कोसेली

जयप्रकाशका सहयात्री दलबहादुर

मल्ल के. सुन्दर

भारतीय समाजवादीका लागि दलबहादुर प्रजापति अर्थात् ‘नेपाली बाबा’ सदैव प्रेरक छन् । उत्तर प्रदेश र विहारका पुराना पुस्तादेखि आजका नेतृत्वपंक्तिसम्मले ‘नेपाली बाबा’ को चर्चा गरिबस्छन् । तर, नेपालको सरहदभित्र ‘नेपाली बाबा’ छायामा छन् । दलबहादुरको स्मृति–दिवस चैत २९ मा उनको सम्झना :

जयप्रकाशका सहयात्री दलबहादुर

गीता चर्चा नै मेरो जीवन हो, गीता नै मेरो सन्देश हो,’ आचार्य विनोभा भावे यसैमा विश्वास गर्थे । महात्मा गान्धीको अहिंसावादी सिद्धान्तका सच्चा अनुयायी आचार्य विनोभालाई भारतीय स्वाधीनता आन्दोलनमा उनले निर्वाह गरेको विशिष्ट भूमिकाका लागि श्रद्धाका साथ स्मरण गरिन्छ । यस अतिरिक्त सामाजिक क्रान्तिका सन्दर्भमा विनोभाको पहिचान मौलिक छ । गान्धीको ‘स्वराज’ आदर्शबाट प्रभावित आचार्य विनोभाले कालान्तरमा ‘सर्वोदय’ अभियानका मूल अभियन्ताका हैसियतमा आफूलाई समर्पित गरे । अहिंसामार्फत् भूमिपतिबाट भूमिहीनका लागि इच्छामुताबिक जग्गा उपलब्ध गराउने परिकल्पना भारतको राजनीतिवृत्तमा ‘भूदान’ आन्दोलनका रूपमा लोकप्रिय छ । झारखण्ड, रामगढका महाराजा बहादुर कामाक्ष नारायण सिंहले एकैपटक दुई लाख एकड जमिन भूदान गरेको प्रसंगलाई सर्वोदय अभियानको विशिष्ट क्षणका रूपमा व्याख्या गरिन्छ ।

स्वाधीनता आन्दोलनमा महात्मा गान्धीले ‘भारत छोड’ को नारा दिइसकेका थिए । अखिल भारतीय कांग्रेसको मुम्बई, ग्वालिया टैंकमा भएको बैठकपछि ८ अगस्ट १९४१ बाट भारतभर त्यस आन्दोलनले तीव्रता लियो । त्यही सिलसिलामा बिहार मधुवनीको लौकाहमा विशाल आमसभा गरिएको थियो । प्रमुख वक्ता थिए– आचार्य विनोभा भावे !

नेपालको सिरहा जिल्ला भारतीय सीमान्त बजार लौकाहबाट टाढा होइन, थुप्रै नेपाली युवा त्यस आमसभामा सहभागी हुन पुगे । नेपाली युवा दलबहादुर प्रजापति पनि आमसभामा पुगेका थिए । सिरहा पोर्ताहमा नाइके प्रजापतिका नाउँमा चिनिने कृष्णमानका नाति र जितबहादुरका कान्छा सन्तान थिए उनी । मूल घर उपत्यकाभित्र भक्तपुरको रामघाटमा थियो, तर जमिनदारी मधेसतिर थियो । प्रशस्त जग्गाजमिन र आयस्ता भएको धनी किसान परिवारमा जन्मिएका उनले जुन दिन आचार्य विनोभा भावेको लौकाहा आमसभामा विनोभाको ‘स्वराज’ विचार सुने, त्यसै दिनदेखि स्वविवेकले उनी गिजोलिन थाले ।

तत्कालीन शासकहरूसँग परिवारजनको उठबस राम्रै थियो, त्यसैले राणा प्रधानमन्त्री चन्द्रशमशेरले बाल्यकालमै दलबहादुरलाई लप्टन पदवी दिएका थिए । तर, विद्रोही स्वभावका उनी जिल्लामा राणाहरूको प्रतिनिधित्व गर्ने बडाहाकिमको व्यवहारलाई न्यायोचित ठान्दैनथे । राणाहरूको शासन उनलाई उचित लाग्दैनथ्यो । आचार्य विनोभा भावेको भाषणले दलबहादुरभित्रको असन्तुष्टिलाई सल्काइदियो, अन्ततः उनी विद्रोही बने ।

एकातिर सामन्त परिवारको घर, आँगन, दैलोमा असरल्ल अन्न अर्कोतिर जोताहाहरूका चुल्हो रित्तै अनि लालाबाला भौकै । दलबहादुरलाई त्यो सह्य थिएन । आफ्नै धन्सारबाट अन्न ओसार्दै भोकाहरूलाई बाँड्दै हिँडे उनले । उनमा भूमिसुधारको आवश्यकता–बोध थियो । सम्पत्तिको समान वितरणको पक्षमा वकालत गर्थे उनी । धनी परिवारका सन्ततिले मात्रै पाठशाला जान पाउने, गरिबका नानीहरू अनपढ रहनुपर्ने अवस्था उनलाई निको लाग्दैनथ्यो । ‘गरिबका सन्तानले पढ्न पाउँदैन् भने आफ्ना बालबच्चा पनि नपढाउने’ भन्दै भर्ना गरिएका छोराहरूलाई उनले स्कुलबाट घर फिर्ता गरे । उनको भिन्न स्वभाव र व्यवहार परिवारका अन्य सदस्यलाई रुच्दैनथ्यो । तर, उनी भने सीमापारिका स्वाधीनता संग्राममा लागेका भारतीयसँग निरन्तर उठबसमा थिए ।

सीमापारि ‘भारत छोडो’ आन्दोलन चर्किसकेको थियो– हजारौंको ज्यान गयो, लाखौंको धनसम्पत्ति क्षति भयो । झन्डै नब्बे हजारभन्दा बढी आन्दोलनकारीलाई हिरासतमा लिइसकिएको थियो । आन्दोलनको मोर्चाका अग्रणी व्यक्ति थिए– लोकनायक जयप्रकाश नारायण । उनीसँगै आन्दोलनमा लागेका कैयौं कार्यकर्तालाई अंग्रेज शासकले हजारीबाग जेलमा कोचिदिए । राज्य विप्लवको आरोपमा उनीविरुद्ध संगीन मुद्दा चलाउने तयारी थियो ।

सन् १९४२, नोभेम्बर ९ को बेलुकी जेलभित्र दीपावली पर्वको रौनक चढ्दै थियो । सत्र फिट अग्लो पर्खाल नाघेर जयप्रकाश नारायण सहकर्मीहरूसँग जेलबाट फरार भए । लामो समयको योजना अनुसार चालिएको त्यस कदममा उनीसँगै हजारीबाग जेलको पर्खाल नाघ्नेहरूमा थिए– जोगेन्द्र सिंह शुक्ला, सुरक नारायण सिंह, शालिकराम सिंह, गुलाव चन्द गुप्ता र रामानन्द मिश्रा । गया, दिल्ली र बनारस हुँदै विहारको बाटोबाट फरार कैदीहरूको दफा चुपचाप सीमापारि नेपाली भूमिमा प्रवेश गर्‍यो ।

सिरहाका दलबहादुरसँग उनीहरूको सम्पर्क छँदै थियो, अन्ततः भूमिगत रूपमा जयप्रकाश नारायणको समूह त्यतै पुग्यो । सिरहाको सखरामा दलबहादुरले स्थानीय युवाहरू भेला पारेर ‘आजाद दस्ता’ बनाएका थिए । सलेस पोखरीको उत्तरमा पर्छ सुरंगा पहाड, त्यही अनकन्टार जंगल ‘आजाद दस्ता’ को मूल आश्रयस्थल थियो । यता कोसीटप्पुको एउटा फुसको घरमा जयप्रकाश नारायणको समूहलाई सुरक्षित तरिकाले खाने, बस्ने सम्पूर्ण व्यवस्था गरेका थिए दलबहादुरले ।

उता हजारीबाग डिस्ट्रिक कमिसनर केभीएस रमणको होस ठेगानामा रहेन, व्यापक सर्च अप्रेसन गरियो । ‘सुट अट साइट’ को आदेश जारी भयो । भगौडा बन्दीहरू ज्युँदो वा मुर्दा बुझाउनेलाई दस हजार कम्पनी नगद इनाम ठोकियो ।

जयप्रकाश नारायण भने सहयोगीसँग मिलेर भूमिगत अवस्थामा नेपालबाटै भारत स्वाधीनता आन्दोलनको थप तयारी गर्दै थिए । आर्थिक–भौतिक रूपमा उनीहरूको आवश्यक हेरविचार दलबहादुरले गरे । अन्ततः अंग्रेज शासकहरूले हजारीबाग जेलबाट फरारहरू नेपाली सरहदभित्र लुकीछिपी बसेको सुइँको पाए । तत्कालीन बडाहाकिम तुलाविक्रम राणाले अंग्रेजहरूको आदेश पालना गर्दै जयप्रकाश नारायणसहित सबैलाई हनुमाननगर जेलमा कोचे । निश्चित थियो, प्रशासनिक प्रक्रिया पूरा गरि बन्दीहरूलाई हनुमाननगर जेलबाट भारत चलान गरिन्थ्यो । त्यसो भएको भए जयप्रकाश नारायणदेखि कसैको जीवन सुरक्षित हुन्नथ्यो ।

त्यसलगत्तै गुप्त प्रशिक्षण लिइरहेका ‘आजाद दस्ता’ परिचालन गरियो । राती करिब दस बजे कोइलाडी, बरसाइनका राजपुत तथा स्थानीय मुसहरको ठूलो जमात चुपचाप गोप्य योजनामा लागे । उनीहरूले पर गाउँमा कतै ठूलै आगो सल्काएर सुरक्षाकर्मीहरूको ध्यान अर्कैतिर मोडे अनि दुई नाल टोटावाल बन्दुक, दुई नाल थ्री नट थ्री राइफल र केही ग्रेनेड बोकेर हनुमाननगर जेलमाथि जाइलागे । र, जयप्रकाश नारायण, राममनोहर लोहिया लगायत सबैलाई मुक्त गराए । त्यस साहसिक कामको नेतृत्व गरेका थिए, दलबहादुर प्रजापतिले ! सायद त्यतिखेर त्यो पहल नहुँदो हो त भारतीय स्वाधीनता आन्दोलनको एउटा पाटो अहिलेजस्तो हुन्नथ्यो ।

...

पछि दलबहादुर भौतारिँदै अयोध्या पुगे । त्यहाँ सन्त–महन्त र साधुहरूसँगको बसाइमा आध्यात्मिक दीक्षा प्राप्त गरेर वैष्णवी सम्प्रदायका अनुयायी बने । दलबहादुरबाट उनले अलौकिक सीतारामको नयाँ परिचय बनाए । नेपालमा पनि वैष्णवी आदर्श प्रशिक्षित गर्ने एउटा पाठशाला सञ्चालन गर्न जनकपुर पुगे । त्यहाँ रत्नसागरछेउ वैष्णव सम्प्रदायको प्रचारप्रसारमा प्रशिक्षण केन्द्र खोले । राणा शासनकालमा आफ्नो परिवारको कुलानी धर्म परिवर्तन गर्न अनुमति लिनुपर्थ्यो । उनले त्यसो गरेनन्, त्यसमा पनि सरकारी स्वीकृति नलिई पाठशाला खोले । जुद्धशमशेरको शासनकाल थियो– उनी पक्राउ परे, पाँच वर्ष जेल जीवन बिताए, सम्पत्ति जफत भयो ।

जेलमुक्त भएपछि सीधै बनारस पुगे । राणा शासकप्रतिको विद्रोहको ज्वाला उनीभित्र थियो, सँगै भारतीय भूमिमा स्वाधीनता आन्दोलनको तीव्रताले उनी आचार्य नरेन्द्र देवदेखि भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद आदिसँगको निकट सम्बन्धमा पुगे । भारत निर्वासनमै रहेका कृष्णप्रसाद कोइरालासँग पनि उनी निकट भए । दलबहादुरबाट ‘अलौकिक सीताराम’ को नयाँ पहिचान बनाएका उनी भारतीय राजनीतिकर्मीबीच भने ‘नेपाली बाबा’, ‘पहाडी बाबा’ का नामले चिनिए । भारतीय स्वाधीनता आन्दोलनमा उनी सक्रिय थिए, त्यसैले अंग्रेज शासकले उनीविरुद्ध पक्राउ आदेश जारी गरे । उनी लहरिसराय, दरभंगा आएर केही समय भूमिगत बसे । पछि लामो समय पटना, हाजिपुर, मुज्जफरपुर बसे ।

...

भारतबाट नेपाल फिरेपछि पनि उनी उसै बसेनन् । विशेषतः दलहरू प्रतिबन्धित भइसक्दा नेपालभित्र उनको आफ्नै खाले गतिविधि निरन्तर रह्यो । फुलेका दारी–जुँगा अनि लामालामा कपाल, त्यसमा पनि शरीरमा एकसरो सेतो धोती– सार्वजनिक जीवनमा उनी यस्तै हुलियामा उपस्थित हुन्थे । साँझ–बिहान हातमा एउटा सेतो कपडाको झन्डा अनि राम–सीताको तस्बिर बोकेर काठमाडौंको बजार, चोक, टोलहरूमा उभिन्थे । उनको अभियान थियो– देशमा प्रचलित राजनीतिक व्यवस्थाको अन्त्य र रामराज्यको प्रतिस्थापन । निर्दलीयता, पञ्चायती शासन अनि राजाप्रतिको कठोर टिप्पणी उनको प्रवचनको मूल आशय हुन्थ्यो । दलहरू भूमिगत थिए, नेताहरू निर्वासनमा थिए । यस्तो बेला ‘अलौकिक सीताराम’ को रामराज्यको पक्षमा र तत्कालीन शासन सत्ताको आलोचनामा गरिने प्रवचन रुचिपूर्वक सुन्न मानिसको भीड लाग्थ्यो । प्रवचनको आरम्भ प्रायः उनी हिन्दीमा गर्थे, पछि नेपालीमा बोल्दाबोल्दै आफ्नै मातृभाषा नेपालभाषामा टुंग्याउँथे । ती अभिव्यक्तिका कारण पटक पटक उनी थुनामा परे । लामो समय भद्रगोल जेल बसे, २०२९ भदौमा मात्र उनी रिहा भए । जेलबाट छुटेपछि बिरामी परे र उचित उपचार–अभावमा २०३० चैत २९ मा काठमाडौंमा अन्तिम सास फेरे । भारतीय समाजवादीका लागि ‘नेपाली बाबा’ सदैव प्रेरक व्यक्तित्व बने । उत्तर प्रदेश र विहारका पुराना पुस्तादेखि आजका नेतृत्वपंक्तिसम्म ‘नेपाली बाबा’ को चर्चा गरिबस्छन् । नयाँ दिल्लीका शासकहरू पनि दलबहादुर अर्थात् ‘नेपाली बाबा’ ले इतिहासमा निर्वाह गरेका विगतको भूमिका स्मरण गर्छन् । तर, विडम्बना ! नेपालको सरहदभित्र भने ‘नेपाली बाबा’ गुमनाम छन् ।

प्रकाशित : चैत्र २६, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?