फिल्म समीक्षा

‘अश्लील’ धन्दामाथि श्लील बहस

बम्बई कोठीभित्रको कथामा बाईको जीवनी पस्कँदा पनि फिल्म सौम्य बनेको छ ।
फिल्म : गंगुबाई काठियावाडी
निर्देशक : सञ्जयलीला भन्साली
कलाकार : आलिया भट्ट, अजय देवगण, सन्तनु महेश्वरी, विजयराज
सुशील पौडेल

काठमाडौँ — प्रेमीले दिलाएको लोभमा हिरोइन बन्ने सपना बोकेर १६ वर्षे जवानीमा घरमा थाहै नदिई काठियावाडीदेखि मुम्बई छिरेकी गंगा । रिलको हिरोइन त कहिल्यै बन्न पाइनन्, तर रियलमा उनीहरूका लागि हिरो बनिन्, जो कमाठीपुराको बदनाम गल्लीमा आफ्नो शरीर बेचेर बाँचिरहेका थिए ।

‘अश्लील’ धन्दामाथि श्लील बहस

सञ्जयलीला भन्सालीको लेखन, निर्देशन रहेको फिल्म ‘गंगुबाई काठियावाडी’ को केन्द्रीय भूमिकामा रहेकी आलिया भट्ट गंगुबाईको प्रतिनायक चरित्रमा देखिएकी छन् । एक हजार रुपैयाँमा आफ्नै प्रेमीबाट बेचिएकी गंगा पछि कसरी त्यहाँका झन्डै ४ हजार यौनकर्मीको हकहितका लागि लडिन् र कमाठीपुराकै गंगुबाई बनिन् ? यो फिल्म गंगादेखि गंगुबाईसम्मको चारित्रिक यात्रा हो ।

२६ वर्षअघि मनीषा कोइराला र सलमान खानको म्युजिक रोमान्टिक फिल्म ‘खामोसी’ बाट निर्देशनमा उदाएका भन्साली बलिउडमा कति अब्बल साबित भए ? उनले यस अवधिमा निर्देशन गरेका ९ फिल्मबाट जितेका चार नेसनल अवार्ड र १० फिल्मफेयर अवार्ड नै प्रमाण हुन् । ठूलो क्यानभास, कलात्मक सेट, श्रुतिमधुर संगीत, जबरदस्त अभिनय र स्टारडम भन्साली फिल्मको पहिचान हो ।

ऐश्वर्या राय, रानी मुखर्जी हुँदै दीपिका पादुकोणसँग सहकार्य गर्दै आएका भन्सालीले यसपटक भने आलियासँग जुगलबन्दी गरेका छन् । हुसेन जेदीको पुस्तकमा आधारित बायोपिक भएकाले पनि गंगुबाईको चरित्र धेरैको दिमागमा प्रि–सेट थियो । त्यसैले पनि कतिपयले आलिया गंगुबाईका लागि फिट थिइनन् भन्ने गरेका छन् । ‘हाइवे’, ‘उडता पन्जाब’, ‘राजी’ हुँदै यो उनको व्यक्तिगत खाताको भने अब्बल फिल्म हो । ‘गंगुबाई काठियावाडी’ फिक्सनका रूपमा मात्रै हेर्दा जति रोमाञ्चक लाग्छ, बायोपिकका रूपमा फिक्का लाग्न सक्छ । फिल्ममा आलिया गंगुबाईका रूपमा मिस कास्टको सिकार भएकी छन् । केमियोमा देखिएका अजय देवगण हुन् वा विजयराजले दर्शकको मन चोर्छन् ।

लेखकका रूपमा भन्साली यस फिल्ममा अलमलिएका छन् । उनले मूल जरो समात्न नसक्दा फिल्मको कन्फ्लिक्टदेखि क्लाइमेक्स चोटिलो बन्न सकेको छैन । भन्साली विविध उपकथामा भड्किएका छन् । मुल चरित्र गंगुबाईमा प्रतिनायक कम नायकत्व हाबी लाग्छ । संवादहरू पनि त्यसैगरी लेखिएका छन् । निर्देशक न फिल्मले नै भने झैं सुश्री नरहेका र श्रीमती बन्न नसकी मझधारको अवस्थाबाट गुज्रिरहेका नगरवधूहरूको परिस्थितिमा खेलेका छन्, न गंगाको गंगुबाईमा भएको मानसिक रूपान्तरणलाई मिहिन केलाएका छन् । म्युजिकल लभस्टोरीका सिद्धहस्त मानिने भन्साली यसपटक गंगुबाईमा कमजोर लाग्छन् । गीत, संगीत त उम्दा छैन नै, आलिया र सन्तनुबीचको प्रेममा पनि आत्मा भर्न सकेका छैनन् ।

त्यसो त भन्सालीले झुरै फिल्म बनाए पनि त्यो सामान्यभन्दा तल भने झर्दैन । हो उनले गतिला फिल्म बनाउँछन् भन्ने विश्वासले नै कहिलेकाहीं उनैलाई घाटा पार्छ । ‘गंगुबाई काठियावाडी’ हेर्नै नसकिने वा नहेर्दा हुने कोटीको फिल्म भने होइन । आलियाकै जबरदस्त मिहिनेतका लागि भए पनि फिल्म त हेर्नुपर्छ नै, नत्र यसको शक्तिशाली संवाद, छायांकन, साठीको दशकको मुम्बईको झलक दिने कलात्मक सेट र सहायक पात्रले गरेको कामप्रति अन्याय हुन जान्छ । अन्डरवर्ल्ड डन रहिम लालाको भूमिकामा देखिने अजय हुन् वा रजियाबाई बन्ने विजयराज, पत्रकार अमिन फैजीको भूमिकामा रहेका जिम सरभले फिल्मलाई हेर्नुहुने बनाउन मद्दत गरेका छन् । फिल्ममा केही दृश्य निकै शक्तिशाली छन् । जब जब फिल्म बदनाम गल्लीबाट बाहिर निस्कन्छ, छुट्टै तरंग दिन्छ, समाजसँग जोड्छ । चाहे त्यो गंगुबाईले १२ वर्षपछि आफ्नी आमालाई फोन गर्दा होस् वा नगरवधूहरूले संयुक्त रूपमा बुबालाई चिठी लेख्दा । कोठीमा जन्मेका बच्चाबच्चीलाई स्कुल भर्ना गराउने सवालमा गंगुले गरेको लडाइँमा होस् वा बेश्यावृत्तिलाई हेयको दृष्टिले हेर्ने समाजलाई दिएको रौं ठड्याउने भाषणमा । तपाईंलाई यतिले नै पनि फिल्मप्रति गुनासो हुने छैन ।

लार्जर द्यान लाइफ ड्रामामा बढी सहज महसुस गर्ने भन्सालीले यसपटक वास्तविक पात्र र घटनालाई लिएर आफ्नो परीक्षण गर्न पनि खोजेका छन् । बायोपिकको पाबन्दीले पनि हुन सक्छ, उनी पटकथामा फुक्न सकेका छैनन् ।

र अन्त्यमा, निर्देशक भन्सालीले बम्बईको कोठीभित्रको कथामा रहेर बाईको जीवनी पस्कँदा पनि फिल्मलाई सौम्य बनाएका छन् । फिल्ममा आपत्तिजनक यौन दृश्य वा उत्ताउला संवाद (एकाध परिस्थितिजन्यबाहेक) लाई स्थान नदिनु उनको चलाखी हुन सक्छ, जसले फिल्म अश्लील मानिएको यौनधन्दाबारे श्लील बहसमा छिरेको छ । समाजलाई बिग्रनबाट बचाउन यौनधन्दालाई कानुनी मान्यता दिनुपर्ने मूल धारणालाई गंगुबाईमार्फत फिल्मले बोल्न चाहेको छ, जसको सान्दर्भिकता हामीकहाँ पनि हुन सक्छ ।

प्रकाशित : फाल्गुन २८, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?