२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
कोसेली

माया मण्डलमा मृत्यु

मृत्यु एकाएक कहाँ–कहाँ टाढा हराउने घटना होइन । जीवनजस्तै मृत्यु घर–परिवेश र परिचित थलोसँग जोडिएको हुन्छ । मृत्यु वा अगोचर हुने यो अवस्थाको लय जीवनबाटै बनिएको हुन्छ ।
अभि सुवेदी

अहिलेको जगतमा मृत्युको विषयमा केही लेख्नु लगभग असम्भव र विसंगत विषय हुन सक्छ भन्ने जान्दाजान्दै पनि यो मृत्यु–निबन्ध लेख्ने संजोग परेको छ । तर, मृत्युको यो विडम्बनाको कालमा यसमाथि लेख्नुपर्ने कारणमध्ये सबैभन्दा प्रमुख हो मानिसको जीवनमा मृत्यु होइन, मृत्यु जित्ने उसको काल्पनिकी र सिर्जनाको सामर्थ्य बलियो र अविजेय छ भनेर केही कुरा राख्नु ।

माया मण्डलमा मृत्यु

धेरै मानिसको मृत्युको कारण मानिसकै कर्म हो भन्ने एउटा सत्य छ । मानिस आफ्नै मानवको यो जगत्मा हत्या गर्छ । ऊ दानव र मानवका प्रकृतिबारे दर्शन छाँट्छ, तर मृत्युको कारक उही हुन्छ । मानिसको मृत्युको विषय हाम्रो इतिहास हुन्छ, संस्कृति हुन्छ र रीतिरिवाज हुन्छ । प्रकृतिको प्रकोपले पनि मानिसको मृत्यु हुन्छ । त्यसको लेखाजोखा गर्ने तरिका मानवेतर हुन्छ । महामारी कोभिड–१९ ले मान्छेको मृत्यु भएको कुरा जतिसुकै अनुभवजन्य भए पनि त्यसको लेखाजोखा, टाढा र चिसो हुन्छ । यति मानिसको यस्तो प्राकृतिक प्रकोपले मृत्यु भयो भन्ने मात्र त्यसको इतिहास हो । तर, मानिसले मारेका मानिसको लेखाजोखा हुन्छ ।

अर्को कुरा, मृत्यु नित्य र स्वाभाविक हुन्छ । मानिसहरूकै परिवेश अनि तिनकै स्नेह, शोक र माया मण्डलमा मृत्यु घटिरहन्छन् । मृत्यु हुनेको सम्झना हुन्छ वा हाम्रा भाषामा भन्दा पूजा र सम्झना हुन्छ, ती अनेकौं धर्मजनिन हुन्छन् । तर, मृत्युका कथाको अर्को पाटो छ । हामीले पछिल्लो समयमा रेकर्डमा राखेर इतिहासको चरित्र बुझ्ने भनेको मानिसकै कामबाट निःसृत मृत्युका कथा हुन् । जस्तो हामीसँग भएका रेकर्ड बोल्छन्– पहिलो विश्वयुद्धमा साढे दुई करोड मानिस मरे । दोस्रो विश्ययुद्धमा सातदेखि साढे आठ करोड मरे । सत्तरी लाख मानिस हिटलरका क्याम्प र स्तालिनको निर्वासन अनि अत्याचारमा मरे । अहिले पनि केही शासक र पागलका लहडमा गरिने मानिसका हत्याको शृंखला जारी छ ।

मानिसले मानिसको हत्या गरेको विषयका इतिहास बन्छन्, बनेका छन् । तर, साथसाथै त्यसको प्रतिरोधमा पनि मानिसकै क्रियाकलापको इतिहास बन्दै आएको छ । अहिले पनि युरोपमा युक्रेनमाथिको रुसी हमलाले विशाल युद्ध भड्किँदैन भन्न सकिँदैन । हत्यालाई सम्झना गर्ने थलोहरू बनिएका छन् । मैले पनि केही देखेँ । कम्बोडियामा खमेरुजले लाखौंका हत्या गरेका किलिङ फिल्ड देखें । राजधानी न्होमपेनमा यातना र हत्या गरेको थलो नै तुओल सेङ म्युजियममा परिणत गरेको देखें । तिनको हत्याका तरिका र इतिहास, चित्र र रेकर्ड देखें ।

वाणनाथ भन्ने एक व्यक्ति कलाकार भएकाले ती कसरी त्यो यातना र हत्याको थलोबाट निस्केर बाँचे भनेर थाहा पाएँ । तिनको भयावह वर्णन सुनें । खमेरुज नेता खिउ सामपानको चित्र बनाउनुपर्ने भएकाले वाणनाथ बाँचेका रहेछन् । ती वाणनाथसँग म एउटा कम्बोडियाली अखबारको चित्रमा सँगै देखिन्छु । उनले भनेका लामा वर्णन नेपाली अखबारमा लेखेँ । वाणनाथको मृत्यु भएको खबर बीबीसीमा सुनेपछि ‘काठमाडौं पोस्ट’ (सेप्टेम्बर २८, २०११) मा ओबिचुअरी लेखें । यस्ता घटनाका केही रेकर्डहरू नेपालमा पनि देखें । बंगलादेशको ‘जादुघर’ भनिने युद्ध म्युजियममा र वासिङ्टनको होलोकास्ट म्युजियममा देखें हत्याका रेकर्ड र चित्रहरू । अरू पनि अनेकौं देशमा देखें ।

मृत्युको मुखैबाट उम्केकाहरूका कथामा काव्यिक तीव्रता हुन्छ । एकाध महिनाअघि प्रिन्स चार्ल्सको आयोजनामा हिटलरको होलोकास्टबाट बाँचेका नब्बे वर्षमाथिका सात जना नरनारीका कलाकारले चित्र बनाएको हेरें । कलाकारसँग तिनीहरू जीवन र मृत्युका गोधूलिमा पुगेका आफ्ना कथा भन्दै थिए । तिनका स्मृतिहरू कसरी सिर्जना र मानिसको इतिहासका भयावह पक्षलाई जोडिरहेका थिए, त्यो देखें । गुगल खोलेर त्यो अहिले पनि देख्न सकिने रहेछ । तल मृत्यु र जीवनको विषयमा अरू केही कुरा राख्छु ।

मृत्यु जीवन र जिउनुको अर्को पाटो हो । यो अवसान हो । यो विषयमा जति मीमांसा सायद अरू केही विषयमा भएका छैनन् । त्यसको मूल कारण मृत्यु जीवनको पर्याय हो । यसो भन्नु अनौठो होजस्तो लाग्छ, तर हामीले एकाध सरल विषयबाट यो छलफल गर्नुपर्छ । यसलाई व्याख्या गर्न यसो भनौं– मृत्यु दैहिक अवसान हो । परिचत परिवेशबाट दैहिक रूपमा छुट्टिएर जानु मृत्यु भएकाले यसको सम्बन्ध जीवन्त परिवेशसँगै छ । मृत्यु भनेको एकाएक कहाँ–कहाँ टाढा हराउने घटना होइन । जीवनजस्तै मृत्यु घर परिवेश र परिचित थलोसँग जोडिएको हुन्छ । मृत्यु वा अगोचर हुने यो अवस्थाको लय जीवनबाटै बनिएको हुन्छ । त्यसैले मृत्युसँग जोडिएका चलन, रीतिहरूमा जीवनसँग छुट्टिनुको झस्का र त्यो अवस्थाको तीव्र बोध भएकाले मृत्युलाई जीवनकै लयबाट सम्मान गरिन्छ । मृत्यले भावना र विचारलाई प्रभावित गर्छ । ती जीवनबाटै बनिएका तरंग हुन् ।

छुट्टिएर जानेलाई जीवनबाटै हेरिने हुनाले मृत्यु एउटा रीति हो । रीति र चलनका विशेषज्ञहरू त्यसलाई ‘लिमिनल’ वा सीमामुखी मोड, एउटा अवस्थाबाट अर्कोमा जाने अनुभव मान्छन् । तर, यो जीवनबाट जीवित मान्छेको पो एउटा अवस्थाबाट अर्कोमा जाने अवस्थाका अनुभव हुन्छन्, पीडा र सुखका अनुभव हुन्छन्, मृत्यु हुनेका केका अनुभव हुनु ? तर, मानिसहरू मृत्युलाई पनि ‘लिमिनल’ मोड वा एउटा अवस्थाबाट अर्कोमा जाने अनुभवको रूपमा हेर्छन् । अनेकौं संस्कृति र चलनमा यस्ता विश्वास छन् । तिब्बती विश्वासमा यस्तो परिवर्तनको प्रदोषकालीन अवस्थाको चर्चा बलियो हुन्छ ।

एउटा चर्चित विषय छ– मृतकबारेका तिब्बती किताब । अंग्रेजीमा पनि ती ‘द टिबेटन बुक अफ् द डेड’ नामले निकै प्रसिद्ध छन् । दैहिक रूपमा अवसान हुनु वा मृत्यु हुनुदेखि अर्को देह लिएर जन्मनु पहिलेको अवस्थालाई अनुभवको रूपमा तिब्बती मृतकका किताबमा चर्चा गरिएको मलाई किञ्चित् काव्यिक काल्पनिकी लाग्छ । तर, मृत्युपछि अर्को देह नलिएसम्मको अवस्था एउटा यात्रा हो भन्ने विश्वास अरू धर्म र संस्कृतिमा पनि छन् । हिन्दुहरूको किताब ‘गीता’ मा कृष्णले भनेका विषयको कोमलनाथ अधिकारीले गरेको अनुवादमा सलल बग्ने भाषामा राखिएको छ । ‘लुगा पुराना जसरी त्यजेर/यो जीवले लिन्छ नयाँ शरीर ।’ यसरी मृत्युलाई अवसान र अन्त्य नमानेर यात्रा मान्ने विषय हामी मृत्युलाई जीवनबाट अलग अवस्था नै मान्दैनौं भन्ने विश्वासबाट जन्मेका हुन्छन् ।

सबैभन्दा पुरानो सुमेर अथवा सुमेरियालीको विश्वासमा नै मानिसको यो आदिम विश्वास र स्पन्दन देख्न सकिन्छ । इसापूर्व तीन हजार वर्षको सुमेरियाली संस्कृति र विश्वास हामीसँग भएको एक प्राचीन सभ्यताको रेकर्ड हो । झन्डै पाँच हजार वर्षपहिलेको उरमा भएको राजकीय चिहानमा मृतकले आफूसँग भौतिक कुरा लिएर जान्छ भन्ने सुमेरियाली विश्वास झल्काउने कुराहरू छन् । प्राचीन चिनियाँ चिहानहरूका उत्खनन गर्दा त्यहाँ भेटिएका मूर्तिहरूका मृतकसँगै जाने भनिएका मानिस, जनावर र सामानका भीड अहिले पर्यटकका आकर्षण भएका छन् । यसरी मृतकले सँगै लिएर जाने धन, गरगहना, अनि आफ्ना मानिसहरूका चिहान त हुन इजिप्टका पिरामिडहरू । मृतकको देह कहिल्यै केही नहुनेगरी ‘इम्बाम’ गरी राखेका इजिप्ट देशका ममीहरूले भन्छन्– मानिसको मृत्यु हुन्छ र यसले देह लिएर जान्छ ।

यी विषयमाथि पनि विश्वास गर्न नमान्ने ग्रन्थिका प्रमाण हुन् ती । ब्रिटिस म्युजियमको एउटा ठूलो खण्ड टन्नै मृत्युको विषयले ओगटेको छ । त्यहाँ पहिलो पटक मैले इजिप्टका ममीहरू देखें । मेक्सिकोको तेम्पिकोका अमेरिकी इन्डियनहरूका पिरामिडमा जेठ २०६१ मा मृतकका स्मृति र शैली देखें । मृतकको देहबारे हिन्दु संस्कारसँग परिचित मेरा निम्ति पनि मृत्यु जित्ने दैहिक नैरन्तर्यताको काल्पनिकी अनौठो लाग्छ । मृत्युले मानिसको जीवन अन्त्य गर्न सक्दैन भन्ने विश्वासले बनिएका हुन् मिथक, रीति, विश्वास, कला, साहित्य र मूर्तिहरू । सुमेरुवासीले गिल्गमेसको बहादुरीको कथा माटाका चक्कामा लेखे । ती आदिम अक्षर हुन् मानवजातिका ।

योगेश राजले लेखेको चर्चित किताब ‘सन्ध्या संरचना : हिन्दु नेवारको मृत्युचेतना’ (२०७०) मा वर्णित मृत्युको मीमांसामा ‘हिन्दु नेवार’ हरूका संस्कारको नृतत्वशास्त्रीय र शास्त्रीय वर्णन छ । यो किताब पढ्दा मभित्र एउटा तरंग पैदा भएको थियो किनभने किताबमा हिन्दु मृत्युको वर्णन विस्तृत र सूक्ष्म छ । योगेश राजले ‘वर्तमान नेवार समाजमा मृत्यु कहाँ र कसरी देखा पर्दछ भन्ने थाहा पाउन केही मृत्युको वर्णन’ गरेका छन् । उनले ‘मृत्युप्रति संवेदनशील हुन घचघच्याउन’ केही मृत्युका वर्णन गरेका हुन् । यसरी उनको यस किताबमा मृत्युको निर्वैयक्तिक मीमांसा मात्रै नभएर, त्यसमा लेखकको निजत्व पनि आएको कुरा महत्त्वपूर्ण छ । उनले लेखेका छन्, ‘यो मृत्यु आतंक अंशतः परम्परानिःसृत थियो । अंशतः भने अथाहका अगाडि मनमा उब्जिने जैविक भय थियो ।’ एक नृतत्वशास्त्रीको यो बोध अत्यन्त वाचाल छ । यस अध्ययनमा लेखकको निजत्वले प्रवेश गरेको विषय ध्यान दिनलायक छ । योगेश राज भक्तपुर संस्कृतिका विद्वान् हुन् । मेरो एउटा अनुभव यहाँ राख्न उपयुक्त ठान्छु । भक्तपुर नाट्य र रंगमञ्चसम्बन्धी मेरा अनुभवहरू मार्टिन चौतारीबाट योगेश राजको यो किताब प्रकाशित हुनुपूर्वका हुन् । तर, भन्न सक्छु– यो किताब पहिल्यै निस्केर पढेको भए पनि अहिले मलाई लाग्छ, भक्तपुरका कला र स्पेसमा कुनै ‘मृत्यु–आतंक’ को प्रभावभन्दा भक्तपुरको मृत्यु काल्पनिकीभित्रका जीवनमुखी प्रभाव नै टड्कारो हुने थिए ।

भक्तपुरका नेवारको मृत्यु संस्कार मात्रै होइन, मैले भक्तपुरको संस्कृति र कलालाई नैरन्तर्यताको दृष्टिले हेरेको रहेछु । मलाई युवावयमै कवि सिद्धिचरण श्रेष्ठले पहिलोपटक भक्तपुर दरबार देखाएका थिए । उनले दरबारको काष्ठकला देखाए । एउटा पालेले कविलाई त्यहाँ कहिलेकाहीँ नाचगान गर्नेहरू आउँछन्, मयजुहरूको विवाह हुन्छ, यस्तै अनेकौं तमासा हुन्छन् अनि बिहानपख ती सबै विलाएर जान्छन् भन्ने अनौठो कथा सुनाए । कविले भित्र सुकेको पोखरी देखाए अनि भने, ‘यो अन्तपुरमा यहाँ रूखहरू हुन्थे ।’ मैले त्यो बेला त्यहाँ नभएका रूखहरू हावामा लहराएको सुनेँ । सुक्खा पोखरीमा पानी चलेको सुनेँ । मैले त्यहाँ जीवन देखें । त्यसको निकै वर्षपछि आधुनिक कवि र मित्र कृष्णभक्त श्रेष्ठको ‘जित्छ–हार्छ, जित्छ–हार्छ’ भन्ने प्रसिद्ध कविता एउटा साहित्यिक पत्रिकामा प्रकाशित भयो । त्यसमा उनले त्यही भक्तपुरको विम्ब राखेर यस्ता हरफ लेखे, ‘यो ऐतिहासिक भक्तपुर सहर हो/यहाँका प्रत्येक कलात्मक झ्याल–ढोकामा/मूर्ति–मूर्तिमा/एक लामो मृत्यु छ/यहाँका सडक र गल्लीजस्तै मरेको/एक लामो मृत्यु छ ।’ यो अत्यन्त राम्रो कविता हो ।

मैलेचाहिँ ती सबै मूर्ति र झ्यालहरूमा एउटा अविच्छिन्न जीवनको प्रवाह देखें । मलाई कवि सिद्धिचरण श्रेष्ठ, पछि अंग्रेजी कवि जोन किट्स, डब्लूबी यिट्स र यस्तै कविको बलियो प्रभाव परेको हो । मैले यही भक्तपुरको अन्तपुरमा आधारित गरेर ‘आरुका फूलका सपना’ (२०५८) शीर्षक काव्यिक नाटक लेखें ।

यो नाटक सुनील पोखरेलको निर्देशनमा गुरुकुलले नेपाल र बाहिर अनेकौं पटक देखायो । यो मृत्युइतर चेतनाले लेखिएको हो । त्यसपछि मलाई भक्तपुरको मृत्यु काल्पनिकीले छाडेन । म मृत्युको विषय खोज्दै फेरि भक्तपुर फर्कें । त्यहाँको बिस्केट जात्रासँग सम्बन्धित मृत्युसँग जोडिएको मिथकको खोजी गर्दा मलाई लेखक तेजेश्वरबाबु ग्वंग दाइले एउटा कथा दिए । त्यसमा राजदरबारको अर्को पाटो आयो । दरबारमा एउटी राजकुमारीको हेरक दिन विवाह हुन्छ अनि राति त्यो दुलाहाको मृत्यु हुन्छ । बिहान त्यसको दाहसंस्कार हुन्छ अनि दिनमा फेरि बिबाह हुन्छ र राति मृत्यु हुन्छ । आखिरमा एउटा युवक आइपुग्छ जोसँग उनको विवाह हुन्छ । त्यो युवकले राति निद्रामा राजकुमारीको नाकको प्वालबाट निस्केर दुलाहालाई टोकेर मार्ने सर्पहरूको हत्या गरेपछि राजकुमारी र उसको जीवन आरम्भ हुन्छ ।

मैले त्यो कथामा आधारित गरेर ‘चिरिएका साँझहरू’ (२०६८) शीर्षक नाटक लेखें । घिमिरे युवराज र शिव रिजालको निर्देशनमा त्यो नाटक पनि प्रस्तुति भयो । नाटक लेख्ने सिलसिलामा म भक्तपुरको ल्यासाङ्खेल र मृत्यु संस्कारसँग जोडिएका ठाउँहरूमा अनेक पटक गएँ । त्यो मृत्युको कथाको पछिल्तिर पनि मैले जीवनको जीत देखें । त्यो बचाउने बहादुर युवकलाई मैले त्यहाँ रोकिनँ । ऊ अघि बढ्छ अनि राजकुमारी एक विद्रोही युवतीको रूपमा जीवन आरम्भ गर्छे । जीवन र मृत्युको नाटकीय द्वन्द्व भक्तपुर संस्कृतिमा गहिरो छ ।

बृहत् विषय हो मृत्यु । फ्रेडरिक नित्सेले ईश्वरको मृत्यु भयो भनेकामा मानव मृत्युको मानव चेतनाजनिन अर्थ लाग्छ । मार्क्सले मृत्यसँग ईश्वरलाई जोड्ने कामै गरेनन् । अहिले साहित्य सिद्धान्तमा लेखकको मृत्यु भन्ने चलेको छ ।

फ्रान्सेली लेखक रोलाँ बार्थले यो विषय अघि ल्याए । अहिले लेखकको मृत्यु भएकाले पाठक जीवित भयो भन्ने धारणा बलियो भएको छ । लेखक र कलाकारको मृत्यु हेर्ने दृष्टिमा मृत्यु छ, तर त्यो विनाश नभएर नैरन्तर्य हो । यो लेख केवल मृत्यु संकथनभित्रको सानो जीवनमुखी उच्चारण हो ।

प्रकाशित : चैत्र २६, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?