विरोधाभास : सांस्कृतिक भिजिटिङ कार्ड

प्राचीन भारतमा पाँच प्रकारका असमानता थिए – दासता, वर्ण, जात, लिंग र अस्पृश्यता । दासता आर्थिक र राजनीतिक अधिकारसँग सम्बन्धित अवधारणा हो ।
राम लोहनी

प्राचीन भारत’ नामले हालको भारतको राजनीतिक सीमालाई मात्र जनाउँदैन । हिमालयको दक्षिण, दक्षिण पूर्व र उत्तर पश्चिमको अफगानिस्तानसम्मको भूगोल यसले समेट्छ । आधुनिक मानवको यस उपमहाद्वीपमा भएको बसोबासको इतिहास मूलतः दुईवटा स्रोतमा निर्भर छन्– लिखित ग्रन्थ तथा अभिलेख र भौतिक संस्कृतिका अवशेष । भौतिक संस्कृतिको विश्लेषणले जनजीवनको भौतिक पाटोलाई त उजागर गर्छ, तर सामाजिक तथा राजनीतिक पक्ष प्रस्ट पार्दैन । लिखित पाठहरूले स्वाभाविक रूपले शासक र सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने हुँदा सिंगो समाजको चित्र त्यसले पनि प्रस्तुत गर्न सक्दैन । तर, पनि इतिहासको कथ्य यिनै प्राथमिक स्रोतहरूमा निर्भर रहनुको विकल्प छैन । त्यसैले उपिन्दर सिंह भन्छिन्– ‘इतिहासको परिशीलनका लागि प्राथमिक स्रोतहरूको सावधानीपूर्वक परीक्षण, विवेकको सम्यक् प्रयोग, कठोर विश्लेषण र वस्तुपरकताको सचेत प्रयास आवश्यक पर्छ ।’

विरोधाभास : सांस्कृतिक भिजिटिङ कार्ड

उपिन्दर सिंह प्राचीन भारतको इतिहासमा एक आधिकारिक व्यक्ति हुन् । इतिहासको कथ्य निर्माणमा ग्रन्थ–अभिलेखको साथै पुरातत्त्व र तत्कालीन समयका कलात्मक सिर्जनाको पनि उत्तिकै सहयोग लिनुपर्ने सिंहको धारणा छ । भर्खरै उनको ‘एन्सन्ट इन्डिया : कल्चर अफ कन्ट्राडिक्सन्स’ नामको किताब प्रकाशित भएको छ । यो पुस्तक प्राचीन भारतको सिलसेलवार इतिहास होइन । पुस्तकमा सिंहले पाँचवटा अन्तर्विरोधी प्रकरणको छनोट गरेकी छन् । हरेक प्रकरण (थिम) भित्रका विपरीत ध्रुवीय भावहरू उपमहाद्वीपको संस्कृतिमा अनौठो ढंगले समानान्तर, तर परस्पर सम्पूरक भएर आजपर्यन्त प्रभावकारी रहिरहेका छन् ।पुस्तक मूलतः इसापूर्व ६०० देखि सन् १००० बीच विकसित दार्शनिक, साहित्यिक र कलात्मक उपलब्धिहरूमा आधारित छ । विषयको स्रोत पर्गेल्ने क्रममा प्रमाण बटुल्न र उपर्युक्त प्रकरणको अविच्छिन्नताको पुष्टि गर्न लेखक आवश्यकताअनुसार इसापूर्व ६०० अघिका वैदिक तथा हरप्पन सभ्यता र सन् १००० पछिका समयमा पनि विचरण गर्न पुग्छिन् । पुस्तक परिचय र एपिलोगसहित पाँच थिमका लागि एक एक पाठ गरी सातवटा पाठहरूमा विभाजित छ ।

असमानता र मुक्ति

प्राचीन भारतमा पाँच प्रकारका असमानता थिए– दासता, वर्ण, जात, लिंग र अस्पृश्यता । दासता आर्थिक र राजनीतिक अधिकारसँग सम्बन्धित अवधारणा हो । वर्ण एउटा धार्मिक अवधारणा हो, जसले वंशानुगत वर्ग विभाजनलाई सैद्धान्तीकरण गर्छ । जात व्यवस्थाले रक्तशुद्धिलाई जोड दिएर स्त्रीको प्रजनन र यौनिकतालाई नियन्त्रण गर्ने प्रयास गर्छ । संस्थागत असमानता साहित्यमा पनि प्रतिविम्बित भएको छ । नाटकहरूमा उच्च जाति र कुलीनहरूका संवाद संस्कृतमा हुन्थे भने महिला तथा तल्ला वर्गका संवाद प्राकृतमा हुन्थे ।

दासहरूले ग्रीस, रोममा जस्तो प्राचीन भारतमा कुनै विद्रोह गरेनन् । व्यक्तिगत रूपमा दासहरू दासत्वबाट मुक्त हुन सक्थे । सामाजिक असमानतालाई हटाउने कुनै संस्थागत प्रयास पनि भारतीय इतिहासमा भएन । उपनिषद्कालमा ज्ञान तथा भक्तिमार्गको विकल्प खडा भयो । भक्ति परम्पराले वर्णगत र जातगत विभाजनलाई अस्वीकार गरेर जुनसुकै वर्ण र जातलाई भक्तिमार्गबाट भगवत् प्राप्तिको अवसर प्रदान गर्‍यो । यसमा वैष्णव, शैव र शाक्त परम्परा उल्लेखनीय छन् । जैन र बौद्ध परम्पराले पनि वर्णगत तथा जातगत विभाजनको विपक्षमा प्रचार गरे । जैन र बौद्ध संघमा जुनसुकै वर्ण र जातका व्यक्ति प्रवेश गर्न सक्ने भयो । तर, पनि यिनीहरूले खुलेर समाजमा व्याप्त असमानताको विरुद्धमा सामूहिक उद्घोष गरेनन् । केही विकल्प छाडेर बौद्ध तथा जैन आचार्यहरू ब्राह्मण र क्षेत्रीय समुदायकै रहे । व्यक्तिगत तहमा जोसुकैले निर्वाण वा मुक्ति प्राप्त गर्न सक्नेचाहिँ भयो । तर, मुक्त नभएका दासलाई संघमा प्रवेश गराउने स्तरको क्रान्तिचाहिँ भएन ।

कामना तथा वैराग्य

भारतीय परम्परामा विद्यमान कामना र वैराग्य, प्राप्ति र त्याग, प्रवृत्ति र निवृत्ति, संग्रह र अपरिग्रह, सम्भोग र ब्रह्मचर्य जटिल अन्तर्विरोधी अवधारणा हुन् । चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षमध्ये अर्थ र काम स्पष्ट रूपले सांसारिक तथा दैहिक सुखसँग सम्बन्धित छन् । धन आर्जन गर्नु जति महत्त्वपूर्ण छ, धनको त्याग पनि उत्तिकै महत्त्वपूर्ण ठानिन्छ । देहमिलन र इन्द्रीय सुख जति अनिवार्य छ,

ब्रह्मचर्य पनि उति नै पूजनीय छ । महादेव कामदेवलाई भस्म पनि गर्छन्, यौनकलामा उत्तिकै पारंगत पनि छन् । मन्दिरभित्र अपरिग्रह र पारमार्थिक सुखको प्रार्थना गरिन्छ भने मन्दिरबाहिर टुँडालमा दैहिक मिलनका विविध आसनका कलात्मक अभिव्यक्ति भेटिन्छन् । ऐतिहासिक स्मारक र गुफाहरू कामकलाका चित्र विचित्र सिर्जनाहरूले सम्पन्न छन् । राजा महाराजाहरूको अन्तपुर सुन्दरी स्त्रीहरूले खचाखच भेटिन्छन्, तर इन्द्रीय सुखमा मात्र सीमित राजाहरू नराम्ररी पतन पनि हुन पुग्छन् । कामबाटै कामातित पारमार्थिक उपलब्धि प्राप्त गर्ने तन्त्र पनि यहीँ छ, कामलाई निषेध र नियन्त्रण गरेर निर्वाण, कैवल्य प्राप्त गर्ने उपदेश दिने बौद्ध तथा जैन वचनहरू पनि उत्तिकै प्रिय छन् । काव्य साहित्य पनि प्रेम मिलन र शृंगाररसले लबालब छन् ।

ब्रह्मचर्यको उपदेश दिने ऋषिमुनि तथा वानप्रस्थीहरू सपत्नीक हुन्छन् । देवताहरू पनि सपत्नीक छन् । कतिपय देवताहरूको यौनकाण्डलाई पुराणहरूले विभिन्न रूपले वर्णित पनि गरेको छ । एकातिर सम्भोगलाई कामनारहित सन्तान प्राप्तिको माध्यम मान्ने धर्मशास्त्र छ । अर्कोतिर कामशास्त्र छ, जसले सम्भोग र इन्द्रीय सुखलाई लक्ष्य मान्छ । गृहस्थ धर्मलाई उत्कृष्ट धर्म पनि मानेको छ, र गृह नै मोक्षको अवरोध पनि मान्छ । शास्त्र कामसुखको अनुभव स्त्रीहरूले जति पुरुषले गर्न नसक्ने भनेर स्विकार्छ, स्त्रीहरूको कामेच्छालाई सभ्य पनि मान्दैन । काम र अर्थ अपरिहार्य हो, तर यिनलाई जित्न सके मात्र पारमार्थिक सुख प्राप्त हुने र मुक्ति मिल्ने सन्देश हरेक धार्मिक सम्प्रदायले दिन्छन् ।

देवी र स्त्रीद्वेष

हाम्रा शास्त्र, परम्परा, साहित्य, कलाका अधिकांश सर्जक पुरुष छन् । उनीहरूका लागि स्त्री देह रहस्य र त्रासको केन्द्र हो । यसले उनीहरूमा स्त्रीहरूप्रति सम्मान र द्वेष दुवै भावको सिर्जना गरेको छ । सम्मानस्वरूप देवीको रूपमा स्त्रीहरू पूजित छन् भने द्वेषको कारण तिरस्कृत पनि छन् । वर्ण, जात, उमेर, व्यवसाय, वर्ग आदिको आधारमा स्त्रीहरूको हैसियतमा फरक भेटिन्छ । सभ्यताको प्रारम्भिक कालतिर स्त्री शरीर सिर्जना र प्रजननको स्रोत मानिन्थ्यो । त्यसले उनीहरूलाई सम्मान प्रदान गर्‍यो ।

हिन्दु परम्परामा लक्ष्मी, दुर्गा, काली, राधा आदि नामका फरक फरक क्षमताका शक्तिशाली देवीहरूको परिकल्पना गरिएको छ । बुद्ध तथा जैन परम्परामा पनि देवीको उपासना हुन्छ । तर, उनीहरू निर्वाण, अर्हत्व वा तीर्थंकर पदको हकदार हुन सक्दैनन् । त्यसका लागि उनीहरूले पुरुष रूपमा जन्म लिनुपर्ने दाबी गरिन्छ । बौद्ध संघहरूमा भिक्षुणीले कनिष्ठ भिक्षुलाई पनि अभिवादन गर्नुपर्थ्यो । जैनहरूमा स्त्रीहरूलाई दिगम्बर साधु बन्न स्वीकृति छैन । साधनाका अवरोधकका रूपमा भिक्षुणी तथा गृहस्थ स्त्रीहरूबाट बच्न भिक्षुहरूलाई निरन्तर सजग गराइन्छ । स्त्री देहलाई नरकको द्वार मान्ने कथ्य प्रबल छ । देवीहरू जति नै शक्तिशाली भए पनि उनीहरू शक्तिशाली देवताका पत्नी, सहधर्मिणी वा प्रेयसीका रूपमा परिचित छन् । भक्ति परम्परामा पनि स्त्री सन्तहरूको हैसियत पुरुष सन्तको बराबर देखिन्न । वास्तविक जीवनमा पनि स्त्रीहरू दोस्रो दर्जाका ठानिन्छन् । धर्मशास्त्रहरूले स्त्रीलाई पिता, पति वा पुत्रको नियन्त्रण तथा संरक्षकत्वमा रहन निर्देश दिएको छ । इतिहासमा केही स्त्रीहरू शक्तिशाली देखिन्छन् । तर, ती आफैं शक्तिका स्रोत होइनन् । यौन शुद्धताको नैतिकता केवल स्त्रीहरूका लागि निर्देशित छ । शास्त्रहरूले विधवाको त्यागमय जीवन तथा सतीको प्रशस्त गुणानुवाद गरेका छन् ।

हिंसा र अहिंसा

अहिंसालाई भारतीय उपमहाद्वीपको पहिचान मानिन्छ । यहाँ विकास भएको बौद्ध तथा जैन धर्म अहिंसाका प्रबल पक्षपाती हुन् । जैन साधनामा अहिंसाको हदैसम्मको अभ्यास गरिन्छ । आहारमा शाकाहारी भोजन जहिल्यै स्तुत्य हुन्छ । स्वयम् बुद्ध शाकाहारी थिएनन्, तर भोजनका लागि पशु हिंसा बुद्ध धर्ममा तिरस्कृत छ । हिन्दुहरूमा पनि नृशंस पशु हत्या बर्जित छ । यज्ञ वा तान्त्रिक साधनामा दिइने बलिमा पशुको मुक्ति हुने विश्वास गरिन्छ र मासुलाई प्रसादको रूपमा ग्रहण गरिन्छ ।

तथापि प्राचीन भारतको इतिहास हिंसात्मक युद्धका घटनाहरूबाट मुक्त छैन । युद्ध र हत्यालाई राजधर्म, क्षत्रिय धर्म तथा धर्मयुद्धको आवरण प्राप्त छ । त्यसो त राजधर्मका उपकरणमा साम, दान, दण्ड र भेदमा दण्ड अन्तिम उपकरण हो । महाभारतजस्ता ठूला युद्धलाई पनि शान्तिका लागि अपरिहार्य युद्ध भनेर व्याख्या गरिएको छ । गीतामा कृष्णले अर्जुनलाई, निमित्त कर्ताको रूपमै सही, हिंसाकै लागि उत्प्रेरित गरेका छन् । पुराण तथा अन्य साहित्यमा शत्रु संहार गर्ने तथा कमजोर समुदायको संरक्षण गर्ने नायक तथा राजाको प्रशस्त प्रशंसा गरिएका छन् । सम्राट् अशोकले आफ्नो साम्राज्यमा अपनाएको अहिंसा नीति उदाहरणीय ठानिन्छ ।

बहस र विवाद

दक्षिण एसियाली विद्वत् तथा दार्शनिक परम्परा सहिष्णु र समन्वयकारी मानिन्छ । प्राचीन समयमा यहाँ विविध विचारहरूको उद्भव भए, प्रतिस्पर्धी सम्प्रदायहरू जन्मे, अन्यत्रबाट पनि फरक धार्मिक मतावलम्बीहरू प्रवेश गरे । तिनीहरूबीचको प्रमुख द्वन्द्व वैचारिक तहमा केन्द्रित रह्यो । विचारको प्रतिस्पर्धाको लक्ष्य सत्यको पहिचान रहन्थ्यो । यस पुस्तकले समेटेको पन्ध्र सय वर्ष उपनिषद्काल, वैदिक तथा गैर–वैदिक दर्शन तथा तिनका भेद–उपभेदको विकास, महाभारत, रामायणलगायतका विविध काव्यको सिर्जनाको समय हो ।

विद्वत् समुदायमा संवाद, वाद, प्रतिवाद, संभाष, हेतु, तर्क, आन्विक्षकी आदि शब्दहरू लोकप्रिय थिए । न्याय दर्शनले बहसको प्रकार, विधि आदिबारे विशद चर्चा गरेको छ । मीमांसा दर्शनका अनुसार विषय, संशय, पूर्वपक्ष, उत्तरपक्ष, निर्णय गरी बहसका पाँच अंगहरू हुन्छन् । उपनिषद्कालमा जनकको सभा बहसका लागि प्रख्यात थियो । उपनिषद्को याज्ञवल्क्य–मैत्रेयी संवाद, बौद्ध दर्शनको मिलिन्द–नागसेन बहस चर्चित छन् । इसापूर्वको छैटौँ र पाचौँ शताब्दी विचार र बहसको स्वर्णयुग थियो । महाभारत ग्रन्थ विचार र बहसको संग्रह नै हो । लोकायत नामको नास्तिक दर्शन, शैव, वैष्णव तथा शाक्त मतभित्र भक्ति एवम् तन्त्र परम्परा विकास भए । वैचारिक प्रतिस्पर्धासँगै विवाद र द्वन्द्व पनि विद्यमान थियो । विपक्षीलाई पराभूत गर्ने, पराजितको हत्या गर्नेजस्ता घटना पनि हुन्थे । जैन तथा बौद्ध विद्वान्का विवाद, जनकको सभाका घटनाहरू, शंकर दिग्विजय आदिलाई वैचारिक द्वन्द्वका उदाहरणका रूपमा लिन सकिन्छ । दर्शन, धार्मिक मत तथा विचारहरू बहस र विवादका विषय मात्र बन्थेनन्, साहित्यिक व्यंग्यका विषय पनि बन्थे ।

निष्कर्ष

घटनाहरूलाई क्रमबद्ध रूपमा नबताई इतिहासको कथ्य निर्माण गर्ने सिंहको कला बेजोडको छ । इतिहासको कथ्य घटनाहरूको संग्रहबाट भन्दा त्यसमा निहित केन्द्रीय विचारहरूको द्वन्द्वात्मक प्रस्तुतिबाट बढी प्रभावकारी हुन्छ भन्ने उदाहरण हो सिंहको यो पुस्तक । सरल भाषा, विचार र घटनालाई प्रस्ट पार्न समकालीन कलात्मक सिर्जनाका फोटा र पुस्तकको अन्तमा उपलब्ध चुनिएका ग्रन्थहरूको सूचीले पुस्तकलाई थप पाठकमैत्री बनाएको छ । आजको दक्षिण एसियाली जनजीवनको सूक्ष्म वैचारिकी र इतिहासको शास्त्रीयकालमा विकसित त्यसको नियामक प्रतिस्पर्धी दार्शनिक मतहरूको गतिशील अन्तर्घुलनलाई सरल रूपले बुझ्न चाहने पाठकलाई सिंहको यो किताब उपयुक्त पठन ठहरिन्छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?