१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
पोल पोटको कथा

नरसंहारको साक्षी

कम्बोडियामा जे भए, ती हाम्रै जीवनकालका घटना थिए । नरसंहारको ४० वर्षपछि पनि कम्बोडियाली जनताको हृदयमा खोपिएको युद्धको डोब मेटिएको छैन । किलिङ फिल्डको त्यो कहालीलाग्दो इतिहास फेरि कहिल्यै नदोहोरियोस् । संसारमा फेरि यस्तो कहिल्यै नहोस् । गुम्बामा पाँच हजार मानव खप्पर सिसाभित्र तहतह पारी राखिएको छ । शान्तिका दूत बुद्धको स्तूपभित्र मानव खप्परको चाङ ! कस्तो विडम्बना !
जीवा लामिछाने

सुन्दा पनि कस्तो कहालीलाग्दो ! १७ अप्रिल १९७५ को दिउँसो । सुस्ताउँदै गरेको राजधानी फ्नोम पेन्ह । कार्यालयहरूमा ‘लन्च ब्रेक’ । पसलहरू आधा सटर मात्रै खुलेका, चोक–चोकमा चिया–पञ्चायती ।

नरसंहारको साक्षी

रातो गम्छाधारी सैनिकको लस्कर सहरमा छिर्छ । एकैछिनमा रेडियोबाट जनताको शासन घोषणा हुन्छ, खमेर रुजको । छापामार युद्ध लडिरहेको खमेर रुजले सत्ता कब्जा गरेको त्यो क्षणमा कम्बोडियालीहरू झुलुक्क केही आशा देख्छन् ।

कम्बोडियालीहरू जति छापामार युद्धबाट आजित थिए, उति नै अमेरिकी कठपुतली भनेर चिनिने सैनिक शासनबाट पनि पिल्सिएका थिए । सैन्य शासक भ्रष्ट थिए, त्यसैले जनस्तरमा खमेर रुजप्रति सहानुभूतिसमेत थियो । खमेर रुजले सबै सरकारी कारिन्दालाई सडकमा हाजिर हुन उर्दी गर्‍यो । सबैलाई सडकछेउ लाइन लगाएर गोली हानियो । त्यति हुँदा पनि सहरवासी दुःखी भएनन् । उनीहरूका नजरमा मारिनेहरू अमेरिकाले आफ्ना लागि दिएको सहयोग लुट्ने भ्रष्टाचारी थिए ।

तर, त्यो एउटा मृगमरीचिका साबित हुन केही घण्टा मात्रै लाग्यो । सहरवासीका लागि अकल्पनीय र कहालीलाग्दो दुःखका दिन अब सुरु हुनेवाला थियो । खमेर सेनाले उनीहरूलाई अत्यावश्यक सामानसहित तीन दिनका लागि सहर छाड्न माइकमा उर्दी गर्‍यो– अमेरिकाले आक्रमण गर्न थालेको भन्दै । जो–जसले ‘हामी आफ्नो घर छाडेर किन जाने ?’ प्रश्न गर्ने भए, तिनले सरकारी कारिन्दाकै नियति भोग्नुपर्‍यो । राजधानीवासी झिटीगुन्टा कसेर गाउँतिर सोझिए । बालबच्चा अभिभावकको काखमा, अशक्त वृद्धवृद्धा ढाडमा । जताततै मानिसको लर्को, गाउँको अनजान गन्तव्यतिर । भन्नलाई तीन दिन भनियो । तीन वर्ष ८ महिनापछि जब सत्तापलट भयो, खमेर रुजका सुप्रिम कमान्डर पोल पोट स्वयम् जंगलतिर खेदिए, तब मात्रै बचेखुचेका सहरवासी घर फर्कन पाए । पोल पोट सोच्थे– सहरवासी सत्ताका वफादार हुनै सक्दैनन् । अरु सहरका बासिन्दाको नियति त्यही भयो, जुन फ्नोम पेन्हवासीको भएको थियो ।

खमेर सेनाले खेदेका सहरवासी गाउँका दूरदराजतिर हेलिँदा ठाउँ–ठाउँमा चेकप्वाइन्टमा पर्थे । अन्तिम चेकप्वाइन्ट पार गर्दासम्म उनीहरूसँग दुई जोर लुगासिवाय केही हुँदैनथ्यो । गाउँमा पुगेपछि तिनले धान फलाउन खेतमा खटिनुपर्‍यो । धान उत्पादन तेब्बर वृद्धि गर्न भनी ‘प्रोजेक्ट युटोपिया’ घोषणा गरिएको थियो । मल र उन्नत प्रविधिबिनै हरेकले त्यो लक्ष्य पूरा गर्नुपर्थ्यो । सबै नागरिक समान बनाउने नाममा राजधानी कब्जा गरेको दिन अप्रिल १७ लाई ‘पिपुल्स डे’ भनियो । समानता यस्तो कि पोल पोटकै परिवारका सदस्य पनि गाउँका खेतमा मजदुरी गर्दै थिए । गोपनीयता यस्तो कि तिनलाई आफ्नै परिवारको सदस्य देशको शासक भएको र तिनकै आदेशमा आफ्नो यस्तो दुर्दशा भएको थाहा पाउन समय लाग्यो । पोल पोटका भाइले एकचोटि मजदुरीपछि सामुदायिक मेसमा रासन लिन जाँदा ब्यानरमा आफ्नै भ्रातृ अनुहारको तस्बिर देखेर छक्क पर्दै सोधीखोजी गर्दा दाजु शासक भएको र उनकै आदेशमा आफू खेती मजदुर बन्न परेको थाहा पाए । पोल पोटले शून्य वर्षबाट कम्बोडियाको पुनर्सुरुआत भएको घोषणा गरे । शून्य वर्ष अर्थात् जिरो इयरबाट कम्बोडिया ‘प्रजातान्त्रिक कम्पुचिया’ भएर पुनर्जीवित भएको घोषणा गरियो । पुराना किताब नष्ट गरिए, सरकारी भवन, स्कुल, अस्पतालधरि बम पड्काएर भत्काइए । जे बाँकी राखिए ती सेनाको ब्यारेक बनाउन वा जेलका लागि थिए । एउटा स्कुललाई वन्दीगृह बनाइएको थियो– एस–२१, जसमा २० हजार बन्दी राखिएको थियो । खमेर रुजको सत्ता सकिँदासम्म त्यस बन्दीगृहमा जम्मा ७ बन्दी थिए बचेका ।


तस्बिर : सटरस्टक
यस्तै त्रासदीको भुक्तमान ‘किलिङ फिल्ड’ अर्थात् ‘चिहानबारी’को कहालीलाग्दो इतिहासलाई महसुस गर्न यसपालि हाम्रो परिवार कम्बोडियातिर सोझिएको थियो सन् २०२० नयाँ वर्षको छुट्टी मनाउन । एस–२१ का बन्दीलाई मारिएको किलिङ फिल्ड । सियाम रिपबाट कम्बोडियाको राजधानी फ्नोम पेन्ह पुग्नै लाग्दा बाटैमा पर्ने ‘चोयुंग्क एक’ घुम्ने कार्यक्रम बनाएका रहेछन्, अनुरागले । इन्डो–चाइना यात्राका तीनवटै देशमा हामी घुम्ने ठाउँको सूची बनाउने र तत्–तत् ठाउँ पुग्नुअघि हामीलाई पूर्वसूचित गर्ने कामको जिम्मा अनुष्का र अनुकृतले दाजुलाई लगाएका थिए । अघिका यात्रामा निक्कै चाख लिएर अनुरागले यो काम गरेकाले फेरि जिम्मा उनैलाई दिइएको होला । जोतिने गोरुकै पुच्छर निमोठ्ने जो गरिन्छ । चालकले ‘चोयुंग्क एक’ संग्रहालयको गेट अघिल्तिर गाडी रोक्दा दिउँसो एक बजेको थियो । अनुरागले सचेत गराउँदै भने, ‘यो किलिङ फिल्डको कथा यति दर्दनाक छ कि संग्रहालय घुमेर फर्किंदा भोजन गर्ने चाहना मरिसकेको हुनेछ ।’ यति भनिसकेपछि हामीले बुद्धिमत्तापूर्ण निर्णय गर्‍र्यौं– गेटअघिकै रेस्टुराँमा खाना खाएर मात्र संग्रहालय घुम्न जाने ।

रेस्टुराँको शैली, ढाँचा हेर्दा रात्रिबस चढेर काठमाडौं आउजाउ गर्दा पेटमा दगुरिरहेका मुसा शान्त पार्न मुग्लिङ रोकिएको याद आयो । पकवानका प्रकारबाहेक सेवा गर्ने तरिका र टेबल सजावट उस्तै–उस्तै । स्थानीय मुद्राप्रति चरम अविश्वास भएरै होला, यहाँको मेनुमा समेत मूल्य भने सबै डलरमै राखिएको पायौं । कम्बोडियाका गाउँगाउँमा हरेक थोकको मूल्य डलरमा राखिएको तीन दिनदेखि हामीले देखिरहेका थियौं । यस्तो लाग्थ्यो, देशको अर्थतन्त्र पूरै डलरीकरण गारिएको छ । सोभियत संघ विघटनपछि ९० को दशकमा रुसमा स्थानीय मुद्राको यस्तै दुर्दशा मैले देखेको थिएँ । रुबलले आमनागरिकबाट पूरै विश्वास गुमाइसकेझैं प्रतीत हुन्थ्यो । संक्रमणकालीन अर्थव्यवस्थामा सबैतिर यस्तै हुने हो कि ?

संग्रहालय प्रवेशको टिकट लिएपछि अंग्रेजीमा लेखिएको एउटा सानो फ्लाएर र अडियो गाइड बुक उपलब्ध हुने रहेछ । अडियो गाइड अंग्रेजीका अतिरक्त रुसीसहित अरू पनि भाषामा सुन्न सकिने । विन्दिता र मैले अडियो गाइडको रुसी भाषा सुन्ने बटन थिच्यौं । ‘किलिङ फिल्ड’ मा मुख्य–मुख्य घटना भएका ठाउँहरूमा नम्बर दिएर वर्गीकरण गरिएको छ । र, त्यो ठाउँको बटन थिच्नासाथ गाइडबुकले तत् ठाउँबारे बताउन सुरु गर्छ । त्यसपछि सुरु भयो तीन घण्टा लामो चिहानघारीको पैदलयात्रा । नम्बर लगाइएको प्रत्येक स्थानबारे अडियो गाइडले आफ्नै सुरमा बोल्दै जान्छ । प्रस्ट बुझिने एक युवाको मधुर आवाजले भन्छ, ‘मेरो परिवारका कैयौं सदस्य पोल पोटको कोपभाजनमा परेर बर्बरतापूर्वक मारिएका थिए ।’ आवाज वेदनायुक्त र करुणामय छ ।


तस्बिर : सटरस्टक

राजधानी फ्नोम पेन्हबाट १७ किमि दक्षिण यो स्थान पहिले चिनियाँ मूलका कम्बोडियनको समाधिस्थल (ग्रेभयार्ड) र बगैंचा रहेछ । पोल पोट सत्ताद्वारा सीआईएका जासुस र अराष्ट्रिय तत्व घोषित महिला र पुरुष (तिनका बालबालिकासहित) लाई कुख्यात एस–२१ (टुओल स्लेन) बन्दीगृहबाट आँखामा पट्टी बाँधेर जर्खर्‍याउँदै यहाँ ल्याइन्थ्यो, निर्ममताका सबै हत्कण्डा प्रयोग गरी मारिन्थ्यो । बर्बरता यतिसम्म कि गोली खाएर मर्नुलाई ‘भाग्य’ मानिन्थ्यो । महिलाहरूको हत्या गर्नुअघि सामूहिक बलात्कार गरिन्थ्यो । पीडापूर्ण चिच्याहट अरूले सुन्न नसकून् भनी लाउड स्पिकरबाट ठूल्ठूलो आवाजमा संगीत घन्काइन्थ्यो । अबोध बालबालिकामाथि पनि उस्तै व्यवहार । यस्तो लाग्यो, यहाँको माटो मानव रगतले लत्पतिएको छ, अनि उम्रिएका घाँस, दुबो र बिरुवा पनि मानव रगतले नै सिञ्चित छन् । खमेरहरूले बर्बरताका तमाम सीमा पार गरेका थिए । शासनको अन्त्यतिर हात–हतियार, गोला–बारुद सकिँदै गर्दा खमेरहरूलाई लाग्यो– बन्दी मार्न गोली किन खर्च गर्नु ? त्यसपछि उनीहरूले मान्छे मार्न हँसिया, बन्चरो, भाला, कोदालोजस्ता धारिलो हतियार प्रयोग गर्न थाले । उनीहरूका नजरमा बन्दीको जीवनको मूल्य बन्दुकको एक गोलीभन्दा पनि सस्तो थियो । आश्चर्य लागेको त के भने मानिस यति निर्दयी र मनमा हरि हराएको कसरी बन्न सक्ला ?

सुरुका हरेक महिना खमेरहरूले दुई सयका दरले बन्दी मारे । १९७९ सम्म आइपुग्दा तीन सय जना एकै दिन चिहान पारिए । यो ‘किलिङ फिल्ड’ पछि एक किसानले अकस्मात् फेला पारेका थिए । बाटो हिँड्दै गर्दा बारीको रूखमा कुनै असामान्य संकेत देखेपछि उनले प्रशासनलाई खबर गरे । र, त्यहाँ तत्काल उत्खनन थालियो । सुरुको उत्खननमै १ सय २९ वटा सामूहिक चिहान भेटिए । एउटै चिहानमा शिरबिनाका १ सय ६० वटा मानव शरीर, अर्को खाडलमा निर्वस्त्र महिला र बालबालिकाका सय शव फेला परे । लासमाथि खमेर सिपाही ‘डीडीटी’ छर्किदिन्थे ताकि दुर्गन्ध नफैलियोस् । धुकधुकी बाँकी रहेकाहरूको पनि ‘डीडीटी’ परेपछि प्राण जाने रहेछ । यस्तो क्रूरताका लागि खमेर सिपाहीहरूलाई कसरी तयार पारियो होला ? किलिङ फिल्डमा संरक्षण गरी राखिएका कपडा र मानव अवशेष देख्दा त्यो दुःखान्त घटना धेरैअघि भएको होइन कि भन्ने महसुस हुन्छ ।

पूरै मैदान फन्को मारेर निस्कनै लाग्दा बुद्धको सानो गुम्बानेर पुगिन्छ । यहाँ आइपुग्दा अधिक पीडाबोध हुन्छ । गुम्बामा पाँच हजार मानव खप्पर सिसाभित्र तहतह पारी राखिएको छ । शान्तिका दूत बुद्धको स्तूपभित्र मानव खप्परको चाङ राखिनुपर्ने, यो कस्तो विडम्बना ! गुम्बा सन् १९९८ मा पीडितहरूको सम्झनामा बनाइएको रहेछ । विशेष समारोह हुँदा संग्रहालय खुल्दोरहेछ, तर त्यस दिन संग्रहालय बन्द थियो । मूल ढोकाअघिको सिसाले छोपिएका खप्पर मात्रै देख्यौं हामीले । खमेर रुजको चारवर्षे शासनकालमा कति कम्बोडियाली नागरिक मारिए भन्ने यकिन तथ्यांक अझै छैन । धेरै अन्वेषणकर्ताको आँकडा छ– झन्डै २०–२५ लाख, जुन १९७५ को कम्बोडियाली जनसंख्याको २५ प्रतिशत हो ।

गाउँको खातापिता परिवारमा सन् १९२५ मा जन्मिएका सालोथ सोरको जसै नवौं जन्मोत्सव मनाइयो, अभिभावकले राजधानी फ्नोम पेन्ह जाने टिकट काटिदए । उनका दाजु (काकाका छोरा) राजदरबारमा कर्मचारी थिए, दिदी नर्तकी । त्यही सम्बन्धले उनले राजधानीको नामी फ्रेन्च स्कुलमा भर्ना मात्र होइन औसत विद्यार्थी हुनुका बावजुद फ्रान्समा रेडियो इन्जिनियरिङको छात्रवृत्ति पनि पाए । कम्बोडिया त्यसबखत फ्रेन्च उपनिवेशबाट फुत्किने अन्तिम प्रक्रियामा थियो । सन् १९४९ मा पेरिस पुग्दा दोस्रो विश्वयुद्धमा जर्मन आक्रमणले क्षतविक्षत फ्रान्स तंग्र्रिँदै थियो । पेरिस रहँदा उनी धेरैतिर सक्रिय भए– पढाइबाहेक । कम्युनिस्ट भए । त्यहीँ नै उनको लेंग सरीलगायतका क्रान्तिकारीसँग भेट भयो । पढाइ छाडेर सन् १९५३ मा कम्बोडिया फर्के, जतिबेला राजा नरोद्दम सिंहानुकले कम्बोडियाको व्यवस्थापिका बिघटन गरेर प्रत्यक्ष शासन सुरु गरेका थिए । कम्युनिस्ट ‘खमेर पिपुल्स रेभोल्युस्नरी पार्टी’ को सदस्यता लिएका उनलाई भाषणकलाले चाँडै चर्चित बनायो । महत्त्वाकांक्षी सालोथले छुट्टै पार्टी बनाए, ‘खमेर वर्कर्स पार्टी’ । सिंहानुक राजमा कम्युनिस्टसहितका विपक्षीमाथि दमन सुरु भएपछि राजधानीबाट पलायन भएका उनले भियतनाम सीमा क्षेत्रलाई आधार बनाएर छापामार युद्धको तयारी थाले । त्यसबखत अमेरिकाविरुद्ध गुरिल्ला युद्ध लड्दै गरेको भियतनामबाट गुरिल्ला तालिमका साथै हातहतियार प्राप्त गरे, अनि कम्बोडिया सत्ताविरुद्ध छापामार युद्ध सुरु गरे । जनरल लोन नोलले सन् १९७० मा सैनिक तख्तापलटमार्फत सत्ता कब्जा गरेपछि निर्वासनमा रहेका राजा नरोद्दम सिंहानुकले पनि छापामार युद्धलाई समर्थन गरेका थिए । सत्ता कब्जापछि सिंहानुकलाई राजाका रूपमा स्थापित गर्ने वचन दिइएको थियो । सत्ता हातमा आएपछि पोल पोटले सिंहानुकलाई राजाकै पगरी दिएका पनि थिए । अधिकारविहीन राजा रहन स्वीकार नगरी सिंहानुक निर्वासित भए । चार वर्षभन्दा कम अवधिको शासनमा सालथ सोर उर्फ पोल पोट उर्फ ब्रदर नम्बर वानको कत्लेआमले मानवताकै धज्जी उडायो । कुनै समय संसारकै ठूलो मन्दिर अंकोरवाटको शानले ठडिएको देश कम्बोडियामा उनले मानवताविरोधी अपराधको झन् अग्लो मानक चुल्याए ।


तस्बिर : सटरस्टक

कम्युनिस्ट पोल पोटका आदर्श मार्क्स नभई स्टालिन थिए । माओले चीनमा गरेको सांस्कृतिक क्रान्तिबाट उनी प्रभावित थिए । पुरानो संसार पूरै नभत्काई नयाँ युग आउँदैन भन्ने पोल पोटको जड सोचाइ थियो । नयाँ युगको निर्माण गर्ने भन्दै देशको नाम परिवर्तन गरी प्रजातान्त्रिक कम्पुचिया राखियो । क्रान्ति भएको वर्ष १९७५ लाई शून्य समय मानेर नयाँ युग स्थापना भएको घोषणा गरियो । कम्युनिस्ट पार्टीले मात्रै देशलाई अगाडि बढाउन सक्छ र कृषिमा आधारित अर्थव्यवस्थाबाट मात्रै वर्गविहीन कम्पुचियन समाजको स्थापना गर्न सकिन्छ भन्ने सोचले बजार अर्थतन्त्रका यावत् संयन्त्रलाई भत्काउने अभियान थालियो । सहरवासीको थातथलो खोसियो । व्यक्तिगत सम्पत्ति, धर्म र सांस्कृतिक परम्पराको पूर्ण उन्मूलन नगेरसम्म समृद्ध र प्रगतिशील समाज निर्माण गर्न सकिँदैन भन्ने धारणा थियो उनको । नयाँ समाज निर्माण गर्ने त्यस्तो आततयी अभियानलाई बौद्धिक र चेतनशील वर्गले समर्थन गर्दैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले डाक्टर, इन्जिनियर, शिक्षक, कानुनविद्लगायत शिक्षित वर्ग उनको मुख्य निसानामा परे । जीवितै उम्केका एक जना थिए हेइङ न्गोर, जो प्रख्यात किताब ‘सर्भाइभल इन द किलिङ फिल्ड’ मा लेख्छन्, ‘म डाक्टर, कालो मर्सिडिज चढेर क्लिनिक जान्थेँ । खमेर रुजले मलाई एक मुठ्ठी चामलका लागि जे पनि गर्न तयार हुने हिंस्रक चोरमा परिणत गरिदयो ।’ सन १९८४ मा बनेको सिनेमा ‘द किलिङ फिल्ड’ मा उत्कृष्ट सहायक अभिनेताका लागि उनले ओस्कार अवार्ड जितेका थिए । उनी अभिनेता थिएनन्, अभिनयसम्बन्धी कुनै तालिम पनि लिएका थिएनन् । भनिन्छ– किलिङ फिल्डमा उनले जे भोगे त्यो नै उत्कृष्ट अभिनयका लागि काफी थियो । खमेर रुज नेतृत्व कुनै पनि धर्ममा आस्था राख्नेप्रति सहिष्णु थिएन । बौद्धमार्गी, क्रिस्चियन, मुस्लिम कुनै सम्प्रदायलाई पनि उनीहरूले छाडेनन् । खमेरहरूको मुख्य निसानामा भने भियतनामी र थाई मूलका कम्बोडियन नागरिक परेका थिए ।

पोल पोटकै सैनिक कमान्डर हुन सेन कोपभाजनमा परिने देखेपछि भागेर भियतनाममा निर्वासित थिए । उनकै अगुवाइमा भियतनामी सेनाले फ्नोम पेन्हमा आक्रमण गरेपछि १९७९ को जनवरी महिनामा खमेर सत्ता विस्थापित भयो । पोल पोटले थाई सीमावर्ती क्षेत्रबाट गुरिल्ला युद्धलाई निरन्तरता दिए । प्रजातन्त्र र मानव अधिकारको दुहाई दिएर नथाक्ने अमेरिका र बेलायतले यस्ता क्रूर पोल पोटलाई कसरी सघाए होलान् ? साम्यवादी देशहरू सोभियत संघ र चीनको कित्तामा विभाजित हुँदा भियतनामले सोभियत कित्ता रोज्यो । पोल पोट चीन समर्थक थिए । दुई दशक लामो युद्ध गरी पराजयको तीतो स्वाद चखाउने भियतनामको हस्तक्षेपमा मध्यमार्गी वामपन्थी सरकार स्थापित भएकाले अमेरिका–बेलायतले पोल पोटको छापामार युद्धलाई अस्त्र–शस्त्र दिएर सघाएका होलान् । भियतनामी सैनिक एक दशक कम्बोडियामा रहुन्जेल पोल पोटले हल्का जनसमर्थन पनि पाए, राष्ट्रवादको नाममा । विस्थापित भएको ११ वर्षसम्म अर्थात् सन् १९९० सम्म संयुक्त राष्ट्र संघमा खमेरले नै प्रतिनिधित्व गर्थ्यो । शीतयुद्धको समाप्तिपछि मात्रै उनीहरू बिस्तारै कमजोर हुन थाले । भियतनामी सैनिकले कम्बोडिया छाडेसँगै राष्ट्रवादको नाराले पनि हावा खायो । अन्ततः संयुक्त राष्ट्र संघको पहलमा सन् १९९७ मा युद्ध अपराधसम्बन्धी ‘एक्स्ट्राअर्डिनरी च्याम्बर्स इन द कोर्ट अफ कम्बोडिया’ नामको न्यायालय गठन भयो । केही खमेर उच्च पदाधिकारीहरूले सजाय पाए पनि पीडितहरूलाई अदालतले न्याय दिन सकेन भन्ने गुनासो छ । कमजोर हुँदै गर्दा पोल पोट आफ्नै सहकर्मीलाई सत्तासँग मिलेको शंका गर्न थालेका थिए । यो सायद आम तानाशाहहरूको सामान्य चरित्र हो ! यसैबीच सन् १९९७ मा उनले फ्नोम पेन्हको सत्तामा छँदा आफ्नै रक्षामन्त्री रहेका जनरल सोन सेनलाई सपरिवार सफाया गरिदिए । यसबाट आक्रोशित उनका सहयोगीले पोल पोटलाई नै बन्दी बनाए । र, सरकारसँग पोल पोटलाई हस्तान्तरण गर्ने सर्तमा सेनामा पुनर्बहालीको बार्गेनिङ थाले । यसमै वर्ष दिन बित्यो । एक दिन पोल पोट नरहेको खबर आयो । उनले आत्महत्या गरेको भन्ने दलिल पनि सुन्ने गरिन्छ । टायरको थुप्रोमाथि राखेर जलाइएको फोटो पनि सार्वजनिक भयो । ‘बर्न्ड लाइक एन ओल्ड रब्बिस,’ अर्थात् कुहिएको फोहोरझैं जल्यो, उनको अन्त्येष्टिको खबरको शीर्षक यस्तो पनि थियो । ‘कम्बोडियाको कसाही’ को कुख्यात उपमा पाएका काइङ गुएक उर्फ कमरेड ड्युकको सन् २०२० सेप्टेम्बरमा मृत्यु भयो, मानवताविरोधी र युद्ध अपराधका लागि जेल जीवन बिताउने क्रममा ।

सत्ताबाट विस्थापित भएलगत्तै पोल पोटले अन्तवार्तामार्फत आफूले समाजवाद ल्याउन नभई मूलनिवासी खमेरको नस्ल सुधार चाहेको बताएका थिए । उनको निसानामा भियतनामी र थाई मूलका नागरिक नै थिए । यसैले उनी स्टालिनभन्दा यहुदी नरसंहारकर्ता हिटलरको अनुयायी सुनिन्छन् ।

दोस्रो विश्वयुद्ध र हिटलरकालीन जर्मनीका ब्रान्देंनबर्ग, डकाउलगायतका ग्यास च्याम्बरमा म पुगेको छु । मानव इतिहासमा यस्ता त्रासदीपूर्ण घटना धेरै भएका छन् । बीसौं शताब्दीमा यस्तै प्रकृतिका अरू पनि घटना भएका छन् । रुवान्डाको जातीय नरसंहार अर्को यस्तै दुःखद घटना थियो । यस्ता ठाउँ पुग्दा अत्यन्त पीडाबोध हुन्छ, तर अनुकूल हुँदा ती ठाउँ पुग्ने गर्छु । यो चिहानघारीको भ्रमणचाहिँ थप पीडादायी यसकारण लाग्यो कि यी घटना कुनै सुदूर इतिहासको थिएन । सन् १९३७–३८ तिर स्टालिनको शासनमा तत्कालीन पोलिटब्युरोले ‘सोभियत व्यवस्थाविरोधी र अपराधी तत्त्वलाई सफाया गर्न’ जारी गरेको आदेशपछि बुद्धिजीवी, विद्यार्थी, डाक्टर, इन्जिनियर, पाइलट, कलाकार, पादरी, कर्मचारी आदिलाई गोली हानेर पुरिएका यस्ता किलिङ फिल्ड रुसमा पनि यत्रतत्र भेटिन्छन् । तर, त्यो त ‘आइरन कर्टेन’ भित्र बन्द मुलुकको विस्मृतिको गर्भमा लगभग हराइसकेको पुरानो इतिहास हो । कम्बोडियामा जे भयो त्यो सबै हाम्रै जीवनकालमा भएका घटना थिए, त्यसलाई कुन सिद्धान्तले व्याख्या गर्नु ? स्वाभाविक छ, नरसंहार भएको ४० वर्ष बितिसक्दा पनि कम्बोडियाली जनताको हृदयमा युद्धको खाटो बस्न सकेको छैन । सायद यो अरू कैयौं पुस्तासम्म पनि बाँकी नै रहला ।

‘किलिङ फिल्ड’ अवलोकन गरी फर्किंदा हामी केहीबेर निःशब्द थियौं । राजा रणबहादुर शाहको उद्दण्डता र भीमसेन थापाको २९ वर्षे मुख्तियारीकालमा भएका ज्यादतीका कहालीलाग्दा घटनाको नालीबेली भन्ने इतिहासशिरोमणि बाबुराम आचार्य लिखित ‘अब यस्तो कहिल्यै नहोस्’ पुस्तक निकै अघि मैले पढेको थिएँ । पढ्दा कैयौं दिनसम्म मन विचलित भएको थियो । ‘किलिङ फिल्ड’ को बीभत्सता र त्यो पुस्तक सम्झँदै मैले छोराछोरीलाई भनेँ, ‘मानव इतिहासमा फेरि यस्तो कहिल्यै नहोस् । सन्की शासकहरूको आत्मरञ्जना र लहडलाई कुनै सिद्धान्तले स्थापित गर्न नसकोस् । तिमीहरूको पुस्ताले त्यस्तो प्रवृत्तिको दृढ प्रतिवाद गर्न सकोस् ।’

प्रकाशित : फाल्गुन १४, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?