कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७
कोसेली क्लासिक

नाकको भूगोल

नाक मुहारको बीचमा खिचिएको त्यो रेखा हो, जसले केन्द्र स्थापित गर्छ । त्यो केन्द्रले मुहारको अरु अंगको अनुपात निर्धारण गर्छ । प्लास्टिक सर्जनहरुका अनुसार, केन्द्रको दायाँ र बायाँ पाटो बरोबरी मिलेको छ भने त्यो मुहार सुन्दर प्रतीत हुन्छ रे ! तर, प्रकृतिले सबैको मुहार नापीनापी बनाएको हुँदैन । त्यसो भन्दैमा अनुपात नमिलेका मुहार असुन्दर भइहाल्दैनन् ।
हरेक मान्छेको आफ्नै शरीरको गन्ध हुन्छ । त्यो अरुसँग दाँज्न नमिल्ने पृथक् र विशिष्ट हुन्छ । जस्तो डीएनए र फिङ्गरप्रिन्ट हुन्छ । त्यसैले पसिनाबाट आउने गन्ध पनि मान्छेको पहिचान हो ।
शिवानीसिंह थारू

पहिला तथ्यबाट सुरु गरौं ।
मान्छेहरूमा कतिथरीका नाक हुन्छन् ?
१४ किसिमका, कम से कम । 

नाकको भूगोल

यो उत्तर गुगलले ०.४९ सेकेन्डमा मिलिक्कै दिएको हो ।

तपाईं अचम्म मान्नुहोला । विश्वका सात अर्ब मान्छेहरूमा केवल १४ किसिमका नाक !

पख्नुस् ! यति बुझ्दा ‘कम से कम’ जोड्न नभुल्नुहोला । किनकि गुगलले चौध किसिमको भनेर देखाउँदा ‘एट लिस्ट’ भन्न छुटाउँदैन । अर्थात् ठोकुवा गरेर भन्न अझ विस्तृत अनुसन्धान आवश्यक देखियो । कारण यो १७९३ मान्छेका फोटो लिएर तिनका नाकलाई अध्ययन गर्दा पत्ता लागेको हो । यसको अनुसन्धान इजरायलको बेन–गुरियन विश्वविद्यालयका प्राध्यापक अब्राहम तामिरले गरेका हुन् ।

तर, गुगललाई सोधिने रोचक प्रश्न यो होइन । रोचक त गुगललाई नाकसम्बन्धी सोधिएका अन्य प्रश्नहरू हुन् । जुन गुगल परिणाम पेजमा एक खुड्किलो तलतिर देखाइएको हुन्छ– ‘मान्छेहरूले यो पनि सोध्छन्’ शीर्षकमा । जस्तो, गुगललाई सोधिएको रहेछ– ‘मैले राम्रो नाक कसरी बनाउन सक्छु ?’ ‘संसारमा सबैभन्दा ठूलो नाक कसको छ ?’ ‘कुन उमेरमा नाक अत्यधिक बढ्छ ?’ ‘मेरो नाक चुच्चो किन छ ?’ ‘नाकको बोसो कसरी घटाउने ?’ ‘नाकको व्यायाम गर्दा के नाक राम्रो देखिन सक्छ ?’... आदि इत्यादि ।

ती सबै प्रश्न नाकको सुन्दरतासित सम्बन्धित थिए । तर, व्याकुलताका साथ मैले खोजिरहेको प्रश्नोत्तर नाकको बाहिरी आवरणसित थिएन । त्यसैले जब म अजबअजबका प्रश्नहरू पछ्याउँदै पेज तलतल पुगेँ तब एउटा प्रश्न देखा पर्‍यो । ‘सुत्दा पनि म राम्री कसरी देखिन सक्छु ?’ त्यसपछि मैले बुझेँ । सुन्दरतासम्बन्धी प्रश्नको जालो नसकिए पनि नाकको आवरणसम्बन्धी प्रश्नहरू सकिएछन् ।

खास मैले खोजिरहेको थिएँ, नाकको भित्री बुनोट र बनावट । म जान्न चाहन्थेँ– नाकको कुन तन्तुमा कोरोना भाइरसले क्षति पुर्‍याउँदो रहेछ, जसले गर्दा नाकले ठीकठीक सुँघ्न बिर्सिंदोरहेछ । र, त्यो तन्तु हाम्रो दिमागको स्मरणशक्तिसित कसरी जोडिएको हुन्छ ? कोभिडबाट निको भएको सात महिना भइसक्दा पनि नाकको बास्ना पूरै नफर्किएको हुँदा यसको असर लामो अवधिपछि कस्तो हुने हो ? यिनै कौतूहलले मलाई गुगलतिर डोर्‍याएको थियो ।

तर, म वैज्ञानिक र ठोस उत्तर खोज्दाखोज्दै नाकको दार्शनिकतातिर डोरिएछु । नाकको मूर्त भूगोलको अमूर्त वास्तविकतातिर घोत्लिन पुगेछु । नाकको उचाइबाट संसार जस्तो देखिन्छ, त्यो पो हेर्न पुगेछु । नाकको गहिराइमा डुबुल्की मार्दा संसार बास्नाहरूमा फेला पारेछु । र, यो अनुभूति मलाई तिनटा आख्यानहरूले दिए । पहिलो थियो, युक्रेनी मूलका रसियाली लेखक निकोलाई गोगोलको कथा– ‘द नोज’ । दोस्रो थियो, जापानी लेखक र्‍योनोसुके आकुतागावाको कथा– ‘द नोज’ । तेस्रो थियो, जर्मन लेखक प्याट्रिक सस्किन्डको उपन्यास– ‘पर्फ्युम’ ।

त आउनुस् तपाईंलाई लिएर जाऊँ नाकको ‘एकादेशमा...’ ।

'द नोज’– निकोलाई गोगोल

कथाको पहिलो लाइन यसरी सुरु हुन्छ– ‘एउटा अचम्मको कुरा भयो सेन्ट पिटर्सवर्गमा मार्च २५ को दिन ।’

खासमा त्यस दिन इभान याकोभलेभिच भन्ने हजामले एकाबिहानै पाउरोटीको रोलभित्र एउटा काटिएको नाक भेट्छ । अर्को अचम्म के हुन्छ भने त्यो काटिएको नाक कसको हो भन्ने पनि उसले चिन्छ । त्यो नाक उसकहाँ हजामत गर्न आउने कोभाल्योभको हुन्छ, जो राजतन्त्रात्मक रसियाको ओहोदाधारी कर्मचारी हुन्छ र आफूलाई ‘मेजर’ भन्न रुचाउँछ ।

त्यसपछि इभान याकोभलेभिचलाई त्यत्रो ठूलो मान्छेको काटिएको नाकबाट छुटकारा पाउन बडो सकस पर्छ । उता मेजर कोभाल्योभलाई आफ्नो हराएको नाकको खोजीले पूरै रिङ्ग्याउँछ । हराएको नाक भने इभान याकोभलेभिचबाट फुत्केर सेन्ट पिटर्सवर्गभरि हङ्गामा मच्चाउन भ्याउँछ । यति पढुन्जेल पाठक भित्रभित्रै कुत्कुतिएर नमुस्काइरहन सक्दैन । किनकि कथा व्यङ्ग्यात्मक शैलीमा हास्यरस मिसाएर वाचन गरिएको छ ।

मेजर कोभाल्योभको नाक किन काटियो र कसरी काटियो भनेर कहीँ पनि खुल्दैन । केवल एउटा संकेत छ । त्यो संकेत इभान याकोभलेभिचको चरित्र चित्रण गर्दा हो कि होइन जसरी खुलाइन्छ ।

इभान याकोभलेभिच शान्त र शीतल प्रकृतिको हजाम हुन्छ । रिस उठे पनि रिसाएको नदेखाउने बरु भित्रभित्रै भुटभुटिरहने खालको । भए पनि रिसको आवेग उसले आफ्नै पाराले शमन गर्ने हुन्छ । मेजर कोभाल्योभ हप्तामा दुई पटक ऊकहाँ हजामत गराउने ग्राहक हुन्छ । तर, हजामत गराउँदा ऊ एउटै कुरामा किचकिच गर्ने हुन्छ । भन्ने हुन्छ, ‘तिम्रो हात सधैँ गनाउँछ ।’ यही कुरामा किचकिच गर्दा इभानलाई पनि रिस उठ्ने हुन्छ । यसको प्रतिकारमा ऊ चुपचाप तमाखुको एक चिम्टी लिने गर्छ र साबुनको फिँज कोभाल्योभको अनुहारमा दल्ने गर्छ । दाह्री खौरने फिँज ऊ नदल्नुपर्ने ठाउँमा मनलाग्दी दलिदिएर आफ्नो रिस शान्त बनाउने हुन्छ ।

त्यसोभए के यही झोंकमा मेजर कोभाल्योभको नाक काटिएको होला ? थाहा छैन । लेखकले छुस्स यति भनेर कथा अगाडि बढाउँछन् । बीचको खाली ठाउँ पाठकको कल्पनामा छाडिदिएका छन् । उसोभए मुख्य कथातिर मोडौँ ।

मेजर कोभाल्योभ बिहान सिसामा आफूलाई हेर्दा आफ्नो नाक अनुहारबाट हराएको पाउँछ । ऊ रन्थनिएर सीधै पुलिस विभागतिर हानिन्छ । बाटोभरि ऊ नाक नभएपछि हुने सम्भावित क्षतिहरू सम्झेर आहत हुन्छ । किनकि त्यो नाक एउटा सामान्य नाक मात्र हुँदैन । सरकारी ओहोदामा कोलिगेट असेसरको आठौं पद ओगटेको ‘मेजर’ को नाक हुन्छ ।

कोलिगेट असेसर भएको मात्र दुई वर्ष भएको हुन्छ । त्यसैले ऊ प्रत्येक मिनेट यही कुरा सम्झिँदै पुलकित हुने हुन्छ । ऊ सेन्ट पिटर्सवर्गमा आफ्नो ओहोदाबाट अझ बढुवा गराइमाग्ने आसमा आएको हुन्छ । अनि ओहोदाकै दममा कुनै धनीमानी कन्यासित विवाह गर्ने पनि योजना हुन्छ । त्यसका लागि उसले सहरका सम्भ्रान्त महिलाहरूसित चिनजान बढाइरहेको हुन्छ । अब कल्पना गर्नुस्, यत्रो फुइँ भएको कत्रो योजना बुनिएको ‘मेजर’ को नाकै नभएपछि के हाल होला !

आफ्नो किम्ती नाक हराएको सूचना दिन मेजर कोभाल्योभ बाटोमा जाँदै गर्दा फेरि अर्को अचम्म हुन्छ । बाटोमा एउटा शानदार बग्गीबाट स्टेट काउन्सिलर निस्किन्छ । आफूभन्दा तीन ओहोदा ‘सिनियर’ स्टेट काउन्सिलर अरू कोई नभई उसैको नाक हुन्छ । के गरूँ, कसो गरूँको स्थितिमा ऊ त्यो ‘सिनियर’ लाई पछ्याउँदै गिर्जाघर पुग्छ, जहाँ उसको नाक स्टेट काउन्सिलरको लुगामा सुसज्जित भएर प्रार्थना गरिरहेको हुन्छ । ऊ नजिक जान्छ र संवाद गर्छ । तर, उसको नाकले उसलाई चिन्न अस्वीकार गर्छ ।

त्यसपछि ऊ रिसले चुर भएर पुलिस चिफकहाँ आफ्नो समस्या लिएर पुग्छ । तर, चिफ अन्तै गइसकेको हुन्छ । अनि ऊ पत्रिका प्रकाशकको वर्गीकृत विज्ञापन छाप्ने विभागमा पुग्छ । आफ्नो नाक हराएको सूचना दिन । तर, प्रकाशकले विज्ञापन छाप्न मान्दैन । यस्ता हावा विज्ञापन छाप्दा भोलि उसको पत्रिकाको विश्वसनीयता हराउँछ भनेर । त्यसपछि ऊ स्थानीय प्रहरी कार्यालयको इन्स्पेक्टरकहाँ जान्छ । तर, ऊ गलत समयमा पुग्छ । त्यतिबेला इन्स्पेक्टर खाना खाएर भर्खर आराम गर्न बसेको हुन्छ । उसको समस्या सुनेर इन्स्पेक्टरले उल्टै मेजर कोभाल्योभको चरित्रमाथि शंका गर्छ । ‘इज्जतदार व्यक्तिहरूको नाक त्यसै हराउँदैन, बुझ्नुभो !’ भन्दै ।

हार खाएर जब ऊ घरमा फिर्छ उसको पछिपछि सहरको गल्लीमा ड्युटी दिने अर्को अफिसर पनि आइपुग्छ । कागजमा पोको पारिएको सामान दिँदै उसले सोध्छ, ‘यो तपाईंको सामान हो ?’ पोको खोलेर हेर्दा उसको नाक हुन्छ । खुसीले मेजर कोभाल्योभले त्यो अफिसरलाई पुरस्कृत गर्छ । तर, नाक फिर्ता भए पनि त्यो फेरिदेखि त्यहीँ जोडिन मान्दैन ।

त्यसपछि सहरमा हल्ला चल्छ । मेजर कोभाल्योभको नाक ठीक तीन बजे सहरको एउटा व्यस्त चोकमा घुम्न निस्किने गर्छ । त्यो दृश्य हेर्न सहरभरिका मान्छेमा मारामार पर्छ । त्यसपछि फेरि अर्को हल्ला थपिन्छ । मेजर कोभाल्योभको नाक अबचाहिँ पार्कतिर घुम्ने गर्छ । यस्तै अजिबोगरिब हल्लाहरूबीच ठीक अप्रिल ७ को दिन अर्को असम्भव हुन्छ । जसरी त्यो नाक मेजर कोभाल्योभको मुहारबाट हराएको थियो, त्यसरी नै एकाएक आएर दुई गालाबीच थपक्क बस्छ ।

कथाको अन्त्यमा पाठकलाई उल्टै सोधिन्छ– यसो विचार गर्नुस् त । यस्तो विसंगत (एब्सर्ड) घटनामा पनि चुट्कीभरि सत्य त छ नि होइन ?

किन नहुनु ! शतप्रतिशत छ । देश–दुनियाँ बेहोरेको पाठकीय मनले स्वस्फूर्त स्विकार्छ । मान्छेको नाकले आफ्नो वास्तविक रूपभन्दा समाजमा ठूलो अस्तित्व ओगटेको छ । मानौं मान्छेको टाउको पृथ्वी हो र यसको सगरमाथा हाम्रो नाक । अहं र इज्जतको प्रतीक । हाम्रो आफ्नै ८८४८.८६ मिटर । जुन कुरा हाम्रा उखानटुक्काले पनि प्रमाणित गर्छन् । जस्तो – ‘नाक राख्नु’ माने इज्जत राख्नु । ‘नाकमा झिंगा बस्न नदिनु’ माने घमण्डले चुर हुनु । ‘नाकभन्दा नत्थी ठूलो’ माने कीर्तिभन्दा कीर्तन ठूलो ।

अझ हाम्रो जस्तो देशमा पदलोलुपहरूका निम्ति ओहदा र पद नै तिनका ‘श्री नाक’ हुन् । त्यो पदरूपी नाकबिना उनीहरूको पहिचान छैन । आफूभन्दा ठूला ‘श्री नाक’ धारीहरू विशेषगरी शासक नै पर्ने गर्छन् । यदाकदा प्रशासकहरू पनि नहुने होइनन् । तर, शासकका ‘श्री नाक’ ले जनतालाई बेसी पिर्छन् । पञ्चायतकाल हुँदै प्रजातन्त्रकाल र अहिले आएर गणतन्त्रकालमा पनि त्यही देखिँदै छ ।

शासकका नाकको नापो थाहा पाउन तिनको ‘सवारी’ हेरे पुग्छ । नाकको लम्बाइ ‘सवारी’ को लस्कर जत्तिकै लामो हुन्छ । त्यो नाकलाई कतिको हतारो छ भनी थाहा पाउन ‘सवारी’ को बिजुली हुइँकाइ हेरे पुग्छ । तर, जनता चिढ्छ नाकको कृत्रिम लम्बाइ र स्वाँगे हतार देखेर । किनकि नाकको फुइँ तिनका कामको फुस्साले उदाङ्गिरहेको हुन्छ । पदका लागि गरिने राजनीतिले तिनलाई नकटो बनाइरहेको हुन्छ ।

यस्तै पदधारी मनुवाको नाक एक दिनलाई हराउँदा कस्तो हुन्छ भन्ने रस लिन होला निकोलाई गोगोलले ‘द नोज’ लेखेका । सन् १८३६ मा यो कथा लेखिँदा रसियामा निकोलस प्रथमको राज थियो । रसियाको शक्तिशाली राजतन्त्रकालमा मेजर कोभाल्योभजस्ता पात्रको के कमी ! हुन सक्छ तीमध्ये एउटाको धज्जी उडाउन गोगोलले लेखेका । तर, विचारणीय पक्ष के छ भने शासन व्यवस्थाले जन्माएका यस्ता पात्रहरू एक सय असी वर्षपछि पनि हामीमाझ जिउँदा छन् ।

'द नोज’ – र्‍योनोसुके आकुतागावा

‘द नोज’ आकुतागावाले सन् १९१६ मा लेखेका थिए । कतै आकुतागावा गोगोलको ‘द नोज’ बाट प्रेरित भएका त थिएनन् ? यसै भन्न सकिँदैन । आखिर आकुतागावा रसियाली साहित्यबाट निकै प्रभावित थिए । तर, गोगोलको ‘द नोज’ र आकुतागावाको ‘द नोज’ मा शीर्षकबाहेक केही मेल खाँदैन । गोगोलको कथा व्यङ्ग्यात्मक शैलीको हो भने आकुतागावाको कथा मनोवैज्ञानिक चित्रण हो ।

आकुतागावाको ‘द नोज’ मनोवैज्ञानिक भएकैले यो कथामा ‘प्लट’ छैन । कुरूप नाकले पिल्सिएको पात्रको मनस्थिति नै ‘द नोज’ को कथा हो । त्यो पात्र कुनै सामान्य मान्छे नभएर ज्ञानी–ध्यानी भिक्षु हो । पात्रमा अन्तरविरोध यहीँनिर छ ।

जेनची नाइगु आइक–नो–ओ बौद्ध विहारको जानेमानेको भिक्षु हो । तर, ऊ आफ्नो ज्ञानले भन्दा नाकको कारणले चिनिन्छ । उसको नाक छ इन्च लामो छ । र, त्यो उसको चिउँडोसम्म छोइन्छ । नाकको मोटाइ जरादेखि टुप्पासम्म एकै प्रकारको छ । लाग्छ, अनुहारको बीचौबीच ससेज झुन्डिरहेछ ।

उसको कन्नापछाडि मान्छेहरू कुरो गर्छन् । भन्छन्– धन्न नाइगु भिक्षु हुन पुग्यो नत्र यस्तो कुरूप नाक देखेर कसले बिहे गर्थ्यो ! नाइगुको अघिल्तिर यस्तो कुरा नगरे पनि ऊ यस्ता टिप्पणीहरूबारे जानकार छ । त्यसैले ऊ बुद्धका सूत्रहरू पाठ गर्दा पनि सजग भइरहन्छ । पढ्दापढ्दै ऊ ऐना झिकेर आफूलाई निहार्न थाल्छ । कुन कोणबाट नाक अलि छोटो देखिन्छ भन्दै ऊ मुहारलाई ऐनामा जाँची बस्छ । एक छेउदेखि अर्को छेउसम्म मिलाएर हेर्दा पनि नाक उत्राको उत्रै ! दिक्किएर ऊ फेरि सूत्र पाठ गर्नतिर लाग्छ ।

आफ्नो हीनता कम गर्न नाइगु अरूको नाकतिर पनि विशेष ध्यान पुर्‍याउँछ । तर, विहारमा आउने आगन्तुकहरूमध्ये कसैको नाक आफ्नो जत्रो भद्दा पाउँदैन । कतै इतिहासमा वा धार्मिक साहित्यतिर पो थिए कि भद्दा नाक हुने महापुरुष ? नाइगु बौद्ध ग्रन्थ र शास्त्रीय साहित्यको पाना एकएक केलाउँछ । तर, त्यस्तो पात्रको जिकिर कहीँ भेटिँदैन ।

नाइगुको मर्म एक जना चेलाले बुझेको हुन्छ । त्यसैले एक पटक बाहिर जाँदा ऊ चिनियाँ वैद्यको उपाय लिएर फर्किन्छ । वैद्यको उपाय चेलाले सुझाउँदा नाइगु बडो कष्टले त्यसका लागि तयार हुन्छ ।

उपायनुसार नाइगुको नाक पहिला खौलिएको तातो पानीमा डुबाइन्छ । त्यसपछि खुइलिएको नाकमाथि चेलाले बेस्मारी कुल्चिन्छ । नाकलाई सयौं कीराले चिलेजस्तो भए पनि नाइगु चुपचाप सही बस्छ । नाकलाई थिचथाच पारेपछि छालाबाट बोसोका दाना उम्रिन थाल्छन् । त्यसलाई चेलाले चिम्टीले निकाल्छ । त्यति गरेर नाकलाई फेरि उम्लेको पानीमा डुबाइन्छ । दोस्रो पटक नाकलाई पानीबाट झिक्दा नाइगुको नाक छोटो भएर आउँछ । अचम्म !

नाइगु पनि छक्कै पर्छ । नपत्याएर ऊ छोटिएको नाक छामेको छामै गर्छ । अर्को दिन पनि परिवर्तित नाकको आकार जस्तातस्तै पाउँदा बल्ल ऊ दंग पर्छ । तर, तीन दिन पनि बित्न पाएको हुँदैन उसलाई बेमज्जा लाग्दै आउँछ । मान्छेहरू अब उसको नाकलाई घुरेर हेर्न थाल्छन् । उसका चेलाहरू हाँसो थाम्न नसकेर कितकित गर्न थाल्छन् । हो ! पहिला पनि उनीहरू भित्रभित्र नमुस्कुराएका होइनन् । तर, पहिलाको दाँजोमा अहिलेको हाँसो फरक छ । अहिले उनीहरू उसकै मुखेन्जी हाँसिरहेका छन् । मानौँ खुलेरै खिल्ली उडाइरहेका छन् ।

नाइगुले महसुस गर्छ, पहिला भद्दा नाक भए पनि कम्तीमा इज्जत त थियो । बिस्तारै नाइगु आफ्नो भद्दा नाक सम्झेर खुल्ल हुन्छ । यस्तै चिन्तैचिन्तामा एक रात सुत्दा उसको नाक अचानक सुन्निन्छ । यसो छाम्दा नाकलाई ज्वरो पनि आइरहेको हुन्छ । नाइगुले रातभरि त्यो नाकलाई अञ्जुलीले ढाकेर राख्छ । त्यस रात निकै हावाहुरी चल्छ ।

बिहान उठ्दा उसले देख्छ, प्रकृतिलाई पतझर लागेको । बिहारका रूखहरूमा शरद ऋतुको अन्तिम दिन छाएको । पर्णपाती रूखका पहेंला पात झरेर जमिन सुनौलोकालीन बनेको । बरन्डामा उभिएको नाइगुले लामो निश्वास भर्छ । लगत्तै ऊ एकाएक झस्किन्छ । झटपट आफ्नो नाक छाम्दा ऊ फेरि छक्क पर्छ । उसको मुहारमा उही पहिलाको भद्दा नाक झुन्डिरहेको हुन्छ । पुरानो नाक पाएर नाइगुलाई त्राण पाएजस्तो हुन्छ । मनमनै ऊ हलुंगो मान्छ । त्यसपछि बिहानको ताजा हावामा नाकको पोरा फुलाउँदै ऊ यामको चिसमिरो सास फेर्छ ।

यसरी आकुतागावाको ‘द नोज’ सकिन्छ ।

सन् १९१६ मा यो कथा रच्दा आकुतागावाले द्वैध चरित्र भएका भिक्षुलाई व्यङ्ग्य गरेर लेखेका होलान् । अध्यात्ममा ध्यानस्थ हुनुपर्नेहरू संसारको बाहिरी रूपसित मोहित छन् भन्ने आशयमा । तर, पढुन्जेल मलाई पटक्कै लागेन यो १०४ वर्षअघि लेखिएको मामुली कथा हो । वा ऊ बेलाका ढोंगी भिक्षुहरूलाई लक्षित गरेर लेखिएको हो । मलाई त लाग्यो, यो कथा ‘सेल्फी’ युगलाई व्यङ्ग्य गरेर लेखिएको हो । फेसबुक र इन्स्टाग्रामले ल्याएको ‘बडी सेमिङ’ संस्कृतिमाथि प्रहार हो ।

नाकको सट्टा आकुतागावाले आँखा, कान वा ओठलाई प्रतीक बनाउन सक्थे । तर, नाकलाई नै प्रतिकात्मक रूपमा प्रयोग गर्नुको कारण छ । र, त्यही कारणले उनको कथा आजको आत्ममुग्ध (‘नारसिस्ट’) संस्कृतिसित मेल खान्छ ।

नाक मुहारको बीचमा खिचिएको त्यो रेखा हो, जसले केन्द्र स्थापित गर्छ । त्यो केन्द्रले मुहारको अरू अंगको अनुपात निर्धारण गर्छ । प्लास्टिक सर्जनहरूका अनुसार, केन्द्रको दायाँ र बायाँ पाटो बरोबरी मिलेको छ भने त्यो मुहार सुन्दर प्रतीत हुन्छ रे ! तर, प्रकृतिले सबैको मुहार नापीनापी बनाएको हुँदैन । त्यसो भन्दैमा अनुपात नमिलेका मुहार असुन्दर भइहाल्दैनन् । कसैको व्यक्तित्वले प्रभाव पारेर सुन्दर देखिने हुन्छन् । कसैको असलपनले मान्छेहरू ऊसित मोहित भइराखेका हुन्छन् । कसैको प्रतिभाले अरूहरू ऊप्रति आकर्षित भइराखेका हुन्छन् । यी भए मान्छेमा हुने गुदी तत्त्व । यही गुदीले गर्दा नै मान्छे बूढो भए पनि उसको सुन्दरतामा कहिल्यै चाउरी पर्दैन ।

तर, फेसबुक र इन्स्टाग्रामले बोक्रे संस्कृति लादिरहेका छन् । यसलाई यसरी प्रयोजनमा ल्याइएको छ, जहाँ मान्छेहरू आफूमा भएको गुदी तत्त्वभन्दा बाहिरी रूपसित आसक्त भइराखेका छन् । यसको नकारात्मक प्रभाव विशेषगरी किशोरीहरूमा परेको छ । ‘बडी पर्फेक्ट’ को दबाबमा उनीहरू ‘बडी सेमिङ’ को सिकार भइरहेका छन् । यसमा थप मलजल गर्ने काम अमेरिकी सेलिब्रेटीहरूले गरेका छन् । कृत्रिम रूपमा छाती बढाउने, चिउँडो मिलाउने, हिप घटाउने, पुठ्ठा उठाउनेजस्ता प्लास्टिक सर्जरीले गर्दा । त्यसमध्ये अमेरिकी सेलीब्रेटी धेरैजसोले नाकको आकार मिलाउने गर्छन्, जसलाई ‘राइनोप्लास्टी’ भनिन्छ । अरू त अरू नायिका प्रियङ्का चोपडाले पनि राइनोप्लास्टी गरेकी छन् । त्यसैले उनी र उनीजस्ता अन्य प्लास्टिक सेलिब्रेटीहरूको आत्मविश्वास अनुकरणीय छैन । किनकि उनीहरू कृत्रिम रूपमा भए पनि ‘बडी पर्फेक्ट’ हुन प्रेरित गर्छन् । पैसा हुनेले ल गर्लान् पनि । तर, तिनीहरूजस्तो पैसा र सुविधा नहुनेहरूले नि ? हीन भावनाले ग्रस्त भएर कुण्ठित भइबस्ने ?

प्लास्टिक सेलिब्रेटीहरू त्यतिबेला पाखण्डी सुनिन्छन्, जतिबेला उनीहरू आफ्नो सफलताको सूत्र फलाक्छन् । आफू जे छ, जस्तो छ त्यसमै आत्मविश्वासी होऊ भनेर ‘प्रेरणा’ दिँदा उनीहरू मजाकका रूपमा देखा पर्छन् । जसरी जेनची नाइगुको छोटिएको नाक हेरेर उसका चेला र अनुयायीहरू उसकै मुखेन्जी हाँसिरहेका हुन्छन् ।

'पर्फ्युम: एउटा हत्याराको कथा’– प्याट्रिक सस्किन्ड

अघिल्ला दुई कथाहरू नाकको मर्यादा र त्यसको बाहिरी रूपबारे थियो । प्याट्रिक सस्किन्डको ‘पर्फ्युम’ घ्राणशक्तिको बारेमा हो । यति भन्दा यो घ्राणशक्तिको बारेमा मात्र पनि होइन । यो तिखो घ्राणशक्ति भएको एउटा हत्याराको कथा हो । त्यति मात्र पनि होइन । यो बास्नाको माध्यमद्वारा रचिएको प्रेम र घृणाको कथा हो । त्यति मात्र पनि होइन फेरि । यसका धेरै तह छन् ।

त्यसकारण तात्तातो पढेर जब मैले केहीलाई सोधेँ, ‘तपाईंले प्याट्रिक सस्किन्डको ‘पर्फ्युम’ पढ्नुभो ?’ जवाफ पाएँ– ‘मैले यसको सिनेमा हेरेको छु ।’ त्यसपछि मैले उनीहरूलाई यसरी हेरेँ, जसरी बफ ममका प्रेमीहरू बन्दाको मम खाइरहेकालाई हेर्छन् । (भेज र भिगनहरूप्रति ‘नो अफेन्स’ !)

‘पर्फ्युम’ मा मानव संवेदना बास्नाहरूद्वारा अभिव्यक्त भएका छन् । त्यो दृश्यको माध्यमबाट कसरी देखाउन सकिन्छ ? आफ्नै बास्ना नभएको मान्छेको अस्तित्वहीन पीडा अभिनयद्वारा देखाउन सम्भव छ ? गाह्रो हुने भएकाले नै सिनेमाले त्यो उतार्न सकेन । त्यसैले प्याट्रिक सस्किन्डले यो उपन्यास सन् १९८५ मा लेखिसकेर सफल हुँदा सिनेमाका लागि अधिकार दिएका थिएनन् । उनको मान्यता थियो, उपन्यासको आत्मा अमेरिकी निर्देशक स्टान्ली क्युब्रिकजस्तो सिनेमाशिल्पीले मात्र उतार्न सक्छन् । हुन पनि क्युब्रिकका सिनेमा चाहे त्यो ‘स्पेस ओडिसी’ होस् वा ‘क्लक वर्क अरेन्ज’, उनी कथाको सत्य नजिक पुगेका छन् । किताबको हुबहु चित्रण नभए पनि त्यसमा व्यक्त दर्शन र विचारको आत्मा उनले जीवन्त उतारेका छन् । त्यसमानेमा क्युब्रिकले ‘पर्फ्युम’ बनाएको भए किताबको प्लटभन्दा सारतत्त्व उतार्थे कि ? सस्किन्डले सोचेको जस्तो ? सायद !

तर, सन् २००० मा उपन्यासको अधिकार पाउनेले त्यही गर्‍यो, जुन फिल्म निर्माताको आँखाले देख्यो । र, ‘पर्फ्युम’ को प्लटले कुनै पनि व्यापारिक फिल्म निर्माता लोभिन सक्छ । परिणामतः सिनेमा ‘थ्रिलर’ मा झैं पूरै प्लटले डोरियो । तर, कथाको प्लट उपन्यासको एउटा पाटो मात्र हो ।

प्लट यसप्रकार छ– अद्वितीय घ्राणशक्ति भएको जन–ब्यापटिस्ट–गुनुई संसारको हरेक बास्ना सुँघ्न सक्छ । रूखको टुप्पाको पातदेखि लिएर जमिनमुनिको जरासम्म ! शरीरको नखदेखि शिखसम्म ! मान्छेका दुःखदेखि सुखसम्म ! बाँच्ने लालसादेखि मृत्युसन्त्राससम्म ऊ सुँघ्न सक्छ । उसका लागि संसार भनेको बास्ना र समुद्री लयको आवाज मात्रै हो । तर, जब उसले थाहा पाउँछ सबै चीजको बास्ना हुँदाहुँदै पनि उसको आफ्नै गन्ध भने छैन, ऊ पिरोलिन्छ । गन्धविहीन हुनु भनेको पहिचानविहीन हुनु हो । उसले आफ्नै गन्ध निर्माण गर्ने योजना बनाउँछ । उसले सोच्छ, यदि कृत्रिम तरिकाले आफ्नो गन्ध बनाउने नै हो भने आम मान्छेको गन्ध किन बनाउने ? सबैले प्रेम गर्ने, पूजा गर्ने, शक्तिशाली बन्ने गन्ध किन नबनाउने ? त्यस्तो ‘पर्फ्युम’ बनाउनतिर ऊ लाग्छ । र, त्यसपछि सुरु हुन्छ, कौमार्य युवतीहरूको हत्याको सिलसिला ।

क्लाइमेक्स यसप्रकार छ— पच्चीसवटा युवतीको हत्याको अभियोगमा गुनुई समातिन्छ । उसलाई सहरको बीचमा झुन्ड्याउने फाँसीको सजाय हुन्छ । हत्याराको आतंकले यतिन्जेल त्रसित ग्रास सहरवासीहरू खुसियाली मनाउँछन् । फाँसीको दिन पूरा सहर बजारको बीचमा एकत्रित हुन्छ । चर्चको मुख्य पादरीदेखि, कार्यालयका पदाधिकारीसम्म आउँछन् । सम्भ्रान्त परिवारका सदस्यदेखि मेला भर्ने सामान्य व्यापारीहरूसम्म जम्मा हुन्छन् । त्यहाँ हत्या गरिएकी पच्चीसौं युवती लोराको पिता रिची पनि आएको हुन्छ । तर, जब गुनुईलाई फाँसी दिन त्यस ठाउँमा ल्याइन्छ, सोचेभन्दा अजबको घटना हुन्छ । र, त्यसपछि जे हुन्छ ग्रास सहरको इतिहासमा कहिल्यै भएको हुँदैन । न त्यो घटना इतिहासमा नै लेखिन्छ । किनकि ग्रासवासीहरूले त्यसलाई आफ्नो स्मृतिबाट स्वाट्टै मेटाइदिन्छन् ।

उपन्यास नपढिसकेका पाठकहरूलाई ध्यानमा राखेर त्यो रहस्य मैले खोलिनँ । त्यसैगरी क्लाइमेक्समा आउने नाटकीय मोड (ट्वीस्ट) बारे पनि यहाँ चर्चा गरिनँ । क्लाइमेक्सपछिको अवरोह विस्मय बनाउने खालको छ । उपन्यासको अन्त्यचाहिँ ‘पर्फ्युम’ को सर्कोझैँ सुँघ्दासुँघ्दै विलीन भएर जान्छ । बाँकी रहन्छ त त्यसको मन्द आभास मात्रै ।

उपन्यास पढेर मलाई बोध भएको सत्यानुभूति केही छन् । जुन कथा अघि बढ्दै जाँदा उद्घाटित हुन्छन् । जस्तो आजीवन समाजद्वारा दुत्कारिएको गुनुईको मनमा समाजले घृणा भरिदिएको हुन्छ । समाजबाट स्वीकृत हुन र सबैको प्रेम पाउन उसले जादुयी ‘पफर््युम’ बनाउँछ । तर, जब ऊ सारालाई मोहित बनाएर भगवान्झैं पूजित हुन्छ, ऊ आफूलाई रित्तो पाउँछ । आफूलाई प्रेम गर्नेहरूलाई ऊ प्रेम फर्काउन सक्दैन । सट्टामा उसको तुस भरिएको मुस्कान फुट्छ । घृणा भरिएको हृदयले उनीहरूप्रति घृणा मात्र महसुस गर्छ । प्रेम पाइएको भए पो प्रेम दिन सिकोस् । यसरी एउटा हत्याराको कथामा मुख्य खलनायक कठोर र असंवेदनशील समाज हुन पुग्छ ।

अर्को र सबैभन्दा प्रभाव पारेको भनेको उपन्यासको मूलमर्मले हो, जुन मान्छेको पहिचानसँग सम्बन्धित छ, जसलाई बडो प्रतिकात्मक रूपमा देखाइएको छ । हरेक मान्छेको आफ्नै शरीरको गन्ध हुन्छ । त्यो अरूसँग दाँज्न नमिल्ने पृथक् र विशिष्ट हुन्छ । जस्तो डीएनए र फिङ्गरप्रिन्ट हुन्छ । त्यसैले पसिनाबाट आउने गन्ध पनि मान्छेको पहिचान हो । विशेषगरी गुनुईको लागि, जो संसारलाई बास्नाको माध्यमबाट मात्रै स्पर्श गर्न सक्छ ।

तर, गुनुईको आफ्नैचाहिँ गन्ध छैन । यो कसरी सम्भव छ ? गुनुई विचलित हुन्छ । उसलाई थाहा छ, यो संसारको सूक्ष्मातिसूक्ष्म कुराको पनि गन्ध हुने गर्छ । झन् मान्छेको गन्ध हुँदै नहुनु, सम्भवै छैन । मान्छेको गन्ध मात्र होइन गन्धले निर्माण गर्ने आभामण्डल पनि हुन्छ । त्यही आभामण्डलको कारण मान्छेको व्यक्तित्वको दायरा फैलिएको हुन्छ । गुनुईलाई बल्ल सत्याभास हुन्छ, उसमा गन्ध त छ, तर त्यो सुँघ्नै नसक्नेगरी गन्धविहीन छ । किनकि त्यसको आभाले उसलाई घरीघरी छोप्न आइपुग्छ, जुन धुम्म परेको बाक्लो कुहिरोजस्तो छ । त्यसलाई जति सुँघ्न खोज्दा पनि सुँघ्न सकिँदैन । उल्टै त्यो आभारूपी कुहिरोले निस्सासिनेगरी थिच्न थाल्छ ।

खासमा गन्धविहीन आभा भनेको गुनुईको पहिचानविहीनताको प्रतीक हो ।

गुनुई पेरिसको माछा बजारमा जन्मेको अनाथ हुन्छ । ऊ अनाथालयको दुष्कर स्थिति र बेवास्तामा हुर्केको हुन्छ । र, सानैदेखि एउटा मालिकबाट अर्को मालिककोमा बेचिँदै आएको हुन्छ । ऊ कहाँबाट आएको हो ? कुन उद्देश्यले बाँचिरहेको छ ? ऊ अनभिज्ञ छ । जब मान्छेलाई आफू को हो भन्ने नै थाहा हुँदैन उसको भविष्यको दिशा विच्छेद हुन्छ । भविष्यबोध नहुनु भनेको बाँच्नका लागि चाहिने प्रेरणा नहुनु हो । त्यही भएर दैवी अत्तरले सुगन्धित हुँदा पनि गुनुई विषादले भरिएर आउँछ । जब मान्छेले आफ्नै गन्ध सुँघ्न सक्दैन भने त्यो शक्तिको के काम ? शक्तिशाली हुनुको के अर्थ ?

अन्त्यमा– ‘पर्फ्युम’ पढेर म फेरि एक पटक चिमोटिएँ । ‘पहिचान’ को प्रश्न चाहे जुनसुकै रूपमा उठोस्, मेरा लागि त्यो पेचिलो विषय बन्ने गर्छ । किनकि जस्तोखाले पारिवारिक वातावरणमा म हुर्किएँ, मेरो वर्णसंकर पहिचानले ताडित भइरहेँ । गाउँको थारू लढिमान (गोरुको लढिया हाँक्ने) सित नेपालगन्ज बजार फर्किंदा म आफैँसित प्रण गरिरहेको हुन्थेँ– अब त मरिगए गाउँ जान्न । लढियाको सुस्त गति, मिलौंमिल लामो बाटो, लढिमान काकाको एकनासे हऽऽहऽऽ मा हल्लिँदै म भावुक हुन्थेँ । अनि सोच्थेँ– आखिर म के हुँ ? थारू हुँ कि, क्षत्री पहाडी ? किनकि मेरा बाबु थारू हुन् भने आमा क्षत्री । त्यसैले गाउँ गएको बेला डोको बोक्नेको सन्तान भनेर बहिष्कृत भइराखेकी हुन्थेँ । अनि आमाको घरतिर आउँदा थारूको सन्तान भनेर अपहेलित भइराखेको हुन्थेँ ।

म दुवैतिर स्वीकृत थिइनँ । दुवै समुदायको हुँदाहुँदै पनि मैले कुनै समुदायको आत्मीयता पाइनँ । आज पनि मैले लेख्ने विषय छान्दा ‘म के हुँ’ को प्रश्नले फरक पारिरहेको हुन्छ । र, मलाई लाग्छ, आजको भूमण्डलीकरण दुनियाँमा यो दुविधा मेरो मात्र होइन । त्यो पुस्ताको पनि हो, जो विदेशमा मिश्रित पहिचानसित बाँचिरहेको छ । बाबुआमा नेपाली मूलका, छोराछोरी विदेशमा हुर्किएका, नातीनतिना विदेशी माटोमा सिञ्चित भएकाको प्रश्न हो– म के हुँ ? जसको सीधासीधा उत्तर सायद छैन ।

प्रकाशित : माघ १५, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×