कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वासु शशीको खुला प्रेमपत्र

मृत्युलाई रोमान्स ठान्ने वासु शशी जीवित रहेका भए अहिले ८५ वर्षका हुन्थे । जीवनसङ्गिनी जुलुम वैद्यलाई वासु भरे आउँछन्, भोलि आउँछन्जस्तो लागिरहन्छ । भनिरहेकी छन्, ‘मलाई त उहाँ नभएकोजस्तो लाग्दैन । कतै घुम्न गएजस्तो लाग्छ ।’ जुलुम कोठा सजाउन छाड्दिनन्, खानाको भाग नछुट्याउन मनै मान्दैन । प्रतीक्षामा संघार कुरिरहन्छिन्, बत्तीमा तेल थप्न छोड्दिनन् ।
राजकुमार बानियाँ

त्यसै भनिएको होइन, वासु शशीले कविता मात्र लेखेनन्, कवितै बाँचे । र, त हाकाहाकी भन्न सके– ‘मसँग मसी भएन भने रगतले कविता लेख्छु ।’

वासु शशीको खुला प्रेमपत्र

मसी नभए रगतले कविता लेख्ने दुस्साहस कसको हुन्छ ? सिर्फ वासु शशीजस्ता असाधारण कविको । जसलाई कलमको मसी सकिए पनि पर्वाह छैन, रगतले पनि कविता लेख्न सक्छन् ।

समालोचक कुमारबहादुर जोशीका शब्द सापटी लिने हो भने कविता बाँच्ने मानिसहरू महाकवि देवकोटाजस्ता हुन्छन्, अथवा कवि भूपी वा शशी वा हरिभक्त, कालीप्रसादजस्ता हुन्छन् । उनीहरू जस्तो कविता लेख्छन्, त्यस्तै जीवन बाँच्छन् ।

साँच्चै वासु शशीको जीवन आफ्नै कविताजस्तो थियो । कविता रच्ने मात्र नभएर कविता बाँच्ने कवि । शशी स्वयम् कविता हुन् । सहृदयी, निश्छल, भावुक, संवेदनशील, तर अस्तव्यस्त र अव्यावहारिक पर्सोना ।

कविता र वासु शशीबीच कुनै दूरी रहेन । उनले जीवन बुझ्ने सुन्दरतम साधन कवितालाई नै बनाए । जीवनका सुखानुभूति र दुःखानुभूति कवितामै पोखे । उनका कविताका हरेक हरफमा मानिसका सूक्ष्म संवेदना चलमलाइरहेका देखिन्छन् ।

सम्पूर्ण कवि हुन् शशी । भित्र पनि कवि, बाहिर पनि कवि । देखिने पनि कवि, नदेखिने पनि कवि । असल कविमा असल गुण भेटिन्न भन्छन् । तर, उनका कविताले जीवनका शाश्वत मूल्य र मान्यताको खोजी गरेका छन् । सुकुमार विचार र तीव्र सौन्दर्यमार्फत उनले काव्यको चुली भेट्टाएका छन् ।

साहित्यकार दौलतविक्रम विष्ट शशीलाई ‘लर्ड वाइरन’ भन्दा रहेछन् । किनभने कविताको रोमान्टिक स्वर उनमा अटेसमटेस छ । उनका नवीनतम वैयक्तिक विम्बहरूले कवितामा मिठास, माधुर्य र लालित्य भरेका छन् ।

शशीका लागि मानिस नै सबथोक हो । सृष्टिको आश्चर्यलाग्दो कुनै कुरा छ भने त्यो पनि मानिस नै हो । मानिसलाई मानिस नभई हुन्न । मानिसलाई मानिसको माया नभई हुन्न । मानिसले पुज्ने मानिसै हो । भगवान् भनेको पनि मानिस नै हो ।

मानिसको खराब पक्षबाट पनि यी कवि आहत छन् । उनी काव्यिक कामना गर्छन्– मानिसले मानिसलाई नबिगारे पनि हुन्थ्यो । मानिसले मानिसलाई दिएको कष्ट सबभन्दा बढी कष्टकर हुन्छ । जीवन सुन्दर छ, घृणित नबनाए पनि हुन्थ्यो । ईश्वर पनि मानिसै भइदिए उसलाई साथी बनाउने उनको उद्घोष छ ।

‘ईश्वर छ, छैन भन्ने थाहा पाएर हामीलाई के हुन्छ ? विश्वास र अविश्वासको कुनै प्रश्न छैन । म ईश्वरबिना पनि बाँच्न सक्छु,’ उनी भन्छन्, ‘यदि ईश्वर छ भने त्यो जरुर मानिसले बनाएको हो ।’

इतिहास पल्टाउँदा २००७ सालको क्रान्तिपछि मानवीयतालाई महत्त्व दिएर लेख्ने अठोट गरे नेपाली कविहरूले । वासु शशीजस्ता कविले यस महाभियानलाई नसकार्ने कुरै भएन । अर्नेस्ट हेमिङ्वेको जस्तो भाषा, वाल्ट ह्विटम्यानको जस्तो चेतना, रवीन्द्रनाथ ठाकुरको जस्तो अध्यात्मको त्रिवेणीमा शशी सिर्जनाको संसारमा पसे ।

वासु शशीका कविताको डीएनएमा बिछट्टको मानवतावाद छ । आफ्नो युगको अग्रदूतका रूपमा कवितामार्फत उनले शान्ति, सौन्दर्य, प्रीति, सद्भाव एवं लोकमंगलका अमर सन्देश दिएका छन् ।

हुन त बुद्ध, मार्क्स, गान्धीसम्मले मानवताकै पक्ष लिए । त्यसको काव्यिक प्रयोग भने बीसौँ शताब्दीमा शशीजस्ता कविहरूले गरे । विचार भन्दैमा उनले कसैको कुम्लो बोकेनन्, आफ्नै मौलिक विचारलाई कविताको पहिरन दिए ।

हुन पनि बीसौँ शताब्दीको अनुभव सुखद रहेन । ठूलठूला युद्ध, क्रान्ति, परिवर्तन र उथलपुथल भए । त्यही समयको छाया छ शशीका कवितामा । त्यहाँदेखि नानो टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स आदिको समयसम्म पनि अतिवाद, आतङ्कवाद, शक्तिपूजन, धार्मिक कट्टरपन्थ, अन्ध राष्ट्रवाद, भ्रष्ट राजनीतिक पद्धतिको जगजगी रहेकाले शशीका कविता अझ सान्दर्भिक भएका छन् ।

शशीको काव्यिक उद्देश्य प्रत्येक मानिसको गरिमाको स्थापना गर्नु हो । त्यसैले उनका कविता हदैसम्म मानवीय, करुणामय, प्रेममय र शालीन छन् । आवेग, स्वार्थ, लोभ र हिंसाका एकलकाँटे विचारलाई उनी अस्वीकार गर्छन् । मानवीय गुण, पद्धति र संस्कारको आकाङ्क्षा राख्छन् । पूर्ण, स्वस्थ र सिर्जनशील मानिस उनको आदर्श हो ।

मानवतावादको दार्शनिक धरातल विशाल छ । धर्म, राष्ट्र, सिद्धान्त, जातभन्दा माथि उठेर गरिने व्यवहार नै मानवतावाद हो । शान्ति, एकता र सहयोगात्मक भावना यसका मूलमन्त्र हुन् । मानवतावादले मानवजातिको एकतामा मात्र जोड दिँदैन, मानिसलाई अझ संवेदनशील, कल्पनाशील र सिर्जनशील बनाउँछ ।

कताकता शशीका कविताले मानवतावादको बढाइचढाइ गरेजस्तो लाग्न सक्छ । तर, मानव जातिको भविष्यप्रति चिन्ता जनाउँदै आलोचनात्मक दृष्टिकोण राख्नु कविको धर्म हो । कुनै पनि मानवतावादीले अन्यायपूर्ण युद्धको स्वागत गर्नै सक्दैन । उसले आशाको दियालो बालेर भोलिको सुन्दर संसारको परिकल्पना गर्छ नै ।

शशीका गद्यशैलीका कविता कुनै अत्यन्त लघुकायाका छन् भने कुनै खण्डकाव्य स्तरका । छिमेकी भारत र चीनबीचको युद्धको पृष्ठभूमिमा लेखिएको कविता ‘बीसौँ शताब्दीको गीत’ लामो काव्यको उदाहरण हो ।

वासु शशी आणविक शस्त्रास्त्र र ध्वंसको तीव्र भर्त्सना गर्छन् भने सङ्कीर्ण राष्ट्रवादलाई धिक्कार्छन् । किसान र मजदुरलाई मानवीय सभ्यता र संस्कृतिको सक्कली स्रष्टा मान्छन् । उनका लागि देश पहिरोमा भत्कँदैन, खोलानालामा सुक्दैन, हिउँमा कक्रिँदैन, देश बगरमा किल्चिलाउँदैन, मानिसको दिलमा भत्किन्छ, मानिसको आँतमा सुक्छ, मानिसको जीउमा कक्रिन्छ, देश मानिसको मस्तिष्कमा किल्चिलाउँछ । मानिसको मनमा मच्चिएको भूकम्पमा भताभुङ्ग हुन्छ । अनि त कवि लेख्छन्, ‘देश अर्थात् देश खोइ ?’

कवि के भन्छन् भने यो देशमा दुइटा हिमालय छन्, एउटा हिउँको, अर्को मानवीय दुःख र दरिद्रताको । उनी व्यथित भएर भन्छन्, ‘दुःख पनि बिक्दो हो त म बडो सुख पाउँथेँ ।’ उनको प्रश्न छ, ‘देश नागरिकको हो कि एउटा बजार मात्रै हो ? वा पसलहरूको समूह मात्रै हो ?’ उनका लागि मानिसहरू चिरागभन्दा उज्याला हुन्, मानिसहरू प्रेमभन्दा महान् हुन्, मानिसहरू सत्यभन्दा महान् हुन् ।

शशी के पनि भन्छन् भने मानिस सबभन्दा बढी मानिसकहाँ जान चाहन्छ, मानिसले मानिसलाई मन पराउनुजस्तो सुन्दर अरु केही छैन । मानिस र मानिसको सम्बन्धजस्तो मधुर अरू केही हुन पनि सक्दैन । खतरनाक तब हुन्छ, जब मानिसलाई मानिस होइन, मालसामान भए पुग्छ ।

कविको दृष्टिमा मानवीय संवेदनालाई बचाउने सर्वोत्तम माध्यम साहित्य, कला र सङ्गीत नै हुन् । यिनले मानिसको मन र मस्तिष्कलाई परिमार्जित र सुसंस्कृत तुल्याइदिन्छन् । उनी जहिल्यै सरलताको पक्षपाती देखिए । शशीको दृष्टिमा सरलता नै सुन्दरता हो । तर, दुर्बोध्यता विशिष्टता र अपराध दुवै होइन ।

स्पष्टता स्वयम्मा सौन्दर्य र आकर्षण हो । त्यो शशीका कवितामा छ । साहित्य जति मात्रामा क्लिष्ट हुन्छ, त्यति नै मात्रामा त्यो साहित्यकारको असफलता हुन जान्छ । कवितालाई बोधगम्य तुल्याउन कविले चानेचुने परिश्रम गरेर पुग्दैन । जसरी आगोले मूर्खलाई पनि पोल्छ, विद्वान्लाई पनि पोल्छ, त्यसरी नै साँचो साहित्य सबैका लागि हुन्छ ।

मानिसलाई अचाक्ली माया गर्ने शशी प्रेमिल कवि हुन् । उनका कवितामा प्रेम रसात्मक अभिव्यक्ति छ । मानिसका लागि खुला प्रेमपत्रजस्तै छन् शशीका कविताहरू । उनी भन्छन्– प्रेम नहुनुजस्तो कुरूपता केही हुन सक्दैन । आमाको मृत्युपछिको एक्लोपनले वासुदेव वैद्यलाई वासु शशी बनायो । र, ‘पानी गल्दैन’ जस्तो सुन्दर काव्य लेखे । छोरा नीरज अमेरिका गएको प्रसंगमा लेखे, ‘घर छाडेर जानेले घरै लिएर गएछ, कोठा, चोटा, छतहरू बाँकी छाडेर घरचाहिँ लिएर गएछ ।’

खासमा समयको प्रतिध्वनि छ शशीका कवितामा । नागर जीवनका अनिश्चितता, कोलाहल, त्रासदी, हाहाकार, दौडधुप, बेफुर्सदी, रक्तपातको मार्मिक अभिव्यक्ति छन् । व्यक्तिजीवनका झिझ्याट, हैरानी, असन्तोष र उदासीनताको तीतो र खल्लो अनुभव पनि छ । सामाजिक जीवनमा आएका उल्टोसुल्टो र घातप्रतिघातलाई सोहोरेर उनले कविता लेखेका छन् ।

कतिपयलाई लाग्न सक्छ, वासु शशी लहडी र मनमौजी कवि हुन् । तर, उनी विचारका कवि हुन् । शैली मात्र समात्ने लेखकहरूलाई उनी असफल ठान्छन् । विचार नसमातेका कविता बाँच्दैनन् भन्ने लाग्छ । उनी लेख्नु पहिल्यै ‘थिम’ थाहा नपाउने लेखक हुन् । थाहा पाउनु नै पुरानो हुनु हो उनका लागि । उनी थाहा नपाइसकेका कुरा लेख्छन् । जब लेख्छन्, तब बुझ्छन् । बुझिसकेर लेख्दैनन् ।

प्रत्येक कविको आफ्नै शैली हुन्छ, त्यही शैलीबाटै लेखक अरूका सामु अभिव्यक्त हुन्छ । वासु शशी शाब्दिक जञ्जाल र भाषिक कृत्रिमतामा कहिल्यै फसेनन् । जीवनलाई अलग राखेर सिर्जना गरेनन् पनि । जीवनकै छेउछाउ हिँडिरहे डरलाग्दोसँग ।

हिजोआजका कविहरू कविताका नाममा कुण्ठा लेख्छन् । वासु शशीचाहिँ कुण्ठाको उदात्तीकरण गर्छन् । आत्मपीडा, प्रणयभाव, प्रकृतिप्रेमका भावधाराले उनी निथ्रुक्कै छन् । यस्तो लाग्छ, रूखका साथी चरा हुन्, चराका साथी रूख हुन् । चरा र रूख दुवैका साथी वासु शशी ।

लाग्छ, बहुविधामा रमाएका शशी बाँच्नभन्दा लेख्न मन पराउने कवि छन् । यी विश्वप्रेमी हरेक क्षण बालक भइरहन चाहन्छन् । शशीको शक्ति के पनि हो भने समकालीन सबै मित्रलाई आफ्नै टेबलमा ल्याए । पर्खालबिना पनि सबैसँग रहने जीवन दर्शन थियो उनमा । पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ भन्ने चेतना त्यसकै भावपूर्ण दृष्टान्त हो । उनका सम्पादक दाजु गोविन्द वैद्यले भनिरहे, ‘पहिले म कवि थिएँ, कविता लेखेँ पनि । मैले छाडेँ, वासुले समातिरह्यो । ऊ ठूलो कवि बन्यो, म सानो पत्रकार बनेँ ।’

वासु शशी कुनै पद वा पुरस्कारका कारण कवि भएका होइनन् । आफ्नो ५७ वर्षे जीवनमा उनले ती चिजको सामान्य स्पर्शसमेत पाएनन् । पुरस्कारले साहित्यकारलाई भिखारी र पुरस्कार गुठीका पदाधिकारीलाई व्यापारी बनाएको उनलाई बोध थियो ।

प्रजातन्त्रको पुनरागमनपछि बनेको नयाँ प्रज्ञाप्रतिष्ठानमा उनीजस्ता असली प्राज्ञ अटाएनन् । रेडियो नेपालमा सल्लाहकार बन्ने हल्ला मात्रै सुनियो । राष्ट्रिय सभाको सांसद बन्न सिमलावासी जगदीशशमशेर नै चाहियो ।

मृत्युलाई रोमान्स ठान्ने वासु शशी जीवित रहेका भए अहिले ८५ वर्षका हुन्थे । उनको प्रस्थान अपर्झट भयो, कुनै सङ्केत नै नगरी । त्यसैले त उनकी जीवनसङ्गीनी जुलुम वैद्यलाई यतिका वर्षसम्म पनि वासु शशी नभएजस्तो लाग्दैन । भरे आउँछन्, भोलि आउँछन् जस्तो लागिरहन्छ । उनी भनिरहेकी छन्, ‘मलाई त उहाँ नभएकोजस्तो लाग्दैन । कतै घुम्न गएजस्तो लाग्छ ।’

काव्यमा वासु शशीको मृत्यु स्वीकार्य छँदै छैन । उनका कविताले शशीको आभास दिलाउँछन् नै । त्यसैले जुलुम कोठा सजाउन छाड्दिनन्, खानाको भाग नछुट्याउन मनै मान्दैन । प्रतीक्षामा संघार कुरिरहन्छिन्, बत्तीमा तेल थप्न छोड्दिनन् ।

उनी मात्र किन ? साहित्यकार परशु प्रधानका औँला अझै पनि टेलिफोन नं ४७१७६० मा अनायास जान्छन् । शशीको पुरानो घरमा लोकल रक्सी र मासुचिउरा खाएको क्षण आलै छन् । आखिर वासु शशी भनेको ढुङ्गाभन्दा बूढो पनि होइन । हावाजस्तो पनि हलुका होइन ।

तर, समयको खेल, ज्ञानु भण्डारीले भने/सुनाए– बासे त कार्गो भएर आयो ! क्यान्सरले आखिर जहाजको बाकसभित्र पार्सल बनाएर पठायो उनलाई । लाग्छ, यी यशस्वी कविले महाप्रस्थान गरेकै छैनन् । उनी त आफ्ना रचनाहरूमै छेलिएका छन् । फेरि कतै न कतै देखिइहाल्छन् ।

प्रकाशित : चैत्र १२, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?