कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यहाँ प्याड पाइन्छ ?

नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै बजारबाट किनेका प्याड प्रयोग गर्छन्, अन्यले घरायसी कपडाले काम चलाउँछन् । 
सम्झना वाग्ले भट्टराई

काठमाडौँ — महिनावारी हठात् भइदिन्छ, पूर्वसूचनाबिनै । अहिले बजारमा महिनावारीमा बग्ने रगत व्यवस्थापनका लागि प्याड, टेम्पोन तथा मेन्स्ट्रुअल कपहरू पाइन्छ । तर, पाइन्छ भन्दैमा सधैं बोकेर हिँड्न सम्भव हुँदैन ।

यहाँ प्याड पाइन्छ ?

साथमा यी सामग्री नभएका बेला महिनावारी भए यसले दिने शारीरिक कष्ट तथा सफाइसम्बन्धी र मनोवैज्ञानिक अप्ठ्यारो झन् बढी हुन्छ । ती सामग्रीको मूल्य, सर्वसुलभता, आकस्मिक परिपूर्तिजस्ता कुराले पनि महिनावारी व्यवस्थापन एक जटिल विषय बनेको छ ।

मानव सभ्यताको सुरुआती चरणमा महिनावारीको समयमा बग्ने रगत व्यवस्थापनको अभ्यास कस्तो थियो होला ? सभ्यताको कुन चरणसम्म महिनावारीको समयमा महिलाहरू बाटोमा रक्तचिह्न छाड्दै हिँडे होलान् ? सभ्यताको कुन चरणबाट महिनावारीको रगत व्यवस्थापनका लागि छुट्टै कपडा, टालो वा अन्य सामग्रीको प्रयोग थालियो होला ? त्यसको खासै लिखत छैन ।

पौराणिक कथामा महिला रजोवती भएका प्रसंग उल्लेख छन् । महाभारतमा पाण्डवहरूले जुवामा द्रौपदीलाई थापेको–हारेको बेला उनको महिनावारी चलिरहेको उल्लेख छ । तर, उबेला महिनावारीमा अन्य केही प्रयोग गरिन्थ्यो वा कपडामा रगत नलागोस् भनी एउटा मात्रै कपडा लगाइन्थ्यो, महाभारतमा त्यो उल्लेख छैन ।

पश्चिमा देशहरूमा पनि महिनावारीमा महिला के प्रयोग गर्थे भन्ने खासै उल्लेख छैन । उन्नाइसौँ शताब्दीको अन्त्यतिर युरोपमा महिनावारी हुँदा बग्ने रगत र यसले स्वास्थ्य तथा सफाइमा पार्ने असरमाथि बहस सुरु भएको देखिन्छ । एक जर्मन डाक्टरले ‘हेल्थ इन द हाउस’ किताबमा यसबारे चर्चा गरेका छन् । ‘मेडिकल डेली’ भन्ने वेबपेजमा जोन्सन एन्ड जोन्सनले सन् १८८८ मा उत्पादन गरेको ‘लिस्टर टावेल’ भनिने डिस्पोजेबल प्याड नै महिलाले महिनावारीको समयमा प्रयोग गर्ने पहिलो व्यावसायिक उत्पादन भएको उल्लेख छ । पहिलो टेम्पोनको आविष्कार डाक्टर अर्ले हासले सन् १९२९ मा गरेका थिए ।

उबेला बगेको रगत लुकाउन कपडाको टुक्रा वा त्यस्तै नरम चिज प्रयोग हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । हाम्रै आमा–हजुरआमाले पनि धोतीको टालो वा अन्य त्यस्तै कपडा प्रयोग गरेका हुन् । मैले पनि महिनावारीको समय कतिपय अवस्थामा टालो प्रयोग गरेकी छु । तर, अहिले महिनावारीमा बग्ने रगत व्यवस्थापनका विभिन्न विकल्प छन् ।

उत्पादनको बजार

महिनावारीमा प्याड, टेम्पुन, मेन्स्ट्रुअल सामानकै प्रयोग अनिवार्य छैन । सफा कपडाका टुक्राहरू प्रयोग गर्ने हो त्यो कम खर्चिलो र वातावरणका लागि पनि कम हानिकारक हुन्छ ।

बजारमा वस्तुहरूको माग र आपूर्ति विषयमा अध्ययन गर्ने संस्था

(आइमार्क ग्रुप) को एक प्रतिवेदनअनुसार, सन् २०२० मा विश्वबजारमा उत्पादन र बिक्री भएको स्यानिटरी प्याडको बजार मूल्य २३ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको थियो । आर्थिक वर्ष २०७७/७८ मा मात्रै नेपालले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात गरेको तथ्यांक छ । अत्यावश्यक यस्ता सामग्रीमा कर हटाउन माग गर्दै गत वर्ष आन्दोलन पनि भएको थियो । ज्ञात होस् गत वर्ष सरकारले स्यानिटरी प्याड, टेम्पुनजस्ता वस्तुको आयातबाट ३० करोड रुपैयाँ कर उठाएको थियो । अध्ययनले देखाएका छन्– नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै बजारबाट किनेका प्याड प्रयोग गर्छन्, अन्यले घरायसी कपडाले काम चलाउँछन् । कर नलगाए यी सामानको बजार मूल्य कम पर्ने र धेरैको सहज पहुँचमा पुग्ने निश्चित थियो ।

स्यानिटरी प्याड–कन्डम

नियतवश वा नजानेरै कहिलेकाहीँ बहस उसै बहकिन्छ । सम्भवतः ०७२ सालको भुइँचालोपछिको कष्टकर समयको कुरा हो यो । अत्यावश्यक राहत सामग्रीको सूचिमा महिनावारीमा प्रयोग गरिने प्याड पनि हुनुपर्छ भन्ने विषय उठ्यो । परिहासका रूपमा हो वा नियतवश ‘राहत सामग्रीमा स्यानिटरी प्याड पर्छ भने कन्डम पनि पर्नुपर्छ’ भन्ने विषयले सामाजिक सञ्जालमा प्रवेश पायो । मानिसको नियन्त्रण–शून्य हुने महिनावारीमा प्रयोग गर्नुपर्ने प्याड र समय परिस्थितिअनुसार (आंशिक नै सही) नियन्त्रण गर्न सकिने सुरक्षित यौन सम्बन्धमा प्रयोग गरिने कन्डमलाई उस्तै महत्त्वको वस्तुको रूपमा प्रस्तुत गर्दा धेरैलाई ठट्टा लाग्यो होला । तर, अधिकांश महिलाले यसलाई विभेद देख्नु स्वाभाविक थियो ।

यो बहस लम्बिँदा स्यानिटरी प्याडलाई विलासिताको वस्तु भन्दै घरेलु कपडाको प्रयोगको सट्टा विषयलाई अतिरञ्जित बनाएको आरोप पनि महिलाहरूले खेप्नुपर्‍यो । सामान्य अवस्थामा कपडालाई प्याडका रूपमा प्रयोग गर्ने आम प्रचलन नभएको होइन । गाउँघरमा अझै (सहरी क्षेत्रमा पनि) धेरैले प्याडभन्दा घरायसी कपडालाई नै महत्त्व दिइरहेका छन् । तर, भूकम्पको त्रासमा चप्पलसम्म लगाउन नभ्याई खुला ठाउँमा पुगेका महिलालाई ‘भुइँचालोका बेला किन प्याड चाहियो ? घरकै कपडा प्रयोग गर’ भन्नु कत्तिको व्यावहारिक थियो ?

कन्डम–प्याडको त्यो बहसले समाजको चरित्र र राज्यको महिलाप्रतिको दृष्टिकोण पनि सतहमा ल्यायो । ०५७/५८ तिर एड्सबाट बच्न यौन सम्बन्धका बेला कन्डम प्रयोग गर्न सरकारले प्रोत्साहनका कार्यक्रम ल्यायो । ‘चाहिए जति लानुहोस्’ भन्दै स्वास्थ्य चौकीमै कन्डमका बाकस राखिए । तर, महिनावारीजस्तो नियमित र झन्डै आधा जनसंख्याको प्रत्यक्ष चासोको विषयमा भने सरकारी कार्यक्रम आएनन् भन्ने कुरा पनि बहसमा आए ।

बहसले केही सकारात्मक परिणाम दिएको छ । झन्डै पाँच वर्षअघि विश्वविद्यालय अनुदान आयोगका लागि गरिएको सर्वेक्षणमा सुदूरपश्चिमका क्याम्पसहरूमा म पनि संलग्न थिएँ । प्रश्नावलीमा ‘क्याम्पसले सशुल्क वा निःशुल्क स्यनिटरी प्याड उपलब्ध गराउँछ वा गराउँदैन’ भन्ने प्रश्न पनि थियो । उत्तरदाता विद्यार्थीहरूले ‘क्याम्पसमा यस्तो पनि हुन्छ र ?’ भन्ने प्रतिक्रिया दिएका थिए । तर, अहिले केही शैक्षिक संस्थामा निःशुल्क र केहीमा सशुल्क नै भए पनि स्यानिटरी प्याड उपलब्ध छन् । समस्या अझै बग्रेल्ती छन् । गत वर्ष एउटा मिटिङका लागि सिंहदरबारभित्र मन्त्रालयमा थिएँ । मिटिङ सुरु हुँदै थियो, तल्लो पेटमा अचानक अप्ठ्यारो भयो । थाहा पाएँ– महिनावारी सुरु भयो, सामान्यतः हुनेभन्दा एक हप्ताअघि नै । साथमा प्याड थिएन, तनाव भयो । मिटिङमा सहभागी सबैजसो पुरुष थिए । हतारमा सोधपुछ कक्ष पुगें । त्यहाँ एक जना महिला थिइन् । सोधें– ‘यहाँ प्याड पाइएला ?’ तर, अहँ सिंहदरबारभित्र कहीँ प्याड पाइएन । प्याडको चक्करमा म मिटिङमा ढिलो भएँ ।

यसरी यो मेरो समस्या भयो, मजस्तै अरू महिलाको समस्या भयो, मिटिङमा मलाई पर्खेर बस्ने पुरुष कर्मचारीको समस्या भयो, सिंहदरबारको समस्या भयो र सारा देशको समस्या भयो । तर, प्याडको सहज आपूर्ति नहुनु ‘नछुने’ भएका महिलाको मात्रै

समस्या होइन । प्याडको सहज–सुलभ आपूर्ति हुनुपर्छ भन्ने विषयमा कसैको दुईमत नहोला । तर, अत्यधिक प्लास्टिकको प्रयोगबाट बन्ने प्याडजस्ता सामग्रीहरू प्रयोगपछिको व्यवस्थापन अर्को चुनौती बनेको छ । जथाभावी फालिएका यस्ता सामग्रीले माटोको उर्वराशक्ति कम गर्ने मात्र होइन पानीका स्रोतहरू पनि प्रदूषित बनाउँछन् । बजारमा उपलब्ध अधिकांश प्याड तथा टेम्पुनहरू कुहिन पाँच सयदेखि आठ सय वर्षसम्म लाग्ने अध्ययनहरूले देखाएका छन् । त्यसैले सबैभन्दा राम्रो विकल्प सम्भव भएसम्म पुनः प्रयोग गर्न सकिने सफा कपडाको प्रयोग नै हो ।

प्रकाशित : फाल्गुन १४, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?