१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इतिहासकै ठूलो घुम्ती

झापा विद्रोहलाई उत्प्रेरित गर्ने तीन कारण छन्– राजाको तानाशाहीले सिर्जना गरेको उकुसमुकुस अनि मुक्त हुने हुटहुटी, सामन्ती शोषणविरूद्ध किसानहरुको असन्तुष्टि तथा कम्युनिस्ट आन्दोलनमा उत्पन्न शिथिलता, अकर्मण्यता र नेतृत्वको लाचारीप्रति युवा क्रान्तिकारीको आक्रोश ।
प्रदीप ज्ञवाली

झापा विद्रोहका ५० वर्ष बितेका छन् । तर, त्यसको प्रभाव आज पनि टड्कारो अनुभूत गर्न सकिन्छ । त्यससँगै नेपाली कम्युनिस्ट आन्दोलनले पहिल्याएको नयाँ बाटो र तत्जन्य प्रभावले नेपाली राजनीतिकै नयाँ नक्साङ्कन भएको छ ।

इतिहासकै ठूलो घुम्ती

विद्रोहीहरूको त्यतिबेलाको आत्मगत शक्ति, उनीहरूबाट भएका कतिपय गल्ती र भीषण दमन हेर्दा उक्त आन्दोलन जीवित रहनु नै ठूलो विषय थियो । तर, दमनलाई चिर्दै आन्दोलन अगाडि मात्रै बढेन, समयक्रममा त्यही जगमा हुर्केको पार्टी देशकै मुख्य शक्तिका रूपमा स्थापित भयो । नेपाली राजनीतिलाई नै नयाँ दिशा दिने झापा विद्रोह र र्‍याडिकल डेमोक्रेटिक शक्तिका रूपमा यसको विकासको अध्ययन आफैंमा महत्त्वपूर्ण विषय हो ।

कुनै पनि घटनाक्रमको उठान र बैठानलाई तत्कालीन ऐतिहासिक–राजनीतिक तथा सामाजिक–आर्थिक परिवेशको फ्रेममा राखेर, कार्य–कारण सम्बन्धको गतिशीलतामा हेर्न सकियो भने मात्रै सही निष्कर्षमा पुग्न सकिन्छ । यसरी हेर्दा, झापा विद्रोहलाई उत्प्रेरित गर्ने मूलतः तीनवटा कारण देखिन्छन्– राजाको तानाशाहीले सिर्जना गरेको उकुसमुकुस र मुक्त हुने हुटहुटी, सामन्ती शोषणविरुद्ध किसानहरूको असन्तुष्टि तथा कम्युनिस्ट आन्दोलनमा उत्पन्न शिथिलता, अकर्मण्यता र नेतृत्वको लाचारीप्रति युवा क्रान्तिकारीहरूको आक्रोश । यी आन्तरिक कारणसँगै चिनियाँ सांस्कृतिक क्रान्ति र भारतको नक्सलवारी आन्दोलनका बाह्य प्रभावले पनि विद्रोहको आधार निर्माण गर्न भूमिका खेले ।

२००७ सालका उपलब्धिलाई उल्ट्याउँदै र पहिलो जननिर्वाचित सरकारलाई विस्थापित गर्दै राजा महेन्द्रले २०१७ सालमा जुन तानाशाही कदम चाले, त्यसको सशक्त प्रतिरोध जरुरी थियो । तर, त्यसो भएन । दुई तिहाइ बहुमत ल्याएको नेपाली काङ्ग्रेस राजाको निरङ्कुशतासामु निरीह देखियो । शैलजा आचार्यहरूले शान्तिपूर्ण विरोध गरे, दुर्गानन्द झा, समशेरबहादुर खत्रीलगायत सहिद भए, तर यसले राजासामु चुनौती खडा गर्न सकेन । बरु भारत–चीन युद्धको बहानामा काङ्ग्रेसले आन्दोलनलाई स्थगित गर्‍यो । तत्कालीन महासचिव केशरजङ्ग रायमाझीको राजावादी प्रवृत्तिका कारण नेकपा पनि विकल्पका रूपमा खडा हुन सकेन । राजाले निरङ्कुश पञ्जालाई झनै कस्दै लगे । २०२७/२८ सम्म आइपुग्दा नेपाली समाज राजाको तानाशाहीभित्र उकुसमुकुस भइरहेको थियो । समयले एउटा ठूलो विद्रोह पर्खिरहेको थियो ।

२००७ सालको परिवर्तनसँगै सामन्तवाद क्रमशः कमजोर हुँदै जान थाल्यो । समयको छाललाई नियालिरहेका राजा महेन्द्रले भूमिसुधार लागू गरेर जमिनदारहरूको स्वार्थ जोगाउने र सम्भाव्य किसान विद्रोहलाई मत्थर पार्ने कदम चाले । अर्कोतिर मुलुकी ऐन र छुवाछुत अन्त्यको कागजी घोषणामार्फत आफूलाई सुधारवादी शासकका रूपमा प्रस्तुत गर्ने चेष्टा गरे । जमिनदारहरूले कानुनको छिद्र पहिल्याउँदै जमिन लुकाउन र आफ्नो वर्गस्वार्थ रक्षा गर्न सफल भए । तर, किसानहरूले जमिन पाएनन्, बरु उल्टै झोडा फाँडेर बनाएका जीविकाको आधारमा समेत सरकारले धावा बोल्यो । यस नयाँ अन्तरविरोधले विद्रोहका रूपमा निकास खोजिरहेको थियो । तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिस्ट आन्दोलन क्रमशः विभाजन, विखण्डन र विघटनको दिशामा जान थाल्यो । पार्टी पुष्पलाल, तुलसीलाल र केन्द्रीय न्युक्लियसजस्ता ध्रुवमा बाँडियो, प्रान्तीय कमिटीहरूले आफूलाई केन्द्रबाट अलग गर्न थाले र जिल्लाहरूले समेत त्यही बाटो पछ्याउन थाले । एकातिर युवा कम्युनिस्टहरूमा विद्रोहको आगो र केही गर्ने हुटहुटी थियो, तर नेतृत्व थियो– छिन्नभिन्न, अकर्मण्य र लाचार । युवाहरूमा पार्टीभित्रै विद्रोहको मनोविज्ञान निर्माण हुँदै थियो ।

यति नै बेला, चिनियाँ सांस्कृतिक क्रान्तिका प्रभावहरूले विश्वभरि नै तरङ्ग सिर्जना गर्दै थिए । नक्सलवादी आन्दोलनलाई चीनले ‘वसन्तको मेघ गर्जन’ का रूपमा महिमामण्डन गर्दै थियो । देशभित्र विद्रोहका लागि उपयुक्त बाटो खोजिरहेका युवा क्रान्तिकारीलाई यी बाह्य घटनाक्रमले पनि तरङ्गित पार्न थालेका थिए ।

यसै पृष्ठभूमिमा भएको थियो चर्चित झापा विद्रोह ।

पूर्व कोसी प्रान्तीय कमिटीसँग झापा जिल्ला कमिटीका कतिपय प्रश्नमा मतभिन्नता थिए । जिल्लाका साथीहरू मोहियानी हक, जमिन बेदखली, सीमा अतिक्रमण, सीमा पार अवैध व्यापारको विरोधजस्ता प्रश्नमा सशक्त आन्दोलन उठाउन चाहने, तर प्रान्तीय कमिटी तयार नहुने । त्यसमाथि झापा हेर्ने प्रान्तीय कमिटीका सदस्य जमिनदार पृष्ठभूमिका हुनाले त्यसलाई निरन्तर हतोत्साहित गर्ने । झापाका युवाहरू भूमिगत र पेसेवर बन्न लालायित थिए । ती कानुनी र गैरकानुनी दुवै सङ्घर्ष चलाउन आतुर थिए । प्रान्तीय नेतृत्व ‘त्यसो गर्न जरुरी छैन, जागिर खाँदै काम गर, अहिले ठूलो आन्दोलनको परिस्थिति छैन, बचेर काम गर’ भन्दै निरुत्साहित गर्थ्यो । अन्तरविरोध चर्किंदै गएर प्रान्तीय कमिटी झापालाई कारबाही गर्ने तहसम्म पुग्यो भने असन्तुष्ट युवाहरूले २०२८ असारमा प्रान्तीय कमिटीसँग विद्रोह गर्दै राधाकृष्ण मैनालीको नेतृत्वमा झापा जिल्ला कोअर्डिनेसन कमिटी गठन गरे । यसमा मुख्य उत्प्रेरक मोहनचन्द्र अधिकारी थिए भने रामनाथ दहाल, केपी ओली, राधाकृष्ण मैनाली र सीपी मैनाली जिल्लाबाट निर्णायक भूमिकामा । यो घटना नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र पुनर्जीवनको नयाँ मोड थियो ।

नेतृत्वको अवसरवाद र अकर्मण्यताविरुद्ध झापामा सङ्गठनात्मक विद्रोह त भयो, तर अगाडि जाने बाटाको स्पष्ट दृष्टिकोण थिएन । त्यसैबेला वीरेन राजवंशीमार्फत झापाका युवाहरूको सम्पर्क भारतमा जेल विद्रोह गरेर भागेका नक्सल कार्यकर्ताहरू निमु सिंह र खुजेन सिंहसँग भयो । पछि यो सम्पर्क राधाकृष्ण मैनाली र भाकपा (माले) का पोलिटब्युरो सदस्य दीपक विश्वासबीच वार्तामा विकसित भयो । र, उनले नेपाली क्रान्तिको ‘सहयोग’ का लागि निमु सिंह (राजेन राजवंशी) र खुजेन सिंह (भोगेन राजवंशी) लाई सदाका लागि नेपाल पठाए । ‘वर्गशत्रु खतम लाइन’ र गुरिल्ला युद्धको नक्सलवारी बाटाले झापाली युवाहरूलाई आकर्षित गर्‍यो । २०२८ वैशाखमा ज्यामिरगढीमा पहिलो ‘एक्सन’ मा एक जना व्यक्तिको हत्या भयो ।

झापा जिल्ला कोअर्डिनेसन कमिटी बन्नुअगावै भएको हिंसात्मक घटनाको शृङ्खला कमिटी बनेपछि पनि जारी रह्यो । इलाका–इलाकामा स्क्वाडहरू बनाउने र त्यहाँका ‘वर्ग शत्रु’ माथि आक्रमण गर्ने क्रम बढ्यो । ‘स्वाड’ हरूले आफूखुसी ‘एक्सन’ गर्ने र ‘चारु मजुमदार जिन्दावाद’ जस्ता नारा लगाउने काम पनि भए । व्यक्ति हत्याको उग्रवाम विचलन र विदेशको अन्धनक्कल गर्ने प्रवृत्ति देखापर्‍यो । कमिटी प्रणाली व्यवस्थित नभएकाले यस्तो प्रवृत्तिमा नियन्त्रण आउन सकेन । २०२८ को अन्त्यमा केपी ओलीको नेतृत्वमा कमिटी पुनर्गठन भयो । त्यसले सङ्घर्ष र सङ्गठनका सबै रूपलाई आवश्यकताअनुसार प्रयोग गर्ने, बाहिरी जिल्लामा पनि सम्पर्क र सङ्गठन विस्तार गर्ने, एकीकृत पार्टी निर्माणका लागि विभिन्न समूहसँग एकता प्रयास अगाडि बढाउने, भारतबाट आएका प्रतिनिधिलाई सधन्यवाद बिदा गर्ने र ‘एक्सनप्रियता’ लाई नियन्त्रण गर्नेजस्ता केही निर्णय गर्‍यो, तर उग्रवामपन्थी प्रवृत्ति सच्चिन सकेन । बिनासंस्थागत निर्णय ‘एक्सन’ र ‘वर्ग शत्रु सफाया’ का घटना बढ्न थालेपछि दमन पनि चर्किन थाल्यो ।

यसै क्रममा २०२९ फागुनमा भएको ‘पहिलो जिल्ला सम्मेलन‘ बाट सीपी मैनालीको नेतृत्वमा नयाँ कमिटी गठन भयो । त्यसले भारतबाट आएका दुई जनालाई सधैंका लागि नेपालमै राख्ने निर्णयसहित उनीहरूलाई फर्काउन गरिएको निर्णय ‘बुर्जुवा राष्ट्रवादी र संशोधनवादी’ भएको ठहर गर्‍यो ।

२०२९ फागुन २१ गते भएको सुखानी हत्याकाण्ड अनि रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको शहादत नेपाली राजनीतिकै उल्लेख्य घटनाका रूपमा रहेको छ । त्यसपछि पनि भीषण दमनको शृङ्खला जारी रह्यो । २०३० साउनमा राधाकृष्ण मैनाली र नरेश खरेल, असोजमा मोहनचन्द्र अधिकारी र केपी ओली, लगत्तै घनेन्द्र बस्नेतलगायत नेताहरूको गिरफ्तारीसँगै झापा विद्रोहमा गम्भीर धक्का लाग्यो । सङ्गठनहरू सम्पर्कविहीन र छिन्नभिन्न भए, दमन खेप्न नसकेर कतिपय कार्यकर्ता पलायन भए । यसरी झापा विद्रोहलाई अस्थायी रूपमा दमन गर्न तत्कालीन सत्ता सफल भयो ।

तर, झापाले सल्काएको विद्रोहको आगो निभेन । आन्दोलनको पार्टी पुनर्गठनको शृङ्खला सुरु भयो– सुरुमा झापा र मोरङका विद्रोही कमिटीहरूको संयुक्त वक्तव्य, एकता पहल र त्यसै क्रममा २०३२ मा को.के.को गठनसँगै जुझारु कम्युनिस्ट पार्टी पुनर्गठनका आधार निर्माण भयो । सङ्गठन पनि झापा, मोरङ हुँदै दर्जन बढी जिल्लामा विस्तारित भयो । यसैको विकसित रूप हो– २०३५ मा गठित नेकपा (माले) र २०४७ मा विकसित नेकपा (एमाले) । त्यही जगमा उभिएको यो पार्टी आज देशकै मुख्य र सर्वाधिक शक्तिशाली पार्टीका रूपमा स्थापित छ ।

झापा विद्रोहका क्रममा व्यक्ति हत्या, नक्सलवारी आन्दोलनको अन्धानुकरणजस्ता गल्ती भएका छन् । तत्कालीन शक्ति सन्तुलनका आधारमा हेर्दा झापा विद्रोहले परिकल्पना गरेको सशस्त्र विद्रोह र जनवादी गणतन्त्र स्थापनाको लक्ष्य हासिल गर्नु सम्भव थिएन, त्यो मनोगत विश्लेषण मात्रै थियो । तर, यति गल्ती गर्दागर्दै र अत्यन्त प्रतिकूल परिस्थितिका बीचमा पनि झापा विद्रोहले नेपाली इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो ।

मलाई लाग्छ, प्रजातान्त्रिक आन्दोलन शिथिल र वामपन्थी आन्दोलन विभाजनको दौरबाट गुज्रिरहेका बेला निरङ्कुश सत्ताविरुद्ध विद्रोहको आँट, उनीहरूले प्रदर्शन गरेको शौर्य र उत्सर्ग नै मुख्य कारण हो, जसले विद्रोहको अग्निज्वाला अविरल बलिरह्यो । उग्रवामपन्थी गल्ती भए होलान्, तर विद्रोहीहरूको निष्ठा इमानदार थियो । र, उनीहरूले युगको वाणी बोलेका थिए । यही निष्ठाकै कारण उनीहरूले छाती थापेर शहादत दिए, १६ वर्षे कठोर जेलजीवन बिताउन तयार भए । गणतन्त्र आएको आजको युगमा उभिएर इतिहासका घटनाक्रमप्रति धारे हात लगाउनु सजिलो छ, तर औंसीको रातमा राजतन्त्रविरुद्ध विद्रोह बोल्नु आफैंमा ठूलो कुरा थियो । त्यसले देशका हजारौं युवालाई आन्दोलनको बलिदानी बाटो हिँड्न प्रेरित गर्‍यो । बीपी कोइरालादेखि पुष्पलालसम्मले कतिपय तौरतरिकाप्रति विमतिका बावजुद झापाली विद्रोहीहरूको साहसको उच्च प्रशंसा गर्नुको कारण पनि यही थियो ।

नेपाली क्रान्तिको आफ्नै विशिष्ट बाटो खोज्ने उनीहरूको अठोटले पनि आन्दोलनलाई नयाँ उचाइमा उठायो । सुरुवाती दिनमा– स्थायी रूपमा विदेशी पार्टी प्रतिनिधिहरू आमन्त्रित गर्नु सही कि गलत ? चारु मजुमदारको पक्षमा नारा लगाउनु र उनका सबै दस्तावेजलाई अनुसरण गर्नु ठीक कि बेठीक ? एक्सनप्रियता राम्रो कि नराम्रो ? जस्ता प्रश्नमा गम्भीर बहस भएको देखिन्छ । हेर्दा सामान्य लाग्ने यस विवादमा एउटा कम्युनिस्ट पार्टीले आफ्नो क्रान्तिको बाटो आफैं स्वतन्त्र रूपमा पहिल्याउने कि अरू देशको निर्देशनमा चल्नेजस्ता गम्भीर प्रश्न अन्तरनिहित थिए । रामनाथ दाहाल, केपी ओली, मोहनचन्द्र अधिकारीलगायतले उठाएका यिनै प्रश्न नै पछि विकसित हुँदै गएर नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नै मौलिकताको बाटो पहिल्याएको हो ।

सुरुमा एउटा इलाका रोजेर, एउटा स्क्वाड बनाएर र त्यहाँ एक जना वर्ग शत्रु खोजेर एक्सन गर्नुपर्छ भन्ने मान्यता बोकेका झापाली कमरेडहरूले समयक्रममा यस बाटाका त्रुटि र यसका जोखिमहरू अनुभूत गर्न थाले । र, सच्याउन पनि सुरु गरे । समयक्रममा उनीहरूले यो बाटो परित्याग गरे । समयक्रममा उनीहरू जनसङ्गठन, जनआन्दोलन, शान्तिपूर्ण बाटो र बहुदलीय प्रतिस्पर्धाको बाटो अवलम्बन गर्दै लोकतान्त्रिक आन्दोलनको ‘च्याम्पियन’ का रूपमा विकसित भए ।

कम्युनिस्ट आन्दोलनमा पुनर्गठन, एकता र एकीकरणको अभियानले आन्दोलनलाई नयाँ उचाइमा उठाउन भूमिका खेल्यो । झापाले सुरुमा मोरङसँग एकता गर्‍यो, त्यसपछि को.के. बन्यो । को.के.मा मुक्तिमोर्चा, पूर्वको रातो झन्डा र दाङको सन्देश समूह एकीकृत भएर नेकपा (माले) बन्यो । दर्जनौं समूहको एकीकरण हुँदै अगाडि बढेको मालेसँग मार्क्सवादीको एकतापश्चात् नेकपा (एमाले) बन्यो । एमालेले २०७५ मा माओवादी केन्द्रसँग एकता गर्दै २०२८ सालदेखि टुटेको कम्युनिस्ट आन्दोलनको एकताको कडीलाई जोड्ने काम गर्‍यो । यसक्रममा भएका तीनवटा एकीकरण विशेष महत्त्वका छन् । मुक्तिमोर्चासँगको एकताले को.के.लाई राष्ट्रव्यापी बनाउने र मदन भण्डारीजस्ता मेधावी नेता प्रदान गर्ने काम मात्रै गरेन, उग्रवाम धङधङीबाट मुक्त गर्न पनि ठूलो भूमिका खेल्यो । २०४७ मा नेकपा (मार्क्सवादी) सँगको एकतापश्चात् पार्टीले मनमोहन अधिकारीजस्ता परिपक्व नेतृत्व पायो र पार्टीको लोकप्रियता बढ्यो । २०७५ मा माओवादी केन्द्रसँग भएको एकताले पार्टीलाई बहुमतको सरकार चलाउने अवसर प्रदान गर्‍यो । एकता प्रक्रिया टुङ्गिन नसके पनि माओवादीका धेरै नेता, कार्यकर्ता पार्टीमा समाहित भए ।

झापा विद्रोहका मुख्य पात्रहरू आज भिन्नभिन्न भूमिकामा छन् । रामनाथ दाहाल सहिदका रूपमा सम्मानित छन् । केपी ओली मुलुककै ठूलो पार्टी नेकपा (एमाले) का अध्यक्ष, पूर्वप्रधानमन्त्री र राजनीतिको मियोका रूपमा छन् । मोहनचन्द्र अधिकारीको जीवन आध्यात्मिक बन्दै गएको छ । ज्ञानेन्द्रको तानाशाहीको समर्थन गरेसँगै क्षय भएको राधाकृष्ण मैनालीको छवि सायदै पुनर्निर्माण होला । सीपी मैनाली आफ्नै एकल यात्रामा हिँडिरहेका छन् ।

एउटा जिल्लाबाट सुरु भएको विद्रोह कसरी उग्रवाम गल्ती गर्दै, त्यसलाई सच्याउँदै, विचारधारात्मक, सङ्गठनात्मक बनेर अघि बढ्न सक्छ भन्ने उदाहरण हो झापा विद्रोह । सङ्घर्षकै क्षेत्रमै नयाँ धार अनि नयाँ उभार र नयाँ शक्ति निर्माणको विशिष्ट कालखण्ड हो– विगत ५० वर्षको अवधि । यस अवधिमा मुलुकको राजनीतिको नयाँ नक्सा कोरिएको छ । र, यसको मुख्य श्रेय जान्छ झापा विद्रोहलाई, जो इतिहासकै महत्त्वपूर्ण घुम्ती थियो ।

प्रकाशित : फाल्गुन २१, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?