कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरिजङ्गालाई किन चाहियो फुर्का ?

किरात याक्थुङ चुम्लुङले किरात राई यायोक्खासँग मिलेर ‘सिरिजङ्गा लिपि’ लाई परिर्वतन गरी ‘किरात सिरिजङ्गा लिपि’ नामकरण गरेको छ । २५ व्यञ्जन रहेको सिरिजङ्गा लिपि २३ थपेर ४८ को बनाइएको छ । इतिहास अध्येता अर्जुनबाबु माबुहाङ लेख्छन्–सिरिजङ्गाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्नु सर्वस्वीकार्य हुन्छ ।

पाण्डुलिपिमा सिरिजङ्गा
सिरिजङ्गाबारे जानिफकारहरू काबेलीखोला, तावाखोला, इङ्वाखोला, हाप्पुखोला, सिक्किम मार्तामको रेस्सीखोला र कालेजखोलाको दोभानजस्ता ठाउँहरू सिरिजङ्गाका बासस्थान भएको सुनाउँछन् । सिनाम–तेल्लोक वरिपरि सिरिजङ्गाले साप्लालुङ/शीला काबेली र हाप्पुखोलाको दोभानमा आफैंले लिपि कोरेको ढुंगा लुकाएको चर्चा आज पनि सुनिन्छ ।

सिरिजङ्गालाई किन चाहियो फुर्का ?

ताप्लेजुङ सिनामका विसं २०७० का संविधानसभा सदस्य भूपेन्द्र थेबेज्यूका अनुसार, ‘सिरिजङ्गा साप्लालुङ निकाल्न विसं २०४२/४३ तिर स्व. रामबहादुर थेबे, डम्बरबहादुर थेबे, रनबहादुर राउतलगायत सत्तेमाङ (सत्तेहाङ्मा/हिन्दुकृत लिम्बूहरू) हाप्पुखोलामा भेला भए । हाप्पुखोलामा झरिरहेको विशाल छाँगाको भित्तापट्टि सिरिजङ्गाले खोपेको ढुंगो राखिएको थियो । भेलाले मौरी काढ्न खप्पिस खामदेम्बेका नरबहादुर राउतलाई साप्लालुङ निकाल्न लगाउने निर्णय गर्‍यो । मौरीको मह काढ्दा प्रयोग गरिने लठ्ठो (सेन) नीलो दह माथि झारियो । लठ्ठालाई रूखमाथि चढेर पैंठ मारियो । राउतलाई साप्लालुङ राख्न कोक्रो दिइयो । कोक्रोमा डोरी बाँधेर रूखमा पनि पैंठ मारियो । राउत सेनमा टेक्दै हाप्पुखोलाको भित्तामा पुगे । राउतले सिला उठाए र कोक्रोमा राखे । तर, कोक्रोमा जोडिएको डोरी अचानक चुँडियो । कोक्रोसँगै साप्लालुङ पनि पानीमा खस्यो । सिरिजङ्गा साप्लालुङ निकाल्न सकिएन ।’

सिरिजङ्गाबारे खोज जारी छ । अम्लाबुङ पाँचथरका अम्बिकाप्रसाद आङदेम्बेसँग भएको विसं १८८९ को सक्कल उतार गरिएको कागजमा वंशावली टिपोट गर्ने क्रममा भुइँफुटुवा ताङसाङहाङदेखि मुनि सिरिजङ्गा र थेबेहाङको नाम लेखिएको भेटिन्छ ।

सिरिजङ्गाको जन्म ताप्लेजुङ जिल्लाको याङरुपथुमको सिनाम–तेल्लोकमा याक्थुङ्बा लिम्बू सिंथेबे परिवारमा भएको थियो । सिंथेबे वंशावली संकलन गरिरहेका झापा, दमकका दुर्गबहादुर सिंथेबे (८१) का अनुसार, साम्मिकिहाङको सोह्र पुस्तामुनि तान्छोहाङ र उनीदेखि पनि सात पुस्तामुनि पारुजङ्गा थिए । पारुजङ्गा र पुःधाहाङ्माको कोखबाट धनहाङ, सिरिजङ्गा र एक छोरी लाःइनहाङ्मा थिए ।


शोभा मानन्धर, हरेराम उपाध्याय र लक्ष्मण बास्तोलाले डिजिटाइजेसन गरेको ईएपीडटबीएलडटयूके लिंकमा सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरू पाइन्छन् । लेखोटमा ताप्लेजुङको तमोरखोला र फावाखोला क्षेत्रको लिम्बूहरूको संस्कार र लेनदेनको टिपोट भेटिन्छ ।

सिरिजङ्गाबारे हज्सन पाण्डुलिपिमा थुप्रै लेखोट संकलन गरिएका छन् । बेलायती विद्वान् ब्रायन हज्सन नेपालमा रेजिडेन्ट भएर सन् १८२० देखि १८४५ रहिसकेपश्चात् पनि फेरि सन् १८४५ देखि १८५८ सम्म दार्जिलिङमा रहँदा उनले पूर्वी नेपाल र सिक्किमका लिम्बूगाउँहरूबाट लिम्बू जातिबारे सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरू संकलन गरेका थिए । उनले मैवाखोलाका जोभानसिं फागो, छथर ताङ्खुवाका गुनमान खजुम र च्याङ्ग्रेसिं फेदाङ्मालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा, इतिहास भन्न–लेख्न लगाएर अभिलेखीकरण गरेका थिए । खरिदार जित मोहन र हवल्दार रणध्वज हज्सनका थप सहयोगी थिए । हज्सनले संकलन गरेका लेखोटहरूलाई ‘हज्सन पाण्डुलिपि’ भनिएको हो । हज्सन पाण्डुलिपि हाल इन्डिया अफिस लाइब्रेरी, लन्डनमा सुरक्षित छ ।

हज्सन पाण्डुलिपिको खण्ड ७९, ८६, ८८ का पत्रहरूमा सिरिजङ्गा आफैंले याक्थुङहरूको साप्ला/भाषा लिपि बनाएको/निकालेको लेखिएको छ । उनले बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । पत्रहरूमा सिरिजङ्गाले उतिबेलाको याक्थुङ समाज, इतिहास र राजनीतिक व्यवस्थाबारे लेखेका छन् । याक्थुङ भाषा र सिरिजङ्गाका लिपिमा मात्र लेखिएका यस्ता पत्रहरूमा सिरिजङ्गाले आफू ससुवा लिलिम याक्थुङहाङको सन्तानले मुबोक्वामा (तागेरा निङवाफुमामाङ/देव) बाट पुस्तक भेटेको, बनाएको र लेख्न सिकेको लेखेका छन् । लेखोटहरूमा मुन्धुम (सामाजिक इतिहास) र खाहुन (उपदेश) हरू भेटिन्छन् । मुन्धुममा जून, घाम, आकाश, पानी, पशुपक्षी, रूखपात, मनुष्यको उत्पतिको चर्चा छ । उनले पशुपक्षीको उत्पत्ति पुःधामलुङमा र साधामलुङमा भनेर ताप्लेजुङ मिवाखोला र तमोरखोलाको शिरमा पर्ने इङ्लेक्पा पहाडको फेदीलाई भनेका छन् । मनुष्यको उत्पत्ति इमि लुङधुङमा भएको भनेर लेलेपको लुङधुङ गाउँको गोला जाँदा बाटोमा पर्ने हल्लिने ढुंगा (जसमा सानो ओडार पनि छ) लाई भनेका छन् । मुन्धुमअनुसार, त्यहाँ याक्थुङका पहिलो पुर्खा मुजिङ्ना खेयङ्नाका सन्तानहरू छुच्छुरु छुहाम्फेबा र तेत्लारा लाहादङ्नाहरू हाडनाता बिग्रिएका थिए । उनले वर्तमान ताप्लेजुङको पाथिभरादेवीलाई मुक्तिफोमामाङ/देउता लेखेका छन् । हाल कुम्भकर्ण भनिने पहाडलाई फक्ताङलुङ लेखेका छन् । त्यस्तै मेहेले, सुरुङखिम, सादेवा, साप्लाखुमाथिको सिरिङचोक्मा भनिने डाँडालाई सिदिङचोक्मामाङ भनेका छन् । फलैंचा च्याङथाप्पुको पहाडलाई चाङधुम्बो र च्याङथाप्पुमाथिको फालेलुङ पहाडलाई इसाङलेमामाङ भनेर देउदेउताको नाममा टिपोट गरेका छन् ।

सिरिजङ्गाले लेखेका शब्दहरू असरल्ल छन् । विराम राखिए पनि वाक्य बनाउन अर्को विरामसम्म पुग्नुपर्ने हुन्छ । वाक्य बुझ्न एउटै व्यञ्जन संयोगले धेरै शब्दहरू अर्थ्याउनुपर्ने हुन्छ । यस्ता खण्डहरूको लिप्यन्तरण र उल्था पनि छैन । यी खण्डहरू अध्ययन गर्न पाण्डुलिपिकै ८५ खण्डका ‘लक्ष्मी संवाद’ शीर्षकका पत्रहरू हेरे सजिलो हुन्छ । उक्त खण्डका पत्रहरू जोभानसिं फागोले भ्याएसम्म उल्था गरेका छन् । सिरिजङ्गाले मुन्धुम र खाहुन लेख्ने क्रममा लामाहरूसँग सम्बन्धित मन्त्रहरू पनि लेखेका छन् । सम्बोधनका क्रममा आफ्ना लामा गुरुहरूका नाम पनि लेखेका छन् । जस्तो ः गेवालामा, उगेन पोमा, गेवालानी... इत्यादि । त्यस्तै...लामाखाम पाम...लामाको ठाउँ लेखेका छन् । यसदेखि बाहेक उनले विभिन्न प्रसंगमा...धर्म, पाप, पापी, चोरी, राजा, काशी, खण्ड, गोत्र, माहादेवा, गङ्गा जी, धूवाँखानीजस्ता शब्दहरू पनि प्रयोग गरेका छन् । उनी बौद्घ र हिन्दु सभ्यताका जानकार देखिन्छन् ।

हज्सन पाण्डुलिपिको खण्ड ७३ को पत्र १५३/१५६ (दुई थान) हरूमा सिरिजङ्गाले सपनामा रूखका पातमा अक्षर देखेको र ब्युँझिएपछि अक्षर लेख्न थालेको लेखिएको छ । याक्थुङहरू ज्ञान, बुद्घिको धनी भएपछि राजकाजमा विद्रोह उठाउँछन् भनेर लामाहरूले उनको हत्या गरेको लेखिएको छ । यी पत्रहरू सिरिजङ्गाका कुनै चेलाले लेखेको हुन सक्छ ।

सिरिजङ्गाबारे लेखिएको भरपर्दो पुस्तक सिक्किमका नवौं राजा थुतोव नामग्याल र रानी येशे डोल्माले सन् १९०८ मा लेखेको ‘हिस्ट्री अफ् सिक्किम’ हो । पुस्तकको काजीहरूको वंशावली खण्डको पृष्ठ २२ मा सिरिजङ्गाबारे यस्तो लेखिएको छ ः ‘लिम्बूका पूजारी येबा/येमा, फेदाङमाले भनिल्याएका मुन्धुमअनुसार परमात्मा तागेरा निङ्वाफुमाले मुबोक्वामालाई चराको विष्टा र बाँसको खरानीको मनुष्य बनाउन लगाए । पहिलो मनुष्य मुजिङ्ना खेयङ्ना भइन् । उनले हावासँग संसर्ग गरी सुसुवेङ लालावेङ सन्तान जन्माएका थिए । उनीपछि सुहाम्फेवा र लाहादङ्नाहरू भए । धेरै पुस्तापछि याङरुपमा सिरिजङ्गाबा देखिए । उनका लिम्बू मुन्धुम पढ्ने प्रचार गर्ने दिक्षित आठ चेला थिए । उनलाई सिक्किमका राजा र लामाहरूको विरुद्घमा लागेको आरोप लाग्यो । उनलाई विषालु काँणले हानियो । खोलामा फालियो । उनको प्राण गएन । उनको मुखमा चराको विष्टा कोचियो । उनको प्राण गयो । उनको आत्माले चराको रूप लिएर उड्यो । उतिबेला गोरखाका राजा सिंह थिए ।’

सिरिजङ्गाको तिथि मिति

‘हिस्ट्री अफ सिक्किम’ मा लेखिएका गोरखाका राजा ‘सिंह’ भनेर प्रतापसिंह शाहलाई भनिएको हो । सिरिजङ्गाका समकालीन प्रतापसिंह शाह देखिन्छन् । प्रतापसिंह शाहको राज्यकाललाई मानेर सिरिजङ्गाको जन्म–मृत्युको तिथिमिति तोक्नु सान्दर्भिक हुन्छ । इमानसिंह चेम्जोङले सिरिजङ्गाको जन्म मिति सन् १७०४ (विसं १७६१) र मृत्यु सन् १७४१ (विसं १७९८) लेखेका छन् । प्रतापसिंह शाहको मृत्यु विसं १८३४ मा भएको थियो । उनको राज्यकाल विसं १८३१ बाट सुरु भएको थियो । विसं १८३१ देखि १८३४ भित्र सिरिजङ्गाको मृत्युको तिथि मिति तोकिनुपर्छ । यस्तो अवस्थामा मात्र सिरिजङ्गा इतिहास बन्नेछन् । सहिद बन्नेछन् । र, उनको आत्माले मुक्ति पाउँछ । उनको मृत्यु विसं १८३४ लाई मान्दा सिरिजङ्गाको मृत्यु चेम्जोङले तोकेभन्दा ३६ वर्ष तलमाथि फरक हुन जान्छ ।

एकै थिए सिरिजङ्गा

चेम्जोङले पहिलो सिरिजङ्गा र त्यसपछि पहिलो सिरिजङ्गाकै अवतार दोस्रो सिरिजङ्गाको परिकल्पना गरेका छन् । यस्तो हुनमा उनमा बंगाली लेखक बाबु सरदचन्द्र दासको प्रभाव परेको देखिन्छ । दास सन् १८८१ मा दार्जिलिङ हुँदै सिक्किमबाट ल्हासासम्मको यात्रामा निस्केका थिए । उनले सिक्किमका हिःगाउँ, कालिखोला, लिङचोमका गाउँहरू डुल्दा लिम्बूहरूले सिरिजङ्गालाई एक दैवी शक्तिका दाता र झारफुक गर्ने देवारीका रूपमा पाएको टिपोट गरेका छन् । दासले सिरिजङ्गालाई बौद्धगुरु पद्मसम्भवको अवतारको रूपमा हिमालयन भुटियाको रूपमा चिनिने नवौं शताब्दीका दैवी गुणले युक्त देवाङ्सि भनेर सन् १९८८ (सन् १९०२ प.प्र.) मा प्रकाशनमा आएको ‘सेन्ट्रल ल्हासा एन्ड टिबेट’ को पृष्ठ ४ मा लेखेका छन् । उनले उनै सिरिजङ्गाले लिम्बू लिपि पनि आविष्कार गरेको लेखेका छन् । दासले सिरिजङ्गालाई कसरी हिमालका भुटिया र नवौं शताब्दीका पद्मसम्भवका अवतार लेखे ? त्यसो त सिरिजङ्गाले आफ्ना लेखोटमा ‘गेवानी लामा, उगेन पोमा’ जस्ता गुरु पद्मसम्भवलाई लगाइने उपमा थुप्रै ठाउँमा लेखेका छन् । पद्मसम्भव भारतको पन्जाबको उडियानमा जन्मिएका थिए । बौद्ध साहित्यमा उडियानका महागुरुलाई ‘उगेन पोमा’ भनिन्छ । पद्मसम्भवलाई सिरिजङ्गाले गुरु मानेका छन् । उनको समय सन् ७०० तिर हो । पद्मसम्भवको अवतार भनेपछि २०० वर्षको फरक पारेर दासले नै नवौं शताब्दीमा सिरिजङ्गाको अस्तित्व भएको अनुमान गरेको बुझिन्छ ।

दासको नवौं शताब्दीको सिरिजङ्गालाई चेम्जोङले पनि नवौं शताब्दीकै पहिलो सिरिजङ्गा बनाएको बुझिन्छ । दासबाट प्रभावित भएका चेम्जोङले पाँचथरका अम्लाबुङको कागजमा सिरिजङ्गा र थेबेहाङ पनि पढेको देखिन्छ । अम्लाबुङमा रहेको कागज र दासको पुस्तकलाई अघि सार्दै चेम्जोङले पहिलो सिरिजङ्गा बनाएका थिए । चेम्जोङले लेखेका अवतारी सिरिजङ्गा (चर्चा गरिएका) को चर्चा गरौं । चेम्जोङले विसं २०१८ मा प्रकाशनमा ल्याएको पुस्तक ‘लिम्बू–अंग्रेजी–नेपाली शब्दकोश’ को पृष्ठ २६–२८ अनुसार, सन् १७४० मा सिक्किमका राजाका बत्तासे छोराको विषयलाई लिएर लाप्चा मन्त्री छाङजोत कर्वाङ र भोटे मन्त्री टामडिङ ग्याल्पोबीच झगडा भयो । लिम्बू–लाप्चाहरू मिलेर भोटे मन्त्री टामडिङ ग्याल्पोलाई लखेटे । उती नै बेला याङरोकका किराती पण्डितले आठ चेलासहित ‘राजा सिरिजङ्गाको अवतार हुँ’ भन्दै लिम्बू भाषा–लिपिको प्रचार गरे । लिम्बू भाषा–लिपिको प्रचार गरेको अभियोगमा राब्देन्ची दरबारको आदेशमा पेमियोन्ची गुम्बाका टछाङ लामाहरूले सिरिजङ्गाको प्राण लिएका थिए । चेम्जोङले आफ्ना पुस्तकहरूमा थुतोव नामग्याल र येशे डोल्माको ‘हिस्ट्री अफ् सिक्किम’ लाई प्रशस्तै उद्धृत गरेका छन् । यी माथिका चेम्जोङका कथनको स्रोत पनि ‘हिस्ट्री अफ सिक्किम’ पुस्तक नै हो । पुस्तकको पृष्ठ ४३ मा सन् १७५२ (विसं १८०९) मा पहाडिया र चोङ (लिम्बू) हरूले सिङराग्यालको नेतृत्वमा सिक्किम राजाको विरुद्धमा विद्रोह गरेको लेखिएको छ । निर्मम ढंगले करवाङ (मुख्य मन्त्री) ले विद्रोह दबाए । विद्रोहीहरूलाई केही विशेषाधिकार पनि दिइयो । तर, यो अनुच्छेदमा सिरिजङ्गाबारे कहीँकतै उल्लेख छैन । उक्त पुस्तककै काजीहरूको वंशावली खण्डको पृष्ठ २२ मा सिरिजङ्गाले लामाहरूविरुद्घ दाउपेच गरेकाले उनलाई लामाहरूले मारेको र उनको मृत्यु हुँदा नेपालमा सिंह वा प्रतापसिंह शाह राज्य गर्दै गरेको लेखिएको तथ्यलाई चेम्जोङले उद्धृत गरेका छैनन् । उनले सिरिजङ्गालाई भोटेहरूबाट मारिएको लेखे पनि सिंह वा प्रतापसिंहको पालामा मारिएको भनेर लेखेनन् ।

चेम्जोङले सिरिजङ्गाको अध्ययन–अनुसन्धानमा आफ्नो सिंगो जीवन व्यतीत गरे पनि उनी उबेलाका लेखकहरूको प्रभावमा नराम्ररी फसेका छन् । उनले सिरिजङ्गा र उनको अवतारीको अवधारणा ल्याउँदा सिरिजङ्गा पहिलो र दोस्रो दुइटा भई मिथक बनेका छन् । वास्तवमा सिरिजङ्गा इतिहास हुन् मिथक होइनन् । सिरिजङ्गा एकै थिए, अठारौं शताब्दी उत्तरार्द्घका प्रतापसिंह शाहका समकालीन ।

सिरिजङ्गाको शहादत

सिरिजङ्गालाई चयनपुरका गोर्खालीहरूबाट याक्थुङ् लिम्बू लिपि–भाषा चलाएकोमा निगरानी सुरु हुन थाल्यो । उनी कावेली र तमोर दोभान, कावेली र इङ्वा दोभान, कावेली र तावा दोभान, कावेली र हाप्पुखोला दोभानका गुफाहरूमा लुक्दै हिँड्न थाले । उनलाई आफ्ना वंश/परिवार र दाजुभाइबाट साथ भएन । उनी तिम्बुङपोखरीको बाटो हुँदै सिक्किम जाने–आउने गर्थे । अन्ततः उनी आफ्ना चेलाहरूसहित सिक्किम गए । अध्ययनले उनका चेलाहरूमा तमोरखोला नाङखोलेङका रुपिहाङ र फावाखोला बोख्खिमतिरका चिरियाङ, फदुहाङ, सुख्खुबा, इलाम आदि देखिन्छन् । सिक्किमको बर्मियकस्थित मार्तामको चेप्लेटी ढुंगोमा याक्थुङ दाजुभाइहरूलाई बोलाएर उनले भाषा–लिपि पढाउन थाले । उती नै बेला पेमियोन्ची गुम्बाका टछाङ लामाहरूले याक्थुङ्बा लिम्बू भाषा—लिपि प्रचारप्रसार गरेर राजद्रोह गरेको आरोप लगाए । मार्तामको चेप्लेटी ढुंगोमा आफ्ना चेलाहरूलाई पढाइरहेका बखत उनलाई लामाहरूले पक्रिएर मुखमा विष्टा कोचिदिए । मौवाको रूखमा बाँधेर गोपेबाँसको विषालु काँणले हानेर रेस्सीखोलाको विशाल छाँगोमा फालिदिए । सिरिजङ्गाको मृत्युको समयमा सिक्किममा तेन्जिङ नामग्याल राजा देखिन्छन् । यता नेपालमा भने सेन र लिम्बूहरूको शासन रहेको विजयपुर–मोरोङ राज्य गोर्खालीले कब्जा गरिसकेको थियो । गोर्खालीहरू सिक्किम कब्जा भनेर थुमथुमका लिम्बूहरूलाई फकाउँदै थिए । सिक्किम भने लिम्बू गाउँहरूमा भोटे भाषा सम्बोटा लिपि र बौद्घ धर्म लादिरहेको थियो । उतिबेला याङरुप, तमोरखोला, मिवाखोला, मैवाखोला थुमका लिम्बूहरू सिक्किमसँग नजिक थिए । सिक्किमको नेपालको पूर्वी चयनपुरसम्म शासन चल्थ्यो । सिरिजङ्गाले याक्थुङ लिम्बूहरूलाई याक्थुङ भाषा, सिरिजङ्गा लिपि पढाउन छाडेनन् । अन्ततः भोटेहरूले सिरिजङ्गाको हत्या गरे ।

सिरिजङ्गाको हत्यापश्चात् लिम्बूहरूले सिक्किमको साथ छोडे । गोर्खा–लिम्बूवान–सिक्किमको युद्घमा लिम्बूहरूले गोर्खालीलाई सघाए । सिक्किमले च्याङथाप्पु–फालेलुङ कट्न सकेन । यदि सिरिजङ्गा नभएका भए नेपालको पूर्वी सिमाना तेह्रथुमको आठराईमा लाग्थ्यो ।

सिरिजङ्गाको अवमूल्यन

सिरिजङ्गाको योगदानलाई कदर गर्दै सरकारले विसं २०४९ मा उनको तस्बिर अंकित टिकट चलायो । सिक्किममा सिरिजङ्गा लिपिमा विसं २००४ सालदेखि याक्थुङ लिम्बू भाषाको पठनपाठन भइरहेको छ । नेपालका पनि प्रजातन्त्र पुनःस्थापना भएयता सिरिजङ्गा लिपिको पठन–पाठन सुरु हुँदै छ । विसं २०६७ मा बैरागी काइँला नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति भएका बेला विसं २०१८ सालमा इमानसिंह चेम्जोङले छापेको पुस्तक ‘लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ लाई संशोधन गरी प्रकाशनमा ल्याए । शब्दकोशभित्र हज्सन (सन् १८४४), क्याम्पबेल (सन् १८५५), थलङ (सन् १९२८) हरूले प्रयोग गरेको लेख्य परम्परालाई उद्धृत गर्दै प्रयोग गरिएको लिपिलाई सिरिजङ्गा लेखिएको र सिरिजङ्गा वर्णमाला र सिरिजङ्गा लिपिबाट शब्दकोश नै तयार भएको छ ।

अहिले आएर किरात याक्थुङ चुम्लुङले किरात राई यायोक्खासँग मिलेर ‘सिरिजङ्गा लिपि’ लाई ‘किरात सिरिजङ्गा’ लिपि बनाएर चलाउन खोजिरहेको छ । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन’मा थपिएका स्वर र व्यञ्जन वर्णप्रति याक्थुङ लिम्बूहरूको घोर असहमति छ । ती अक्षरहरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक पनि छन्  ।

सिरिजङ्गाको सम्मानमा उनैको नामबाट लिपिको नाम राख्नु उपयुक्त र सर्वस्वीकार्य हुन्छ । सिरिजङ्गाको नामअघि–पछि कुनै फुर्का र शब्दावली आवश्यक छैन ।

सिरिजङ्गा लिपिमा हालसम्म २५ व्यञ्जन थियो । २३ थपेर अब ४८ व्यञ्जनको बनाएपछि त्यो कसरि पढ्नु ? अब त्यो संस्कृत पढ्नुभन्दा पनि गाह्रो हुनेछ । सिरिजङ्गा लिपिको पूरातात्विकता, ऐतिहासिकतालाई जोडेर राईहरूले बौद्धिक सम्पत्तिको प्राधिकार लिन चुम्लुङसँग सम्बन्ध विस्तार गरेको देखिन्छ ।

उनले बनाएको लिपिलाई सिरिजङ्गा लिपि भन्ने जन्मसिद्ध अधिकार याक्थुङ लिम्बूलाई मात्रै छ ।

प्रकाशित : माघ ८, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?