काठमाडौं-लन्डन-काठमाडौं-लन्डन...

थाहा छैन यो रेसमी आवाज र माइकको सम्बन्ध फेरि कसरी जुर्छ । उनी स्वयं जान्दैनन्, सधैंका लागि उनी अवकाश लिँदै छन् कि यो एक विश्राम मात्रै हुनेछ !
घनश्याम खड्का

सुन्नेहरू जान्दछन्, बोलीको माधुर्य कस्तो हुन्छ ! जसरी सुमन खरेललाई चिन्नेहरू उनलाई सुनिरहूँ भन्ने अनुराग पाल्छन् । चार दशक भएछ उनको मधुरो, रेशमी आवाज विद्युतीय तरंगहरूमा फैलिएर रेडियो हुँदै मानिसका कानबाट पसेर हृदयमा बसेको ।

काठमाडौं-लन्डन-काठमाडौं-लन्डन...

मैलेझैं एउटा सिंगै पुस्ताले बुझ्ने भएदेखि ‘बीबीसी नेपाली सेवा’मा एउटा मह घोलेजस्तो रेसमी आवाज सुनेर हुर्कियो । मैलेझैं एउटा सिंगै पुस्ताले त्यो रेशमी आवाज पहिले सुन्यो र त्यस वाणीको धनिको नाम सुमन खरेल हो भन्ने पछि बुझ्यो ।

सुमनको स्वर कुनै व्यक्तिको नभएर त्यो एउटा इतिहासलाई ध्वनित गर्ने समयको स्वर होजस्तो भ्रान्तिसमेत हुने अवस्था थियो एक समय, जतिखेर नेपालमा संकटकालले गर्दा ज्यादा बोल्न सक्ने अवस्था थिएन र उनी लन्डनबाट हरेक रात पौने नौ बजे निर्धक्कसँग खबरहरू फलाक्ने गर्थे ।

यस्तो सम्मोहक वाणीका स्रोत सुमन केही वर्षयता त देखिन पनि थालेका थिए टेलिभिजनको पर्दामा, जहाँ उनी मूलधारको पत्रकारिताले ज्यादा नखोतल्ने विषय र पात्रबारे बहस चलाउँथे उस्तै मोहक शैलीमा । बीबीसीको जागिर र लन्डनको बसाइ दुवैलाई छाडेर नेपाल आई ‘कान्तिपुर टेलिभिजन’मा उनी देखिन थालेपछि मैलेझैं उनलाई केवल सुन्दै मात्रै आएका असंख्य श्रोताले थाहा पाए, सुमनको आवाज मात्रै होइन, उनको व्यक्तित्वमा नै एउटा माधुर्य छ । त्यसको केही कालपछि एक साँझ उनीसँग भेट हुने मौका जुरेको थियो लन्डनमा । महिना, डेढ महिनामा उनी लन्डन–काठमाडौं गरिरहँदा रहेछन् । काठमाडौं आयो, टेलिभिजनको काम सक्यो, लन्डन फर्क्यो, घरपरिवारको नियास्रो मेट्यो र फेरि काठमाडौं फर्क्यो । यस्तो उनको तालिका रहेछ ।

‘अब म जाँदै छु फर्केर’ कोरोनाको पहिलो लहर सुस्ताएजस्तो भएपछिको एउटा भेटमा सुमनले सुनाए ।

‘अनि टेलिभिजनको काम ?’ मैले मानूँ रोक्न नहुने कुनै काममा बाधा आउन लाग्दा निस्कने तहमा प्रश्न गरेँ ।

‘त्यो अब बन्द हुँदै छ’ उनले केही भएको छैन जस्तो गरी उस्तै बेपरवाह रेशमी जवाफ फिराए ।

त्यसपछि केही कुरा भए उनीसँग । सन् २०१५ मा बीबीसी सकेर नेपाल फर्केपछि उनका दुई मुख्य काम काठमाडौंमा थिए । पहिलो, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस) को समाचार प्रमुख भई बेलायती सेनामा कार्यरत नेपाली सैनिक सम्बद्ध समाचार प्रसारणको नेतृत्व गर्नु । दोस्रो, कान्तिपुर टेलिभिजनमा हरेक हप्ता ‘टक सो’ चलाउनु ।

अचानकसँग कोरोनाले संसारको रीतमा खलबल ल्यायो । आठ–नौ महिना पर्खंदा पनि उनले लन्डन फर्किन पाएनन् । एक अति दुर्लभ रोग रेट्स सिन्ड्रोमका कारण वाणीहीन भई सानैदेखि बिच्छ्यौनामै थला परेकी छोरी स्मारिकाको एक्लो रेखदेखमा खटिएकी पत्नी सितुलाई साथ दिन पाएनन् । यो अवधिमा उनले छोरीलाई कुनै मद्दत पनि गर्न सकेनन् । कोरोनाले संसार पूर्ववत् अवस्थामा आउन वर्षौंजस्तो लाग्ने आकलन आइरहेका बेला ओमिक्रोन भेरिएन्टले फेरि संसार हल्लायो । अवस्था यस्तो बुझेपछि सुमनले ३७ वर्षको लामो वाणी व्यवसायलाई विश्राम दिन लागेका रहेछन् । गत साता उनले कान्तिपुर टेलिभिजन र बीएफबीएस दुवैबाट बिदा लिए ।

छोरालाई डाक्टर बनाउने गीतकार बाबु किरण खरेलको सपना पूरा गर्न चिकित्साशास्त्रको विद्यार्थी हुँदा भगवान् कोइरालाहरू उनका सहपाठी थिए । आफ्नै सपनाको बाटो पच्छ्याउँदै एप्रोन फुकालेर २४ वर्षको उमेरमा २०४१ मा ‘रेडियो नेपाल’ छिर्दा सुमन राजधानीको ‘मोस्ट इलिजिबल ब्याचलर’ बन्न पुगे जोसँग कुरा गर्न, भेट्न र एकान्तमा प्रेमका केही मधुर कुरा गर्न हजार आँखाहरू प्रतीक्षारत हुन्थे । रेडियो नेपालमा समाचार पढ्न जाँदा हरेक दिन एउटा फोन आउँथ्यो सुमनलाई । यस्ता अनेक लहडी शुभेच्छुकहरूबाट सुमन नित्यजस्तो घेरिएरै रहे ।

रेडियो नेपालमा तहल्का मच्चाउने रेसमी आवाजवाला गोरे, अग्लो र अनुहारमा मृदु मुस्कान छरेर हिँड्ने ठिटो कलेजमा पढ्न पुग्दा चाहनाको एउटा आँधी आउँथ्यो वरपर । यस उपक्रमको सात वर्षपछि उनी बीबीसी नेपाली सेवामा काम गर्न लन्डन पुगे । त्यहाँ बसेको चारै वर्षमा उनलाई नेपालको अग्घोरै माया लाग्यो । लन्डनको घर बेचबाच पारेर उनी सपरिवार नेपाल फिरे । यहाँ आएर उनी आमसञ्चारको तालिम चलाउने काममा सक्रिय भए । नारायण श्रेष्ठ, विजय पौडेलजस्ता थुप्रै पत्रकार उनको तालिम गृहबाट तयार भएका केही नाम हुन् भन्ने सम्झँदा सुमनलाई त्यो समय त्यसै खेर गएको रहेनछ भन्ने सन्तुष्टिको अनुभव हुन्छ ।

दरबार हत्याकाण्डपछि सुमनलाई बीबीसी नेपाली सेवाले फेरि बोलायो । यस पटक उनले नाइँ भन्न सकेनन्, किनभने छोरी स्मारिकाको दुर्बल स्वास्थ्यलाई सम्बोधन गर्ने कुनै संयन्त्र नेपालमा उनले देखेनन् ।

फेरि उनी सपरिवार लन्डन पुगे । त्यसपछि बीबीसीबाट स्वैच्छिक अवकाश लिएका सुमनले परिवारलाई फेरि नेपाल ल्याउने आँट गर्न सकेनन् । सधैँ उडिरहने जहाजका कारण नेपाल आएर रहर र लन्डन पुगेर पारिवारिक दायित्व दुवै पूरा गर्न उनलाई बाधा थिएन । तर, कोरोनाले सारा संसार ठप्प भएपछि सुमन नेपालमा काम गर्ने धीत नमर्दै फर्कने अवस्थामा पुगे ।

‘अपाङ्गता भएकालाई पढाउने एउटा गतिलो स्कुलसम्म पनि छैन मेरो देशमा भन्दा सारै मन दुख्छ,’ उनको मधुर बोलीमा यस पटक पीडाको गहिरो लेपन पनि थियो, ‘आशा गर्छु, छिट्टै नै विशेष स्कुल र अस्पतालहरू यहाँ खुलून् ।’

अचेल सुमन जाने तयारीमा छन्, मित्रहरूसँग भेटघाट र विदाबादी गर्दै छन् । फेब्रुअरी १३ तारिखका दिन उड्ने टिकट पनि उनले काटिसकेका छन् ।

थाहा छैन यो रेसमी आवाज र माइकको सम्बन्ध फेरि कसरी जुर्छ ! उनी स्वयं जान्दैनन्, सधैंका लागि उनी अवकाश लिँदै छन् कि यो एक विश्राम मात्रै हुनेछ ! जे होस्, हालैका आउने दिनहरूमा उनको कुनै ‘डेडलाइन’ भने हुने छैन । फुर्सदिला दिन उनी छोरीका साथमा हुनेछन्, लन्डनका पार्कहरूमा सुस्ताउनेछन् र जता गए पनि हुने पाइलाहरू चाल्नुको आनन्द लिनेछन् । संसार एउटा ठूलो घडी हो र जिन्दगी त्यसको पेन्डुलम हो भने सुमनले एउटा निश्चित दूरी हिर्काइरहेका छन्, काठमाडौं–लन्डन–काठमाडौं–लन्डन....!

प्रकाशित : माघ १५, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?