टोनी हागनको आँखाबाट नेपाल

यो किताब अध्ययन–यात्रा मात्रै नभई इतिहासका ठेलीहरुमा छुटेका/छुटाइएका प्रसंगहरुको त्यस्तो सूचीपत्र हो, जसलाई एउटा सुन्दर आँखीझ्याल मानेर नेपाली समाजको ऐतिहासिक अध्ययन गर्न सकिन्छ ।
टोनी हागनका तस्बिर र भिडियो हेरेपछि राजा महेन्द्रले भनेछन्– अब मैले मेरो मुलुक हेर्नुपर्छ  ।
गुरुङ सुशान्त

भूगर्भविद् टोनी हागनले गरेको नेपाल–अध्ययनबारे नेपाली विद्वत्वर्ग धेरथोर जानकारै छ । सन् १९५० मा स्वीस सरकारको प्राविधिक टोलीमा रहेर ६ महिनाका लागि प्रथम पटक यस भूमिमा छिरेका हागनले कालान्तरमा नेपाललाई आफ्नो दोस्रो घरका रूपमा आत्मसात गर्दै काम गरिरहे । नेपाल–अध्ययनमा लागिपरेर यथेष्ट योगदान गर्ने थोरै विदेशी खोजकर्ताको अग्रलहरमा टोनी हागन परे पनि संवैधानिक राजतन्त्रको पक्षपातीको बिल्ला लगाइदिएर उनको गहिरो विद्वताको चर्चासमेत नगर्ने आत्मघाती भूल गर्नेहरूको कमी छैन । नेपालीभाषी पाठकबीच चर्चित हागन ‘नेपालमा मेरो खोजयात्रा’ पछि फेरि एकपटक नवीकरण भएका छन् । ‘बिल्डिङ ब्रिजेज टु थर्ड वर्ल्ड : मेमोरिज अफ नेपाल’ प्रकाशित हुँदा नै हागनले चाँडै नेपाली अनुवाद आउने आशा व्यक्त गरे पनि २८ वर्षपछि मात्रै यो पुस्तक नेपाली पाठकको हात परेको छ, जसमा क्वाँटी स्वादको तिख्खरपन छ ।

टोनी हागनको आँखाबाट नेपाल

राणाकालमा शासकहरूले आफ्नो स्वार्थअनुरूप मात्रै नेपालमा विदेशीहरूलाई प्रवेश दिने/नदिने निर्णय गर्थे । सन् १९५० सम्म एक सयजति विदेशीले मात्रै नेपालमा पाइला टेक्ने अनुमति पाए पनि उनीहरू काठमाडौँ उपत्यकाभित्र मात्रै रहन पाउँथे । यस्तो निषिद्ध भूमिमा हागनले आफ्नो कामकै कारण निर्धक्क यात्रा गर्न पाए । उनले करिब १२ सय ठाउँमा क्याम्प गाडेर आफ्नो टोलीसँग करिब १४ हजार किलोमिटरभन्दा बढी यात्रा गर्दा स्थानीय जनतालाई निकै नजिकबाट बुझ्न पाए ।

सुरुआती अध्यायहरूको वर्णनमा हिजोको नेपालको निकै मोहक र सजीव चित्रण छ । हागन नेपाल प्रवेश गरेपछि यात्रा जब कुलेखानीबाट उपत्यकातिर बढ्छ, तब पुस्तकले पाठकलाई बाँधेर सँगसँगै हिँडाउने सामर्थ्य बढाउँदै लैजान्छ । भीमफेदीबाट एउटा कारलाई ४० जना भरियाले बाँस र काठका घारामा बाँधेर दुई/तीन हप्ता लगाएर काठमाडौँ ल्याउने जुन वर्णन छ, हाम्रो पुस्तालाई किंवदन्तीजस्तो लाग्न सक्छ । साथै खुलदुली लाग्न सक्छ– बिनाकुनै राष्ट्रिय संकट राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी हुने मध्यकालीन चरित्र बोकेको सहरमा त्यसरी भरियाहरूको काँध चढेर ल्याएको कार चढ्ने शासकको मनोविज्ञान कस्तो हुँदो हो ? त्यसको अर्थराजनीति के थियो होला ?

चट्टान र हिमालप्रति सानैदेखि औधी लगाव भएका हागनले किशोरावस्थादेखि नै नेपाल भ्रमण गर्ने उत्कट अभिलाषा पालेको कुरालाई निकै आकर्षक शैलीमा अभिव्यक्त गरेका छन्् । यो पुस्तक अध्ययन–यात्रा मात्रै नभई इतिहासका ठेलीहरूमा छुटेका/छुटाइएका प्रसंगहरूको त्यस्तो सूचीपत्र हो, जसलाई एउटा सुन्दर आँखीझ्याल मानेर नेपाली समाजको ऐतिहासिक अध्ययन गर्न सकिन्छ । यसमा वन्यजन्तु सिकार, नुन व्यापार, गलैँचा उद्योग र कला व्यापारबारेका मसिना, तर महत्त्वपूर्ण सन्दर्भ समेटिएका छन् । यात्रा, डायरी र आख्यानको स्वाद मिसिएको यो किताब पढ्दा थाहा लाग्छ, हागन आफ्ना दृष्टिकोणमाथि निष्कर्ष दिँदा भुइँ तहका मानिसहरूसँगको संगतलाई मुख्य आधार मान्छन् । नेपालजस्तो देशमा विकास गर्न अरू देशका नमुना पछ्याउनुभन्दा यहीँकै जनताको आवश्यकता, क्षमता र भावना बुझ्नु उचित हुने हागनको अनुभव र अध्ययन दुवैले बताउँछन् ।

स–सानाजस्ता लाग्ने, तर महत्त्वपूर्ण विषय उठान गर्ने विशेषता यस पुस्तकको सबैभन्दा विशिष्ट पाटो हो । हागनले शिवपुरी लेकको पानीमा रहेको जब्बर माइकाको अति सूक्ष्म कणलाई कुनै पनि फिल्टरले पूरै हटाउन नसक्ने हुनाले उपत्यकावासीमा पेट र आन्द्राको समस्या हुने दाबी गरेका छन् । उनले काठमाडौँको पानीको समस्या समाधानार्थ हेलम्बु र गोसाइँकुण्डको पानी ल्याउनुपर्ने सुझाउ दिएका छन् । तर, काकाकुल काठमाडौँले वर्षौंदेखि मेलम्ची पर्खिरहेछ ।

नेपालका तत्कालीन उच्चपदस्थहरूले हागनबाट सुनखानी पत्ता लाग्ने अपेक्षा राखे पनि उनी भने दीर्घकालीन नीति तथा विकास योजना–निर्माणका प्राज्ञिक अनुसन्धान गर्न लागिपरेका थिए । तिब्बती शरणार्थीहरूको नेपाल प्रवेश र पुनर्वासमा आफूले गरेका सहयोगका साथै उठाएका चुनौती र योजनाहरूलाई कहीँ कतै मपाईंत्व प्रदर्शन नगरी पेस गरेका छन् हागनले । आज पनि चीनको चासोकै विषय हो, तिब्बती शरणार्थी । यस विषयमाथि अनेक सिनेमा र पुस्तक प्रकाशमा आएका छन् । तिब्बती शरणार्थीहरूलाई पुनः स्थापित गर्न हागनले दुई सिद्धान्त अपनाए ः एक– हरेक तन्दुरुस्त शरणार्थीले काम गर्नै पर्ने, दुई– काम गरेबापत उनीहरूलाई ज्याला दिने । उनको योजना शरणार्थीहरूलाई कपडा र गलैंचा बुन्न लगाउनेमै थियो । यसबाहेक उनको अर्को सरोकार तिब्बतीहरूको परम्परागत संस्कृतिको जगेर्ना थियो । शरणार्थीहरूको भविष्यप्रति हागन यति धेरै चिन्तित थिए कि यस विषयमा उच्चस्तरीय समाधान खोज्न उनी धर्मशालामा गएर दलाई लामासँग भेटेर परामर्शसमेत गरे । कुनै बेला सोभियत राजदूतले ‘पछौटे’ तिब्बती शरणार्थीहरूको ‘चक्कर’ मा परेकोमा कडा प्रश्न गरेपछि हागनले प्रतिप्रश्न गरिदिएछन्– ‘महत्त्वको कुरा के हो, ढुंगा कि मानिस ?’ आखिरमा तिब्बती शरणार्थीको प्रश्न राजनीतिक मात्रै नभएर मानवताको पाटो पनि थियो । शरणार्थीप्रतिको लगावपूर्ण सक्रियताका कारण उनलाई चीन विरोधीको आरोपसमेत लाग्यो । चीनविरुद्ध लड्न तिब्बतीहरूलाई हतियार उपलब्ध गराएको, लडाकाहरूलाई संगठित गर्न सघाएको र चीनको जासुसी गरेको आरोपमा हागनलाई देश निकाला गरिएको झुठो समाचारसमेत एक पत्रिकाले छापेको थियो ।

पेकिङमा दिएको भाषणका आधारमा महेन्द्र शाहलाई आँटिला राजाको रूपमा चित्रण गरेका छन् हागनले । अरू जातिलाई हराएको मात्रै होइन, आफू पनि हारेको इतिहास चीनसँग भएकाले छिमेकीउपर अतिक्रमण र राजनीतिक सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामा हस्तक्षेप गर्ने बाटो लिनुको साटो विगतको गल्ती नदोहोर्‍याउने बाटो चीनले समात्नेछ भनेर राजा महेन्द्रले बोलेको कुरा निकै महत्त्वका साथ हागनले उद्धृत गरेका छन् । सीमाबारे नेपाल–चीन सम्बन्धमा देखिएको केही उतारचढावलाई चर्चा गर्दै उनले तत्कालीन चिनियाँ परराष्ट्रमन्त्रीको निकै कडा अभिव्यक्ति साभार गरेका छन्– ‘कुनै विदेशी सेनाले नेपालमाथि आक्रमण गर्ने मूर्खता गरेमा चीन नेपाली जनताको साथमा उभिनेछ ।’

उता राजनीतिक घटनाक्रममा निर्णायक प्रभाव जमाउँदै काठमाडौँस्थित राजदरबारमा बसेका दुई भारतीय सल्लाहकार, नेपाली सेनालाई शिक्षा/तालिम दिन तथा सेनाको पुनर्गठन गर्न खडा गरिएको भारतीय सैनिक नियोग, नेपाल–तिब्बत सिमानाका सबै नाकामा खटिएका भारतीय सैनिकको शंकास्पद भूमिकालाई हागनले आलोचनात्मक रूपले हेरेका छन् ।

अन्तिम राणा शासक मोहनशमशेरलाई देश विकासमा केही गर्नुपर्ने सुझाव दिने गोर्खा सैनिकबारे हागन भन्छन्, ‘दोस्रो विश्वयुद्धमा बेलायतका लागि लडेका दुई लाख गोर्खा सैनिकहरूलाई अवकाश दिइएबाट पनि नेपालमा अशान्ति बढ्न बल पुगेको थियो ।’ गोर्खा सैनिकमाथि हागनको टिप्पणीले इतिहासको एउटा पाटो उजागर गर्छ नै । गोर्खा भर्तीको इतिहास, जनजातीय पहिचान/प्रतिनिधित्व र लाहुरे संस्कृतिसँग जोडिएको अर्थराजनीतिमाथिको विमर्श–पाटो त जीवितै छ ।

पछिल्लो समय समृद्धिको नाममा भ्यु टावर बनाउनेदेखि अक्षत जंगल र खर्कहरूमा डोजर कुदाउने लहरमाथि संरक्षणकर्मी र रैथाने चिन्तकहरूले आलोचना गरिरहेकै छन् । हागनले करिब तीन दशकअघि नै नेपालको पदयात्रा पर्यटनको सम्भावनाबारे भनेका रहेछन्, ‘स्थानीय बासिन्दाको पूर्ण सहभागितालाई सुनिश्चित गरेर पदयात्रा पर्यटनको सकारात्मक प्रभावलाई अझ अघि बढाउन सकिन्छ ।’ जातअनुसार कामको जिम्मेवारी दिने नेपालको जब्बर जात–व्यवस्थालाई एकाध ठाउँ उल्लेख गरेर तर्किने हागन महिला सहभागिता र विकासबारे भने प्रस्ट छन्, ‘नयाँ खाले विज्ञले के कुरा बुझेको हुनुपर्छ भने जबसम्म महिलाहरू विकास प्रक्रियामा पूर्णतः सहभागी हुँदैनन् र त्यसैअनुरूप उनीहरूलाई अघि बढाइँदैन, तबसम्म विकासशील देशहरूले धेरै प्रगति गर्न सक्तैनन् ।’

हागनले आफ्ना यात्रामा खिचेका तस्बिर र भिडियो तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई देखाएका थिए । उनले खतरनाक साँघुहरू, रौँ ठाडा हुने अक्करको बाटो, भत्किन लागेका झोलुङ्गे पुलहरू, बिरामी मानिसहरू, जंगल फँडानी, डढेलो, भूक्षय आदिका दृश्यसहित स्लाइडहरूको प्रदर्शनी राजदरबारमा गरेपछि राजा महेन्द्रले भनेछन्, ‘अब मैले मेरो मुलुक हेर्नुपर्छ ।’ यस प्रसंगले बताउँछ कि शासकहरू जनताको दैनन्दिनका खास समस्याबाट कति बेखबर हुन्छन् । आज पनि जिम्मेवार व्यक्तिहरूले हेलिकप्टरबाट पर्यटकीय शैलीमा प्राकृतिक प्रकोप निरीक्षण गरेका खबरहरू छापामा आउँछन् । शासक र जनताबीचको भयंकर दूरी नै अविकासको कारक रहेको निचोड निकाल्न यस्ता प्रसंगले सघाउँछन् ।

नेपालले विविधतायुक्त आफ्नो अद्वितीय बहुसांस्कृतिक चरित्रलाई समान अधिकारका आधारमा जोगाउनु जरुरी रहेको ठहर गर्ने हागनको निष्कर्ष थियो, ‘शासनसत्तामा बसेका सामाजिक समूहले अल्पसंख्यक जातीय तथा सांस्कृतिक समूहहरूलाई दबाउन खोजेमा त्यसको परिणाम मुलुकका लागि दुर्भाग्यपूर्ण हुनेछ ।’

सुरुमै राजकीय शैलीको स्वागत पाएका हागनका लागि सरकारी सचिवहरूले साइकल चढ्ने त्यस जमानामा पनि कारको प्रबन्ध गरिएको थियो । महत्त्वपूर्ण कामहरूको मूल्यांकन गरेरै हुनुपर्छ, विदेशीहरूलाई प्रदान गरिने सबैभन्दा विशिष्ट विभूषण ‘वीरेन्द्र प्रज्ञालङ्कार’ राजा वीरेन्द्रले उनलाई प्रदान गरेका थिए । पुरस्कार र विभूषणको आफ्नै राजनीति र स्वार्थ हुँदो हो । तर, प्राप्त पुरस्कारले हागनलाई नेपालमै रहेर काम गरिरहन थप हौसला मिलेको देखिन्छ ।

विभूषण समारोह (सन् १९८४, जून ५) मा उनले दिएको भाषण निकै विशेष मानिन्छ । नेपालमा यातायात र सञ्चारका पूर्वाधार बनेको, शिक्षामा सहभागिता बढेको र पहिले अस्तित्वमै नभएको स्वास्थ्य सेवा स्थापित भएकोमा उनले खुसी व्यक्त गरेका थिए । तर, नेपालमा ‘विकास’ ले पहाडका किसानहरूलाई बिस्तारै गरिबीतिर अग्रसर गराउनु, बसाइँ सराइतिर धकेल्नु, उत्पादनमा ह्रास आएकै कारण अन्न उत्पादन न्यून हुने मुलुक बन्दै जानु, देशको पर्यावरणीय अधोगति लाग्नु, वन विनाश, भूस्खलन तथा भूक्षयीकरण बढ्दै जानु र नेपालमा ग्रामीण ऊर्जाको संकट हुनुलाई उनले निकै चिन्ताको विषय भनेका थिए ।

विकसित देशहरूबाट आयात गरिएका ठूला–ठूला विकासे मोडेलभन्दा रैथाने र साना मोडेलको पैरवी गर्ने हागनको विचारमा अधिकांश विकसित देशहरूले सहरका बासिन्दालाई खुसी राख्नका लागि अनुदान दिएर खाद्यान्नको मूल्य कम राख्ने नीति किसानहरूको हितविपरीत छ । अनुदानलाई मात्रै सर्वोच्च प्राप्ति ठान्ने पराश्रित विचारका विरोधी उनी भन्छन्, ‘यदि बजार मूल्य वा किसानले आफ्नै खलामा पाउने मूल्य कम भयो भने उसले बढी श्रम वा लगानी गर्दैन ।’ उठबस सहरिया सम्भ्रान्तहरूसँग रहे पनि नेपालको वास्तविक धरातल टेकेपछि उनको चिन्ता सधैँ किसानहरूप्रतिको बढ्दो विभेदमाथि रह्यो ।

दाताहरूले उत्पादित वस्तुमा भन्दा रासायनिक मलजस्ता कुरामा सहायता दिने नीतिले किसानलाई नकारात्मक परिणाम दिने हागनको निचोड देखिन्छ । एमसीसीजस्तो विदेशी सहायतालाई लिएर नेपालमा राजनीतिक सरगर्मी बढेका बेला उनको विचार मननीय लाग्छ । जेजस्तो परिकल्पना गरिए पनि अभ्यासमा आएको अन्तर्राष्ट्रिय विकास सहायताबाट परिणाम ठीक उल्टो आउने गरेको अनुभव जिउँदै छ । स्वतन्त्रता र आत्मनिर्भरताका लागि सहयोगी ठानिएको विकास सहायताले बिस्तारै जहाँ धकेल्छ, त्यसलाई ‘विकास उपनिवेशवाद’ भन्न सकिने तर्क हागनको छ । यसको सट्टा उनले आर्थिक स्रोतको सम्भावना यहीँकै कृषि र अग्लो ठाउँबाट खस्दै बग्ने ठूला नदीहरूलाई मानेका थिए ।

महत्त्वपूर्ण किताबको अब्बल अनुवाद गरेर वसन्त थापाले नेपाली पाठकलाई सेवा गरेका छन् भनेमा अतिशयोक्ति नठहर्ला । तुलनात्मक रूपमा शब्दभण्डार कम भएको हाम्रो भाषामा भूगर्भशास्त्रजस्तो जटिल विषय–विज्ञले प्रयोग गरेका कतिपय प्राविधिक/पारिभाषिक शब्दहरूमा समेत कहीँ–कतै किरकिर नलाग्नुलाई अनुवादकीय शिल्प र मिहिनेतको करामत मान्नुपर्छ । अनुवादको सिद्धान्त र शास्त्रलाई पर राखेर सामान्य बोधमा बुझ्दा कुनै पनि अनुवाद पढ्दा पाठकलाई अनुवाद पढिरहेको अनुभूति नहुनु नै असल अनुवाद हो । यस अर्थमा पुस्तक खरो उत्रिएको छ । उसो त लेखक वसन्त थापा अनुवाद कर्मका सिद्धहस्त व्यक्तित्व हुन् । तर, पुस्तकका केही ठाउँमा हागनकै अर्को किताब ‘नेपालको चिनारी’ मा भएका प्रसंगहरू पुनरावृत्त भएका छन् ।

पुस्तकले नेपाललाई थप नजिकबाट चिन्न त सघाउँछ नै, साथमा अनेक कोणबाट मार्गदर्शन पनि दिन्छ । समग्रमा नेपाली समाजको अध्ययनलाई थप फराकिलो पार्ने पोसिलो खुराकका रूपमा उभिएको छ– ‘नेपालमा मेरो खोजयात्रा’ ।

प्रकाशित : चैत्र १९, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?