै सर्वत्र रसाउँदै, उछिट्टिँदै, छ्याप्दै बग्ने छहराजत्तिकै रसिलो, शीतल र मनोरम रूपमा आएकाले होला । साहित्यका नाममा रूखो शैली र प्रगतिवादिताका नाममा चर्का नाराको नगडा बजाउँदै यिनी नकुर्लिएकाले होला ।

लेखकले आफ्नो उम्दा साहित्य त्यो बेला सिर्जना गर्छन्, जब तिनले सबैभन्दा धेरै हन्डर खान्छन् । प्रत्येक वसन्त पञ्चमीको दिन मोटो जिल्दा भएको कापी किनेर फूलअक्षताले पूजा गरेर, फिलिमको मुहूर्तजस्तै एक पंक्ति भए पनि लेखेर प्रारम्भ गर्दै उपन्यासको फेहरिस्त कोरी र काल्पनिक घटनाको तेरिज तयार पारेर ‘आगत’ जत्तिकै एक किलोको मोटो किताब लेख्ने लेखकको इच्छा पटक–पटक सिल्टिमुर खान्थ्यो ।

सिंगै उपन्यासलाई कमलझैँ फुल्न दिन, यी लेखकलाई योजना आयोगको हिलोमा गएर पछारिनुपर्‍यो । त्यसो त बाल्यकालमा रक्सौलमै हुँदा, हिलोमा गाढा तानेजत्तिकै कष्टले अक्षरका भारी तानेर पढ्न सुरु गरेका यी लेखक केही समयमै पुस्तकालयसितको रातदिनको सत्संगले सिंगै पुस्तकालयलाई चोर औँलामा नाङ्लो नचाएजस्तै नचाइदिन सक्ने भइसकेका थिए । शब्द र अक्षरहरूसितको उठबस नौलो थिएन उनका लागि ।

अतः आफूले पटक्कै नरोजेको ठाउँ, सबैका हेय र हेपाइहरूबीच ‘यहाँ के गर्छस् ?’ भनेर सोधिँदा यिनले पुस्तकालय छाने र निरन्तरको साधनामा लागे । पुस्तकालय यी बडे–बडे योजनाविद्को दृष्टिमा हेपिने नै ठाउँ थियो । हेपिने नै भयो । बरा, ज्ञानको असिमित भण्डारलाई धनको तुजक भएकाले कहाँसम्म पो नाप्न सक्थे र ?

त्यही हेपिने ठाउँमा बसेर यसपटक कुनै पूजाआजाको श्रीगणेश नगरी, कुनै कल्पनाको बाक्लो जंगलमा नभौंतारिई आफ्नै बारीको माटो भिजाएर कच्याककुचुक पारी उनले अनेक आकृति झिक्न थाले र आफ्नो पहिलो उपन्यासको चल्ला काढे । हरेकपटकझैँ यसपटक त्यो ओसिएको पटकाझैँ फुस्स भएन । मज्जाले पड्क्यो । त्यो बारुदको गन्ध ‘घामका पाइलाहरू’ बनेर अझै फिँजिएकै छ, पछिपछिसम्म फिँजिइरहनेछ ।

धचका आख्यानका पात्रहरूले त मुटुमा चार किल्लै गाढे, तर संस्मरणबाट पनि यिनका केही पात्रहरू आफ्ना हाँडाचिन्डा बोकेर हृदयको छेउकुनामा थर्पु हाल्न आइपुगे । केही पात्र मनका दैलो, ढोका र झ्यालबाट अझै चियाइरहन्छन् । केही पात्र अगाडिको डगरमा दोहोरीलत्ता गरिरहेका फेला पर्छन् । प्रभाव बेग्लाबेग्लै ।

‘रागी बैरागी,’ बाट रामप्रसाद रायका पिता काली राय भन्ने पात्रको चरित्रचित्रण कतिपय आख्यानका पात्रभन्दा उम्दा लाग्छ । भजनियाँहरूसित छोरा हिँडेपछि उनमा आएका नैराश्य र कुष्ठरोगका कारण एक्लिएको दुर्दान्त अन्त्यले आहत बनाउँछ ।

मलाई असाध्यै मन परेको एउटा संस्मरण हो, ‘सीमान्त सहर : एक धूलौटे छाया’ । यहाँ सहर आफैँ पात्र छ । कुनै बूढो सर्पले छाडेर गएको काँचुलीजस्तो लम्पसार यस सहरको स्वाँस्वाँ र फ्वाँफ्वाँ, दौड र धूप, बहसका गर्मागर्मी, सीत्कार र आर्तनाद, साउती र चर्काचर्की सबथोक जीवन्त लाग्छन् । ‘घामका पाइलाहरू’ मा वर्णन गरिएको गाउँ छाड्ने छट्पटी र सहर ओड्ने तीव्र आकांक्षा भएको सहर यही हुँदो हो ।

‘तिम्रो माया मार्न सकिनँ,’ अर्को बेजोड संस्मरण हो । संस्मरणको तानाबाना बुन्दै बुन्दै, पाठकलाई बडो स्वाद दिईदिईकन अल्मल्याउँदै आफ्ना साथी, संगाती र उनीहरूसितको उठबसको बयान यिनी गर्छन् । ठाउँठाउँमा आइरहन्छन् तीर्थराज, जोसित धच छायाजस्तै टाँस्सिइरहन्छन् । ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ’, भन्ने आफ्नो प्रिय गीत कतिपटक गुन्गुनाइरहँदा पनि त्यो लेख्नेचाहिँ यिनै तीर्थराज हुन् भनेर नौ–नौ वर्षसम्म थाहा पाउन नसकेको कथाले जिब्रो दाँतको चेपबाट फुत्त निक्लिन्छ ।

‘ओझेलमा परेका क्रान्तिकारी,’ का चन्द्रमान कम्पाउन्डरबारे सिनेमा बनाए हुन्छ । यस्ता पात्रहरू इतिहासका चेपमा थिचिएर कति परेका होलान्, पढिसेकर निकैबेर सोचिबसें ।

जानी दुस्मनपछि कसरी मीतको साइनोमा गाँसिन पुगे, बडो रोचक र औपन्यासिक आनन्द दिने कोटीको बेजोड संस्मरण हो ‘कर्णालीको बगरमा ।’

कसैगरी बिर्सनै नसकिने अर्को संस्मरण हो ‘विषवृक्षको छायामुनि,’ जसमा दुई मुसलमान पात्र छन्, मुहम्मद अमिन र हइ खाँ । प्रतिस्पर्धा, इवि र प्रतिशोधका कारण असमयमै जीवनलीला सिद्धिएका यी दुई मित्रको हविगतबाट धेरैले पाठ सिक्न सक्छन् । यसलाई धचले औपन्यासिक कोरीबाटी र साज शृंगार गराइदिएर अझै सशक्त रूपमा धेरै पाठकका लागि पाठ दिनेगरी किन ल्याएनन् भनेर सोध्न मन अझै लाग्छ ।

संस्मरणभित्रको रोचक विधा हो– यात्रा संस्मरण । यात्राका लागि एउटा तिघ्रा सधैँ शून्यमा उचालिरहने मान्छेलाई नै अक्सर यात्राहरू जुरिरहन्छन् । ‘तीन बास’ को दुईदिने पठनयात्रामा यिनले संसारभरिका दजनौँ सहर र गाउँमा लगेर पाठकलाई सयौँ बास बसाइदिन्छन् र आफू पनि सुटुक्क गएर पाठकका मनभित्र बसिदिन्छन् ।

सबैभन्दा मीठो यात्रा र सुखद बासचाहिँ ‘टायर, गाढा र धूलौटे बाटो’ मा हरिनगर नामको सानो देहाती स्टेसन ओरालेर ‘सिलबटिया’ गाउँमा जाने यात्रामा भेटेँ । सिलबटिया, यिनकी सानीमालाई बिहा गरेर पठाइएको भारतको गाउँ हो । त्यहाँ सानीमाकी नन्द बनेर उपस्थित हुन्छिन् भर्खरकी विवाहित नोना, जो माइत आएकी हुन्छिन् । उनलाई घर फिर्ता लैजानका लागि लिन आउँदै हुन्छन् तारिणी । ‘सर्पदंश’ मार्फत मुटुमा प्रभावको भयंकर दंश दिने उही तारिणीप्रसाद कोइराला । आफूलाई प्रिय लागेको लेखकको संस्मरणमा अर्को प्रिय लेखकको सानो प्रवेशले दिने सुख बेग्लै हुँदोरहेछ, मन परेको पाहुना एक रात बास बस्न आएजस्तै । सिलबटियामा बालक धचले भेटेका वयस्क तारिणीलाई पछि वयस्क धचले कलकत्तामा गएर ‘दुई अग्ला मानिसमा’ फेरि भेट्छन् । त्यो भेट कम रोचक कहाँ छ र ?

आफ्ना संस्मरणहरूमा धचले जीवनमा चढेका धेरै सिँढी खिपेका छन् । कतिपय सिँढी फड्केका छन् । केही एउटै खुड्किलालाई दोहोर्‍याईतेहर्‍याई खिपेका छन् । पढ्दै जाँदा त्यो खुड्किलोमा फेरि पुगिन्छ र पाठकलाई लाग्छ, यहाँ त मैले पहिल्यै पाइला टेकिसकेको हुँ । छुटेका धेरै कुरा छन्, छुट्छन् नै ।

आफ्नो सिंगै जीवनलाई केही संस्मरणमा कोही कसरी अटाउन सक्छ ?

जीवनको सिंगै पोखरीबाट कति बाल्टिन अनुभूति उबाउने, कुन कुनो र छेउबाट उबाउने अनि सिर्जनामा कति घोप्ट्याउने, लेखककै मर्जी । लागेको थियो पढ्दा, यिनले त्यो बाल्टिनमा आफ्नो जीवनसाथी र छोराछोरीलाई केही थोपामा मात्रै सीमित किन गरे ? गोपालचन्द्र अलिक बढी अटाउँदा अर्का भाइ (ध्रुवचन्द्र, जो मेरा प्रिय लेखक हुन्) किन कम अटाए ? लागिरह्यो पढुन्जेल, आफ्नो जीवनको सबै क्षितिज यिनले किन देखाएनन् ? जुन–जुन पर्दा यिनले उघार्न चाहेनन्, मेरो पाठकीय चौचौ, लेखकलाई अझै जानूँ भन्ने तीव्र लालसा नै होला ।

शिरदेखि पुछारसम्म, टुप्पोदेखि फेदसम्म प्रशंसै प्रशंसा गरे पनि छोटकरीमा मलाई लागेका यिनका केही कमजोरी नभनी म यहाँबाट हिँडे भनेँ स्तुती गर्न आएको आरोप लाग्ला । त्यसो त कनीकनी कमजोरीकै लागि कमजोरी निकालेको होइन । पढ्दा च्वास्स बिझाएका तृणहरूलाई नघोच्ने गरी यहाँ राख्ने जमर्को मात्रै गरेको हुँ ।

संस्मरण र आत्मकथा विधा आफैँमा यस्तो हो कि के हो, तर हरलेखक यी विधामा आत्मप्रशंसा र बहादुरीका किस्सा मात्रै सुनाएर जान्छन् । कमजोरी भन्नुपरे पनि यसरी भन्छन्, मानौं लेखकको बहादुरी हो । नियत जतिसुकै राम्रो भए पनि यति लामो जीवनमा जिब्रो कहीँ चिप्लिएकै हुँदो हो, हात कतै छुटेकै हुँदो हो । हिँड्दा हिँड्दै खुट्टा कहीँ लड्खडाएको पनि होला । मन विषाक्त कहिल्यै भएन र ? रिसले आँखै नदेख्ने दिन आएन होला ? तर, आत्मकथा र संस्मरणहरू पढ्दा त्यहाँबाट आफ्ना दुर्बलता र कमजोरीहरू चामलबाट कंकड फ्याँकिएझैँ फ्याँकिन्छन् । मान्छे त झन् कमजोरी सहित पो सुन्दर हुने होइन र ? धचलाई पनि उनका संस्मरणमा कमजोरीसहित खोजिरहेँ । तर, त्यो फेला पार्न नसक्नु मेरै कमजोरी रह्यो ।

‘अग्लो तन्काएको डोरीमाथि नाचिरहने नटराजको कामजस्तै कठिन,’ ‘शिवको जटाबाट गंगा ओरालेजस्तै’ टाइपका केही विम्ब दोहोरिहन्छन् (यद्यपि दोहोर्‍याउनै हुन्न भन्ने त छैन) । एक पटक बिसौनीमा पुर्‍याएर अडेस लगाइसकेको स्मृति ठाउँ–ठाउँमा उनी झिकिरहन्छन्, हुन त एउटै स्मृतिबाट अथवा घटनाबाट अरू धेरै स्मृति गाँसिन्छन् पनि ।

यिनका सातै पुस्तकलाई मैले इन्द्रेणी भने पनि एउटा रङ मलाई अलिक फिक्का लाग्यो– संज्ञा सर्वनाम । यिनी व्यंग्यमा उति पारंगत नभएको मैले पाएँ । ‘घामका पाइलाहरू’ को राप ‘यहाँदेखि त्यहाँसम्म’ मा पुग्दा अलिक धमिलो हुन्छ । तर, लेखक मलाई प्रिय छन्, यी कमजोरीसहित ।

यसो भन्नु कत्ति उचित हुन्छ, म जान्दिनँ, तर सुन्दर साहित्य मलाई सुराजत्तिकै चढ्छ । दुइ पेग साहित्य आँखाको भाँडोमा हालेर हृदयभित्र घुटुक्क पारूँ, मेरो चेतना रिमरिम गर्न थाल्छ । एक चौथाइ घाँटीबाट ओर्लिन पाएको छैन टाउकामा सारंगी मेरो पनि बज्छ । केही राम्रो पढूँ, मस्तिस्कमा विचारहरू रमरम गर्न थाल्छन्, कलम मेरो चौचौ गर्न थाल्छ, सिर्जनाको एउटा आवेग मेरो भावुकतामा लत्पतिएर आउँछ र मलाई निचोरनाचर पार्छ ।

तर, यस्तो रोज–रोज मलाई हुँदैन । राम्रो साहित्य गैँडाको खागजत्तिकै दुर्लभ भइरहेको बेला मभित्रको तिर्खालु पाठक आफैँभित्र एउटा बिराट मरुभूमि हुर्काउन अभिशप्त छ । त्यसैले कुवा फेर्दै हिँडिरहने जोखिम उठाउनुभन्दा टिलपिल पानी छल्काइरहने सीमित कुवातिर धाउन मन लाग्छ । शब्दहरूका काँडेझाडी र रूखा बगरहरू हिँडेर पाइताला दुखाउनुभन्दा कलाको सिनित्त चौरमा बिसाउँदै, रमाउँदै, लामा सास फेर्दै हिँड्नुमा रुचि लाग्छ ।

साहित्यमा धच गोतामे टिलपिल पानी छल्काइरहने तिनै कुवामध्येका पुराना कुवा हुन् । नबिझाउने, सिनित्त तिनै चौरमध्येका शीतल चौर हुन् ।

यिनीबारे जति लेखे पनि, सिँगै धानबारी छिरेर धानको एउटा बालालाई निमोठनामठ पारी एक मुठ्ठी धान निकालेजति मात्रै हुन्छ । यिनका काव्य र कला चहार्न फुर्सद नदिईकन आँखालाई दिन दिनभरि हिँडाइरहनुपर्छ । हृदयलाई हरदम ओछ्याइरहनुपर्छ ।

मैले पढेका लेखकमध्ये पनि धेरै कम लेखक छन्, जो हृदयले लेख्छन् । धच ती थोरैमध्येका उम्दा लेखक हुन् ।

उनी आफ्नो घर सम्झेर, हृदय निचोर्छन्— आफ्नो घरको धूलौटे आँगन, जहाँ पाँचै दाजुभाइ लडीबुडी खेल्दै दूधे ओठमाथि जुँगाका रेखी हाल्छन् र पिताको आतंक, माताको ममता र बज्यैका फतफतबीच ती हुर्किन्छन् ।

ममताको पोल्टो सधैँका लागि छिट्टै रित्तियो र त्यो फतफत घरलाई सधैँ रित्तो र बुच्चो तुल्याएर मौन भइसक्यो । परस्परको सम्बन्धलाई स्वार्थको झीनो कसरले धमिल्याउँदै लग्यो र पिताको अहर्निश आतंकले आफ्नो फडा खुम्च्याएर बिस्तार

बिस्तार एउटा अव्यक्त आशीर्वादको काँचुली फेर्‍यो । तर, ममता र आशीर्वादमा धेरै अन्तर हुन्छ । ममतामा स्नेहको सुस्केरा हुन्छ, आशीर्वादमा शुष्क सहानुभूति ।

र, आफ्नो गाउँ सम्झेर उनको कवि हृदय यसरी मैन हुन्छ :

म जलपोतको पन्छीजस्तै

आफ्नो दुर्बलताको सुमेरुमाथि बसेर

हेरिरहेछु

कहिले आफूलाई,

कहिले त्यस गाउँलाई,

जो आफ्नो काथर र विवशताको

प्रश्नचिह्न बोकेर

लामो कालदेखि उभिएको छ

यौटै ठहर, यौटै ठाउँ,

त्यही हो मेरो गाउँ ।

प्रकाशित : वैशाख १०, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?