कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोगोलको भूमिमा पुटिनको ट्याङ्क

अभि सुवेदी

अहिले केही समयदेखि युक्रेन राज्यमाथि शक्तिशाली रूस राज्यको भयानक हमला जारी छ । हमलाको उद्देश्य हो– त्यो ऐतिहासिक, सुन्दर, स्वतन्त्र, प्रजातान्त्रिक र विशाल राज्यलाई भूगोलबाटै मेटाइदिनु । त्यही भनिएको थियो सुरुमै । त्यसमा कुनै भ्रम रहेन । अहिले जगत्‌मा अरू विषय गौण भएका छन् ।

गोगोलको भूमिमा पुटिनको ट्याङ्क

महाकाल कोरोनाका समाचार पनि एकाएक बन्द भएका छन् । बर्माका डिक्टेटर सिपाहीका अत्याचार र मानिसका यातना पनि विस्मृतिमा जालान् भन्ने भय छ । अफगानिस्तान, यमन र सिरियाका लाखौंलाख बालबालिकाका कथा र विम्बहरू अहिले देखिँदैनन् । संयुक्त राष्ट्रसंघ र अरू वैश्विक संस्थाहरूका काम मुल्तबी भएका छन् ।

अहिले केवल युक्रेनमाथिको हमला अनि एकाएक सुन्दर सहरहरू धूलिसात् बन्दै गएका दिनदिनैका दृश्य, ज्यान बचाउन शरणार्थी भएर लाखौं नारी, वृद्ध–वृद्धा र बालबालिकालाई युक्रेनका छिमेकी देशहरूतिर (खासगरी पोल्यान्ड) रेलमा कोचाकोच गरि पठाइएका दृश्य मात्रै देखिन्छन् । हाम्रा समाचारमा तिनका केही छवि र वर्णन आउँछन् । बाँकी समाचार हाम्रै राजनीति र आगामी चुनाव अनि दलहरू फुटेका भर्खरका ऐतिहासिकीहरूमा छन् । हाम्रोमा इतिहासका व्याख्या भएका छन् । नेपालमा इतिहास राजनीतिज्ञहरूको मनगडन्ते विषय हो । सबै राजनीतिक उद्घोषणमा त्यस्ता तत्त्व देखिन थालेका छन् । नेपाली राजनीतिक चित्रणमा स्यामुअल बेकेटका विसंगत नाटकजस्तै संवाद आउन थालेका छन् ।

साहित्यको प्रसंग कति महत्त्वपूर्ण छ भनेर जोड्न म फेरि युत्रेन र रूसतिर फर्किन्छु । एउटा लेखकको दुईवटा देशसँग सम्बन्ध हुनु स्वाभाविक हो । तीमध्ये कोही जन्मका कारण, कोही भाषाका कारण जोडिन्छन् । ती लेखकहरूले लेखेका कृतिमा दुई देशका विषय आउन सक्छन् । तर, तिनले रचना गरेका पात्रलाई आफ्नो राज्य र जनताका प्रतिष्ठासँग जोडेर हेर्ने विषय गम्भीर हो । हिन्दी र उर्दू साहित्यका पनि प्रसंग आउँछन् । अंग्रेजी साहित्यको विद्यार्थी भएकाले राजनीतिलाई कसरी साहित्यसँग जोडेर इतिहासको व्याख्या गरिने रहेछन् भन्ने विषय मेरा निम्ति नौलो होइन । तर, त्यो रूसी–युक्रेनी साहित्य र साहित्यकारका भन्दा अलि भिन्न छ । तर, पनि केही साम्य छन् ।

उदाहरणका निम्ति आइरल्यान्ड र ब्रिटेनको भाषा अंग्रेजी भएकाले लेखकहरूलाई भाषाकै कारणले अलग गर्न असजिलो थियो । आयरल्यान्डको क्रान्ति चलिरहेको बेला थियो त्यो । सन् १९१६ मा आयरल्यान्डको इस्टर क्रान्तिमा ठूलो हताहत भएको थियो । त्यसलाई लिएर आइरिस कवि डब्लु बी यिट्सले लेखे त्यस आन्दोलनामा– ‘अ टेरिबल ब्युटी इज बोर्न’ अथवा ‘एउटा डरलाग्दो सौन्दर्य जन्मेको छ यहाँ ।’ शक्ति, राज्य र साहित्यिक काल्पनिकीका सम्बन्धबारे यहाँ लेख्ने ठाउँ छैन । असोज २०६७ मा आयरल्यान्डको डब्लिन थिएटर सम्मेलनमा भाग लिन जाँदा मलाई एउटा अनुभूति भएको प्रसंग मात्रै राख्न चाहन्छु । म त्यहाँका प्रसिद्ध किताब पसलहरूमा गएँ । कुनै किताब पसलमा पनि एउटै अंग्रेजी साहित्यकारका कृति राखिएका थिएनन् । शेक्सपियर पनि थिएनन् । सबै आयरल्यान्डी अंग्रेजी लेखक मात्रै थिए, जसलाई हामी ‘प्रसिद्ध अंग्रेजी साहित्यकार’ भनेर पढ्ने–पढाउने गर्छौं । त्यसमा बर्नार्ड शा, डब्लू बी यिट्स, ओस्कर वाइल्ड, जेम्स ज्वायसका नाम उल्लेख्य थिए ।

अहिले युक्रेनमाथि भ्लादिमिर पुटिनको आक्रमणको अन्तर्यमा एक प्रतिष्ठा र एक अभिमान छ । यसमा सबभन्दा चर्चित लेखक निकोलाई गोगोल (१८०९–५२) हुन् । ऊनी युत्रेनको कोसाक क्षेत्रको एक गाउँमा जन्मेका मानिस हुन् । कोसाकहरू घोडचडीमा रमाउँछन् । र, लडाकाहरूमा पनि रोमान्टिक कल्पना उजागर गर्ने जीवन–शैली हुन्छ, त्यसैले युक्रेनियाली, रूसी र पोल्यान्डेली ऐतिहासिक काल्पनिकीमा तिनको निकै स्थान छ । उन्नाइस वर्षसम्म युक्रेनमै हुर्केका गोगोल रूसी साम्राज्यको राजधानी सेन्ट पिटर्सवर्गमा गए । तिनको यात्रा रोकिएन । ती जर्मनी, स्विट्जरल्यान्डमा गए अनि इटलीमा बसोबास गरे । तिनका कृतिहरू युरोपेली, फ्रेन्च र जर्मन भाषामा पनि प्रकाशित भए । आखिरमा मस्कोमै आएर बयालीस वर्षकै उमेरमा गोगोलको मृत्यु भयो ।

गोगोलको राष्ट्रियता विषयमा अनेकौं छलफल भएका छन् । पुटिनले युक्रेनमाथि हमला गरेपछि गोगोलको विषयमा फेरि चर्चा सुरु भएको छ । यस विषयमा अनेकौं छलफल भएका छन् । उनको राष्ट्रियता, लेखन र विषयवस्तुको छलफल अहिले उठेको छ । यसका दुई कारण छन् । पहिलो हो– युक्रेन, फोल्यान्ड अनि रूसका इतिहास र लोकचेतनाका समानताहरू । अहिले युत्रेनमाथि रूसको बीभत्स हमला र हत्याका शृंखला चलिरहेका बेला यो विषयको के अर्थ हुन्छ भन्ने बुझ्नु अत्यन्त आवश्यक रहेछ । यसले रूसी साम्राज्य र शक्तिका सपनाको यस किसिमको युद्धमा के भूमिका हुन्छ भन्ने भूमिका देखिन्छ । ‘युक्रेनियाली र रूसी राष्ट्रवादबीच निकोलाई गोगोल’ (२००७) भन्ने एदिता बोजानोस्काको हार्वर्ड विश्वविद्यालयबाट प्रकाशित किताबमा यी सूक्ष्म पक्षमा छलफल छन् । युक्रेनियालीहरू अहिले आएर गोगोलको भाषा, विषयवस्तु र भित्री कुरा सबै उनको भूमि युक्रेनियाली माटोले जन्माएका हुन् भन्ने विषय उजागर गरिरहेका छन् । यस विषयमा धेरै लेखिएका छन् ।

यिनको दुई सयौं शतवार्षिकी मनाउने विषयबाटै अनेकौं प्रसंग आएका हुन् । युक्रेनको गाउँ इलाकामा जन्मेर हुर्केका यी लेखक जारको साम्राज्यमै जीवनको उज्यालो देखेका मानिस थिए । जवान भएपछि यिनले रूसी भाषामा लेखे । तर, यिनका कथा युक्रेनियाली थिए । जस्तो कि ‘मौरीपालक रूडी पाङ्कोले भनेका युक्रेनियाली कथाहरू’ १८३२ मा प्रकाशित भएपछि यिनको प्रसिद्धि फैलिएको हो । युक्रेनियाली लोकजीवनका कथा यिनले लेखे । एक मुक्त क्षेत्र र भूमिको चित्रण गरे तिनले यी कथामा ।

अहिले दुई सयौं वर्षगाँठ मनाउने बेला यिनले लेखेको रूसी भाषा, युक्रेनियाली विषय, त्यसले चित्रण गरेको मौलिक समाज अनि मौलिकताबीच द्वन्द्व हुनुमा रूसेली साम्राज्यका सपना, युक्रेनियाजस्ता स्वतन्त्र राज्यबीचको मौलिकताको दाबी र प्रतिष्ठा रहेको कुरा झट्ट बाहिर नदेखिए पनि यो एक मूल विषय हो ।

रूसको हमला जारि रहेका बेला ‘द इकोनोमिस्ट’ (३ फेब्रुअरी २०२२) मा मलाई आश्चर्य लाग्ने गरी निकोलाई गोगोलको विषयमा एउटा छोटो छलफल निस्क्यो । त्यसमा मलाई मन परेको विषय हो– गोगोलको पहिचान, एउटा लेखकको ऊर्जाशील व्यक्तित्व र अहिले पुटिनको रूसी साम्राज्यको हमला ।

‘द इकोनोमिस्ट’ लेख्छ, ‘गोगोलको उदाहरणले भन्छ– सबैमा रूसको आफ्नो मात्रै प्रभुत्व देख्ने चरित्रले इतिहासभित्रका सूक्ष्म विषयको उपेक्षा भएको छ । त्यही कारणले अहिले समस्या निस्किएका हुन् र नयाँ अवस्थाहरू जन्मिँदै जानेछन् ।’

‘इकोनोमिस्ट’ का समाचार विश्लेषक गोगोलको तारस बुल्बालाई लिएर भन्छन्– साहित्यमा त्यो असिजलो र त्रासद सम्बन्धबाट भित्री कुरा थाहा पाउन सकिन्छ । ती लेख्छन्, ‘उद्वेलित मन भएका पुटिनले ट्याङ्क लिएर शान्ति र सीमा मात्रै भंग गरेका छैनन्, तिनले त मानिसलाई एकआपसमा जोड्ने कलाका चरित्रहरू पनि तोडेका छन् । यस क्षेत्रका धेरैलाई थाहा भएको छ– पुटिनले साझा संस्कृतिको अवधारणाको त्रासद परिणाम निस्किने गरी दुरुपयोग गरेका छन् ।’

अर्का युक्रेनियाली रूसी लेखक मिखाइल बुल्गाकोभको पनि अहिले चर्चा चलेको छ । तिनका कथा सन् १९१८ तिरको रूसी क्रान्तिकालसँग जोडिएका छन् । तिनको विषय युक्रेनियाली कोसाकहरू माथि छ र त्यो पोल्यान्डसँग पनि जोडिएको छ । यी लेखकहरूको महत्त्व एउटा विषयमा छ । त्यो हो– रूसी साम्राज्य र त्यससँग जोडिएका राज्यहरूको अस्तित्वपछाडि बलिया जातीय कथा र काल्पनिकी । अहिलेको समय र द्वन्द्वले मात्रै तिनका पृष्ठभूमि बुझिँदैन । कथाहरू कथै भए पनि तिनको इतिहास रचना र त्यसका दुःखद–सुखद परिणामसँग सम्बन्ध हुन्छ, जुन अहिले युक्रेनमाथि रूसको हमलाले देखाउँदै गएको छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?