२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रातभरि हुरी चलिराखोस्

ज्ञानु अधिकारी

कथा के हो ? कथामा कस्तो शक्ति हुन्छ ? कथाले कसरी मनमस्तिष्क प्रभावित पार्छ ? कसरी यसले जीवनदर्शन र छोपिएका यथार्थलाई सरल तरिकाले देखाउन सक्छ ? इन्द्रबहादुर राई (१९८४–२०७४) को ‘रातभरि हुरी चल्यो’ कथा पढेपछि यस विषयको गहिरोसँग बोध हुन्छ ।

रातभरि हुरी चलिराखोस्

करिब छ दशकअघि नै दार्जिलिङको परिवेशमाथि लेखिएको र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको यो कथा उनको पहिलो कथासङ्ग्रह ‘विपना कतिपय’ मा सङ्गृहीत छ ।

मस्तिष्क हल्लाइदिने, नयाँ केही बोध भएजस्तो हृदयको भित्तामा अमिट भएर बस्ने कथाको पृथक् स्वादको अनुभूति यही कथाबाट भयो । यो कथाका प्रत्येक संवाद, अनुच्छेद, सन्दर्भ र त्यहाँ प्रयुक्त दृश्य–विम्ब यति प्रभावकारी र जीवन्त लाग्छन् कि हरेकपटक पढ्दा म आफैँलाई नयाँ पाउँछु ।

कथामा रातभरि हुरी चल्छ । पानी पर्छ । कालेका बाबुआमा डराउँछन् । त्रास बोकेर उनीहरू रातभरि जागै बस्छन् । काले बहिनीलाई च्यापेर मस्त निदाउँछ । पहिले हुरीको डरले छानो उडाउँछजस्तो हुन्छ । पछि पानी परेर पहिरो जालाजस्तो हुन्छ । यत्तिकैमा भाले बास्छ । बिहान हुन्छ । रातभरिको सारा पीडा भुलेर आ–आफ्ना काममा लाग्छन् उनीहरू । कालेकी आमा दूध बेच्न बजार जान्छे । कालेको बाबु फोरुवाले पानीको कुलो बनाउन थाल्छ । मुख्य कथानक लगभग यत्ति हो । तर, कथामा ससाना घटना र पात्रहरूलाई यसरी बुनिएको छ कि, जसमा कैयौं दर्शन र मानवीय जीवनका यथार्थहरू पालैपालो उजागर हुँदै जान्छन् ।

कथाको प्रारम्भमा प्रस्तुत गरिएको जुन परिवेश वा दृश्यविम्ब छ, त्यसले सीधै त्यही असी–नब्बेवटा मट्टीतेलको टिनले छाएको झुप्रो घरमा पुर्‍याउँछ र कालेको बाबुआमानजिकै बसाइदिन्छ । कथामा कालेका बाबुआमा आगो तापिरहेका थिए भनेर सकिने सन्दर्भलाई पनि यति मिहिन रूपमा प्रस्तुत गरिएको छ कि लाग्छ, म पनि त्यहीँ उनीहरूसँगै त्रसित हुँदै आगो तापिरहेको छु, ‘घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र आमा दुवैले माथि धुरीतिर हेरे । दाउरा बालेको धूवाँले रङ्गिएका काला टिनहरू, ऐले कुनैकुनैमा पानीका मसिना दानाहरू पसिना आएका झैँ देखिन्छन् ।’ यस्ता विम्बात्मक वाक्यले किताबका अक्षर पढिरहेजस्तो होइन, कुनै पर्दाको दृश्य हेरिरहेको अनुभूति हुन्छ । र, यसबाट बोध गर्न सकिन्छ– परिस्थिति र परिवेशलाई जति सूक्ष्म रूपमा चित्रण गर्न सक्यो त्यति जीवन्त बन्नेरहेछ कथा ।

कथामा गुजुल्टिएका दर्शन छैनन्, तर सामान्य विषयभित्र गहिरो चिन्तन छ । हुरीले घरको छाना उडाएर लैजान्छ कि भनेर त्रसित भएको कालेको बाबु बलोमा बाँधेको डोरीलाई जाँतोमा ल्याएर कसेपछि ढुक्क हुन्छ । आखिर मान्छे कत्रो भ्रममा बाँच्छ हगि ? कथामा यो सन्दर्भ पढ्दै गर्दा मैले कालेको बाबुआमाको भ्रमलाई मात्र देखिनँ मभित्रका कैयौँ भ्रमलाई पनि देखेँ । जस्तो कि, बस या जहाजमा यात्रा गरेर जब हामी गन्तव्यमा पुग्छौँ अनि हामीलाई लाग्छ कि बल्ल बाँचियो । कतै डुङ्गा चढेर उत्रँदा होस् या हिमाल आरोहणबाट फर्कंदै गर्दा होस् यस्तो लाग्छ, हामीले मृत्युलाई जित्यौं । तर, मृत्यु घरसम्म आइपुग्दैन र ? घरको बाथरुम र बेडरुममा मृत्यु आइनपुग्ने त होइन नि ! तर, हामी यहाँ सुरक्षित भएको भ्रममा ढुक्क हुन्छौं ।

कथामा दाम्पत्य सम्बन्धमा हुने साथ, सहयोग र समझदारीलाई जसरी प्रस्तुत गरिएको छ, यसले लोग्ने–स्वास्नीको सम्बन्धको संवेदनशीलतालाई सूक्ष्म रूपमा देखाएको छ । एकअर्कासँग रिसाएजस्तो गरे पनि भित्रैदेखि माया र विश्वास गर्नु, एउटा रिसाउँदा अर्कोले फकाउनु, दुवैले एकअर्कोको ख्याल राख्नु, कामहरू मिलेर गर्नुजस्ता सन्दर्भहरूलाई कथामा सङ्केतात्मक रूपमा प्रस्तुत गरिएको छ ।

मानिसलाई आपत्विपत् पर्दा जहिले पनि आफूलाई मात्र परेजस्तो लाग्छ । यस कथामा पनि हावाहुरी र पानी अन्त कतै नपरी उनीहरू बसेको डाँडामा मात्रै आएजस्तो लाग्छ उनीहरूलाई र कालेकी आमा दिक्दार हुँदै भन्छे, ‘हावा पनि यै डाँडामा चैं कति चलेको ! त्यसको सास ।’ त्यसमाथि भयभीत हुँदै कालेको बाबु थप्छ, ‘पानी पर्दा अब फेरि पैरोको डर योचैं ठाउँमा बास बसाउन जानिएन रैछ ।’ हावाहुरी चलेको र पानी पर्न थालेको त्यो मध्यरातमा ती लोग्ने–स्वास्नी चरम निराशाको स्थितिमा पुग्छन् र आफूलाई निरीह अनुभव गर्छन् । यो नै जीवनको अन्तिम पल होजस्तो लागेको समयमा जसरी आममानिसले भगवान्को नाम लिन्छन् त्यसैगरी उनीहरू पनि नजिकैको आफ्नै परिचित भगवान् सम्झँदै भन्छन्– ‘हे ! महाकालबाबा तिमी छौ राख्ने बचाउने ।’

भोलिपल्ट बिहान सधैंझैं कालेकी आमा दूध बेच्न सहर जान्छे । सधैं देखिरहेको सहर आज उसलाई भिन्न लाग्छ । मान्छेको हेर्ने दृष्टिकोण भिन्न भएपछि दृश्य पनि भिन्न देखिन्छन् । सहरका सुकिला मान्छेलाई देखेपछि उसलाई सहरका सबै मान्छे सुखी हुन्छन्जस्तो लाग्छ । एकाएक ऊभित्र गाउँको दुःख र गाउँले जीवनप्रति वितृष्णा जाग्न थाल्छ । उसले गाउँको नकारात्मकतालाई मात्र देख्न पुग्छे, ‘यो बारी लिएको दिनदेखि फुर्सदको नाम छैन आफूलाई । औंलाहरू हँसियाले काटेर, हत्केला गोबर र धूलाले चिरिएर देखाइसक्नु छैन । जीउ झुम्रो भएर गइसक्यो । एक दिन घर छाड्न सकिँदैन, टाढा घुम्न जाने त असम्भवको इच्छा । यत्तिकै जोतिएर मर्नुपर्छ । अहँ यसरी दिन–रातको पहिरो र हावाको डरमा बाँचेर एक एकर जमिनको माटो वर्षमा दुईचोटि पल्टाएर जीविका गर्ने मेलो परिवारको हत्या हो ।’

यसरी गाउँप्रतिको नकारात्मक भावले उसलाई अझ कमजोर बनाउँछ र अब सहरमै बस्ने निर्णय गर्छे ।

यसरी मनमनै सहर झर्ने निर्णय गरेर कोठासमेत खोजिसकेकी कालेकी आमाले जब बीबी गुरुङकी स्वास्नी मरेको कारण थाहा पाउँछे उसको मनस्थिति फेरिन्छ । राति हावा–हुरी र पानी आएका बेला निनी अर्थात् बिरालोलाई भित्र नदेखेपछि त्यसलाई खोज्ने क्रममा चिप्लिएर लडेपछि बीबी गुरुङकी स्वास्नीको मृत्यु हुन्छ । कालेकी आमालाई लाग्छ, यसरी सुखले सहरमै बस्नेहरूको पनि त यसरी मृत्यु हुने रहेछ त्यो पनि जाबो बिरालोकै कारण । यसपछि कालेकी आमाको सहरप्रतिको भ्रम हट्छ र गाउँप्रति फेरि आस्था जाग्छ । उसले गाउँलाई सकारात्मक र जीवनलाई आशावादी रूपमा हेर्छे र भन्छे– ‘आपद्–विपद् जहीं पनि छ । हो, हुरीले बिगार्‍यो तर अब सब ठीक बनाइहाल्छौं । कुनै नसकिने काम होइन त्यति गर्न । आफ्नो घर छ । गोठ छ, गोठमा गाईहरू छन्, बारी छ, बारीमा तीस चालीस झ्याङ बाँसहरू छन्, काँक्राको लहरा आकाशतिर जाँदै छ, हुरीले कति पो बिगार्न सक्छ र ? इ अब गएर बनाइहाल्नुपर्छ ।’

कथामा दुःख त गाउँसहर जता पनि रहेछ भन्ने बोधसँगै गाउँप्रति आस्थाभाव जागृत भएको छ । र, दुःखसँग भागेर होइन, लडेर जित्नुपर्छ भन्ने बोध गराएर आशावादी जीवनदृष्टिसहित कथाको अन्त्य भएको छ ।

परम्परित सोच, संस्कृति र कथातत्त्वको परिभाषाले कथामा कालेको बाबु नायक र कालेकी आमालाई नायिका अर्थात् कालेको बाबुको स्वास्नी मात्र देख्छ । तर, कथामा उनीहरूको भूमिका हेर्दा कथाको नायकत्व कालेकी आमामा छ र नायक कालेकी आमा नै हो । उसले कथामा भनेकी छ, ‘बेचिदिन्छु दुबै माऊ गाई र कोरलीहरू सब सोहोमोहो दाम मिलाएर । बारी पनि बेचिदिन्छु । घरको टिन, काठपात सब बेचिदिन्छु । पाँच–छ रुपियाँको सानो कोठा लिएर सहरमै बस्छु ।... दुईवटा छोराछोरीलाई हल्कै पार लाउँछु । बस्दिनँ त्यस्तो सुन्ने ठाउँमा ।’ यहाँ कालेकी आमा आँटी छ, परिश्रमी छ । उसलाई आफूप्रति विश्वास छ । भविष्यप्रति आशा छ र जिम्मेवारीबोध पनि छ । मान्छेले आफैँलाई मात्र केन्द्रमा राख्ने, आफ्नै दुःखलाई मात्र ठूलो देख्ने र अरूको दःुखलाई दुःखै नदेख्ने प्रवृत्तिमाथि परोक्ष रूपमा व्यङ्ग्य गरेको छ कथाले । विसङ्गतिबोधको कारक मृत्यु र अस्तित्ववादको कारक आशा हो भन्ने बोध गराउँछ कथाले । यस्तै मार्मिक कथा नेपाली साहित्यले अरू पनि पाइराखोस्, अर्थात् रातभरी हुरि चलिराखोस् !

प्रकाशित : वैशाख ३, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?