२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

समजीको रिक्सा सवारी

बालकृष्ण समद्वारा लिखित एउटा नाटकको पाण्डुलिपि प्रकाशित गर्छु भनेर एक विद्यार्थी केटो, जो आज एक राजनीतिक पार्टीका ठूलै नेता छन्– ले लगेका रहेछन् ! त्यसपछि उनले आफ्नो अनुहार देखाएनन् । सम्भवतः त्यो नाटक कुनै दोस्रो व्यक्तिको नाममा छापिएको हुनुपर्छ । 
विमल भाैकाजी

२०३२/३३ सालतिर हुनुपर्छ मैले नाटककार बालकृष्ण समलाई देखेको । सुकिलो गेटअप ! दौराको फेर निक्कै लामो, घुँडाभन्दा मुनिसम्मको ! आकर्षक त दौराको सुर्कना पारिएको नाम्लापाते लामो तुनो लाग्थ्यो ।

समजीको रिक्सा सवारी

उनलाई प्रायः रिक्शामा एक्लै देख्थेँ । रिक्शाको ढकनी ह्वाङ्गै खोलिएको हुन्थ्यो । र, धीमा गतिमा सरर हावा खाँदै समजी सवार देखिन्थे । रिक्सामा प्रत्येक पटक उनलाई भोटाहिटीको साझा भण्डारअगाडि देखेको हुँ । सायद आफ्नो निवास ज्ञानेश्वरबाटै चढ्थे कि ! उनको यात्रा कहाँसम्म हुन्थ्यो, कहिल्यै थाहा भएन ।

...

साझा भण्डारको एकतले पुरानो भवनको ठीक पछाडि कृष्णगोपाल जोशीको घरको एक तला पूरैमा हामी भाडामा बस्थ्यौँ । अहिले त्यो घर छैन । त्यसको रूप परिवर्तन भएर आधुनिक व्यापारिक घर बनेको छ । साझा भण्डारले पनि नापनक्सा फेरिसकेको छ ।

हाम्रो बासस्थान आइपुग्ने एउटा गल्ली थियो । त्यो छँदै छ । तर, गल्लीको रूप परिवर्तन भइसकेको छ । त्यतिखेर अलि फोहोर थियो । अहिले सफा छ । साँघुरो त्यो गल्लीको दायाँ–बायाँ अहिलेको जस्तो फुटपाथे पसल थापिन्थे । बायाँतर्फ अग्लो पर्खालले छुट्ट्याइएको ललितकला क्याम्सप । त्यसको ठीक उतापट्टि दरबार हाइस्कुल । रमाइलो थियो वातावरण ।

हामी बस्ने जोशी दाइको घरमा रामजी श्रेष्ठको परिवार पनि डेरा लिएर बस्थ्यो । उनीसँग एउटा फलामको गाडा थियो । प्रत्येक बिहान त्यो गाडा ठेल्दै उनी साझाका मूलगेटछेउमा अड्याउँथे । र, रात नपरुन्जेल दिनभर त्यहाँ उनको दम्पतीले व्यवसाय सञ्चालन गर्थ्यो । फलामे गाडामा धेरै चीज हुन्थे– हुलाक टिकट, पोस्टकार्ड, पोस्टर एवम् सिनेमाका गीति पर्चालगायत केही पुस्तक–उपन्यास ।

‘रामजी, रामजी !’ रामजीलाई सम्बोधन गर्दै साँझपछिको समयमा हामी बसेको घरको तल्लो भर्‍याङदेखि माथिल्लो कोठाको भर्‍याङसम्मै बारम्बार कसैको आवाज उक्लन्थ्यो । मैले कहिल्यै वास्ता गरिनँ, त्यो सम्बोधन कसको थियो ? त्यो मान्छे बारम्बार किन आउँथे ? हाम्रो कोठामा त्यो आवाज मात्रै सुनिन्थ्यो, बोलाउने व्यक्तिको अनुहार प्रत्यक्ष देखेको थिइनँ । धेरै पछि पत्तो पाएँ, रामजीलाई बोलाउने ती मान्छे समजी रहेछन् ।

किन आइरहँदा रहेछन् उनी ? हल्का–बजारिया हिन्दी–नेपाली पुस्तक–पत्रिकाहरू, खासगरी यौनमूलक पुस्तक–पत्रिकाहरू लिन आउँदा रहेछन् समजी । थाहा भएसम्म, त्यस्ता किताबको मूल्य त्यतिखेर ५० पैसादेखि एक रुपैयाँ थियो ।

एक साँझको समय । मेरा आँखा समजीमा परे । कोठाको झ्यालबाटै देखिएका थिए । हाम्रो डेराअगाडिको फोहोर बग्ने नालाको डिलमा आफ्नो दौराको फेर माथि सारेर सुरुवालको इँजार खोल्दै पिसाब फेर्न बस्न खोजेका देखेँ समलाई । म र मेरा दाजु विनोदले हतार–हतार उठाउन खोज्दै पछाडिपट्टि करिब–करिब हात लगाएर विनम्रतापूर्वक भन्यौँ– ‘हजुर, भित्र जाऊँ न !’

झन्डै बसिसकेका समजी सुस्तरी उठे र आश्चर्यसाथ हामीलाई नियाल्दै सँगै भित्र पसे । हामीले उनलाई घरभित्रको शौचालयसम्म डोर्‍यायौँ । हामीलाई भित्रभित्रै सङ्कोच लागिरहेको थियो । राणाजीका सन्तान ! त्यति सुकिलो मान्छे ! र, हामी बसेको पुरानो घरको त्यो पारम्परिक शौचालय ! पटक्कै सुहाउँदो थिएन । म अहिले सम्झन्नँ, शौचपश्चात् उनी कता लागे ?

सम्भवतः त्यही नै समजीसँगको मेरो पहिलो र अन्तिम प्रत्यक्ष देखादेखी थियो । त्यसपछि मैले उनलाई नजिकबाट कहिल्यै देखिनँ ।

...

समजीको सन्दर्भ आउँदा पटक–पटक कवि पूर्ण वैद्य भनिरहन्थे, ‘समजी अनौठो व्यक्तित्वका थिए । ठूलो हुँ, महान् हुँ भन्ने अभिमान किञ्चित् देखिन्नथ्यो उनका अनुहार वा बोलीवचनमा । अत्यन्तै विनम्र, अत्यन्तै सहज, दुई हात जोडरै बोल्थे ।’

घरभित्र बस्दा होस् कि बाहिर हिँड्दा, असाध्यै सुग्घर बन्नुपर्थ्यो समलाई । घरमा उनलाई भेट्न पुग्नेहरू भन्छन्– कोठामा मस्त सिँगारिएर मात्रै उनी मान्छेहरूलाई भेट्थे र महिलाले झैं अनुहारमा क्रिम दल्थे, शरीरमा अत्तर छर्थे । समका शिष्य प्रचण्ड मल्ल भन्थे, ‘सम रङसँग पनि बढी खेल्थे ।’ भन्नेले कतिसम्म भनेका छन् भने उनीजत्तिका प्रवीण–सिद्धहस्त चित्रकार नेपालमै जन्मेका छैनन् । उनले रूखको एउटा यस्तो चित्र बनाएका थिए रे, सामुन्ने साँच्चिकै रूख उभिएजस्तो ! रूखका टोड्काहरू छाम्न सकिनेजस्तो !

...

कालान्तरमा कमलपोखरी/ज्ञानेश्वरस्थित समजीको आवास पुगें, ०५५ सालमा– एउटा साहित्यिक प्रयोजनका निम्ति । त्यहाँ थिए, समजीका नाति जीवनजी (जनार्दन समका पुत्र) ।

भाञ्जा सुवर्ण कर्माचार्य र मेरो सहकार्यमा नयाँ गेटअपसहितको ‘घुयेंत्रो’ (जुन ०१७ सालको राजनीतिक फेरबदलपश्चात् त्यसको विपक्षमा विद्रोह गर्ने लक्ष्यका साथ हस्तलिखित रूपमा प्रकाशित हुन्थ्यो) पुनः प्रकाशनका निम्ति हामी लागिपर्‍यौँ । ०५५ सालको माघमा प्रथम अङ्क निकाल्यौँ । तेस्रो अङ्क ‘दिवङ्गत लेखक अङ्क’ प्रकाशन गर्ने सोच्यौं । लेखकका अप्रकाशित रचना समावेश गर्ने परिकल्पना गरियो । जीवनजीबाट मलाई समजीको हस्तलिपि भएको एउटा सिङ्गै ‘डायरी’ उपलब्ध भयो । उक्त अङ्कमा ‘अध्यात्मवाद र भौतिकवाद’ शीर्षकमा समको दर्शनवादी रचना समाविष्ट छ । समजीले चित्र कोरिरहेको एउटा तस्बिर पनि छापिएको छ ।

बालकृष्ण समद्वारा लिखित एउटा नाटकको पाण्डुलिपि प्रकाशित गर्छु भनेर एक विद्यार्थी केटो, जो आज एक राजनीतिक पार्टीका ठूलै नेता छन्– ले लगेका रहेछन् ! त्यसपछि उनले आफ्नो अनुहार देखाएनन् । जीवनजीको आशङ्काअनुसार– समजीको निधनपश्चात् सम्भवतः त्यो नाटक कुनै दोस्रो व्यक्तिको नाममा छापिएको हुनुपर्छ ।

‘घुयेंत्रो’ को ‘दिवङ्गत लेखक अङ्क’ देख्दा चार दशकअघिको समजीको शान्त अनुहार मेरो स्मृतिमा ओहोरदोहोर गरिरहन्छ ।

प्रकाशित : माघ २२, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?