गीतले जोडिएका हामी

नारायणगोपालको मृत्युमा दार्जिलिङ त्यस्तै भएको थियो जस्तो लता मंगेशकरको मृत्युमा अहिले भारत–नेपालसहित दक्षिण एसिया स्तब्ध छ । राजनीति दुवै ठाउँका अलग भए पनि संस्कृति र संगीत साझा भएकैले त्यस्तो भएको होला ।

त्यस समय म चन्द्रलोक निम्न बुनियादी पाठशालाको छात्र थिएँ– सन् १९६३–६४ तिर । निम्न बुनियादी प्रशिक्षण केन्द्र पश्चिम बंगालमा दुई ठाउँमा थियो– कालेबुङको चन्द्रलोक र हुगली जिल्लाको बाणीपुर । पाठशाला प्रशिक्षण केन्द्र पनि भएकाले प्रशिक्षणका निम्ति आउने शिक्षकहरू समय–समयमा हामीलाई पढाउँथे । नयाँ सर आउँदा खुसी हुन्थ्यौं किनभने उनीहरू हामीलाई पढाउनभन्दा धेरै खुसी बनाउन चाहन्थे, मिठाई किनिदिन्थे । मिठाईको रहस्य हामीले पछि थाहा पायौं– उनीहरूको पनि परीक्षा हुँदो रहेछ– ‘प्राक्टिस टिचिङ’ अर्थात् परीक्षा लिने अधिकारीसमक्ष हामीलाई पढाएर देखाउनुपर्ने– छात्रहरूले सोधेको प्रश्नको उत्तर दिन नसके फेल हुँदा रहेछन् ।

गीतले जोडिएका हामी

बदमास केटाहरू थिए ठूलो श्रेणीमा, ‘ब्ल्याक–मेल’ गर्थे सरहरूलाई । खाजा खाने छुट्टीमा मुसलमान रोटीवाला देखेपछि गोसपप किनिदिन ढिपी गर्थे । एक दिन कुमार सुब्बालाई पाँचौं श्रेणीको रतन घिमिरेले जबर्जस्ती गर्दा उनले आफूसित पैसा नभएको र पछि किनिदिउँला भने ।

‘तपाईंहरूको रिजल्ट हाम्रै हातमा त छ नि... !’ भनेर रतन घरतिर दगुर्‍यो । प्रधानाध्यापक दशरथप्रसाद घिमिरेको ऊ भतिजो । भोलिपल्ट क्लासमा बिहानै घिमिरे सर देखा परे । कक्षासामु उभिएर रतनलाई अघिल्तिर बोलाए । ऊ डराउँदै प्रधानाध्यापक अघि उभियो ।

‘के अरे...? सरहरूको रिजल्टचैं तेरो हातमा छ अरे... ?’ सरले रतनको पिडुँलामा बेतले जोडसित तीन सिर्कुना लगाए । रतनले हाफपेन्टमै पिसाब गर्‍यो । सरले भने, ‘अरू छ कोई ट्रेनिङको सरलाई फेल बनाउँछु भन्ने ? फेरि कम्प्लेन आयो भने म त्यसलाई स्कुलबाट निकालिदिन्छु ।’ त्यस समय पाठशालामा प्रशिक्षणार्थी भएर आउनेहरू थिए– कर्म योञ्जन, गोपाल योञ्जन, अशोक राई, प्रकाश राई (उपन्यासकार प्रकाश कोविद), कुमार सुब्बा, विनोद स्याङदेन, दशरथ सुब्बा ‘फागो’ आदि । पाठशालामा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । अशोक राईले गाएको ‘बैसाकी वनमा फूलको शृंगार, पातको क्रन्दन छ,’ कुमार सुब्बाको ‘चुमेर पानाभरि जानेजति लेखिदिन्छु’, गोपाल योञ्जनको ‘न फूल चढाएँ न माला चढाएँ...’ मेरो स्मृतिमा ताजै छ । धेरै वर्षपछि, जब म कलेज पढ्न थालें, एउटा नाटक निकै प्रसिद्ध भयो– ‘अनि देउराली रुन्छ ।’ मनबहादुर मुखियाद्वारा लिखित यो नाटकमा कुमार सुब्बाले गाएको गीत– ‘ए फूल चुँडेर लाने हो... यहाँ माली रोएको देख्यौ कि...’ सबैको ओठमा झुन्डिएको थियो ।

मलाई चन्द्रलोकको प्राथमिक पाठशाला याद आयो । घर जाने बाटैमा प्रशिक्षणार्थी शिक्षकहरूको छात्रावास पर्थ्यो । कोईबेला छात्रावासको खुला झ्यालबाट हार्मोनियमको बुई चढेर मीठो स्वरको मधुरो धुन हाम्रो कानसम्म आइपुग्थ्यो । मैले माथि उल्लेख गरेका गीतहरू श्रोता खोज्न कोठाबाट उम्किएका तिनै साँझका स्मृतिहरू हुन् ।

‘गएछ नि मनबहादुर मुखिया त नेपाल... ! कोनि कुनचैं कलेजमा काम पायो अरे !’

‘आफ्नो ठाउँको माया नभएकाहरूको के कुरा गर्नु ?’

‘अनि ठाउँको माया गरेर मात्रै के गर्नु, ठाउँले खानु दिन्छ र ? कलाकार र लेखकहरूका लागि के छ यो दार्जिलिङमा ? नेपाल भनेको देश हो...सम्भावना धेरै हुन्छ नि । मुखियाले ठीकै गर्‍यो ।’

यस्ता कुरा सुनिन्थ्यो चर्चामा । टेलिभिजन आइपुगेको थिएन । ‘खर्साङ रेडियो’ भर्खरै सुरु भएकाले लोकप्रिय थिएन । दार्जिलिङभरि ‘रेडियो नेपाल’ नै सुन्थे धेरैजसो ।

दार्जिलिङ छाडेर नेपाल लाग्ने अर्का संगीतकार थिए– अम्बर गुरुङ । १९९२ मा म दार्जिलिङको रामकृष्ण बीटी कलेजमा प्रशिक्षणार्थी शिक्षक भएर गएका बेला इन्द्रबहादुर राईलाई भेट्न गइरहन्थें । भेटमा उहाँले भन्नुभयो, ‘सेन्ट रोबर्ट स्कुल पढ्थ्यौं त्यो बेला । नर्थ पोइन्टको ग्राउन्डमा फुटबलको फाइनल थियो । हामी बिहानैदेखि उत्तेजित थियौं, तर अम्बर जानु मानेन । ‘तिमारु जाऊ.... म एउटा धुनमाथि काम गर्दै छु । त्यो नसकिन्जेल म कतै जाँदिनँ...’ भनेर मानेन । बेलुकी फुटबल सकिएर कोठामा फर्किंदा अम्बरले दिनभरि गरेको परिश्रमको नतिजा सुनायो । उसले ‘नौलाखे तारा उदायो...’ धुन तयार पारेछ । त्यस्तो एकोहोरो र लगनशील थियो अम्बर । भाइ, हाम्रो त्यो एक दिनको मजा त्यति नै बेला सकियो, तर अम्बरले त कहिल्यै पुरानो नहुने अमर धुन नेपाली जातिलाई दियो ।’

त्यसपछि तिनले अगमसिहं गिरीबारे पनि कुरा गरे–

‘अम्बर नेपाल गएर ठीकै गर्‍यो भन्छु म । यहाँ बसेको भए के हुन्थ्यो र...गिरीले जस्तो रक्सी खानु सिक्ने थियो । गिरी त हर्क भाइ साँझ परेपछि रक्सी दोकानमै हुन्थ्यो अरे । काँ...धमास पनि पो दिन्थ्यो अरे त अरू रक्सी खान आउनेहरूलाई । ‘त्यो नौलाखे तारा भन्ने गीत छ नि...त्योचैं मैले लेखेको हो नि...! अम्बरले धुन मत्रै भरेको...तिमारु चिन्दैन मलाई ?’, भन्थ्यो अरे । अन्ता पछि गएर त्यस्तै हुन्थ्यो होला नि अम्बर पनि...!’

संगीतको चर्चा हुँदा कतिचैं नसोची भन्थे–

‘गिरीलाई पनि नेपालले निम्तो दिएकै थियो अरे ! तर, गएनन् । गिरीको कविता छ नि क्या त...नजाऊ फर्की नेपाल, उठेर भन्छ हिमाल..., भन्ने अम्बरलाई नै भनेको हो भन्छ नि...!’

‘नजानुपर्ने थियो अम्बर । उता त हामी दार्जिलिङेहरूलाई ७६ जिल्ले भनेर हियाएर हेर्छ भन्छन् ।’


एक थरीले आफ्नो नेपालको अनुभव यसरी पनि साझा गर्थे। १९ दिसम्बर १९७०मा आसाम गोर्खा सम्मेलन,बोकाखाट आसामबाट गिरीले श्रीमान घिमिरेलाई लेखेको पत्रमा भारतीय गोर्खाहरुले आफैंलाई प्रवासी भन्न छाड्नु पर्ने उल्लेख गर्दै लेखेका थिए-

‘घिमिरे ज्यु हामी प्रवासी होइनौं, दार्जीलिङका नेपाली प्रवासी होइनन्। हामी प्रवासी भनिदा न नेपालका हुन्छौं न भारतका...!’

साथमा भारत र नेपालको मैत्री सम्बन्ध बलियो रहोस भन्ने गिरीको अन्तर कामना भने निश्चय नै थियो नत्र ‘मैत्री कामना’ जस्ता गीत गिरीले लेख्ने थिएनन् होला। जीतेन्द्र बरदेवा द्वारा संगीतबद्ध यो गीतले स्पष्ट त्यही भन्छ-

‘तरेर मेची आयौं है फूलपाती आज लिएर

मैत्रीको प्यारो कोशेली नजावोस् कहिल्यै सुकेर...’

तर नेपाल प्रति गिरीको भावनामा बारम्बार परिवर्तन् आइरह्यो । ‘राम र शिव वहाँ छन् पार्वती सीता यहाँ छन्..’ भनि ‘मैत्री कामनामा लेख्ने गिरीले फेरी ‘पाहाडकी रानी दार्जीलिङलाई माया छ बारम्बार…’ मा लेखे-

‘माटोको माया बिर्सेर यहाँ

बाँचेर के पो सार

पाहाडकी रानी दार्जीलिङलाई

माया छ बारम्बार…’

गायक कुमार सुब्बाले गाएको यो गीतमा धुन भरेका थिए कर्म योञ्जनले । यो गीत अम्बर गुरुङलाई दार्जीलिङ मै रोकि राख्नको निम्ति लेखिएको पनि भन्छन् कति । आज जाने र ती जाने पैतालालाई रोक्न चाहने दुवै छैनन् तर जाने प्रक्रिया जारी नै रहेको कारण ती शब्दहरु अझै सान्दर्भिक छन्-

‘छोडेर कतै नजाउ नजाउ नुहेर भन्छ बाँसघारी

समाती दिउँला पाइताला तिम्रो

छेकेर भन्छ चियाबारी....!’

गिरीको यही भावनाको कायल थिए सुवास घिसिङ त्यसैले आफू पार्वत्य परिषद्‌को अध्यक्ष हुनसाथ तिनले गिरी पुरष्कारको घोषणा गरे । ‘माटो’ को राजनीति गर्ने घिसिङले गिरीको कविता भरी माटोकै माया देखे । हुनपनि अन्तिम पंक्तिहरु पढ्दा अम्बरको बिछोडमा गिरीको व्यथा स्पष्ट हुन्छ-

‘माटोको बिन्ती सुनेर हेर

पग्लन्छ रोई हिमाली

बिर्सेर कथा बोकेर व्यथा

छोडेर नजाऊ नेपाली...’

गोर्खाल्यान्ड आन्दोलनको सुरुवाती दिनहरूमा, तर जति सांस्कृतिक कार्यक्रमहरू हुन्थे तिनै गोपाल योञ्जनको गीत– ‘यो मेरो टोपी हो’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बलि चढाऊ’ नै धेरै गाइने–बजाइने गरिन्थ्यो । अँ कतैकतै क्षेत्रीय हुने प्रयासमा ‘रुँदिनन् मेरी आमा ऊ त नेपालीकी छोरीको साटो पहाडकी छोरी’ जस्ता मसिना परिवर्तन पनि कतिले गर्थे । संगीतमा राजनीति पसेर भाँडभैलो गर्ने कोसिस पनि नभएको होइन । खेमराज गुरुङको गीत ‘वारि जमुना, पारि जमुना’ मा एउटा पंक्तिलाई लिएर गोरामुमोले रडाको मच्चायो–

‘कालेबुङको मैना चरी टिस्टा खोला झरी नि कालेबुङको मैना चरी...

भाग्य मेरो खोटो रैछ मागी खानुपर्‍यो नि भाग्य मेरो खोटो रैछ ।’

‘खेमराजले कालेबुङेहरूको अपमान गरे’ भनेर निकै समयसम्म विवाद ज्युँदो रहे पनि बिहे–पूजाहरूमा ‘वारि जमुना पारि जमुना’ ले पहाड गुन्जिन छाडेन । नारायणगोपालले पनि ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा गाउँदा बल्झेछ क्यारे सुनको काँडाचैं के भनेको... ?’ भन्नेहरू पनि थिए, आन्दोलनकारीहरू । तर, त्यो विरोधलाई पनि धुनले जित्यो ।

म कलेज पढ्दाको कुरा । दीप श्रेष्ठ निकै बिमार छन् भन्ने सुनें । तिनको ‘हर रात मेरा नीदहरूलाई...’, ‘कति कमजोर रहेछ भाग्य’ प्रायै सांगीतिक कार्यक्रमको आकर्षण हुन्थ्यो । कलेजका तरुणीहरू दीप भनेपछि मरिहत्ते गर्थे । ७ जनाको टोली बनाई उनीहरू काठमाण्डु दीप हेर्न जाने भए । गए–गएनन् थाहा भएन, तर हप्ता दिन ती ७ जनालाई कलेजमा देखिएन ।

समय–समयमा राजनीतिले दार्जिलिङलाई नेपालको शत्रुको रूपमा प्रस्तुत गर्न चाहे पनि संगीतले नजानिँदो प्रकारले त्यो सम्पर्कलाई कायम राखिरह्यो । कवि हरिभक्त कटुवालले त आफैंलाई ‘प्रवासी’ मानिरहे । तिनको कविताको संकलन ‘यो जिन्दगी खै के जिन्दगी’ लाई पनि कविले दुई भागमा बाँडेका थिए– सुरुको भाग ‘स्वदेश पसेपछि’ अनि दोस्रो भाग ‘प्रवासबाट’ । नेपाल तिनको स्वदेश थियो भारत प्रवास । धेरैपछि तिनले त्यो उपनाम त्याग गरे । त्यसपछि पनि कथाहरू सुनिन्थ्यो । नेपालमा तिनले उपयुक्त सम्मान नपाएको अनुभव गरेपछि नै उपनाम त्याग गरेका हुन् भन्ने चर्चा थियो । तर, तिनका शब्दहरूमा प्राण भर्ने काम नेपाली संगीतकारहरूले गरिरहे । ‘पोखिएर घामको झुल्का’ देखि ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ सम्म, कटुवाल नेपाली गीत भएर नारायणगोपालको आवाजमा कति युवाहरूको ओठबाट गुन्जिरहे । नारायणगोपालको मृत्युमा दार्जिलिङ त्यस्तै भएको थियो जस्तो लता मंगेशकरको मृत्युमा अहिले भारत–नेपालसहित दक्षिण एसिया स्तब्ध बनेको छ । राजनीति दुवै ठाउँका अलग भए पनि संस्कृति र संगीत साझा भएकैले त्यस्तो भएको होला भन्छु । प्रशान्त तामाङ तेस्रो इन्डियन आइडलको प्रतिस्पर्धामा हुँदा उनलाई सुन्न दार्जिलिङको चौरस्तामा ठूलो जमघट भएको थियो । भीडमा नेपालको झन्डा पनि देखिन्थ्यो । नेपालबाट प्रशंसकहरू आएका थिए । बंगालको वामपन्थी सरकारले त्यहाँ ‘ग्रेटर नेपालको’ राजनीति देखेको थियो । आज भारतभित्रै पनि भाजपा सरकार हिन्दु अनि मुसलमानबीच चुनावको दृष्टिकोणबाट ध्रुवीकरण गर्ने प्रयासमा छ । जतैको पनि राजनीति त्यस्तै हुन्छ होला । यस सम्बन्धमा एउटा गोष्ठीमा कवि राहत इन्दोरीका पंक्तिहरू याद आउँछ–

‘सभीका खुन बराबर है यहाँकी मिट्टी मे

किसिके बापका हिन्दुस्तान थोडी है... ?’

तर, यस्ता विचार केवल स्रष्टाहरूको मनमा आउने हुन् । सृजनाको सिमाना हुँदैन ।

...

भारतमा जन्म लिने कवि, लेखक, संगीतकार आदिको एउटा सपना हुन्छै हुन्छ । जबसम्म नेपालले मान्यता दिँदैन, तबसम्म उनीहरू वास्तवमै सफल भएको अनुभव गर्दैनन् । कुनै पनि सृजनाको अन्तिम परख नेपाल पुगेपछि मात्र हुन्छ । कसैले स्वीकार गरे पनि नगरे पनि एउटा कुराचैं पक्कै हो– देश हुनुको जुन सुविधा नेपाललाई छ, त्यो भारतमा बस्ने नेपालीलाई नागरिकको हिसाबले भए पनि सर्जकको दृष्टिकोणबाट हामी तीन थुम्का पहाडभित्र सीमित छौं । त्यसैले जब आस्था राउतहरू ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा...’ भनी कालेबुङको मेला ग्राउन्डमा गाउँछन्, तब दार्जिलिङभरिका तरुणीहरू महिनौं नाच्छन्– कम्मर मर्काई मर्काई । ‘उँभो उँभो सैलुंगेमा चौंरी डुलाउनेलाई...’ मुकारुङहरू नेपालभित्र बन्दी बनाएर राख्न सक्दैनन् अनि दार्जिलिङको पहाड र तराईभरि सांगीतिक कार्यक्रममा नाच्छन् ठिटीहरू ।

आज अम्बर, गोपाल योञ्जन, नारायणगोपाल, कुमार सुब्बा, अरुणा लामा आदि छैनन् । राजनीतिले हामी एकजुट हुने ठाउँ छैन, तर सांस्कृतिक नेपाल त संसारभरिकै नेपालीहरूको राजधानी हो । त्यो सांस्कृतिक धरोहर अझै बलियो बनेर जाओस् भन्ने कामना त राख्न सकिन्छ नै ।

प्रकाशित : माघ २९, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?