१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

यी जोधाहा कविता

कविताको भाषा कठोर छ र शैली जोधाहा । तर, अनुभूतिको स्वतःस्फूर्त अभिव्यक्ति यी कवितामा छन् ।
सुमिना

एउटा आदिम चुल्ठो छ मसँग
मानव सभ्यताले बाटिदिएको
रीतिरिवाजले कोरिदिएको
आफ्नै शिरमा लर्किरहने
नारी हुनुको परिचय बोकेको
गजबको केशपास

यी जोधाहा कविता

महिला–पुरुष जैविक मात्रै नभई सम्पूर्ण रूपमै भिन्न हुन् भन्ने मान्यता स्थापित गर्न आदिम समाजले संस्कार र मर्यादाका नाममा महिलाको शिरमाथि जबर्जस्ती गुथाइएको वस्तु हो– ‘चुल्ठो’ । चुल्ठोसँग निकै पुरानो सम्बन्ध छ महिला दासताको । लामो कपाल सर्लक्क कोरेर बाट्नु, शरीरभरि विभिन्न धातुका आभूषण पहिरिनु र हिँड्दा वा उफ्रिँदा असहज हुने पोसाक लगाउनु परम्परागत समाजको नजरमा साँचो अर्थमा महिला हुनु हो ।

यसको ऐतिहासिकता जोडिन्छ, पुरानो समाजसँग । दास युगमा अधिकतम मात्रामा स्त्रीहरू दास बनाइए । जब महिला सामूहिक कार्यशालाबाट घरभित्र कैद हुन थाले, उनीहरूको स्वतन्त्रतालाई जकडेर नियम–अनुशासनको लगाम खिच्न पुरुषले ठूला प्रपञ्च रचे । त्यहाँ धर्म, संस्कार, संस्कृति र परम्पराका नाममा महिला स्वतन्त्रतामाथि ठूलै हस्तक्षेप गरियो– महिलाले यो गर्नु हुन्छ–यो हुँदैन, यहाँ जानु हुन्छ–यहाँ हुँदैन, यो लगाउनु हुन्छ–यो हुँदैन आदि इत्यादि । कवि कल्पना चिलुवालको कविता–किताब ‘चुल्ठो’ ले समाजमा स्थापित तिनै पुरातन मूल्य–मान्यतामाथि प्रश्न गरेको छ । कल्पनाका कवितामा आक्रोश छन्, आवेग छन्, काव्यिक कटाक्ष छन् । उनी सामाजिक कुरीति र कुसंस्कारसँग आँखा जुधाएर सशक्त प्रतिवाद गर्छिन् । प्रत्येक उत्पीडन, दलन, हिंसा र शोषणको अन्त्य चाहन्छिन् । उनका कवितामा सनातनी भाषा होइन, सदियौँदेखि समाजको पीँधमा दबिएका मानिसको आवाज सुनिन्छ ।

उनी आम महिलाका मर्मसँग एकाकार छिन् । उनी कविताको औंला उठाएर शासक वर्गलाई प्रश्न गर्छिन् । उनको निडरता कतै राज्यसत्तासँग टकराउँछ त कतै जनतालाई खेलको मोहोरा बनाएर सत्तासम्म पुग्ने भर्‍याङ सम्झिने पथभ्रष्ट राजनीतिक चरित्रसँग ।

कल्पनाका कवितामा प्रश्न छन्, उत्तेजना छन्, विश्लेषण छन्, अन्वेषण छन् । धेरैलाई लाग्न सक्छ, उनका कवितामा प्रेम किन छैन ? नितान्त एक प्रेमी–प्रेमिकाबीचको प्रेम नहोला, तर मानवीय प्रेम, सामूहिकताप्रतिको प्रेम, देशप्रेम र वर्गीय प्रेम उनको कवितामा भरिभराउ छन् । मार्क्सवादको वैचारिक आलोकमा प्रशिक्षित उनी वर्गीय समाजका अन्तर्विरोध खोतल्दै त्यसले माग्ने वर्गीय सङ्घर्षलाई आत्मसात् गर्छिन् ।

भौतिकवादी दृष्टिकोणद्वारा जीवन र जगत्प्रतिको द्वन्द्वात्मकतालाई उनका कविताले प्रस्ट भाषामा प्रतिविम्बित गर्छन् । उनी शोषक–उत्पीडकलाई वर्गीय शत्रु ठान्छिन् । सर्वहारा श्रमिकजनको आवाज बोल्छिन् । दलाल प्रवृत्ति, नवसामन्त तथा उपभोक्तावादी पुँजीवादविरुद्ध प्रतिपक्षीय भूमिकामा हुन्छिन् । ठगिखानेविरुद्ध लेख्छिन् र गरिखाने भुइँमान्छेका पक्षमा कविताबाटै ‘इन्कलाब’ बोल्छिन् ।

एउटा स्थापित भाष्य छ, ‘साहित्य समाजको दर्पण हो ।’ तर, अब साहित्य समाज बदल्ने पतिवर्तनकारी अस्त्र पनि बन्नुपर्छ । साहित्यले वर्तमानमा उभिएर भविष्यको दिशानिर्देश गर्न सक्नुपर्छ, वर्तमान समाजको उल्थासँगै भविष्यको चित्र निर्माण गर्न सक्नुपर्छ । साहित्यको यो भाष्य चिलुवालका कवितामा प्रयोग भएका छन् । उनका कविता वर्तमानका जटिलतालाई कसरी चिर्ने भन्ने मार्ग पहिल्याउन प्रयत्नशील छन् । कल्पनाका कविताको भाषा कठोर छ र शैली जोधाहा । तर, विलियम वर्डस्वर्थलगायतले भनेजस्तै ‘अनुभूतिको स्वतःस्फूर्त अभिव्यक्ति’ उनका कवितामा छन् । कवि पाशको जस्तो क्रान्तिचेत र वर्गसङ्घर्षप्रेम अनि कवि कृष्ण सेन ‘इच्छुक’ को जस्तो निडरता र बुलन्द विद्रोही भाव छन् । भलै एकाध कवितामा कला पक्ष केही कमजोर छन् । तर, कविताले दिने सन्देश, विचार पक्ष र विषयवस्तुको उठान स्पष्ट छ ।

किताबका ‘चुल्ठो’, ‘बोक्सी जुलुस’, ‘भान्सा घर’ जस्ता केही कविता नारी हुनुको मर्मसँग एकाकार छन् र तिनले अस्तित्ववादी धार बोकेका छन् । ‘बजार’, ‘बजारको रमिताशास्त्र’ लगायतका केही कविताले केवल क्रय–विक्रयको अन्तर्वस्तु बोकेको बजारवादमाथि प्रहार गरेका छन् । ‘सरकार’, ‘भूकम्पपछिको मध्यान्तर’, ‘लाठीचार्ज, हुरी र शासक’ जस्ता कविताले शोषित तथा उत्पीडित जनताको मर्मबोध नगर्ने शासकीय प्रवृत्तिमाथि कटाक्ष गर्दै राज्यसत्ताको चरित्रलाई उदाङ्गो पारेका छन् । कतिपय कविताले परम्पराका रूपमा लादिएका अन्धविश्वास, रुढी र पुरातन संस्कारमाथि प्रहार गरी प्रगतिशील धार पछ्याएका छन् । ‘गुलाबको ट्याटु र पन्युको डाम’ कविताले बढ्दो पश्चिमा संस्कृतिको अनावश्यक सिको अनि परम्परा र संस्कृतिका नाममा दिएको घाउ, रहर र बाध्यताबीचको विरोधाभास बोलेको छ । सदियौँदेखि समाजमा बाँचिरहेको एउटा अन्धविश्वासको दृष्टान्त हो, ‘बोक्सी जुलुस’ । बोक्सी प्रथा अर्थात् पुरातन परम्पराको एउटा विकार, जसबाट आज पनि कैयौँ महिलाहरू प्रताडित छन् ।

दुःख, दर्द र पीडाको फेहरिस्त फुकाउँदै कविताले शालीन विद्रोही चेत बोलेका छन् । कवितामा निराशा भेटिँदैनन् । यी कविताले पाठकलाई उमङ्ग र ऊर्जा भर्दै जीवनप्रति सकारात्मक र आशावादी बन्न सिकाउँछन् ।

चिलुवालका कविता वास्तविकतासँग साक्षात्कार गर्छन् । सुन्दर शैली, प्रस्ट भाव यी कविताको विशेषता हो । कवि परिवर्तन पक्षधर हुन् भन्ने उनको ‘छनोट’ कविताले बोल्छ । उनले जीवनको परिभाषा दिन नदीलाई रोजेकी छन् । नदी निरन्तरताको विम्ब हो भने चलायमान हुनु नदीको विशेषता । कविले आकाशको भव्यता होइन, नदीको चलायमान पक्षसँग जिन्दगीलाई परिभाषित गरेकी छन् । उनको ‘छनोट’ भव्यतामाथि नभएर निरन्तर चलिरहने प्रक्रियामाथि अडिएको छ ।

कविसँग मेरो दोहोरो सम्बन्ध छ । नारी हुनुको सम्बन्ध र कविले कविसँग स्थापित गर्ने भावनात्मक एवम् वैचारिक सम्बन्ध । शोषित, दमित र उत्पीडित वर्गको आवाज बोल्दै युगीन चेतना बोक्ने यी कवितासँग म सहमत छु र तिनले बोक्ने विचारप्रति एक्यबद्ध छु ।

प्रकाशित : माघ ८, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?