१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दान्कोले मुटु झिकेर बालेको लालटिन

कालजयी कृति कस्तो हुन्छ भनेर कसैले सोधे झट्ट गोर्कीकै कथा ‘बूढी इजरगिल’ सम्झन्छु ।
अभय श्रेष्ठ

अध्ययन–लेखनको उज्यालो आकाशबाट जब म चियाउँछु– मेरो विगत कक्षाकोठामा कुखुरा बनाइएको विद्यार्थीजस्तै टुक्रुक्क कान समाएर अँध्यारो कुनामा चुपचाप बसिरहेको भेटिन्छ । स्कुले जीवनमा म नेपाली र हिन्दीका सस्ता उपन्यास खुब पढ्थेँ । गुलशन नन्दा, मनोज, वेदप्रकाश, सरला रानु, युधीर थापा, सुवास, वसन्त, दीर्घबाहुका उपन्यासमा डुब्थेँ ।

दान्कोले मुटु झिकेर बालेको लालटिन

तिनले मलाई डुबाउँथे मात्रै, उतार्दैनथे । मेरो वरिपरि एक्लोपन, अभाव, निराशा, उदासी र अवसादको अभेद्य कुहिरो मडारिइरहेको हुन्थ्यो । त्यही कुहिरोबीच पनि धेरै उपन्यास पढ्ने र धेरै सिनेमा हेरेर साथी–सर्कलमा कीर्तिमान कायम गर्ने मेरो अनौठो सोख थियो । स्कुलबाट भागेर म भक्तपुरका गल्ली–गल्लीमा देखाइने भिडियोमा सस्ता हिन्दी, चिनियाँ कुङ्फु र अश्लील फिल्म हेर्थें । खार लाग्ने सुकुल भुइँमा अनि झ्याल, आँखीझ्याल र तख्तामा भोजे सुकुल वा काठको फल्याक ओच्छ्याइएका हुन्थे । हिन्दी र चिनियाँ कुङ्फु फिल्ममा किशोर–किशोरी, तरुनी–तन्नेरी जोडीका बगुन्द्र भीड लाग्थ्यो । प्रहरीले बेला–बेला छापा मार्दा धेरैपल्ट भक्तपुरका जोडिएका घरका छानै–छाना, कौसी–कौसी र गल्ली–गल्ली हुँदै भागेर म बचेको थिएँ । तीनपल्ट त पक्राउ नै परेँ । तीनैपल्ट मलाई दरबारमार्गस्थित जिल्ला प्रहरी कार्यालय भक्तपुरको द्वारसम्म सुकुल बोकेर जानुपर्ने सजाय दिइएको थियो ।

सस्तै भए पनि मेरा लागि अवसाद भुलाउने माध्यम थिए ती किताब । तिनले मलाई निरन्तर नयाँ किताब पढ्ने र खोज्ने लत लगाइदिए । त्यसै क्रममा बादल फाटेर उज्यालो घाम देखा परेझैँ मेरो हातमा आइपुगेको थियो, म्याक्सिम गोर्कीको आत्मकथात्मक उपन्यास ‘बालककाल’ । तत्कालीन सोभियत सङ्घबाट समाजवादी विचारको पखेटा फैलाउने अभियानका क्रममा मास्कोस्थित रादुगा प्रकाशनबाट आएको त्यो किताब कति प्रभावशाली थियो भने लगत्तै मैले त्यसका बाँकी दुई भाग ‘मान्छेहरूका माझमा’ र ‘मेरा विश्वविद्यालयहरू’ खोजेर पढेँ । अवसादउन्मुख उदासीबाट मेरो जीवनलाई आशाको उज्यालोतिर फर्काउने महत्त्वपूर्ण मोड थिए गोर्कीका ती किताब । त्यसपछि नै म भाग्यवादीबाट कर्मयोगी र ‘नो बडी’ बाट ‘समबडी’ बन्ने आत्मबलसाथ अघि बढ्न थालेको हुँ ।

...

यथार्थमा, गोर्कीका विपत्तिहरू मेराभन्दा चौखण्डै गहिरा थिए । उनी चार वर्षका हुँदा सिकर्मी पिता म्याक्सिम सेबातेभिचको मृत्यु भयो । उनको आत्मकथात्मक उपन्यासको पहिलो भाग ‘बालककाल’ यहीँबाट सुरु हुन्छ । त्यसपछि गोर्कीको पालन–पोषणको जिम्मा मावली हजुरआमा अकुलिना कासिरिनले लिइन्, जो दया र मानवताकी खानी थिइन् । हजुरआमाको ठीक विपरीत उनका पति भासिली भासिलिभिच कासिरिन अत्यन्त निर्दयी थिए । हजुरआमाको प्रेम, उनले सुनाउने दन्त्यकथा, परी कथा र कविताले गोर्कीको अवसादग्रस्त जीवनलाई सञ्जीवनी बुटी दिए । तिनैले उनलाई सङ्कटकालीन स्थितिसित जुध्न प्रेरणा दिए । यता, निर्दयी हजुरबा भने बेतको छडीले गोर्की र अरू बालबालिकालाई मूर्च्छा परुन्जेल पिट्थे । गोर्की सात वर्षका हुँदा आमा भार्भाराले नापी अध्ययन संस्थानका विद्यार्थी येभ्गेनी भासिलेभिच म्याक्सिमोभसित दोस्रो बिहे गरिन् । सौतेलो पिता अत्यन्त क्रूर थिए । भुइँमा पछारेर गर्भवती भार्भारालाई उनी छातीमा निर्दयतापूर्वक बुट बजार्थे । पछि आलो सुत्केरी पत्नीलाई छाडेर उनी गायब भए ।

हजुरबाको व्यवसाय डुबेपछि करुणामयी हजुरआमालाई सघाउन गोर्कीले छुट्टीमा दिनैभरि र स्कुल छुटेर प्रत्येक दिन हाडका टुक्रा, थोत्रा कपडा, फलामका कबाडी बटुलेर कमाइ गर्न थाले । यसैकारण स्कुले साथीहरू उनलाई झुत्रे, मगन्ते र डाँकु भनेर हैरान पार्थे । कतिपय त ‘शरीर डुङ्डुङ्ती गनाउने यस छाउरासँग हामी बस्दैनौँ’ भनेर शिक्षकलाई उजुरी गर्थे । गोर्की दस वर्षका हुँदा आमा पनि सुकेनासले बितिन् । लगत्तै हजुरबाले उनलाई घर निकाला गरे ।

...

‘सहरको मुख्य सडकको ‘बान्किलो जुत्ता पसल’ मा नोकरी गर्न आइपुगेको छु,’ आत्मकथाको दोस्रो भाग ‘मान्छेहरूको माझमा’ प्रारम्भमै गोर्कीले लेखेका छन् । त्यसपछि चित्रकार भास्या सर्गेयेभको घरमा काम गरे । भास्या गोर्कीलाई चित्रकारिता सिकाउन चाहन्थे । तर, परिवारका अन्य सदस्य अत्यन्त दुष्ट थिए । भास्याकी आमा गोर्कीले चित्र बनाउन लागेको कागजमा तेल र जाँड घोप्ट्याइदिन्थिन् अनि कागज च्यातचुत पारेर टेबुलका सबै सामान हुत्याइदिन्थिन् ।

अलि पछि उनले डोबी भन्ने जहाजमा भाँडा माझ्ने काम गरे । जहाजका मुख्य भान्छे स्मुरी गोर्कीका हाकिम थिए, जसको स्टिलको बाकसमा सानो पुस्तकालय थियो । स्मुरी गोर्कीलाई पढ्न प्रेरणा दिँदै भन्थे, ‘सधैँ मिहिनेत गरेर गतिला किताब पढ । बुझिएन भने सात पटक पढ । फेरि पनि नबुझिए बाह्र पटक पढ ।’ पछि हजुरबाले उनलाई चित्रकार सर्गेयेभको घरमा नोकर राखे । घरका मान्छे बाहिर गएको मौकामा उनी पल्लो घरकी दमिनी दिदीले दिएको किताब पढ्थे । घन्टी बज्नेबित्तिकै किताबलाई चुलोको मुखमा लुकाएर अन्य काम गर्थे । सबै सुतेपछि उनी फेरि पढ्थे । पढ्दापढ्दै किताब हातैमा लिएर निदाउँथे । भोलिपल्ट घरकी बुढीमाउ त्यही किताबले उनको टाउकामा हिर्काउँथिन् । गोर्की १३ वर्षका हुँदा काला आँखा भएकी सुन्दरी विधवा आफ्नी सानी छोरी र आमालाई लिएर त्यस घरको छिँडीमा बस्न थालिन् । तिनले गोर्कीलाई उपहार दिएको तुर्गनेभ, तोल्सतोय, गोगोल र दोस्तोएब्स्कीका किताबलाई उनले पानी बनाए । त्यही घरमा बस्ने निकोलाई एभ्रेइनोभले कजानमा आफ्नी आमाकहाँ जान र विश्वविद्यालयको पूर्वतयारी गर्न सुझाए ।

...

‘अँ म काजान जाँदै छु, विश्वविद्यालय पढ्न भनेर,’ आत्मकथाको तेस्रो भाग ‘मेरा विश्वविद्यालयहरू’ को पहिलो वाक्य गोर्कीले यही लेखेका छन् । तर, निकोलाईले भनेजस्तो जिन्दगी र औपचारिक विश्वविद्यालयको सपना सरल थिएन । साँच्चैको विश्वविद्यालय पढ्ने गोर्कीको चाहना मृगतृष्णा मात्र भयो । तर, उनका हरेक भोगाइ आफैँमा विश्वविद्यालय थिए । यता, माग्दै हिँड्दा एउटा गिर्जाघरअगाडि लडेर उनकी मायालु हजुरआमाको एउटा खुट्टा भाँचियो । एक हप्तापछि त्यो खुट्टा पाकेर फतक्क कुहियो र उनको अत्यन्त दुःखद निधन भयो । कतै राम्ररी खुट्टा

अड्याउने ठाउँ नपाउँदा गोर्कीले १९ वर्षको रहरलाग्दो उमेरमा सन् १८८७ डिसेम्बर १२ का दिन चारवटा गोली भरिएको पेस्तोल किने र आफ्नै छातीमा ठोके । गोलीले उनको फोक्सो छेडियो । तर, अपरेसनपछि उनलाई निको भयो । जस्तै, प्रतिकूल परिस्थितिमा पनि उनले लेखपढ गर्ने अवसरको चाहिँ यथाशक्य सदुपयोग गरे । अथक सङ्घर्ष र लेखपढ गर्ने आकाङ्क्षा अनि भ्लादिमिर कोरोलेङ्कोजस्ता लेखकको निःस्वार्थ सहयोगले नै अन्ततः उनी विश्वविख्यात लेखक भए ।

...

मानिसहरूको क्रूरता, सङ्घर्ष र जिजीविषा अनि मजदुर वर्गप्रति सहानुभूति र न्यायपूर्ण समाजप्रतिको आशावादिता उनको लेखनका मुख्य स्रोत हुन् । पहिलो कथा ‘मकारचुद्रा’ छापिनेबित्तिकै उनी सबैको नजरमा परे । पाँचपल्ट नोबेल पुरस्कारका लागि मनोनीत भए । पाँचैपल्ट पन्छाइए । तर, नोबेल पुरस्कार पाउने लेखकहरूको भन्दा उनका प्रतिष्ठा, उचाइ र लोकप्रियता धेरै माथि पुग्यो । सन् १९०७ मा प्रकाशित ‘आमा’ उनको सबैभन्दा प्रसिद्ध उपन्यास हो । सन् १९०५ को असफल क्रान्तिको पृष्ठभूमिमा क्रान्तिकारी छोरो पाभेल भ्लासोभ र उसका साथीहरूलाई मातृवत प्रेम गर्दागर्दै आमा पेलागेया निलोभ्ना आफैं क्रान्तिकारी हुँदै जान्छिन् । आमाको चरित्रको स्वाभाविक विकासले नै यस कृतिलाई विश्वसनीय र विश्वविख्यात बनाएको हो । यसमा क्रान्तिकारी युवा प्योत्र पेत्रोभिचलाई पाभेल र आन्ना किरिलोभ्ना जालोमोभालाई आमाका रूपमा गोर्कीले जीवन्त उभ्याएका छन् ।

महान् रुसी लेखकद्वय आन्तोन चेखब र लियो तोल्सतोयका दृष्टिमा पनि उनी महान् लेखक थिए । सन् १९०२ फेब्रुअरी २६ मा गोर्कीलाई रुसी विज्ञान प्रतिष्ठानको सदस्यमा मनोनीत गरियो । जार सत्ताविरुद्ध क्रान्तिमा सामेल भएका र बारम्बार पक्राउ परिसकेका गोर्कीप्रति प्रतिष्ठानको सदाशय सत्तासीनहरूलाई पचेन । अन्ततः निकोलास जारको ठाडो आदेशमा उनको मनोनयन खारेज गरियो । यसप्रति विरोध जनाउँदै प्रतिष्ठानका तत्कालीन सदस्य आन्तोन चेखब र भ्लादिमिर कोरोलेङ्कोले आफ्नो पदबाट राजीनामा गरे । सन् १९३६ जुन १८ मा निधन हुँदा महान् लेखकका रूपमा मात्र नभई मानवताका पुजारी, नयाँ लेखकका अभिभावक र महान् चिन्तकका रूपमा पनि विश्वभरि उनको सम्मान फैलिसकेको थियो ।

...

गोर्की महान् लेखक मात्र नभई उत्तिकै क्रान्तिकारी पनि थिए । अक्टोबर क्रान्तिमा उनी सक्रिय सहभागी थिए । लेनिनसँग उनको आत्मीय सम्बन्ध थियो । गोर्कीका जीवनी लेखक जर्मन पत्रकार गेरार्ड

ह्याभरम्यानका अनुसार, क्रान्तिपछिको तनावमय दिनमा मानिसहरू मारिँदा उनी लेनिनलाई सचेत गराउँदै चिठी लेख्थे । चिठीको सुनुवाइ नभए उनी निझ्नी नोभ्गोरोदबाट दुई दिनसम्म रेल चढेर मास्को आइपुग्थे र मानवताको क्षय भएकामा लेनिनसँग चर्को गुनासो गर्थे । लेनिन बेस्सरी बम्किन्थे, ‘तपाईं के चाहनुहुन्छ ? यो अनियन्त्रित होहल्लायुक्त समयमा मानवतावाद कसरी सम्भव छ ?’ जति रिसाए पनि गोर्कीका अनुरोधहरूलाई लेनिनले कहिल्यै लत्याएनन् । गोर्कीले आफ्ना आग्रहपूर्ण निवेदनहरूमार्फत धेरैको ज्यान जोगाए ।

...

गोर्कीको सबैभन्दा प्रसिद्धमध्ये एउटा कथा हो– ‘बूढी इजरगिल’ । खगेन्द्र संग्रौलाले अनुवाद गरेको यस कथामा इजरगिल बूढी आफ्नो सम्झौताहीन जीवन्त भोगाइका अनेक आयाम सुनाउँछे । कथाको अन्त्यमा उसले सुनाउने दन्त्यकथाजस्तो लाग्ने उपकथाको अमर पात्र छ– दान्को । शत्रुद्वारा लेखेटिएका गाउँलेहरू घनघोर जङ्गलमा पुगेपछि फर्केर शत्रुसँग आत्मसमर्पण गर्ने मुडमा पुग्छन् । तिनलाई साहस र प्रेरणा दिन दान्को नामक युवक अघि सर्छ । यात्राका क्रममा अन्धकारले केही नदेखिने हुन्छ । ठूलो आँधी चल्छ । रुखमाथि चट्याङ पर्न थाल्छ । यस विपत्तिको दोष उनीहरू दान्कोकै शिरमाथि थोपर्छन् र उसलाई घेरा हालेर मार्न खोज्छन् । बैगुनी गाउँलेलाई उद्धार गर्न प्रतिबद्ध दान्को अब आफ्नै छाती फोड्छ र मुटु बाहिर निकालेर उचाल्दै अगाडि बढ्छ । उसको मुटु मेन्टुलजस्तै धपक्क बल्छ । यही उज्यालो पछ्याउँदै गाउँलेहरू छिट्टै जङ्गल पार गर्छन् र टन्टलापुर घाम लागेको अनि वर्षा रोकिएर सफा भएको हरियाली खेतमा पुग्छन् । दान्कोलाई सबैले बिर्सन्छन्, जो छाती फुटी रक्ताम्मे भएर मरिसकेको हुन्छ । उसको मुटु अझै भुइँमा चम्किरहेको हुन्छ । एउटा मूर्ख गाउँलेले त्यसलाई किचीमिची पारेर निभाइदिन्छ ।

कालजयी कृति कस्तो हुन्छ भनेर कसैले सोधे झट्ट यही कथा सम्झन्छु । मानव सभ्यतालाई नै एउटा उचाइ दिने र अनुपम सन्देश फैलाउने यो कथा पढ्दा ‘बैगुनी दुनियाँलाई गुनले मार्छु’ भन्ने प्रेरणा जागिरहन्छ ।

प्रकाशित : चैत्र १९, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?