घुर तापिरहेका मानिस

तराईमा दिनभरि शीतलहर चल्छ, रातभरि हावाले सिठ्ठी मार्छ । बिहान अबेरसम्मै बाक्लो कुहिरोले गाउँ छोप्छ । रात हुन्छ– सबैभन्दा चिसो र कठ्यांग्रिँदो !  कोठाको भित्ता छेडेर ओछ्यानसम्मै पुग्छ चिसो । छानोबाट पानी होइन जाडो चुहिन्छ । ओछ्यान बरफजस्तै हुन्छ । आउनुस् यो जाडोमा एकछिन घुर ताप्न तराई जाऊँ !
संगीता उराँव

पेटभरि नखाएको रात झन् धेरै जाडो लाग्छ ।
मनमा डर–चिन्ता छ भने पनि धेरै जाडो लाग्छ । 

घुर तापिरहेका मानिस

हरेक वर्ष पुस–माघको जाडो जंगलका जनावरले कसरी काट्दा हुन् ? मान्छेलाई मात्रै यस्तो जाडो हुन्छ कि तिनलाई पनि हुन्छ ? कम से कम तिनीहरू हामीजस्ता कमजोर छैनन् । कुनै जंगली जनावर वा चराचुरुङ्गीले कपडा लगाएको मैले देखेको छैन । जाडो भएर चिसो पानीका माछा घाम ताप्न पानीबाहिर निस्किएको मैले देखेको छैन । तर, कपडा लगाउँदा पनि मलाई किन यत्ति धेरै जाडो हुन्छ ? चिसो यत्ति छ कि गाईगोरुका रौं ठाडा भएका छन् । बाख्राको नाकबाट सिँगान चुहिएको छ । बाबाले बाख्राको आङमा मेरो पुरानो सर्ट बाँधिदिनुभएको छ ।

तराईको चिसो कस्तो डरमर्दो ! कोठाको भित्ता छेडेर ओछ्यानसम्मै पुग्छ चिसो । छानोबाट पानी होइन जाडो चुहिन्छ । ओछ्यान बरफजस्तै हुन्छ । आङमा ढाकिएको पातलो कपडाले ज्यान बच्नेवाला छैन । आमा भाइबहिनी र मलाई पुराना लुगाफाटा जोडेर आफैंले सिउनुभएको गुदडी (ओढ्ने) ले छोपिदिनुहुन्थ्यो ।

गाउँमा दिनभरि शीतलहर चल्छ, रातमा हावाले सिठ्ठी मार्छ । बिहान अबेरसम्मै बाक्लो कुहास (कुहिरो) ले गाउँलाई छोप्छ । रात हुन्छ– सबैभन्दा चिसो र कठ्यांग्रिँदो । हामी चार दिदी–भाइलाई गुदडी छोटो हुन्छ– एकतिर तान्यो अर्कोतिर ह्वाङ्गै ! त्यही मौका छोपेर जाडो गुदडीभित्र छिर्छ । आशा एउटै बाँकी रहन्छ, कतिखेर बिहान हुन्छ र घुर ताप्न जाऊँ !

...

त्यसदिन कुहिरो यति बाक्लो थियो कि नजिकै आइरहेको मान्छे पनि देखिँदैनथ्यो । गोरु हो कि मान्छे ? छुट्याउनै गाह्रो हुन्थ्यो । देखिन्थ्यो त बाक्लो कुहिरोबीच आगोको पिलपिल– घुर । घुर बलेको छ भने न देखिने हो, धूवाँ त कुहिरोको साथी भइहाल्यो ! उस्तै उस्तै लाग्ने ! अहिले सम्झिँदा लाग्छ, आ–आफ्ना घरअघि बाटोछेउ लस्करै घुर बालेर गाउँलेहरू जाडोको विरोधमा बस्थे ! अचेल माइतीघर मण्डलामा धर्ना दिएजस्तो, हामी त गाउँमा जाडोको विरोधमा हरेक बिहान घुरको धर्ना दिँदा रहेछौं !

गुनासो त हुन्थ्यो, तर जाडोसँग हामी कहिल्यै रिसाएनौं । किनभने शासकहरूजस्तो जब्बर त होइन जाडो । शासकहरूले झैं बाह्रैमास जाडोले शासन पनि गर्दैन । जाडोको विकल्प घुर छ गाउँमा । जाडोभन्दा चिसा शासकहरूको विरुद्ध विकल्प भएन । जाडो हामीलाई सम्झिएर बरु गाउँ आउँछ हरेक साल । शासकहरूलाई पत्तो छैन हामी कहाँ छौं ! अब सायद शासकहरू चुनाव लागेपछि गाउँतिर आउलान् ।

लौ त हजुर, ठूला कुरा गरेँ कि ? माफ पाऊँ । बरु आफ्नै गाउँको कुरा गर्छु ।

एक बिहान घुरको धूवाँ आकाशतिर उड्न तम्सिरहेको थियो । तर, कुहिरो घुरलाई नै छोप्ने सुरमा थियो । बाचालाल हजुरबा एक जोर चप्पल घिर्सार्दै कोदालो लिएर सिउँसिउँ गर्दै खेतमा निस्किनुभयो– छरेको गहुँमा पानी पटाउन । ‘तर, जाडोले गर्दा तीन दिन भयो पानी पटाउन नगएको,’ कर्मा हजुरबालाई भनिरहनुभएको थियो । बच्चाहरू, बूढी हजुरआमाहरू थोरै र धेरैजसो त पुरुषहरू देख्न पाइन्छ घुरमा पनि । चिसो भए पनि घुरमै बसिरहन महिलाहरूलाई समय छैन, घरधन्दामा लाग्नैपर्छ !

अजमा हजुरबाको घुरमा त्यसदिन आगो बालिएको थिएन । चारवटा कुकुरका बच्चाहरू आमाको दूध चुस्दै रमाइरहेका थिए । हप्तादिन भएको थियो कुकुरले बच्चा पाएको । खरानीको न्यानोमा कुकुरका माउ–बच्चा मस्त थिए । कहिलेकाहीँ खरानीभित्रको आगोले रौं डढाउँदा पनि कुकुरहरू न्यानो खरानीमा लोभिइरहन्छन् । बच्चाहरू आफ्नो शरीरमा गुटमुटिँदै दूध चुस्दा आनन्दले आँखा चिम्म गरिरहेकी आमा बेलाबेला नाकमुनिको खरानीलाई लामो सासले उडाउँछे ।

हामी साथीहरूले अजमा हजुरबाको घुरमा आगो बाल्यौं । अर्को घरबाट ल्याएर धानको खकडी हाल्यौं । आशा भनेको त यस्तो पो हो, खकडीबाट पनि धानको फूल निस्कियो । हामी तँछाडमछाड गर्दै घुरबाट धानको फूल निकालेर खान थाल्यौं । हरेक बिहान घुरसँगको साइनो यही हो । विशेष केही छैन । प्राण हर्ने चिसो काट्न हाम्रा लागि घुर सहारा भयो ।

...

घुरका अनेकौं किसिम छन् । सुकेको पराल हालेको घुरको घमण्ड बेग्लै हुन्छ । ऊ आगोको बाक्लो ज्वाला बोकेर आकाशतिर जान खोज्छ । घुरवरिपरि बसेका हामी आत्तिएर अलि पर सर्छौं । किनभने आगोको लप्का हामीलाई जिस्क्याउन जीउको लुगासम्म आइपुग्छ । यस्तो घुरको महत्त्व बेग्लै हुन्छ– हामी ज्यान फर्काई–फर्काई सेक्छौं, ढाड र चाक पनि सेक्छौं । तर, यस्तो घुर क्षणिक हुन्छ । एकै निमेषमा निभिहाल्छ । घुरले बारम्बार सुकेको पराल पाउँदैन । किनभने गाई–गोरुलाई खुवाउनु छ त्यही पराल ।

बाबाहरूको आँखा छलेर कहिलेकाहीँ हामी माचबाट पराल चोर्थ्यौं । उहाँहरूले देखिहाल्नुभो भने ढाड भाँचिने डर ! जाडोले ज्यान लाने डर ! घुर पनि ताप्नु छ, पराल पनि जोगाउनु छ ! त्यसै पनि हामी बाटोको रहलपहल पराल वा पातपतिङ्गर खोज्थ्यौं । शीतले भिजेको वा ओस्सिएको हुन्थ्यो त्यो । भिजेको परालको घुर सबैभन्दा दिग्दारिलो हुन्छ, अल्छी र कुटिल मान्छेहरूजस्तो । धूवाँ मात्रै आउने, बल्दै नबल्ने ! ढासढास गरिरहने ! फुक्दा पनि धूवाँ मात्रै दिइरहने । यस्तो घुर फुक्दा फुक्दा भननन्न रिंगटा चल्थ्यो ।

खरानीको घुर भ्रम हो कि सत्य ? थाहा छैन । रहलपहल सबै पराल सक्किएपछि विकल्प के हुन्छ त खरानी नतापी ? आगो नभए पनि न्यानो किन लागेको होला ? आशा त होला लोकतन्त्रजस्तो ? खरानीको आगो र लोकतन्त्र उस्तै लाग्छ मलाई । न्यानो छजस्तो पनि, छैनजस्तो पनि ! बल्छ भन्ने आसमा हामी वरिपरि बसिरहेका छौं ।

घुरवरिपरि बाहेक दोकानमा चिया पिउनेको भीड हुन्छ हरेक बिहान । पसलको अड्डा पुरुषहरूको हो । दोकानछेउ पनि घुर त हुने नै भयो । तातो–तातो चियाको चुस्की लाउँदै, घुरमा शरीर न्यानो बनाइरहेका बधनु उराँव भन्थे, ‘धत् जाडो पनि यति धेरै बढ्यो कि ननुहाएकै दुई हप्ता हुन लाग्यो ।’ त्यसपछि घुरमा हात–ज्यान सेकाइरहेकाहरू गललल हाँस्थे । मान्छेहरू रमाएको देखेर उनी फेरि भन्थे, ‘साँच्चै भन्दै छु, पानी पनि छुन मन लाग्दैन । भात खान पनि हात धुनु नपरोस्जस्तो लाग्छ । पानी सम्झिएर दिसा बस्न पनि मन लाग्दैन ।’ फेरि सबै हाँस्थे । लक्ष्मण काका पनि यस्तै भन्थे, ‘अरोतोरीके... जाडोले गर्दा बिहान उठ्नै मन लाग्दैन । अब उठ्छु तब उठ्छु भन्दाभन्दै ओच्छ्यान छोड्नै मन लाग्दैन । उठिहाले पनि सरासर चिया दोकानतिर चिया पियो ज्यान ततायो ।

राति पनि खाना खाएर एक घन्टा घुर तापेर मात्रै ओछ्यानमा जाने बानी पर्‍यो । साला बिस्तारा पनि चिसो न चिसो ।’ बिहे नभएका केटाहरू बिहे भएकाहरूतिर टाउको उठाउँदै भन्थे, ‘तपाईंहरूलाई न्यानो राख्ने भाउजूहरू छँदैछ नि, हामी पो काँप्दै रात कटाउनुपर्छ ।’ फेरि हाँसो छुट्थ्यो । घुरका तापिरहेका मान्छेहरूका यस्ता गफहरू साह्रै रमाइला हुन्थे । घुरको त्यो तातो र कुराकानी अहिले पनि सम्झनामा छन् ।

...

अभावको पढाइ मेरा लागि महत्त्वपूर्ण थियो । झन् त्यसमाथि जाडोमा स्कुल जानु हाम्रा लागि सबैभन्दा ठूलो परीक्षा थियो । पुस जति नै चिसो भए पनि सम्झनाहरू अचेल न्यानो हुँदारहेछन् । पुस आउँदा मेरी बहिनी (काकाकी छोरी) पनि सँगै आउँथी । एक बिहान जब म स्कुलबाट घर फर्किएँ, छानोमा कुहिरोसँगै धूवाँ पनि रन्थनाइरहेको थियो । ओसरामा चढेर ढोकाभित्र छिर्नै लाग्दा बैरको हाँगामा भएको काँडाले कपाललाई तान्यो । हजुरआमा गनगन गर्दै कोठाबाट बाहिर निस्कनुभयो, ‘फेरि पनि छोरी नै जन्मिई ।’

आमाको काखमा थिई– नवजात बहिनी । चिसो असाध्यै बढेको थियो । परालको घुर त एकैछिनमा निभिहाल्थ्यो । गोबरको गुइँठा बालेर आमा–बच्चालाई चिसोऽऽऽ बाट जोगाउने उपाय हुँदै थियो । तर, घुरको न्यानोमा कतिन्जेल बस्ने ? ओछ्यान चाहिन्छ नै आराम गर्न ! हरे ! सुत्ने ओछ्यान कस्तो थियो भने त्यहाँ दुई बिटा पराल फिँजाएर त्यसमाथि गुदडी (कपडाको ओढ्ने) ओछ्याइएको थियो । र, ओढ्नलाई थियो एउटा पातलो च्यादर ! स–साना साडीका टुक्राहरू थिए, भर्खरै जन्मिएकी बच्ची बेर्न । हामीले झैँ नवजात शिशु जाडोसँग लडाइँ लड्न आएकी थिई कि मित्रता गाँस्न ? हामी पनि त त्यसरी नै हुर्कियौं ।

पेट अघाएको छ र मन खुसी छ भने जाडोले पनि कम हेप्दोरहेछ !

प्रकाशित : माघ २२, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?