मैले किन सहें ती सब ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
भोगाइ

मैले किन सहें ती सब ?

तराईमा उत्पातै गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । घरमा छँदा आधा जीउ नांगै हुन्थ्यो । कपडा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरु कपडै नलगाई उफ्रिरहेका हुन्थे ।
मुना चौधरी

मलाई आकाशजस्तै छ्याङ्ङ खुल्न मन लागेको छ । धरतीजस्तो सहनशील होइन । समुद्रजस्तो गहिरो पनि होइन । मलाई खोलाजस्तो बग्न मन लागेको छ, ताकि म बाटो बनाउँदै सबै अप्ठ्यारा भत्काउँदै आफू बाँच्नुको अर्थ सार्थक बनाउन सकूँ । डराएर होइन, हवसका दृष्टिले हेर्ने आँखाहरूलाई थर्कमान बनाएर हिँड्न सकूँ । हिँड्न सकूँ त्यसरी, जसरी लालीमय बिहानीले कालो बादललाई सफा गरेर हिँड्छ ।

...

वैशाख १ को फूलबारी मेला हेर्न दिदी र भाउजूहरूसँग गएकी थिएँ । १२ वर्षकी थिएँ । एक समय मिडी पहिरन धेरै चलनचल्तीमा थियो । रातो बुट्टेदार मिडी लगाएकी थिएँ । खेतका फाँटहरू उजाड–उजाड थिए । यात्रुहरू खेतैखेत हिँडिरहेका थिएँ । हामी फूलबारीको गहबर (मूर्ति) दर्शन गरेर ढुनमुनि गाउँतिरको गहबरतिर जाँदै थियौँ । त्यहाँ पुग्न आधा घण्टा समय लाग्थ्यो । धूलाम्मे आली र खेत हुँदै हिँडिरहेका थियौँ । यात्रु धेरै थिए, पाइला टेक्ने ठाउँसम्म थिएन ।

गहबर नजिकै अग्लो आली थियो । आली हुँदै तीन जना केटा आइरहेका थिए । हामीहरू लहरै खेतको बाटो हिँडिरहेका थियौँ । एक जना

केटो अचानक आलीबाट खेतमा हाम फाल्यो । र, उसले मेरो बायाँ स्तनमा औँलाले बेस्सरी घोच्यो ।

खेतमा ऊ अचानक उफ्रिँदा उसको जीउको सबै बल भर्खरै टुसाउँदै गरेको मेरो बायाँ स्तनमा पर्‍यो । मानौँ, कुनै दह्रो लठ्ठीले उसले निर्दयी तरिकाले घोच्यो । मलाई हड्डीमा घोचेजस्तै कष्ट भयो । मेरो सास अड्कियो । हलचल गर्न नसक्ने भएँ । जहाँको त्यहीँ ठिङ्ङ उभिएँ । दिदीहरूले के भयो भनेर सोध्नुभयो । केटोले मेरो छातीमा औँलाले आक्रमण गरेको दिदीहरूले देख्नुभएनछ ।

मेरो अनुहार रातो भएको थियो, कानबाट तातो निस्किरहेको थियो । केही भएको छैन भन्दै सकीनसकी हिँड्न थालेँ । केटोको अनुहारतिर पनि हेरिनँ । केटोले यति छिटो औंलाले घोचेको थियो कि कसैले केही देखेनन् । मैले मात्र पीडा अनुभव गरेँ । एक छिनपछि बल्ल होस आयो । तर, केही बोल्न सकिनँ । एक प्रकारको अप्ठ्यारो लाग्यो । सम्झन्छु, त्यो रगत झर्लाझैं रातो भएको कलिलो अनुहार मेरै थियो ।

अहिले सोच्छु, उतिबेला दिदीहरूलाई भन्न सकेको भए केही सहयोग पाउँथेँ कि ! दिदीहरूले त्यस केटोलाई रन्किने गरी थप्पड हान्नुहुन्थ्यो होला । र, म पनि आगामी दिनमा साहसी केटी बन्थेँ होला । अनि पटक–पटक मैले त्यस्ता समस्या सामना गर्नुपर्दैनथ्यो होला ।

...

तराईमा उत्पात गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । लुगा लगाउँदा घमौरा बिझ्थ्यो । घरमा हुँदा माथिल्लो जीउ नांगै बस्थेँ । कम्मरमुनि स्कर्ट मात्रै लगाएकी हुन्थेँ । लुगा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरू कपडै नलगाई उफ्रिरहेका हुन्थे । त्यतिबेला मेरो मस्तिष्कमा सोच आउँथ्यो, साथीहरू छाती ढाक्ने गरी समिज वा सर्ट लगाउँदैनन् भने मचाहिँ किन लगाउने ?

मेरो शरीरमा आइरहेको तीब्र परिवर्तन मलाई स्वीकार्य थिएन । म चाहन्नथेँ, मेरा स्तन पलाऊन् । म बस्न चाहन्नथेँ लुगाभित्रको ओढारमा । म पहिलेझैं नांगै जीउ फुक्काफाल भएर साथी समूहमा खेल्न चाहन्थेँ । म चाहन्थेँ, मेरो बाल्यकाल कहिल्यै मभन्दा टाढा नजाओस् । म किशोरावस्थाका परिवर्तन स्विकार्न कदापि तयार थिइनँ ।

तर, मेरो बाल्यकाल सधैँ मसँग रहेन । जति ठूली हुँदै थिएँ, उति नै आमा र दाइहरू यो नगर्, त्यो नगर्, यसरी नहिँड्, त्यसरी नबस् भनिरहनुहुन्थ्यो । समाजले खडा गरेका कुनै पनि नियम मान्न म तयार थिइनँ । खेतका फाँटहरूमा खुलेआम धानका बाला हावासित बयली खेलेसरि प्रकृतिको काखमा र आँपको रूखमा चढेर पुली डन्डा खेल्ने बानी परेको थियो । धूलाम्मे डगहरमा जीउभरि बालुवा घसेर चुंगी, गुच्चा, भाँडाकुटी खेल्दै हुर्केकी थिएँ । त्यसैले म कुनै नियममा बस्न चाहन्नथेँ । खुलेआम त्यसरी बस्न चाहन्थेँ, जसरी सानैदेखि निस्फिक्री बसेकी थिएँ । तर, शारीरिक परिवर्तनहरूले मेरो सीमारेखा तोकिरहेका थिए ।

अहिले सोच्छु, मेरो स्तनमा कुनै परचक्रीले औँलाले घोच्दा किन मौन बसेँ ? किन विरोध गर्न सकिनँ ? तत्कालै त्यो केटोको गाला रन्किने गरी किन थप्पड हान्न सकिनँ ? हामीलाई सधैं सिकाइयो, छोरी मान्छेले लाजलाई छोप्नुपर्छ । तर, हाम्रा संवेदनशील अंगमा कसैले नराम्रो नियतले हेर्‍यो वा स्पर्श गर्‍यो भने जहाँको त्यहीँ उसलाई लात हान्नुपर्छ भनेर किन सिकाइएन ? सहेर बस्नुहुँदैन, यस्तो कुरा अरूलाई सुनाउनुपर्छ र पिडकलाई सबक सिकाउनुपर्छ भन्ने किन सिकाइएन ?

१२ कक्षा पढ्दै थिएँ । लहान बजारको एक पसलमा जिन्स पाइन्ट किनेकी थिएँ । पाइन्ट धेरै फिटिङ थियो । हाम्रो घरमा छोरी, बुहारीलाई फिटिङ कपडा लगाउने अनुमति थिएन । बा र दाइहरू जहिल्यै खुकुलो कुर्ता–सुरुवाल सिलाइदिनुहुन्थ्यो । यति खुकुलो कि कुर्ताभित्र दुई जना अटे पनि अझै खुकुलै देखिन्थ्यो । टोलका केटी साथीहरू पनि खुकुलै लुगा लगाउँथे ।

म बिहान क्याम्पस पढ्न र दिउँसो कम्प्युटर सिक्न जान्थेँ । एक दिन त्यही जिन्स पाइन्ट लगाएर कम्प्युटर सिक्न निस्किएँ । निस्किने बेला कुन्नि, बा कहाँ हुनुहुन्थ्यो देख्नुभएनछ । तर, उताबाट फर्केर आउँदा मैले लगाएको जिन्स बाले देख्नुभयो । रिसाउँदै भन्नुभयो, ‘यस्तो लुगा कसले लगाउन भन्यो हँ ? जीउमा टाँस्सिएको लुगा लगाउने अनुमति कसले दियो ? तेरो कर्तुत देखेर छिमेकीहरूले के सोचे होलान् ? किन किनिस् यस्तो लुगा ? कहाँ किनिस् ? कसले भन्यो किन्न ? लाज नामको चीज छ कि छैन तँसँग ?’

बाको गाली खाएर मैले शिर निहुराएँ । मानौं, नचाहिने काम गरेछु, ठूलै अपराध गरेछु ।

म एकान्तमा एक छिन रोइरहेँ । जतनसाथ जिन्स अलमारीमा राखेँ । त्यो जिन्स अब म कुनै अवस्थामा पनि लगाउन सक्दिनथेँ । लगाएँ भने बाको टोकसो सुन्नुपर्थ्यो । जिन्स पाइन्ट लगाउने रहर निकै थियो । तर, बाको अनुमतिबिना त्यो लगाउने फेरि साहस भएन । मैले आफ्ना सबै रहर मनभित्रै मारेँ ।

भोलिपल्ट क्याम्पस सकेर जिन्स पसलमा पाइन्ट फिर्ता गर्न गएँ । फिर्ता गरेर खुकुलो कपडाको पाइन्ट लिएँ । पसलमा चेन्जिङ रुम थिएन । मैले चुनीदार सुरुवाल र कुर्ता लगाएकी थिएँ । पसलेलाई सोधेर स्टोर रुम गएँ । सुरुवालको माथिबाटै मैले पाइन्ट लगाएर ठीक भयो कि भएन भनेर जाँचेँ । पाइन्ट लगाउँदै गर्दा पसले स्टोर रुममा आयो । मलाई लाग्यो, सायद कुनै कपडा लिन आएको होला ।

मनजिक आउँदै उसले सोध्यो, ‘पाइन्ट ठीक भयो ?’ मैले उतिर हेर्दै नहेरी टाउको हल्लाउँदै जवाफ फर्काएँ, ‘एकदम ठीक भयो ।’ मेरा कुरा सुनेर ऊ मनजिक आयो । र, उसले मेरो पाइन्टको टाँक छाम्यो । कम्मरको टाँक छाम्दै अचानक एक सेकेन्डमै मेरो तल्लो पेटामा हात छिराउँदै बेस्सरी चिमोट्यो । चिमोटेर तुरुन्तै हात निकाल्यो र पिठ्युँमा धाप मार्दै भन्यो, ‘यो पाइन्ट ठीक छ नि है ?’

उसलाई कसेर गालामा थप्पड हान्नुपर्ने ठाउँमा मैले उल्टै लाजले टाउको निहुराएँ । चिमोटेर हात निकाल्दै ऊ फेरि काउन्टरमा गएर बस्यो ।

डरले म रातीनीली भइसकेकी थिएँ । पूरै जीउ काँपिरहेको थियो । निधारभरि पसिना थियो । त्यो पाइन्ट हतपत फुकालेर, बटारेर म झोलामा हाल्दै कतै नहेरी डराउँदै पसलबाट निस्केँ । छेउछाउका मान्छेलाई पनि त्यो पसलेको कर्तुतबारे बताउन सकिनँ । हल्ला पनि गर्न सकिनँ । विरोध गर्नु त झन् परको कुरा थियो । हुँदाहुँदा क्याम्पस पढ्न जाँदा मैले त्यो बाटै हिँड्न छोडिदिएँ ।

त्यति नै बेला मैले त्यो पसलसँग किन प्रतिवाद गर्न सकिनँ ? म किन डराएँ ? त्यो कुरा बा–आमालाई किन भन्न सकिनँ ? त्यसपछि मलाई लाग्यो— बाले भनेको कुरा सही रहेछ । केटी मान्छेले खुकुलै कपडा लगाउनुपर्छ । यस्तै यस्तै अपराधी आँखाबाट मलाई जोगाउन बा र दाइले यसो भन्नुभएको हो । मैले त्यस दिनदेखि जिन्स लगाउन छाडेँ । लुकेर पनि कहिल्यै जिन्स लगाइनँ ।

अहिले सोच्छु— केटी मान्छेले फिटिङ लुगा लगाउनु हुँदैन भनेर सिकाउनु कहाँको न्याय थियो ? मन लागेका लुगा लगाउनुपर्छ । तर, लुगालाई लाञ्छना लगाउने र हवसका दृष्टिले हेर्ने घटिया आँखाहरूमा सकारात्मक सोचको पट्टी भिराउनुपर्छ भन्ने किन सिकाइएन ? संवेदनशील अंग छाम्ने हातहरूलाई प्रतिवाद गरि रोक्न सक्नुपर्छ भन्ने किन सिकाइएन ?

केटी मान्छेले खुकुला लुगा लगाउनुपर्छ र पुरुषअघि टाँस्सिएका लुगा लगाएर प्रस्तुत हुनु हुँदैन भन्ने कुरा केटीको हकमा मात्रै किन ? केटीहरूलाई अपराध र हवसका दृष्टिले हेर्नेहरूले नै सोच परिवर्तन गर्नुपर्छ भन्ने किन सिकाइएन ? स्वेच्छाचारी यौनिकता प्रकट गर्नेहरूमाथि तत्कालै दह्रोसँग जाइलाग्नुपर्छ भन्ने किन सिकाइएन ?

किन मैले ती सबै झेलेँ ? किन मौन बसिरहेँ ? किन सहें ती सब ?

...

पछि एमएड गर्न काठमाडौँ आएँ । पहिलो वर्षमा राम्रो अंक ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भएँ । दोस्रो वर्ष चल्दै थियो । दोस्रो वर्ष उत्तीर्ण भएपछि गाउँकै क्याम्पसले मलाई पढाउन बोलाएको थियो । धेरै खुसी थिएँ । पहिलो वर्षमा प्रथम श्रेणीमा उत्तीर्ण भएकीले दोस्रो वर्षमा पनि राम्रै अंक ल्याउँछु भन्ने आशा थियो । तर, दुःखको कुरा दोस्रो वर्ष ५० पूर्णांकको एउटा विषयमा म अनुत्तीर्ण भएँ । गाउँको क्याम्पसमा पढाउने मेरो इच्छा त्यत्तिकै रह्यो ।

क्याम्पसमा सँगै पढ्ने ६० वर्ष कटेको एक जना साथी थियो । उसले भन्यो, ‘रि–टोटलिङका लागि बल्खुमा निवेदन हाल, मेरो एक जना साथी छ । उसले क्याम्पस पढाउँछ । उसले तिमीलाई सहयोग गर्छ ।’ र, साथीको फोन नम्बर दियो । उसको साथीले मलाई कपनमा भेट्न बोलायो ।

भोलिपल्ट उसलाई भेट्न कपन गएँ । कपन चोकको सानो चियापसलमा हामी भेट्यौँ । मैले आफ्ना लागि कालो चिया मगाएँ । उसले आफ्ना लागि बियर मगायो । म चिया र ऊ बियर खाइरहेका थियौँ । बियर खाइसकेर उसले भन्यो, ‘हेर्नुस् म तपाईंलाई रि–टोटलिङ गराउने बेलामा अंक थपेर उत्तीर्ण गराइदिन्छु । तर, त्यसको बदलामा तपाईं मलाई के दिनुहुन्छ ?’

म उसको माग सुनेर ट्वाल्ल परेँ । म विद्यार्थी मान्छे, उसलाई के पो दिन सक्थेँ र ? न मसँग पैसा थियो, न सम्पत्ति । मैले सोचेँ, उसले पैसा माग्नेछ । त्यसो भए म रि–टोटलिङ गराउँदिनँ । पैसाले शैक्षिक योग्यता किन्दिनँ ।

मैले केही नबोल्दै उसले थप्यो, ‘भोलि १० बजेपछि मेरो घर आउनुस् । मेरा छोराछोरी स्कुल र श्रीमती अफिस गइहाल्छन् । एक छिनको त काम हो नि । त्यसपछि म तपाईंलाई नम्बर थपेर उत्तीर्ण गराइदिन्छु ।’

उसको कुरा सुनेर डरले र रिसले मेरो जीउ काँप्न थाल्यो । केही भनौं, बियर खाएको छ, यस्तो बेला के भन्नु ? ऊ होसमै छैन । त्यहाँ भएका मान्छेहरूलाई भनौं, उनीहरूले मेरो विश्वास गर्दैनन् सायद । किनकि त्यहाँका मान्छेहरूले उसले मसँग बोलेका संवाद सुनेका थिएनन् । म चुप लागेर टेबलबाट उठेँ । काउन्टरमा पैसा तिरेँ ।

चियापसलबाट निस्किँदै गर्दा त्यो मान्छेले सोध्यो, ‘के भयो ? किन केही नबोली हिँड्नुभो ?’

म केही नबोली सरासर कपन चोकमा यात्रु कुरिरहेको कपन–बंगलामुखी यातायात चढेर डेरा फर्किएँ ।

पहिले नै स्तन र तल्लो पेटमा अत्याचारीेका आक्रमण भोगेकी थिएँ । अब त सीधै शारीरिक सम्पर्कको प्रस्ताव आएको थियो । नचिनेको, कहिल्यै नदेखेको मान्छेले अनायास बिस्तारामा सुत्ने प्रस्ताव गरेको थियो । डेरा पुगेर धेरैबेर रोएँ । कसैलाई केही भन्न सकिनँ ।

रि–टोटलिङका लागि निवेदन हालेँ । तर, त्यो मान्छेसँग सहयोग मागिनँ । रि–टोटलिङको परिणाम जस्ताको त्यस्तै आयो । म अनुत्तीर्ण भएँ ।

...

मैले बोर्डिङ स्कुल पढाउन थालेँ । स्कुल पढाउँदै अनुत्तीर्ण भएको विषय दैनिक एक घण्टा बेलुकी पढ्न थालें । जति जति बेला पढ्न बस्थेँ, त्यो मान्छेको अनुहार आँखाभरि नाच्थ्यो । क्रोधित हुन्थेँ । क्रोधले झन् बेस्सरी पढ्ने जाँगर चल्थ्यो ।

म आफ्नो इज्जत बेचेर होइन, मिहिनेत गरेर उत्तीर्ण हुन चाहन्थेँ ।

वर्षैभरि त्यो विषय पढ्दा–पढ्दा कुन पेजमा कुन पाठ छ, सबै कण्ठस्थ भइसकेको थियो । अर्को वर्ष जाँच दिएँ । राम्रो अङ्क ल्याएर उत्तीर्ण भएँ ।

म सोच्छु, अहिले भए बिस्तारा बनाउन खोज्ने त्यस्ता मान्छेलाई पिउँदै गरेको तात्तातो चिया उनीहरूका अनुहारमा छ्यापिदिन्थेँ । हिंस्रकहरूको भयंकर प्रतिवाद गर्ने थिएँ ।

त्यति बेलै छ्यापेकी भए म दरिली हुने रहिछु । तर, त्यति बेला म के भएँ हँ ?

आज मेरो मन आकाशजस्तै छयाङ्ङ भएको छ । आफूलाई स्फूर्त अनुभव गरिरहेकी छु । मेरो गह्रौं मन हलुका भएको छ ।

मनको भारी बिसाउन पाएकोमा आफूलाई हिंसाका दृष्टिले हेर्ने मान्छेहरूलाई सजाय दिएझैँ भएको छ ।

प्रकाशित : चैत्र १२, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

परेवाः गर्जो टार्ने माध्यम 

मुना चौधरी

ओथारो बसेको पोथी परेवा अलि पर सरिरहेको थियो । वाक्वाकुम्...वाक्वाकुम् आवाज निकाल्दै बचेरालाई चुच्चोले चारो खुवाउँदै गरेको भाले परेवा निकै डराएको थियो । त्यतिखेर मेरा दायाँ हात परेवाको बचेरा समातिरहेको थियो । मैले बल्लतल्ल उड्न थालेको परेवाको बचेराको दुवै प्वाँख च्याप्प समातेँ । बचेराको जिउ थर्थराइरहेको थियो । 

तलबाट आमाले कराउनुभयो, ‘छिटो निकाल्, मामालाई ढिला भयो ।’

म पैठीमा चढेर टोङमा (परेवा बस्ने घर) हेरिरहेकी थिएँ । म नलडूँ भनेर टोङमा चढ्न लगाइएको पैठी (बाँसले बनाएको सिँढी) आमाले तल समातिरह्नु भएको थियो । आमाको आवाज सुनेर मैले हतपत बचेराको प्वाँख समात्दै एउटा बचेरा आमाको हातमा थमाएँ । आमाले बचेराको प्वाँख समात्दै अर्को चक्कामा (परेवा बस्ने तला) पनि हेर् । एउटा मात्र परेवाको मासु थोरै हुन्छ भन्नुभयो ।

दुबै आँखाले एकैपटक हेर्न सक्ने सानो प्वाल परेवा बस्ने घरमा नभएकोले मैले फेरि एउटा आँखा चिम्म गरेर अर्को आँखाले परेवा बसिरहेको अर्को चक्कामा हेरेँ । त्यो चक्कामा कालो परेवा ओथारो बसिरहेको थियो । छेउमा रहेको बचेरा परेवा मेरो आँखा देखेर अपचकाउँदै यताउति हेरिरहेको थियो ।

मैले दायाँ हात परेवाको चक्कामा छिराएँ । मेरो हात देख्नेबित्तिकै सेतो परेवा वाक्वाकुम्...वाक्वाकुम् आवाज निकाल्दै डराउँदै भित्तापट्टि सर्‍यो । मेरो आँखा हेरेर अपचकाइरहेको सेतो रङको बचेराको प्वाँख समाएँ । प्वाँख फटफटाइरहेकोले एउटा प्वाँख मात्र समाएँ । अर्को प्वाँख फटफटाउँदै उड्न खोजिरहेको थियो । मैले बल लगाएर जिउ समात्दै अर्को प्वाँख पनि च्याप्प समातेँ । बचेराले जिउ खुम्चाएर डल्लै भइसकेको थियो । आमालाई त्यो बचेरा पनि दिएँ । त्यसपछि म पैठीबाट तल ओर्लेँ ।

त्यही क्रममा टोलकी लवकी भाउजू परेवाको बचेरा खोज्न आउनुभयो । काकी परेवा छ भनेर भाउजूले आमालाई सोध्नुभयो ।

आमा, ‘हो, छ । कति जोर (जोडी) चाहिन्छ ?’

भाउजू, ‘दुई जोर ।’

आमा, ‘एक जोर मात्र छ ।’

भाउजू, ‘त्यसोभए एक जोर मात्र दिनुस् । अर्को एक जोर अरूको घरतिर खोज्छु ।’

टोङमा पैठी लागेकै थियो । मतिर आमाले हेर्दै भन्नुभयो, ‘जा टोङबाट फेरि एकजोर बच्चा झिकेर भाउजूलाई दे ।’

मैले अस्वीकृति जानाउँदै आमालाई भनेँ, ‘मैले अर्को बचेरा देखिनँ ।’

आमा, ‘पछबैरीया चक्कामा हेर् । त्यहाँ छ । मैले हिजै परेवाले बिस्ट्याएको सफा गर्दा बचेरा देखेकी थिएँ । उरात (उड्ने) भइसकेको छ । तर, उडेको छैन ।’

आमाको कुरा मान्दै म फेरि पैठीमा चढेँ । यो पटक अर्कोतिर नचियाइकन आमाले भन्नुभएको सिधै टोङको पछबरीया प्वालमा आँखा राखेर हेरेँ । त्यहाँ त एक जोडी बचेराहरू चिरबिर–चिरबिर आवाज निकाल्दै अपचकाउँदै खेलिरहेका थिए ।

टोङमा हात छिराउने जति मात्र प्वाल भएकोले मैले फेरि पनि हात छिराउँदै पालैपालो बचेराको प्वाँख समातेर बाहिर ल्याएँ । यी बचेराहरू पनि डरले अपचकाउँदै जिउ डल्लो पारिसकेका थिए । मैले बचेरा झिक्दै गर्दा भाउजूले आमालाई सोध्नुभो, ‘काकी जोडीको कति ?’

आमाले भन्नुभयो, ‘बजारमा जोडीको पाँचसयले बिक्छ । तर गाउँकालाई मैले चारसयमा बेच्ने गरेकी छु । ज्वाइँ आउनुभएको बेलामा कमलपुरवालीको घरबाट मैले पनि चारसय टकामा (रुपैयाँ) एक जोडी ल्याएकी थिएँ ।’

भाउजूले आँचलको गाँठो फुकाउँदै आमालाई चारओटा नम्मरी (चारओटा सयको नोट) दिँदै परेवाको एक जोडी बचेरा समात्नुभयो । आँगनबाट निस्किँदै गर्नुभएको भाउजूलाई आमाले सोध्नुभयो, ‘तँलाई को लिन आएको छ– भाइ कि बा ?’

भाउजू, ‘भाइ आ’को छ काकी ।’

म पैठीबाट ओर्लेपछि चारओटा नम्मरी सारीको फुर्कोमा बाँध्दै आमाले कम्मरको छेउमा घुसार्दै थप्नुभो, ‘उतिबेला दसवर्षअघि आमाले एक जोडी परेवा दिनुभयो । त्यही एक जोडीबाट मैले नौ जोडी परेवा बनाएँ ।’

आमाको कुरा सुनेर बल्ला थाहा पाएँ माइतीबाट छोरीलाई परेवा पाल्नका लागि दिने रहेछ ।

बजारमा परेवा जोडीको पाँचसयमा बेचे पनि गाउँका छिमेकीहरूले एकअर्कालाई चारसयमा बेचबिखन गरिरहेका थिए । जितियाको माहोल थियो । जितिया थारू महिलाहरूको महत्त्वपूर्ण चाड भएकोले सबैको माइतीबाट भाइ वा बा लिन आएका थिए । मेरा पनि मामा जितियामा आमालाई माइत लैजान आउनुभएको थियो । जितियामा लिन आएका मामालाई परेवाको मासु खान दिने चलन छ ।

बिरालो, न्याउरी मुसा र सर्पबाट सुरक्षित राख्नखातिर टोङ अग्लो बनाइएको थियो । पश्चिमतिर सुत्ने घर, पूर्वतिर भान्साघर थियो भने आँगनको दखिनबरीया कुनामा टोङ थियो । टोङ काठका खम्बामा फलामको किलाले टाँगिएको थियो । टोङको प्वाल हात छिराउने जति मात्र फराकिलो थियो भने भित्र परेवा बस्नाका लागि एक हात जति फराकिलो ठाउँ थियो । दुईतल्ले टोङमा दसओटा स–साना कोठाहरू थिए । अगाडि काठको पटाहाको ढोका थियो । बेलुकी चारो टिपेर सबै परेवा टोङ छिरिसकेपछि ती ढोकाहरू राति अङकुशले लगाउनुपर्थ्यो र बिहान खोल्नुपर्थ्यो । ढोका खोल्ने बित्तिकै परेवाहरू भुर्रर्र, भुर्रर उड्दै माटाको टायल भएको पुवरीया र पछबरीया घरका छानाहरूमा बस्थे । आँगनमा कनिका छरेपछि दाना टिप्न छानाबाट सबै परेवाहरू तल झर्थे ।

केटा मान्छेले मात्र बली दिने चलन भएकोले भाइलाई कलबाट नुहाएर आउन आमाले अह्राउनुभयो । भाइ ‘जहिले मैले परेवा काट्नुपर्छ’ भन्दै गनगनाउँदै कलमा नुहायो । भाइ नुहाएर आउन्जेल आमाले आँगनमा चिकनी माटोले (पहेँलो माटो) चौका (पोत्नु) बनाएर त्यसमा गुँइठाको आगोमा सररको धूप (सल्ला) बालिसक्नुभएको थियो । मैले भान्साबाट चुलेसी ल्याएर चौकामा राखेँ । छेउमा थालमा तुलसी र चामलको अक्षता तयार थियो । भाइले अक्षताको दुईओटा पूजा चौकामा हाल्यो । पूजा हालेर बच्चालाई समातेर पालैपालो तुलसी र चामलको अक्षता र थोरै पानी टाउकोमा राख्यो । पानी राख्दा बचेराहरूले टाउको हल्लाए । पालैपाले घाँटी समातेर काट्दै पूजा हालेको चामल वरवर रगत चढायो ।

एक महिनाअघि बारीबाट खसी चर्दाचर्दै हराएको थियो । त्यतिबेला खसी भेटे भने एक जोडी परेवा चडाउँछु भनेर मनमनै सलहेश भगवानको गहबारतिर ढोग्दै आमाले भाकल गर्नुभएको थियो ।

मामा जितियामा लिन आउनुभएको थियो । मामा बसघरामा आराम गरिरहनु भएको थियो । परेवा काटेपछि भाइको काम परेवाको भुत्ला झिक्नु थियो । भाइ भुत्ला झिक्न व्यस्त भयो । आमा प्याज काट्न व्यस्त हुनुभयो । मलाई सिलौटामा मसला पिस्न अहाउनुभयो । अदुवा, जिरा र गरम मसलाका गेडाहरू आमाले सिलौटामा राखिसक्नु भएको थियो । म मसलामा पानी हाल्दै बल लगाउँदै सिलौटामा मसला रगड्न थालेँ ।

भाइले परेवाको भुत्ला उखेलेर चारो झिक्यो । चारो झिकेर चुलो छेउमा सन्ठीमा (सनपाटको गुन्द्री) आगो सल्काउँदै परेवालाई पोल्न थाल्यो । पोलेपछि बाँकी बचेका मसिना भुत्लाहरू सबै जल्यो । मासु चिल्लो र पहेँलो भयो । पोलेर कलमा गएर धोयो । धोएर ल्याएपछि मासु काट्न थाल्यो । मासु काट्ने बेला आमाले भन्नुभयो, ‘ठूलठूलै बुट्टी काट् ।’ आन्द्राभुँडी झिकेर फाल्दै सधैँ मैले नै मासु काट्नुपर्छ भन्दै फेरि भाइ गनगनाउँदै मासु काट्न थाल्यो ।

त्यतिबेलासम्म आमाले चुलो बालेर कन्तीमा तेल हालिसक्नुभएको थियो । तेल तातेपछि प्याज हाल्नुभयो । प्याज हाल्दा तातेको तेल झ्वाइँ बोल्यो । प्याज भुटिरहुभएको थियो । प्याज भुट्दै भन्नुभयो, ‘प्याज ओइलेपछि मासु हाल्नुपर्छ । प्याज नओइलिकन मासु हाले प्याज गल्दैन । मासु मिठो हुँदैन ।’

मेरो हात मसला पिस्दा–पिस्दा गलिसकेको थियो । निधारबाट पसिना झरिरहेको थियो । मसला मैले हातले पटक–पटक छाम्दै पिसिरहेकी थिएँ । मसला मिहिन भइसकेपछि मैले सिलौटाको मसला सोहोरेर बटुकोमा हालेँ । चुलो नजिक लगेँ । बेसार, नुन हालेको मासु पर्परि भुटेर रातो भइसकेको थियो ।

मसलासँगै मासुमा आमाले झोल हाल्नुभयो । माथिबाट बुकनी (खुर्सानीको धुलो) र मरिचको धुलो हाल्नुभयो । बुकनी हाल्दै भन्नुभयो, ‘परेवाको मासु पिरो मिठो हुन्छ । पिरै पकाउनुपर्छ । मासु पाकिसक्यो । जा, मामालाई खाना खान बोला ।’

म एक लोटा पानी लिएर मामालाई खाना खान बोलाउन गएँ ।

मैले लगेको लोटाको पानीले मामाले बसघरा छेउमा भएको दुबोमा कुल्ला गर्नुभयो । हात, गोडा धुनुभयो । त्यसपछि मेरो पछिपछि खाना खान आँगनमा आउनुभयो ।

जितियामा लिन आएका मामालाई परेवाको मासु खुवाउने चलन छ । मामा खाना खाएर उठिसकेपछि हामी खाना खान बस्यौँ । परेवाको मासु लदबद निकै मिठो थियो । पकाउने बेलामा मासुको मगमग बास्नाले मैले धेरै पटक थुक निलिसकेकी थिएँ । मासु धेरै पिरो थियो तर मिठो थियो । खाना खाँदैगर्दा पिरोले मेरो निधारभरि पसिना आएको थियो तैपनि खाना खाने आशक्ति बढिरहेकै थियो ।

त्यतिबेला तेलपौर (चामलको पिठोको पुरी) रोटी पाकिसकेको थियो । आमाले मामासँग जितिया गर्न मलाई पठाउनुभयो । आमाले तेलपौर रोटी र चिउरा कोसेली टालोमा पोको पारेर मामालाई दिनुभयो । मामाले साइकलको ह्यान्डलमा कोसेली झुन्ड्याउनुभयो भने साइकलको पछाडिको ‘क्यारियर’मा मलाई बसाउनुभयो । मामाघर पुग्दा ‘क्यारियर’मा बसेर मेरा दुबै गोडा धुलाम्मे भइसकेका थिए । मामाघरमा पनि आँगनमा माटाको गरा र प्वाल भएको टिनको छाना भएको परेवाघर पछबरीया कुनामा थियो ।

भोलिपल्ट माइजूले परेवाको घर सफा गर्न थाल्नुभयो । घर सफा गर्ने बेलामा छितनी (सानो ढकी), कुच्चो र पराल ल्याउनुभयो । माइजू परेवाको घर नजिक जाँदा सबै परेवा भुर्रर उडेर घरको छानामा बसे । ओथारो बसेको परेवाचाहिँ उँडेन ।

माइजूले सबै चक्कामा भएको परेवाको बिस्टा सोहोर्दै छितनीमा हाल्नुभयो । सबै परेवालाई चक्कामा बस्न पराल ओछ्याइदिनुभयो । पराल ओछ्याउँदै भन्नुभयो, ‘अण्डाबाट भर्खर निस्केको परेवाको बचेरालाई चलाउनु हुन्न । चलायो भने त्यो बचेरा मर्छ ।’

ओसरामा खोपमा (परेवालाई थुन्न बाँसले बनाइएको सानो पिँजडाजस्तो वस्तु) एक जोडी परेवा थियो । माइजू खेतमा काम गर्न जानुभएको बेलामा म खोपको परेवालाई दिनभरिमा तीन, चार पटक कनिका खोपमुनि छरिदिन्थेँ । खोप उठाएर पानी खुवाउन कल लग्थेँ । कलको छेउमा भएको पानीको खाल्डोमा खोप राखिदिन्थेँ । घाँटी तन्काउँदै परेवाहरू चुच्चाले पानी पिउँथे र पखेटा फटफटाउँथे । राति सुत्ने बेलामा खोप उठाएर सुत्ने घरमा राख्नुहुन्थ्यो माइजूले । नभए रातभरिमा बिरालोले खान सक्थ्यो । बिहान फेरि बाहिर ओसरामा राख्नुहुन्थ्यो । बिरालो, सर्प र न्याउरी मुसाबाट बचाउन दिनभरि खोपको र घरमा भएको परेवाहरूको निगरानी गर्नुपर्थ्यो ।

माइजूले फेरि थप्नुभयो, ‘खोपको परेवा, जोडी मिलिसकेको छ । परेवा जोडीलाई भोलि राम्रो दिन हेरेर छोड्छु । बहादुरको आमाबाट मुन्सा (भाले) परेवा ल्याएकी थिएँ जोडी मिलाउन । मैगी (पोथी) परेवा आफ्नै थियो ।’

माइजूले राति भात खाएपछि परेवाको प्वाँख समात्दै खोपबाट निकाल्नुभयो । पालैपालो जोडी परेवालाई मोखको (घरको चौकस छेउको माटो) माटो खुवाउनुभयो । त्यतिखेर माइजू दुबै परेवाको प्वाँख समातिरहनुभएको थियो । मोखको माटो खुवाएर परेवालाई घर छिर्ने प्वाल देखाउँदै अगाडिको प्वालबाट दुई, तीन पटक बाहिर र भित्र परेवालाई छिराउँदै भन्नुभयो, ‘तेरो घर यही हो । भोलिदेखि यही घरमा बस् ।’ यति भन्दै माइजूले परेवालाई परेवा बस्ने घरमा छिराएर अगाडिबाट ढोका लगाइदिनुभयो ।

परेवालाई जोडी मिलाउन एक महिना वा १५ दिन खोपमा राख्नु पर्छ । जोडी मिलिसकेपछि बल्ल घरमा बस्ने गरी उडाउनुपर्छ । परेवा अरूको घर नजाओस् भनेर जोडीलाई घरमा छोड्ने बेलामा मोखको माटो खुवाउने रहेछ । भोलि बिहान उठ्दा राति घरमा छोडेको जोडी परेवा आँगनमा छरिएको बासीभात खाँदै वाक्वाकुम्...वाक्वाकुम् गर्दै आफ्नी मौगी परेवालाई फकाइरहेको थियो । माइजूले परेवाको जोडी देखेर भन्नुभयो, ‘मुन्सा परेवा आवाज निकालेर वाक्वाकुम्...वाक्वाकुम् गर्दै नाच्छ भने मौगी परेवा भुट्किन्छ (मसिनो आवाजमा चिर्बिर गर्नु) मात्र । नाच्न जान्दैन ।’

दिउँसो टोलकी महदेवावाली माइजू परेवा सापटी लिन आउनुभयो । माइजूलाई भन्नुभयो, ‘नन्दनकी आमा परेवाको बच्चा छ भने मलाई एक जोडी सापटी दे । माइतबाट भाइ आएको छ । मासु खुवाउनु छ । मेरा परेवाका बचेराहरू भर्खर अण्डाबाट निस्केका छन् । उडात भएपछि म तँलाई बचेरा नै दिन्छु ।’

कति जोडी परेवा छ ?

पहिला १४ जोडी थियो । घरमा कोही नभएको बेला एकपटक सर्पले एक जोडीलाई घाइते बनाएर मार्‍यो । बिरालोले अर्को पल्ट एक जोडी च्यापेर लगेछ । न्याउरी मुसाले अस्ति भर्खरै दुई जोडी खाइदियो । खुट्टामा घाउ भएर एउटा मुन्सा परेवा मर्‍यो । बेजोडी भएको मौगी परेवा लहानवालीको मुन्सा परेवासँग पोइल गई ।

माइजूले महदेवावाली माइजूलाई एक जोडी परेवाको बचेरा सापटी दिनुभयो । बचेरा सापटी दिने चलन पनि छ । परेवा आफ्नो जोडी मिलाएर अरूको परेवासँग भाग्ने पनि गर्छन् भन्ने कुरा माइजूबाट थाहा पाएँ ।

मेरो घरमा पनि धेरैपटक न्याउरीमुसा छिरेर परेवाको घाँटी न्याकेर खाएको थियो ।

एक हप्तापछि माइजू दुई जोडी बचेरा परेवा खोपमा राखेर हटिया जानुभयो । बचेरा जोडीको पाँचसयले बेचेर मेरा लागि नयाँ कुर्था–सलवार ल्याइदिनुभयो । बाँकी बचेको पैसाले घरको गर्जो टार्नुभयो ।

कसैको आँगनमा काठको घर थियो, त्यसलाई टोङ भनिन्थ्यो । कसैको आँगनमा माटाको परेवाघर थियो । त्यसलाई परेवाघर भनिन्थ्यो । सानो ठाउँ भएकाहरूले सुत्ने घरको भित्तामा बारिहपट्टिबाट चक्का निर्माण गरी परेवाघर बनाएका हुन्छन् । थारू गाउँमा सबैको आँगनमा परेवाको घर हुन्छ । सबैले चार, पाँच जोडी परेवा पालेकै हुन्छन् । नजिक बजार हुँदैन । सधै हातमा पैसा हुँदैन । बजारको माछामासुको व्यवस्था तुरून्तै गर्न सकिँदैन । अचानक पाहुना आए तिनलाई स्वागत, सत्कार गर्न परेवा काटेर मासु पकाएर खुवाइन्छ । पैसाको खाँचो परेका बेला हटियामा लगेर परेवा बेची घरखर्च चलाउने गर्छन् । मेरो घरको नुन, तेल पनि परेवा बेचेरै आमाले चलाउनुहुन्थ्यो ।

मासु खान मन लागेको बेला परेवा काटी घरका सदस्यहरू मिलेर मासु खान्छन् । आमाले भन्नुहुन्थ्यो, ‘सर्दी (रूघा) लागेको बेला परेवाको झोल खायो भने सर्दी च्वाट्टै हुन्छ ।’

जितिया, माघी, नयाँवर्ष, दसैँ, तिहारमा परेवा काटेर खाने चलन छ । तिहारमा गोवर्धनपूजाको दिन गुहालीमा बनाइएको गोवर्धनको मूर्तिअगाडि जोडी परेवाको बचेरा बली दिने चलन छ । त्यो दिन परेवाको बली नदिई हुँदैन । त्यसैगरी गाई, गोरूजस्ता घरपालुवा जनावरहरू बिरामी परे, हराएमा देउतालाई परेवा बली दिन भाकल गर्ने चलन रहेको छ । गाईवस्तु सकुशल भेटेमा र सञ्चो भएमा परेवाको बली दिइन्छ ।

प्रकाशित : आश्विन ३०, २०७८ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×