कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्वाल विम्ब र बेखबर योद्धाहरू

समाज–दृष्टिले खुट्याएको ‘जाबो एउटा प्वाल’ हुनु महिला भोगाइको सबैभन्दा संवेदनशील र चोटिलो पक्ष हो । पितृवादको नजरले महिलालाई प्वालभन्दा अरु देखेन/देख्दैन । तिनका प्रहारले सख्त घाइते छन् महिला । प्वाल–चिन्तनको सिकार हुनुपूर्व महिलाहरु लडाकु थिए, स्वतन्त्र थिए ।
कुमारी लामा

प्वाल– महिला शरीरसँग जोडिने एक लिङ्गविभेदी विम्ब । यद्यपि त्यही सृष्टि प्वाल भई मानिस यस धर्ती टेक्छ । श्वास–प्वालबाट छाडिने अन्तिम निःश्वाससँगै उसको इहलीला समाप्त हुन्छ । यसबीच हरमानिस प्वालसँगको गहिरो नातामा रहन्छ । प्वालका अनेक आयाम छन् । चाहे ती भौतिक हुन् या लाक्षणिक, दुवै हाम्रै जीवन र विचार वरपर घुम्छन् । सांस्कृतिक मूल्य–मान्यताका अनगिन्ती प्वाल भई छिर्छ अनेक विचार या वाद, जसले नराम्ररी गाँजिदिन्छ हाम्रो मथिङ्गल । कुनै समय त्यसरी नै छिर्‍यो पितृवाद र सुरु भयो दमनपूर्ण समय । पितृतन्त्रको दोहन शृङ्खलामा धूलीमाटी भएका महिलाहरू अन्ततः प्वाल–विम्ब हुन पुगे ।

प्वाल विम्ब र बेखबर योद्धाहरू

एक हूल अन्धा

उत्सुक छन्

आइमाईको स्वरूप थाहा पाउन

...

अर्को

सृष्टिको अगम्य– स्थल योनिको

अर्द्ध–रहस्य थाहा पाएर

उफ्रिँदै चिच्याउँछ–

‘ए सुन सुन

आइमाई भनेको जाबो एउटा प्वाल रहिछ’

(वानीरा गिरि, ‘आइमाई’ (‘अन्धा र हात्ती’ को कथामा आधारित)

समाज–दृष्टिले खुट्याएको ‘जाबो एउटा प्वाल’ हुनु महिला भोगाइको सबभन्दा संवेदनशील र चोटिलो पक्ष हो । पितृवादको नजरले उनीहरूलाई प्वालभन्दा अरू देखेन/देख्दैन, जसको प्रहारले सख्त घाइते छन् महिलाहरू । प्वाल–चिन्तनको सिकार हुनुपूर्व महिलाहरू लडाकु थिए । उनीहरू स्वतन्त्र थिए । योद्धा थिए । त्यसैको एक चोइटा उछुट्टिएको थियो लेसियाको अभिव्यक्तिमा– ‘हामीलाई सहानुभूति होइन हतियार देऊ ।’

युक्रेनी मित्र लेसियाले आफ्नो फेसबुक स्टोरीमा लेखेका यी शब्दले म स्तब्ध रहेँ । रसियाले युद्ध छेडेको केही दिनमै उनको यस्तो धारणा आएको थियो । सायद उनी वाक्क थिइन् सबैका सहानुभूतिपूर्ण शब्दले । प्रत्येक दिन उनी ध्वस्त पारिँदै गरेको आफ्नो सहरको तस्बिर राख्छिन् । मसँगको एक संवादमा उनले भनेकी थिइन्, ‘हामीभित्र आक्रोश, पीडा र क्षतविक्षतपना छ । देशको माया त कति छ कति !’

युद्धमय छ युक्रेनी वसन्त । उनीहरू विरोधाभासपूर्ण युद्ध लड्न बाध्य छन्, आफ्नैसँग । कोभिड–१९ को कब्जाअघि नयाँ वर्षको एक जमघटमा लेसियासँग मध्यरातसम्मै धूवाँदार वादविवाद चलेको थियो । गफगाफको विषयान्तर हुँदै अन्ततः रसियाली नरनारीले जर्मनसँग लडेको गौरवपूर्ण इतिहासका केही पाटा खोतलिएका थिए । युक्रेनी समाजमा रहेका कतिपय कट्टरपना र अवकाशप्राप्त सेनाधिकृत बाबुको अनुशासन–घेराभन्दा टाढा रहन उनले विदेशको बाटो पहिल्याइन् । केही वर्ष चीनमा काम गरी नेपाल पसेकी लेसियाका निम्ति युद्ध केवल इतिहास थियो ः एक बेखबर क्षेत्र । उमेरले उति काँचो नभए पनि लहडेपना भारी थियो उनीभित्र । सामाजिक सरोकारहरूबाट विच्छेदित केवल आफ्नो स्वतन्त्रतालाई केन्द्रमा राख्ने युवती थिइन् उनी । तथापि आज उनको समय फरक छ । उनी वर्चस्ववादी छिमेकको बलमिच्याइँको परिणति भोगिरहेको देशको नागरिक ! कोमलताका सारा लेपनबाट मुक्त एक खरो युवती ! र, पितृवादको ‘प्वाल’ विम्बबाट टाढा एक लडाकु भएकी छन् उनी ।

विस्मृतिमा ती योद्धा

महिला लडाकु प्रजाति होइन भन्छन् कोही भने अलिकति कुवादृश्यबाट आँखा उठाए पुग्छ (अभिलेखनमा नपर्नु फरक विषय हो) । हुन त वीरता, साहस र जितको वकालत गर्ने युद्ध केवल पुरुष क्षेत्र मानिन्छ । तर, महिलाहरूले पनि कैयौँ युद्ध लडेका थिए । ज्यान दिएका थिए उनीहरूले आफ्नो जन्मभूमिको रक्षार्थ । बगाएका थिए रगत । तथापि देशभक्ति र वीरगाथाबाट उनीहरू सधैँ विमुख भइरहे । युद्धको ग्लोरिफिकेसनमा महिला सधैँ बेवास्ताले डामिए । त्यसकारण लिङ्गपिभेदी छ युद्ध इतिहास । दोस्रो विश्वयुद्धमा हिट्लरको जर्मन फौजविरुद्ध वीरतापूर्वक मैदानमा उत्रिएका लाखौं रसियन महिलाको इतिहास गुमनामप्रायः छ । नोबल पुरस्कारबाट सम्मानित बेलारुसियन लेखक स्वेटलाना एलेक्सेइभिचको पुस्तक ‘द अनउमनली फेस अब वार’ भने एक गतिलो दस्तावेज बनेको छ ।

प्रत्येक युद्धसँग प्रत्यक्ष–परोक्ष रूपमा जोडिने महिलाका भोगाइ ज्यादै चोटिलो छ । तर, उनीहरू इतिहासका पानाबाट बेदख्खल छन् । सुस्यान आस्मानले उल्लेख गरेको ‘पोलिटिक्स अब मेमोरी’ जहीँतहीँ लागू हुन्छ । चाहेको कुरा सम्झनु र अन्यमा मौन रहनु हो सम्झनाको राजनीति । पितृसत्तात्मक मनोविज्ञानले महिलालाई भोगको क्षेत्र या सुन्दरताका अनेक उपमा भन्दा पर देख्दैन । उनीहरूका योगदानले खास अर्थ राख्दैनन्, तब किन कसैले सम्झिरहने झन्झट गरोस् । स्वेटलाना विस्मृतिको गर्तमा थन्क्याइएको युद्ध इतिहास खोतल्छिन् । चौथो इसापूर्वमा ग्रिकको एथेन्स र स्पार्टाको सैनिक भई महिलाहरू लडेका थिए । उनीहरूले एलेक्जेन्डर द ग्रेटको क्याम्पियनमा पनि भाग लिएका देखिन्छ । स्लाभिक महिलाहरू आफ्ना बाउ र लोग्नेहरूका साथ लागेर युद्ध लडेका प्रमाण भेटिएको दाबी गर्छन् रसियन इतिहासकार निकोलाई कारामजिन । इस्वी संवत् ६२६ मा कन्सट्यानटिनोपल हात पार्दा ग्रिकहरूले बग्रेल्ती स्लाब महिलाहरूको लास भेटेका रहेछन् । यसले युद्धमा महिला सामेल भएको प्रमाणित गर्छ ।

स्वेटलानाका अनुसार, आधुनिककालमा इङ्ग्ल्यान्डले पहिलो पटक सन् १५६० देखि नै अस्पतालहरूमा महिला सैनिकलाई खटाएका थिए । पहिलो विश्वयुद्धमा भने बेलायतले रोयल एयर फोर्समै महिलाहरू लिन थाले । रसिया, जर्मनी र फ्रान्समा पनि धेरै महिलाले सैनिक अस्पताल, एम्बुलेन्स र ट्रेनहरूमा काम गरेका थिए । दोस्रो विश्वयुद्धमा महिला सैनिकहरूले अस्पतालमा मात्र नभई युद्धमैदानको अग्रपङ्क्तिमै रहेर साहसपूर्वक लडेका थिए । युरोप र अमेरिकाको भन्दा दोब्बर, दसौं लाखको संख्यामा थिए रसियाली सेनामा महिला । महिला यौनिकतासँग जोडिएका सम्पूर्ण भ्रमलाई चिरेर रसियन महिलाले जर्मन सेनाविरुद्ध लडाइँ लडे । युद्धका जहाज उडाए, सार्प सुटर भए, मेसिन गनर, ट्याङ्क ड्राइभरदेखि, प्लाटुन सम्हाल्ने काम गरे । युद्ध मैदानको पहिलो पङ्क्तिमा उभिएर छातीमा गोली थापे देशका लागि । स्वेटलाना उप्काउँछिन् मारिया मोरोजोभाको युद्ध–समय, जो एक करपोरल स्नाइपर (सुटर) थिइन् ।

टाढा कतै लुकेर शत्रुमाथि निसाना लगाउनु थियो उनको काम । छलेर मार्नु थियो मानिस उनले । महिलाले यस्तो काम गर्न सक्छन् ? टाउको रन्थनिन्छ । सक्छन् । युद्धमा धेरै विषय सामान्य मानिन्छन् । उनी युद्धमैदानमा उत्रिने बेलासम्म उनको गाउँमा कुनै केटै बाँकी थिएन । उनका बुबा पनि लडाइँमै थिए । उनी अठार पनि पुगेकी थिइनन्, जब युद्ध सुरु भयो । र, एक दिन कोमसोमोल (कम्युनिस्ट युवा लिग) बाट उर्दी आयो, मातृभूमिको रक्षार्थ लड्न । त्यसबखत मस्को जर्मनले लिने खतरा बढिसकेको थियो । हिट्लरको फौज मस्को नजिक पुग्न लागेको थियो । उनी आफ्ना कलिला साथीहरूसँगै युद्धमा जान तयार भइन् । युद्ध मैदानको अग्रपङ्क्तिमा उत्रिएको केही समयपछि नै उनी खतरनाक निसानाबाज बनिन् । उनले धमाधम शत्रुलाई आफ्नो निसानामा पारिन् । युद्धविराम हुने बेलासम्म उनले निसाना लागाएकाहरूको संख्या पचहत्तर पुगिसकेको थियो ।

बाफ रे ! कल्पनाभन्दा पर छ उन्नाइस वर्षकी युवतीको अनुभव । तथापि युद्धकालमा सबै सम्भव हुने रहेछ । आफ्नै देशतिर फर्कौं अब । दसवर्षे ‘जनयुद्ध’ मा सामेल एक योद्धा हुन्– टोटला तामाङ (नाम परिवर्तन गरिएको) । काभ्रेकी टोटला तामाङ तेह्र वर्ष मात्रै टेक्दै थिइन्, जब उनी भूमिगत भइन् । देशमा दिनानुदिन दन्किँदै गरेको सशस्त्र द्वन्द्वको चपेटामा नमोबुद्धलगायत काभ्रेका अन्य क्षेत्र विमुख रहने कुरै भएन । दिनमा आउने सेना र रातमा आउने लालसेनाको दोहोरो मारमा परेका गामवासीको जीवन मुस्किलको भूमरिमा पर्‍यो । समयसमयमा हुने सेनाको धरपकड, ज्यादती र आँखैअघि सुराकीका नाममा छिमेककै दिदीलाई टिपी लगेका घटनापछि त्यस गाउँका धेरै किशोर–किशोरी भूमिगत भए । त्यस निर्णयको पछाडि बेलाबखत जङ्गलबाट गाउँ छिरी विभेदपूर्ण निरङ्कुश शासन व्यवस्थाविरुद्ध गरिने भाषण र समानतामा आधारित न्यायपूर्ण समाज निर्माणको पक्षमा लाग्न गरिने आह्वानले निकै ठूलो भूमिका खेलेको थियो । भूमिगत अवस्थामा उनी पार्टीले खटाएका विभिन्न कामका लागि काभ्रे, मकवानपुर, दोलखा, ललितपुरतिर आउजाउ गर्थिन् । त्यसबीच उनले हतियार चलाउनेदेखि युद्धसम्बन्धी अनेक प्रशिक्षण पाइन् । उनको कलिलो दिमागमा युद्धको उच्छवास छचल्किन्थ्यो । समाज परिवर्तनका लागि मर्न–मार्न केहीजस्तो नलाग्ने भयो । उनी २०६१ साल असोज अघिसम्म जम्मा ६ वटा लडाइँमा सामेल भइन् । मकवानपुरको झुरझुरे, काभ्रेको पनौती, सिन्धुपाल्चोकको ठोकर्पा, चौतारालगायतमा भएका लडाइँमा उनी थिइन् । युद्धमैदानको रक्तमुछेल समय, मृत्युका अनेक रूप छायासरी आफैंसँग हिँडिरहने समयमा केवल उत्पीडनमा परेका जनताको मुक्तिको अभिलासा थियो । डर, त्रास, भय मनमा खेल्ने समय नै थिएन ।

मारियाको निसानामा पचहत्तर जना परे, अनि टोटलाको नि ?

भन्छिन्, ‘युद्धमा कति मारियो या घाइते पारियो भनेर गनी बस्ने समय कहाँ हुन्छ !’

...

माथि उल्लिखित पात्रहरू देशरक्षाका निम्ति या न्यायपूर्ण समाजका लागि लडेका आम महिला हुन् । आज त्यसै लहरमा सामेल हुने तरखरमा छिन् लेसिया । यदि समयमै रसिया र युक्रेनबीच युद्धविराम भएन भने उनी पनि देशरक्षाका लागि सेनासरह हतियार बोकी मैदानमा उत्रनेछिन् ।

युद्धमा सामेल महिलाका विषय उठाउँदा आम महिला मात्र नभई दरबारका महारानीहरूको पनि सम्झना गर्न आवश्यक छ । उनीहरू भौतिक युद्धमा मात्र नभई षड्यन्त्रकारी युद्धमा पनि उत्तिकै सामेल हुन्थे । नेपालका धेरै महारानीले बालकराजाको संरक्षक भई देशको वागडोर सम्हाल्नेदेखि दरबारभित्र सधैँ चलिरहने षड्यन्त्रसँग डटेर सामना गरेका थिए । तर, प्रायः रानीहरू दरबारिया भाइभारदारको शक्तिलिप्साको गोटी बनेका पाइन्छन् । आवश्यकतामा प्रयोग गरी काम तमाम भएपछि उनीहरूलाई निर्वासनमा लखेटिएका घटना प्रशस्त छन् । आफ्नै पति र भारदारबाटै रानीहरू षड्यन्त्रको सिकार हुन्थे । बेलायतकी रानी एनी बुलेनले सन् १५३६ मा आफ्नै प्यारा पति राजा हेनरी आठौँबाट मृत्युदण्ड पाएकी थिइन् । शक्तिको दुरुपयोगले निम्त्याएका जघन्य अपराधहरूमा बरम्बार महिला दपेटिएका छन् ः चाहे ती रानी हुन् या आम महिला । नेपालमा पनि कतिपय महारानीलाई सिध्याउने अनेक चालबाजी र दमनपूर्ण परिघटना भएका छन् । हेलम्बुतिर खाली खुट्टै लखेटिएकी महारानी राजराजेश्वरीलाई राजा रणबहादुरको मृत्युपश्चात् काठमाडौँ बोलाएर बाटैमा जलाइएको थियो, सती बनाएर (इतिहासकार बाबुराम आचार्य) । कूटनीतिक र साहसी महारानी राजराजेश्वरी भाइभारदारको झेलमा परेर पोलिएकी थिइन् । जगजाहेरै छ, सतीप्रथा पितृसत्तावादकै एक दमनकारी व्यवस्था थियो । हतियारसहितको युद्ध मात्र नभई संस्कारगत युद्धहरू लड्दै अघि बढेका महिला विजयी झन्डा फहराउन नपाउँदै पितृसत्ताको भासमा परिरहेका छन् ।

फेरि एक पटक स्वेटलानाले उप्काएको युद्ध इतिहास नियालौं– जर्मनबाट आफ्नो देश जोगाउन ६ वर्षे युद्धकालमा रसियन महिलाहरूले दिएको योगदान युद्ध सकिएसँगै ओझेलियो । सकियो उनीहरूको साहसको कथा । कसैले लिनै चाहेनन् उनीहरूका नाम । अझ दुःखलाग्दो त के भने युद्धमैदानमा उनीहरूका साहसको बखान गरी नथाक्ने पुरुष सहकर्मीहरूले युद्धपश्चात् उनीहरूतिर तिरस्कारपूर्ण नजर हुत्याउन थाले । वीरतापूर्वक लडेका ती महिला समाजको नजरमा अनेक पुरुषको संसर्गमा बसेकी बेकम्मा र बाइफाले आइमाईमा कायान्तरित भए । फेरि एक पटक नराम्ररी पितृसत्ता जुर्मुरायो र हमला गर्‍यो उनीहरूको अस्तित्वमाथि । पितृवादले निर्माण गरेको असल र इज्जतदार महिला छवि अघिल्तिर उनीहरूको राष्ट्रसेवा र बलिदानी केवल एक दागमा परिणत भयो । पुनः उनीहरू ‘प्वाल’ मा परिणत भए ।

अब तपाईंहरू नै छिनोफानो गर्नुस्, के राजराजेश्वरी, मारिया, लेसिया र टोटला केवल प्वाल–विम्ब हुन् ?

प्रकाशित : चैत्र १२, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?