डार्विन रिभिजिटेड- कोसेली - कान्तिपुर समाचार

डार्विन रिभिजिटेड

सम्पादकले ‘छाप्न अयोग्य’ ठहर गरेको चार्ल्स डार्विनको ‘अन द ओरिजिन अफ स्पेसिज’ इतिहासकै प्रभावशाली किताब बन्यो । डेढ शताब्दीअघिदेखिको यो बेस्टसेलरले सन् २०१४ को विश्वव्यापी सर्वेक्षणमा प्रभावशाली पुस्तकको प्रथम स्थान प्राप्त गर्‍यो । डार्विनको जन्मदिन (फेब्रुवरी १२) मा उनको जीवन र लेखन–कथा :
उत्तमबाबु श्रेष्ठ

वैज्ञानिक जगत्मा चार्ल्स डार्विन जत्तिको उचाइ सम्भवतः अरू कमैको होला । जीव विज्ञानका अग्ला सगरमाथा डार्विनको जन्म २११ वर्षअघि आजकै दिन अर्थात् फेब्रुवरी १२, १८०९ मा भएको थियो । पछिल्ला समयमा जति नयाँ तथ्य उपलब्ध छन् तिनले डार्विनको प्रकृति छनोटको सिद्घान्तलाई सत्य साबित गर्दैगर्दा जन्मेको दुई शताब्दीपछि डार्विन झन् ैसान्दर्भिक बन्न पुगेका छन् । यो लेख चार्ल्स डार्विनको जीवनका विविध पाटाहरूको टिपोट हो ।

बदमास विद्यार्थीको असामान्य रुचि

बेलायतको धनी र शिक्षित परिवारमा जन्मेका चार्ल्स डार्विनले सानै उमेरमा आमा गुमाए । त्यसपछि उनको हेरचाह दिदीले गरिन् । ८ वर्षको उमेरमा स्कुल टेकेका डार्विन आम रूपमा भनिने ‘बदमास विद्यार्थी’ थिए । सिकाइमा ध्यान नदिने, लेखपढमा रुचि नभएको, पढाइमा औसतभन्दा कमजोर ! स्कुले पढाइप्रतिको वितृष्णाबारे उनले लेखेका छन्, ‘मेरो वृत्ति विकासमा स्कुलजतिको खराब केही छैन, यसले दिने शिक्षा खोक्रो छ ।’

पढाइमा चाख नभए पनि उनको रुचि असामान्य थियो । उनी बेहद प्रकृति संग्रहकर्ता थिए । सिपी, कीरा, चराको फुल, ढुंगा र धातुहरू बटुल्नु उनको बाल्यकालीन दिनचर्या थियो । आफ्ना वरपरका दुर्लभ वनस्पतिको नामांकन गर्न उनलाई रमाइलो लाग्थ्यो । वानस्पतिक विविधताबारे जान्न उनी उत्सुक हुन्थे । खानदानी परिवारका उनका बुबा आफ्नो छोरा चार्ल्सको चराको फुल चोर्ने, जनावरको सिकार गर्ने, कुकुर र मुसा समात्दै हिँड्ने रुचि देखेर हैरान थिए । दिक्क हुँदै उनले डार्विनलाई भनेका थिए, ‘सिकार गर्ने, कुकुर र मुसा समात्नेबाहेक तिमीलाई केही कुराको पनि मतलब छैन । तिमीले आफू स्वयंको इज्जत त फाल्यौ, परिवारको इज्जतसमेत माटोमै मिलाउने भयौ ।’

मेडिकल कलेजका ड्रप आउट

स्कुले जीवन जेनतेन सकाएपछि १६ वर्षको किशोर डार्विनलाई इडिनवरा विश्वविद्यालयको चिकित्साशास्त्र विभागमा भर्ना गरियो । चार्ल्स डार्विनका बुबा रोबर्ट र बाजे एरास्मस दुवै डाक्टर र दुवै इडिनवरा विश्वविद्यालयका पूर्वविद्यार्थी थिए । त्यसैले छोरो आफूजस्तै डाक्टर भएको हेर्न चाहन्थे उनका बुबा । तर, डार्विनलाई कलेजको पढाइ पनि स्कुलको जस्तै वेरुचिपूर्ण लाग्थ्यो । उनले कलेजका लेक्चरहरूलाई ‘असह्य पट्यारलाग्दो’ र त्यहाँ पढाइने तन्तु विज्ञान विषयलाई ‘घीनलाग्दो’ भनेर सरापेका छन् । मेडिकल कलेजको विद्यार्थीका रूपमा डार्विनले कक्षाकोठाका लेक्चर सुन्ने मात्रै होइन, विरामीको चिरफार गरेको पनि हेर्नुपर्थ्यो । त्यतिबेला मानिसलाई वेहोस पार्ने विधि (एनेस्थेसिया) उपलब्ध थिएन । नलठ्याई चिरफार गरिने हुनाले अपरेसन कक्ष बिरामीको क्रन्दनले गुन्जिन्थ्यो । डार्बिनले एउटा बिरामीको सर्जरी जसोतसो हेरे । दोस्रो दिन बच्चाको सर्जरीको पालो थियो । अपरेसन गर्दा बच्चाको आर्तनाद र उसको शरीरबाट निस्केको रगत देखेर अपरेसन कक्षबाट चिच्याउँदै भागेका डार्विनले कसम खाए, ‘आइन्दा अपरेसन कक्षमा पाइला हाल्दिनँ ।’

मेडिकल कलेजको पढाइबाट टाढिएका डार्विन पुनः सिकार खेल्न, कीरा संकलन गर्नमै रम्न थाले । डाक्टरी पढाउन भर्ना गरेको छोराको यस्तो ‘फन्टुस’ व्यवहारबाट उनका बुबालाई छोरो डाक्टर नबन्ने पक्का भयो । त्यसपछि डार्विनलाई क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको क्राइस्ट कलेजमा कला विषयको स्नातक तहमा भर्ना गरियो । त्यहाँ उनले गणित, भूगर्भशास्त्र, वनस्पतिशास्त्रको अध्ययन गरे । सोही कलेजमा नाताले दाइ पर्ने एक जना सहपाठी थिए । उनी डार्विनको प्राकृतिक संग्रहको रुचिबाट प्रभावित थिए, त्यसैले उनले डार्विनलाई कलेजका कीटशास्त्र र वनस्पतिशास्त्रका प्राध्यापकसँग भेट गराइदिए । उक्त भेटले ‘इलुस्ट्रेसन अफ व्रिटिस इन्टोमोलोजी’ पुस्तकमा डार्विनका खपटे कीराहरूको संकलनले स्थान पाउन मद्दत गर्‍यो । र, डाक्टरी यात्रा टुंग्याएका डार्विनले नयाँ वैज्ञानिक गोरेटो समाए ।

संयोगको यात्राले फेरिएको बाटो

कलेज सकेपछि केही समय फुर्सदिलो बनेका डार्विनले एचएमएस विगल नामको समुद्री जहाजमा अवैतानिक जागिर पाए । वेलायतको चिसोमा हुर्केका डार्विनलाई पृथ्वीको उष्ण भाग हेर्ने उत्कण्ठ थियो । कलेजमा उनले वनस्पतिशास्त्री जोन स्टिवन हेन्स्लोको कक्षा लिएका थिए । जहाजका क्याप्टेन रोबर्ट फिच्ट्रोयले विगल–यात्राका लागि सुरुमा हेन्स्लोलाई प्रस्ताव गरेका थिए । उनले पारिवारिक कारण देखाउँदै आफ्नो सट्टा सालाको नाम दिए । उनका सालाले आनाकानी गरेपछि हेन्स्लोको सिफारिसमा उक्त जागिर खाने संयोग डार्विनले पाए । १९ औं शताब्दीसम्मको जैविक अनुसन्धानको महत्त्वपूर्ण पक्ष प्राकृतिक संकलन थियो । त्यसकारण जहाजहरूमा प्रकृतिविद्को छुट्टै पद हुन्थ्यो, जसका लागि मेडिकल डाक्टर भर्ना गरिन्थ्यो । तर, डाक्टर हुन नसकेका डार्विनको प्रकृतिविद् पदमा योग्यता पुग्नै कुरै थिएन । त्यसैले ‘जहाजको सहयोगी’ पद सिर्जना गरी उनलाई नियुक्ति दिइएको थियो ।

बेलायती सरकारी लगानीको उक्त जहाजको प्रमुख उद्देश्य थियो– दक्षिण अमेरिकाको तटीय क्षेत्रहरूको सर्वेक्षणपश्चात् नक्सा निर्माण गरी त्यहाँ बेलायतको स्वार्थलाई मजबुत तुल्याउनु । जहाज विभिन्न ठाउँमा रोकिन्थ्यो र सर्वेक्षण दलका सदस्यहरू तटीय क्षेत्र र सामुद्रिक गहिराइ नाप्थे । डार्विन भने जमिनमा पाइने वनस्पति र जीवजन्तुको संकलनमा लाग्थे । त्यसै क्रममा उनीहरू चर्चित ग्लापोगस टापु पुगे, जहाँबाट डार्विनले थुप्रै चरा, छेपारो, कछुवा लगायतका जीव संकलन गरे । पाँचवर्षे समुद्री यात्राबाट उनले १,५२९ प्रजाति र ३,९०७ अन्य नमुना, भूगर्भशास्त्रसम्बन्धी १,३०० पृष्ठको टिपोट र प्राणीशास्त्रको ३७० पृष्ठको टिपोट ल्याएका थिए ।

बिहेको फाइदा–बेफाइदाको तुलना

डार्विन यात्रा र अवलोकनको मात्रै होइन, व्यक्तिगत घटनाका पनि लेखनी राख्थे । उनले आफ्नो जीवनकालमा २,००० मानिससँग करिब १५,००० पत्रहरूको आदानप्रदान गरे । वनस्पतिविद् जेडी हुकरलाई मात्रै उनले १,२०० पत्र पठाएका थिए । आफ्नो संकलनको जानकारी दिन, अरूको राय–सुझाव लिन, अनुसन्धानलाई प्रमाण जुटाउन उनका पत्रहरू केन्द्रित हुन्थे । समुद्री यात्राको क्रममा उनले आफूद्वारा संकलित नमुना र टिपोट हेन्स्लोलाई पठाउँथे र हेन्स्लोले थप अनुसन्धानका लागि सम्बन्धित विज्ञहरूलाई ।

पत्र आदानप्रदानले पाँच वर्षको समुद्री यात्रा सकेर बेलायत फर्कंदा डार्विन बेलायती प्राज्ञिक सर्कलका महत्त्वपूर्ण सदस्य बनिसकेका थिए । बेलायत फर्कंदा २८ वर्ष पुगेका डार्विनलाई समुद्री यात्रामा संकलन गरेका नमुना र टिपोटको व्यवस्थापन गर्नुपर्ने मात्र होइन, वैवाहिक जीवनको व्यवस्थापन पनि गर्नुपर्ने थियो । उनले बिहेका लागि मामाकी छोरी इमा वेजउडसमक्ष प्रेम प्रस्ताव राखे, जुन इमाले सजिलै स्विकारिन् । प्रेम प्रस्ताव स्विकारिएको दिनको सम्झनामा डार्विनले टिपोटमा लेखेका छन्, ‘दिनहरूको पनि त्यो दिन ।’ प्रेम प्रस्ताव राख्नुअघि डार्विनले बिहे गर्दाको फाइदा र बेफाइदाको टिपोट कोरेका थिए । बिहे गर्दा ‘छोराछोरी हुने’, ‘साथ पाइने’, ‘घरको हेरचाह गर्ने मानिस हुने’, ‘संगीत, गफगाफमा रम्न पाइने’, ‘स्वास्थ्यका लागि लाभदायक हुने’ । बिहे नगर्दा ‘बच्चा नहुने’ र ‘बुढेसकालमा हेरचाह गर्ने मानिसको अभाव हुने’, ‘चाहेको ठाउँमा जाने स्वतन्त्रता पाइने’, ‘बेलुका पढ्न नपाइने’ इत्यादि । टिपोटको अन्त्यमा निष्कर्षमा पुग्दै डार्विनले लेखेका छन्, ‘बिहे बिहे बिहे ।’

अस्वीकृत कृतिले मच्चाएको तहल्का

बिवाहको केही समयपछि समुद्री यात्राको टिपोट र नमुना सम्हाल्ने क्रममा डार्विनले सन् १८३७ तिर उद्विकासबारे सोच्न/लेख्न थालेका थिए । एउटा नोटमा उनले लेखेका छन्, ‘प्रजाति एकबाट अर्कोमा फेरिन्छ ।’ तर, उनले लेखको त्यो वाक्य जीवन–रचनालाई ईश्वरीय देन मान्ने क्रिस्चियन धार्मिक मान्यताको विपरीत थियो, जसले प्रजातिहरूको उत्पत्ति कसैले तय गरिदिएको विश्वास गर्थ्यो । आफ्नो विचार तत्कालीन मान्यतासँग सीधै टकराएको देखेर डार्विनले उक्त टिपोटको पुछारमा स्पेनिस भाषामा लेखे, ‘क्विदादो’ अर्थात् सावधान !

आफ्नो विचार समाजको मान्यताविपरीत भएकाले त्यसले उत्पन्न गर्न सक्ने प्रतिक्रियामाथि सजग हुँदै उनले उद्विकास सम्बन्धी लेखनीलाई जारी राखेका थिए । त्यससम्बन्धी १८९ पृष्ठ लामो डार्विनको पाण्डुलिपि सन् १८४४ मै तयार थियो । यद्यपि उनले प्रकाशित गरिहाल्ने आँट गरेका थिएनन् बरु समुद्री जीव, भूगर्भशास्त्रसम्बन्धी लेख लेखेर बसिरहेका थिए । त्यतिकैमा सन् १८५८ जुन १८ मा उनले साथी अल्फ्रेड रसेल वालेसको पत्र हात पारे । वालेस त्यतिखेर इन्डोनेसियाका टापुहरूमा जीवजन्तुका नमुनाहरू संकलन गर्दै थिए । पत्रमा वालेसले लेखेका थिए, ‘जंगली जनावरको जीवन भनेको बाँच्नका लागि संघर्ष रहेछ, जहाँ कम निपुणहरू सधैं हार्छन् ।’ वालेसको पत्रमा वर्णित कुराहरू डार्विनका अप्रकाशित पाण्डुलिपिको जीव उत्पत्तिका सिद्घान्तसँग आधारभूत रूपमै मिल्थ्यो । वालेसको पत्र पाएपछि उनी आफ्नो विचारको मौलिकता गुम्न सक्ने भन्दै २० वर्षदेखि थन्क्याएर राखेको जीवको उत्पत्तिसम्बन्धी सिद्घान्तको पाण्डुलिपि प्रकाशन गर्न हतारिए । र, आफ्ना अघिल्ला पुस्तकहरू प्रकाशन गरेका प्रकाशक जोन मरे तृतीय सामु पाण्डुलिपि लिएर पुगे ।

मरेले उक्त पाण्डुलिपि छाप्न योग्य छ/छैन हेर्नका लागि आफ्ना सम्पादक ह्वाइटवेल एल्विनलाई अह्राए । पाण्डुलिपि पढिसकेपछि एल्विनले डार्विनलाई सुझाव दिए, ‘यस्तो किताबले पाठक पाउँदैन । बरु परेवाबारे किताब लेख, परेवामा सबैको उत्सुकता र रुचि छ । परेवासम्बन्धी पुस्तक लेख्यौ भने बेलायतका सबै जर्नलले समीक्षा पनि छाप्छन् ।’ एल्विनले प्रकाशकलाई पुस्तक छाप्नयोग्य नभएको सिफारिसमा लेखे, ‘यो पुस्तकको हरेक पृष्ठ कष्टकर, अप्रमाणित र काल्पनिक छ ! त्यसैले यस्तो विद्रोही पुस्तक नछापेकै बेस ।’

सम्पादकको पुस्तक छाप्न अयोग्य भएको सल्लाह लत्याउँदै जोन मरे उक्त पुस्तक छाप्ने निर्णयमा पुगे र २४ नोभेम्बर १८५९ मा ‘अन द ओरिजिन अफ स्पेसिज’ प्रकाशित भयो । पुस्तक प्रकाशित भएकै दिन छापिएका सबै १,२५० प्रति बिक्री भयो र प्रकाशकले थप १,५०० पुस्तकको अग्रिम अर्डर पाए । पुस्तक एकाएक बेस्टसेलर भयो । डेढ शताब्दीअघिको बेस्टसेलर पुस्तकले सन् २०१४ मा बेलायतको फोलियो सोसाइटीले हालसम्मकै प्रभावशाली पुस्तकका लागि गराएको विश्वव्यापी भोटिङमा प्रथम स्थान प्राप्त गर्‍यो । उक्त भोटिङका प्रतिस्पर्धीहरूमा प्लेटोको ‘द रिपब्लिक’, मार्क्स र एंगेल्सको ‘कम्युनिस्ट मेनिफेस्टो’, आइन्स्टाइनको ‘रिलेटिभिटी’, इम्यानुल कान्टको ‘क्रिटिक अफ पिओर रिजन’ र एडम स्मिथको ‘द वेल्थ अफ नेसन’ देखि स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सम्मका नयाँ–पुराना पुस्तक समाविष्ट थिए । तर, ती सबैलाई पछि पार्दै सम्पादकले ‘छाप्न अयोग्य’ ठानेको पुस्तक इतिहासकै प्रभावशाली पुस्तक बन्न पुग्यो ।

दारीको भारी

उतिबेलाको प्रबल धार्मिक मान्यताविरोधी डार्विनको विचारलाई सुन्न मानिसहरू किन उत्सुक भए ? वा उनको पुस्तक किन हातहातै बिक्यो र चर्चा चुलियो ? पुस्तकमा भएको परिवर्तनकारी विचारसँगै दुई सामान्य कुराले डार्विनलाई सहयोग गरेको इतिहासकारहरू बताउँछन् । पहिलो उनको मुखमा सजिलै झुन्डिने नाम र अर्को उनको लामो दारी ।

डार्विनको सिद्घान्तलाई डार्विनवाद (डार्विनिज्म) भनेर टीएच हक्सले सन् १८६० मा ‘अन द ओरिजिन अफ स्पेसिज’ को रिभ्यु गर्ने क्रममा पहिलोपल्ट प्रयोग गरे, जुन तत्कालै लोकप्रिय भयो । तथापि डार्विनबाहेक अरू जस्तै ः अल्फ्रेड वालेस, हर्वर्ट स्पेन्सर र स्वयं डार्विनका बाजे एरास्मस डार्विनले पनि उद्विकासको कुरा पहिल्यै गरेका थिए । वास्तवमा ‘योग्यले मात्रै बाँच्ने’ (सर्भाइभल फर द फिटेस्ट) पहिलोपटक प्रयोग गर्ने मान्छे हर्बर्ट स्पेन्सर हुन् । तर, स्पेन्सर वा वालेसको नाममा वाद जोडिँदा स्पेन्सरवाद वा वालेसवाद भन्नुभन्दा अंग्रेजीमा डार्विनवाद भन्न सजिलो भएकाले डार्विनलाई एकाएक उद्विकासको अभियन्ता बन्न सघाएको तर्क इतिहासकार जेनेट ब्राउनले गरेका छन् ।

‘ओरिजिन’ पुस्तक प्रकाशित भएपछि नै डार्विन बिरामी पर्न थाले । उनको दारी बढ्यो । उनको दारीयुक्त कायाका फोटो, तस्बिर र व्यंग्य कार्टुनहरूमा, पत्रपत्रिकामा प्रकाशित हुन थाले । बेलायतकै ‘खतरनाक’ मान्छेको उपमा पाएका उनको स्वरूप भने दारीले गर्दा त्यागी सन्त वा जोगीको जस्तो देखिन्थ्यो । त्यतिबेला बेलायतमा जस्तो फ्रान्समा डार्विन चर्चित थिएनन् । तर, उनको दारीयुक्त फोटो र बाँदरसँगै राखेर खिल्ली उडाई बनाइएका कार्टुनहरूले उद्विकासको मान्यतालाई स्थापित गर्न सहयोग नै गरेको ठान्छन् इतिहासकार ब्राउन । त्यसकारण सिद्घान्तको सच्चाइसँगै त्यसलाई लोकप्रिय बनाउन डार्विनको दारीले मद्दत गर्‍यो ।

डार्विनवादको दुरुपयोग

डार्विनको ‘अन द ओरिजिन अफ स्पेसिज’ पुस्तक प्रजातिको उत्पत्ति क्रमिक विकासबाट हुन्छ, जसलाई प्रकृतिको छनोटले निर्देशित गर्छ भन्ने सामान्य सिद्घान्तको व्याख्या हो, जसलाई बलशाली बनाउन उनले थुप्रै तथ्य अघि सारेका छन् । प्रकृतिमा घरेलु जनावरमा पाइने भिन्नता, प्रजातिगत र भेराइटीगत विविधताको फरकदेखि बाँच्नका लागि गरिने संघर्ष, प्रकृतिको छनोट, वंशानुगत भिन्नता र प्रजातिगत विभाजनसम्मका व्याख्या ‘ओरिजिन’ मा अटाएका छन् र दुई च्याप्टर भूविज्ञानसँग सम्बन्धित छ । मानव उत्पत्तिबारे चर्चा नगरिएको उक्त पुस्तकमा डार्विनले लेखेका छन्, ‘दुर भविष्यमा कुनै दिन मानव उत्पत्तिको इतिहासबारे नयाँ प्रकाश छरिनेछ ।’

समयक्रममा उनको सिद्घान्त स्थापित त हुँदै गयो, तर प्रकृति छनोटको सिद्घान्त जीवको उत्पत्ति र विकासमा मात्रै होइन, सामाजशास्त्र, अर्थशास्त्र र राजनीतिमा पनि लागू हुन्छ भनेर त्यसको दुरुपयोग गर्नेहरू अर्थात् ‘सामाजिक डार्विनवादी’ हरू पनि बढे । उनीहरूको मूल मन्त्र हर्बर्ट स्पेन्सरको चर्चित वाक्य ‘योग्यले मात्रै बाँच्ने’ थियो । उनको मान्यता थियो– गरिबीको कारण असक्षमता हो, अविवेकी हुँदा संकट निम्तिन्छ र निष्क्रियताले भोकमरी ल्याउँछ । जन्मजात राम्रा गुण बोकेकाहरू नै शक्तिशाली हुने हुन् । त्यसकारण धनीहरूले गरिबहरूको काँध थाप्दा त्यसले झन् ैठूलो संकट निम्त्याउँछ । केही पाउन केही गुमाउनैपर्छ । यो नै प्रकृति छनोटको नियम हो । यस्तो सामाजिक डार्विनवादी मान्यताले साम्राज्यवाद, सामाजिक असमानता, कर्पोरेट छलकपट र जातिवादलाई मलजल गर्न टेवा दियो । हिटलरले नाजी प्रपोगान्डा चलाउन यही थेगो प्रयोग गरे । ‘बलियो बाँच्ने हो, निर्धाले मर्ने हो’ भन्दै हिटलर मानसिक र शारीरिक अशक्तहरूको सफाया गर्थे । उनी आफ्नो बलियो जातिको वंश रक्षाका लागि यहुदीलाई ‘बाँच्न अयोग्य’ भन्दै वध गर्थे । १९ औं शताब्दीका अमेरिकी उद्योगपति जोन डी रकफेलरदेखि एन्ड्रु कार्नेगीसम्मले ठूलो व्यवसायको सफलतासँग योग्यहरूले मात्रै बाँच्न पाउने तथाकथित नियम जोडे । त्यसकारण डार्विनले उच्चारण नै नगरेको विषयलाई शासकले जबर्जस्ती शासन बलियो तुल्याउन, पुँजीपतिले अन्धाधुन्द पुँजी विस्तार गर्न, साम्राज्यवादीले आफूखुसी फैलन डार्विनको सिद्घान्तको दुरुपयोग गरे ।

वर्तमानको आँखामा डार्विन

‘ओरिजिन’ पुस्तकमा मानव उद्भवबारे मौन बसेका डार्विनले अर्को चर्चित पुस्तक ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ मा त्यसबारे प्रशस्त चर्चा गरेका छन् । त्यसमा उनले मानव उत्पत्ति अन्य जनावरजस्तै प्राकृतिक छनोटको कारण भएको तथ्य र तर्क पेश गरेका छन् । उक्त पुस्तकमा डार्विनले प्राकृतिक छनोटजस्तै शक्तिशाली सिद्घान्त यौनिक छनोट (सेक्सुअल सेलेक्सन) लाई अघि सारेका छन् । उक्त मान्यताअनुसार, पोथी प्राप्तिका लागि भालेहरूबीच संघर्ष हुन्छ, जसमा पोथीले ‘आकर्षक’, ‘ठूलो’, ‘सुन्दर’ भालेलाई समागमका लागि रोज्छिन् । र, पोथीको उक्त यौनिक छनोट वंशानुगत रूपमा सन्तानमा सर्दै जान्छ ।

केही साताअघि ‘साइन्स जर्नल’ मा डार्विनको यौनिक छनोटबारे बृहद् संश्लेषण लेख छापिएको छ, जसमा डार्विनले प्रस्तुत गरेजस्तै पोथीलाई आफूतिर आकर्षित गर्ने गुणहरू भालेमा मात्रै सीमित नहुने बरु त्यस्ता विविधायुक्त गुणहरू दुवै लिंगमा हुने तथ्य प्रस्तुत गरिएको छ । उक्त लेखमा डार्विनले पोथीमा हुने त्यस्ता गुण, क्षमता र सौन्दर्य चिह्नहरूलाई अनदेखा गरी आफूमाथि तथ्यभन्दा तत्कालीन भिक्टोरियन समाजमा विद्यमान रहेको पित्तृसत्तात्मक सोचलाई हावी हुन दिएको तथ्य पेस गरिएको छ । त्यसो त डार्विनले ‘स्त्रीहरू पुरुषभन्दा नैतिकवान भए पनि उनीहरूको बौद्घिकता पुरुषको दाँजोमा कम हुने’ लेखेका छन्, जसको कुनै वैज्ञानिक आधार छैन् । डार्विनजस्तो समाजमा विद्यमान जैविक सृष्टिको मान्यतालाई तथ्यद्वारा चुनौती दिने व्यक्तिले पुरुषलाई साहसी, बलियो र बुद्घिमान देखाउन तथ्यप्रति हालेको पर्दाले उनीभित्रको पित्तृसत्तात्मक सोचलाई प्रस्ट्याउँछ । डार्विनमा स्त्रीप्रतिको वैरभाव देखिए पनि उनको जीवनमा अल्बर्ट आइन्स्टाइनजस्तो परस्त्रीगमन गरेको, श्रीमती र बच्चाहरूलाई क्रूर व्यवहार गरेको, डीएनए पत्ता लगाउने जेम्स वाट्सन र फ्रान्सिस क्रिकले जस्तो आफ्ना सहअन्वेषकलाई पर्याप्त श्रेय नदिएको जस्ता दाग भेटिएको छैन ।

उनको प्रकृति छनोटको सिद्घान्त सत्य देखिए पनि यौनिक छनोटको सिद्घान्त पूर्वाग्रही र स्त्रीद्वोषी भेटिन्छ । तर, डार्विनका केही मान्यतामा हामीलाई पूर्वाग्रही लाग्दै गर्दा उनी आफैँले लेखेको कुरा यहाँ स्मरण गर्न उपयुक्त हुनेछ । प्रकृति छनोटको सिद्घान्तको पक्ष र विपक्षमा बहस हुने संकेत गर्दै ‘ओरिजिन’ पुस्तकमा उनले लेखेका थिए, ‘म आत्मविश्वासका साथ भन्न सक्छु, भविष्यमा कुनै युवा प्रकृतिशास्त्रीले (उनले नबुझेका वा थाहा नपाएका कुराहरूको) निष्पक्ष भएर (यस सिद्घान्तको) मूल्यांकन गर्नेछ ।’ त्यसैले डार्विनको प्रकृति छनोटको सिद्घान्तलाई अँगाल्नुको अर्थ उनको पित्तृसत्तात्मक सोचप्रति आँखा चिम्लनु होइन, साथै उनको स्त्रीद्वोषी सोचबारे उजागृत नयाँ तथ्यले प्रकृति छनोटको सिद्घान्तलाई पुड्को पनि पार्दैन ।

प्रकाशित : माघ २९, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

पानीका मुहान सुक्नुको रहस्य

नेपालका सन्दर्भमा पछिल्लो समय पहाडी भेगमा सामुदायिक वन वा अन्यत्र हुर्काइएका सल्लाका वनहरूको भूमिका पानीको मुहान सुक्नमा कति छ भनेर वैज्ञानिक मूल्यांकन गर्न जरुरी छ ।
उत्तमबाबु श्रेष्ठ

पुस ७ गते यसै दैनिकमा ‘जथाभावी सडक निर्माणले सुक्दै पानीका मुहान’ शीर्षकमा एउटा समाचार छापियो । उक्त समाचारको आधार नेपाल पानी सदुपयोग फाउन्डेसन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालका पहाडी र हिमाली भेगका ३०० पालिकाहरूमा गरेको सर्वेक्षणमा आधारित अनुसन्धान प्रतिवेदन थियो ।

उक्त अनुसन्धानले अध्ययन गरिएका करिब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने र ५८ प्रतिशतमा मूल सर्ने घटना पाइएको देखाएको छ । क्षेत्रगत रूपमा भन्दा, चुरे क्षेत्रका पालिकाहरूमा मुहान सुक्ने समस्या सबैभन्दा बढी छ । अध्ययनमा पालिकामा मूलको अवस्था, मूलधार क्षेत्रमा मानवीय र प्राकृतिक परिवर्तनको अवस्था, मूल सुक्दै गएको सन्दर्भमा स्थानीय बासिन्दाहरूले अपनाएका पानी आपूर्तिका उपाय र मूलधार जोगाउन गरिएका संरक्षणका प्रयासका साथै पानीको आपूर्ति बन्द हुँदा परेका असरहरूका बारेमा चर्चा गरिएको छ । तर पानीका मुहानहरूको प्रत्यक्ष अवलोकन, नक्सांकन र समयक्रमसँगै मूलमा भएको पानी आपूर्तिको परिमाणको फेरबदल, मूलवरपर भएका प्राकृतिक र मानवीय परिवर्तनको मूल्यांकनभन्दा पनि पालिकाप्रमुख वा उपप्रमुख वा प्रशासकीय अधिकृतसँग फोन अन्तर्वार्तामार्फत उक्त प्रतिवेदन तयार गरिएको हो । त्यसैले उक्त अध्ययनले मोटामोटी अवस्थाको जानकारीसम्म दिनसक्छ तर पानीको मुहानबारेको सूक्ष्म परिस्थिति र मुहान सुक्नुको वास्तविक कारण बताउँदैन ।

तथापि यसअघि गरिएका अन्य अध्ययनले नेपालमा केही दशकयता पानीका मूलहरू सुक्दै गइरहेको देखाएकाछन् । जस्तै— त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भूगोल केन्द्रीय विभागका अध्येताहरूले मध्यपहाडको मेलम्ची क्षेत्रमा गरिएका अध्ययन र युथ एलाइन्स फर इन्भाइरोमेन्टका अध्येताहरूले खोटाङ, नुवाकोट, सुर्खेत, डडेलधुरा जिल्लामा गरेका अध्ययनहरूले त्यहाँ पानीका मूल सुक्ने क्रममातीव्रता आएको देखाएकाछन् । तनहुँमा गरिएको अध्ययनले पनि ६३ प्रतिशत मूलमा पानीको मात्रा कम भएको देखाएको थियो । छरिएका सीमित अध्ययन भएपनि सबैको निष्कर्ष छ—केही दशकयता पूर्वदेखि पश्चिम नेपालसम्मका भूभागमा पानीका मुहान सुक्दै गएको देखिएको छ । र, सुक्नेक्रमको सूचना गोरखा भूकम्पपछितीव्र भएको देखिन्छ । एक प्रतिवेदन अनुसार, २०७२ सालको गोरखा भूकम्पका कारण देशभरका करिब ५०००मुहान र इनारहरू सुकेका थिए । त्यसो त उक्त भूकम्पपछि कतिपय ठाउँमा नयाँमुहान पनि देखिए र कतिपय मूलमा पानीको परिमाण झन् बढी देखियो । काठमाडौं उपत्यकाका केही ढुंगेधारामा भूकम्पपछि पानीको मात्रा बढेको थियो ।

समग्र हिमालय क्षेत्रकै समस्या

पानीको मुहान सुक्नेक्रम नेपालमा मात्रै होइन, केही दशकयता समग्र हिमालय क्षेत्रमा पनि बढिरहेको छ । भुटान, भारत र पाकिस्तानमा भएका अध्ययनहरूले उत्तरपूर्वी भारतका सिक्किम र मेघालयदेखि पश्चिमको उत्तराखण्ड र पाकिस्तानसम्म फैलिएको हिमालय पर्वत शृंखलाका सबै भूभागमा रहेका पानीका मूलहरू सुकेको वा सुक्नेक्रममा रहेको उल्लेख गरेका छन् । सन् २०१८ मा भारतको नीति आयोगले प्रकाशित गरेको प्रतिवेदनमा भारतका हिमाली क्षेत्रका करिब ६० प्रतिशत मूलहरूमा पानीको परिमाण कम भएको देखाएको थियो । उक्त प्रतिवेदन अनुसार, भारतको अल्मोडामा१५० वर्षपहिले ३६० वटा मूल भएकामा हाल उक्त संख्या घटेर ६० मै सीमित भएको छ । त्यसैगरी भुटानको कृषि मन्त्रालयले गरेको अध्ययनले पनि त्यहाँ ३५प्रतिशत पानीका मुहानहरू सुक्नेक्रममा रहेको र २ प्रतिशत मूल सुकिसकेको देखाएको छ ।

पानीका मूलहरू यसरी सुक्दै जानुले यस भेगको जनजीवन र जीविकामा प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको छ । किनभने हिमालयको पहाडी शृंखलामा मान्छेलाई पिउन अनि कृषिकर्म र अन्य जीविका चलाउनका लागि आवश्यक पानीको आपूर्तिको मुख्य स्रोत यहाँका मूलहरू नै हुन् । पानीका यी मूलहरूले यो क्षेत्रको मानवीय आवश्यकतामात्रै पूरा गरेका छैनन्, अन्य थुप्रै वातावरणीय सेवासुविधा पनि दिएका छन् । जस्तै— यस्ता मूलहरूले हिउँमा आश्रित नभएका नदी र खोलामा पानीको आपूर्तिको सुनिश्चितता गर्ने, जैविक विविधतालाई सहयोग गर्ने मात्रै होइन, कतिपय स्थानमा मूलहरू धार्मिक–सांस्कृतिक आस्थाका धरोहर पनि बन्न पुगेका छन् ।

त्यसकारण यस्ता पानीका मूलहरू सुक्दै जाँदा दैनिक मानवीय जीवन र जीविकामा मात्रै होइन, जैविक विविधता र पर्यावरणमा पनि नकारात्मक असर पुगेको छ । जस्तै— सिमसारमा पानीको मूल सुक्दा त्यसमा आश्रित चराचुरुंगी लगायतको जैविक विविधता हराएर जान्छ । जीवजन्तुले पिउने पानीको अभाव झेल्छन् । यतिखेर पानी अभावकै कारण कतिपय ठाउँमा मानवबस्तीहरू उजाडिएका छन्त कतिपय स्थानमा मानिसहरूले विकल्पका रूपमा अन्य स्थानबाट पानी लिफ्ट गरेर ल्याउने, टाढाको मुहानबाट पानी ल्याएर आपूर्ति गर्ने गरेकाछन् । पानी अभावको सबैभन्दा बढी बोझ ग्रामीण भेगका महिलाहरू, गरिब तथा विपन्न घरलाई परेको छ । मूलसुकेका कारण टाढाटाढाबाट घण्टौं लगाएर पानी बोकेर ल्याउनुपरेको छ ।

मूल सुक्नुका कारण

सामान्यतया वर्षातमा परेको पानी जमिनको सतहबाट जमिनमुनि छिर्छ । पानी कतिभित्र छिर्ने भन्ने कुरा जमिनको बनोट र माटोको किसिममा भर पर्छ । सतहनजिकको माटोको तह पूरै भिजेपछि पानी अझैभित्र जान्छ र त्यसरी भित्र पसेको पानी जमिनभित्र धाँजा फाटेको, चिरिएको ठाउँ (एक्विफायर वा जलभरा) मा सञ्चित भएर बस्छ । जमिनमुनि रहेका त्यस्ता जलभराहरू जब पानीले भरिन्छन्, पानी माटोको कमजोर सतहबाट वा पृथ्वीको गुरुत्वाकर्षणका कारण तल्ला क्षेत्रहरूबाट निस्कन थाल्छ, जसलाई हामी मूल भन्छौं । त्यसकारण मूल बन्न र नासिन वर्षातको मात्रा, जमिनको बनोट, माटोको प्रकार र सतहमाथिको भूउपयोगले मुख्य भूमिका खेल्छ । साथै मूलमा पानीको मात्रा पनि मूलाधारको चरित्र, जलभरा र वर्षातले निर्धारण गर्छ ।

नेपाल पानी सदुपयोग फाउन्डेसन र इसिमोडको प्रतिवेदनले पानीको मूल सुक्नुमा मूलधार क्षेत्रको विनाश हुनुÙ परम्परागत पोखरीहरू मासिनुÙ सिमसार क्षेत्रहरू मासिनुÙ जथाभावी सडक तथा भौतिक संरचना बनाउनुÙ जलविद्युत् आयोजनाका सुरुङ, इनार, डिप बोरिङ खन्नुजस्ता मानवीय र बाढीपहिरो, खडेरी, भूकम्पजस्ता प्राकृतिक कारकहरूको भूमिका रहेको उल्लेख गरेको छ । अर्थात्, ती गतिविधिका कारण मूल बन्ने संरचना (जस्तै— जलभरा, मूलाधारको चरित्र) मा हानि पुग्यो र मूल सुक्यो । साथै जलवायु परिवर्तनका कारण फेरिएको वर्षातको समय, परिमाण र आवृत्तिएवं तापमान वृद्घिका कारण पनि पानीका मूलहरू सुकेका हुन् भन्ने अध्ययनहरूको दाबी छ । तर अधिकांश अध्ययनका यस्ता निष्कर्षहरू स्थानीय बासिन्दाका अनुभवमा आधारित हुन्, मूलाधार वा जलाधारमै गरिएका वैज्ञानिक परीक्षणका नतिजा होइनन् ।

कतिपय ठाउँमा जनसंख्या वृद्घि, पानीको अत्यधिक खपत गर्ने पछिल्लो जीवनशैलीका कारण पनि पानीको अभाव महसुस भएको हुनसक्छ । बढ्दो खपतले भएको कमीलाईमानिसहरूले पानीको प्राकृतिक आपूर्ति नै घटेको हिसाबमा लिएका पनि हुनसक्छन् । नेपालसहित हिमालय क्षेत्रका पानीका मूलहरूको बनोट जटिल र भिन्न भएकाले मूल सुक्दै जानुको कारण खोतल्न स्थानीय जलवायु, सतहमा भूउपयोगको अवस्था, भौगर्भिक बनोट, मानवीय गतिविधिको सूक्ष्म र लामो अवलोकन एवं अध्ययन चाहिन्छ जुन अहिलेसम्म भएको छैन ।

वनको भूमिकामा प्रश्न

नेपालमा पानी र वनको सम्बन्धलाई सधैं सकारात्मक र सीधा हिसाबले हेरिँदै आएको पाइन्छ । धेरै वन हुँदा पानी पनि धेरै हुन्छ भन्ने मान्यता आम रूपमा गढेको छ । तर उक्त ‘आम बुझाइ’माथि पछिल्ला अध्ययनहरूले प्रश्न उठाएका छन् । सन् २००८ मा खाद्य एवं कृषि संगठन (एफएओ) ले प्रकाशित गरेको ‘टुवार्डस् ए न्यु अन्डरस्ट्यान्डिङ अफ फरेस्ट एन्ड वाटर’ प्रतिवेदन अनुसार, उपल्लो तटीय क्षेत्रमा वन जोगाउँदा पानीको गुणस्तरमा उल्लेख्य सुधार आएपनि माथिल्लो भूभागमा वन जोगाउँदा तल्लो भूभागमा पानी आपूर्तिको परिमाण बढ्छ नै भन्ने छैन । अर्थात्, वन र पानीको सम्बन्ध सोचेजस्तो सपाट, सरल र सीधा छैन । मुख्यतः कम पानी पर्ने पूर्ण वा केही सुक्खा स्थानहरूमा तल्लो भूभागमा पानीको मात्रा बढाउन वनको अवस्थिति सहयोगी नहुन पनि सक्छ ।

वन पानी अत्यधिक दोहन गर्ने पारिस्थितिकीय प्रणाली हो । एउटा रूखले प्रतिदिन १.७५ लिटरदेखि ३७२ लिटरसम्म पानी उत्स्वेदन (ट्रान्सिपेरेसन) गरेर हावामा फाल्छ । त्यसकारण पानी प्रयोगको हिसाबले भन्दा रूख ‘पम्प’ जस्तै हो, जसले जराबाट जमिनमा भएको पानी तानेर पातबाट वायुमण्डलमा फाल्छ । तर सँगै रूखको अर्को भूमिका पनि हुन्छ । त्यसले विशेषगरीवर्षातको समयमा पानीलाई जमिनमा अड्याउने गर्छ जसले गर्दा पानी जमिनमा सोसिन सहयोग पुग्छ । अर्थात्,रूख पानी फाल्ने ‘पम्प’ र सोस्ने ‘स्पन्ज’ दुवै हो । थप, पानीको उपलब्धतामा वनको भूमिका सबै ठाउँमा एकै हुँदैनÙ वनको किसिम र घनत्व, ल्यान्डस्केपको प्रकृतिले फरक पार्छ । अस्ट्रेलियामा गरिएको अनुसन्धान अनुसार, वार्षिक ८५० देखि १५०० मिलिमिटरवर्षात हुने क्षेत्रमा रोपिएका सल्लाका रूखहरूले त्यहाँको जलाधारमा पानीको मात्रा उल्लेख्य रूपमा घटाउँछन् । नेपालका सन्दर्भमा पछिल्लो समय पहाडी भेगमा सामुदायिक वन वा अन्यत्र हुर्काइएका सल्लाका वनहरूको भूमिका पानीको मुहान सुक्नमा कति छ भनेर वैज्ञानिक मूल्यांकन गर्न जरुरी छ ।

विशेषतः पछिल्ला बहुअध्ययनको संश्लेषण (मेटा एनालाइसिस) ले क्षेत्रीय रूपमा वनले जलचक्रमा सकारात्मक र अपरिहार्य प्रभाव पारेपनि सानो आकारको जलाधार क्षेत्रको जलविज्ञानमा त्यसले सुक्खा बढाउन सक्ने संकेत गरेको छ । यद्यपि जल र जंगलका सम्बन्धमा वैज्ञानिक बुझाइमा अझै अन्योल कायमै छ । त्यसैले, वनका अनेकौं फाइदा हुँदाहुँदैपनि जलाधारविशेषमा हुर्काइएको वनको प्रकार, त्यसको प्रजातिगत र अन्य विविधतायुक्त (वनभित्रका ससाना झाडी–बुट्यान) संरचनामा ध्यान नदिने हो भने त्यो अहिले आम सोचाइमा भएको जस्तो ‘वन बढ्दा पानी पनि बढ्छ’ भन्ने मान्यतामा सहयोगी नहुन सक्छ ।

अन्त्यमा, अहिले भइरहेको र भविष्यमा झनै बढ्ने तापमान वृद्घि र वर्षातको फेरबदलले जल र जंगलको सन्तुलनलाई दुई तरिकाले प्रभावित गर्नसक्छ । पहिलो, तापमान वृद्घिसँगै हुने सुक्खा र गर्मीमा रूखले गर्ने उत्स्वेदनदर बढ्छ । दोस्रो, वर्षातको समय, अवधि र आवृत्तिमा परिवर्तन हुँदा जलभरामा पानीको मात्रा कम हुनसक्छ । त्यस्तो अवस्थामा एकातिर जमिनमुनि पानीको सञ्चिति वर्षातको फेरबदलका कारण घट्ने र घटेको पानीको सञ्चितिलाई रूखले उत्स्वेदनमार्फत सकिदिने गर्दा पानीका लागि मानव र वनबीच प्रतिस्पर्धा हुने अवस्था आउन सक्छ । त्यसकारण पानीको मूल मासिनुका विविध रहस्यको उत्खनन अत्यन्त जरुरी छ ।

प्रकाशित : पुस २८, २०७८ २२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×