एक गाली एक ‘अभिशाप’

मेरी आमाको दुःखको साक्षी हुँ म । अहिले पनि आमा मगन्ते जीवन बाँचिरहेकी छन् । तर, उनी अब नुन, तेल, पिठो माग्दिनन् । अलिकति आत्मसम्मान र इज्जत माग्छिन् ।
अस्मिता बादी

नारी–शरीर पुरुषको दैनिक उपभोग्य साधनभन्दा बढी केही हुन सकेन । मानौं महिला मानिस होइनन्, रिमोट कन्ट्रोल पुतलीहरू मात्र हुन् । पुरुषको उद्देश्यका लागि बाँचिदिनुपर्ने ! आफ्ना रहर थन्क्याएर पुरुषकै नीतिनियममा चलिदिनुपर्ने ! जीवनभरिको सारा मिहिनेत सिर्फ पुरुष जातिका लागि खर्चिनुपर्ने !

एक गाली एक ‘अभिशाप’

मानवजातिको आधाभन्दा बढी भाग ओगटेका महिलाको अस्तित्व एकचौथाइ पनि छैन । विश्वका समृद्ध र जतिसुकै शक्तिशाली भनिएका राष्ट्र नै किन नहुन्, त्यहाँ पनि महिला स्वतन्त्र छैनन् ।

नेपालको सन्दर्भमा कुरा गरौं, यहाँ स्वतन्त्रता त परको विषय भैगयो, नारीहरू सुरक्षित पनि छैनन् । पितृसत्ताले जरो गाडेको समाज न हो, छोरी भन्ने थाहा पाउनेबित्तिकै गर्भ तुहाउन हतारिन्छन् मान्छेहरू । यदि छोरी जन्मिहाले पनि ऊमाथि पिताको सत्ता हावी हुन्छ । अलि प्रौढ भइसकेपछि श्रीमान्को सत्ता अनि बुढेसकालमा छोराको सत्ता । यसरी नारीले जन्मेदेखि नमरुन्जेल पुरुषकै सत्तामुनि कुल्चिइनुपर्छ । स्वतन्त्रता फगत एक सपना भइदिन्छ ।

यो त भयो समग्र नेपाली आम महिलाका पीडा, तर आज पनि हाम्रो देशमा यस्ता महिला छन्, जसले एक पूर्ण नारीको अस्तित्व बाँच्न पाएका छैनन् । उनीहरू बाँचेका त छन्, तर आज पनि ‘नेपाली महिला’ भइसकेका छैनन् । उनीहरू सदिऔंदेखि भए त केवल गालीका भागीदार । अनि भए ‘भाड’ (अरूको घर भाँड्ने) ‘पात्तर’, र ‘भल्ला’, जसको सोझो अर्थ हुन्छ– एक वेश्या ।

***

जात व्यवस्थामा आधारित नेपाली समाजमा बादी हुनु र मान्छे नहुनु दुवै उस्तै हो । त्यसमाथि झन् छोरी हुनु त अभिशापै हो । बादी समुदायका आफ्नै कहालीलाग्दा कथा छन् । र, त्यहीँभित्रका महिलालाई यो समाजले यसरी नाङ्गो पारेको छ कि मानौं उनीहरू यस समाजका केही होइनन्, कोही होइनन् । मानौं उनीहरू पछि कहीँबाट आफ्नो अस्तित्व माग्न आएका अमान्छे हुन् । बादी महिलाको चरित्रहत्या गर्नु नेपाली समाज र पुरुषवादी सोच भएकाहरूको आदतै बनेको छ । बादी महिलालाई दमन गर्न कुनै कसर छोड्दैनन् मान्छेहरू । अक्सर दिनमा मर्यादाका कुरा गरिरहेकाहरू नै हुन्, जो रातमा लात र हात दुवै चलाउँछन् ।

नेपाली समाजमा बादी एक नाम होइन, केवल कलंकको अर्को उपनाम हो । बादी महिला समाजमा बाँचेका होइनन्, केवल सास फेरिरहेका हुन् । रोग, भोक अनि अभावमा पिल्सिएका उनीहरूका कथा कुनै कहालीलाग्दा दन्त्यकथाभन्दा बढी दर्दनाक छन् । दन्त्यकथाको त सुखद अन्त्य हुन्छ, तर बादी महिलाको हकमा यस्तो हुन सक्दैन किनभने उनीहरूले समाजबाट पाएको चरम उत्पीडन र तिरस्कारको न आदि छ न अन्त्य । बादी महिला सदियौंदेखि सामाजिक बहिष्करणमा परेका छन् । तर, मेरो राज्य यी सबै बहिष्करणबाट बेखबर छ, उहिलेदेखि अहिलेसम्मै ।

अन्य समुदायका महिलाभन्दा तुलनात्मक हिसाबले दलित महिलामा बढी हिंसा, दुर्व्यवहार हुने गरेको पाइन्छ भने दलितभित्रका पनि दलित मानिने बादी महिलाको त कुरै छाडौं । जन्मसिद्ध ‘वेश्या’ उपनाम पाएका बादी महिलामाथि हुने हिंसा, उत्पीडन, जबरजस्ती करणी आदिको हिसाबकिताब कसले राख्ने ?

इतिहासका अनेक कालखण्डदेखि अहिलेसम्मै हेपाइ र चेपाइमा परेका सबैको कहानी उस्तैउस्तै छ । सुरुवातदेखि नै दबाब र अभावमा बाँचेका उनीहरू आज पनि आत्मसम्मानको लडाइँ लडिरहेका छन् । देशको अवस्था फेरियो, व्यवस्था फेरियो, तर बादी महिलाको उत्पीडनको अँध्यारो कथा कहिल्यै फेरिएन 

परम्परागत रूपमा राजा–रजौटाहरूको घरमा हुने शुभकार्यहरूमा नाच्ने, गाउने, बजाउनेजस्ता मनोरञ्जनात्मक कार्य गर्थे बादीहरू, तर समयसँगै उनीहरू बाध्यताको परिधिभित्र कैद रहन बाध्य भए । आफ्नो स्थायी बसोबाससमेत नहुँदा महिनैपिच्छे गाउँ–ठाउँ परिवर्तन गर्दै मागेर बाँच्ने र परिवार बचाउन थाले । तर, सधैं मागेर जीवन चलाउनु सम्भव थिएन । सामाजिक रूपमा बहिष्कृत र वञ्चितीकरणमा परेका बादीहरूले बाध्यात्मक रूपमा यौन पेसा अपनाउन थाले । सर्वस्व लुटिएका बादी महिलासँग अब लुटाउन देहबाहेक के थियो ? बाँकी केही न भएपछि देह दिएर बाँच्न थाले ।

...

म मेरी हजुरआमा, आमा र मेरो पुस्ताको कहानी सुनाउँछु । एक छिन सुन्ने धैर्य गर्नुस् ।

मेरी हजुरआमा गाउँगाउँमा मागेरै परिवार चलाउँथिन् । मगन्ते जीवन बाँचेकी उनी खानाका लागि नुन, तेल, दाल, पिठोजस्ता दैनिक उपभोग्य वस्तु माग्थिन् मान्छेहरूसँग । लाज र अपमानभन्दा पनि ठूलो त भोक रैछ । जसले जे भने पनि बाँच्नैपर्ने अनि बाँच्नका लागि खानैपर्ने, तर खाने के ? खाने कसरी ? एउटै विकल्प हो— मागेर । तिरस्कार, अपमान, गालीगलौजका बावजुद पनि माग्नैपर्ने । उनीहरू रहरले मगन्ते भएका होइनन्, तर समाजले कुनै विकल्पै छाडेन । भनिन्छ नि— ‘मर्नुभन्दा बौलाउनु बेस ।’

सानै छँदादेखिकै मेरी आमाको दुःखको साक्षी हुँ म । अहिले पनि आमा मगन्ते जीवन बाँचिरहेकी छन् । तर, उनी नुन, तेल, पिठो माग्दिनन् । अलिकति आत्मसम्मान र इज्जत माग्छिन् । कसैले हामीलाई गालीका रूपमा ‘बादी’ शब्द प्रयोग गरेको उनलाई सह्य हुँदैन । कसैले गल्ती गरे भन्ने गरिन्छ– ‘कस्तो बदेनीजस्तो ?’ मानौं बादी महिलाहरू नै गाली हुन्, जसलाई जहाँ मन लाग्छ त्यहीँ प्रयोग गर्ने ।

विद्यालयमा पनि बारम्बार म गालीकै रूपमा प्रयोग हुन्थेँ । गालीहरू चसक्क मुटुमा बिझ्थे । तर, कहिल्यै केही बोल्न सकिनँ । यस्तो लाग्थ्यो, बादी हुनुमा मेरै मात्र दोष छ । म एक गाली हुँ, म एक अभिशाप हुँ– मनमनै बादी हुनु परेकामा आफैंलाई धीत मरुन्जेल यसरी गाली गर्थें । कहिलेकाहीँ आमालाई पनि सोध्थेँ । आमाको सधैं उत्तर एउटै हुन्थ्यो– ‘त्यसैले त धेरै पढ् भनेको !’

शिक्षाले नै हो मानिसको चेतनास्तर निर्माण गर्ने । तर, बादी समुदायका महिलाले विद्यालयको ढोका टेक्नसम्म पनि पाएनन् । ‘छोरी मान्छे अर्काको घर जाने जात पढाउनु हुँदैन’ भन्ने पितृसत्तात्मक सोच अझै छ । त्यसमाथि बादी महिलाको जवानी त मज्जाले चल्छ, तर छोएको पानी, टेकेको जमिन पनि अछुत मानिन्छ । यस्तो समाजमा बादीका लागि शिक्षा सहज छँदै थिएन ।

संविधानको मौलिक हकअन्तर्गत लेखिएको छ– महिलाहरूलाई लैंगिक विभेद नगर्ने, राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशिता आदि । तर, मौलिक हकले नै आधारभूत शिक्षा अनिवार्य भने पनि बादी महिलाले त्यो ‘शिक्षा’ पाएका छैनन् । उनीहरू शिक्षाबाट वञ्चित छन् । पढ्ने रहर नभएको हो र ? तर, अवसरै पाएका छैनन् । विद्यालय गइहाल्ने वातावरण छैन, एकाध कोही गइहाले पनि समाजको गिद्धे नजर र लाल्छनाको सामना गर्न सक्ने हिम्मत कमैले गर्छन् । शिक्षाले शिक्षित बनाउनुपर्ने हो, तर शिक्षाले नै विभेदको जरो मानिसको मगजभित्र भर्दोरहेछ । नपत्याए हामी बाँचिरहेको यही समाजका ‘शिक्षित’ हरूका अनुहार हेर्नुस् । यहाँ त शिक्षालयबाटै शोषण सुरु हुन्छ । गुरुहरूबाटै शोषित हुनुपर्छ ।

म पनि हुँ एक भुक्तभोगी । मेरो घरनजिकै शर्मा सरको घर तियो । घर पनि सँगै र विद्यालयको बाटो पनि एउटै । त्यसैले प्रायः सर र मसँगै विद्यालय पुग्थ्यौं । सर छिटो हुँदा हामीलाई कुर्थे, हामी छिटो हुँदा सरलाई कुर्थ्यौं । सर सधैं अपाच्य शब्दहरू बोलेर मलाई अवाक् बनाउँथे । तर, एक दिन त अति नै गरे । भने, ‘तेरो त पोइ धान्ने बेला, मलाई धान्न सक्छेस् कि नाइँ ? एक दिन विचार गरौंला ।’ त्यसो भन्न उनलाई सजिलो लाग्यो होला, तर त्यो दिन मेरो आकाश खस्यो । ‘तेरो गरिखाने दिन आइसके, पढ्नमा मात्रै कति मिहिनेत गर्छेस् ?’ गाउँमा हरदिन मलक्षित यस्ता संवाद पनि सुनिरहन्थें । सरकी छोरी र म एउटै कक्षा पढ्थ्यौं । यसरी हेर्दा म उनकी छोरीकै उमेरकी थिएँ । अनि उनी थिए पेसाले शिक्षक । दमन हटाउन अभियन्ता बन्नुपर्ने उनै शिक्षक थिए– कलिला मस्तिष्कहरूमा दमनको बीउ रोप्ने एक शोषक । मलाई यति भन्न लाज लाग्दैन– बादी महिलाहरू घर, आँगन, विद्यालय, कलेज, मन्दिर कहीँ पनि सुरक्षित छैनन् ।

चेतनास्तर निर्माण गरी सक्षम नागरिक बनाउने शिक्षाको पहुँचमा नभएका बादी महिलाहरूको आत्मसम्मनको जीवन कल्पनाबाहिर छ । बादी महिला भएकै कारण कतिपय ठाउँमा क्षमता भए पनि पछि हट्नुपर्छ । र, कतिपय ठाउँबाट जबर्जस्ती हटाइन्छ । भन्नुपर्दा लाज लाग्छ– आज पनि महिलाहरू बेचिन्छन् । र, बेचिनेहरूको अग्रपंक्तिमा छन्— बादी महिला । यौन शोषण, छुवाछुत, विभेद र चरम हिंसाले थला परेका छन् उनीहरू । समाजमा बादी महिलाको हैसियत भनेकै यौनपिपासु पुरुषहरूको यौन कुण्ठा मेटाउने कठपुतलीको मात्रै हो ।

बाँच्नका निम्ति दिन–रात एक गर्नु, एक गाँसका निम्ति रगत–पसिनाले अरूको माटो भिजाउनु, पुरुषसरह खोलामा होमिएर बालुवा, गिट्टी निकाल्नु अनि लालाबालाको पेट भर्नु– यत्तिमै सीमित छ बादी महिलाको जीवन । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित गरिएका बादी महिलाको जीवनमा कहिले उदाउँछ घाम ? उनीहरूले चाहेरै पनि जीवन बदल्न सकेका छैनन् । चाहेरै पनि आत्मसम्मानका साथ बाँच्न पाएका छैनन् ।

बादी महिलाले अस्तित्व रक्षाको लडाइँ नलडेका पनि होइनन् । पितृसत्ताले वर्षौंदेखि नाङ्गो पार्दै आएका बादी महिला राजधानीको मुटुमा आफैं नाङ्गिए । चोट, पीडा, चीत्कार, आर्तनाद र जीवनभरिको अपमानको आक्रोश पोख्न मात्रै उनीहरू नाङ्गिएनन् । उनीहरू यस मानेमा नाङ्गिए कि जीवनभरि सबैसबैले हामीलाई नाङ्गो पारिसके, अब त आत्मसम्मानका साथ बाँच्न देऊ ।

जतिसुकै विभेद, समानता, समता, स्वतन्त्रता र कानुनका कुरा गरे पनि सामाजिक, राजनीतिक र आर्थिक पक्षमा बादी महिलाको सहभागिता शून्य छ । छिमेकमा पनि अपहेलित–उपेक्षित बादी महिलाको दैनिक–संघर्ष रोटीका लागि मात्रै हो । भोको पेट भर्न आफ्नो देह बेच्दा वेश्या कसरी ? अनि रहरले वेश्याकहाँ आउनेहरू बलात्कारी हुनहोइनन् ? बलात्कारीलाई यहाँ सम्मानित जीवन दिइन्छ, तर बादी महिलालाई समाजबाट बहिष्कार गरिन्छ । राज्य यी सब बुझ्छ, तर बेखबर बन्छ र मौन बस्छ । बादी महिलालाई राज्यले नै सौतेलो व्यवहार गरेको छ । समतामूलक समाजका लागि बादी महिला नचाहिने हुन् ? यदि चाहिने हुन् भने किन राज्यले उनीहरूको अस्तित्व रक्षामा कुनै पहलकदमी नगरेको ?

राज्यले करिबकरिब बादी महिलालाई नागरिकको दर्जासम्म दिन भुलेको छ । रोग, भोक अनि अभावमा तड्पिएका बादी महिलाको अवस्था भयानक दर्दनाक छ । पितृसत्तात्मक समाजमा हरेक नारी पीडित छन्, पिल्सिएका छन् । यस्तो लाग्न थालेको छ, पुरुषप्रधान समाजमा योनि लिएर जन्मिनु नै अभिशाप हो । र, अवसरहरूबाट वञ्चित हुनु हो । आफ्ना रहरसँग पुरुषको सहायक बन्ने सम्झौता गर्नु हो । र, पटकपटक बलात्कृत भई असुरक्षित जीवन बाँच्नु हो ।

घर, गृहिणीसम्मको अस्तित्वमा सीमित छ अधिकांश महिलाको पहिचान । तर, सबैभन्दा दर्दनाक र उपेक्षित छ– बादी महिलाको जीवन । आफ्नै रगत–पसिनामा बाँचे पनि समाज बादी महिलालाई ‘वेश्या’ भन्छ । बादीहरूलाई आत्मसम्मानको जिन्दगी बाँच्ने अधिकार छैन ?

प्रकाशित : फाल्गुन २८, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?