१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शताब्दीकी गायिका

‘लता मंगेशकर तिनी थिइन्, जसको गीत हाम्रा बाजेहरूले ध्यान दिएर चाखपूर्वक जसरी सुन्थे त्यसैगरी हाम्रा बाबुहरूले सुने । त्योभन्दा बढ्ता चाख र ध्यान दिएर हामीले सुन्यौं र भावी पिँढीले पनि त्यसैगरी सुन्नेछ ।’
रघु पन्त

लता मंगेशकरको मृत्यु मलाई अप्रत्याशित लागेन । उनी बिरामी छँदै कोरोनाले समातेको र भेन्टिलेटरबाट निकालेको केही समयपछि फेरि भेन्टिलेटरमा राख्नुपरेका समाचार पछ्याइरहँदा मनमा लागेको थियो– कतै उनलाई यसपल्ट मृत्युले आफूसँगै लैजाने त होइन ! उनी ९२ वर्षमा थिइन् । मृत्यु अप्रत्याशित नभए पनि दुःखद थियो ।

शताब्दीकी गायिका

उनी अस्पताल भर्ना भएपछि मैले संग्रहमा रहेका उनका क्यासेट र सीडीका चाङ निकालें । युट्युब आएपछि तिनीहरूमाथि अलिअलि धूलो जमिसकेको थियो । वर्षौं लगाएर मैले संकलन गरेका विभिन्न भाषाका गीत, संगीत र सिनेमाका क्यासेट, सीडी र डीभीडीहरू डिजिटल सञ्चारमाध्यमको बढ्दो विकाससँगै अप्रासंगिक हुँदै गएका छन् । तर, तीमध्ये कतिपय क्यासेट, सीडी, डीभीडीहरू खोज्न न्युरोड र ठमेलका पसलहरू घन्टौं चहारेको थिएँ । त्यो म बेलाबेलामा स्याहार्छु, धूलो पुस्छु । र, तिनको स्पर्शमा आनन्दित हुन्छु । तर, लतालाई सुन्न अब त युट्युब सहज लाग्छ । उनका गीत क्यासेट र सीडीहरूमा फेरि बजाएँ । ती सुन्दै म फर्केर गएँ आफ्नो यौवनकालमा ।

महेन्द्रले कू गर्नुअघि जन्मेको पुस्तामा पर्छु म । पञ्चायतकालमा युवा भएको थिएँ । तर, म जन्मनुभन्दा अघि नै नेपालमा लता र उनका गीतहरू मात्र होइन केएल सहगलदेखि हेमन्त कुमार, मोहम्मद रफी, मुकेश, मन्नाडे, नूरजहाँ, समशाद बेगम, सुरैया जस्ता गायक–गायिका लगायत राज कपुर, दिलीप कुमार, अशोक कुमार, देवानन्द, गुरुदत्त, राज कुमार, मधुबाला, मीना कुमारीहरू जस्ता कलाकार लोकप्रिय थिए र घरघरमा उनीहरूको चर्चा हुन्थ्यो ।

हजुरबुबा पुस्ता र बा पुस्ता मात्र होइन मेरो पुस्ता पनि यी कलाकारहरूसँग परिचित थिए । मभन्दा दशकौंपछि जन्मेकाहरू पनि हिन्दी सिनेमा र हिन्दी फिल्मी गीतका पारखी भए । हो २००७ सालअघि, त्यसपछि, पञ्चायतकालमा र पञ्चायतकालपछि आजसम्म पनि लता नेपालीहरूका घर, कोठा र मनमा गुन्जिरहेकी छन् । ‘मुगल ए आजम’ नहेरेका प्लस टु पढ्ने केटीहरूले बस र मिनीबसहरूमा साथीहरूसँग ‘प्यार किया तो डरना क्या, छुप छुप आहें भरना क्या’ भन्दै आफ्नो समूहमा अन्तरंग गफ गरेको सुनेको छु । तिनले मधुबाला यो गीतमा नाचेको नदेखेका पनि हुन सक्छन्, तर लता त सुनेका रहेछन् ।

भारतको वा नेपालको मात्र होइन, पाकिस्तान, बंगलादेश, भुटान र दक्षिण एसियाका कतिपय बासिन्दाको चार–पाँच पुस्तालाई लता मंगेशकरले आफ्नो मधुर स्वरले लठ्याएकी थिइन् । नेपालको पहिलो पुस्ताका राजनीतिज्ञदेखि पहिलो पत्रकार र साहित्यकारहरू स्वाद मानीमानी हिन्दी सिनेमाको गीत, संगीत र कलाकारको चर्चा गर्थे ।

मदनमणि दीक्षितले ‘पाकिजा’ को गीतबारे, मणिराज उपाध्यायले ‘प्यासा’ सिनेमा र त्यसको गीत–संगीतबारे गरेको चर्चा हिजैजस्तो लाग्छ ।

लताका गीतले नेपालको पाँच पुस्ताको भावनालाई व्यक्त गरेको छ– भारतमा जस्तै, दक्षिण एसियाका अरू देशमा जस्तै । नेपालमा पनि लताका गीतमा आफ्नो प्रणयगाथाका आशा, वेदना र विछोड अनुभूत गर्नेहरू महिला हुन् वा पुरुष, लाखौं करोडौंमा रहेका हुन सक्छन् । फरकफरक पुस्तामा समेत ।

उनको स्वर र गीतका शब्दहरूले आफूलाई सान्त्वना दिने, पीडालाई सुमसुम्याउने र चित्त बुझाएर जीवन जिउने लाखौंलाख हजुरआमा, आमा, दिदी, बहिनी, छोरीहरू भारत–नेपालमा मात्र होइन दक्षिण एसिया र संसारका अरू देशहरूमा पनि छन् ।

प्रेम, विश्वास, विछोड, विरह, वेदना, उमंग, आशा, आँसु, हाँसो, मुस्कान– सदभाव र सहयात्रामा यस्ता मोहक शब्दहरू अत्यन्त मेलोडियस, सुन्दर सुर–तालमा गाउने र गाउन पाउने शौभाग्यशाली महान् गायिका थिइन् लता मंगेशकर । उनको सक्रिय गायनको कालखण्ड हिन्दी फिल्मी गीत–संगीतको स्वर्णकाल अर्थात् ‘गोल्डेन एरा’ थियो ।

स्कुले पढाइ पूरा भएपछि वा कलेजमा पढ्दा अटोमा लेख्ने र लेख्न लगाउने चलन डेढ–दुई दशकअघिसम्म पनि निकै चल्तीमा थियो । र, त्यसरी लेख्दा लताले गाएका गीतहरूसमेत कतिपयले कोट गर्थे । किशोरकिशोरी, तन्नेरी, प्रौढ–प्रौढादेखि वृद्धवृद्धासम्मका मनमा लताले गाएका गीतहरू गढेर बसेका थिए र अहिले पनि छन् । उनी बितेको भोलिपल्टै पाकिस्तानका वरिष्ठ पत्रकार बुसअताउल्लाह खानले इस्लामावादबाट अत्यन्त भावुक भएर आफ्नो ब्लगमा अत्यन्त मार्मिक शब्दहरू लेख्दै भने, ‘लता मंगेशकर देवी सरस्वतीकी अवतार थिइन्, पूर्वकी बुलबुल, भगवान्को आवाज, भारतरत्न वा दक्षिण एसियाकी देवीझैं या केके केके... । कसैले लता मंगेशकरको कुन गीत मन पर्छ भनेर सोध्दा मसँग जवाफ नै हुन्थेन । यो त कसैलाई ऐनाको कुन भाग मन पर्छ, छेउ कि बीचको भाग भनेर सोधेजस्तै लाग्थ्यो । यस दुनियाँमा धर्म, राजनीति, सामाजिक र आर्थिक विभाजनको समाप्ति असम्भवजस्तो लाग्छ । तर, संगीत त्यो चमत्कार हो, जसको सामु काला–गोरा, धनी–गरिब, शिक्षित–अशिक्षित सब बराबर हुन्छन् ।’

पाकिस्तान र भारत दुई देशबीचको सम्बन्ध अत्यन्त कटु छ । तर, करोडौं पाकिस्तानी लताका गीतहरू सुनेर अहिले पनि भावुक हुन्छन्, एकान्तमा रुन्छन् र उनलाई अत्यन्त प्रेम–श्रद्धा गर्छन् । बीबीसीलाई दिएको रेडियो र भिडियो अन्तर्वार्तामा पाकिस्तानीहरूले मुक्तकण्ठले लताको प्रशंसा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानदेखि, पाकिस्तानी क्रिकेट खेलाडी, गीत–संगीत क्षेत्रका हस्ती र आम सर्वसाधारणले समेत लताप्रति भावपूर्ण श्रद्धाका अभिव्यक्ति दिएका छन् । नेपाल र बंगलादेशका राष्ट्रपतिहरू, प्रधानमन्त्री, मन्त्री र नेताहरूका साथै करोडौं जनताले उनको मृत्युमा शोक व्यक्त गरेका छन् ।

लताका गीतले राज्यहरूको सिमाना नाघिदियो र तिनलाई अर्थहीन बनाइदियो । राजनीतिक स्वार्थले उत्पन्न गरेको द्वन्द्व र कटुतालाई संगीतले स्विकारेन । लता भारतकी मात्र भइनन्, सिंगै दक्षिण एसिया र संसारकै भइन् । अर्थात् संगीतको भौगोलिक र राजनीतिक सिमाना हुँदैन भन्ने तथ्यलाई उनको गीत, लोकप्रियता र मृत्युले एक पटक फेरि साबित गरिदियो । लता अत्यन्त प्रतिभाशाली र लिजेन्ड गायिका थिइन् । गाउनकै लागि जन्मेकी थिइन् र सांगीतिक प्रतिभा उनमा जन्मजात–प्राकृतिक थियो । तर, उनले जीवनमा निकै संघर्ष

गर्नुपर्‍यो । नौ वर्षको उमेरमा मञ्चमा बाबुसँग गायन र अभिनयका लागि उत्रेकी उनले अकस्मात बाबुको मृत्युपछि दुःख र अभावको मार खप्नुपर्‍यो । ऋण तिर्न नसक्दा पुर्ख्यौली घर लिलाम भयो । परिवारकी जेठी उनले तेह्र वर्षको उमेरदेखि नै बाँच्न र परिवार पाल्न अभिनय गर्नुपर्‍यो मराठी सिनेमामा ।

एक अन्तर्वार्तामा लताले भनेकी थिइन्, ‘म आज जे बनेकी छु, संघर्ष र मिहिनेतको कारणले बनेकी छु । हकका लागि लड्न सिकेकी छु । मलाई सकैसँग डर लाग्दैन । ज्यादै साहसी छु । तर, आज मैले जे जति पाएकी छु, त्यति पाउँछु भन्ने कत्ति पनि आशा थिएन ।’

वास्तवमा लताले ‘लिजेन्ड’, आफ्नो समयका प्रतिभाशाली र महान् संगीतकारहरूको सुर, ताल, लयमा गीत गाउने मौका पाइन् । नौशाद, एसडी वर्मन, अनिल विश्वास, मदनमोहन, सलिल चौधरी, शंकर जयकिशन, खय्याम, लक्ष्मीकान्त प्यारेलाल, रोशनलगायत एआर रहमान र अरू सयौं प्रतिभाशाली संगीतकारको साथ उनलाई रह्यो । उनी आफैं पनि संगीतकार थिइन् र केही मराठी फिल्महरूमा संगीतसमेत दिएकी थिइन् ।

आफ्नो समयका प्रसिद्ध गायकहरू मोहम्मद रफी, किशोर कुमार, मुकेश, जगजीत सिंहलगायत कैयौं गायकसँग गाइन् । साहिर लुधियानवी, मजरुह सुल्तानपुरी, हसरत जयपुरी, गुलजार, आनन्द बख्शीलगायत अनेकौं गीतकार र शायरका गीतलाई आफ्नो स्वरमा अमरता दिइन् ।

उनमा संगीत र भाषाको गहिरो ज्ञान थियो । दिलीप कुमारसँग लताको पहिलो भेट मुम्बईको एउटा ट्रेनमा भएको थियो । विख्यात संगीतकार अनिल विश्वासले दिलीपसँग उनको परिचय गराएका थिए । लता मराठी हुन् भन्ने थाहा पाएपछि दिलीपले गीत राम्रो गाउन उर्दू भाषा सिक्ने सल्लाह दिए । सुरुमा सल्लाह राम्रो लागेन, तर घर पुगेर निकै सोचेपछि ठीक लाग्यो ।

र, उनले एक जना उर्दूका जानकार मौलजीलाई शिक्षकका रूपमा राखेर उर्दू सिक्न थालिन् । यसले उनको गायकीलाई झन् निखार्‍यो । ‘पाकिजा’ र ‘मुगल ए आजम’ लगायत विभिन्न सिनेमाका गीत सुन्दा यो तथ्य थाहा पाइन्छ ।

असाधारण कला, स्वर र गायनले लता स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू, इन्दिरा गान्धी हुँदै नरेन्द्र मोदीसम्मको प्रिय थिइन् । लतालाई फोटोग्राफीको सोख पनि थियो । घरको बाटो भएर इन्दिरा गान्धी र उनको टोली गुज्रँदै छ भन्ने थाहा पाएपछि लता क्यामेरा बोकेर गान्धीको तस्बिर खिच्न बरन्डामा पर्खेर बसिन् । कसैले गान्धीलाई यो सुनाइदियो । गान्धीले तब आफ्नो टोलीलाई लताको घरनिर पुगेपछि गाडीहरूको गति कम गर्न र बिस्तारै अघि बढ्न निर्देशन दिइन् ताकि लताले फोटो खिच्न सकून् । स्वर कोकिला, सुरकी देवी, कोकिलकण्ठी, संगीतकी महारानी, भारत कोकिला, स्वर सम्राज्ञीजस्ता अनेकौं उपमा, प्रशंसा–सम्मानमा शब्दहरू उनका लागि रचना गरिए । भारतको सबैभन्दा ठूलो नागरिक सम्मान जिउँदैमा पाइन् । र, एउटा किंवदन्तीजस्तो जिन्दगी जिइन् ।

विख्यात गीतकार, शायर, पटकथा लेखक जावेद अख्तरले भारतीय समाचार च्यानल न्युज–१८ मा लता मंगेशकरको अन्तर्वार्ता लिएका थिए । जावेदले लताबारे भनेका थिए, ‘सदियौंमा एकपल्ट कुनै मान्छेको कद यति विशाल बन्छ कि उसको तारिफ गर्नै पर्दैन । किनभने उसको तारिफ गर्नै सकिँदैन । तारिफका शब्दहरू नै हुँदैनन् र तारिफको आवश्यकता नै पर्दैन । जसरी सेक्सपियर भनेपछि महान् लेखक भन्नै पर्दैन, माइकल एन्जेलो भनेपछि महान् मूर्तिकार भनिरहनै पर्दैन । त्यसरी नै लता मंगेशकर भनेपछि महान् गायिका भन्नै पर्दैन । लताको नाम नै पर्याप्त छ ।’ जावेदले नै कतै भनेका छन्, ‘लताको आवाज मोतीजस्तै पवित्र र क्रिस्टलजस्तो सफा छ ।’

प्रसिद्ध गीतकार, कवि र फिल्म निर्देशक गुलजारले दुई वर्षअघि एबीपी समाचार च्यानललाई लताको नब्बेऔं जन्मदिनमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘यो सदी लताको आवाजको सदी हो ।’ गुलजारले अर्को एक ठाउँमा भनेका छन्, ‘लता केवल एउटी गायिका मात्र होइनन् । उनी त प्रत्येक हिन्दुस्तानीको दैनिक जीवनको एउटा हिस्सा बनिसकिन् ।’

लताको मृत्युपछि बीबीसीसँग कुरा गर्दै गुलजारले भने, ‘लता आफैंमा एउटा चमत्कार थिइन् । यस्तो चमत्कार सधैं हुँदैन । आज यो चमत्कार अस्ताइन् । गइन् । लता चमत्कारी आवाज भएकी गायिका थिइन् । उनका लागि शब्दहरू खोज्नु कठिन हुन्छ, उनलाई केही शब्दमा व्यक्त गर्न सकिँदैन । उनको जति प्रशंसा गरे पनि कमै हुन्छ । तपाईं शब्दहरूमा उनलाई समेट्न सक्नुहुन्न ।’ प्रसिद्ध संगीतकार एआर रहमानले भनेका छन्, ‘लता केवल गायिका र आइकन मात्र होइन भारतको चेतनाको अभिन्न हिस्सा थिइन् ।’ रहमानले सम्झना गर्दै भने, ‘उनका पिता आरके शेखर स्वयं संगीतकार थिए । पिताको ओछ्यानछेउ लताको एउटा तस्बिर हुन्थ्यो । बिहानै उनी लताको तस्बिरलाई हेर्दै ब्युझिन्थे र कुनै गीतको रेकर्डिङमा जानुअघि पहिले लताको तस्बिर हेरेर प्रेरणा लिन्थे ।’

लता आइकन, लिजेन्ड वा महान् गायिका त्यत्तिकै बनेकी होइनन् । उनका प्रकृतिप्रदत्त स्वाभाविक प्रतिभा त थियो नै तर उनमा शब्द, संगीत, तिनको भाव र अर्थलाई पहिल्याउने क्षमता पनि गहिरो थियो । गीतका शब्दहरूमा उनी निकै ध्यान दिन्थिन् । लता भारतीय शास्त्रीय संगीत मात्र होइन मोजार्ट, विथोयिन, शोपिन, नेट फिङ्ग कोल, बिटल्स, बारबरा स्ट्रिसेन्ड र हैरी बेलाफोर्ट लगायत पश्चिमा संगीतकारहरूको संगीत पनि ध्यान दिएर सुन्थिन् । जर्मन मूलकी अमेरिकी अभिनेत्री मार्लिन डिट्रिखको अभिनय स्टेजमा हेर्नकै लागि लता विदेशसम्म गएकी थिइन् । स्वीडेनकी अभिनेत्री इनग्रिड वर्गम्यानको नाटक हेर्न खुब मन पराउँथिन् । हलिउडको फिल्म ‘किङ एन्ड आई’ उनको मन पर्ने सिनेमा थियो । भनिन्छ, यो फिल्म उनले १५ पटकसम्म हेरेकी थिइन् । जासुसी उपन्यास पढ्न मन पराउने लता हीराका गहनाको पनि सोखिन थिइन् । चारवटा ‘क’ अर्थात् कार, क्रिकेट, क्यामरा र कुकुरहरू पनि उनको सोखमा सामेल थिए । केही कारहरू उनीसँग थिए । घरमा नौवटासम्म कुकुरहरू पालेकी थिइन् ।

सन् २०१३ मा भारतीय सिनेमा उद्योग सुरु भएको सय वर्ष पुग्दा लताले ‘यो सय वर्षभित्र मेरो जिन्दगीको एकहत्तर वर्ष पनि पर्छ’ भनेकी थिइन् । उनको उल्लेखबिना हिन्दी सिनेमाको इतिहास अपुरो हुन्छ । संगीत निर्देशक गुलाम हैदर र प्रसिद्ध गायिका नूरजहाँले लतालाई अघि बढ्न प्रेरित गरे । पछि यी दुवै कलाकार विभाजनपछि पाकिस्तान गए । तर, नूरजहाँ र लताको मित्रता जीवनभर रह्यो ।

उनको मृत्युपछि भारतीय कलाकार श्याम रंगिलाले लेखे, ‘लता मंगेशकर तिनी थिइन्, जसको गीत हाम्रा बाजेहरूले ध्यान दिएर चाखपूर्वक जसरी सुन्थे त्यसैगरी हाम्रा बाबुहरूले सुने र त्योभन्दा बढ्ता चाख र ध्यान दिएर हामीले सुन्यौं र भावी पिँढीले पनि त्यसैगरी सुन्नेछ... ।’ संगीत सिक्नेहरूका लागि लता प्रेरणा थिइन् । भारत, नेपाल र दक्षिण एसियाकै हजारौं गायक–गायिकाले पटकपटक लताका गीत गाएका छन्– रियाजका लागि, आफ्नै मनका लागि र कैयौंपल्ट श्रोता, साथीभाइका लागि । एकपल्ट दिवंगत विख्यात शास्त्रीय गायक पण्डित जसराजले भनेका थिए, ‘हामी एउटा शिष्यलाई बोलाउँछौं, उसलाई वर्षौंवर्ष लगाएर सिकाउने कोसिस गर्छौं । तर, यहाँ लतासँग सारा दुनियाँले उनको गीत सुनेरै सिकिरहेको छ । चार पिँढीको गुरु हुनु मामुली कुरा होइन ।’

के भारतीय फिल्मी संगीतमा कुनै लता मंगेशकर फेरि जन्मिनेछिन् ? यो प्रश्न यतिबेला धेरैको मनमा उठेको होला । पहिलो त हामी कसैको मनमा पनि लताको बास भौतिक देहको रूपमा थिएन । उनी बितिन्, तर उनका गीत करोडौं मान्छेले दिनहुँ सुनिरहेकै छन्/सुनिरहनेछन् । तर, उनको ठाउँ कसैले लिन सक्दैन र कोही अर्को जन्मँदैन पनि । भारतीय गीतकार मनोज मुंतशिरले लेखेका छन्, ‘म निराशावादी होइन । तर, कुनै लता मंगेशकरले फेरि धर्तीमा जन्म लिनेछिन् भन्ने झुठो आशा पनि गर्दिनँ । यस्तो चमत्कार दोहोर्‍याउन प्रकृति पनि अक्षम छ । अलविदा दिदी ! आज आँखा आँसुले भिजेको छ । तर, म मेरो कलमबाट जन्मेको पहिलो गीतमा दिदीले आवाज दिएको सम्झेर जीवनभर मुस्कुराउनेछु ।’

बीबीसी हिन्दी सेवालाई सन् २०२१ मा दिएको अन्तर्वार्तामा लताले भनेकी थिइन्, ‘मेरी आवाज ही मेरी पहचान है...।’ जावेद अख्तरले फिल्म ‘किनारा’ का लागि लेखेको हेमा मालिनी, जितेन्द्र र धर्मेन्द्रले अभिनय गरेको यो सिनेमाको ‘नाम गुम हो जाएगा, चेहरा बदल जाएगा, मेरी आवाज ही मेरी पहचान है, गर याद रहे...’ लताको लोकप्रिय गीतहरूमध्ये एक थियो ।

निश्चय नै लताको जीवन चेहरा अब हाम्रासामु नहोला, तर सन् १९६६ मा ‘ममता’ फिल्ममा उनले गाएको गीत ‘रहें ना रहें हम महका करेंगे, बन के भली, बन के सवा बागे वफा में’ भनेझैं अथवा यही गीतकै अर्को पंक्ति ‘मौसम कोई हो इस चमन में रंग बन के रहेंगे’ भनेजस्तै या यही गीतकै अर्को लाइन ‘हम न होंगे जब हमारी ख्वाब पे तुम रुकोगे चलते चलते’ भनेझैं भएको छ ।

संगीत र हाम्रो जीवनको ‘बाग’ मा लता सुगन्ध बनेर ‘महक’ ले हामीलाई मोहित पारिरहेकी छन् । हाम्रो ‘चमन’ वा जीवनको बगैंचामा रङ बनेर चम्किरहेकी छन् । र, सपनामा होइन विपनामै जब कतै उनको सुमधुर स्वर गुन्जिन्छ हामी हिँड्दाहिँड्दै रोकिन्छौं । गीतकार मजरुह सुल्तानपुरीले लेखेको, संगीतकार रोशनले संगीत दिएको यो गीत जति सुने पनि मन अघाउँदैन । फिल्म ‘दिल अपना और प्रीत’ पराईमा उनले गाएको यो गीत अन्तिममा उद्धृत गर्न चाहन्छु–

अजीब दास्तां है ये, कहाँ सुरु कहाँ खतम

ये मञ्जिले हैं कौन सी, न तुम समझ सके न हम

वास्तवमा लताको जीवन संघर्ष र सफलताको ‘अजीब दास्तां’ हो । कल्पनातीत, असम्भव र असामान्य छन् उनका उपलब्धि । ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाउनु कसरी सहज र स्वाभाविक लाग्नु ! तर, उनले गाइन् । बीसौं शताब्दीकी एक महान् गायिका र संगीत क्षेत्रको एउटा अचम्मकी उपलब्धि हुन् लता । पछिका कैयौं पुस्ताले पनि लताको गीतमा आफ्नो जीवनका उमंग, उदासी, दुःख, पीडा, प्राप्तिका कोमल अनि कठोर क्षणहरू भेट्नेछन् । र, उनीहरूका मनमा समेत लता बाँचिरहनेछिन् ।

शताब्दीकी गायिकामा हार्दिक श्रद्धाञ्जली !

प्रकाशित : माघ २९, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?