१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
जिन्दगीको कथा

एउटा मान्छेको रुचि अर्को मान्छे हो

हामी सिनेमा बनाउनेहरु दर्शकलाई ध्यान दिन्छौं । उनीहरुका रूचिअनुसार कथा भन्छौं । यस हिसाबले हाम्रो सुरूवातै झूटबाट हुन्छ । झूटबाटै सुरू भएका नाटक, सिनेमा, पुस्तकको न्यारेसनले मान्छेलाई मार्गनिर्देश गर्छ । र, समाजमा त्यो महफ्वपूर्ण, सशक्त कृति बनेर बसिरहन्छ ।
एक कलाकारको वास्तविक जीवनको भोगाइ एउटा पुस्तकालयजस्तो हुन्छ । चाहे वियोगको भोगाइ होस् या खुसीको, रिसको होस् या संकोचको, डरको होस् या साहसको  !
राजेश हमाल

मान्छेको सबैभन्दा ठूलो रुचिको विषय के हो ? मसँग सटीक जवाफ छ– एउटा मान्छेको सबैभन्दा रुचिको विषय ‘अर्को मान्छे’ हो । अर्को मान्छेले के सोच्छ ? अर्को मान्छेले के लीला गर्छ ? अर्को मान्छेले के अभिव्यक्त गर्छ ? अर्को मान्छेलाई मैले के भन्न सक्छु ? र, अर्को मान्छेबाट मैले के जान्न सक्छु ? मान्छेहरूको चासो यिनै विषयमा हुन्छन् । त्यसैले मेरो बुझाइमा मान्छेको सबैभन्दा ठूलो रुचि अर्को मान्छे नै हो ।

एउटा मान्छेको रुचि अर्को मान्छे हो

मान्छेकै रुचिलाई ध्यानमा राखेर हामी तमाम काम गरिरहेका छौं– मोबाइल प्रयोग गरिरहेका छौं, सोसल मिडिया चलाइरहेका छौं । र, सोसल मिडियामा ‘राम्रो’ देखिन, अरू मान्छेले हाम्राबारे राम्रो सोचुन्् भन्नका खातिर हामी सुन्दर तस्बिर पोस्ट गरिरहेका हुन्छौं, चिटिक्क देखिएको फोटो राख्छौं, आफूबारे मान्छेहरूले राम्रो धारणा बनाऊन् भन्ने सोचेरै हामी त्यसो गरिरहेका छौं । आफ्नो सोच अभिव्यक्त गर्न मान्छे जहिल्यै आतुर हुन्छ । मान्छेले अभिव्यक्त गरिरहेको आफ्नो वास्तविकता, समाजका कुरा, मनस्थिति, सोचाइलाई व्यक्त गरिने माध्यम नै साहित्य हो । र, मान्छेको जिन्दगी आफैंमा एक कथावाचक हो ।

मान्छेलाई संगठित गर्ने सबैभन्दा सशक्त औजार के हो ? त्यो औजार हो– कुनै न कुनै किसिमको न्यारेसन । कुनै न कुनै किसिमको कथा । धर्म पनि एक कथा हो । पोलिटिक्सका आइडोलोजी पनि कथै हुन् । र, अन्यहरूको विचारका छातामुनि मान्छे संगठित हुन्छ, त्यहाँ एउटा न्यारेसन हुन्छ । उसको न्यारेसन, कथा र हामीले निर्माण गरेका साहित्यले नै समग्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । हामी शतप्रतिशत शिक्षित हुनैपर्छ भन्ने छैन । तर, जानी/नजानी हामी कुनै न कुनै किसिमको न्यारेसन, विचार वा आइडोलोजीको छातामुनि छौं ।

धर्म एउटा कथा हो । धर्ममा साहित्य छ । कथाबिना धर्मले कुनै भयंकर माने राख्दैन । त्यसैले मान्छेहरूलाई संगठित गर्न हामीले निर्माण गरेको न्यारेसनले असाध्यै ठूलो भूमिका निर्वाह गर्छ । मान्छेहरू अन्य मान्छेले सुनाएका कथा, न्यारेसन ग्रहण गर्न रुचाउँछ । जब हामी साना हुन्छौं, हाम्रो मस्तिष्क रित्तो हुन्छ । त्यसैले बालबालिकालाई कथाहरू जरुरी हुन्छन् । कथाहरूको यात्रा गर्दै उसले आफ्नो न्यारेसन बनाइरहेको हुन्छ ।

नानीबाबुहरूले आफ्नो स्वादको, आफ्नो परिवेशको सामग्री रुचाउँछन् । उनीहरूका केही प्रिय कथा हुन्छन्, केही प्रिय कार्टुन हुन्छन् । त्यसैले उसको विचार सामग्री त्यही हुन्छ । आफ्नो बुझाइको क्षितिज नखुलिसकेको त्यो मान्छेले आफ्नै वरिपरिको चीज, बुझाइ मिल्ने, परिवेश मिल्ने अचम्मको संस्कृति निर्माण गरिरहेको हुन्छ । उसले त्यहीअनुसारको न्यारेसन खोजेको हुन्छ । तर, जब क्रमबद्ध रूपमा मान्छे शिक्षा हासिल गर्दै जान्छ, ऊ अझ ब्रोड–माइन्ड चरणमा प्रवेश गर्छ । तर, त्यो चरण के हो ? मान्छेलाई प्रिय हुन्छ– आफ्नै स्पेस । ऊ आफ्नै कम्फर्ट–जोनमै रमाउँछ । आफ्नै बुझाइभन्दा अर्कै कल्चर भएको, अर्कै अनुभव बटुलेको व्यक्तिको बुझाइ जान्न ऊ उत्सुक रहन्छ । त्यही उत्सुकताले ऊ समाज पढ्छ, समाज बुझ्छ, किताब पढ्छ, अडियो–भिजुअलमा प्रवेश गर्छ । त्यो किताब नै हो, त्यो समाज नै हो, जसले मान्छेको बुझाइको क्षितिज फराकिलो बनाउन मद्दत गर्छ ।

नानीबाबुपछि अब युवाका कुरा गरौं । हामी युवालाई ‘भविष्यको कर्णधार’ मात्रै देख्छौं । तर, वर्तमानमा पनि युवाको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने बिर्सन्छौं । वर्तमानको भाइब्रेन्ट–फोर्स हो युवा । एक हिसाबले युवा इन्जिन हो, जसलाई सञ्चालन गर्न ड्राइभरको आवश्यकता पर्छ । तर, इन्जिनले काम गरेन, ऊर्जा भएन भने कुशल ड्राइभर पनि निस्क्रिय हुन थाल्छ । युवाले आ–आफ्नो जिम्मेवारी गहन ढंगले वहन गर्नुपर्छ किनभने सबैको भविष्य हुनेछ र वर्तमान पनि छ ।

साहित्यले मान्छेलाई व्यापक संसारमा प्रवेश गराउँछ, सारा संसार बुझाउँछ । यसले मान्छेलाई अनुभव, ज्ञान र भिन्न परिवेशभित्र हुलिदिन्छ । र, जीवनका कठिन यात्रा गर्न सहज बनाउँछ । विभिन्न परिवेश, फरक मान्छेको बुझाइ, अर्को मान्छेको न्यारेसनले एक मान्छेलाई ज्ञानको नौलो उपत्यकामा लैजान्छ । जस्तो म सिनेमामा काम गर्छु र, मेरो सिनेमा हेर्न धेरै दर्शक हलसम्म पुग्नुहुन्छ । तर, म यो भ्रममा पर्नुहुन्न कि दर्शकहरू खालि मलाई मात्रै हेर्न आउनुहुन्छ । दर्शकहरू मेरो सिनेमा किन हेर्नुहुन्छ भने उहाँहरू मबाट आफूलाई ‘रिलेट’ गर्ने कन्टेन्ट मेरो अभिनय, हाउभाउबाट पाउनुहुन्छ । तर, थाहा छैन उहाँहरूले चाहेको कन्टेन्ट पाउनुहुन्छ कि नाइँ ? जस्तो मैले सुनेको छु, क्रन्ची जिन्स र लुगामा उभिएपछि मान्छेहरू आफूलाई राजेश हमाल सम्झन्छन् ! मान्छेले त्यसैगरी सोच्नुको कारण के हो ? सिनेमाको राजेश हमालसँग उसले एउटा सम्बन्ध कायम गरेको हो । यदि दर्शकले सिनेमाको अभिनेतासँग आफूलाई रिलेट गर्न सकेनन् भने अभिनेताले जति नै मरिहत्ते गरे पनि उसले आफ्नो कला विस्तार गर्न सक्दैन । नेतालाई मान्छेले तब सुन्छन्, जब उसले हाम्रा भविष्यका कुरा गर्छ, हाम्रा समृद्धिका कुरा गर्छ, हाम्रा तमाम समस्या समाधानका कुरा गर्छ । त्यसबेलासम्म नेताको हाईहाई हुन्छ । तर, जब नेताले जनतासँग आफूलाई ‘रिलेट’ गर्न सक्दैन, त्यसपछि उसको आकर्षण शून्यमा झर्छ । त्यसकारण अभिनेताले, नेताले, किताबका लेखकले पाठकसँग जब आफूलाई गाँस्न सक्छन्, तब मात्रै उनीहरूको विशेष पहिचान बन्छ ।

अरूका विचारबाट, अनुभवबाट नै हामीले संसार चिन्छौं । म फिल्ममा लागेकै त्यसैले हो । फिल्मको सबैभन्दा सुन्दर पक्ष भनेकै त्यहाँ मान्छेले

आफ्ना भावना खुलेर प्रकट गर्न सक्छ । हामीमा विभिन्न इमोसन्स हुन्छन्, तर विडम्बना के हुन्छ भने हामीमा भएका विभिन्न इमोसन्सलाई खुलेर अभिव्यक्त गर्न सक्दैनौं । त्यहाँ मर्यादाका काँडा तेर्स्याइएको हुन्छ । अनुशासन भन्ने विषय छ समाजमा, जसले हामीमा आफ्ना कुरा अभिव्यक्त गर्न डर पैदा गरिदिन्छ । अर्कोले के भन्ला ? यस्तो परिवेशमा मैले के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? यस्तै भावनाले हामीलाई खुम्च्याइदिन्छ । र, हामी आफ्नो खुबीलाई दबाएर राख्छौं । ऊ मस्तसँग रिसाउन पाउँदैन, मस्तसँग हाँस्न पाउँदैन, कसैलाई माया प्रकट गर्न खोजेका बेला माया गर्न सक्दैन । मान्छेको जीवन वास्तवमा संकोच र तनावहरूबीचको एउटा यात्रा रहेछ ।

तर, कलाकार विभिन्न चरित्रहरूमा बाँचेको हुन्छ । स्क्रिप्ट, डाइरेक्टर र क्यारेक्टरको डिमान्डमा ऊ मस्तसँग रिसाउँछ, मस्त हाँस्छ, कसैलाई माया प्रकट गर्न सक्छ । जस्तो कि जब भरपूर रिस प्रकट गर्नु छ, म भिलेनसँग भनिरहेको हुन्छु– ‘साथीहरूका लागि यो हात सलाम हो, दुस्मनहरूका लागि यो हात फलाम हो ।’ यो एक अभिनेताको रिसको प्रकटीकण हो ।

कलाकार सिनेमामा भिलेनअघि दिल खोलेर रिसाउँछ, उसको कठालो समात्छ, तर वास्तविक समाजमा त त्यसो गर्न सक्दैन । समाजमा विभिन्न दायरा, घेराहरूभित्र ऊ बाँच्नुपर्छ । मैले सिनेमामा क्यारेक्टरको डिमान्डअनुसार, कफी हाउसमा बसिरहेकी युवतीलाई निर्धक्कसँग ‘आई लभ यु’ भन्न सक्छु । तर, रियल लाइफमा त्यसो गर्न सक्दिनँ । अरूको रियाक्सन, अरूको बुझाइ कस्तो हुन्छ भन्ने अर्थमा हामी समाजले निर्धारण गरेका अनुशासनमा बाँधिन्छौं । त्यसैले सिनेमाको पफर्मिङ आर्ट्सले तपाईंलाई/मलाई एक किसिमको मुक्ति दिन्छ । एक कलाकारले एउटै जीवनकालमा दुईवटा जीवन बाँच्छ, रियलमा र रिलमा । उसले कहिलेकाहीँ वास्तविक जीवन जिइरहेका बेला र कहिलेकाहीँ सिनेमामा अभिनय गरिरहेका बेला आफ्नो भावना अभिव्यक्त गरिरहेको हुन्छ । त्यसैले एक कलाकारको वास्तविक जीवनको भोगाइ एउटा पुस्तकालयजस्तो हुन्छ, चाहे वियोगको भोगाइ होस् या खुसीको, रिसको होस् या संकोचको, डरको होस् या साहसको ! कलाकारले आफ्नो लाइब्रेरी बनाउँछ । पुस्तकालयको भीडबाट ज्ञान निकाल्छ र भावना, आवेग प्रकट गर्दै जान्छ, वास्तविक जीवनमा, काँचको जीवनमा !

हामी सिनेमा बनाउनेहरू दर्शकलाई ध्यान दिन्छौं– दर्शकलाई यो मन पर्ला, त्यो मन पर्ला भनेर कथा बुन्छौं । यस हिसाबले हाम्रो सुरुवातै झूटबाट हुन्छ । झूट पनि आफ्नै इम्याजिनेसनको ! भ्रमलाई पनि कति सशक्त रूपले पस्किन्छौं भने दर्शक सामुन्ने त्यो होजस्तै गरी, त्यो सत्य नै होजस्तो गरी ! झूटबाट सुरु भएको नाटक, सिनेमा, पुस्तकको न्यारेसनले मान्छेलाई मार्गनिर्देश गर्छ । र, समाजमा त्यो महत्त्वपूर्ण, सशक्त कृति बनेर बस्छ । त्यसैले एउटा मान्छेको रुचि अर्को मान्छेको अभिव्यक्ति हो ।

अब शब्दहरूको कुरा गरौं । शब्द कति शक्तिशाली हुन्छ भने कुनै एक शब्दले सम्पूर्ण समाजमा ठूलो भूमिका निर्वाह गर्छ । तपाईंहरू मलाई सुनिरहनुभएको छ । र, मैले भने– ‘तपाईं कति राम्री हुनुहुन्छ ।’ त्यसबेला तपाईंको अनुहारमा अनायास एउटा मुस्कान देखा पर्छ । तर, मैले तपाईंलाई भनें रे, ‘यार तपाईंको त अनुहार पनि मिलेको छैन, कपाल जिङरिङ्ङ छ, नाक–मुख मिलेको छैन !’ यसो भन्दा त्यही मान्छे निराश हुन्छ । गर्न त मैले केही पनि गरेको छैन । खालि केही शब्द प्रयोग मात्रै गरेको हुँ । यतिमै कत्ति फरक पर्छ जिन्दगीमा । हामी कहाँ, कस्तो किसिमले, कसरी शब्द ग्रहण गर्छौं वा प्रयोग गर्छौं भन्नेले जीवनमा ठूलो प्रभाव पारिरहेको हुन्छ । अरूले तपाईंलाई कस्तो शब्द प्रयोग गर्छन् भन्ने कुरा तपाईंले अरूलाई कस्तो शब्द प्रयोग गर्नुहुन्छ भन्नेले तय गर्छ । हामी असाध्यै जिम्मेवार हुनुपर्छ— कुन शब्द प्रयोग गर्दै छौं भन्नेमा । शब्दको शक्ति बुझेका दिन हामी जीवन बुझ्ने बाटोतिरको यात्रा गर्छौं ।

मनोवैज्ञानिक भन्छन्, ‘बिहान उठेर ऐना हेर र भन– आई एम ग्रेट, आई एम बोल्ड, नथिङ इज इम्पोसिबल ।’ भनिन्छ– म गर्न सक्छु भन्ने शब्दहरूले नै तपाईंलाई ऊर्जा दिन्छ । मस्तिष्कले तपाईंलाई तपाईंको ‘नथिङ इज इम्पोसिबल’ भन्ने बोधबाट निर्देश गर्छ । कसैले भनेका छन्– ‘आई क्यान डु इट’ को परिणाम सही हुन्छ । र, ‘आई कान्ट डु इट’ को परिणाम पनि सही हुन्छ ।’ वास्तवमा तपाईं जे सोच्नुहुन्छ, तपाईं जिन्दगीको परिणाम त्यही हुन्छ ।

त्यसैले म सोचिरहन्छु– मान्छेको सबैभन्दा ठूलो रुचिको विषय के हो ? आफैंलाई भन्छु– एउटा मान्छेको सबैभन्दा रुचिको विषय ‘अर्को मान्छे’ नै रहेछ ।

(ह्वाइटहाउस लिटरेचर फेस्टिभलमा अभिनेता हमालले राखेको प्रवचनको सम्पादित अंश)

प्रकाशित : चैत्र १९, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?