कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आमा भएर बाँची हेर

बढ्दै गरेकी किशोरी छोरीप्रति आमाको चिन्ता के हुन्छ ? निःसन्देह दुनियाँको कामुक नजर र अश्लीलताबाट उसलाई बचाउनु हुन्छ ।
अभय श्रेष्ठ

एउटी युवती कपडा खोलेर स्तन देखाउँदै सोध्छे, ‘कसैलाई दूध चाहिन्छ ?’ झट्ट हेर्दा यस्तो दृश्य, जो कसैलाई अश्लील लाग्छ । तर, जब ऊ आफ्नो मर्मभेदी कथा सुनाउँछे, एकाएक त्यो दृश्यमाथि करुणाको सागर उर्लेर आउँछ । त्यसभित्र मानवतालाई पिर्ने एउटा हृदयविदारक कथा हुन्छ ।

आमा भएर बाँची हेर

ऊ भन्छे, ‘मसँग भएको यही दूध हो । अब मलाई यसको कुनै काम छैन । जर्मनहरूले मेरो दूधे नानीलाई गोली ठोकेर मारिदिए । तिमीलाई चाहिन्छ भने लिएर जाऊ ।’

आमाले छर्लङ्ग स्तन देखाएर बच्चालाई दूध खुवाउँदा त्यहाँ कतै अश्लीलता झल्किन्न । तर, कसैले पनि ग्लामरका नाममा शरीरको कमनीयता प्रदर्शन गर्छ भने त्यसको मनसाय सरासर अश्लील हुन्छ । सत्य सापेक्ष हुन्छ भनेको यही हो । अल्बर्टो मोराभियाको उपन्यासमा आधारित भित्तोरियो डे सिकाको विश्वविख्यात फिल्म ‘टु वमेन’ को यो दृश्य हेर्दा जोकोही कायल हुन्छ । सम्भवतः यो विश्व सिनेमाकै सबैभन्दा मर्मभेदी दृश्य हो । युद्धको विभीषिकाबाट छोरीलाई बचाउन रोमबाट सियोसियरा गाउँ गएकी एउटी महिला त्यस युवतीलाई सोध्छे, ‘यतातिर चिनी, पिठो वा अरू खानेकुरा कता किन्न पाइएला ? तिमीलाई थाहा छ कि ?’

‘मैले खानेकुरा कहाँ लुकाएकी छु भनेर तिमी जर्मनहरूलाई कुरा त लगाउँदिनौ ?’ ऊ प्रतिप्रश्न गर्छे ।

‘सत्य ! म कसैलाई केही भन्दिनँ, तिमी भन न !’

‘मैले उनीहरूलाई भनेको अन्तिम कुरा के थियो, थाहा छ ? मसँग केही छैन, मैले भनेँ । उनीहरूले सोधे, केही छैन ? त्यसपछि उनीहरूले दनादन गोली चलाए... ! उनीहरूले मेरो दूधे नानीलाई गोली ठोकेर मारिदिए । अब यो दूध कसलाई खुवाउनु मैले ? दूध कसैलाई चाहिन्छ ? (जाँदै) मेरो दूध कसैलाई चाहिन्छ ?’

युद्धको चरम त्रासदी देखाउने यो एउटा मर्मभेदी दृश्य हो । मूल कथा त सन्तानप्रति आमाको असीम चिन्ता हो । युद्धको पन्जाबाट किशोरी छोरीलाई बचाउन हिँडेकी एउटी जवान आमाको विपत्ति हो । युद्धले उपहार दिएको भोक, शोक, विपत्ति र भयको हो । बढ्दै गरेकी किशोरी छोरीप्रति आमाको चिन्ता के हुन्छ ? निःसन्देह दुनियाँको कामुक नजर र अश्लीलताबाट उसलाई बचाउनु हुन्छ । दोस्रो विश्वयुद्धमा हिटलरका खुसामदी इटालीका प्रधानमन्त्री बेनिटो मुसोलिनीलाई सन् १९४३ मा राजा भिक्टर इमानुएलले अपदस्थ गरेपछि जर्मनीले रोममा आक्रमण गर्दाको कथा हो यो । जर्मनीका नाजी सेना इटालीका राजा र नयाँ प्रधानमन्त्रीविरुद्ध कारबाहीमा उत्रिन्छ ।

त्यस क्रममा भएको हवाई आक्रमणमा परेर रोम तहसनहस हुन्छ । आवास ध्वस्त, व्यापार अस्तव्यस्त, धनजनको नष्ट, शासकको बुद्धि भ्रष्ट ! यस्तो स्थितिमा रोम सहरमा साधारण पसल चलाएर बसेकी विधवा युवती सियरा भोक, सम्भावित रोग, शोक, विपत्ति र नाजी सेनाको गिद्दे नजरबाट छोरीलाई सुरक्षित राख्न आफ्नो पुर्ख्यौली गाउँ फर्कन्छे ।

आमाको अवदान

म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ की पेलागेया निलोभ्नाको चरित्र असाधारण छ । गोर्की यस कृतिमा छोरा र उसका क्रान्तिकारी साथीहरूलाई प्रेम गर्दागर्दै एउटी अशिक्षित आमा कसरी उनीहरूसँगै अत्याचारी शासनविरुद्ध क्रान्तिमा होमिन्छे भन्ने महागाथाको वर्णन गर्छन् । महाश्वेतादेवीको ‘१०८४ की आमा’ को सार पनि लगभग यस्तै हो ।

मोपासाँको कथा ‘साइमनको पिता’ मा एउटी सुन्दरी विधवा छोराको चाहना पूरा गर्न एक जना साधारण मजदुरसँग बिहे गर्न राजी हुन्छे । ‘टु वमन’ फिल्मकी आमाको कथा भने अलि फरक छ । ऊ यो जाली र क्रूर दुनियाँमा बाँचिरहेकी त्यो साधारण दीनदुःखी नारी हो, जसका अनेक निरीहता र बाध्यता छन् । तर, सन्तानको सुख र सुरक्षाकै खातिर जिन्दगी समर्पित गर्ने उदात्त भाव भने संसारभरिकै आमाहरूमा उस्तै छ । जब कुनै युवती आमा बन्छे, ऊ आफू स्वतन्त्र व्यक्तिमा सीमित रहन्नँ, त्यहाँ ऊ लगभग गयल हुन्छे र सन्तानमा आफूलाई एकाकार गर्छे । चाँदनी शाहको एउटा चर्चित गीत छ– आमा भएर बोकी हेर, सन्तानका पीरहरू । ठ्याक्कै त्यस्तै ।

आमा–छोरीले भोग्नुपरेको विपत्को चित्रण मोराभियाको उपन्यासमा अझै गहिरो छ । रोज हवाई आक्रमणले रोम सहरको जीवन बाँचिनसक्नु हुन्छ । अनिकाल सुरु हुन्छ । यस्तै बेला सियरा छोरी रोजेटाको रक्षक भएर युद्ध नसकुन्जेल पुर्ख्यौली गाउँ जाने निधो गर्छे । तर, सियसियरा प्रदेशको त्यो पहाडी गाउँ निकै टाढा छ । त्यहाँका बासिन्दा मुस्किलले जुट्ने रोटी र वाइनको भरमा बाँचिरहेका हुन्छन् । नौ महिनासम्म दुई आमा–छोरी भोक, रोग, शोक, गरिबी र ठन्डीविरुद्ध संघर्ष गर्छन् । एलाइड फोर्स (अमेरिका, रुस, बेलायत र फ्रान्सको संयुक्त सेना) ले रोम सहरलाई नाजी सेनाबाट मुक्त गरेपछि उनीहरू रोम फर्कन्छन् ।

जीवनको दुर्भाग्य हेरियोस्, एकातिर इटालीलाई नाजी आतंकबाट मुक्त गरेकोमा संयुक्त मुक्ति सेनाको जयजयकार हुन्छ । अर्कोतिर त्यही मुक्ति सेनाको फ्रान्सेली फौजअन्तर्गत मोरक्कन गुमिएर्सले आमा–छोरीमाथि आक्रमण गरी किशोरी रोजेटामाथि सामूहिक बलात्कार गर्छ । उपन्यासको यो प्रसंग राख्दा मोराभियाले सत्य घटनालाई आधार बनाएका छन् ।

सन् १९४४ मे १८ मा एलाइड फोर्सले इटालीको मोन्टे क्यासिनो कब्जा गरेपछि जर्नेल अलफोन्से जुइनको कमान्डमा रहेको मोरक्कन गोमियर्स र कोलोनियल ट्रुप्सका हजारौं सेनाले रोम र नेपल्सको बीचमा पर्ने दक्षिणी लाजियोका गाउँहरूमा सामूहिक बलात्कार र हत्या आतंक मच्चाउँछन् । पीडितहरूको एक संस्थाअनुसार, ११ देखि ८६ वर्षसम्मका ६० हजार महिला बलात्कार तथा हिंसाको सिकार भए भने कैयन् महिला तथा पुरुष मारिए । पहिले नाजीले त्यहाँ अत्याचार गरे । नाजीलाई लखेट्ने मोरक्कन गुमिएर्सले नाजीलाई नै बिर्साउने गरी अत्याचार मच्चाए । उपन्यासमा यस घटनाले छोरी रोजेटा अवसादग्रस्त हुन्छे । बिस्तारै ऊ वेश्यावृत्तिमा धकेलिन्छे । उपन्यासमा मोराभियाले ती दुई नारीको विपत्तिको वर्णन गहिरो समानुभूतिमा पुगेर गरेका छन् ।

सिनेमामा यो दृश्य–कथा अझै हृदयविदारक छ । कुनै सवारी साधन नभेटेपछि आमा–छोरी पैदल यात्रा गर्न बाध्य हुन्छन् । बम आक्रमणले अस्तव्यस्त एउटा गिर्जाघरमा राति उनीहरू बास बस्छन् । त्यसैबेला मोरक्कन डफ्फा अत्यन्त बर्बर शैलीमा प्रस्तुत हुन्छन् र दुवै आमा–छोरीमाथि सामूहिक बलात्कार गर्छन् । छोरीलाई बचाउन आमाले गरेको संघर्ष यहाँ शब्दमा वर्णन गर्न असम्भव छ । ऊ आफैँ सामूहिक बलात्कारमा पर्छे । २५ जना सेनाको डफ्फासँग एउटी आमाले लड्न कतिन्जेल सम्भव हुन्थ्यो !

आमाको भूमिकामा रहेकी सोफिया लारेनलाई जब क्यामेराले क्लोजअपमा देखाउँछ, उनको अनुहारमा आफू बलात्कृत हुनुभन्दा कैयन् गुणा बढी छोरीलाई बचाउन नसकेको पीडा झल्किन्छ । संसारका खराब साहित्यमा असल फिल्म बनेका उदाहरण प्रशस्त छन्, तर असल साहित्यमा उत्कृष्ट फिल्म बनेका उदाहरण लगभग दुर्लभ छन् । यो सिनेमा तिनै दुर्लभ उदाहरणमध्ये एक हो, जसलाई कलाका दृष्टिले पनि विशेष उपलब्धि मानिन्छ ।

डे सिका शैली

नयाँ घटनाबाट सिर्जित नयाँ यथार्थलाई जस्ताको तस्तै चित्रण गरी इटालीका निर्देशकहरूले सिनेमामा नवयार्थवादी आन्दोलन सुरु गरेका थिए । दोस्रो विश्वयुद्ध र मुसोलिनीको शासनपछि इटालीमा जर्जर जनजीवन, आर्थिक दूरावस्था र तिनको दुःख, दर्दमा केन्द्रित भएर बन्ने यस्ता फिल्ममा निर्देशकहरू कृत्रिम सेट प्रयोग नगरी कथाको खास घटनास्थललाई नै रोज्थे ।

व्यावसायिक कलाकारभन्दा कथालाई सुहाउँदा स्थानीय सर्वसाधारणलाई नै अभिनय गर्न लगाउँथे । यसअघिका डे सिकाका ‘द बाइसाइकल थिभ्स’, ‘उम्बर्टो डी’, ‘सु साइन’ लगायत यस्तो मान्यताका नमुना फिल्म थिए । ‘टु वमेन’ मा पनि सोफिया लारेन र जँ पौल बेलमान्डोलाई छाड्ने हो भने किशोरी छोरी रोजेटाको भूमिका खेल्ने एलिएनोरा ब्राउनलगायत अधिकांश कलाकार स्थानीय सर्वसाधारण नै थिए । त्यतिन्जेल इटालीमा अलिअलि चिनिएकी नेपल्सको गरिब परिवारबाट आएकी लारेन यसै फिल्मबाट एकाएक विश्वविख्यात भइन् । संसारमै पहिलोपल्ट उनले गैरअंग्रेजी भाषाबाट सर्वश्रेष्ठ अभिनेत्रीको ओस्कार पुरस्कार पाइन् । क्यान्स फिल्म फेस्टिबल लगायत अन्य उत्सवमा फिल्मले २१ वटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्‍यो ।

युद्धको भय

विधवा सियरा त्यस युगकी महिला भएर पनि परम्परागत होइन । पतिसँग उसको सम्बन्ध प्रेममय थिएन । अतः रोम छाड्ने बेला प्रेमी जिओभानीलाई आफ्नो पसल रेखदेख गरिदिन आग्रह गर्दा उसैलाई शरीर सुम्पनु उसका लागि आपत्ति हुँदैन । सियोसियरामा सानो समूहसँग घुलमिल हुँदा २५ वर्षे कम्युनिस्ट युवा मिसेलसँग उसको दिलको तार गाँसिन्छ । नाजी सेनाले बम आक्रमण गरिरहँदा समेत मिसेलसँग समर्पित हुन उसलाई अप्ठेरो लाग्दैन । नारीको निरपेक्ष एकनिष्ठ प्रेम निरर्थक छ, मुख्य कुरा प्रेम हो ।

सियराको चरित्रले यस कुरालाई तर्कपूर्ण तरिकाले स्थापित गर्छ । छोरी रोजेटासमेत मिसेललाई उत्तिकै रुचाउँछे, जसमा ऊ आफ्नो मायालु पिताको छाया पाउँछे । पराजित हुँदै गएको नाजी सेना त्यहाँबाट भाग्न चाहन्छ, जसमा उनीहरू पहाडी बाटोमा मार्गदर्शक बन्न बाध्य पारेर मिसेललाई बन्दी बनाउँछन् ।

अझै हृदयविदारक स्थिति तब आउँछ जब छोरी रोजेटा बलात्कारपछि अवसादग्रस्त हुन्छे । रोम फर्कने आमाको असामयिक निर्णयकै कारण यस्तो दुर्घटना भोग्नुपरेको ऊ ठान्छे । रोजेटाको ट्रमा, आमासँग बढ्दो दूरी, बरालापन र किशोरी छोरी उमेर खाएको एक व्यक्तिसँग समर्पित भएर फर्कंदा आमाको चिरिएको हृदयको चित्र उतार्दा सिनेमाले दर्शकलाई पूरै समानुभूतिमा पुर्‍याउँछ । यी दुईको सम्बन्ध त्यतिखेर फेरि हार्दिक हुन्छ जब आमा छोरीलाई नाजी सेनाले मिसेलको हत्या गरेको खबर सुनाउँछे । एक निर्दोष बालिकाजस्तै रोजेटाले छाती पिटेर रुवावासी गरिरहँदा सिसेरा सान्त्वना दिइरहेकी हुन्छे । डेसिकाको क्यामेरा त्यही दृश्यमा क्लोजअप भएर सिनेमा सकिन्छ ।

अन्त्यमा

मलाई अक्सर लागिरहन्छ, ७० वर्ष पुराना इटालेली नवयथार्थवादी फिल्महरू प्रविधिलाई छाड्ने हो भने अहिलेका नयाँ भनिएका बहुचर्चित फिल्मभन्दा हरेक हिसाबले नयाँ लाग्छन् । कथावाचनको स्वाभाविक शैली, विश्वसनीय पटकथा, जीवन्त अभिनय र विराट् यथार्थले तिनलाई युगान्तकारी बनाएका छन् ।

‘प्यारासाइट’ लगायत आजका उधुमै चर्चित, प्रशंसित र हिट फिल्मले जस्तो तिनले अपवादका कथालाई सामान्यीकरण गर्ने गल्ती गर्दैनन् । इटालीमा बनेका ‘द बाइसाइकल थिभ्स’, ‘उम्बर्टो डी’, ‘बिटर राइस’, ‘द अर्थ ट्रेम्बल्स’, ‘रोको एन्ड हिज ब्रदर्स’, ‘रोम : ओपन सिटी’, ‘सु साइन’ आदि यसका ज्वलन्त उदाहरण हुन् ।

प्रकाशित : माघ २२, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?