कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
कोसेली

किरातकाल, जो थियो

इतिहासमाथि विभिन्न दृष्टिकोणले विमर्श भइरहनु स्वागतयोग्य विषय हो । लेखक सौरभले ११ वर्षअघि कान्तिपुर दैनिकमा ‘नभएको किरातकाल’ लेखमार्फत नयाँ ढंगले प्रश्न उठाएका थिए । त्यस आलेखमाथि मौखिक इतिहासका आधारमा गरिएको यो बहस माघ १ बाट सुरू भएको किरात नयाँ वर्षको सन्दर्भमा प्रस्तुत छ ।
किरातीहरू प्राचीनकालमा काठमाडौं उपत्यकाबाट विस्थापित भएर पूर्वतर्फ लागेको सत्य हो । पूर्वबाटै काठमाडौं आइपुगेका हुनाले लिच्छविहरूबाट विस्थापित भएपछि उनीहरू उतै लागे ।

११ वर्षअघि ‘कान्तिपुर दैनिक’ को एक अंकमा (२०६७ मंसिर २५) लेखक सौरभको आलेख प्रकाशित भएको थियो– ‘नभएको किरातकाल’ । लगभग १० वर्षयता किरात मौखिक ज्ञानबारे अध्ययन गर्ने क्रममा केही विषय थाहा पाएको हिसाबले ढिलै भए पनि म यो लेखमाथि फरक कोणबाट विमर्शमा सहभागी भएको छु ।

किरातकाल, जो थियो

सर्वप्रथम सौरभको लेखको सार, परिकल्पना र तर्क कत्ति पनि तोडमरोड नगरी सारांशमा प्रस्तुत गर्छु । यसो गर्नु विमर्शकारको पहिलो जिम्मेवारी हो ।

सौरभले त्यो लेख खास उद्देश्यपूर्तिका लागि लेखिएको भनेर सुरुकै वाक्यमा इमानदारीपूर्वक यसरी स्पष्ट पारेका छन्– ‘माओवादीको जातीयताको आधार बनेको एउटा लेखोटमाथि प्रश्न उठाउनु अनिवार्य भएको छ किनभने सेसिल बेन्डिलले पत्ता लगाएको भनिएको वंशावलीमा आधारित रहेर उपत्यकामा ३२ किरात राजाहरूले शासन गरेका थिए भन्ने संस्कृति नै बनिसकेको छ ।’ सौरभकै भाषामा भन्दा ‘माओवादीको जातीयताको आधार’ भत्काउन त्यो लेख लेखिएको हो । ‘माओवादीको जातीयता’ माथि थुप्रै विमर्श भइसकेको छ । र, हुँदै जानेछ । यो अलग पाटो भएकाले म त्यतातिर जान चाहन्नँ ।

सौरभको लेखको सार थियो– पश्चिम रोमन साम्राज्यमाथि आक्रमण गर्ने हुण नायक तथा रोमन साम्राज्यका सम्राटलगायतको नाम किरात राजाका भनिएका नामसँग मिल्दोजुल्दो छ, त्यसैले किरातहरूले ३२ पुस्ता शासन गरे भन्ने विषय अफवाह मात्रै हो ।

जस्तो कि सौरभ तुलना गर्दै भन्छन्– प्रथम किरात राजा एलम (यलम्बर) को नाम प्रथम हुण नायक वालामिर (बोलाम्बर) सँग मिल्छ । त्यसरी तुलना गर्दै सौरभ लेख्छन्– किरात राजा पेलमको भनेको हुण नायक बल्दिन, मोलम भनेको मन्कुक, चमिं भनेको बैंडा, धस्कं भनेको डेन्जिसिक, बलुंच (वलम्ब) भनेको इलेक, हुंति भनेको हुण सेनापति इटेको, हुरमा भनेको हेर्नाक, तुस्कें भनेको कोवात, प्रसफुं र पव भनेको प्रिस्कस, जितेदास्ती भनेको अगस्टस, चम्ब भनेको जोभिनस, कंक भनेको कन्स्टान्टिन, स्वनन्द भनेको सेवास्तियन, फकों भनेको योहानेस, शिंघु भनेको सिजर थियोडोसियस, जुलम भनेको जुलियस अगस्टस, लुकं भनेको रोमुलस, थोरम भनेको होनोरियस, थुंको भनेको सेनापति स्टिली, वर्म्म भनेको गुन्डवारिक, गुजं भनेको गाइसेरिक, पुस्क (पटुक) भनेको साम्राज्ञी गाल्ला प्लाकिडिया, त्यपमि भनेको रुलाभियस एटियस, मुगमम भनेको माक्सिमस, शसरु भनेको रशीमर, गुण भनेको रशीमरका भतिज गुंडोवाद, खिमबुं भनेको अलिब्रियस, गिरिजं भनेको ग्लाइसेरियस, खुरांज भनेको ओरेस्टेज र ३२ औं किरात राजा खिगुं भनेको ओगासर हुन् ।

त्यसोभए यी हुण नायक र रोमन सम्राटलगायतका नाम किन कसरी ‘मिल्न’ पुग्यो त किरात राजाका नामसँग ? सौरभले यी प्रश्नको उत्तरमा एउटा सार्थवाह (व्यापारी) को ‘हाइपोथेसिस’ (परिकल्पना) अगाडि सारेका छन्, ‘एउटा उपत्यकावासी सार्थवाहु (व्यापारी) ले हुणहरू र पश्चिम रोमनहरूबीच साम्राज्य विस्तारका निम्ति मध्ययुरोपमा भइरहेको भिडन्तबारे साह्रै ठूलो अभिरुचि राखेर त्यसलाई लिपिबद्ध गरिरहेको थियो ।’ व्यापारीको टिपोटमा प्रयोग भएको नामलाई नै किरात राजाका नाम भनिएको हो भन्ने तर्क हो उनको ।

उक्त लेखमा प्रस्तुत गरिएका सबै नाममाथि छलफल गर्न सकिन्छ । तर, मात्र एक नाम यलम्बरमाथि छलफल गर्दा पर्याप्त हुन्छ भन्ने लागेको छ ।

पहिलो कुरा, वंशावलीहरूमा यलम्बरका तीनथरी नाम छन्– यलुङ, एलम र यलम्बर । सम्भवतः यलम्बरको खास नाम यलुङ हो, जुन एलम हुन पुग्यो । र, ‘एलम’ मा संस्कृत भाषाको ‘अम्बर’ थपिएर यलम्बर हुन पुग्यो । मैले किरात राईहरूको नाम कहिलेदेखि संस्कृत भाषामा राख्न थालियो भनेर सानो अध्ययन गर्दा ११ पुस्तादेखि सुरु भएर पाँच पुस्ताअघि मात्रै पूर्णतः संस्कृतकरण हुन पुगेको स्पष्ट भयो । एक पुस्तालाई औसतमा २५ या ३० वर्ष मान्दा लगभग ३०० वर्षयता मात्रै राईहरूको नाम संस्कृत भाषामा रहन थालेको छ । भनेपछि संस्कृतभाषी आर्यहरूसँग सम्पर्क नै नभएको इसापूर्वका किरातीहरूको नाम संस्कृत भाषामा यलम्बर हुनु त सम्भवै छैन । ठीक यहाँनेर इतिहासकार डा. रमेश ढुंगेलको मत तथ्यआधारित देखिन्छ । उनको विचारमा यलम्बरको खास नाम यँलुङपा हुनुपर्छ । किनभने, यँ भनेको अहिलेको काठमाडौंको प्राचीन नाम हो, लुङ भनेको बस्ती र पा भनेको अगुवा हो अर्थात् प्राचीन काठमाडौंको अगुवा (प्रमुख) भन्ने अर्थमा राखिएको नाम हो यलुङ(पा) । प्राचीनकालमा नामको अन्त्यमा ‘पा’ जोड्ने प्रचलन किराती समाजमा छ पनि– कुरुप्पा, तोदिप्पा, खोक्चिलिपा, वाछाप्पा, छोछाप्पा । जब यलम्बरको नाम यलुङ हुन पुग्छ, तब सौरभको तर्कले फेल खाइजान्छ । कहाँको यलुङ (पा), कहाँको बलम्बर अथवा बालामिर ! आनका तान नै मिल्दैन ।

दोस्रो कुरा, किराती राजाहरूले ३२ पुस्ता शासन गरे भन्ने पनि अर्धसत्य मात्र हो । हालसम्म फेला परेका वंशावली (गोपालराजवंशावली, भाषावंशावली, पण्डित कोटा बेङ्कटाचेलम, पदमगिरी, कर्कप्याट्रिक, ड्यानियलाभराइट, सिल्भा लेभी, स्वामी प्रपन्नाचार्य, बालचन्द्र शर्मा) हरू मात्रै अलिकति गहिरिएर अध्ययन गर्ने हो भने किराती राजाहरूको नाम लगभग ६ दर्जन पुग्छ । उल्लिखित ३२ पुस्ताबाहेकका यी नामहरू हेरौं– सुंसा (संस, सुन्स, सुम्गु, संग, गंस), गिग्रिन (गिघ्रि, गिध्रि, गिन्ध्री), तुन्ने (तुन्के), केसु, लुङ्गो, गस्ती, ह्रिति (रुति), गली, सुयर्मा (सुयार्म), नने, पटुंक (पटुक), बुंक, मनवीर, चुनमान, सुगु, वैज, जने (जन्नेबी), सुमकै (सुएन्के), असु,

किङ्गली, हुन्नन्तर, स्रुपुसर्त, पुन्छेम, सुय (सुयस्य), बुङ्का, पम्का, थुमु (थामु, थमु), केम्का, कुसकुन, तीसू, सुगमिअ (सुग), जुसा, गोन्थो, सिम्बु र त्वते । अब यी नामहरू पनि हुण नायक र पश्चिम रोमन सम्राटहरूकै नामका विकृत टिपोट हुन् त ?

बरु एउटा टड्कारो सम्भावना के छ भने खम्बू भनेर चिनिने हालका राईहरू खिमबुं (किम्बु, खिम्बु, खेबु, खेम्भुम)का सन्तान हुन सक्छन् । हालका थामीहरू थुमु (थामु, थमु) का सन्तान हुन सक्छन् ।

...

समाजलाई सकारात्मक वा नकारात्मक कुनै पनि कोणबाट गहिरोसँग प्रभावित पार्ने इतिहासको कुनै घटना कसरी संस्कृति, मिथक र किंवदन्ती (लिजेन्ड) मा परिणत हुन्छ भन्ने थाहा पाउन धेरै पर पुग्नै पर्दैन । केही सय वर्ष परको कुरा स्मरण गरे पुगिहाल्छ । जस्तो कि काठमाडौंमा हरेक वर्ष मनाइने गठेमङ्गल चाड खासमा घुँटीमुँगल हो अर्थात् मध्यकालमा काठमाडौं उपत्यकामा आक्रमण गर्ने मुसलमान राजा समसुद्दीन इलियासलाई बिदाइ गर्न गरिएको तयारीको सम्झनामा सुरु भएको हो । जस्तो कि तिहारमा भैलो खेल्दा मागिने दान भनेको तिमूर–लङलाई दिन संकलन गरिएको चन्दाको सांस्कृतिक अवशेष हो (बालकृष्ण पोखरेल, खस जातिको इतिहास, २०७६) । यही कारण मिथक विगतको यथार्थबाट निर्माण हुन्छ र जीवित यथार्थका रूपमा संस्कार तथा नैतिकता (आचारविचार) का रूपमा क्रियाशील हुन्छ भनिएको हो (ब्रनिस्ल मालिनोस्की, सेक्स, कल्चर एन्ड मिथ, १९६२) । मेरो यो लेखको सैद्धान्तिक जग यही छ ।

गोपालराजवंशावली भन्छ– लिच्छविहरूबाट पराजित भइसकेपछि किरातीहरू पूर्वतर्फ लागे (धनवज्र वज्राचार्य, कमल पी. मल्ल, द गोपालराजवंशावली, १९८५) । के हालका किरातीका पुर्खाहरू उहिले काठमाडौं उपत्यकामा थिए ? के किरातीहरू वंशावलीले भनेजस्तो पूर्वतर्फ लागेकै हुन् ? किन पूर्वैतर्फ लागे ? यी प्रश्नको उत्तर किराती समाजमा प्रचलित मौखिक इतिहास र सांस्कृतिक अभ्यासमा टड्कारैसँग भेटिन्छ ।

हालका किरातीहरू काठमाडौं उपत्यकालाई आफ्ना प्राचीन पुर्खाहरूको थातथलो मान्छन् । खासगरी पितृपूजा र मृत्युसंस्कारमा उहिले पुर्खाहरूले गरेको यात्रा, संघर्ष, श्रमसँग सम्बन्धित थातथलोहरूको उल्लेख गर्दै मृतात्मा (पितृ) हरूलाई धामीले बाटो देखाउने, बाटो लगाउने गरिन्छ, जसलाई मानवशास्त्रीहरू ‘रिचुअल जर्नी’ (मुन्दुमी यात्रा) भन्छन् । त्यस क्रममा काठमाडौं उपत्यकाको बारम्बार उल्लेख हुने गर्छ ।

जस्तो कि थुलुङ राईहरूमा मृत्युसंस्कार गर्दा मृतात्मालाई ‘नेपालदेल नेवारदेल (काठमाडौं उपत्यका) जाऊ’ भनेर फकाउँदै बाटो लगाउने या बोलाउने गरिन्छ । त्यस क्रममा यस्तो भनिन्छ–

ठोट्ने खोला घ्ल्वाकुमाडा लक्सा

मेसी ने इ ल्वाखेल छेडा

बोलेम्कु युख्रेम्कु डुङाम

स्युम्द्यु क्र्यो साला क्र्यो

लाम्का ने हुनु नेपालदेल नेवार देल

(डा. सुकराज राई, खुक्सङ खम्बु राई, जसिहव थुलुङ : थुलुङ मुन्दुम, २०७७)

(भावानुवाद : अनि ठोट्ने खोला जाऊ । हाँस्दैहाँस्दै जाऊ । खुसी हुँदैहुँदै जाऊ । कहाँ जाऊ भन्दा उता पुर्खाहरूको गाउँ नेपालदेल नेवारदेलमा जाऊ । उता पो तिम्रो त भाषा–लय मिल्ने, अनुहार मिल्ने सबै छन् ।)

त्यस्तै बायुङ (बाहिङ) राईहरूमा पनि पितृहरूलाई ‘राम्रो कुरा नराम्रो कुरा सप्पै नेपालदेल नेवालदेल (काठमाडौं उपत्यका) मै पाइन्छ, त्यहीँ गएर बस’ भनेर बाटो लगाइन्छ (लोकबहादुर राई, २०७८) । बायुङ (बाहिङ) राईहरूको ठूलो पितृकार्य ह्वङसिली (सेग्रो) र सानो पितृकार्य नाग्ले गर्दा तुम्लो (मुन्दुम) मा काठमाडौं उपत्यकामा बसोबास गरेका पितृपुर्खाका आत्मालाई चुलामा आइदिन अनुरोध गर्दै भनिन्छ– ‘ओ नेपालदु दा नेवालदुलाङ– ओउ ।’ त्यस्तै नेपालदु नेवालदु अर्थात् काठमाडौं उपत्यकामा तामा (सिपाग्रो), काँस (माइग्रो) को काम गर्ने उहिलेका किराती पुर्खा (रदु) हरूको स्मरण यसरी गरिन्छ– ‘ओ सिपाग्रो दा माइग्रो दा यो, ओ रदुग्रो दा खाप्चुग्रो यो, ओ नेपालग्रो दा नेवालग्रो यो’

(बुद्धिकुमार ह्वङ्गु, किरात बाहिङ (बायुङ) तुम्लो, २०६९) ।

लिम्बू मुन्धुममा आदिम बजु नेपाल (काठमाडौं) उपत्यकामा गएर बसेको वर्णन पाइन्छ । त्यसमा यस्तो भनिन्छ– ‘ना लाजे नेपाल के पे केयुङे मेम्बी ?/ हेः यो से हेने महारानी केपोखारो ।’ (भावानुवाद : उहिले नै तिमी नेपालमा गयौ बस्यो । र, नै तिमीलाई सबैले महारानी भने) (बैरागी काइँला, लिम्बू जातिमा कोखपूजा, २०४८) ।

किरातीहरूमा प्रचलित यी मुन्दुम र सांस्कृतिक कार्यले काठमाडौं उपत्यका उनीहरूको प्राचीन थलो थियो भन्ने देखाउँछ । र, काठमाडौं उपत्यकामा छँदा उनीहरू शासक थिए भन्ने संकेत याम्फू मिन्दुम (मुन्दुम) ले गरेको छ ।

याम्फू मिन्दुम (मुन्दुम) मा भनिन्छ– सप्तकोसीस्थित बराहा–चतरा क्षेत्रबाट किरात राईका चार पुर्खाहरू अलगअलग क्षेत्रमा बाँडिए । त्यस क्रममा काइँला भाइचाहिँ नेपाल पुगेर नेपाहाङ राजा भयो । रिसिया (श्लोक) मा यस्तो भनिन्छ–

हे हे हे लाङमु टिमाबे ? हे हे हे बाराहा क्षेत्राबाङगो चतरा डेम

हे हे हे अंशा टाङबामी जिम्मा ल्या ? मा लोङली ? मा खडा

ऐ ऐ हे टुम्मी बुबु, टुम्मी वावे ? को सोल्लेम्मा डुडु होङमा माहोङमा टिङसे

हे हे हे टुम्मी वावा खे?मा लोङलीटा हे हे हे खे ? मा लोङलीटाये

हे हे हे माईलागो वावे ? तुम्बोरा होङमा माहोङमा टिङसे कावेलीहोङमा माहोङमा टिङसे माईला वावा खे ? मा लोङलीखडा

हे हे हे हाङसारुम्बे ? को तुम्बोरा होङमा माहोङमा टिङखेट्टु

हे हे हे साईलागो वावा हे हे हे यिवा कोशी, आरुणा कोशी बरुणा होङमा टिङमागो लोङलीखडा

हे हे हे मोडोक्पे कागो कानीङगो माहोङमा टिङसे खे ? मे लोङलीखडीङे कानाडे सानुङमी

हे हे हे युङसारुम्बा वावा गो हे हे हे विदेशी खे ? मा है लोङलीटेये

हे हे हे विदेशी लाङमुटिखडायो नेपाहाङ राजा हाङ लिसायो

(संकलन : होम याम्फू)

यो मिन्दुमको (मुन्दुम) श्लोकअनुसार, बराहा–चतरा क्षेत्रदेखि आ–आफ्ना अंश जिम्मा लिँदै किरातीका पुर्खाहरू बाटो लागे । जेठा पुर्खा सुनकोसी–दूधकोसी पछ्याउँदै गयो । माइला पुर्खा तम्बर कोसी पछ्याउँदै गयो । साइँला पुर्खा अरुण कोसी, बरुण कोसी पछ्याउँदै गयो । (याख्खाबाको पुर्खा) ठूलो पानी (अरुण कोसी) पछ्याउँदै दिदीबहिनीहरूलाई साथमै लिएर गयो । काइँला पुर्खाचाहिँ विदेश गयो र नेपाहाङ अर्थात् नेपालको राजा भयो ।

त्यस्तै प्रकृति र पितृसँग सम्बन्धित कोँइच (सुनुवार) हरूको मुइली मुक्दुम (मुन्दुम) मा पनि किरात इतिहासमा महत्व राख्ने घटना तथा केही किरात राजाहरूको उल्लेख पाइन्छ ।

मुइली मुक्दुम (मुन्दुम) मा आफ्नो थातथलो छाडी डाँडा काटेर जाने किरातीहरूलाई लास्तीहोंपो भनेर सम्बोधन गरिन्छ । यसरी डाँडा काटेर जानेहरूमा थिए– हाङ्वा होमा र हाङ्वा होपो अर्थात् राजारानीहरूको समूह । आफ्नै थातथलोमा बस्ने किरातीलाई चाहिँ बास्तीहोपो सम्बोधन गरिन्छ । यसरी थातथलो (काठमाडौं) मै बस्ने बास्तीहोपोहरूमा मुख्यतः बासुहोमा बासुहोपो (बासु राजा, बासु रानी) पर्छन्, जसमा नाःसो बासु, पोंइबो बासु, गुरु गोंसाई, सिम्बु जस्ता पुर्खा र देवीदेवताहरू पर्छन् । त्यस्तै अन्तिममा काठमाडौंबाट हिँड्नेलाई गास्तीहोपो भनेर सम्बोधन गरिन्छ । यी गास्तीहोपोलाई हरेक कोँइच (सुनुवार) हरूको घरमा पूजा गरिन्छ (अतीत मुखिया, मुक्दुमको सेरोफेरो, २०७७) । यसबाट हामीलाई थाहा हुन्छ– पूर्वतर्फ लाग्ने किरातीहरूमा मूलतः लिच्छविहरूसँग प्रत्यक्ष अन्तर्विरोध भएका राजखलक र निकटवर्तीहरू थिए । आम किरातीहरू काठमाडौं उपत्यकामै रहे । अनि अर्को कुरा, लिखित वंशावलीका किरातराजा सिम्बुको नाम कोंइच मुक्दुम (मुन्दुम) मा दुरुस्तै उल्लेख भएको छ ।

मुक्दुम (मुन्दुम) मा भनिएको गास्ती अन्तिम किराती राजा गस्ती नै हुन् । यसले इतिहासको अर्को पोयो पनि फुकाइदिएको छ । त्यो के भने लिखित वंशावलीहरूमा अन्तिम किरात राजाका नाम अलगअलग पाइन्छ– खिगु, गलिज, खेम्बु, गुन्ज, गुनम र गस्ती । यीमध्ये को चाहिँ हुन् त अन्तिम राजा ? मुक्दुम (मुन्दुम) मा स्पष्ट व्याख्या भएकाले यीमध्ये गस्ती नै अन्तिम किराती राजा हुन् भन्ने टुङ्गोमा पुगिन्छ ।

सम्भवतः पहिलोपटक काठमाडौं छाडेर हिँड्नेहरूमध्येका थिए बुसुरी (भुसुरी) । चाम्लिङ राईहरूमा प्रचलित मौखिक इतिहासअनुसार, उनी अन्तिम किराती राजाको जेठो छोरा थिए । लिच्छविहरूको आक्रमणमा उनका सातजना चेलीहरू मारिए । थुप्रै सेना मरे । त्यसपछि बुसुरी (भुसुरी) ले भने, ‘भागौं । म अगाडिअगाडि झोरजंगल फाँड््दै जान्छु । पछाडि आउनेहरूले रूख ढलेको टुप्पा पछ्याउँदै आउनू, फेदपट्टि नआउनू । म बाटैबाटो (लामलामी) फाँड्दै (खोरम्बु) जान्छु ।’ यही कारण चाम्लिङ राईहरूमध्ये एउटा खलकको सामूहिक वंशनाम जसलाई सामै भनिन्छ, सुरुमा ‘बुसुरी लामलामी खोरम्बु’ राखिएको थियो ।

चाम्लिङ मौखिक इतिहासले थप भन्छ– बसुरी (भुसुरी) ले वनकेरा फाँड्दै हिँड्यो । केरा त एकैछिनमा पलाइहाल्छ । तर, पछिपछि पछ्याउनेहरूले सोचे, ‘ओहो, हाम्रो अगुवा त धेरै अगाडि गइसकेछ । काटेको केरा त यत्रो पलाएछ । ऊ कहाँ पुग्यो पुग्यो, भेटिँदैन ।’ त्यसरी कोंइच (सुनुवार) हरू तामाकोसी–सुनकोसी क्षेत्रतिरै बसे । कोही राईहरू दूधकोसी हुँदै उभो लागे । वाछापा र छोछापाचाहिँ भुसुरीसँगै खुवालुङ तरेर माझकिरात क्षेत्रमा फैलिए । बुसुरी (भुसुरी) र वाछापाका सन्तान अहिले चाम्लिङ राई भनेर चिनिन्छन्, छोछापाका सन्तान अहिलेका बान्तावा राईहरू हुन् (सर्वजित राई, लामाखु, खोटाङ, २०७७ माघ १६) ।

तर, लिच्छविबाट पराजित भएका किरातीहरू कतै नरोकिईकन सरासर पूर्वतर्फ लागेका भने होइनन्, क्रमशः स्थानान्तर हुँदै नयाँ केन्द्रहरू निर्माण गर्दै, सर्दै पूर्वतर्फ लागेका हुन् भन्ने बुदाहोपो (बुदाहाङ) सम्बन्धी मौखिक इतिहासले बताउँछ । कोंइच (सुनुवार) मुइली मुक्दुम (मुन्दुम) मा लिच्छविबाट विस्थापित गास्तीका सन्तान बुदाहोपो बनेपाका राजा भए । सहकी देवी सुरोमले दिएको सहको प्रतीक होमाचिरि (सुनढुकुर) कसले लिने भनेर उनका भाइहरूबीच कचिङ्गल हुँदा अलप भयो । त्यही स्थानमा मल्लकालमा चण्डेश्वरी मन्दिर निर्माण गरियो (अतीत मुखिया, मुक्दुमको सेरोफेरो, २०७७) । बुदाहोँपोलाई पुमा राईहरूले बुढाहोङ, आठपहरिया राईहरूले बुढाहाङ, चाम्लिङ राईहरूले बुद्दाहाङ जो भन्छन् ।

राईहरूमा प्रचलित मौखिक इतिहासले चाहिँ बुदाहाङलाई बनेपा होइन, दोलखाका शक्तिशाली राजा मान्ने गरेको छ । किंवदन्तीअनुसार, हरेक वर्ष साकेला पुज्दा उनका चेली सोइसोइला र श्रीमतीहरू वासाकुम्मा तथा सिल्टाङकुम्माले पहाडदेखि तराईसम्मका चराचुरुङ्गीहरूको प्वाँखले सजाइएको दोलो (मुकुट) शिरमा लगाइदिन्थे । दोलो (मुकुट) उठाउने भएकाले दोलोखाम भनिएको त्यो ठाउँ अहिले अपभ्रंस भएर दोलखा हुन पुग्यो (लालधन राई, २०७७ माघ २६, इटहरी) । बुदाहाङलाई दोलो (मुकुट) लगाइदिने प्रचलनकै निरन्तरताका रुपमा ‘दोलोकुम्मा दो’ मुन्दुम गाउने प्रचलन अहिले पनि किरात राईहरूमध्ये खालिङ, साम्पाङ र बायुङ (बाहिङ) राईहरूमा चाहिँ जीवित रहेको मैले पाएको छु । कोंइच (सुनुवार) र राईहरूमा प्रचलित मौखिक इतिहासमा बुदाहाङबारे फरकफरक व्याख्या पाइए पनि त्यसबखतको अवस्थासँग तुलना गरेर भन्न सकिन्छ– बनेपामा जरा गाडेर बसे भने खतरा हुने ठानेर लिच्छविहरूले सम्भवतः बनेपाबाट पनि विस्थापित गरेको हुनाले बुदाहाङले दोलखामा नयाँ राज्य स्थापना गरे ।

दोलखा क्षेत्रमा बसोबास गर्ने थामीहरूमा चाहिँ भक्तपुरको नारानथान क्षेत्रमा थामी राजा थियो, उनको नाग (सर्प) हरूसँग लडाइँ हुँदा कसैको पनि हारजित हुन सकेन, तर नाग (सर्प) र थामी राजा शिलाढुंगामा परिणत भए (रमेश थामी, किराती लोकसाहित्य, भाग १, २०७७) भन्ने मौखिक इतिहास प्रचलित छ । यसले काठमाडौं उपत्यकामा किराती र लिच्छविबीच मात्रै होइन, किराती र नागजातिका बीचमा पनि संघर्ष चल्थ्यो कि भन्ने संकेत गरेको छ ।

...

काठमाडौं उपत्यकाका नेवारी समाजमा पनि किरात इतिहाससँग सम्बन्धित किंवदन्ती र संस्कृति उत्तिकै जीवित भेटिन्छन् । किंवदन्तीअनुसार, नेपाल (काठमाडौं) खाल्डो जङ्गलको अवस्थामा हुँदा किराती सिकारीहरू प्रवेश गरे । तिनैमध्येका ‘यलम्बर’ ले वंघः टोलमा राजघर (दरबार) बनाएर बसे र ठूलो पुरुषार्थ देखाए । त्यही भएकाले वंघः टोलको आजुद्यःलाई यलम्बरको प्रतीक मानिन्छ । प्राचीनकालमै वंघः टोलको चोकपट्टि आजुद्यःको अगाडि) द्यःघर बनाएर पछाडिपट्टि घर बनाई बसेका ज्यापूहरू यलम्बर वंशका हुन् (बलदेव जुजु, वंघत्वाया आजुद्यः व येँदेय्, २०६७) ।

त्यस्तै टेकुस्थित पचली भैरवसम्बन्धी मौखिक इतिहास पनि कम रोचक छैन । फर्पिङका किराती राजा पचली भैरव भेष बदलेर हरेक दिन सानेपास्थित राजतीर्थमा पूजा गर्न आउँदा ‘नै’ नामकी अजिमाको सौन्दर्यबाट विमुग्ध भए । अजिमालाई हेर्न उनी हरेक दिन टेकु दोभानमा घुम्न थाले । उनीहरूबीच देखादेख भयो, प्रेममा पनि परे र वाग्मती नदीको किनारैकिनार डुलिहिँड्न थाले । एक दिन स्थानीयहरूले थाहा पाएपछि ‘फर्पिङको राजा भएको भेद खुले बेइज्जत होला’ भन्ने डरले पचली भैरवले अजिमालाई छाडेर गोप्य स्थानमा लुके । त्यही ठाउँमा अहिले पचली भैरव मन्दिर बनाइएको तथा जुन ठाउँमा ‘नै’ अडिएकी थिइन्, त्यही ठाउँमा अजिमा मन्दिर बनाइएको जनविश्वास छ । र, फर्पिङमा पुरानो दरबारको अवशेष छ, जसलाई स्थानीयहरू पचली भैरव राजाको निवास मान्छन् (सुदीप श्रेष्ठ, ‘प्रेमिका भेट्न लुकीछिपी काठमाडौं आउने फर्पिङका किराती राजा हुन् पचली भैरव’, सेतोपाटी डट कम, २०७८ कात्तिक ७) । इतिहासकार शान्ति सुरभले भने टेकुस्थित पचली भैरवलाई किरात राजा पब्बीको स्मृतिमा स्थापित भएको मानेका छन् (‘किरातकालीन सांस्कृतिक अवशेष : एक चिन्तन’, नेपाली त्रैमासिक, २०३४) ।

सुरभले थानकोटनजिकैको गाउँ बलम्बुलाई किरात राजा बलम्बाको नामबाट रहेको बताएका छन् । त्यस्तै किरातराजा ह्तिले बालबालिकाको संरक्षिकाका रूपमा अजिमाको मन्दिर स्थापना गरेका कारण हारती अजिमा भनिएको हुन सक्ने सम्भावना पनि औंल्याएका छन् । उनले काठमाडौं उपत्यकामा प्रचलित आजु–अजिमा पूजालाई किरात संस्कृतिको अवशेष मानेका छन् । उनको नजरमा पचली भैरवको खड्ग साट्ने संस्कृति र प्रत्येक १२ वर्षमा प्रदर्शन गरिने भैरव नाट्य पनि किरातकालीन संस्कृतिकै अवशेष हुन् । अनि, गथु–प्वाखं/प्याखं पनि भनेर चिनिने पचली भैरव नृत्य अझैसम्म जोगाइरहेका गथुहरू अन्तिम किरात राजा गस्ती/गस्थीका सन्तान हुन्, जसलाई जयस्थिति मल्लले मालाकार बनाए । यदि शान्ति सुरभको विश्लेषण सही हो भने खड्ग साट्ने संस्कृति किरात र लिच्छवि वंशबीचको शक्तिसंघर्ष र शान्ति सम्झौताको सांस्कृतिक अवशेष हुनुपर्छ । किराती र नेवारी समाजमा प्रचलित यी मौखिक इतिहास र संस्कृतिका आधारमा निर्धक्क भन्न सकिन्छ– हालका किरातीहरू प्राचीनकालमा काठमाडौं उपत्यकाबाट विस्थापित भएर पूर्वतर्फ लागेको सत्य हो । पूर्वबाटै काठमाडौं आइपुगेका हुनाले लिच्छविहरूबाट विस्थापित भएपछि उनीहरू उतै लागे । मौखिक इतिहासले यलम्बर, पचली या पब्बी, बलम्ब, गस्ती र सिम्बुलाई प्रामाणिक देखाएको मात्र नभएर लिच्छविहरूसँगको संघर्षको पनि प्रस्ट संकेत गरेको हुनाले लिखित वंशावलीले उल्लेख गर्ने किरात राजाहरू कदापि हुण नायक या रोमन सम्राटका विकृत टिपोट होइनन् ।

कथित व्यापारीले टिपोट गरेको हुण नायक र रोमन सम्राटलगायतको नामकै आधारमा किराती र नेवारी समाजले माथिका सबै विषय सांस्कृतिक पुँजीका रूपमा सुरक्षित गरेका हुन् भनेर मान्न मुस्किलै पर्छ । तथाकथित टिपोटमा यत्रो तागत हुने कुरा पनि भएन । बरु तत्कालीन किराती र नेवारी समाजमा अमिट प्रभाव पार्ने यथार्थ घटना र पात्रहरू भएकाले ती अहिलेसम्म पनि सामाजिक स्मृतिका रूपमा जीवित रहेका हुन् । र, माथि उल्लेख गरिएका मिथक, किंवदन्ती अनि मौखिक इतिहासको आधारमा भन्न सकिन्छ– किरातकाल अवश्य थियो ।

प्रकाशित : माघ ८, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?