कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कश्मीरी दुःखान्त

द कश्मीर फाइल्स
निर्देशक : विवेक अग्निहोत्री
कलाकार : अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शककुमार, पल्लवी जोशीलगायत
सुशील पौडेल

चुपचाप रिलिज भएको फिल्म ‘द कश्मीर फाइल्स’ ले भारतका कतिपय राज्यमा ट्याक्स फ्रीसहित बक्सअफिसमा उधुम मच्चाइरहेको छ । सन् १९९० मा कश्मीरबाट पण्डितहरूलाई पलायन हुन बाध्य पारिँदाको घटनालाई फिल्मले नरसंहारको ट्याग दिएर बिनाकुनै तोडमोड अति सत्यता पस्किने प्रयास गरेको दाबी छ, निर्देशक विवेक अग्निहोत्रीको ।

कश्मीरी दुःखान्त

फिल्मले व्यक्त गरेको सत्यलाई नजरअन्दाज गर्न नमिल्ने जिकिर छ मोदी सरकारको । केहीलाई फिल्म केवल प्रोपोगान्डा–हतियार लागिरहको छ । कश्मीरी पण्डितप्रति सहानुभूति र कश्मीरी पृथकतावादी मुसलमानप्रति घृणा, द्वैष फैलाएर राजनीतिक अभीष्ट पूरा गर्ने खेलमा मोदी सरकार र भाजपा लागेको हुन सक्ने शंकाको सुविधा छ । त्यसो त ओमिक्रोनका कारण दुई महिनापछि नधकेलिएको भए फिल्म भारतीय चुनावको पूर्वसन्ध्यामा रिलिज हुने थियो, जसको ठाडो फाइदा भाजपालाई हुन सक्थ्यो ।

दिल्लीको एक प्रतिष्ठित विश्वविद्यालयको छात्र कृष्ण पण्डित (दर्शनकुमार), जो त्यहाँको चुनावमा अध्यक्षको उम्मेदवार पनि हो, उसैको प्वाइन्ट अफ भ्युबाट फिल्म देखाइएको छ । फिल्मको एक दृश्यमा प्रोफेसर राधिका मेनन (पल्लवी जोशी) ले कृष्णलाई भन्छे, ‘चाहे आगो नै लगाउनु किन नपरोस्, हामी कश्मीरलाई भारतको हुन दिने छैनौं । यो न्यायको संघर्ष हो, कृष्ण ।’

कृष्ण भन्छ, ‘हेर्नुस्, म एकदम कन्फ्युज्ड छु । मलाई के सही, के गलत भन्ने थाहा छैन । मलाई त यो पनि थाहा छैन कि हजुरबाको सपना पूरा गरूँ वा तपाईंसँगै कश्मीरको लडाइँ लडूँ ? थाहा छैन, को पीडित ? को पीडक हो ? मलाई केही पनि थाहा छैन म्याडम ।’ कृष्णलाई राधिका केवल न्यायका लागि नभई मानवीयताका लागि पनि कश्मीरी जनताको साथ दिनुपर्ने बताउँछिन् । स्वतन्त्र कश्मीरको वकालत गर्ने राधिकाद्वारा ब्रेन वास गरिएका कृष्ण आफ्ना हजुरबा पुष्करनाथ पण्डित (अनुपम खेर) को अस्तु बोकेर कश्मीर पुगेपछि एउटा सत्यको निचोडमा पुग्छ ।

आफूलाई फ्री फाइटर भन्न रुचाउने पृथकतावादी मुसलमानले पुष्करनाथलगायतका कश्मीरी पण्डितलाई कश्मीरमा बस्ने भए धर्म परिवर्तन गर्न, नत्र भिड्न वा मर्न तयार हुन उर्दी जारी गरेपछि हजारौं मानिस कश्मीर छाड्न बाध्य हुन्छन् । कृष्णका बाबुआमालाई समेत पृथकतावादीले गोली हानेर मारिदिएका हुन्छन् । तर, कृष्णलाई यो सत्य थाहा हुँदैन । सत्य तोडमोड गरेर अहिलेका युवापुस्ताको दिमागमा गलत थोपरिएको भन्छ, फिल्मले ।

१ सय ७० मिनेट लामो फिल्ममा एक सिन पनि काल्पनिक नभएको बरु ठूलो खोज, अनुसन्धानबाट प्राप्त खुराक अझै समेट्न नसकेको बताउँछन् निर्देशक विवेक । उनी फिल्ममार्फत पुनः एकपटक कश्मीरी पण्डितको खाटा बसेको घाउलाई उप्काउँदै छन् । निर्देशकले यसको खाटा रगत निकाल्न उप्काएका हुन् वा पीप निकाल्न, उनै जानून् । तर, फिल्मलाई लिएर पक्ष–विपक्षमा काफी बहस भने छेडिएको छ । आलोचकका निम्ति फिल्म असत्यलाई सत्य बनाउने प्रपञ्चसिवाय अरू होइन । फिल्मले मुसलमानलाई आतंकवादीसँग जोडेर राजनीति गर्न खोजेको छ भनेर आलोचक तनावमा छन् । त्यसो त विवेक फिल्ममा आतंककारीले पाकिस्तान र भारतबीचको भाइचारामा गलतफहमी मच्चाएर फाइदा लुटिरहेको धारणा राख्छन् । पाकिस्तान त्यस्ता आतंककारीका लागि सहज बनिरहेको छनक दिँदै उनले पाकिस्तानलाई घुमाउरो प्रहार गरेका छन् भने भारत महान्को मन्त्र आत्मसात् गरेका छन् ।

नन लिनिअर शैलीमा कथा वाचन गरिएको फिल्मका हरेक दृश्य अति मिहिन र मिहिनेतपूर्ण ढंगले बुनिएका छन् । फिल्मलाई वास्तविकताको अति निकट बनाउने सार्थक प्रयास गरिएको छ । संहारका केही दृश्यले दर्शकको मथिंगल हल्लाउन पनि सक्छ, अति क्रूर लाग्ने केही दृश्य दर्शकमा परिस्थितिजन्य घृणा उत्पन्न गराउनै जानबुझ जस्ताको तस्तै राखिएका छन् । कश्मीरी पण्डितको मुख्य भूमिकामा रहेका अनुपमले नामजस्तै अनुपम काम गरेका छन् । उनको करिअरकै सम्झनलायक फिल्ममध्ये यो पनि एक हुनेछ । त्यसो त फिल्ममा उनका साथीको भूमिकामा देखिएका मिथुन चक्रवर्ती, प्रकाश बेलावाडी, पुनीत इस्सरसहितको अभिनय पनि दर्शनीय छ । सुरुवातमा ठीकठाकै लागेका दर्शनकुमार फिल्ममा बिस्तारै जम्दै गएका छन् । खासगरी १४ मिनेट लामो उनको सारांश मन्तव्यमा उनी वजनदार देखिएका छन् ।

बलिउडलाई इस्लामोफोबियाको आरोप नयाँ होइन । ‘द कश्मीर फाइल्स’ लाई यही आरोप लागेको छ । फिल्मले पाकिस्तानलाई सीधै नकारात्मक त देखाएको छैन, तर भारत सरकारलाई परोक्ष रूपमा कश्मीरको हकदार ठानेको छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?