स्वच्छन्द सिकारी युगका महिला- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वच्छन्द सिकारी युगका महिला

२० हजार वर्षअघिको परिवार–संरचना कस्तो हुन्थ्यो ? विवाह प्रणाली कस्तो थियो ? लैंगिक सम्बन्ध कस्तो थियो ? मातृसत्ता थियो कि पितृसत्ता ? 
सुरेश ढकाल

काठमाडौँ — मान्छेको सांस्कृतिक पहिचान निर्माणको कथा निकै रोचक छ । श्रम र बुद्धि प्रयोग गरी औजार निर्माण वा प्रयोग थाल्नु उसको सांस्कृतिक पहिचान निर्माणको प्रस्थानविन्दु थियो । 

मान्छेले प्रयोग गरेको ढुंगे औजारको पहिलो प्रमाण सालाखाला २५ लाख वर्ष पुरानो ठानिन्छ, जुन तान्जानियाको ओल्डुवाई घाटीमा भेटिएको थियो । केन्याको तुर्कना तालमा करिब ३३ लाख वर्ष पुराना ढुंगे हतियार फेला परेको बताइए पनि पर्याप्त विश्लेषण र विवरण आउने क्रम जारी छ, जसले सांस्कृतिक मान्छेको आदि कथा भन्न सकोस् ।

स्थापित पुरातात्त्विक तथ्यका आधारमा सांस्कृतिक मान्छेको इतिहास करिब २५ लाख वर्ष पुरानो छ भनी मानौं । त्यसयताका करिब १२ हजार वर्षअघिसम्मका अवधि उसले तिनै ढुंगे औजारको निर्माण र प्रयोगमा दक्षता प्राप्त गर्दै बितायो । त्यसैले त्यस अवधिलाई पाषाणकाल भनियो, अर्थात् ढुंगेयुग । तिनै ढुंगे औजारका अवशेषहरू, तिनको निर्माण र प्रयोगमा आएका विविधता, जटिलता र विशिष्टताका आधारमा मानव संस्कृतिको उद्विकासका चरणबारे बुझ्ने गरिन्छ– ती मानव संस्कृतिको विकासक्रम बुझ्ने स्रोत हुन् । तिनकै आधारमा हामी मानव इतिहासका कतिपय रहस्य थाहा पाउँछौं, इतिहासका कैयौं रोमाञ्चक कथा ढुक्कले भन्न सक्छौं ।

पछिल्लो दशकको सायद सर्वाधिक चर्चित पुस्तक 'सापियन्स' मानवजातिको संक्षिप्त इतिहास’ का लेखक युअल नोहा हरारीले तिनै पुरातात्त्विक स्रोतहरूका आधारमा भनिएका कथाहरूको पुनरोक्ति गरेका थिए ।

प्रविधि प्रयोगका हिसाबले त्यो बृहद् कालखण्डलाई पाषाण युग भनियो । ढुंगे औजार निर्माण प्रविधिमा भएको उन्नति, तिनमा भेटिने निखारता, तिनका विविध प्रयोग आदिका आधारमा त्यो अवधिलाई पुरापाषाणकालीन र मध्यपाषाणकालीन युग भनी विभाजन गरियो । तर, जीवन निर्वाहका उपायका आधारमा भने त्यो युगलाई सिकारी युग भनियो ।

‘मान्छेको कथा’ को यो अंशमा त्यस सिकारी युगलाई खासमा सिकारी युग नै किन भनियो भन्ने प्रश्नमाथि संक्षिप्त विमर्श गरिनेछ । एक छिन त्यस युगका सामाजिक, आर्थिक जीवनबारे केही कुरा गरौं ।

इतिहासको लामो कालखण्डसम्म मान्छेहरू घुमन्ते जीवन बिताउँथे । स्थायी बसोबासको स्थल हुन्नथ्यो । केही दर्जनदेखि केही सयसम्मको साना–साना झुन्डमा बस्थे । प्रकृतिमा उपलब्ध फलफूल, कन्दमूल, बनस्पति खोजीमुलो–संकलन गर्थे र जंगली जनावरको सिकार गरी गुजारा गर्थे । पाषाणकालीन युगको पछिल्लो अवधि नवपाषाणकालीन युग हो । नवपाषाणकालीन औजारहरू मूलतः खेतीपातीसँग सम्बन्धित थिए । त्यसैले कृषिको आविष्कारलाई नवपाषाणकालीन क्रान्ति पनि भनियो । त्यो यस्तो क्रान्ति थियो, जसले मानव इतिहासको सबै दिशा र गतिलाई सदाका लागि बदलिदियो र सबै अर्थमा मानव इतिहासलाई सभ्यताको अर्को चरणमा उकाल्यो । मानिसहरू सिकारी युगबाट कृषि युगमा प्रवेश गरे, घुमन्ते झुन्डहरू स्थायी बसोबास गर्न थाले, सामाजिक–राजनीतिक संगठनको संरचनाहरू मुखरित रूपमा देखा पर्न थाले । आजको मान्छे र सभ्यताको सुरुवाती मोड सोही नवपाषाणकालीन क्रान्ति अर्थात् कृषिको आविष्कार नै थियो ।

भूगोलका सबै खण्डमा सिकारी युगको अन्त्य र खेतीपातीको सुरुवात अर्थात् घुमन्ते जीवनको अन्त्य र स्थायी बसोबासको सुरुवात एकै समयमा भएको थिएन । खेतीको सुरुवाती प्रमाण आजभन्दा करिब १२ हजार वर्षपहिले पश्चिम एसिया (मध्य–पूर्व) को खाडीवरिपरिको हँसिया वा अर्धचन्द्र आकारको क्षेत्रमा फैलिएको भूभागमा भएको थियो, जसलाई मलिलो अर्धचन्द्र (फर्टाइल क्रेसन्ट) पनि भनिन्थ्यो । खेतीको मात्र नभई थुप्रै प्रविधि र तकनिकीको विकास पनि सोही भूभागबाट भएका कारण त्यसलाई मानव सभ्यताको उद्गमस्थल नै मानिन्छ, त्यसैले त्यस मरुस्थललाई सभ्यताको कोक्रो (क्रेडल अफ सिभिलाइजेसन) पनि भनियो । आजको इराक, सिरिया, लेबनान, इजरायल, जोर्डन, उत्तरी इजिप्ट, टर्की आदि खाडीवरिपरिका देशहरूमा नै कृषिको पहिलो प्रमाण पाइएको थियो । एसियाका अन्य भागमा केही हजार वर्षको अन्तरालमा र युरोपमा त झनै पछि मात्रै कृषिको प्रारम्भ भएको देखिन्छ ।

अक्षरहरूको आविष्कार र लेखनकलाको थालनी हुनुभन्दा पहिले पाषाणकालीन औजारलाई ‘टेक्स्ट’ को रूपमा पढेर मानवजातिको इतिहासबारे थाहा पाएका हौं हामीले । त्यसैले यी इतिहास पठनका प्राथमिक स्रोत थिए । साथमा अन्य स्रोतजस्तै डढेका बिजनहरू, परागकणहरू, घुमन्ते जीवनका अस्थायी शिविरहरूका संरचनाका अवशेषहरू, समाधिस्थल र र मानव अवशेष, ढुंगामा कुँदिएका चित्र आदि, जो हालसम्म पनि सुरक्षित थिए र पुरातत्त्वविद्हरूले पद्धतिसंगत तरिकाले उत्खनन, संकलन र विश्लेषण गरेका छन्, तिनैका आधारमा मानव इतिहासको सम्पूर्णता थाहा पाउने प्रयास गर्छन् मानवशास्त्री । उदाहरणका लागि आजभन्दा २० हजार वर्षपहिले मान्छेहरू कस्तो स्थानमा बसोबास गर्थे ? घुमन्ते थिए कि स्थायी बसोबास गरेर बस्थे ? परिवारको संरचना कस्तो हुन्थ्यो ? विवाह प्रणाली कस्तो थियो ? लैंगिक सम्बन्ध कस्तो थियो ? मातृसत्ता थियो कि पितृसत्ता ? कस्तो घरमा बस्थे ? सामाजिक संरचना, राजनीतिक सगंठनहरू, नेतृत्व र न्याय प्रणालीको अवस्था कस्तो हुन्थ्यो ? जीविका गुजारा कसरी हुन्थ्यो ? व्यापार वा साटफेर कोसँग, कति दूरसम्म हुन्थ्यो ? आदि यावत् प्रश्नको जवाफ यिनै अवशेषको विश्लेषणबाट गरिन्छ ।

कुनै स्थान विशेषबारे सम्बन्धित लिखित प्रमाण फेला पर्नुभन्दा पहिलेको विगतलाई त्यस भूगोलको प्राग्इतिहास र लिखित प्रमाण फेला परिसकेको विगतलाई इतिहासकाल मान्छौं । भनिन्छ, इतिहास पक्षपाती हुन्छ । लेखनको सीप, ज्ञान र तिनको नियन्त्रण गर्ने शक्ति भएकाहरूका पक्षमा लेखिन्छ इतिहास । तर, प्राग्ऐतिहासिक प्रमाण भने निष्पक्ष हुन्छ । जान्नेहरू भन्छन्, पुरातात्त्विक प्रमाणहरू मौन रहन्छन्, तर झूट बोल्दैनन् ।

आज पनि प्राग्इतिहासकालीनजस्तै लाग्ने जीवन निर्वाह गरिरहेका आदिवासी समुदायहरू विश्वका अनेकन भागमा जीवित छन्, जो आज पनि घुमन्ते जीवन बाँच्छन्, खेतीपाती गर्दैनन्, सिकार र कन्दमूल संकलन गरेरै बाँचेका छन् । र, पुरातात्त्विक सन्दर्भमा भेटिएजस्तै ढुंगे औजार प्रयोग गर्छन् । मानवशास्त्रीहरू तिनै समुदायको अवलोकन र अध्ययन गरेर ती औजारको प्रयोग अनि तीसँग गाँसिएका सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक अनेकन आयाम थाहा पाउँछन् । यसरी पुरातात्त्विक सन्दर्भमा फेला परेका विगतका मानव संस्कृतिका अवशेषको व्याख्या र विश्लेषण वर्तमानमा झन्डै त्यस्तै अवस्थामा बाँचिरहेको समुदायको अध्ययनको सहायतासमेतले गर्नका लागि मानवशास्त्रीहरू विशिष्ट खाले तुलनात्मक अध्ययन विधि प्रयोग गर्छन् । यहाँ ‘झन्डै’ भन्ने फुर्को किन आवश्यक पर्‍यो भने आजका घुमन्ते समुदाय, जो सिकार गरेर, कन्दमूल/वनस्पति खोजेर खान्छन्, अहिलेको कृषि–औद्योगिक संसारबाट टाढा छन् तैपनि तिनीहरू आजभन्दा एक हजार वा १० हजार वर्ष त्यस्तै जीवन बिताउने समुदायभन्दा पक्कै फरक छन् । एउटा निकटको उदाहरण हुन सक्छन् पश्चिम नेपालका राउटे आदिवासी । राउटेहरू आजसम्म पनि घुमन्ते जीवन बाँच्छन्, स्थायी बसोबास छैन, खेतीपाती गर्दैनन्, गुना (बाँदर) को सिकार गर्छन्, साटफेरमा गुजारा गर्छन् । उनीहरूको जीवन निर्वाहको मूल पद्धति एक सय वर्षअघि पनि त्यस्तै थियो, तर त्यतिबेलाका राउटे र अहिलेको राउटेमा धेरै कुरा फरक छ । आजको राउटेको अवलोकनकै आधारमा मात्रै सय वर्षअघि पनि उनीहरू ठ्याक्कै यस्तै थिए भन्न सकिन्न ।

मानवशास्त्री मार्सल शालीन पाषाणकाल अर्थात् सिकारी युगलाई मौलिक समृद्ध समाज (ओरिजिनल अफ्लुएन्ट सोसाइटी) भन्थे । मान्छेका आवश्यकता र चाहनाहरू कृषि युगमा भन्दा सिकारी युगमा तुलनात्मक रूपमा कम समय र श्रममार्फत प्राप्त हुन्थ्यो । तत्कालीन उत्पादन प्रणालीमा पेटको आवश्यकता र मनको रहर सीमित हुन्थे र ती सहजै पूरा गर्न सकिन्थ्यो । तर, कृषिको प्रारम्भ र त्यसपछिको समयमा खासगरी पुँजीवादको उदयसँगै मान्छेको आवश्यकता र रहर असीमित हुन थाले, जसको आपूर्ति र समृद्धिको अनुभव कठिन हुँदै गयो ।

विभिन्न अध्ययनले देखाएका छन्– सिकारी युगमा प्रतिएकाइ क्यालोरी बराबरको खानेकुरा जम्मा गर्न जति औसत समय लाग्थ्यो कृषि युगको सुरुवातपछि त्यति नै क्यालोरी प्राप्त गर्न पहिलेभन्दा बढी श्रम र समय खर्चनुपर्ने भयो । यो लामो पृष्ठभूमिपछि अब पुनः मूल समस्यातिर केन्द्रित बनौं ः पाषाणकालीन त्यो समयलाई सिकारी युग नै किन भनियो ?

अंग्रेजहरू सिकार–सकंलन (हन्टिङ–ग्यादरिङ() को युग भन्थे । तर, हामीले त्यसलाई सिकारी युग मात्र भन्यौं । बीसौं शताब्दीको सुरुवातदेखि नै केही पुरातात्त्विक प्रमाण र केही मानवशास्त्रीय काल्पनिकीको सहायतामा ‘म्यान द हन्टर’ को भाष्य तयार गरियो । अनि त्यसमा लामो समय प्रश्न उठाइएन । तर, यो प्रश्नयोग्य विषय थियो– किन त्यस युगलाई सिकारी युग मात्र भनियो ? यो प्रश्नको खास आधार छ ।

सन् १९६६ मा ७५ जना मानवशास्त्री (जसमा ७० जना पुरुष थिए) सिकागो विश्वविद्यालयमा एउटा सिम्पोजियमका लागि भेला भएका थिए– शीर्षक थियो ‘म्यान द हन्टर’ । त्यो सिम्पोजियम कृषि युगभन्दा पहिले मानिसहरू कसरी बाँच्थे भन्ने अहं प्रश्नको उत्तर खोज्न केन्द्रित थियो । भेला भएका मानवशास्त्रीले तत्कालीन समयमा विश्वका विभिन्न कुनामा अस्तित्वमा रहेका घुमन्ते, सिकार–संकलन गरी जीवन बाँचिरहेकाहरूको अध्ययन गरेका थिए । खासमा उक्त सिम्पोजियमले नै ‘म्यान द हन्टर’ को भाष्यलाई प्रश्न गर्न सुरु गरेको थियो । त्यसपछिका वर्षमा भएका अध्ययनले लैंगिक दृष्टिकोण र आयामलाई महत्त्व दिन थाल्यो । निष्कर्ष निकाल्यो– सिकारी युग भनिए पनि ती समाजमा तुलनात्मक रूपले शान्ति थियो । समतामूलक समाज थियो । महिला मानवशास्त्रीहरूको हस्तक्षेप र लैंगिक दृष्टिकोणको महत्त्व बढ्दै जान थालेपछि ‘म्यान द हन्टर’ भन्ने भाष्यको लोकप्रियता क्रमशः कमजोर हुन थाल्यो ।

तत्कालीन अध्ययनहरूका अनुसार, सिकार मूलतः पुरुषको काम थियो र संकलन–खोजीमुलो (कन्दमूल, वनस्पति आदि) गर्ने काम महिलाको । सिकार वा संकलन गरेका वस्तुलाई उपभोगयोग्य बनाउने काम पनि मूलतः महिलाकै हुनेगर्थ्यो । संकथन यसरी निर्माण गरियो कि मानौं पाषाणकालमा लैंगिक भूमिका परिभाषित र निर्दिष्ट थियो । यद्यपि यो सिद्धान्त पछिल्लो कालखण्डमा क्रमशः क्षीण हुँदै छ ।

मानवशास्त्रीय अध्ययनहरूले प्रमाणित गरेका छन्– सिकारी युग भनिए पनि निर्वाहको अधिकांश पूर्ति सिकारबाट होइन बरु संकलनबाट हुने गर्थ्यो । मान्छेलाई आवश्यक पर्ने अधिकांश क्यालोरी खोजीमुलोबाटै आउँथ्यो । अर्थात् मानव जातिको अस्तित्व रक्षा र निरन्तरताका लागि पुरुषको भन्दा महिलाको भूमिका अहं हुने गर्थ्यो । तर, त्यस अवधिलाई पनि हामीले सिकारी युग भनिरह्यौं ।

किन ? प्रश्न यही हो । किन सिकारी युग ? अग्रणी मानावशास्त्री लेविस हेनरी मोर्गनले उत्तरी अमेरिकाका इरोक्वय आदिवासीहरूको अध्ययनका आधारमा लेखेको महत्त्वपूर्ण पुस्तक ‘प्राचीन समाज’ (एनसिअन्ट सोसायटी, १८७७) को केही महत्त्वपूर्ण सार लैंगिक सम्बन्धबारे छ । उनका अनुसार, ती आदिवासी समुदायमा महिलाको हैसियत उच्च थियो, आर्थिक गतिविधिमा दबदबापूर्ण भूमिका थियो, संस्कार र राजनीतिक गतिविधिमा महत्त्वपूर्ण भूमिका थियो र सन्तानहरूको पहिचान मातृवंशीय थियो । मोर्गनका अनुसार, स्थायी बसोबासको थालनीपछि निजी सम्पत्ति थुपार्ने परम्परासँगै महिलाको यो हैसियत पुरुषहरूले कब्जा गरे ।

उनै मोर्गनलाई अनुसरण गर्दै र उनैको अध्ययनलाई आधार मानेर फ्रिदरिक एंगेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ (द ओरिजिन अफ द फेमिली, प्राइभेट प्रपर्टी एन्ड द स्टेट – १८८४) मा थप व्याख्या र सैद्धान्तीकरण गरे । एंगेल्सले लेखे– कृषिको सुरुवात अघि सामूहिक सम्पत्ति/स्रोत महिलाको अधीनमा हुन्थ्यो ।

एंगेल्सका अनुसार, कृषिको सुरुवातसँगै कृषि औजार, जस्तै हलो र जोत्नमा प्रयोग हुने जनावर पुरुषको स्वामित्व र नियन्त्रणमा रहन पुग्यो । यसरी पुरुष निजी सम्पत्तिको पहिलो मालिक बन्न पुग्यो । उक्त सम्पत्ति उसले आफ्ना सन्ततिलाई पुस्तान्तरण गर्नुपर्ने भयो । तसर्थ उसले एक जनासँग मात्रै विवाह गर्नुपर्ने र परिवारलाई स्थायित्व दिनुपर्ने भयो ताकि वंश परम्परा/प्रणालीमाथि पनि नियन्त्रण कायम हुन सकोस् । यस उपक्रमले क्रमशः महिलाको शरीर, यौन जीवन र सन्तानमाथि नियन्त्रण र मोनोपोली हुन थाल्यो । सँगै कानुनी अधिकार पनि स्थापित हुन पुग्यो । अन्ततोगत्वा महिलाको यौन छनोटमा बन्देज र आर्थिक रूपमा पुरुषको अधीनस्थ कायम भयो ।

मोर्गनको अध्ययन र अन्य मानवशास्त्रीय पुरातात्त्विक अध्ययनका आधारमा पनि के कुरा प्रमाणित तवरले भन्न सकिन्छ भने कृषि युगभन्दा पहिले पाषाणकालमा सन्तान आमाका नामबाट चिनिन्थे अर्थात् मातृवंशीय थिए, मातृस्थानिक थिए । तर, मोर्गन, एंगेल्स र अन्यले भनेजस्तो त्यस्तो कुनै पुरातात्त्विक प्रमाण भेटिएको थिएन/छैन ताकि कृषियुगपूर्व मातृसत्ता थियो भन्ने प्रमाणित गर्न सकियोस् । विगतमा जस्तै अहिले पनि कतिपय आदिवासी समुदायमा सन्तति आमाको नामबाट चिनिन्छन् (मातृवंशीय) । विवाहपछि महिलाको मातृघरमा घरजम गर्छन् (मातृ–स्थानिक परिवार) । तर, ती सबै मातृसत्ताका पर्याप्त प्रमाण होइनन् । यहाँ मातृवंशीय, मातृस्थानिक र मातृसत्तात्मक शब्दका अर्थहरूको भेद नगरेको भएर त्यस्तो निष्कर्ष निकालिएको हुन सक्छ । अहिले पितृसत्ता छ भन्नुको अर्थ पहिले अनिवार्य रूपमा मातृसत्ता थियो भन्नु स्वयंसिद्ध तथ्य होइन । स्थापित तथ्य के हो भने त्यस समयमा महिलाहरू हैसियतशाली थिए ।

पुनः उही प्रश्न, त्यसो भए किन सिकारी युग ? लेखनमा पुरुषको एकलौटी वर्चस्वले नै इतिहासमा पनि लामो समयसम्म ‘पुरुषार्थ’ को एकलकाँटे भाष्य निर्माण गर्ने उद्यम जारी रह्यो । पुरुषमा रहेको शक्ति र ज्ञानको आधिपत्यले पुरुष केन्द्रित यथार्थ निर्माण गर्दै रह्यो । स्थापित संकथन र मान्यतालाई प्रश्न गर्ने परम्परा कमजोर थियो । सिकारी युग केवल शब्दको कुरा थिएन, यो त शक्ति हुनेहरूले कसरी इतिहास र ज्ञानलाई एकलौटी बनाउँछन् भन्ने उदाहरण थियो । सिकार गर्नु साहसिक काम हो, त्यस्तो साहस पुरुषमा मात्रै हुन्थ्यो भन्ने भाष्यले निर्माण गरेको संकथन र वृत्तान्तको निरन्तरता आजसम्म छँदै छ । अनेकौं अध्ययनले देखाएका छन्– सिकारमा पनि महिलाहरूको भूमिका महत्त्वपूर्ण रहने गर्थ्यो । तर, ‘म्यान द हन्टर’ को संकथन यति बलशाली रह्यो कि महिलाको भूमिका मानौं कन्दमूल खोज्नेमा मात्रै सीमित थियो भन्ने स्टिरियोटिपिकल इमेज स्थायी भएर रह्यो ।

लैंगिक अध्ययनको हस्तक्षेपकारी परम्परा सुरु भएपछि मानवशास्त्रीहरू, खासगरी प्राग्ऐतिहासिक कालमा रुचि हुनेहरूले मानव संस्कृतिको विकासमा महिलाका भूमिकाको पुनर्व्याख्या प्रारम्भ गरे, कतिपय स्थापित मान्यतालाई प्रश्न गरे । प्रमाणका आधारमा मानव संस्कृतिको उद्विकासमा महिलाको भूमिका कमजोर थिएन बरु पुरुषको भन्दा महत्त्वपूर्ण थियो भनेर इतिहासको पुनर्व्याखा गरे । पुरुषार्थको गाथा नै मूल प्रवृत्ति ठान्ने कथनलाई प्रश्न गरे, चुनौती दिन थाले । पुरुषको भूमिका महिलाको भन्दा महत्त्वपूर्ण थियो भन्ने इतिहासमाथि पुनर्विचार हुन थाल्यो । ‘विमन इन प्रिहिस्ट्री’, ‘इनजेन्डरिङ द पास्ट’, ‘जेन्डर एन्ड आर्किअलोजी ः कन्टेस्टिङ द पास्ट’, ‘मेनिफेस्टिङ पावर ः जेन्डर एन्ड द इन्टप्रिटेसन अफ पावर इन आर्किअलोजी’ जस्ता पुस्तक केही उदाहरण हुन् । अहिले मानव इतिहासको पुनर्व्याख्या गर्ने उपक्रम र ज्ञानको क्षेत्रमा महिला मानवशास्त्रीहरूको हस्तक्षेप प्रभावकारी छ, बढ्दो छ । ज्ञान निर्माणको लामो एकलकाँटे र ढिट परम्पराका कारण एक प्रकारको संकथनमा अभ्यस्त अनुसन्धानकर्ताले लैंगिक दृष्टिकोणलाई प्राधान्यता दिन थाले । अन्ततोगत्वा मानव संस्कृतिको उद्विकासमा महिलाको भूमिका महत्त्वपूर्ण थियो वा कमजोर थिएन भन्ने स्थापित भएको छ । मातृसत्ता थियो कि थिएन भन्ने कुराले मानव संस्कृति र सभ्यताको उद्विकासमा महिलाको महत्त्वपूर्ण भूमिका थियो, महिलाको हैसियत उच्च थियो भन्ने यथार्थलाई फरक पार्दैन ।

यद्यपि अझै मानव सभ्यता र संस्कृतिको लामो यात्रामा महिलाको भूमिकामाथि पर्याप्त न्याय गर्न सकेका छैनन् मानवशास्त्रीहरूले । तर, इतिहासको पुनर्व्याख्खा गर्ने र न्याय गर्ने पहल पनि उनीहरूले नै गर्नेछन् । गरिरहेकै छन् ।

समाज विज्ञानमा अन्तिम सत्य वा परम यथार्थ भन्ने हुँदैन । कुनै सत्य वा यथार्थ त्यतिबेलासम्म मात्रै सत्य वा यथार्थ रहन्छ, जबसम्म तिनलाई त्यसभन्दा उन्नत सत्य वा यथार्थले विस्थापित गर्दैन । कृषिभन्दा पहिलेको युगलाई सिकारी युग नै भनिनुको अर्थ–राजनीतिक–सांस्कृतिक व्याख्या मानवशास्त्रीहरूको यस्तै उन्नत यथार्थ उजागर गर्ने प्रयत्न थियो ।

प्रकाशित : फाल्गुन १४, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

एक आदि विद्रोहीको अन्त्य

आफूविरूद्ध आवाज उठाएपछि तत्कालीन पञ्चायती शासकले ०३६ सालमा धनकुटा छिन्ताङमा १७ जनाको ‘सफाया’ गरेको थियो । मारिएकाहरुको स्मृतिमा कात्तिक २९ गते ‘सहिद स्मृति दिवस’ मनाइन्छ । छिन्ताङ विद्रोहका एक ‘नायक’ गडुल राईलाई २०६३ सालको हिउँदमा भेटेका थिए मानवशास्त्री सुरेश ढकालले । ढकाल लेख्छन्, ‘आफैंले देखेका र प्रेम गरेका सपनाले गडुलको जिन्दगी बिथोलिरहेको थियो । उनमा अझै विद्रोहको भोक बाँकी थियो ।’
सुरेश ढकाल

गड्याङ र गुडुङ मेघ पनि होइन आकाश सफा छ,छिर्का र छिर्की पानी त होइन रगतको टाटा छ

४२ वर्षअघि (२०३६ को हिउँदमा) धनकुटा खाल्सा क्षेत्र त्रसित थियो । जनता कहालीलाग्दो आतंक र घोर पीडामा थिए । त्यही त्रासदीको सविस्तार वर्णन गर्थ्यो चित्र निरौलाले लेखेको माथिको गीतले, जुन मैले पटक–पटक सुनेको थिएँ रामेश, मञ्जुल आदिका स्वरमा । त्यसबखत यो गीतले मेरो किशोर मनमा समेत एउटा त्रास र आक्रोश पैदा गर्थ्यो । यो खासगरीे ०३७–०३८ साल आसपासको कुरा थियो ।

यो त्यतिबेलाको कुरा थियो, जतिबेला निरंकुश पञ्चायती व्यवस्था उत्कर्षमा थियो । ‘खतरनाक’ अनुदार ठानिने सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । त्यही समय धनकुटाको खाल्सा क्षेत्रमा दर्दनाक नरसंहारको व्यूह रचिएको थियो, जुन पछि छिन्ताङ काण्डको नाममा चर्चित बन्यो ।

छिन्ताङ विद्रोहको त्यो कथा निकट इतिहासको एउटा वियोगान्त कथा हो, जुन बारम्बार भनिएको छ । यो कथा अरू केही वर्षसम्म भनिनेछ वा भनिनुपर्नेछ । यो द्वन्द्व र हिंसाको कथा हो । यो मुक्तिकामी जनताको सपनाको अवसानको कथा पनि हो । यो नेपालमा कम्युनिस्ट पार्टीको विकास र विस्तार बुझ्न सहयोग पुर्‍याउने सन्दर्भको कथा पनि हो । किसान विद्रोह र राजनीतिक दलहरू, खासगरी कम्युनिस्ट राजनीतिको सम्बन्ध केलाउन एउटा दृष्टिकोण दिने कथा पनि हो ।

घटनाको लामो अन्तरालपछि, २०६३ साल हिउँदको यस्तै कुनै एक दिन त्यही त्रासदीको थप कथा जान्न हामी छिन्ताङ पुगेका थियौं । तर, यो यात्रा विवरण वा छिन्ताङ काण्डको नालीबेली भने होइन । त्यसबेला भेटिएका र स्मृतिमा गढेर बसेका छिन्ताङ विद्रोहका एक ‘प्रोटागोनिस्ट’ गडुल राईलाई सम्झिने प्रयास मात्रै हो ।

गडुलसँग जम्काभेट

गडुललाई उनकै शब्दमा सानो ‘खिचिरमिचिर’ दोकानसमेत भएको छिन्ताङको पञ्चकन्यास्थित उनैको घरमा भेटेका थियौं । पहिलोपटक भेट्दा वा देख्दा उनी थोत्रिइसकेको पावरवाला चस्माको सहाराले ध्यानपूर्वक पत्रिका पढिरहेका थिए । त्यो थियो ‘जनादेश’ पत्रिका । हामी काठमाडौंबाट आएको र उनीसँग कुरा गर्न चाहेको बताउँदा गडुल ‘आफ्नो कथा’ सुनाउन तयार भइहाले, मानौं आतुर भएर हामीलाई नै कुरेर बसिरहेका थिए ।

आठ दिन त्यस क्षेत्रमा बस्यौं र उनीसँगको बस–उठ पनि जम्मा त्यति नै दिनको रह्यो । उनीसँगै खोकु छिन्ताङको कान्ला र पाखा हिँड्यौं, उकाली–ओराली गर्‍यौं । उनका तत्कालीन सहकर्मीहरूसँग भेट्यौं । उनका जीवनका केही आरोह–अवरोह बुझ्ने चेष्टा गर्‍यौं ।

उनी माओवादी बनेका रहेछन् त्यसबखत । कथाहरू सुनिरहँदा लाग्थ्यो, आफैंले निर्माण गरेका क्रान्तिका मान्यताहरूबाट बन्दी बनाइएका छन् उनी । आफैंले देखेका र प्रेम गरेका सपनाले उनको जिन्दगी बिथोलिरहेको थियो । उनमा अझै विद्रोहको भोक बाँकी थियो ।

उपलब्ध गणतन्त्र र पछिल्लोपटक आफैंले समर्थन गरेको माओवादी पार्टीप्रति समेत उनको चरम असन्तुष्टि थियो । वर्ग–दुस्मन खत्तम पार्ने भनिएको क्रान्तिको सर्वोच्च नेता प्रचण्डप्रति आक्रोस थियो । भन्थे, ‘प्रचण्डले धोका दिए, क्रान्तिप्रति गद्धारी गरे ।’ यो संवाद विस्तृत शान्ति सम्झौता भएको धेरै समय नहुँदैको थियो ।

सहिदभूमि गाउँपालिकाको छिन्ताङस्थित सहिदपार्क । तस्बिर : बबिता शर्मा

क्रान्तिकारी हुनुको सबैभन्दा सुन्दर र रोमाञ्चक पक्ष भनेकै क्रान्तिकारी हुनु हो भन्ने कुरा सायद उनको हकमा हुबहु लागू हुन्थ्यो । हामीले भेट्दा पनि उनी लडाइँमा निस्किन ठिक्क परेको कुनै योद्धाजस्ता महसुर र वेगवान देखिन्थे ।

जर्ज बनार्ड शले भनेका थिए, ‘क्रान्तिले कहिले पनि बर्बरताको भारी कम गरेको छैन बरु केवल काँध मात्रै सारेको छ ।’ गडुलको अनुभवमा क्रान्तिले उही प्रवृत्तिलाई पुनःस्थापना गर्‍यो, जसको अन्त्य उनले चाहेका थिए । त्यसैले उनमा विद्रोहको आगो अझै बाँकी थियो ।

यो तिनै विद्रोहीको कथा हो अर्थात् छिन्ताङ विद्रोहका तिनै ‘कमान्डर’ गडुल राईको एक कथा ।

विद्रोहको स्वर

गडुल राईले हामीलाई सुनाएको उनको कथाको संक्षिप्त रूप यस्तो थियो ।

०२४ सालदेखि औलो उन्मूलनमा जागिर खाएका उनी ०२७–२८ मा झापातिर काम गर्थे । तलब र भत्ता गरी महिनाको १२० रुपैयाँ कमाइ हुन्थ्यो । त्यति नै बेला उनी एक झापाली विद्रोहीको संगतमा पुगे । ती विद्रोहीले भनका रहेछन्, ‘पैसाको लोभमा फस्ने होइन, देशका लागि बलिदान गर्नुपर्छ ।’ लहैलहैमा गडुलले जागिर छोडे, गाउँ फर्के, गाउँलेलाई जागरुक बनाउन । ‘रातो झन्डा’ भन्नेहरूको सम्पर्कमा पुगे । ‘त्यसपछि जातीय मुक्ति मोर्चा आयो, अनि पूर्व कोसी प्रान्तीय भन्ने आयो, को के (कोअर्डिनेसन केन्द्र) भन्ने पनि आयो, त्यसपछि माले आयो । त्यसैगरी म मसाल बनें । मार्क्सवादीको सम्पर्कमा पनि आएँ...,’ यसरी उनी क्रमशः स्मृतिमा जाने कोसिस गर्थे ।

मालेपछि उनी एमाले बने । र, पछि माओवादी । भन्थे, ‘चौबन्न–पचपन्न सालदेखि माओवादीका नेताहरूको झोला बोक्ने कमारो भएर बसेको छु ।’ माओवादीप्रतिको वितृष्णा प्रस्ट देखिन्थ्यो उनको बोलीमा, ‘माओवादी बन्ने रहर त थिएन, तर काम गर्नुपर्छ भनेर किरात राष्ट्रिय मोर्चाको जिल्ला सदस्य बनाइदिए ।’ ०६० सालमा पुलिसले पक्राउ गर्‍यो, १८ दिन हिरासत बसे । ‘बूढो भएर पनि माओवादी हुने ?’ भन्दै धुस्नो हुनेगरी कुटे र अन्त्यमा तारिखमा छोडे । ‘तर, सबैभन्दा ठूलो गुनासो माओवादीमाथि नै छ,’ उनको निचोड थियो ।

कहिल्यै विद्यालय जान नपाए पनि गडुल सामान्य पढलेख गर्न सक्थे । जतिबेला ‘कमिटी प्रणाली’ बारे थाहा थिएन उनी नरबहादुर कुथुमी, भक्त बोलाना राई, गोविन्द विकल, बम देवान आदिका सम्पर्कमा आए । कम्युनिस्ट पार्टीमा संगठित बने । उनिहरू स्थानीय जिम्वाल मझिया राईको शोषणविरुद्ध संगठीत हुँदै थिए । सम्झिँदै गए, ‘शोषणको स्वरूप निर्दयी खालको थियो । सोझा गाउँलेहरूले दिनहुँ अमानवीय व्यवहार झेलिरहेका थिए । भूमिसुधारको कुनै प्रभाव थिएन । जग्गा जमिन मझियाहरूकै कब्जामा थियो । गाउँले किसान दाससरहका कृषि मजदुर मात्रै थिए । बेठ–बेगारी बुझाउनुपर्थ्यो । गरिबी चरम थियो । भोकै बस्नुपर्ने अवस्था थियो ।’

यस्तै पृष्ठभूमिमा भएको थियो– शृंखलाबद्ध विद्रोह । ०३६ कात्तिक–मंसिरको छिन्ताङ विद्रोहचाहिँ उच्चतम स्वरूप थियो । गडुल तिनै विद्रोहका स्थानीय नेता थिए । सुरा र अन्य गाउँलेका दाँजोमा तराई–मधेश देखेका ‘जान्ने–बुझ्ने हुँ’ भन्ने लाग्थ्यो रे उनलाई । उनी भन्थे, ‘म उहिले नै अहिलेको मिलिसियाको कमान्डरजस्तो थिएँ ।’

‘उहाँमा अलिक समस्या छ,’ उनको विद्रोही स्वभावप्रति लक्षित थियो सहयोद्धाको यो टिप्पणी । तर, गडुललाई लाग्थ्यो– आफ्नो विद्रोही स्वभावमा होइन, समस्या आफ्नै कमरेडहरूमा आएका कारण उनी अझै विद्रोही बनेका हुन् ।

अल्वेयर कामुको ‘म विद्रोह गर्छू त्यसैले मेरो अस्तित्व छ’ भनेझैं गर्थे गडुल ।

‘सामन्तीलाई नगिँडी, सैनिकसँग नभिडी

आउँदैन है जनवाद भाषण ठोकेर’

यो उनीहरूले गाउने गीत मात्रै थिएन विद्रोहको स्वर थियो । र, उनका लागि राजनीतिक बाटो पनि ।

छिन्ताङ : सन्दर्भकथा

जुन विद्रोह भयो र त्यसभन्दा कैयौं गुणा दमन भयो, विद्रोह भएकै ठाउँमा पुगेर सहिद–परिवारलाई सुनिरहँदा हामीलाई त्यो त्रासदीपूर्ण मात्रै होइन, अकल्पनीय नै लाग्यो ।

‘दमनको योजना माथिबाटै बनेको थियो, माथिबाट भनेपछि तपाईंले बुझिहाल्नुभो...’, तत्कालिन पूर्वाञ्चल डीआईजी दिलबहादुर (डीबी) लामाले हामीसँगको भेटमा भनेका थिए । तर, तत्कालीन प्रधानमन्त्री थापाको भनाइमा ‘त्यो राज्यविरुद्धको द्रोह थियो । सरकार प्रमुखका हैसियतले त्यसलाई दमन गर्नु मेरो कर्तव्य हुन्थ्यो । यसमा माथि (दरबार) को कुनै चासो थिएन ।’

यो सन्दर्भले त्यतिबेला छिन्ताङ विद्रोहलाई राज्यले कुन रूपमा लिएको थियो भन्ने उजागर गर्थ्यो । तर, विद्रोहको नेतृत्व लिएको भनिने माले पार्टी त्यो तहमा गम्भीर भएको देखिएन ।

तत्कालीन नेकपा मालेको मुखपत्र ‘वर्ग संघर्ष’ (अंक १५, २०३७) मा त्यस घटनाका सम्बन्धमा यस्तो समीक्षा थियो, ‘सशस्त्र संघर्ष नगरी मुक्ति पाइन्न भन्ने विचारको प्रचार भए पनि कसरी सशस्त्र संघर्ष गर्ने हो भन्ने सवालहरूमा स्पष्ट समझदारी नरहनाले केही दुस्साहासवादी काम भए ।... वास्तवमा बनाइएका केही गोरिल्ला दस्ताहरू पनि सशस्त्र प्रतिरोधका लागि मानसिक र भौतिक रूपले तयार भैसकेका थिएनन् । ...वामपन्थी

भड्काउवाद र अनेक कमजोरी भएको थियो ।’

गडुल भन्थे, ‘यम बराल भन्ने एउटा चटपटे ठिटो थियो । उसैले उकास्यो । ऊचाहिँ बिजुलीको वेगमा कता बेपत्ता भयो ।’

‘टिन–एज’ पनि पूरा नगरिसकेका यम बराल त्यस क्षेत्रमा पार्टीको जिम्मेवारीमा थिए । उनको ढंग नपुगेको भनेर तत्कालीन पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो । उनीविरुद्ध पार्टीभित्रै पनि उजुरी परिसकेको रहेछ । उनको ‘उरन्ठ्यौलो कार्यशैली र चिन्तन’ लाई छिन्ताङमा बेहोर्नुपरेको नोक्सानका लागि जिम्मेवार ठानियो । त्यसो त मदन भण्डारीले समेत पटक–पटक भ्रमण गरेको र सशस्त्र विद्रोहका लागि हतियार जम्मा गर्न ‘उक्साएको’ पनि भनिएको थियो । यद्यपि यम बरालको भनाइमा त्यो सबै पार्टीको योजना र नीतिअनुसार नै भएको थियो । बरालले भनेका थिए, ‘मैले त्यो ठाउँ पार्टीको निर्देशनमा नै छोडेका थिए, भागेको थिइनँ ।’

यस्तो थियो छिन्ताङ विद्रोहलाई हेर्ने सरकारी र तत्कालीन माले पार्टीको दृष्टिकोण । उक्त घटनाप्रति अन्य कम्युनिस्ट घटकहरूको दृष्टिकोण सकारात्मक हुने त कुरै भएन । कांग्रेस र पञ्च एकै कोटीका दुस्मन ठानिन्थे । छिन्ताङ विद्रोह भएको वर्षको दसैंताका ‘राजा र बीपी घाँटी जोडिएका नाग हुन्’ भन्ने आशयको पर्चा छापेर बाँडिएको थियो ।

त्यस क्षेत्रमा २०२७ सालदेखि नै मझिया राईहरूको चर्को शोषण, अत्याचार र व्यभिचारविरुद्ध साना–ठूला प्रतिरोधपूर्ण कारबाही र विद्रोह भइरहेकै थिए । ती शृंखलाबद्ध विद्रोहलाई बृहत्तर रूपमा पञ्चायतविरुद्धको प्रतिरोधको रूपमा पनि हेरिन्थ्यो । त्यस वर्षको सुरुदेखि नै गडुल र उनका केही सहयोद्धाले घरेलु हतियार जम्मा गर्ने, स्थानीय ‘सामन्त’ लाई कारबाही गर्ने, भकारी लुट्ने, बाख्रा, सुंगुर खोरबाट तान्ने, घर–गोठमा आगो लगाइदिने गतिविधि बढाउन थालेको थिए । उनीहरूले जानेको–सकेको प्रतिरोधको स्वरूप त्यस्तै थियो । गडुल ती सबै योजना बनाउने र कारबाहीको नेतृत्व गर्ने प्रमुख व्यक्तिमध्ये एक थिए । तत्कालीन पार्टीले पनि सोहीअनुसारको निर्देशन दिने गरेको थियो । यो सबको सुइँको पाएका स्थानीय पञ्चहरूले सशक्त कारबाहीको मागसहित उजुरी गरेका थिए । बताइएअनुसार, प्रधानमन्त्रीसमक्ष नै अनुरोध गरे– व्यवस्थाविरोधि गतिविधि दबाउन र स्थानीय पञ्चहरूको सुरक्षा गर्न ।

विद्रोहीहरू शान्त हुने सुरमा थिएनन् । बरु उजुरीपछि गाउँ आएका प्रहरीमाथि कारबाहीको तयारी गर्दै थिए । प्रहरीलाई खान, बस्न दिएको र सुराकी गरेको ‘अपराध’ मा व्यक्तिका घर जलाउने, हातपात गर्नेजस्ता ‘कारबाही’ गरे । यसबाट जिल्लाकै प्रहरीहरू पनि आत्तिएका थिए । उनीहरूले पनि ‘ठूलै राज्य द्रोह हुन लागेको’ र ‘ठूलै शक्तिले मात्रै दबाउन सकिने’ रिपोर्ट गरे । पछि माथिल्लो तहमै दमनको योजना बनेको थियो ।

गाउँ नै घेराबन्दी गर्दै विभिन्न नाकाबाट प्रवेश गर्न थाले प्रहरी । कात्तिक २४ मा प्रहरीले गाउँका असल, इमानदार र प्रचुर सम्भावना भएका एक होनाहार स्थानीय युवा नेता गोपाल आनन्द राईलाई घरबाटै पक्राउ गरे र हत्या गरे । गोपाल आनन्दको हत्यासँगै छिन्ताङमा अत्याचारको शृंखला सुरु भएको थियो । मंसिरको पहिलो सातासम्म १७ गाउँलेको हत्या गरिएको थियो । मारिनेमा स्थानीय राई र दलित थिए, जसमध्ये कोही संगठित विद्रोही थिए भने केही निर्दोष पनि प्रहरी ज्यादतीको सिकार भए । पूरै गाउँ सातादिनभन्दा बढी प्रहरीहरूको उन्माद र हत्या शृंखलाले आतंकित बन्यो । थुप्रै युवा गाउँ छाडेर भागे । कत्तिले जंगल र गुफाहरूमा कन्दमूल खाएर तथा भोकभोकै पनि ज्यान जोगाए ।

दुर्दान्त घटना थियो त्यो । यस्तो लाग्थ्यो, त्यस आतंकले अहिलेसम्मै पनि लखेटिरहेकै छ । पीडित जनता खासगरी त्यतिबेलाका विद्रोही–सहिद परिवार राज्यको त्यो आघात र अहिलेको बेवास्ताले झनै पीडित बनेका छन् । यिनैमध्ये कै एक थिए गडुल राई ।

छिन्ताङको त्यसबेलाको सघंर्ष, विद्रोहको ढंग र शैली हेर्दा लाथ्यो, माओवादी सशस्त्र विद्रोहको त्यो प्राग्–स्वरूप थियो र नियति पनि ।

फेरि गडुलकै कथा

उनले हामीलाई सुनाएको कथाको बाँकी अंश यस्तो थियो ।

त्यतिबेला उनी धेरै नेतालाई चिन्थे, तर पछि नेताहरूले उनलाई चिनेनन् । गुनासो त हुने नै भयो । लाग्थ्यो रे, ‘गरिब किसानको मुक्तिका लागि क्रान्तिमा त होमिने हो, मरे सहिद, बाँचे मुलुक हल्लाउनेछौं ।’ तर, ‘व्यवस्थाविरोधी’ भनेर मारिएका ती सहयोद्धा र निर्दोषलाई परिवर्तित राज्यले सहिद घोषणासमेत गरेन । ‘उनीहरू हाम्रा मनमा त अमर छन्, तर राज्यले सम्मान गर्न सकेन । आज सहिद परिवारलाई राज्यको कुनै सहयोग छैन ।’ त्यसैले कहिलेकाहिँ लाग्दोरहेछ, ‘बेकारमा यत्रो दुःख गरिएछ ।’

खासमा माओवादीभन्दा अर्कोलाई ‘राम्रो’ भन्न नसकेको, तर माओवादीले पनि धोका दिएको निष्कर्षमा पुगेका थिए उनी । भन्थे, ‘जनताले अब साँचो क्रान्ति गर्नुपर्छ, मुक्तिका लागि ।’

हामीले गडुलका समकालीन योद्धाहरूलाई पनि भेट्यौं ।

कितापप्रसाद राई गडुलका दौंतरी थिए, छिन्ताङ काण्डका कमान्डरमध्येका एक । उनको त्यतिबेलासम्मको राजनीतिक यात्रा पनि समान । कितापप्रसाद भन्थे, ‘क्रान्तिबाहेक मेरो कुनै सपना छैन, पार्टीबाहेक मेरो कुनै घर छैन ।’ उनको विचारमा गडुल क्रान्तिकारी त हुन् नै, तर ‘अलिक अव्यावहारिक छन्, अलिक आवेशमा आउँछन् ।’ सायद उनको त्यही आवेश थियो, जसले उनलाई जीवनभरि क्रान्तिकारी बनाएको थियो ।

आँखीसल्लाका पञ्चलाल गडुलहरूलाई ‘मिलिटरी’ तालिम दिन्थे रे । भारतीय सेनामा १८ वर्ष काम गरेर फर्केका पञ्चलाललाई ०२७ सालमा धरानमा पेन्सन थाप्न जाँदा अपरिचित दुई ब्यक्तिले माओको रेड बुक थमाइदिएछन् । त्यहीँबाट उनको राजनीतिक जीवन सुरु भएको थियो । त्यसपछि नै स्थानीय तहमा विद्रोह सुरु गरेका उनी जेल परे ६ वर्ष । पछि मालेको सम्पर्कमा पुगे । मसाल बने । अन्ततोगत्वा माओवादी । ७३ वर्षको उमेरमा पक्राउ परे । ‘यस्तो बूढो भएर पनि माओवादी बन्ने ?’ भनेर उनले पनि खपिनसक्नु पिटाइ खाए ।

हामी गडुलका साथ लागेर तिनै पञ्चलाललाई भेट्न उनको घर पुगेका थियौं । माओवादीको जनसरकार उपप्रमुख भइसकेका उनी पछिसम्म पनि माओवादी नै थिए, तर माओवादीले भनेको ‘क्रान्ति पूरा गर्छ’ भन्नेमा शंका गर्थे । भन्थे, ‘माओवादीले नगरे अर्को पार्टी आउँछ, क्रान्ति त हुन्छ हुन्छ ।’ सदाबहार विद्रोही गडुल त्यसैले पनि उनका प्रिय थिए । यो २०६३ सालसम्मको कथा थियो ।

छिन्ताङ वियोगान्त र बाँकी प्रश्न

पाँच वर्षपहिले एउटा समाचार हुर्रिएर आयो, गडुलको मृत्युको खबर बोकेर । सँगै अर्को समाचार पनि थियो, फुटनोटजस्तै । सुन्दा अपत्यारिलो । मान्छेको जीवन विब्ल्याँटो परिस्थितिहरूको योग हो । मरे सहिद बनिन्छ भन्ने आदर्शबाट प्रेरित उनको जीवन संघर्ष र विद्रोहको कथाको अन्त्य हो । एउटा विद्रोहीको वियोगान्त । चुपचाप ।

तर, प्रश्नहरूको अन्त्य भइसकेको छैन । गडुल राईको जीवन नै प्रश्नहरूको शृंखला थियो । क्रान्तिको आकांक्षा र मुक्तिको सपनाको अंकुरण कसरी हुन्छ ? कसरी मौलाउँछ ? कसरी सपना भ्रममा बदलिन्छ र मुक्ति आकांक्षाको अवसान हुन्छ ? ०३६ सालमा १७ जना निर्दोष स्थानीय मारिएको त्यो छिन्ताङ विद्रोह र ६३ सालसम्ममा १७ हजारभन्दा बढीको ज्यान गएको तत्कालीन माओवादी विद्रोहबीच केही समानान्तर नियतिहरू थिए ? यी र यस्तै धेरै प्रश्नहरू बाँकी छन् ।

किसान विद्रोह र वामपन्थी राजनीति एवं पार्टी निर्माणको सम्बन्ध अर्को महत्त्वपूर्ण प्रश्न हो । स्थानीय विद्रोह र किसान आन्दोलनको उपयोग गरेर पार्टी निर्माण त भयो, तर विद्रोह र किसानको नियति किन सधैं असफल मात्र रहिरह्यो ? के सार्वभौम किसान आन्दोलनका रूपमा तिनको विकास हुन सक्दैनथ्यो ? के ती राजनीतिक दलहरूको विस्तारका औजार मात्र थिए ?

प्रश्नहरू अनेक छन् । जवाफका लागि फराकिलो सन्दर्भ, आलोचनात्मक दृष्टिकोण र मिहिन विश्लेषण आवश्यक पर्छ । त्यसका लागि पनि छिन्ताङ विद्रोहहरूको ऐतिहासिक उपादेयता, गडुल राईहरूको निर्माण र विनिर्माणका कथाहरू भनिइरहनुपर्छ । तिनीहरू मान्छेका स्मृतिबाट हराउनु हुन्न । तिनीहरूलाई मान्छेका स्मृतिबाट हटाउनु हुन्न ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×