कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
कोसेली

बाघसँग लड्ने छोरीहरू हुन्, जोरी नखोज

जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो, ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणाशासनमा मात्रै होइन, महिला यौनिकतामाथिको नियन्त्रण आजसम्मै कायम छ । मानव सभ्यतामा निजी सम्पत्तिमाथि नियन्त्रणका लागि बन्धक गरिएको यौनिकता सबैभन्दा हानिकारक विष हो ।
सरला गौतम

९० सालको भूकम्पलाई माथ गरेर देश यतिखेर हल्लिएको छ । एक किशोरीले दिएको एक झड्काले मान्छेका मथिङ्गल कोमामा पुगेका छन् । हजारौं वर्षदेखि मक्किएको, तर भत्किन नसकेको चारित्रिक मूल्य र मान्यतालाई एक किशोरीले मुक्का हानिन् । मुक्का उनले एकलाई हानिन्, पूरै समाज रन्थनियो ।

बाघसँग लड्ने छोरीहरू हुन्, जोरी नखोज

आफूमाथि बलात्कार भएको भन्दै किशोरी गायिकाले सिनेजगत्का चलेका अभिनेतालाई मुद्दा हालिन् । दुई साताको यो अन्तरालमा धेरै मानिस तिरीमिरी झ्याइँ भए । पूरै समाज प्रतिवादी भएको छ । चरित्र र संस्कारको कुरूप मूल्यमान्यताको कार्पेटभित्र लुकेका बिच्छीहरू एक–एक गर्दै सामुन्ने आइरहेका छन् । नैतिकताको एकलौटी परिभाषा एक काँधले अब धान्न सक्दैन ।

पैतृक सम्पत्तिको भागबन्डा गर्न पनि नचाहने, संस्कारको भागबन्डा पनि नगर्ने ? यस्तो उन्मत्त सामाजिक संरचनाको हैकम अब कसले सहन्छ ? किन सहन्छ ? अब यसको भागबन्डा चाहिएको छ । चरित्रको व्याख्या गरेर नथाक्ने चरित्रहीनहरू यत्तिकैमा आत्तिएका छन् । असमान यौनिक र नैतिक मान्यतालाई कानुनले केही हदसम्म सन्तुलन दिन खोजेको छ । नैतिकवानहरूको साम्राज्य यही कारण काँपिरहेको छ । रुग्ण मूल्य र मान्यताको जगमा उभिएको सामाजिक संरचनाको मान्यता यो पटक फेरिनैपर्छ । किशोरीको एक धक्कामा अरू लाखौं धक्का मिसिनेछन् । यो अन्तहीन अन्यायको शृंखलाको यसपटक दाहसंस्कार हुनेछ ।

समय भन्दै छ– जाग छोरीहरू, तिमीमाथिको ज्यादतीमा उभिएको संस्कारको जीर्ण स्तम्भ यो पटक ढालेरै छाड । सहनै नसक्ने लाञ्छनाको कल्पना गर्दा नै आत्तिएर नायिका श्रीषा कार्कीले जीवन नै ढालिन्, दुई दशकअघि । श्रीषा आकाशमा तारा भएर सुन– तिम्रो चीत्कारले समयलाई चुनौती भरेको छ एकपटक । तिम्रो आत्मा खुसी हुने गरी केही हुँदै छ । लेख्नुपरे कसैले तमसुक लेखेर राखून्, नैतिकताको रुग्ण स्तम्भ यो पटक ढल्यो ढल्यो ।

पुरुस्वत्वको परिभाषामा धक्का दिएको समय

दसैंको अष्टमीका दिन एक बाबुले आफ्नी छोरीलाई भर्‍याङमुनि झुन्डिएको अवस्थामा देखे । नेपाली सिनेजगत्मा उदाउँदै गरेकी नायिका श्रीषा कार्की थिइन् उनी । झन्डै दुई दशकअघिको यो घटना नेपाली समाजमा खीलजस्तो गरी बसेको छ । नेपाली रंगमञ्चमा घट्ने कुनै पनि यौन दुर्व्यवहारको घटनाले हामीलाई श्रीषाको सम्झना गराइहाल्छ । शरद ऋतुको त्यो मनोरम हावामा श्रीषा ठूलो चीत्कार छाडेर बिलाएकी थिइन् ।

आफूमाथि भएको कुरा चरित्रहीनताको सवाल होइन, अपराध हो भनेर थाहा दिन उनले प्राण नै दिइन् । त्यो गहिरो पीडाले दिएको घाउ हामीलाई जुन बेला सम्झ्यो त्यही बेला दुख्छ । नेपाली मिडियाले ठूलो मूल्यमा सानो पाठ सिक्यो । तर, सञ्चारमाध्यममै मैमत्त चरित्रहीनताको अन्त्य भने भएन । त्यसपछि पनि विभिन्न प्रकरण सतहमा आए । नायिकाको निजी यौन भिडियोबारे समाचार बनाएर एक पत्रिकाले बहादुरी देखायो । यो झन्डै एक दशकअघिको कुरा हो ।

श्रीषाको समयभन्दा केही बदलिएको समय र समाज थियो । परिवार र साथीभाइ अनि असल मानिसहरूको साथका कारण सिनेजगत्की ती सिताराको ज्यान जोगियो । तर, नेपाली मिडियाले पूरै पाठ सिकेको देखिन्न । अस्पष्ट भिडियो सुनेकै आधारमा समाजसेवी दिलशोभालाई अर्को पत्रिकाले ‘यौन दुराचारी’ भनेर पहिलो पृष्ठमै लेख्यो । त्योबेला दिलशोभाको अवस्था बुझ्न पुग्दा उनी एक हातले आँसु पुछ्दै भन्दै थिइन्, ‘मलाई त यो यौन दुराचारी भनेको के हो नै थाहा थिएन । पहिलो पेजमा समाचार आयो, यो राम्रो पो होला ठानेको ।’ शब्दप्रतिको अज्ञानता सम्झेर उनी हाँसेकी पनि थिइन् । पत्रिकाले आफ्नो भूल स्वीकार गर्‍यो । ढिलै भए पनि सत्चरित्र देखायो । सर्वत्र चर्को आलोचना हुन थालेपछि केही वर्षयता मूलधारका मिडिया केही सचेत देखिन्छन् ।

पछिल्लो समय एक गायक किशोरीले नेपाली सिनेमामा चल्तीका अभिनेताले आफूमाथि गरेको यौन शोषणविरुद्ध कानुनको ढोका ढकढक गरिन् । यतिमै नेपाली समाजमा भूकम्प गयो । समाज विभाजित भयो । किशोरीविरुद्ध सामाजिक सञ्जालमा लाञ्छनाको होली नै खेलियो । यो प्रकरणले देशभरिका छरपस्ट युट्युब र अनलाइन मिडियाको भने अपरिपक्व चरित्र देखाइरहेको छ । समाजको कार्पेटभित्र लुकेका गन्दगीहरू सार्वजनिक गरिरहेको छ । अधिकांश युट्युब पत्रकारहरू लाञ्छनाको होलीमा रमाएको देखियो । निर्लज्जहरूको हुलहुज्जतको सुनामीमा किशोरीले आफ्नो ज्यान कसरी जोगाएर बसिन्, सम्झेर कहाली लाग्छ । चरित्रहीनहरूमा संवेदना हराएको समय छ यो ।

कक्षाकोठामा गीत गाउँदै गरेकी सानी केटी सहर पसी । रंगमञ्चको चमकधमक र धमाका उसको बाल मस्तिष्कले ठम्याउनै सकेन । ‘फेरि कहाँ आउँछ घुमेर यो बालापनको उमेर’ भनेर गीत गाएको समय झिमिक्क भयो ।

आफ्नो जीवनमा रफ्तारमा आएको सफलता, शरीरमा आएको परिवर्तन र उसलाई लगाइरहेका नजरहरू ! त्यो अल्लारे बालिकाले सबै कसरी धान्दै हिँडी होला ! एक अजनवी सहरमा दैनिक जीवनको दिक्दारी, डेरा खोज्नु र सर्नुको हैरानी, व्यावसायिक लेनदेन कसरी धानी होला ! उसलाई माया गर्ने र बाटो देखाइदिनेको हूल धेरै थियो होला कि उसको जोवनमै सबथोक देखेर लुट्न खोज्नेहरूको ! नराम्रोसँग भन्नुपर्दा ऊ सिनोको वरिपरि वेग हानिरहेका गिद्धहरूको नजरमा परी ।

सानो हुँदैन यो सहरको भुमरी । साना पाइलाले कसरी उभिन सकी, त्यही धेरै हो । संषर्षको भुमरीमा बल गरेर उभिन्छन् केटीहरू, युगौंअघिका मनुपुत्रहरूले बनाएको चरित्रको मानक ढाडमा बोकेर । तैपनि सहनैपर्ने लाञ्छना ? के खाँचो छ, जसले जे भन्यो, जे गर्‍यो त्यही सहन ?

कच्चा उमेरकी केटी एक परिपक्वसँग प्रेममा परेकी छ । बाबुसाहेबको इच्छा तृप्त भएपछि अवैध ‘भोग्या’ भएकी छ । अझ गाली उसैलाई । समाजको लाज यतिखेर हराएको छ ।

यो केस बत्तीस वर्षकी लक्का जवान युवती र सोह्र वर्षको अल्लारे केटाको भइदिएको भए ? हाम्रो मनमा सहानुभूतिको बाढी कता बग्थ्यो ? आँखा चिम्म गरेर सोच्दा मनमा जे उत्तर आउँछ, हाम्रो समाजको मक्किएको चरित्र त्यसैले बोल्छ । एउटी केटीको चरित्र र पूरै जीवनप्रति कति निर्ममता ! धेरै भएन र ज्यादती ?

सामाजिक सञ्जालमा सुनिएका अडियो र किशोरीले दिएको जाहेरीलाई आधार मान्दा एक परिपक्व पुरुषले किशोरीको उमेर ख्याल नगरी शारीरिक सम्पर्क राखेको देखिन्छ । जाहेरी र फुटेज दुवैका आधारमा किशोरी युवकसँग पूरै प्रेममा परेको देखिन्छ । युवकले उनीसँगको सम्बन्धलाई दुईचार दिनको रमाइलोका रूपमा मात्र लिएको पाइन्छ । यो कुरा छताछुल्ल भएपछि अभिनेता समर्थित मिडिया र व्यक्तिहरूले नाबालकको चरित्रहत्या गर्न कुनै कसर बाँकी राखेनन् । कतिसम्म भने जाहेरी दिएकी बालिका षड्यन्त्रमा संलग्न भएको भान पार्ने सामग्री पनि प्रसारण गरे । पब्लिकको मनोविज्ञानमा राम्रैसँग खेल्न सफल पनि देखिए ।

अभिनेताका हजार गुण होलान् । तर, उनले किशोरीप्रतिको संवेदनशीलतामा खेलबाड गरेको देखिन्छ । आफूसँग नजिकिन आएकी केटीलाई भोग गरेर पछि बेवास्ता गर्दै हिँड्नुलाई उनले आफ्नो भूल मानेकै छैनन् । बरु केटीले फसाएको ठानेका छन् । दोब्बर उमेरको वयस्क पुरुषले बालिकामाथि गरेको खेलबाड धेरैका मनमा सजिलै पचेको छ । अपराध त परको कुरा, गल्ती हो भन्न पनि सकेको देखिन्न । एक परिपक्व उमेरकी महिलाले खुलेआम भनेकी छन्, ‘त्यो आइमाई नै त्यस्ती, त्यो बालखालाई फसाई ।’ यो एक नमुना तर्क मात्र हो । पूरै देश यही तर्कले तरंगित छ । वयस्क बालखाहरूको चरित्रमा सुधार होइन, कानुनमै सुधार हुनुपर्छ भन्दै लेखहरू निर्धक्क छापिएका छन् । यस्तै नमुना विचार राख्ने मानिसहरू वरिपरि भएकै कारण अभिनेताले अपराधलाई भूलसम्म मानेका छैनन् ।

रियल हिरो हुने रहर त उनले गरे, तर रियल सेल्फमा ध्यान दिएनन् । उनको सारा डर आफ्नो सार्वजनिक छविमा आँच आउने भो भन्नेमै छ । किशोरीको मन अपमानले काँप्यो । यो अपराध हो भन्ने मान्यता स्थापित गर्न आफैं सामाजिक व्यवहार र आक्रमणको चितामा पसिन् । एक किसिमले उनले जिउँदै जलेर, समाजलाई मर्द हुनुको परिभाषा सिकाउँदै छिन् । मर्द हुनु भनेको भेटेजति केटी भोग्दै हिँड्नु होइन । आफूसँग सम्बन्धमा भएको व्यक्तिसँग पूर्ण जिम्मेवार र मर्यादित हुनु हो । किशोरीको जाहेरीले एक होइन अनेक विषयको परिभाषा दिएर जानेछ । न्याय र अन्यायको भेद त भन्छ भन्छ, लाखौं छोरीहरूको शरीरको सुरक्षा बोलेर जानेछ ।

मुस्कुराउँदै विद्यालय जाने छोरीहरूको मुस्कानमा कसी लाउनेछ । सानै उमेरमा प्रतिभाको बलमा सहरमा करिअर बनाउन आइपुग्ने किशोरीहरूको रक्षाकवच बन्नेछ । उनले दरो पाइला लिएर हिँड्नुपर्छ । समय उनको पाउमा हाजिर हुनेछ । आफैं जलेर ल्याएको एक जबरजस्त परिवर्तनलाई आफैंले बाँच्नेछिन् उनी । कालो रात्रिपछि उदाएको रविजस्तो धपक्क बल्नेछिन् किशोरी । यो समयले किशोरीको चरित्र कञ्चन हिमालझैं उभ्याएको छ । अमर्यादित पुरुस्वत्वको परिभाषामा कम्पन ल्याएको छ ।

डरलाग्दो इज्जत

हाँसे वेश्या हुने, स्त्री भोग गरे बहादुर हुने मान्यताको जगमा उभिएको समाज हो यो । महिलाको ढाडमा इज्जत र चरित्रको धारिलो तरबार राखिएको छ । त्यो तरबार कुनै पनि बेला घाँटी रेट्न तयार भएर बसेको छ । पुरुषको ढाडमा इज्जत र बहादुरीको गुलदस्ता राखिएको छ । उसलाई हरदम तिमी बहादुर भनेर, मुस्कुराउन तयार भएर बसेको फूलको गुच्छा छ । इज्जत र चरित्रको यो डरलाग्दो मानकसँग जुध्नु आगोको लप्कामा आफैं हामफाल्नुसरह हो ।

जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो, ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणाशासनमा मात्रै होइन, महिलाको यौनिकतामाथिको नियन्त्रण आजसम्मै छ । मानव सभ्यतामा निजी सम्पत्तिमाथि नियन्त्रणका लागि बन्धक गरिएको यौनिकता महिलाका लागि सबैभन्दा हानिकारक विष हो । ऊबेला सम्पत्तिका लागि यौनिकता कैद भयो । समयक्रममा यो प्रतिष्ठासँग जोडियो । कथित प्रतिष्ठाका लागि महिलाको ज्यान नै लिन थालियो । परिवार र समाजको कथित इज्जत महिलाका लागि ज्यानमारा भयो । गत वर्ष मंसिर १४ गते अखबारहरू एउटा डरलाग्दो अपराधको समाचारले भरिए । रौतहट माधवनारायण नगरपालिका–७ की सत्र वर्षीया किशोरी अमृताको आफ्नै बाबुको योजनामा गोली हानी हत्या गरियो । परिवारले तिरस्कार गरेका, उमेर दोब्बर जेठा र कथित तल्लो जातिका पुरुषसँग अमृताको प्रेम थियो । पिता रामअयोध्याले छोरीको हत्या गर्नुको मूल कारण उनले कमाएको कथित सामाजिक मर्यादा नै हो । छोरीको निजी साथी छनोटले उनको मर्यादामा पहिरो गयो र छोरीकै हत्या गरे ।

‘इज्जत गयो’ भनेर परिवारले नै हत्या गरेको यो घटना एक वर्षअघिको मात्रै हो । यस्तो बेला इज्जत, करिअर आदि सबैको पर्वाह नगरी उजुरी दिने किशोरी देशको बहसको केन्द्रविन्दुमा छन् । उनलाई साथ दिने परिवार सलाम गर्नलायक छन् । कतिपयले उनीहरूलाई ‘इज्जत नभएकाहरू’ भनिरहेका छन् । अन्यायमा लड्न तम्सनेलाई बात लाउनेहरू होस गर– इज्जत त तिमीहरूको खरानी हुँदै छ ।

जेन्डरको कार्यक्रम र समानताको बहसबीचको अन्तर पनि सतहमा ल्याएको छ अहिलेको समयले । भारतीय अधिकारकर्मी कमला भसिन भन्ने गर्थिन्, ‘संसारभर

फ्यासनको रूपमा फैलिएका जेन्डर कार्यक्रमको भेलमा समानताको बहस र आन्दोलन हराउँदै गएको छ ।’ देशको प्रतिनिधित्व गरेर राष्ट्रसंघका कार्यक्रमहरूमा पुग्ने महिलाहरूमा पनि समानताको मूलभूत मापदण्ड के हो भन्ने चेतसम्म नहुनु यसैको परिणाम हो । देशमा भित्रिएका स्रोत र साधनमा दशकौं हालीमुहाली गर्ने महिलाहरूले किशोरीमाथि भइरहेको यौन दुर्व्यवहारमा समस्या देखेनन् । नाबालिगहरूको रक्षाका लागि बनाइएका कानुनमा समस्या देखे । आम मानिसमा उर्लिएको किशोरीप्रतिको घृणाको आगोमा घिउ थपिदिए । यी मानिसले नयाँ पुस्ताको चेतनासँग खतरा मोलेका छन् । कथित कुलीन र संस्कारी मूल्यमान्यताकै आडमा उभिएका जेन्डर बहसका जागिरेहरू समानताको यात्राका बाधक हुन्, इज्जतको डरलाग्दो परिभाषाका पहरेदार । चेतनाको पहिरोले नै सफा गर्नेछ पुरातनका पहरेदारहरूलाई ।

यस्ता मन्द विषसँग आजका किशोरीले जुध्ने साहस देखाउनु जंगबहादुरको बाघसँग लडेजस्तै हो । बाघसँग लड्ने केटीहरूसँग जोरी नखोज ।

कथित इज्जत र संस्कारको तरबार छोरीको ढाडमा राखेर हिँड्ने परिवारले कल्पनै गर्न नसक्ने संस्कार यी किशोरीले पाएकी छन् । उनी डरमा हुर्केकी पात्र होइनन्, न्याय र अन्यायको चेत भएका मातापिताको काखमा हुर्केकी निर्भय लडाकु हुन् । छोरीलाई डरमा हुर्काउने कथित कुल खानदान र संस्कारको जीर्ण स्तम्भ पनि अब ढल्ने बेला भयो ।

र, यो ढल्नैपर्छ ।

मिडिया र कानुन

मूलधारका सञ्चारमाध्यमले नै यौन अपराधको कोटीमा राख्नुपर्ने घटनालाई समाचारका रूपमा पेस गर्थे । यो एकादेशको कथा होइन । एक दशकअघिको तथ्य हो ।

एक दशकभित्रै मूलधारका मिडियामा फेरिएको परिदृश्य कसैले दिएको आशीर्वाद होइन । सचेत मानिसहरूको खबरदारीकै परिणाम हो । ‘चरित्रहीन आइमाईलाई बाघको मुखमा फालिदिनू’ भन्ने जंगबहादुरको हुकुमी कानुन हुँदै, किशोरीहरूको शरीरको रक्षा गर्ने कानुनसम्मको यात्रा हामीले गरेका छौं । यो यात्रामा कति मानिसका पसिना, आँसु र अपमान मिसिएका होलान् । कति धैर्य, त्याग र बलिदान होला । कल्पना गर्न सकिन्छ । ज्ञात–अज्ञात सबै योद्धालाई शिर झुकाएर सलाम गरोस् समाजले ।

संवेदनाहीनताका अवशेष मूलधार भनिएकै मिडियाहरूमा पनि बाँकी छन् । देशमा नाम चलेका टेलिभिजन र प्रस्तोताहरूले अप्ठ्यारै नमानी बालिकाको चरित्रहत्यामा सहयोग हुने गरी सामग्री बनाए, प्रसारण गरे । असंवेदनशीलताको यो घीनलाग्दो व्यवहार फेरिनैपर्छ । उनीहरू देर सबेर जवाफदेही हुनैपर्छ ।

केही सञ्चारमाध्यमले दिएको आडका कारण सामाजिक सञ्जाल किशोरीको चरित्रहत्याको होलीमा रमायो । अधिकांश मूलधार सम्हालिए । तर, संवेदनाहीनताको सरुवा रोग अधिकांश युट्युब पत्रकारितामा देखियो । सचेत नागरिकको खबरदारीले जिम्मेवार सञ्चारमाध्यम र प्रशासनलाई यस्ता सामग्रीबारे ध्यानाकृष्ट गर्न सफल भयो । खबरदारीपछि उनीहरूको आतंकमा धेरै हदसम्म लगाम लाग्यो । भएको नियम कानुन सही ठाउँमा लगाउँदा, अगुवा मिडियाहरूले सही दिशा देखाउँदा, भीड सम्हालिँदो रैछ । प्रशासन र मिडियाले पनि आफ्नो फैलिएको कर्तव्य बोध गरे होलान् । आस गरम् ।

दुई दशकअघि मात्रै एक पत्रिकामा केटीको फोटो सार्वजनिक गरेर ज्यान लिने समाजका चेतनशील मानिएका पत्रकार नै थिए । अहिले अपराधीहरू यस्ता सामग्री सार्वजनिक भए आफ्नै जीवन र इज्जत सकिन्छ भनेर डराउन थालेका छन् । पछिल्लो प्रकरणले लुकेर नाबालिगमाथि अत्याचार गरिरहेकाहरूको सातो गएको छ । हरेक क्षेत्रका ज्ञातअज्ञात पीडकहरूको सातो जानुपर्छ । यतिबेला गएको सातो कहिल्यै नफर्कोस् ।

प्रकाश ओझाको अश्लील भिडियो प्रकरण अर्को डरलाग्दो सम्झना हो नेपालीका लागि । यौन दुर्व्यवहार साबित भएर ओझा जेल परे । उनले दुर्व्यवहार गरेकी केटीले सामाजिक लाञ्छना सहन नसकेर आत्महत्या गरिन् । कानुन आफ्नो पक्षमा हुँदा पनि सामाजिक व्यवहारका कारण केटीहरूको ज्यान गएको उदाहरण छ समाजमा । कानुन महिलाको हितमा बढी भयो, यो परिवर्तन हुनुपर्छ भन्ने सोच राख्नु झन् डरलाग्दो विषय हो । आधुनिक सती प्रथाका वकिलहरू खबरदार !

मानवीय सुरक्षाका मुद्दालाई सानो देखेर नबोल्ने ज्ञानीहरूको ठूलो समूह थियो । अझै पनि प्रकाण्ड विद्वान्हरू यस्ता मुद्दालाई सानो मान्छन् । मुद्दाको आकार, वर्ग र लिंग हुँदैन । यो आफूलाई घगडान विद्वान् ठान्ने मानिसहरूको सानो आयतनको दिमागी सोच मात्रै हो । यस्तो सोचमा पनि बिस्तारै बद्लाव आउँदै छ । मानवीय सुरक्षाका विषय पत्रिकाका कुनामा मिल्काइने दोस्रो दर्जाका समाचार थिए । बिस्तारै मूलधारको बहस बन्दै छ । किशोरीको जाहेरी बहसले नेपाली समाजमा एउटा भूकम्प नै ल्याएको छ । यसको परकम्पहरू केही समयका लागि मात्रै हुनुहुन्न । यो निरन्तर आइरहनुपर्छ । सबैभन्दा धेरै चरित्रको गुण गाउने, तर सबैभन्दा चरित्रहीन समाजको निर्मम समीक्षा हुनुपर्छ । योपटक अग्निपरीक्षाको चितामा असली चरित्रहीनहरू होमिनेछन् ।

आफ्नो हितमा कानुन र परिवार उभिएपछि केटीमा हुने साहस आत्मविश्वासको खुलेको रङ यो पटक देखियो । मूलधारका मिडिया र देशमा विचार निर्माण गर्ने व्यक्तिहरूले सही दिशा लिनासाथ पनि धेरै कुरा बदलिएर जानेछ । मक्किएको इज्जतको परिभाषामा आफैं होमिएर आगो लगायो किशोरी र उनको परिवारले । इज्जतको बोझको भागबन्डा हुन खोजिरहेको समय छ । सानोतिनो भूकम्प जानु स्वाभाविक हो । युगौंदेखि बदलिन नसकेको सामाजिक संरचनाको वैधानिक परिभाषा यो पटक फेरिएरै छाड्नेछ ।

प्रकाशित : फाल्गुन २८, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?