कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

आमाहरूले कहिल्यै नाइँ भनेनन्

सात वर्षमै हजुरआमाको बिहे भयो । उबेला बुहारीहरुलाई घरबाहिर निस्किनै दिइँदैनथ्यो । अँध्यारैमा हजुरआमाको जीवन अस्तायो । आमा पनि अँध्यारैमा बाँच्नुभयो । तर, जीवनका अनेकन संघर्षपछि म उज्यालो संसारमा निस्केको छु ।
रुबी खान

इतिहासका विभिन्न कालखण्डमा विभिन्न स्वरूपमा महिलामाथिका विभेद, दमन र हिंसा निरन्तर छन् । आजका दिनसम्म आइपुग्दा महिलाले आफ्नो पहिचान, सम्मान र स्वतन्त्रताका खातिर संसारभरि नै थुप्रै आन्दोलन गरेका छन् । नेपालको सन्दर्भमा भोजपुरकी सामाजिक अभियन्ता योगमायाले राणाकालको अँध्यारो समयमा महिलामुक्तिको आन्दोलन चलाएकी थिइन् । नेपाली समाजमा महिला–पुरुषबीचको विभेदकारी खाडल यति गहिरो छ कि यसलाई पुर्न योगमायाजस्ता हजारौंको खाँचो अझै छ ।

आमाहरूले कहिल्यै नाइँ भनेनन्

हाम्रा हजुरआमाहरू घरभित्रै सीमित भए । उनीहरू शिक्षाको पहुँचबाट टाढै रहे । समूह–संगठनमा सक्रिय हुने वातावरण

पाएनन् । महिलालाई घरको कुनै पनि निर्णयमा सहभागी नगराउने चलन थियो उबेला, अहिले पनि चलन फेरिएन । रीत फेरिएन । समय फेरियो, समाज फेरिएन । समाजले पुरुषलाई मात्रै घरमुली स्विकार्छ । घरको सरसफाइदेखि खाना पकाउने, परिवारको रेखदेख–स्याहार गर्ने, आफन्त–पाहुनाको स्वागत–सत्कार लगायतका सबै काममा महिला नै अघि सर्नुपर्छ । टाढा–टाढाबाट घरमा पानी ओसार्नुपर्दा ग्रामीण भेगका महिलाले सदिऔंदेखि बेहोर्नुपरेका कष्टबारे हामी सदिऔंदेखि नै जानकार छौं ।

पुरुषले युगौंदेखि ‘साना’ भन्ने गरेका यस्ता कामलाई महिलाले कहिल्यै ‘नाइँ’ भनेनन् । महिलाले ‘नाइँ म यो काम गर्दिनँ’ भनेको सुन्न चाहँदैन समाज । अहँ ! यस्तो सुन्न बिलकुल रुचाउँदैन म बाँचिरहेको समाज । यी ‘जिम्मेवारी’ मा कमी–कमजोरी भए महिलाले घरेलु हिंसा बेहोर्नुपर्छ । घरेलु हिंसाको स्वरूप कस्तो भने पुरुषहरू महिलाको टाउको फुटाइदिन सक्छन्, महिलामाथि लात बर्साउन सक्छन्, महिलाको हात–खुट्टै पनि भाँचिदिन सक्छन्, घरै निकाला गर्न सक्छन् । पुरुषहरू जे पनि गर्न सक्छन्, मेरो देशमा महिलाले ‘नाइँ’ भनिन् भने ।

पुरुष साथी, जोसँग जिन्दगी बिताउन महिला आफ्नो परिवारै छोडेर आउँछिन्, उनको कुनै कदरै हुन्न । उनको आत्मसम्मान, विचार, जिन्दगी केहीको पनि कदर हुन्न । पुरुष यस्ता पक्षमा कहिल्यै संवेदनशील हुँदैनन् । भन्न त भनिन्छ, महिला–पुरुष एक रथका दुई पांग्रा हुन्, कुनै एक पांग्रा चलेन भने रथ लक्ष्यसम्म पुग्दैन । तर, यो भनिएको कुरा नेपाली समाजमा कहिल्यै लागू भएको छ त ? अहँ, मेरी हजुरआमा, आमा र मेरो जीवनमा यी कुरा कहिल्यै व्यवहारमा देख्न पाइनँ ।

एक छिन मेरी हजुरआमा र आमाको निजी जीवनलाई हेरौं । उनीहरूका जीवनमा सुखले कहिल्यै चियाएन । दुःख सधैंभरि पहाडजस्तै गरी बसिरह्यो । हामीले कम्तीमा किताब हेर्न पायौं, विद्यालय जान पायौं, तर हाम्री बज्यैका लागि त शिक्षा आकाशको, निकै दूरको फलजस्तै थियो । उनी यस्तो समाज र समयमा हुर्किन् सायद उनले विद्यालयबारे कहिल्यै सपना पनि देखिनन् । विद्यालय कस्तो हुन्छ ? किताब–कापी–कलम कस्ता हुन्छन् ? उनका आँखाले देखेनन् । बज्यैले बुबा, दाजुलाई कहिल्यै सोध्नुभएन सायद– हामीलाई शिक्षा किन दिइएन ? तर, यसको उत्तर सहजै भेटिन्छ, समाजमा सदिऔंदेखि बनिरहेको भाष्यमार्फत्– ‘छोरीले पढ्नु हुँदैन’, ‘घरभित्रै बस्ने जात हो’, ‘अर्काको घरमा जानुपर्छ’, ‘जे हुन्छ जस्तो हुन्छ श्रीमान्को घरमै हुन्छ’, ‘आमाबुबाको दायित्व छोरीको बिहे गरिदिनु मात्रै हो’, ‘छोरी कुलको इज्जत हो, यसलाई धानेर बस्नुपर्छ’ आदि । छोरीले गर्नुपर्ने कामको फेरिस्त लामै छ— छोरी घरबाहिर निस्कँदा टाउको निहुराउनुपर्छ, टाउको छोप्नुपर्छ, कुरा गर्दा आँखा जुधाउनु हुन्न, सानो आवाजमा बोल्नुपर्छ । संस्कारी छोरी बिस्तारै हाँस्नुपर्छ, हाँस्दा मुख छोप्नुपर्छ, टाइट लूगा लगाउनु हुँदैन, आमाबुवाले हेरिदिएको केटासँगै विवाह गर्नुपर्छ, चाहे दाइजो जति पनि दिनु किन नपरोस्– यस्तै–यस्तै मान्यता थियो हजुरआमाको समयमा, आमाको समयमा र छ अहिले पनि । यस्तै परम्पराले छोरीहरूको बाटो छेकिरहेको छ र छोरीहरू रोकिइरहेका छन् । यही रुढीवादी सोचले ग्रसित समाजमा छोरीलाई अघि बढ्न असाध्यै अप्ठेरो छ । बज्यैहरू यस्तै सामाजिक मान्यताले थिचिइरहे ।

मेरी बज्यै संस्कारी छोरीका रूपमा हुर्किनुभयो । उहाँ सात वर्षको छँदै बालविवाह भयो । श्रीमान्को घरमा राति चार बजे नै उठेर काम सक्नुपर्थ्यो । बुहारीलाई परपुरुषले नहेरून् भनेर घरबाहिर निस्कनै दिइएन । घरको अँध्यारैमा बस्नुपर्‍यो । उहाँले हरइच्छा मनभित्रै दबाएर बस्नुभयो । चार छोरा, चार छोरी हुर्काउँदै एक साँझ उहाँको जीवन अस्तायो । उहाँले जीवनकालमा भोगेका कुरा अझै बाहिर आएका छैनन् । मेरी आमाको जीवन पनि खासै फरक रहेन । तर, सधैँ गलत कुराको विरोध गर्नु, आफ्नो अगाडि भइरहेको अन्याय–उत्पीडनको विरोध गर्नु, चाहे त्यसले आफैँ वा आफ्नाले नोक्सान बेहोर्नु किन नपरोस्, आमा सत्य र न्यायको बाटोमा सधैँ अडिग रहनुभयो । र, आमाले मलाई यही शिक्षा दिनुभयो ।

छोरीका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो— शिक्षा । आमाले विद्यालयको मुख हेर्नुभएको छैन, तर सधैं भन्नुहुन्छ, ‘सबै बालबालिकाले इस्लामिक शिक्षा तथा दुनियाबी शिक्षा अनिवार्य पाउनुपर्छ भन्ने नियम इस्लाममा छ ।’ तर, एक्काइसौं शताब्दीमा समेत मुस्लिम समुदायका बालबालिका शिक्षाबाट वञ्चितीकरणमा पारिएका छन् । एकदमै कम संख्यामा मात्रै हाइस्कुल पास गरेका बालबालिका छन्, मुस्लिम समुदायमा, जहाँ बालिका र किशोरीको संख्या शून्यसरह छ । समुदायमा बालिका, किशोरी र महिलाको अवस्था दर्दनाक छ । गरिबीको चपेटामा जति यो समुदाय छ, त्यति नै परम्परागत रुढीवादी सोचले पनि जकडिएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाको तथ्यांकले भन्छ– बालिका तथा किशोरीलाई पढाउन यस समुदायमा निकै कठिन छ । यो समुदायको अवस्था यस्तो छ, जहाँ घर खर्च टार्न दिनैभरि अर्काको घरमा श्रम गर्नुपर्छ । बालश्रमको समस्या पनि यो समुदायमा अत्यधिक छ । यहाँका बालबालिका इँटाभट्टा, होटल, अर्काको घरमा ज्याला मजदुरीका काम गर्न बाध्य छन् । बालश्रम, बालविवाह, अनमेल विवाह, बहुविवाह, घरेलु हिंसा, गरिबीलगायत भयानक समस्याले बालबालिकाको जीवन असाध्यै कष्टकर बनेको छ । र, सम्पूर्ण समुदाय नै ग्रसित छ । शिक्षाबाट वञ्चित भएरै समुदायका सदस्य राज्यको सेवास्रोत तथा साधनबाट पनि वञ्चित छन् ।

आमाले हामी छोरा–छोरी पढाउन निरन्तर संघर्ष गर्नुभयो । आमामाथि हामीलाई नपढाउन समुदायको दबाब यति धेरै थियो कि स्कुल जान भनेर बाटोमा निस्कँदा समुदायका अगुवा भनाउँदाहरू हामीलाई आँखा तर्थे । सडकमा हामी डराएर हिँड्नुपर्थ्यो । कसलै हामीमाथि हमला गर्छ कि ? कसैले गाली पो गरिरहेको छ कि ? कसैले हाम्रो कुरा काटिरहेको छ कि ? यस्तो त्रास सधैं रहन्थ्यो । तर, आमाले यस्ता कुराको कहिल्यै वास्ता गर्नुभएन, कसैसँग डराउनुभएन । गृहिणी भएर पनि आमा घरमा बिँडी बनाउनुहुन्थ्यो र त्यसबाट आएको आयले घर खर्च चलाउनुहुन्थ्यो ।

घर खर्चबाट आमा हाम्रा लागि विद्यालय शुल्क छुट्याउनुहुन्थ्यो । हामी मदरसामा अध्ययन गर्थ्यौं, गरिबी र समुदायको दबाब प्रत्येक दिन सहिनसक्नुहुन्थ्यो । हामी स्कुल जानेहरूको कुरा काट्ने सामाजिक–प्रवृत्तिले पढाइ बीचमै छाड्न बाध्य हुनुभयो मेरी दिदी । पढाइ छोड्दा दिदी तेह्र वर्षकी हुनुहुन्थ्यो । पढाइ छाड्नेबित्तिकै घरमा दिदीको बिहेको कुरा चल्यो, चौध वर्षमा त बिहे नै भयो । यसरी समुदायको दबाबमा एउटी बालिकाको भविष्य सुरु हुनुपूर्व नै ध्वस्त भयो । आमाको निरन्तरको मिहिनेत र संघर्षले मलाई शिक्षा लिन थप प्रेरणा मिल्यो । मेरो पढाइ रोक्न पनि समुदायका रुढीवादीगत सोच–विचारका व्यक्तिले दबाब दिए । तर, यसपालि आमा र दिदीसहित परिवारै यसको विरोधमा उभियो ।

आमाको अथक प्रयासपछि मैले शिक्षा हासिल गरेँ । अहिले महिला अधिकारको क्षेत्रमा काम गर्छु । समुदायले पटकपटक रोक्न खोज्दा पनि आमा निडर भएर लडिरहनुभयो । उहाँले पढ्नुभएको थिएन । आमाबुबासँग पढ्नका लागि अपहत्ते नगर्नुभएको होइन, तर उसबेला गाउँमै छोरीहरू पढ्दैनथे । कसैका छोरी पनि घरबाटै बाहिर निस्किँदैनथे । आमाका आमाबुबाले ‘तिमी पनि कतै जानुपर्दैन’ भनेर पटकपटक भन्नुभएको थियो रे ! यस्तो उत्तरले आमालाई निकै रुवायो । तर, आमाले आफू पढ्न नपाए पनि हरहालतमा छोरीहरू पढाउँछु भनेर उतिबेलै अठोट गर्नुभएको रहेछ । मलाई पढाउँदा बखत आमाले झेल्नुभएका चुनौतीले मलाई निरन्तर लडिरहने ऊर्जा दिन्छ ।

प्रकाशित : चैत्र २६, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?