१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
कोसेली

नामको राजनीति

मान्छेको सभ्यतामा नामको प्रचलन एकसँग अर्को छुट्याउन र व्यक्तिको उपस्थितिलाई आमबाट विशिष्ट बनाउन सुरू भएको हो । सुदूर अतीतमा यो एक सांस्कृतिक कर्म थियो । के मेरो नाममा मेरै सांस्कृतिक उत्तराधिकारीको अंश छ ? वास्तवमा म नामको राजनीतिमा हारेको एक मनुष्य हुँ । आफ्नै नामप्रति घोर आपत्ति छ मलाई । र, सोच्छु– ‘नाममा के छ ?’ भन्नु एउटा भयंकर जालसाजी हो ।
भूपाल राई

नामबारे यो लेखोट सुरु गर्नुअघि, चार कुरा घोषणा गरिहालूँ । एक, प्रकारान्तरले यो मेरो आफ्नै नामको पृष्ठभावमा निर्मित लेखोट हो । दुई, मेरो नाम मेरै लागि एक असम्मत नाम हो । तीन, मलाई लाग्दैन कि यो मेरो आनुवांशिकतालाई विम्बित गर्ने आफ्नै नाम हो । चार, न म यतिखेर मेरो नामलाई आत्मसात गरिरहेको छु न यसको अविच्छिन्नताबाट टाढा भाग्नै सकिरहेछु ।

नामको राजनीति

त्यसो भए के म नामको कथित राजनीतिबाट ग्रस्त एक सर्वसुलभ सिकार हुँ ?

पख्नुस्, यस विषयको निचोडमा पुग्नुअघि एकछिन केही ख्यातिप्राप्त नामका विषयमा विमर्श गरौं । किनभने नामको प्रसंग आउँदा दुई जना विश्वप्रसिद्ध मानिसका नाम नसम्झी नहुने हुन्छ । नामको विषयमा ती नाम सन्दर्भस्रोतजस्तै हुन् । त्यसैले एउटा सानो औंला र स्विचको प्रतिघातबाट बिजुलीको बल्ब झलक्क बलेजस्तै प्रसंगमा ती झुल्किहाल्छन् । थाहा छैन ती प्रसंग कति प्रामाणिक छन् । तर, कतै श्रुतिमा र कतै पठनको क्षीण स्मृतिमा रहेका ती प्रसंग बिजुलीकै गतिमा बल्ने गर्छन् । तीमध्ये एक नाम हो– थोमस एडिसन, जसमाथि एक बहुचर्चित कहावत छ– ‘उनी अक्सर आफ्नै नाम बिर्सन्थे रे ।’ र, अर्को नाम हो– विलियम सेक्सपियर, जसले भनेका थिए– ‘चीजहरू नामले भन्दा तिनका कर्मले चिनिन्छन् । जस्तो कि गुलाबको फूल नामले भन्दा आफ्नै रङ र वास्नाले चिनिन्छ । आखिर के छ र नाममा त्यस्तो ?’

अब सोचौँ, थोमस एडिसनले के साँच्चै त्यसो गर्थे त ? यदि साँच्चै त्यसो गर्थे भने मलाई लाग्छ, ठीक गर्थे । मानिसहरू यसलाई उनको एकाग्रता र ध्यान–केन्द्रणको हवाला दिएर ‘ग्लोरिफाई’ गर्ने गर्छन् । तर, मलाई लाग्छ– कारण त्यति मात्रै नहुन सक्छ । हुन सक्छ, त्यो नाम उनकै लागि एक असम्मत र असम्पृक्त लागेको होस्, जसलाई कहिलेकाहीँ बिर्सन सकियोस् । अथवा यस्तो कि त्यो बिर्सनलायक ठानियोस् । के यस्तो सम्भव छ ? सायद छ ।

अनि सेक्सपियर ? जो खुद ‘नाममा त्यस्तो केही छैन’ भन्थे, उनकै नाम सेक्सपियर किन रहन गयो होला ? किन उनको नाम शेखर कोइराला या भानुभक्त आचार्य यस्तै केही रहन सकेन ? के यो विचारणीय कुरा होइन ? गुलाबको रङ र वास्ना संसारभरै समान छ, तर किन संसारैभरि त्यसको नाम बेग्लाबेग्लै छ ? किन एउटै चीज दुनियाँभर छुट्टाछुट्टै नामले चिनिन्छ ?

मलाई लाग्छ, नामको दुनियाँमा यति धेरै बहुविध नाम हुनु स्वयंमा एउटा विशेष परिघटना हो । जसरी एउटै गुलाबको नाम छुट्टाछुट्टै हुनु विषेष हो, त्यसरी नै सेक्सपियरको नाम सेक्सपियर नै हुनु पनि अर्को विशेष कुरा हो । अथवा ‘नाममा त्यस्तो के छ’ भन्नु पनि अर्को विशेष हो ।

र, यही विशेष विषयको त्यान्द्रो समाउँदै जाने हो भने सम्भवतः भेटिनेछ त्यो चीज, जसलाई मैले यहाँ नामको राजनीति भनेको छु ।

...

विषय विस्तारको क्रममा अब म माथिको स्वघोषित पहिलो र दोस्रो बुँदातिर फर्किन चाहन्छु, जहाँ मैले यसलाई आफ्नै नामको कथा भनेको छु । र, आफ्नै नामलाई असम्मत पनि ठहर गरेको छु ।

सत्य हो, नामको राजनीतिबारे थोरबहुत संकेत पाउन थालेपछि मैले सबैभन्दा बढी आफ्नै नामबारे सोच्न थालेको हुँ । यो नजानिँदो किसिमले त्यतिखेरदेखि सुरु भएको थियो, जतिखेर म स्कुलमा एसएलसीको तयारी गर्दै थिएँ । म यदाकदा सोच्ने गर्थें– कसरी मेरो नाम यस्तो रहन गयो, जो सरासर मेरो आनुवंशिक परम्पराको खिलाफमा छ ? मलाई आफ्नै नाम असम्मत या कुनै अपरिचित मान्छेझैँ लाग्थ्यो ।

यसो हुनुका केही कारण थिए । पहिलो, एउटा छुट्टै र विशिष्ट सभ्यता, संस्कृति र भाषिक समुदायको किराती केटालाई संस्कृत भाषाको विशुद्ध हिन्दु सांस्कृतिक नाम भिराइएको थियो, जसले गर्दा मलाई आफ्नै नाम आफ्नोजस्तो लाग्दैनथ्यो । दोस्रो, मेरो नाम यति सामान्य र साझा किसिमको थियो कि देशभरिको तथ्यांक जम्मा गर्ने हो भने लाखौँ मानिसको नाम जुध्न सक्थ्यो । मलाई कसोकसो लाग्थ्यो नाम भनेको सकभर विशिष्ट हुनुपर्छ, मान्छेजस्तै, मान्छेको अनुवंशजस्तै । जसरी प्रत्येक मान्छे विशिष्ट हुन्छ प्रत्येकभन्दा ।

खासमा मानव सभ्यतामा नामको प्रचलन नै सम्भवतः यही प्रयोजनका लागि सुरु भएको हो । एकसँग अर्कोलाई

छुट्याउन । व्यक्तिको उपस्थितिलाई आमबाट विशिष्ट बनाउन । सुरुसुरुमा नामको प्रचलन सायद एक विशुद्ध सांस्कृतिक कर्म थियो । व्यक्तिलाई विशिष्ट चिनारी प्रदान गर्नबाहेक यसका अरू केही अघोषित उद्देश्य थिए । जस्तो नामको चयनमार्फत उसको सांस्कृतिक, सामुदायिक उत्तराधिकारी बोध गराउन । अथवा आफ्नो आनुवंशिक इतिहासको निरन्तरता कायम गर्न । त्यसो भए के मेरो नाममा मेरै सांस्कृतिक उत्तराधिकारीको अंश छ त ? के यसले मेरो सुदूरइतिहासको कडीको काम गर्न सक्छ ? मलाई ठीक यही प्रश्नले घरीघरी चिमोटिरहन्थ्यो । मलाई

आफ्नो नामसँग आपत्ति यहीँबाट सुरु भएको थियो ।

धेरै पछि राज्यको उत्पत्तिसँगै जब राज्य विस्तृतिको अभियान चल्न थाल्यो, तब सायद नामको राजनीति सुरु भयो । राज्य विस्तृतिसँगै नयाँनयाँ ठाउँ, नयाँनयाँ मानिसहरूलाई आफूभित्र समाहित गर्ने लोभ पलायो । यसले विजातीय तत्त्वहरूलाई आफूभित्र विलोपीकरण गर्न र त्योउपर शासन गर्न सहज तुल्यायो । त्यसैले शासकहरूले अतिक्रमण गरेका हरेक ठाउँ, हरेक मानिसको नाम उनीहरूकै सुविधा र शक्ति स्वार्थअनुसार बदल्न थालियो ।

नेपालमा पृथ्वीनारायण शाहको राज्य विस्तार र महेन्द्रको एकात्मक हिन्दु राष्ट्रवादी अभियानले गरेका यस्ता अतिक्रमण र बदलावका अनगिन्ती उदाहरण भेटिन्छन् । तिनको फेहरिस्त दिन थालियो भने अर्को छुट्टै आलेख तयार हुन्छ । त्यतातिर नजाऊँ । यति बुझौँ, मौलिक र रैथाने स्थाननाम र व्यक्तिका वंशानुगत नामहरूलाई बलात ढंगले हिन्दूकरण गरेरै तिनीहरूले आफ्नो सिंहासन खडा गरेका हुन् । अझ पूर्व किरात प्रदेशमा त झन् यो प्रक्रिया सेनकालदेखि नै सुरु भइसकेको भेटिन्छ ।

अनुसन्धाता भोगिराज चाम्लिङका अनुसार, ‘किरात राईहरूको नाम कहिलेदेखि संस्कृत भाषामा राख्न थालियो भनेर अध्ययन गर्दा ११ पुस्तादेखि सुरु भएर पाँच पुस्ताअघिसम्म पूर्णतः संस्कृतकरण भएको स्पष्ट हुन्छ । एक पुस्तालाई औसतमा २५ या ३० वर्ष मान्दा लगभग ३०० वर्षदेखि किरात राईहरूको नाम संस्कृत भाषामा रहन थालेको हो ।’ यसबाट बुझ्न सकिन्छ, करिब ३०० वर्षदेखि यता किराती मौलिक नाममाथि प्रहार हुन थालेको हो । त्यही बेलादेखि, अझ मलाई त लाग्छ त्योभन्दा धेरै अगाडिदखि निरन्तर चलिरहेको हो यहाँ– नामको राजनीति ।

...

नामको यस राजनीतिक पृष्ठभूमिमा मेरो नामचैँ कसरी रहन गयो र यसबाट मैले कालक्रममा के कस्ता अनुभूतिहरू सञ्चय गर्नुपर्‍यो ! अब त्यसबारे पनि थोरै चर्चा गरौँ ।

आमाले हामीलाई हाम्रो घरमा जन्म दिनुहुन्थ्यो । तर, हाम्रो नामांकन कार्य हाम्रै मावली बोजू, जसलाई हामी मुमा भन्ने गर्थ्यौं, उहाँको क्षेत्राधिकारभित्र पर्थ्यो । हामी जन्मेको सूचना पाउनासाथ मुमा दौडेर हाम्रो न्वारानमा आइपुग्नुहुन्थ्यो । कदाचित उहाँ आउन असमर्थ भइहाले पनि उहाँबाटै जुराइएको नाम भने अनिवार्य आइपुग्थ्यो ।

यता हाम्रो मामा–गाउँ वरिपरिबाट क्षत्री, बाहुन, नेवार र दलित समुदायका प्रभावक्षेत्रले घेरिएको गाउँ थियो । किराती मौलिक भाषा र संस्कृति लगभग ध्वस्त भएको गाउँ । त्यही भएर मुमालाई त्यस प्रभाव–क्षेत्रभित्र चलेका सामान्य चल्तीका वर्णसंकर नाम र हिन्दु देवी–देवताका नामबाहेक अरू केही आउँदैनथ्यो । मुमाको रूपमा त्यहाँ एकैचोटि दुई विरोधाभासपूर्ण हैसियत बाँचिरहेको भान हुन्थ्यो । एकातिर उहाँमा आफ्ना भावी सन्ततिहरूको नामकरण आफैंबाट हुनुपर्छ भन्ने किराती समुदायमा व्याप्त मातृसत्ताको अवशेष पनि बाँचिरहेको थियो भने अर्कोतिर बाह्य प्रभावी संस्कृतिको चर्को दबाबले पनि गालिरहेको थियो । मुमा त्यही दुईतर्फी दबाबको बीचबाट आफ्नो भूमिका अदा गर्नुहुन्थ्यो ।

उहाँले सबभन्दा पहिले हाम्री आमाको पहिलो छोरा अर्थात् हाम्रा जेठा दाजुको नाम शानका साथ राखिदिनुभयो– गोपाल ।

उहाँभित्र एउटा विशेष आग्रह यो थियो कि त्यसपछि जन्मिने अरू भाइहरूको नामको लय–सम्मति अघिल्लो नामसँग अनिवार्य मिलेकै हुनुपर्छ । अंग्रेजी बोर्डिङ स्कुलका शिशुहरूको ‘राइम’ मिलेजस्तै या खस नेपाली काव्य परम्पराको छन्दविज्ञान अनुसार अन्त्यानुप्रास मिलेजस्तै ।

निकैपछि म जन्मिएँ । त्यसैले उहाँले भनिदिनुभो– दाजुको नाम गोपाल, यसको नाम भूपाल !

अन्तिममा भाइ जन्मियो । तर, दुःखद कुरा भाइको देहान्त नाबालकमै हुन गयो, जसको दुःखद कथा मैले अन्तैतिर लेखिसकेको छु ।

एवंरीतले मेरा दुई दिदीहरूको नाम क्रमशः यस्तो

रह्यो– जेठी दिदीको लक्ष्मी । कान्छीको भगवती ।

यसरी हामी चारै जना जीवित सन्तानहरूले मुमाको मातृसत्तात्मक अनुकम्पा प्राप्त गर्‍यौं । उहाँबाट प्राप्त नामसँगै हुर्कियौँ, चिनियौँ । मामाघर बसेर मुमाकै छत्रछायामा बढ्नु, पढ्नुपर्ने हुनाले विद्यालयको औपचारिक खातामा तिनै–तिनै नाम चढ्न पुगे । तिनै–तिनै नाम बोकेर काठमाडौँ तर्‍यौं ।

आ–आफ्नो जीवन यात्रामा होमियौं । अद्यावधि होमिइरहेकै छौं ।

यतिसम्म त ठीकै थियो । तर, बीचमा आएर कता–कता लाग्न थाल्यो– मेरो नामले मेरो स्वत्वको भारवहन गर्न सक्दैन । माथि नै भनिसकेँ, यो त्यस्तै एसएलसीको उम्मेदवारीताकादेखि सुरु भएको असन्तुष्टिको प्रारम्भिक झिल्को थियो । सायद म दसौँ कक्षाको अन्तिम महिनातिरको विद्यार्थी थिएँ । एक्कासि मलाई लाग्यो कि यो जुन नाम म बोकिरहेछु यो मेरो आफ्नै नाम होइन । तर, म विवश थिएँ । किनभने म यसलाई बदल्न सक्दिनथिएँ । यसकारण कि योसँग एकातिर मुमाको मातृत्वको सवाल जोडिएको थियो भने अर्कोतिर दसौँ वर्षदेखि यो स्कुलमा रजिस्टर्ड भएको नाम थियो । म आफू आफैंसँग संवाद गर्थें । दोष कसलाई दिने ? मुमालाई ? जो, तर आफैं पनि त्यही असम्मत पृष्ठभूमिको एक निरीह सिकार हुनुहुन्थ्यो !

यसैको प्रतिक्रियास्वरूप हुन सक्छ, एकपल्ट मैले कक्षामा साथीहरूसँग नामका पछाडि उपनाम या टाइटल झुन्ड्याउने प्रस्ताव राखेँ । यो मेरो नाम बदल्न नसके पनि सायद त्यसबाट भाग्ने पहिलो प्रयास थियो । सबैले सहमति जनाए । कसैले लेकाली राखे । कसैले जंगली, अभागी, बेहोसी यस्तैयस्तै । मैले ‘विवश’ झुन्ड्याएँ । अब म ‘भूपाल राई’ बाट ‘भूपाल विवश’ भएँ । एसएलसी दिएर त्यही टाइटलसाथ म काठमाडौं आइपुगेँ । काठमाडौं आएर ३४/३५ सालतिर तत्कालीन ‘छहरा’ द्वैमासिक र ‘कोङ्पी’ मासिक पत्रिकातिर त्यही उपनामधारी नाममा मैले आफ्नो पहिलो–पहिलो कविता पनि छपाएँ । तर, मलाई छिट्टै यस्तो लाग्यो कि यो मैले चाहिरहेको निकास होइन । मानौं म एकातिर जान खोजिरहेथेँ, तर गइरहेको थिएँ अर्कैतिर । मैले त्यो पुच्छरलाई तुरुन्तै छाडिदिएँ ।

काठमाडौं आएपछि भने मभित्रको त्यो असन्तुष्टि पूरै वयस्क भएर हुर्कियो । स्कुल छँदा टुसाएको असम्मतिको सानो टुसा हुर्किएर ठूलो वृक्ष बन्यो । कहिलेकाहीँ म रातभरि सुत्दिनथेँ आफ्नै नाम सम्झेर । ठीक यसै बेलादेखि मैले आफ्नो नामको कारणले अनेक तीता–मीठा अनुभूति पनि सञ्चय गर्न थालेँ ।

त्यसपछि मैले नामका पछाडि ‘छाङ्छा’ लेख्न सुरु गरेँ । छाङ्छा मेरो बान्तवा थरको पाछा थियो । यो यसकारणले पनि कि मभन्दा धेरै पहिलेदेखि नै मेरा दाइले आफ्नो नामपछाडि छाङ्छा लेख्नुहुन्थ्यो । गोपाल छाङ्छा । त्यसैको प्रभावस्वरूप नै भनौँ अब म पनि भूपाल विवशबाट भूपाल छाङ्छा भएँ । फेरि त्यो नामबाट तिनै दुई पत्रिकातिर केही कविताहरू छपाएँ । केही समय यस्तो लाग्यो अब म आफूले खोजेको निकासको नजिक छु । तर, कुनै कारणवश त्यो नामले पनि स्थायित्व पाउन सकेन । मैले छिट्टै त्यसलाई पनि छाड्नुपर्‍यो ।

घटना के भयो भने म त्यतिखेर रेडियो नेपालको गायक हुने धुनसवारले पागलझैँ भएको थिएँ । त्यसैले ०३९ सालतिर स्वर परीक्षा पास गरेर पहिलो गीत रेकर्ड गरेँ । रेकर्ड गरेको भोलिपल्ट रेडियोमा प्रसारण भइरहेको गीत सुनेर भाउजूले भनिन्, ‘हैन रेडियोमा त तिम्रो नाम भूपाल हैन गोपालजस्तो पो सुनियो त... !’

भाउजूको टिप्पणीले म एक किसिम खङ्रङ्गै भएँ । जुन नामका लागि म त्यत्रो विधि कसरत गरिरहेको थिएँ त्यही नाम दाइको नामसँग मिल्न जाँदा त्यस्तो हुनु स्वाभाविकै पनि थियो । किनभने म आफ्नो नाममा एक छुट्टै विशिष्टता चाहिरहेको थिएँ । साथसाथै आफ्नो नाम मार्फत आफ्नै सांस्कृतिक इतिहासको खोज पनि गरिरहेको थिएँ । त्यसैले मलाई भाउजूको त्यति सानो टिप्पणीले पनि यस्तो असर पुर्‍यायो कि मैले चुपचाप छाङ्छा पनि लेख्न छाडिदिएँ । फेरि म उही पुरानै स्कुलको दर्तावाला वा नागरिकताको फोटोवाला भूपाल राईमा फर्किएँ ।

...

अब आफ्नो नामको साझापन र सर्वप्रचलित विशेषताबाट प्राप्त केही तीता–मीठा अनुभूति पनि बाँडिहालौँ ।

५३/५४ सालतिर हुनुपर्छ । सिक्किमका एक जना त्यतिखेरका चल्तापुर्जा गीतकार/साहित्यकार एक साँझ मलाई भेट्न आएका थिए । साथमा नेपालकै एक जना संगीतकारलाई सम्बन्ध सूत्र बनाएर । म त्यतिखेर डिल्लीबजार चारखालअगाडि बस्थेँ । पहिलो भेट थियो । सामान्य औपचारिकताको आदान–प्रदानपछि साँझको खानपिनको माहोल जम्ने नै भयो । कुरैकुरामा मैले भनेँ, ‘मेरो नाम म आफैंलाई पटक्कै मन पर्दैन । यो अत्यन्तै कमन भयो ।’ तुरुन्तै उनले भने, ‘हो हो सारै कमन । तपाईंको जस्तो नाम त हाम्रो गाउँमा दसौँ जनाको छ ।’

यो थियो मेरो नामबारे मैले आफ्नै कानले सुनेको पहिलो टिप्पणी । सुन्दा सामान्य लाग्न सक्छ यो । तर, मेरा लागि यो त्यस्तो सामान्य थिएन । त्यसले त मभित्र सुषुप्त अवस्थामा रहेको औडाहालाई अरू झन् भयंकर बनाइदियो । झन् असन्तुष्ट, झन् विरत । पूरै मोहभंगको स्थितिमा पुर्‍याइदियो । उनी गइसकेपछि पनि म त्यो साँझ निकै बेर सोचमग्न भइरहेँ । त्यसपछि उनको र मेरो दोस्रो भेट फेरि कहिल्यै भएन । बरु एक्कासि सिक्किमबाट उनको असामयिक निधनको खबर आइपुग्यो । आज यत्तिका वर्षपछि पनि मेरो कानमा त्यो टिप्पणी उसरी नै गुन्जिरहन्छ । त्यो यस्तो टिप्पणी थियो, जसले पहिलोचोटि मेरो मोहभंगको अमूर्त रूपलाई आकारमा ढाल्न सघाउ पुर्‍याएको थियो ।

एउटा अर्को घटना । सायद त्यसैको एकाध वर्षपछि हुनुपर्छ । शुभेच्छुक साथीहरूले आउँदै हात मिलाउँदै मलाई भने, ‘लौ बधाई, तपाईंको उपन्यास आएछ ।’

भेटेजत्तिका साथी भाइले त्यसो भनेपछि म छक्क परेँ । किनभने पहिलो कुरा त भर्खरै मात्र मेरो ‘सुम्निमाका तस्बिर’ नामको प्रथम कवितासंग्रह छापिएको थियो । लगत्तै अर्को किताब छाप्ने ल्याकत मसँग हुँदै हुँदैनथ्यो । दोस्रो, म कविता लेख्ने मान्छे उपन्यास मेरा लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यसैले मैले भनेँ, ‘हैन, मैले कुनै उपन्यास लेखेको छैन ।’

उनीहरूले भने, ‘अनि भूपाल राईकै नामको एउटा उपन्यास आएको छ त बजारमा ।’

– के छ नाम उपन्यासको ?

– लाहुरे

उपन्यास मेरो होइन भन्ने टुंगो लागिसकेपछि केही साहित्यकार/पत्रकार भाइहरूले आएर मलाई आफ्नो नाम फेर्ने सुझाव दिए । तर, एक जना गीतकार भाइले त्यसको प्रतिवाद गर्दै भने, ‘हुँदैन, नाम फेर्ने हो भने पछि आउने नयाँहरूले फेर्नुपर्छ । दाइले फेर्ने हैन ।’

मैले खै किन हो त्यही गीतकार भाइको प्रतिवादमाथि सहीछाप गरिदिएँ । पछि नाम जुधेको जानकारी दिनका लागि ती उपन्यासकारलाई भेट्न धेरै कोसिस गरेँ । उनको किताब छापिएको छापाखाना खोज्दै पुगेँ । उपन्यास झुन्डिरहेको हरेक पुस्तक पसल पुगेर मैले भेट्न खोजिरहेको समाचार छाडेँ । फोन नम्बर छाडेर हिँडेँ । तर, उनी कहिल्यै पनि मकहाँ आएनन् । मेरै नामका ती उपन्यासकार को हुन् ? आजसम्म हाम्रो भेट हुन सकेको छैन ।

अर्को एउटा चाखलाग्दो घटना । ०६५ सालमा तत्कालीन संस्कृति मन्त्रालयले ज्ञानेन्द्र शाहको ‘कू’ पछि रिक्त रहेका तीनवटै प्रज्ञा प्रतिष्ठान गठन गर्‍यो । यो गणतन्त्र नेपाल बहालीपछिको पहिलो प्राज्ञ सभा थियो । यसमा भाषा तथा साहित्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको रूपमा मेरो नाम अनुमोदित भएको थियो । तर दुर्भाग्य, प्रक्रिया नपुर्‍याई गठन गरिएको नाममा भोलिपल्टैदेखि यसलाई विवादमा तानियो । प्रत्याशी व्यक्तिदेखि विरोधी व्यक्तिसम्म, पक्षधर दलदेखि प्रतिपक्षी दलसम्म सडकमा उत्रिए । पत्रपत्रिकाहरू आग्रह र पूर्वाग्रहका खबरहरूले रंगिए । अदालतमा उजुरी पर्‍यो । मैले नौ दिनसम्म उपकुलपतिको हैसियतमा हाजिर गरेर अन्त्यमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको कार्यकक्ष छाडेँ ।

यो बीचमा अनेक पर्चाबाजी भए । सबभन्दा अनौठो त मेराबारे अनभिज्ञ केही व्यक्तिहरूले मलाई पञ्चायतकालको राष्ट्रिय पञ्चायत सदस्य, सोलुनिवासी भूपाल किराती भन्ठानेर दरबारिया र राजावादी भएको प्रचार गरे । एउटा दैनिक पत्रिकाको एक स्वनामधन्य पत्रकारको कलमले मेरो नामको हवाला दिँदै ठीक त्यही आशयको एक ‘कन्स्पिरेसी’ समाचार छाप्यो । मैले त्यो समाचारको खण्डनस्वरूप परिवर्तन र गणतान्त्रिक मूल्यका लागि आफूले लडेको लडाइँ सम्झाउँदै जीवनमै पहिलोचोटि पत्रिकाका लागि खण्डन–पत्र लेख्नुपर्‍यो ।

यसरी नामकै कारणले वा अरू कसैसँग नाम मिलेकै कारण मैले अनेक खाले जोखिम मोल्नुपर्‍यो । जीवनमा कहिल्यै नगरेको कर्मको आक्षेपसमेत सुन्नुपर्‍यो । यसबाट पुष्टि हुन्छ कि कुनै विचार, संकथन र सृजनाभन्दा शक्तिशाली हुँदो रैछ कुनै स्थापित नाम । म सम्झिन्छु, यही सेरोफेरोमा उहिले कुनै पत्रिकासँगको वार्तामा मैले भनेको थिएँ– मेरा यावत् कविता/गीतभन्दा कैयौँ गुणा सुन्दर छन्, अरू कसैको नाम ।

...

अन्तिममा, अब माथि स्वघोषित चौथो वा अन्तिम बुँदातर्फ फर्कौं, जहाँ मैले आफ्नो नामबाट च्युत हुन नसक्नुको दुःख संकेत गरेको छु ।

सोचौँ, त्यत्रो असहमति र घटनाका बावजुद पनि मैले आफ्नो नाम फेर्ने हिम्मत गर्न किन सकिनँ ? सायद यसका केही कारण छन् । पहिलो त म अलि बढी नै कायर छु । नयाँ–नयाँ परिस्थितिद्वारा सृजित नयाँ–नयाँ जोखिम मोल्ने कार्यमा उदासीन । दोस्रो म आवश्यकताभन्दा बढी औपचारिक र विनयी छु । पुराना कुरा र सम्बन्धहरूको मर्यादा नाघ्ने कार्यमा कमजोर । सायद मसँग नयाँ नामको जगबाट सुरु हुने अनेक झमेला र चुनौतीप्रति डर पनि थियो । साथसाथै साबिक नामसँग जोडिएका सम्बन्ध र कमाइप्रति थोरै मोह पनि । यही कमजोरीका कारण म अहिलेसम्म एउटा वर्णसंकर जिन्दगी बाँच्न अभिशप्त छु ।

यति हुँदाहुँदै पनि तर म एउटा कुरामा भने प्रस्ट छु । म ठान्छु– ‘नाममा त्यस्तो के छ ?’ भन्नु एउटा जालसाजी हो । एउटा भ्रमको खेती हो । यदि त्यसो होइन भने संसारभरीका मानिसको नाम समान किन छैन ? गृसेली होमरको नाम नेपाली होमप्रसाद हुन किन सकेन ? पीबी सेलीको नाम पीताम्बर शर्मा, भिक्टर ह्युगोको नाम भीष्म हुमागाईं या म्याडम क्युरीको नाम मनकुमारी किन राखिएन ? त्यस्तै डोलेन्द्रप्रसादको नाम डोनाल्ड ट्रम्प, जोगेन्द्रबहादुरको नाम जोन किट्स, तारादेवीको नाम तेरेस्कोभा किन भएन ?

अरू होइन, हाम्रै आन्तरिक कुरा गरौं न ! हामी निःसंकोच गोपाल, भूपाल, लक्ष्मी या भगवती भइरहँदा अरू कोही पारस नामधारी मानिस पारुहाङ हुन किन सकेन ? एकराजहरू एलम्बर, खड्गप्रसादहरू खम्बुहाङ, निर्मलादेवीहरू निनाम्मा, मीनाकुमारीहरू मिन्छ्यामा हुन किन सकेनन् ? के यो संयोगको कारणले मात्र नभएको हो ? अवश्य होइन ।

त्यसैले ‘नाममा त्यस्तो के छ ?’ को एउटै उत्तर हुन्छ– नाममा धेरै थोक छ । नाममा खास किसिमको मानव सभ्यताको खास कडी छ । संस्कृति, भाषा, जाति, वाङ्मय, ज्ञान परम्परा, इतिहास धेरै थोक छ जुन विषयदेखि मेरो नामको जरा पूर्णतः टुटेको छ ।

सत्य भन्छु, आज पनि मलाई त्यही कारणले आफ्नो नाम आफ्नोजस्तो लाग्दैन । मलाई आफ्नै नामप्रति आपत्ति छ । कसैले मेरो नाम बोलाउँदा म त्यो कारणले मात्र प्रतिक्रिया जनाउँछु किनभने त्यसका लागि मेरो कान अभ्यस्त छ । बल्कि त्यो कारणले होइन कि त्योसँग मेरो स्वामित्वबोध छ । अवश्य हो, स्वामित्वबोधले मात्र कुनै चीज आफ्नोजस्तो लाग्छ ।

यतिखेर म सेक्सपियरकै जस्तो कुरा त गर्न चाहन्नँ । तर, थोमस एडिसनजस्तो कहिलेकाहीँ आफ्नै नाम भने अवश्य बिर्सन चाहन्छु । किनभने आज पनि मलाई आफ्नो नाम मन पर्दैन । दुःखको कुरा, यी सब भएर पनि म आफ्नो नाम बदल्न सक्दिनँ । अब त सायद त्यो सम्भव पनि छैन । म थाकिसकेको छु । यसर्थ कि म नामको राजनीतिमा हारेको छु ।

प्रकाशित : चैत्र २६, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?