एक डाक्टरको पाइला
मानिसको जीवन पूर्वजन्मका कर्महरूले निर्धारित हुन्छ भनिन्छ । कर्ममा नलेखिएका कुरा जतिसुकै प्रयास गरे पनि पाउन मुस्किल छ । सन्दर्भ चिकित्सा पेसामा कहलिएका जगदीशलाल वैद्यको हो, जसले भर्खरै ‘जगदीशका पाइलाहरू’ नामको जीवनी र स्मृतिको सँगालो किताब प्रकाशित गरेका छन् । किताबले एक व्यक्तिको जीवनमा कर्म र संघर्षको कथानकलाई राम्रैसँग सम्झाएको छ ।
जगदीशका सात जना दाजुभाइ र पाँच दिदीबहिनी थिए । विशाल, तर सुखी परिवार, आपसमा प्रेम भएको परिवार । त्यो मुस्किलको बेलामा पनि उनका पितामाताले छोराछोरी हुर्काए–पढाए र समाजका योग्य नागरिक बनाए । धेरै भएर पनि भाँडामा छताछुल्ल भएन (सम्पत्ति र सन्तान दुवै) भने जोगिने रहेछ । जगदीशलाल वैद्यको परिवारले यही उदाहरण देखाउँछ ।
वैद्यको ‘जगदीशका पाइलाहरू’ को आद्योपान्तमा एउटा साधारण मानिसको जीवन संघर्ष, हन्डर–ठक्करका चरण छन् । काठमाडौंको बी एन्ड बी अस्पतालको संस्थापकमध्ये एकका रूपमा परिचित वरिष्ठ सर्जन डा. वैद्यको ४ सय पेजभन्दा मोटो पुस्तकमा जीवनका विविध रोमाञ्चक क्षण र रहस्य समेटिएको छ । ४२ शीर्षकमा बाँडिएको किताबको सुरुवातमा वैद्यले आफ्नो छोरो घरैबाट अपहरणमा परेको र अनेक यत्नले फर्काउन सकेको घटनालाई दुःखान्त शैलीमा लेखेका छन् । किताबमा जगदीशले अमृतसर (भारत) मा पढ्दाको अनुभव चित्ताकर्षक ढंगले लेखेका छन् । ‘डाक्टरी पढाइ पूरा भयो, बाँकी थियो इन्टर्नसिप । इन्टर्नसिप सबै डिपार्टमा गर्नुपर्ने । मलाई सर्जरीमा सजिलो लाग्ने, शरीर चिर्न र सिउन किनकिन मजा लाग्थ्यो । दिनभरि दुर्घटनामा परेका मानिसको घुइँचो नै लाग्थ्यो, त्यस्तो केस कसैले पनि छुन नमान्ने ! कुटपिट, हतियारले हानिएका घटना पनि खुबै हुन्थे । त्यस्ता केसमा अपरेसन गरी घाउ सिलाउनुपर्ने हुन्थ्यो । मलाई सिलाउने काम मन पर्ने,’ डाक्टर जगदीशको बयान रोचक छ । बेलायतमा डा. बिहारीलाल श्रेष्ठसँग भएको भेटघाट र संगतदेखि प्रतीकात्मक अर्थमा मेडिकल कलेजको भूतसम्मका सन्दर्भ, माओवादी नेताहरू बाबुराम र प्रचण्डसँगको भेटहरू रमाइला छन् ।
तर, चिकित्सा क्षेत्रमा विशिष्ट चिनारी बनाइसकेका वैद्यले श्रीमती तथा परिवारको बयानमा अलिक बढी शब्द तथा समय खर्चिएका छन् । यसले गर्दा कहीँकतै स्मरण र योगदानका अरू पक्ष ओझेलमा परेझैं देखिन्छ । ‘डेस्टिनी’ अर्थात् भाग्य भन्ने कुरा गजबको हुने रहेछ । यसले मानिसलाई ‘डेस्टिनेसन’ (मञ्जिल) सम्म पुर्याउँदो रहेछ । अनेक परिवन्द हुन्छन् जीवनका । बाहिरी देशमा पढेर फर्केपछि जगदीशलाई यहाँ डाक्टर (अशोक) बाँस्कोटाले पर्खेर बसिरहेका थिए, यद्यपि उनलाई थाहा पनि थिएन, वैद्य र बाँस्कोटाको मिलन नेपालको चिकित्सा इतिहासमा एउटा ‘माइलखुट्टी’ बन्नेवाला छन् । जुन ठाउँमा दिउँसै स्याल कराउँथ्यो, त्यहाँ भव्य चिकित्सकीय भवन बनाउन दुवैको भाग्यमा लेखिएको छ भन्नेबाट तिनीहरू अनभिज्ञ थिए !
ग्वार्कोको बी एन्ड बी अस्पतालसँग जोडिएका सन्दर्भ र संघर्षमयी पलको स्मरण पनि उत्तिकै रमाइलो छ । जगदीशले किताब पठन सहज होस् भनेर स–साना घटना र जीवनका अंशलाई ४२ उपशीर्षकमा बाँडेका छन्, जुन यदाकदा झिंझो लाग्छ । सम्पादनमा अझै मिहिनेत भइदिएको भए कतिपय दोहोरिएका र बयान गरेर बुझाउन खोजिएका सन्दर्भ छोटिने थिए ।
प्रकाशित : चैत्र २६, २०७८ १०:२६