कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अदालतमा रङ्गमञ्च शक्ति

अदालत अहिले रङ्गमञ्च भएकाले हामी रङ्गमञ्चीय मानिसको दृष्टिको पनि यो एक विशेष थलो भएको छ।
अभि सुवेदी

रङ्गमञ्चसँग जोडिएको एक मानिस भएकाले मलाई थिएटरबाहिर अनेकौं ठाउँ र अवसरमा हुने तमासा र खेलले आकर्षित गरिबस्छन् । यसका कारण पनि रङ्गमञ्चीय प्रकृतिका नै छन् ।

अदालतमा रङ्गमञ्च शक्ति

नेपालको सर्वोच्च अदालत आन्दोलित भएका प्रायः सबैजसो घटना, हल्ला, बहस, खिचातानी, भाषण, आलोचना, आक्रोश र तीसँग गाँसिएका अभिनय चाख लिएर हेर्ने–पढ्ने गरिरहेको छु । प्रधानन्यायाधीश यी सबै हलचलको केन्द्रका पात्र भएकाले सर्वोच्च अदालतको यो फेदैदेखि उठेको चक्रवात हो भनेर छुट्ट्याउन सजिलो छ ।

यो अदालत परिसरको वास्तुकला, बार एसोसिएसनको भवन र त्यहाँको अदालत भवनको संरचना विषयमा पनि मेरो चाख बढेको छ । त्यहाँ अदालत प्रवेश र रोक आदिमा मलाई सर्वोच्च अदालतको एउटा रङ्गमञ्चीय संरचना शैलीको बोध भएको छ । मैले यही पत्रिकामा ‘नेपालमा न्यायप्रणाली र वास्तुकला’ शीर्षक लेखमा लेखेको छु, ‘वास्तुकला र न्यायप्रणालीको सम्बन्धको विषय कानुनी वा अदालती मात्र नभएर नाट्य रङ्गकर्म र उत्तरऔपनिवेशिक अध्ययनसँग पनि जोडिएको छ । त्यो वास्तुकला कारागारको रचनासँग जोडिएको कुरा छ (कान्तिपुर, १५ असोज २०७७) ।’

यो लेखमा भने हाम्रा रङ्गमञ्च र सर्वोच्च अदालतका अहिले निकै महिनादेखि चलिरहेका प्रस्तुतिहरूलाई जोडेर एकाध निष्कर्ष निकाल्ने जमर्को गरेको छु । यो सबै जे भइरहेको छ त्यसको तार्किक संगति छ । अनि त्यो राजनीतिसँग जोडिएको छ, संविधानसँग जोडिएको छ र प्रयोगका चिन्ता, असफलता, भ्रम र संकटका आयामहरूसँग जोडिएको छ भन्नेमा विश्वास गर्छु । त्यसैले अदालतमा जे भइरहेको छ, त्यसको कारण अदालतमा अनि वरिष्ठ पात्रहरूले खेलेका राजनीति र परिवर्तनले सिर्जना गरेका

सङ्कट र त्यसका समाधान खोज्ने क्रममा भएको एक आवश्यक र स्वाभाविक प्रक्रिया हो भन्नेमा विश्वास गर्छु । मेरो विचारमा अहिले नेपालको अदालत अर्कै किसिमको शक्तिको थलो भएको छ । यो नकारात्मक वा अप्ठ्यारो देखिएला, तर बुझ्नुपर्ने के छ भने सर्वोच्च अदालत अहिले नेपाली समय, नेपाली उपलब्धि, नेपाली काल्पनिकी, नेपाली गन्तव्य, नेपाली भविष्य, नेपाली राजनीतिको ग्रिक मिथकलाई लिएर भन्दा एउटा डेल्फी थलो भएको छ । त्यसैले पनि मलाई यसको रङ्गमञ्चीय चरित्रले खिचेको हो । केही छलफल गरेपछि म हाम्रा रङ्गमञ्चका अनुभवसँग जोडेर फेरि यही निष्कर्षतिर फर्किन चाहन्छु । विस्तृत लेखको विषय भए पनि खास भेटेका कुरा राख्न चाहन्छु । त्यस अर्थमा यो राजनीतिशास्त्री वा न्याय प्रणालीका विद्वान्को लेख नभएर एक नाटकमा लाग्ने, नाटक लेख्ने व्यक्तिको आलेख हो । त्यसैले केही शास्त्रीय सन्दर्भ छन् ।

यहाँ पश्चिमी रङ्गमञ्चको परम्पराका आवश्यक कुरा गर्न चाहन्छु । रङ्गमञ्चको खासगरी युनानी थिएटरको व्याख्या गर्ने सन्दर्भमा जर्मन दार्शनिक फ्रेडरिक निच (१८४४–१९००) ले लेखेको ‘द बर्थ अफ ट्र्याजेडी’ (१८७२) को एउटा सार प्रसङ्ग ल्याउनुपर्छ । उनले ग्रिक मिथकबाट डायनिसस र अपोलो देवताका विपरीत चरित्रहरूलाई लिए । डायनिसस काव्य, अराजक र उत्ताल, तर अत्यन्त सिर्जनशील देवता थिए भने अपोलो यिनै सिर्जनाका, तर अनुशासित शैलीका देवता थिए । दुवै थरीका रङ्गमञ्चको सार त्यही एउटै हो– थिएटरमा मानिसका अभिनय र सिर्जना अनि गहिरा सङ्कटका चित्रण गर्नु । विद्वान् जर्ज स्टाइनरले निचको सिद्धान्तको उल्टो व्याख्या गर्दै ट्र्याजेडीको मृत्यु वा ‘द देथ अफ ट्र्याजेडी’ (१९६१) लेखे । त्यसो त पछिका ट्र्याजेडी नमान्ने जर्मनीका देब्रे ढल्कुवा नाटककार बेर्टोल्ट ब्रेख्तले पनि ‘मदर करेज’ र मारिएका ‘ग्यालिलियो’ जस्ता ट्र्याजेडी नै लेखे । मेरो छलफलको विषय हो– रङ्गमञ्चमा मानिसका सङ्कट र गहिरा ऐतिहासिक चिन्ताका नाटकहरू प्रदर्शित हुन्छन् । रङ्गमञ्चको सारवस्तु त्यही हो ।

अहिलेको नेपालको गति र सङ्कटको नाटकीय प्रस्तुति नेपालको सर्वोच्च अदालतमा हुनु एउटा गम्भीर र आवश्यक विषय हो भने मान्छु म । मलाई नाट्यकर्मी र त्यस विषयका विद्वान् र शोधार्थीहरूसँगका छलफलको पनि केही प्रभाव परेको अवस्था छ । म हाम्रो रङ्गमञ्चीय अनुभव ल्याएर यहाँ जोड्छु । नेपालको दसवर्षे युद्धको अन्तिमतिरको समय थियो । नेपाल हिंसा र भयाक्रान्त अवस्थामा थियो । मानिसको स्वतन्त्रता र शान्तिपूर्ण भविताको केही ठेगान थिएन । नेपालका गुम्बा, शिक्षालय, प्रतिष्ठानहरूमा आगो लागिरहेको थियो । कलाकार र शिक्षकका हत्याको शृंखला थियो । सबैतिरबाट हेर्दा एउटा सङ्कटको कलेवर रचना भएको थियो । कला र साहित्यका अनेकौं विधाले आ–आफ्नै किसिमले त्यो सङ्कटको प्रस्तुति गरे । हामीले रङ्गमञ्चबाट गर्‍यौं । सुनील पोखरेललाई त्यो समयको संवेदनशीलता र अझ भन्दा सङ्कटको चित्रण गर्ने इच्छा थियो । त्यो अग्निदहनलाई गहिरो सङ्कटको रूपमा लियौं । मैले ‘अग्निको कथा’ नाटक लेखें । सुनीलले निर्देशन गरे । माघ २३ गते २०५९ मा त्यो नाटकको मञ्चन गरेर गुरुकुल थिएटरको आरम्भ भयो । त्यो नाटकमा हामीले सकेसम्म नेपाली इतिहासको गहिरो सङ्कटको चित्रण गर्ने प्रयास गर्‍यौं । सुनीलका आँखा त्यो चिन्ताले सधैं अर्धमुदित हुन थालिसकेका थिए । नेपालमा क्रान्तिकारी, सरकारी, प्रजातान्त्रिक, पहिलेका सत्ताका मानिसदेखि लिएर धेरै युवक, विद्यार्थी, गुम्बाका भिक्षु–भिक्षुणीले त्यो नाटक स्वतःस्फूर्त भएर हेरे । बाहिर अनेकौं देशका विविध किसिमकाले पनि हेरे । नाटक सहकला हो, नाटक लेख्ने र निर्देशन गर्नेको मात्रै होइन, अभिनय गर्ने अनि परिवेश रचना गर्नेको पनि हो । गुरुकुल पुस ३० गते २०६८ मा बन्द भयो । अहिले हेनरिक इब्सेनको चर्चित् नाटक ‘पुलतीको घर’ को मञ्चनसँगै नयाँ ऊर्जासहित गुरुकुल फेरि आरम्भ भएको छ । यो सुखद खबर हो ।

अहिले सर्वोच्च अदालतमा कानुन व्यवसायी र सर्वसाधारणको जुन आन्दोलन भएको छ म त्यसलाई एक नाटक भन्छु । त्यो अहिले भइरहेको आन्दोलन पनि अमुक ‘अग्निको कथा’ को नाटक हो, जहाँ नेपाली आधुनिककालको राजनीतिक र विधिको इतिहासको सङ्कट अभिनय भइरहेको छ । कानुन व्यवसायीले आफ्ना कामका थलो छाडे । बाहिर आएर प्रस्तुति थाले, श्रोता र दर्शक भेला भए अनि अत्यन्त प्रभावकारी र कलात्मक शैलीमा ती बोल्न थाले । तिनले अदालतभित्र अनेकौं बहस गरे होलान्, तर हामीले कहिल्यै सुनेनौं । बाहिर हाम्रा साहित्यिक प्रसङ्ग पनि जोडेर आफूले बहस गरेको कुरा मलाई वरिष्ठ अधिवक्ता शम्भु थापाले एक पटक सुनाएका थिए । अरू जानकारी नभए पनि त्यो क्रम भने थाहा छ । केही दिनअगाडि नागरिक अभियन्ताहरू मैले गान्धीजस्ता भनेर लेखमा लेखेका डा. गोविन्द केसी र लेखक खगेन्द्र संग्रौला– दुवै साना काँटीको ज्यान भएका– विद्रोही वकिलमध्येका ओमप्रकाश अर्यालसँग रङ्गमञ्चमा उभिएर संवाद प्रस्तुत गर्दै थिए । त्यो देखेपछि लाग्यो, त्यो यही नाटकको प्रस्तुति पक्ष थियो ।

अदालत यस्तो रङ्गमञ्च भएको छ, जहाँ नेपाली इतिहासको परिवर्तनका भ्रम र राजनीति गर्नेले पनि धन्द्याउन नसकेका पक्षहरूको नाटकीकरण भइरहेको छ । त्यसैले अदालत अहिले रङ्गमञ्च भएकाले हामी रङ्गमञ्चीय मानिसको दृष्टिको पनि यो एक विशेष थलो भएको छ । डायनोसियाली उत्ताल देखिएला, तर यहाँ संकटको सिर्जनशील नाटकको प्रस्तुति हुँदै छ ।

प्रकाशित : फाल्गुन १४, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?