कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

आत्मकथा गोर्खा भर्तीको

युद्धमा लाहुरेहरू मारिएपछि गाउँमा धेरै नवविवाहित महिला विधवा भए । त्यसपछि गाउँको सभाले तिनको विवाह देवरसँग गरिदिने प्रचलन थालनी गर्‍यो । गुल्मीका केही मगर गाउँहरूमा यस्तो प्रचलन छ ।
रामचन्द्र श्रेष्ठ

मगर बाहुल्य भएको गुल्मीको भार्से गाउँ लाहुरे गाउँका रूपमा परिचित छ । उसो त लेखक बोमबहादुर थापा (श्रीस) ले भार्सेको सम्पूर्ण परिचयलाई एउटा शब्दमा खुम्चाएका छन्— पल्टनघर । अर्थात्, सिंगो गाउँ आफैंमा एउटा पल्टन हो । पल्टन मात्रै नभई पल्टन तयार गर्ने कारखाना हो, जसले छोरा जन्माउँछ लाहुरे बनाउन । जसले सपना देख्छ, फौजमा उपल्लो दर्जामा पुगेको । यस्तो गाउँ, जहाँ हावाले पनि सुनाउँछ लाहुरे गाथा, वीरता, फौज, बहादुरी र बलिदानका कथा ।

आत्मकथा गोर्खा भर्तीको

गोर्खा भर्ती वा लाहुरे नेपाली समाजमा जति नै चर्चा गरे पनि कमी भइरहने विषय हो । यो विषय मात्र होइन, सुगौली सन्धिपश्चात् अर्थात् दुई शताब्दीदेखि चलिआएको परम्परा हो । गोर्खा भर्तीबारे कैयौं पुस्तक लेखिएका छन्, कैयौं विवेचना गरिएका छन्, कैयौं शोध गरेर दृष्टिकोण निर्माण गरिएका छन् । यस्तो खालको लेखोटमा अधिक लेखनी अंग्रेज दृष्टिकोणबाट प्रभावित छन् । उनीहरूले ‘गोर्खा’ लाई एउटा विम्ब बनाएका छन् र त्यसलाई परिभाषित गरेका छन्— सैन्य जाति वा लडाकु जाति । अर्थात् एउटा यस्तो मानव जाति, जो लड्न उत्सुक रहन्छ, जसको रगतमा बलिदान, वीरता र मारकाट मात्र रहन्छ ।

यसरी ‘लडाकु’ विम्बको सिर्जना गर्नुको अन्तर्यमा पाश्चात्य सभ्यताको श्रेष्ठता सिद्ध गर्नु र पूर्वीय सभ्यतालाई ‘असभ्य’ चित्रण गर्नु थियो । त्यसका लागि मध्यपहाडी भेगका मगर, गुरुङ, राई, लिम्बूलाई सोझा, इमानदार र वीरका रूपमा व्याख्या गरियो । खासगरी सन् १८५९ को पहिलो भारतीय स्वतन्त्रता संग्रामपछि ‘मार्सल रेस थ्यौरी’ (सैन्य जातिको सिद्धान्त) प्रतिपादन गरियो, जसअनुसार दुःख–सुख गरेका, पहाडका उकाली ओराली गरेका, एउटा निश्चित भूगोलमा समेटिएर बसेका, मिहिनेती जातिलाई सैन्य जातिको रूपमा लिइयो । र, तुलनात्मक रूपमा लाभदायक भूगोलमा बसेका, सुखसुविधा भोग गरेका, ‘पठित’ लाई गैरसैन्यको रूपमा लिइयो । पल्टन निर्माणको क्रममा पनि ‘सैन्य जाति’ को बेग्लै पल्टन बनाउने, अन्यसँग अक्षुण्ण राख्ने रणनीति अपनाइयो ।

यसरी बेलायती साम्राज्यवादको ज्यावलको रूपमा ‘गोखा’ नामक ‘सैन्य जाति’ परिकल्पना गरियो । त्यसैले मेरी डेसेनले आफ्नो विद्यावारिधि शोधपत्र ‘रेलिक्स अफ एम्पाएर : अ कल्चरल हिस्ट्री अफ द गुर्खा, १८१५–१९८७’ मा लेखेकी छन्, ‘तिनीहरू (गोर्खा) औपनिवेशिक शासनको साधन र औपनिवेशिक ज्ञानको विषय दुवै बने ।’ र, यी ‘गोर्खा’ खासमा गोर्खाली नै होइनन् । बरु यी त गोर्खालीसँग संघर्ष गर्नेहरू हुन् । चाहे मध्यनेपालका उच्च पाखाहरूमा बस्ने मगर, गुरुङ हुन् वा पूर्वका राई, लिम्बू । तर, औपनिवेशिक परिभाषामा यी ‘गोर्खा’ बनाइए । यी ‘अरु’बाट व्याख्या गरिएका ‘गोर्खा’ आफूलाई कसरी लिन्छन् ? आफैंबारेको धारणा के हो ? यिनका गाउँमा गोर्खा भर्तीले के परिवर्तन ल्यायो ? गोर्खा भर्तीको दुई शताब्दी लामो इतिहासले यिनको संस्कृतिमा के परिवर्तन ल्यायो ? यस्ता धेरै प्रश्नको उपयुक्त स्रोत बनेको छ, श्रीसको किताब ।

पेसाले श्रीस बागवानी विशेषज्ञ हुन् । विशेषज्ञको हैसियतमा सरकारी सेवा गरेर हालै उनी सेवानिवृत्त भएका छन् । जीवन यात्राको घुम्तीमा उनी कसोकसो भर्ती हुनबाट छुटे । यसका पछाडि उनको अध्ययनप्रतिको लगाव थियो भन्न सकिन्छ । मान्छेको जीवन कहाँ उसले छनोट गरेजस्तो हुन्छ र ? उसो त नियतिलाई दोष पनि दिइन्छ । ‘नियति’ आफैंमा भने सामाजिक उत्पादन हो । सामाजिक उत्पादन प्रणाली, संस्कृति, जीवन दर्शन, जीविकोपाजर्नका अनेकन प्रयत्न आदिको ठक्कर, टकरावबाट संयोगहरूको निर्माण हुन्छ । सायद यस्तै स–साना संयोगहरूले जीवनको गोरेटो फरक पार्छ । फरक त आखिर थोरै न हुने हो । रोबर्ट फ्रस्टले

आफ्नो कविता ‘द रोड नट टेकन’ मा लेखेझैं— ‘मैले कम चल्तीको बाटो रोजें र सारा फरक त्यसैले पारेको हो ।’ हो त, श्रीसले कम चल्तीको बाटो रोजे । उनका गाउँमा लाहुरेहरूले विसं १९८७ सालमा खोलेको पाठशाला थियो । गोर्खा भर्तीको एउटा उल्लेखनीय प्रभाव थियो त्यो— पाठशाला, पढाउनुपर्छ भन्ने सोच । त्यो विद्यालय २०१८ सालमा हाइस्कुलमा स्तरोन्नति भयो । त्यहाँ हरेक दिन पीटी–परेड गर्नैपर्थ्यो । अर्थात्, सिंगो गाउँमा जे हुन्थ्यो लाहुरे बन्ने उपक्रम नै हुन्थ्यो । लाहुरे बन्ने तयारी नै हुन्थ्यो । आखिर त्यो ‘पल्टनघर’ न थियो । तर, त्यो पल्टनघरमा जन्मिएका श्रीस कताकताबाट बाकटे हान्निएर लागे रुपन्देहीको दक्षिण पक्लिहवा कृषि विज्ञान पढ्न । उसो त पक्लिहवा थियो गोर्खा भर्ती यात्राको एउटा उल्लेखनीय ठाउँ, जहाँ बेलायती फौजका लागि भर्ती लिइन्थ्यो, जहाँ फौजबाट घर फर्कदाँ पतिया गरिन्थ्यो ।

जब भारत स्वतन्त्र भयो पक्लिहवाको बेलायती फौज भर्ती केन्द्रलाई कृषि क्याम्पस बनाइयो । यो एउटा रमाइलो संयोग थियो वा भनौं बृहत् सामाजिक सम्बन्धले निर्माण गरेको ‘नियति’ । एकातिर कृषि क्याम्पस खुल्नु र अर्कोतिर भार्सेको पल्टनघरबाट उछिट्टिएर बोमबहादुर श्रीस त्यहाँ पुग्नु । उसो त उनी बिदामा घर फर्कंदा गल्लावालले केटाहरू छानिरहेको थियो र उनलाई पनि सामेल गराइएको थियो । तर, एउटा सानो फरक चाहिएको थियो जीवनमा, त्यो फरक थियो उनको तौल । चाहिन्थ्यो ५० किलो, उनी थिए ४८ किलो । आखिर दुई किलोको फरकले उनलाई बागवानी विशेषज्ञ बनाइदियो । तर, लाहुरेहरूका कथा सुन्दा सुन्दा उनलाई रेकर्ड गर्न मन लाग्यो । उनी अभिलेखीकरण गर्न थाले । र, कालान्तरमा एउटा पुस्तक लेखियो— ‘भार्सेली गोर्खागाथा र सेरोफेरो’ ।

किताबमा ५ खण्ड, ६ अनुसूची समेटिएका छन् । पहिलो खण्ड छ— ‘सामाजिक तथा ऐतिहासिक पहिचान’ । यो खण्डमा श्रीसले भार्सेको परिचय, संक्षिप्त इतिहास, लाहुरे बन्ने पृष्ठभूमि र भर्ती जाने बाटो उल्लेख गरेका छन् । कुनै कालखण्डमा कारण विशेषले लाहुरे बनेपछि त्यो कसरी पुस्तैनी हस्तान्तरण भयो र मगरहरू तामाका खानी खन्न छोडेर फलामे बन्दुक समात्न पुगे भन्ने रोचक विवरण छ यसमा ।

राणा शासनमा साधारण नेपालीको पहुँचमा जुत्ता थिएन । गाउँका जिम्दारहरूले जुत्ता लाउँथे त्यो पनि काँचो छालाको । भर्ती भएका लाहुरेहरू अनेकन तक्मा, फुलीसहित बुट बजार्दै गाउँ आउँथे । भर्ती उनीहरूका लागि केवल जीविकोपार्जन थिएन । गोर्खा भर्ती उनीहरूका लागि ‘इज्जत’, ‘प्रतिष्ठा’, ‘स्वाभिमान’ र ‘सम्मान’ थियो । बिहेका लागि पनि पहिलो प्राथमिकता लाहुरे नै हुन्थे । लाहुरेहरूले बेलायती साम्राज्यवादका लागि मोर्चामा मात्र काम गरेका थिएनन् । उनीहरूले बेलायती उत्पादन पनि गाउँ गाउँमा पुर्‍याएका थिए । यसले एकातर्फ गाउँको संक्षिप्त भूगोलमा समेटिएका नेपालीलाई विश्वबजारको स्वाद चखायो भने बेलायती सामानका लागि बजारको विस्तार पनि गर्‍यो । इतिहासको वर्णन गर्दा श्रीसले तथ्यांक प्रस्तुत गरेका छन्— पहिलो विश्वयुद्धमा ७४ जना भार्सेलीहरू युद्ध लडेका थिए । दोस्रो विश्वयुद्धमा त्यो संख्या १८५ पुगेको छ । भार्सेबाहेकको छेउछाउका गाउँको संख्या पनि उनले उल्लेख गरेका छन् । गोर्खा भर्तीबाहेक भारतीय फौजदेखि ब्रुनाईको गार्डसम्मको चर्चा गरेका छन् ।

दोस्रो खण्ड छ— गोर्खा भर्ती एवं व्यक्तित्व । यो अलि बृहत छ । यसमा उनले केटा छान्ने १५ जना गल्लावालहरूको चर्चा गरेका छन् । त्यस्तै भर्ती हुने तरिका । भर्तीपछिको रमझम । फौजबाट फर्किदाँको भट्टीवाला चर्तिकला वर्णन गरेका छन् । यसले नेपाली समाजका लागि भर्ती कसरी एउटा संस्कृति बनेको थियो भन्ने चित्रण गर्छ । यही खण्डमा उनले ‘गोर्खा भर्तीको किसिम’ को उपमा दिएर बेलायती साम्राज्यवादको गोर्खाली पल्टनदेखि दलाई लामाको टु–टु ग्रुपसम्मको चर्चा गरेका छन् । अर्थात्, ‘गोर्खा भर्ती’ केवल गोर्खाली पल्टनसम्म सीमित नभएर बृहत्तर सुरक्षा फौजमा सामेल हुनुको उपमा बनेको छ । र, ‘विश्वव्यापीकरण’ को नाममा परिधिका देशको मानवीय स्रोतको दोहनको क्रममा यो परिभाषा अझै फराकिलो बन्ने सम्भावना देखिएको छ । यही खण्डमा उनले पल्टनमा सम्मानित भार्सेली गोर्खाको विवरण पनि समेटेका छन् ।

खण्ड ग हो— युद्ध कथा एवं युद्ध मोर्चा । यो खण्ड बयानहरूको संकलन हो । यसमा उनले ‘लाहुरे’ को मौलिक भाषामा उनीहरूको कथा प्रस्तुत गरेका छन् । विश्वयुद्ध लडेका १३ जना लाहुरेका कथा समेटेका छन् । त्यसबाहेक भारत–चीन, भारत–पाकिस्तान, १८७२ को बंगलादेशको युद्धमा लडेकाहरूको कथा पनि समेटेका छन् ।

‘बहादुरी एवं सैन्य मेडल’ शीर्षक दिइएको खण्ड ‘घ’ मा उनले भी.सी. र अन्य तक्मा पाउने गोर्खाहरूको ‘वीरता’ को चर्चा गरेका छन् । अन्तिम खण्डको शीर्षक हो— ‘सामाजिक सम्बन्ध एवं सैन्य विवरण’ । यसमा उनले गोर्खा भर्तीले सामाजिक सम्बन्ध, संस्कृति र जीवनशैलीमा ल्याएको परिवर्तनको चर्चा गरेका छन् । युद्धमा लाहुरेहरू मारिएपछि गाउँमा धेरै नवविवाहित महिला विधवा भए । त्यसपछि गाउँको सभा बसेर देवरसँग बिहे गरिदिने अर्थात् ‘भाउजू सोमर्ने’ प्रचलनको थालनी गरियो । यसको पछाडि आर्थिक कारण पनि हुन सक्छ । मृतकको क्षतिपूर्ति घरमै सुरक्षित राख्ने उपाय पनि हुनुपर्छ । गुल्मीका केही मगर गाउँमा कतैकतै यस्तो प्रचलन अभ्यास भएको पाइन्छ । यो एउटा उल्लेखनीय विषय हो नेपाली सामाजिक संस्थाहरूको परिवर्तनको कारकहरूको अध्ययनका लागि ।

श्रीसको लेखनी बढी विवरणात्मक, कम विश्लेषणात्मक छ । सायद उनी विश्लेषणको जिम्मा पाठकलाई नै छाड्छन् । उनको लेखनीमा एथ्नोग्राफीका गुण प्रशस्तै पाइन्छन् । समयले उनलाई थप जिम्मेवारी बाँकी छाडेको छ । भार्से अहिले बसाईं सरेको छ । कपिलबस्तु, रूपन्देही र नवलपरासीमा मात्र हजारभन्दा धेरै घरधुरी भार्सेली छन् । काठमाडौंमा पनि तीन सय जति घरधुरी छन् । अहिले त्यो पल्टनघर विघटन भएको हो वा त्यसमा रूपान्तरण आयो ? आन्तरिक बसाइँसराइको आयाम कस्तो छ ? यस्ता थप प्रश्नहरूमा केन्द्रित नयाँ किताबको आशा गर्नु पाठक धर्म हो ।

प्रकाशित : फाल्गुन २८, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?