१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एसईईको भूत, शिक्षाको भविष्य

विद्यालय र घरमा अतिरिक्त किताब पढाउने वातावरण सिर्जना गर्न नसक्नु नै हाम्रो शिक्षाको सबैभन्दा खड्किएको–रड्किएको पक्ष हो ।
हरिहर तिमिल्सिना

स्टिभ जब्स नामी उद्योगपति थिए । एप्पलले संसारमा नयाँ तरङ्ग ल्याएको बेला राष्ट्रपति बाराक ओबामा स्टिभलाई भेटेर राष्ट्र सुधारका केही सुझाब लिन चाहन्थे । स्टिभ जब्सले भनेछन्, ‘शिक्षा सबै कुराको मेरुदण्ड हो । शिक्षा सुधार्‍यो भने अरू सबै कुरा सुधारिन्छन् । त्यसैले आउनुस् हाम्रो शिक्षा प्रणाली सुधार गरौँ ।’ अमेरिकीहरूले शिक्षा सुधारमा के कसर बाँकी राखेका थिए होलान् ? उनीहरूले गर्न बाँकी के थियो होला ? अध्ययन, अनुसन्धान, विश्लेषण, लगानी ? तर, सधैं सुधारको खाँचो देख्छन् । शिक्षामा नयाँ प्रयोग र परीक्षणलाई प्रोत्साहन गरिरहन्छन् । प्रचलित मानिएका राम्रा विषयको पनि उम्दा विकल्प खोजी गर्छन् । हाम्रो कुरा भने अलग छ ।

एसईईको भूत, शिक्षाको भविष्य

कोभिडले हाम्रो शिक्षा क्षेत्र ध्वस्तिएको छ । बालबालिकाको शिक्षा ग्रहण गर्ने गति दुई वर्षदेखि मन्द छ । यस अवधिमा पढाइमा अपूरणीय, अधाननीय क्षति भएको छ । हाम्रै आँखा अगाडि हाम्रो भविष्य ढल्दै छ ।

ज्ञानको ब्याज

७८ को वर्षायाम मत्थरिएपछि कोभिड पनि मत्थरियो । घरघरमा थुनिएका बालबालिका फुक्काफाल भएर बाहिर निस्किए । त्यतिबेला तिनीहरूको खुसी देख्दा यस्तो लाग्थ्यो, मानौँ फलामे साङ्लोमा कैद भएको जीवन मुक्त भयो । विद्यार्थीहरू आजादीका पङ्ख फिजाउँदै ज्ञानको प्यास बोकेर विद्यालय पुगे । यसबीच कतिपय विद्यालय बन्द भए । कति विद्यालय सञ्चालक ऋणमा डुबे । कति शिक्षकको जागिर गयो । कतिले आधा तलबमा आफ्नो घिड्घिडो धाने । कतिले फोक्सो सुकुन्जेल कराएर पढाउँदा पनि तलब पाएनन्, कतिले कामै नगरी तलब पाए । कतिको अनलाइन पहुँच राम्रो थियो, कतिको थिएन । यी अलग विषय हुन् । बालबालिकालाई यस्ता विषयसित कुनै लेनादेना हुँदैन । विद्यालय पुग्न नपाउँदैमा तिनको खुसीको अपहरण हुन थाल्यो । मानौं दुई वर्ष छुटेको पढाइको ब्याज विद्यार्थीले तत्कालै तिर्नु छ । तिनको पढाइमा भएको क्षतिको भरणपूरण तिनले आजै, अहिल्यै तुरुन्तै गर्नु छ ।

विद्यालय छिर्न नपाउँदैमा जाँचको पासो थापेर तिनको सिर्जनशीलताको पँखेटा च्यापियो । यतिले नपुगेर ट्युसन, कोचिङ, अतिरिक्त कक्षा, गृहकार्य, पाठ घोकान, रटान आदिका अभियान चलाइए । किनभने फाइनल जाँचको महाअभियानमा तिनीहरू जुट्नु छ । शिक्षकले जानेजति तिनले सबै जान्नु छ । विद्यालयले चाहेको पनि तिनले झटपट पूरा गर्नु छ । अभिभावकको चिन्ता पनि निमेषभरमै दूर गर्नु छ । तिनलाई रुचि होस्/नहोस् । तिनको क्षमता होस्/नहोस् । तिनी तयार होऊन्/नहोऊन् । बस् तिनले जाँच दिनु छ । मन्त्रालय र विभागको बदलिरहने लहड र नियतअनुसार पनि तिनीहरू तयार भइदिनु छ । के पढाइको उद्देश्य जाँच लिने र दिने मात्रै हो ? जाँच सकिएपछि पढाइ पनि सकिने हो ? पढाइ र जीवनका अन्य पक्षबीच केही साइनो हुन्छ कि नाइँ ?

चुकिएको विन्दु

आइरिस कवि डब्ल्यू. बी यिट्स भन्छन्, ‘शिक्षा हृदयको ज्वाला सल्काइदिने आगोका झिल्का हो ।’ हामी भने बल्न लागेका आशा निभाउन उद्यत छौँ । कोभिडकालमा छुटेको पढाइले विद्यार्थीको जीवनमा दूरगामी असर पार्नेमा शङ्का छैन । अधिकांशले लेख्न, पढ्न भुलेका छन् । जानेका विषय बिर्सिएका छन् । घर बसेर खाने बानी लागेको छ । अल्छी र अटेरी भएका छन् । यस्तो अवस्थामा गर्न सकिने सबैभन्दा उम्दा काम पठन संस्कृतिको विकास हो । हामी यहीँनेर चुकेका छौं । बालबालिकालाई पाठ्यपुस्तकको सीमित दायराबाट बाहिर निकाली असीमित ज्ञान र आनन्दको यात्रामा लैजाने योजस्तो राम्रो मौका अरू के हुन सक्थ्यो ?

विद्यालय र घरमा अतिरिक्त किताब पढाउने वातावरण सिर्जना गर्न नसक्नु नै हाम्रो शिक्षाको सबैभन्दा खड्किएको अनि रड्किएको पक्ष हो । सीमित निजी क्षेत्र छोडेर अतिरिक्त किताब पढाउने सोच, योजना र चाहना सम्बन्धित निकायलाई नहुनु बडो विषाद्को विषय हो । भलै हामीसित बजारमा धेरै किताब नहोलान्, भएकालाई पढाउन सुरु गर्दा के बिग्रन्थ्यो ? दिनको एक घण्टा मात्रै उनीहरूको तहअनुसारका अतिरिक्त किताब पढ्न उत्साहित गर्ने हो भने विद्यार्थीले महिनामा चारवटा किताब पढ्न सक्ने रहेछन् ।

यस हिसाबले वर्षको ४८ वटा किताब पढेको नागरिक भोलि कस्तो भएर निस्किएला ? हातको मोबाइलमा घोप्टिनुको साटो किताबमा गहिरिएको विद्यार्थी कस्तो देखिन्छ होला ? सम्बन्धित निकायको ध्यान कहिले यतातिर जान्छ होला ? अभिभावकले त्यत्रो ४८ वटा किताब कसरी किन्न सक्छन् भन्ने प्रश्न उब्जिन पनि सक्छ । सक्नेले किन्छन्/ किनाउनुपर्छ । नसक्नेलाई राज्यले र सङ्घसंस्था मिलेर किनिदिनुपर्छ । किताब र ओखती उस्तै हो ।

फेरि पनि एसईईकै रटान

मिल्काउनुपर्ने एसईईलाई २०७६ मै कोभिडले मिल्काइदियो । अब फेरि एसईईको नाटक मञ्चन नगरौँ । आफ्नै विद्यालयमा एसईई दिएको दुईवटा ब्याच बजारमा निस्किसकेको छ । पहिलेको निर्णय बदर गर्दै कोभिडको यो त्रासमा हामी भने न्यूनतम ३५ अङ्क ल्याउनैपर्ने नत्र फेल गर्ने गरी एसईईको जाँच लिने तयारी गरिरहेका छौँ । यसो नगर्दा विद्यार्थीको पढ्ने बानी छुट्यो, पढाइको स्तर डामाडोल भयो भनेर बकुल्ले चिन्तन पनि गरिरहेका छौँ । पठनपाठनको स्तर सुधार्न हामीले जानेको एउटै हतियार, हाम्रो महान् उपाय त्यही जाँच हो हजुर ? उसै पनि ९–१२ कक्षा माध्यमिक भइसकेपछि कक्षा १० को यो परीक्षालाई फेरि पनि फलामे ढोकाको हाउगुजीमा फिर्ता लैजानुपर्ने बाध्यता किन आइपरेको होला ?

हामीले परीक्षा राम्रो बनाउने कि पढाइ राम्रो बनाउने ? पढाइ र सिकाइ केही भएको छैन । कोभिड सुरु हुँदा कक्षा ८ मा पढ्दै गरेको विद्यार्थी केही नसिकीकन सरासर कक्षा दस पुगेको छ । एसईई दिने विद्यार्थी उही हो । यही बेला पुरानो शैलीमा पुग्ने यो जाँचको गलपासो किन ल्याउनुपरेको होला ? पढाएपछि मूल्याङ्कन गर्नुपर्छ । परीक्षा प्रणाली राम्रो बनाउन लाग्दा पढाइ राम्रो बनाउनुपर्ने दायित्व हामीबाट फुत्किरहेको छ । परीक्षामुखी पढाइको रोगै यही हो ।

व्यक्तिगत नाफा–घाटाको हिसाब गर्दै गरौँला । यो जटिल परिस्थितिमा हजुरहरूले भनेजसरी एसईई लिँदा सीमित वर्गबाहेक अरू कसैलाई फाइदा छैन । बिन्ती हजुर ! एसईईको पुरानो भूत ब्युँताएर भविष्यलाई त्राहिमाम नपारौँ ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?