इतिहासकै ठूलो घुम्ती

झापा विद्रोहलाई उत्प्रेरित गर्ने तीन कारण छन्– राजाको तानाशाहीले सिर्जना गरेको उकुसमुकुस अनि मुक्त हुने हुटहुटी, सामन्ती शोषणविरूद्ध किसानहरुको असन्तुष्टि तथा कम्युनिस्ट आन्दोलनमा उत्पन्न शिथिलता, अकर्मण्यता र नेतृत्वको लाचारीप्रति युवा क्रान्तिकारीको आक्रोश ।
प्रदीप ज्ञवाली

झापा विद्रोहका ५० वर्ष बितेका छन् । तर, त्यसको प्रभाव आज पनि टड्कारो अनुभूत गर्न सकिन्छ । त्यससँगै नेपाली कम्युनिस्ट आन्दोलनले पहिल्याएको नयाँ बाटो र तत्जन्य प्रभावले नेपाली राजनीतिकै नयाँ नक्साङ्कन भएको छ ।

विद्रोहीहरूको त्यतिबेलाको आत्मगत शक्ति, उनीहरूबाट भएका कतिपय गल्ती र भीषण दमन हेर्दा उक्त आन्दोलन जीवित रहनु नै ठूलो विषय थियो । तर, दमनलाई चिर्दै आन्दोलन अगाडि मात्रै बढेन, समयक्रममा त्यही जगमा हुर्केको पार्टी देशकै मुख्य शक्तिका रूपमा स्थापित भयो । नेपाली राजनीतिलाई नै नयाँ दिशा दिने झापा विद्रोह र र्‍याडिकल डेमोक्रेटिक शक्तिका रूपमा यसको विकासको अध्ययन आफैंमा महत्त्वपूर्ण विषय हो ।

कुनै पनि घटनाक्रमको उठान र बैठानलाई तत्कालीन ऐतिहासिक–राजनीतिक तथा सामाजिक–आर्थिक परिवेशको फ्रेममा राखेर, कार्य–कारण सम्बन्धको गतिशीलतामा हेर्न सकियो भने मात्रै सही निष्कर्षमा पुग्न सकिन्छ । यसरी हेर्दा, झापा विद्रोहलाई उत्प्रेरित गर्ने मूलतः तीनवटा कारण देखिन्छन्– राजाको तानाशाहीले सिर्जना गरेको उकुसमुकुस र मुक्त हुने हुटहुटी, सामन्ती शोषणविरुद्ध किसानहरूको असन्तुष्टि तथा कम्युनिस्ट आन्दोलनमा उत्पन्न शिथिलता, अकर्मण्यता र नेतृत्वको लाचारीप्रति युवा क्रान्तिकारीहरूको आक्रोश । यी आन्तरिक कारणसँगै चिनियाँ सांस्कृतिक क्रान्ति र भारतको नक्सलवारी आन्दोलनका बाह्य प्रभावले पनि विद्रोहको आधार निर्माण गर्न भूमिका खेले ।

२००७ सालका उपलब्धिलाई उल्ट्याउँदै र पहिलो जननिर्वाचित सरकारलाई विस्थापित गर्दै राजा महेन्द्रले २०१७ सालमा जुन तानाशाही कदम चाले, त्यसको सशक्त प्रतिरोध जरुरी थियो । तर, त्यसो भएन । दुई तिहाइ बहुमत ल्याएको नेपाली काङ्ग्रेस राजाको निरङ्कुशतासामु निरीह देखियो । शैलजा आचार्यहरूले शान्तिपूर्ण विरोध गरे, दुर्गानन्द झा, समशेरबहादुर खत्रीलगायत सहिद भए, तर यसले राजासामु चुनौती खडा गर्न सकेन । बरु भारत–चीन युद्धको बहानामा काङ्ग्रेसले आन्दोलनलाई स्थगित गर्‍यो । तत्कालीन महासचिव केशरजङ्ग रायमाझीको राजावादी प्रवृत्तिका कारण नेकपा पनि विकल्पका रूपमा खडा हुन सकेन । राजाले निरङ्कुश पञ्जालाई झनै कस्दै लगे । २०२७/२८ सम्म आइपुग्दा नेपाली समाज राजाको तानाशाहीभित्र उकुसमुकुस भइरहेको थियो । समयले एउटा ठूलो विद्रोह पर्खिरहेको थियो ।

२००७ सालको परिवर्तनसँगै सामन्तवाद क्रमशः कमजोर हुँदै जान थाल्यो । समयको छाललाई नियालिरहेका राजा महेन्द्रले भूमिसुधार लागू गरेर जमिनदारहरूको स्वार्थ जोगाउने र सम्भाव्य किसान विद्रोहलाई मत्थर पार्ने कदम चाले । अर्कोतिर मुलुकी ऐन र छुवाछुत अन्त्यको कागजी घोषणामार्फत आफूलाई सुधारवादी शासकका रूपमा प्रस्तुत गर्ने चेष्टा गरे । जमिनदारहरूले कानुनको छिद्र पहिल्याउँदै जमिन लुकाउन र आफ्नो वर्गस्वार्थ रक्षा गर्न सफल भए । तर, किसानहरूले जमिन पाएनन्, बरु उल्टै झोडा फाँडेर बनाएका जीविकाको आधारमा समेत सरकारले धावा बोल्यो । यस नयाँ अन्तरविरोधले विद्रोहका रूपमा निकास खोजिरहेको थियो । तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिस्ट आन्दोलन क्रमशः विभाजन, विखण्डन र विघटनको दिशामा जान थाल्यो । पार्टी पुष्पलाल, तुलसीलाल र केन्द्रीय न्युक्लियसजस्ता ध्रुवमा बाँडियो, प्रान्तीय कमिटीहरूले आफूलाई केन्द्रबाट अलग गर्न थाले र जिल्लाहरूले समेत त्यही बाटो पछ्याउन थाले । एकातिर युवा कम्युनिस्टहरूमा विद्रोहको आगो र केही गर्ने हुटहुटी थियो, तर नेतृत्व थियो– छिन्नभिन्न, अकर्मण्य र लाचार । युवाहरूमा पार्टीभित्रै विद्रोहको मनोविज्ञान निर्माण हुँदै थियो ।

यति नै बेला, चिनियाँ सांस्कृतिक क्रान्तिका प्रभावहरूले विश्वभरि नै तरङ्ग सिर्जना गर्दै थिए । नक्सलवादी आन्दोलनलाई चीनले ‘वसन्तको मेघ गर्जन’ का रूपमा महिमामण्डन गर्दै थियो । देशभित्र विद्रोहका लागि उपयुक्त बाटो खोजिरहेका युवा क्रान्तिकारीलाई यी बाह्य घटनाक्रमले पनि तरङ्गित पार्न थालेका थिए ।

यसै पृष्ठभूमिमा भएको थियो चर्चित झापा विद्रोह ।

पूर्व कोसी प्रान्तीय कमिटीसँग झापा जिल्ला कमिटीका कतिपय प्रश्नमा मतभिन्नता थिए । जिल्लाका साथीहरू मोहियानी हक, जमिन बेदखली, सीमा अतिक्रमण, सीमा पार अवैध व्यापारको विरोधजस्ता प्रश्नमा सशक्त आन्दोलन उठाउन चाहने, तर प्रान्तीय कमिटी तयार नहुने । त्यसमाथि झापा हेर्ने प्रान्तीय कमिटीका सदस्य जमिनदार पृष्ठभूमिका हुनाले त्यसलाई निरन्तर हतोत्साहित गर्ने । झापाका युवाहरू भूमिगत र पेसेवर बन्न लालायित थिए । ती कानुनी र गैरकानुनी दुवै सङ्घर्ष चलाउन आतुर थिए । प्रान्तीय नेतृत्व ‘त्यसो गर्न जरुरी छैन, जागिर खाँदै काम गर, अहिले ठूलो आन्दोलनको परिस्थिति छैन, बचेर काम गर’ भन्दै निरुत्साहित गर्थ्यो । अन्तरविरोध चर्किंदै गएर प्रान्तीय कमिटी झापालाई कारबाही गर्ने तहसम्म पुग्यो भने असन्तुष्ट युवाहरूले २०२८ असारमा प्रान्तीय कमिटीसँग विद्रोह गर्दै राधाकृष्ण मैनालीको नेतृत्वमा झापा जिल्ला कोअर्डिनेसन कमिटी गठन गरे । यसमा मुख्य उत्प्रेरक मोहनचन्द्र अधिकारी थिए भने रामनाथ दहाल, केपी ओली, राधाकृष्ण मैनाली र सीपी मैनाली जिल्लाबाट निर्णायक भूमिकामा । यो घटना नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र पुनर्जीवनको नयाँ मोड थियो ।

नेतृत्वको अवसरवाद र अकर्मण्यताविरुद्ध झापामा सङ्गठनात्मक विद्रोह त भयो, तर अगाडि जाने बाटाको स्पष्ट दृष्टिकोण थिएन । त्यसैबेला वीरेन राजवंशीमार्फत झापाका युवाहरूको सम्पर्क भारतमा जेल विद्रोह गरेर भागेका नक्सल कार्यकर्ताहरू निमु सिंह र खुजेन सिंहसँग भयो । पछि यो सम्पर्क राधाकृष्ण मैनाली र भाकपा (माले) का पोलिटब्युरो सदस्य दीपक विश्वासबीच वार्तामा विकसित भयो । र, उनले नेपाली क्रान्तिको ‘सहयोग’ का लागि निमु सिंह (राजेन राजवंशी) र खुजेन सिंह (भोगेन राजवंशी) लाई सदाका लागि नेपाल पठाए । ‘वर्गशत्रु खतम लाइन’ र गुरिल्ला युद्धको नक्सलवारी बाटाले झापाली युवाहरूलाई आकर्षित गर्‍यो । २०२८ वैशाखमा ज्यामिरगढीमा पहिलो ‘एक्सन’ मा एक जना व्यक्तिको हत्या भयो ।

झापा जिल्ला कोअर्डिनेसन कमिटी बन्नुअगावै भएको हिंसात्मक घटनाको शृङ्खला कमिटी बनेपछि पनि जारी रह्यो । इलाका–इलाकामा स्क्वाडहरू बनाउने र त्यहाँका ‘वर्ग शत्रु’ माथि आक्रमण गर्ने क्रम बढ्यो । ‘स्वाड’ हरूले आफूखुसी ‘एक्सन’ गर्ने र ‘चारु मजुमदार जिन्दावाद’ जस्ता नारा लगाउने काम पनि भए । व्यक्ति हत्याको उग्रवाम विचलन र विदेशको अन्धनक्कल गर्ने प्रवृत्ति देखापर्‍यो । कमिटी प्रणाली व्यवस्थित नभएकाले यस्तो प्रवृत्तिमा नियन्त्रण आउन सकेन । २०२८ को अन्त्यमा केपी ओलीको नेतृत्वमा कमिटी पुनर्गठन भयो । त्यसले सङ्घर्ष र सङ्गठनका सबै रूपलाई आवश्यकताअनुसार प्रयोग गर्ने, बाहिरी जिल्लामा पनि सम्पर्क र सङ्गठन विस्तार गर्ने, एकीकृत पार्टी निर्माणका लागि विभिन्न समूहसँग एकता प्रयास अगाडि बढाउने, भारतबाट आएका प्रतिनिधिलाई सधन्यवाद बिदा गर्ने र ‘एक्सनप्रियता’ लाई नियन्त्रण गर्नेजस्ता केही निर्णय गर्‍यो, तर उग्रवामपन्थी प्रवृत्ति सच्चिन सकेन । बिनासंस्थागत निर्णय ‘एक्सन’ र ‘वर्ग शत्रु सफाया’ का घटना बढ्न थालेपछि दमन पनि चर्किन थाल्यो ।

यसै क्रममा २०२९ फागुनमा भएको ‘पहिलो जिल्ला सम्मेलन‘ बाट सीपी मैनालीको नेतृत्वमा नयाँ कमिटी गठन भयो । त्यसले भारतबाट आएका दुई जनालाई सधैंका लागि नेपालमै राख्ने निर्णयसहित उनीहरूलाई फर्काउन गरिएको निर्णय ‘बुर्जुवा राष्ट्रवादी र संशोधनवादी’ भएको ठहर गर्‍यो ।

२०२९ फागुन २१ गते भएको सुखानी हत्याकाण्ड अनि रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको शहादत नेपाली राजनीतिकै उल्लेख्य घटनाका रूपमा रहेको छ । त्यसपछि पनि भीषण दमनको शृङ्खला जारी रह्यो । २०३० साउनमा राधाकृष्ण मैनाली र नरेश खरेल, असोजमा मोहनचन्द्र अधिकारी र केपी ओली, लगत्तै घनेन्द्र बस्नेतलगायत नेताहरूको गिरफ्तारीसँगै झापा विद्रोहमा गम्भीर धक्का लाग्यो । सङ्गठनहरू सम्पर्कविहीन र छिन्नभिन्न भए, दमन खेप्न नसकेर कतिपय कार्यकर्ता पलायन भए । यसरी झापा विद्रोहलाई अस्थायी रूपमा दमन गर्न तत्कालीन सत्ता सफल भयो ।

तर, झापाले सल्काएको विद्रोहको आगो निभेन । आन्दोलनको पार्टी पुनर्गठनको शृङ्खला सुरु भयो– सुरुमा झापा र मोरङका विद्रोही कमिटीहरूको संयुक्त वक्तव्य, एकता पहल र त्यसै क्रममा २०३२ मा को.के.को गठनसँगै जुझारु कम्युनिस्ट पार्टी पुनर्गठनका आधार निर्माण भयो । सङ्गठन पनि झापा, मोरङ हुँदै दर्जन बढी जिल्लामा विस्तारित भयो । यसैको विकसित रूप हो– २०३५ मा गठित नेकपा (माले) र २०४७ मा विकसित नेकपा (एमाले) । त्यही जगमा उभिएको यो पार्टी आज देशकै मुख्य र सर्वाधिक शक्तिशाली पार्टीका रूपमा स्थापित छ ।

झापा विद्रोहका क्रममा व्यक्ति हत्या, नक्सलवारी आन्दोलनको अन्धानुकरणजस्ता गल्ती भएका छन् । तत्कालीन शक्ति सन्तुलनका आधारमा हेर्दा झापा विद्रोहले परिकल्पना गरेको सशस्त्र विद्रोह र जनवादी गणतन्त्र स्थापनाको लक्ष्य हासिल गर्नु सम्भव थिएन, त्यो मनोगत विश्लेषण मात्रै थियो । तर, यति गल्ती गर्दागर्दै र अत्यन्त प्रतिकूल परिस्थितिका बीचमा पनि झापा विद्रोहले नेपाली इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो ।

मलाई लाग्छ, प्रजातान्त्रिक आन्दोलन शिथिल र वामपन्थी आन्दोलन विभाजनको दौरबाट गुज्रिरहेका बेला निरङ्कुश सत्ताविरुद्ध विद्रोहको आँट, उनीहरूले प्रदर्शन गरेको शौर्य र उत्सर्ग नै मुख्य कारण हो, जसले विद्रोहको अग्निज्वाला अविरल बलिरह्यो । उग्रवामपन्थी गल्ती भए होलान्, तर विद्रोहीहरूको निष्ठा इमानदार थियो । र, उनीहरूले युगको वाणी बोलेका थिए । यही निष्ठाकै कारण उनीहरूले छाती थापेर शहादत दिए, १६ वर्षे कठोर जेलजीवन बिताउन तयार भए । गणतन्त्र आएको आजको युगमा उभिएर इतिहासका घटनाक्रमप्रति धारे हात लगाउनु सजिलो छ, तर औंसीको रातमा राजतन्त्रविरुद्ध विद्रोह बोल्नु आफैंमा ठूलो कुरा थियो । त्यसले देशका हजारौं युवालाई आन्दोलनको बलिदानी बाटो हिँड्न प्रेरित गर्‍यो । बीपी कोइरालादेखि पुष्पलालसम्मले कतिपय तौरतरिकाप्रति विमतिका बावजुद झापाली विद्रोहीहरूको साहसको उच्च प्रशंसा गर्नुको कारण पनि यही थियो ।

नेपाली क्रान्तिको आफ्नै विशिष्ट बाटो खोज्ने उनीहरूको अठोटले पनि आन्दोलनलाई नयाँ उचाइमा उठायो । सुरुवाती दिनमा– स्थायी रूपमा विदेशी पार्टी प्रतिनिधिहरू आमन्त्रित गर्नु सही कि गलत ? चारु मजुमदारको पक्षमा नारा लगाउनु र उनका सबै दस्तावेजलाई अनुसरण गर्नु ठीक कि बेठीक ? एक्सनप्रियता राम्रो कि नराम्रो ? जस्ता प्रश्नमा गम्भीर बहस भएको देखिन्छ । हेर्दा सामान्य लाग्ने यस विवादमा एउटा कम्युनिस्ट पार्टीले आफ्नो क्रान्तिको बाटो आफैं स्वतन्त्र रूपमा पहिल्याउने कि अरू देशको निर्देशनमा चल्नेजस्ता गम्भीर प्रश्न अन्तरनिहित थिए । रामनाथ दाहाल, केपी ओली, मोहनचन्द्र अधिकारीलगायतले उठाएका यिनै प्रश्न नै पछि विकसित हुँदै गएर नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नै मौलिकताको बाटो पहिल्याएको हो ।

सुरुमा एउटा इलाका रोजेर, एउटा स्क्वाड बनाएर र त्यहाँ एक जना वर्ग शत्रु खोजेर एक्सन गर्नुपर्छ भन्ने मान्यता बोकेका झापाली कमरेडहरूले समयक्रममा यस बाटाका त्रुटि र यसका जोखिमहरू अनुभूत गर्न थाले । र, सच्याउन पनि सुरु गरे । समयक्रममा उनीहरूले यो बाटो परित्याग गरे । समयक्रममा उनीहरू जनसङ्गठन, जनआन्दोलन, शान्तिपूर्ण बाटो र बहुदलीय प्रतिस्पर्धाको बाटो अवलम्बन गर्दै लोकतान्त्रिक आन्दोलनको ‘च्याम्पियन’ का रूपमा विकसित भए ।

कम्युनिस्ट आन्दोलनमा पुनर्गठन, एकता र एकीकरणको अभियानले आन्दोलनलाई नयाँ उचाइमा उठाउन भूमिका खेल्यो । झापाले सुरुमा मोरङसँग एकता गर्‍यो, त्यसपछि को.के. बन्यो । को.के.मा मुक्तिमोर्चा, पूर्वको रातो झन्डा र दाङको सन्देश समूह एकीकृत भएर नेकपा (माले) बन्यो । दर्जनौं समूहको एकीकरण हुँदै अगाडि बढेको मालेसँग मार्क्सवादीको एकतापश्चात् नेकपा (एमाले) बन्यो । एमालेले २०७५ मा माओवादी केन्द्रसँग एकता गर्दै २०२८ सालदेखि टुटेको कम्युनिस्ट आन्दोलनको एकताको कडीलाई जोड्ने काम गर्‍यो । यसक्रममा भएका तीनवटा एकीकरण विशेष महत्त्वका छन् । मुक्तिमोर्चासँगको एकताले को.के.लाई राष्ट्रव्यापी बनाउने र मदन भण्डारीजस्ता मेधावी नेता प्रदान गर्ने काम मात्रै गरेन, उग्रवाम धङधङीबाट मुक्त गर्न पनि ठूलो भूमिका खेल्यो । २०४७ मा नेकपा (मार्क्सवादी) सँगको एकतापश्चात् पार्टीले मनमोहन अधिकारीजस्ता परिपक्व नेतृत्व पायो र पार्टीको लोकप्रियता बढ्यो । २०७५ मा माओवादी केन्द्रसँग भएको एकताले पार्टीलाई बहुमतको सरकार चलाउने अवसर प्रदान गर्‍यो । एकता प्रक्रिया टुङ्गिन नसके पनि माओवादीका धेरै नेता, कार्यकर्ता पार्टीमा समाहित भए ।

झापा विद्रोहका मुख्य पात्रहरू आज भिन्नभिन्न भूमिकामा छन् । रामनाथ दाहाल सहिदका रूपमा सम्मानित छन् । केपी ओली मुलुककै ठूलो पार्टी नेकपा (एमाले) का अध्यक्ष, पूर्वप्रधानमन्त्री र राजनीतिको मियोका रूपमा छन् । मोहनचन्द्र अधिकारीको जीवन आध्यात्मिक बन्दै गएको छ । ज्ञानेन्द्रको तानाशाहीको समर्थन गरेसँगै क्षय भएको राधाकृष्ण मैनालीको छवि सायदै पुनर्निर्माण होला । सीपी मैनाली आफ्नै एकल यात्रामा हिँडिरहेका छन् ।

एउटा जिल्लाबाट सुरु भएको विद्रोह कसरी उग्रवाम गल्ती गर्दै, त्यसलाई सच्याउँदै, विचारधारात्मक, सङ्गठनात्मक बनेर अघि बढ्न सक्छ भन्ने उदाहरण हो झापा विद्रोह । सङ्घर्षकै क्षेत्रमै नयाँ धार अनि नयाँ उभार र नयाँ शक्ति निर्माणको विशिष्ट कालखण्ड हो– विगत ५० वर्षको अवधि । यस अवधिमा मुलुकको राजनीतिको नयाँ नक्सा कोरिएको छ । र, यसको मुख्य श्रेय जान्छ झापा विद्रोहलाई, जो इतिहासकै महत्त्वपूर्ण घुम्ती थियो ।

प्रकाशित : फाल्गुन २१, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘आशा भर्ने पुस्तक हुन्’

हिमालयको उचाइ अध्ययनका लागि भएका विभिन्न प्रयास, आरोहण र यस सिलसिलामा सुरु भएको भूराजनीतिक प्रतिस्पर्धाबारे डग्लसको व्याख्या चाखलाग्दो छ
प्रदीप ज्ञवाली

पुस्तकको आविष्कार हुनुअघि पनि मानव जीवन थियो । अहिले पनि कैयौं नागरिक निरक्षर छन्, तर जिन्दगी जिइरहेकै छन् । तर, कम्तीमा मचाहिँ पुस्तकबिनाको जीवन कल्पनै गर्न सक्दिनँ । आज हामी जहाँ छौं, इतिहासको खुड्किला टेकेर हिँड्ने क्रममा आइपुगेका हौं । धरातल चिनियो भने मात्रै उचाइ चिन्न सकिन्छ ।

त्यसैले नयाँ पाठकहरूलाई म नेपाली इतिहास बुझाउने पुस्तक पढ्न आग्रह गर्छु । सङ्घर्षशील व्यक्तिका जीवनीले पनि तपाईंलाई अगाडि बढ्ने ऊर्जा दिन्छन् ।

अहिले म नेपाली सेनाका पूर्वउपरथी पूर्ण सिलवालको नयाँ किताब ‘नेपाल्स इन्स्ट्याबिलिटी कनन्ड्रम’ पढिरहेको छु । किताबमा अवकाशप्राप्त सैन्य अधिकृतको आँखाबाट नेपालमा अस्थिरताका कारण पहिल्याउने प्रयास गरिएको छ ।

अघिल्लो महिना मैले तीनवटा पुस्तक पढेँ– सुजित मैनालीको ‘सती’, एड डग्लसको ‘हिमालय : अ ह्युमन हिस्ट्री’ र यानिस भारुफाकिसको ‘टकिङ टु माई डटर अबाउट द इकोनोमी : अ ब्रिफ हिस्ट्री अफ क्यापिटलिजम’ ।

नारीहन्ता प्रथाको चिरफार

‘सती’ ले नेपाललगायत दक्षिण एसियामा झन्डै एक शताब्दीअघिसम्म व्याप्त एउटा अमानवीय र नारीहन्ता प्रथाको समाजशास्त्रीय र सांस्कृतिक चिरफार गर्छ । कुनै बेला महिलालाई देवी भनेर पूजा गर्ने समाज पतिको मृत्युपछि पत्नीलाई जबर्जस्ती जिउँदै जलाउने क्रूर प्रचलनमा कसरी प्रवेश गर्‍यो ? लेखक मैनालीले यसको वैज्ञानिक अनुशीलन गरेका छन् । उनको ठम्याइ छ– जतिबेला समाजमा निजी सम्पत्तिको उदय भयो र एकल विवाह–परम्परा सुरु भयो, त्यही विन्दुबाट महिलाहरू परिवार र समुदायको हर्ताकर्ताको अवस्थाबाट पुरुषको अधीनस्थ अवस्थामा धकेलिन पुगे । क्रमशः पुरुषसत्ताले उनीहरूलाई निजी वस्तुको रूपमा व्यवहार गर्न थाल्यो । महिलाहरूको यही ऐतिहासिक पराजयको परिणाम थियो– सती प्रथा । यसपछाडिका धर्मान्धता, अन्धविश्वास र वर्चस्वका विभिन्न आयामको उनले निकै मिहिन चर्चा गरेका छन् ।

मानव इतिहासमाथि विमर्श

‘हिमालय : अ ह्युमन हिस्ट्री’ ले मूलतः हिमालय क्षेत्रमा मानव इतिहासको चर्चा गर्छ । पर्वतारोहणमा रुचि राख्ने डग्लसले हिमालयको उत्पत्तिका भौगर्भिक जरा पहिल्याएका छन् । हिमालय काखमा विकसित विभिन्न सभ्यताको चर्चा गरेका छन् । मुख्यतः बुद्ध धर्म/संस्कृतिलाई केन्द्रित गरी यस भूखण्डमा सांस्कृतिक विकासको ऐतिहासिक अन्वेषण गरेका छन्, मानव जीवनको परिचर्चा गरेका छन् ।

तिब्बतमा मानव जातिको बसोबास कम्तीमा २० हजार वर्ष पुरानो रहेको तर्क पुष्टि गर्दै उनले लामो बसोबासले उनीहरूमा उचाइ खेप्न सक्ने जैविक वैशिष्ट्य विकास भएको बताएका छन् । बुद्ध धर्मको उद्भवअघि यस क्षेत्रमा विकसित रैथाने आस्था र प्रचलन के कस्ता थिए ? तिनले यस क्षेत्रको चिन्तन परम्परामा कस्तो प्रभाव पारे ? तन्त्रवादको विकास कसरी भयो ? तिब्बत र चीनबीचका सांस्कृतिक सहकार्य र द्वन्द्व कस्तो थियो ? इस्ट इन्डिया कम्पनीलगायत पश्चिमी जगत् यस क्षेत्रमा कसरी घुस्दै आयो ? यी सभ्यता/संस्कृतिको विकासमा नेपालको योगदान कस्तो रह्यो ? यी विषयमा गहन अन्वेषण पुस्तकमा अभिव्यक्त भएको छ ।

यस क्रममा डग्लसले नेपाल राज्यको निर्माण (उनले यसलाई गोरखाको उदय भनेका छन्) र यसको ऐतिहासिकताको पनि पर्याप्त चर्चा गरेका छन् । हिमालयको उचाइ अध्ययनका लागि भएका विभिन्न प्रयास, आरोहण र यस सिलसिलामा सुरु भएको भूराजनीतिक प्रतिस्पर्धाबारे उनको व्याख्या चाखलाग्दो छ । समग्रमा पुस्तक गहकिलो र जानकारीमूलक छ । तर, तिब्बतको राजनीतिक अवस्था र नेपालको समकालीन इतिहासको चर्चा गर्दा भने उनी सांस्कृतिक अध्येता कम, एङ्ग्लो–अमेरिकी विचारधारा बोकेका राजनीतिक टिप्पणीकार बढी देखिन्छन् ।

किशोरी छोरीसँग संवाद

‘टकिङ टु माई डटर अबाउट द इकोनोमी : अ ब्रिफ हिस्ट्री अफ क्यापिटलिजम’ ग्रीसका पूर्वअर्थमन्त्रीले सरल भाषामा लेखेको पुँजीवाद विषयको चाखलाग्दो पुस्तक हो । किशोरी छोरी जेनियासँग संवादको शैलीमा लेखिएको यो पुस्तक अर्थशास्त्र र विशेषगरी पुँजीवादी अर्थतन्त्रका विभिन्न आयाम बुझ्न निकै उपयोगी छ । ‘नेहरूज् लेटर’ शैलीको यो पुस्तकले असमानता र यसका आर्थिक कारणबारे गहन छलफल गर्छ । किन अङ्ग्रेजहरू अस्ट्रेलियामा नियन्त्रण जमाउन र त्यहाँका आदिवासी एबोर्जिन समुदायको संस्कृति, भूमि र भाषा नष्ट गर्न सफल भए ? एबोर्जिनल समुदायले किन बेलायतमाथि आक्रमण गर्न सकेन ? उनीहरू क्षमता, वुद्धि र शौर्यमा कमसल भएरै हो या यसपछाडि अन्य ऐतिहासिक–आर्थिक कारण छन् ? रोचक शैलीमा उनी प्रश्न गर्छन् र जवाफ पनि दिन्छन् ।

बजार–समाजको उदय कसरी भयो ? यसले कसरी विश्वमाथि आधिपत्य जमायो ? ऋण र मुनाफाबीच कस्तो अन्तरसम्बन्ध छ ? ब्याङ्कहरूको जादुगरी भूमिका कस्तो छ ? मानव आविष्कृत मेसिन कसरी बिस्तारै स्वामी बन्दै छन् ? सिक्का, कागजी नोट र डिजिटल सङ्केतका रूपमा रहेको मुद्राले कसरी समाजमा वर्चस्व कायम गर्न सफल भएको छ ? यस्ता प्रश्नमा पुस्तकले सरल भाषामा तार्किक बहस गरेको छ ।

अनुभवजन्य र विनिमय मूल्यबीचको भिन्नता, जलवायु परिवर्तन र वातावरण विनाश, मानवनिर्मित यन्त्रहरूबाट बिस्तारै मानव विवेक नै नियन्त्रणमा पर्दै गरेको अवस्था, औपचारिक लोकतन्त्रलाई सारवान बनाउनुपर्ने खाँचो र गरिबी निवारणका लागि सार्थक हस्तक्षेपको अनिवार्यताजस्ता उनका तर्क मननीय छन् । तर, समानताका लागि मुद्रालाई राजनीतिक नियन्त्रणबाट मुक्त गरेर कुनै पनि देश या ब्याङ्कको निर्णायक भूमिका नरहने ‘बिटक्वाइन’ जस्तो ढाँचामा लैजानुपर्छ भन्ने उनको तर्क व्यावहारिक लाग्दैन ।

एउटा आशा

ऊर्जा र प्रेरणाका लागि म फिक्सन पढ्छु । विशेषगरी उपन्यास, जीवनी र कविता पनि । तर, सूचना र ज्ञानका लागि भने ननफिक्सन नै पढ्छु– समाजशास्त्रीय, सांस्कृतिक र विचारधारात्मक आयाम समेटिएका पुस्तक । किताब र लेखक मन पर्ने भन्ने कुरा उमेर, जिम्मेवारी र चेतनाको आयामले फरक पार्दो रहेछ ।

केही किताबले ममा गहिरो प्रभाव छाडेका छन्– होवार्ड फास्टको ‘माई ग्लोरियस ब्रदर्स’, मिखाइल सोलोखोभको ‘भर्जिन सोइल अपटर्न्ड,’ अल्बेयर कामुको ‘द जस्ट’, के. दामोदरनको ‘भारतीय चिन्तन परम्परा’, नेल्सन मण्डेलाको ‘लङ वाक टु फ्रिडम’, युअल नोआ हरारीको ‘सापियन्स’, स्टेफन हकिङको ‘ब्रिफ आन्सर्स टु द बिग क्वेस्चन्स’, अनशनका क्रममा २७ वर्षमै जीवन गुमाएका आयरिस विद्रोही बबी स्यान्ड्सको जीवनमा आधारित ‘नथिङ बट एन अनफिनिस्ड सङ,’ पाब्लो नेरुदाको ‘रुको ओ पृथ्वी’, जनकलाल शर्माको ‘हाम्रो समाज : एक अध्ययन’, रमेश विकलको ‘अविरल बग्छ इन्द्रावती’, हर्क गुरुङको ‘मैले देखेको नेपाल’, मदनमणि दीक्षितको ‘माधवी’ आदि ।

आत्मश्लाघाले भरिएका, कुण्ठा या निराशा मात्रै पोखिएका र सतही पुस्तक मलाई मन पर्दैन । सोच्छु, पुस्तकका अन्तिम पाना पढिसकेपछि जतिसुकै पीडा भए पनि मनमा एउटा आशा भरिन सकोस् । आजको रात जतिसुकै चिसो भए पनि भोलि बिहान उज्यालो त अवश्य हुनेछ, पुस्तकबाट म यस्तै अपेक्षा गर्छु ।

-कुराकानीमा आधारित

प्रकाशित : माघ १५, २०७८ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×