३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

थाना लाइनको त्यो कुमार केटो

थाना लाइनमा जन्मे–हुर्केको कुमार सुब्बा दार्जिलिङ पर हरसिंङमा बस्थ्यो, लेबुङमुन्तिर । ऊ सानो डालको मान्छे थियो, तर दिल भने ठूलो ।
केही दिनदेखि नखुलेको दार्जिलिङमा अचम्मैसँग घाम लागेको छ, निकै उज्यालो छाएको छ । तर, थाना लाइनको त्यो कुमार केटो सम्झेर सिंगो दार्जिलिङ रोइरहेको छ ।
शान्ति ठटाल

‘तिम्रो समर्पण थियो ! सपना थिएन
तिम्रो विसर्जन थियो ! विपना थिएन
तिम्रो उत्सर्ग थियो ! उद्देश्य थिएन’
(युद्ध र योद्धा, अगमसिंह गिरी)

थाना लाइनको त्यो कुमार केटो

सन् १९७२, मार्च/एप्रिलतिरको कुरा हो । हाम्रो दार्जिलिङे भाषा–साहित्यका सितारा अगमसिंह गिरीको निधन भएको एक वर्षजति भएको थियो । अगमसिंहको स्मृतिमा हामीले गोर्खा दुःख निवारक सम्मेलनको हलमा एउटा स्मृति कार्यक्रम गर्नै लागेका थियौं— ‘नौलाखे तारा’ नाममा ।

त्यही कार्यक्रमको तयारीमा धपेडी रहेकै बेला एक दिन बिहानै चौरस्तानिर एक जना चिनारु अनुहार टहलिरहेको देखें । ती पपुलर मान्छे कोही थिएनन्, बरु संगीतकार गोपाल योञ्जन थिए । मैले नजिकै गएर उनलाई सम्मान जनाएँ, आफूलाई चिनाएँ पनि । त्यही मेसोमा अगमसिंह गिरी दाजुको स्मृतिमा एक कार्यक्रम गर्न लागिएको र त्यसमा गोपाल योञ्जनको एउटा ‘म्युजिकल पिस’ भइदिएमा सुनमा सुगन्ध हुने भनेर अनुरोध गरेकी थिएँ ।

अहँ, गोपालले सुरुमा मानेनन् । ‘मैले अगम दाइको शब्दमा केही काम गरेकै छैन, अहिले नगरौं’ भनेर सुरुमा उनी तर्किरहे । हुन पनि यता दार्जिलिङमा अगम दाइको सम्पर्क र सम्बन्ध संगीतज्ञ अम्बर गुरुङसित जे जति थियो, अरू कोहीसँग थिएन । तर, म गोपाल योञ्जनको पिछा लाग्न छाडिनँ ।

‘ठीक छ, ट्युन त भर्ने, केमा भर्ने त ?’, गोपालले जिज्ञासा राखे ।

‘गिरीको काव्य ‘युद्ध र योद्धा’ को कुनै अंशमा ट्युन गर्दा हुन्छ नि त’, मैले सुझाएकी थिएँ ।

नभन्दै गोपालले ट्युन भरे । दोस्रो विश्वयुद्धमा मरेका र घाइते सैनिकहरूको सम्झनामा लेखिएको गहन खण्डकाव्य ‘युद्ध र योद्धा’ बाट १० मिनेटजतिको समूह–गायनको म्युजिक तयार भएको थियो । त्यसमा अग्रपंक्तिमा थियो– गायक कुमार सुब्बाको स्वर, साथमा दावा ग्याल्मो, मणिकमल आदिको स्वर पनि थियो ।

इतिहासमा गरेका र कतिपय अभिलेखबद्ध हुनैपर्ने कुराहरूसमेत त्यसै हराएर जान्छन्, मेरै हकमा पनि कति गीत गाइए, कतिमा संगीत भरियो वा कतै कुनै शब्द पनि लेखियो भन्ने रेकर्ड म आफैंसँग छैन । तर, अगम दाजुको सृजनामा गोपाल योञ्जनको संगीत र कुमार सुब्बासहितको स्वरको ‘अभिलेख’ लाई मैले भुल्नै सकिनँ । त्यही भएर सन् २०२० को जाडो महिनामा म सिलगडी (दुई माइल) गएँ, सानो भ्यानमा हारमुनियम बोकेरै । भाइ कुमार सुब्बा केही वर्षयता मस्तिष्काघात भएर र मुटुमा पेसमेकर लगाएर आरामीमा बसेका थिए । म उनीकहाँ पुगें– ‘युद्ध र योद्धा’ को आधा शताब्दी पुरानो इतिहास सम्झाउन ।

त्यही सम्झेर म हारमुनियम बोकेरै ३ वर्षअघि कुमारलाई भेट्न गएकी थिएँ— त्यो संगीतको टुक्रा (ट्युन) स्मरण गर्न । गोपालको ट्युन मर्नु हुँदैन भनेर गएकी थिएँ, कुमारले मुस्किलैले सम्झेर गाह्रो गरि गाए, मैले मोबाइलमा रेकर्ड गर्न पाएँ । यो ट्युन रिफाइन गर्न एक पटक दावा ग्याल्मोलाई पनि भेटौं भन्दै छु । दावालाई अलिक बिसन्चो छ भन्ने सुनेकी छु ।

कुमार भाइलाई नजिकैबाट भेटेर, सधैं गाउन मात्रै चाहिरहने भाइको इच्छा सुनेर र दुःखसुखका बात गरेको त्यही पालि हो । अरूभन्दा पनि कुमारले संगीतमा राखेको आजीवन समर्पण म सधैं सम्झन्छु । ‘मलाई तपाईंको अप्ठेरो र साह्रो संगीतको शैली खुबै मन पर्छ भन्थ्यो’ भाइ । फेरि जे जस्तै साह्रो गीत पनि एकदमै सहज र सजिलो गरी गाइदिन्थ्यो ऊ ।

***

गोपाल योञ्जनसँग जोडिएको त्यो अवसरबाहेक ‘युद्ध र योद्धा’ काव्यको अर्को अंशमा पनि कुमार भाइले स्वर भरेका रहेछन्, पछि थाहा भयो । मनबहादुर राईको संगीतमा ‘म धिक्कारहरूमा बाँच्न चाहन्नँ, म लाञ्छनाहरूमा जिउन चाहन्नँ’ बोलको गीत कुमार भाइले गाएका रहेछन् । कर्म योञ्जन (जो कुमारको सांगीतिक जीवनका परिपूरक हुन् अथवा, भनौं एकअर्कामा सिक्काका दुई पाटा) कै संगीतमा अगमसिंहको अर्को गीत पनि गाएको मैले पाएकी छु, त्यसको शब्द थियो—

‘चिनारु खोज माटोमा यहीं

छरिएला उजेली

हो तिम्रो गाउँ तिम्रै हो ठाउँ

साक्षी छ यहाँ हिमाली

बाँच र बचाउ आफूलाई यहीं

भन्छ है हेर अतीतले

सम्झना सारा फर्काइदिन्छ

टिस्टा रंगीतले...’

कुमार भाइले मेरो ट्युनका धेरै गीत गाएका छन्— भजन, राष्ट्रभक्तिका सहित । मलाई सम्झना भइरहेको छ, सिक्किमे गीतकार बली सुब्बाको गीत रेकर्ड गर्न सन् १९९६ मा मसहितको टोली काठमाडौं पुगेको थियो, त्यसबेला कुमार सुब्बाले गाएका थिए—

‘जिन्दगीको हरेक बजारमा ठगिएको छ मान्छे

जिन्दगीको हरेक पीडामा कुल्चिएको छ मान्छे’

यो गीत शब्द/संगीतमा यस्तो राम्रो बनिदियो कि धेरै पछिसम्म पनि कुमार यही गीत गुन्गुनाउँथे । कुमारसँग जोडिएका यस्ता कति गीत–संगीत आज कता छन्— खोजबिनमै लाग्नुपर्छ, त्यति सजिलै भेटिन्न ।

थाना लाइनमा जन्मे–हुर्केको कुमार दार्जिलिङ पर हरसिंङ भन्ने ठाउँमा बस्थ्यो, लेबुङमुन्तिर । ऊ सानो डालको मान्छे थियो, तर दिल भने ठूलो । सपना, संघर्ष र साधनाको सुरुवातमै सन् १९६५ तिर मैले एउटा मौका पाएकी थिएँ— डीबी परियारको निर्देशनमा बन्दै गरेको ‘हिमालकी रानी’ फिल्ममा संगीत भर्ने । कलकत्ताको एचएमभीमा गीत रेकर्ड गर्न गएका थियौं— कुमार सुब्बा, दिलमाया खातीसहितको टोली । त्यसमा कर्म–गोपालको संगीत थियो । यसरी पिक्चरमा संगीत भर्नु अथवा गीत गाउन पाउनु निकै ठूलो कुरा थियो । दुर्भाग्य, हामीले हाम्रो काम सक्यौं । तर, पिक्चर भने आउनै सकेन । कुमारसँगको भेटमा ‘हिमालकी रानी’ को कुरा गरेर हामी रमाउँथ्यौं पनि । हिमालय कला मन्दिर सम्बद्ध कलाकार कुमार बिशेषतः कर्म योञ्जन र दिलमायाहरूसँग नङ–मासुको साइनोमा थिए ।

गीत–संगीतका आ–आफ्नो डम्फु बजाइरहेकै बेला सन् १९७२ पछि ‘अनि देउराली रुन्छ’ नाटकका कारण कुमार सुब्बा त चर्चाको आकाशमै पुगिहाले, सबैतिर हाईहाई । मनबहादुर मुखियाको नाटकमा त्यहाँ रहेका गीतहरू मुखियाकै थिए, कर्म योञ्जनको संगीतले दार्जिलिङ त के, सिंगो नेपाल र जतासुकैका नेपालीभाषी स्रोतागण उचालिएका थिए । मलाई के लाग्छ भने कुमार–कर्मको जोडी र मुखियाको नामलाई आज ५० बर्ष बितिसक्दा पनि कालजयी बनाउने त्यही ‘अनि देउराली रुन्छ’ थियो । योबाहेक मेरा बुझाइमा अर्को एउटा गीतले कर्म–कुमारको जोडालाई यत्रतत्र–सर्वत्र पपुलर बनाएको थियो, त्यो गीत थियो, मञ्जुलको— ‘मेरो सानो मुरलीमा मेरो देश

नअट्ला...।’ कुमार बित्नुभन्दा एक दिनअघि आएको ‘हिमालय दर्पण’ पत्रिकामा पनि लेखक कालुसिंह रनपहेंलीलाई कुमारले ‘अनि देउराली रुन्छ’ र ‘मेरो सानो मुरली’ गीतलाई आफ्नो सांगीतिक जीवनकै ‘माइलस्टोन’ भनेका रहेछन् । योभन्दा बढी नेपालमा नेपालय संस्थाले बोलाएर ३ पटक पलेंटी कार्यक्रममा गीत गाउन गएको अवसर र क्षण सम्झेर कुमार सधैं खुसी बाँडिरहेको हुन्थ्यो ।

अस्ति माघे संक्रान्तिको रातमा कुमारले धर्ती छाड्यो । त्यसको पर्सिपल्ट उसको अन्तिम संस्कारको क्षण थियो । केही दिनदेखि नखुलेको दार्जिलिङमा अचम्मैसँग घाम लागेको छ, निकै उज्यालो छाएको छ । तर, थाना लाइनको त्यो कुमार केटो सम्झेर सिंगो दार्जिलिङ रोइरहेको छ :

‘बिर्सेर गए पनि माया लिएर जाऊ

मेरो याद फेरि आउला पत्तो लिएर जाऊ...’

(शब्द/संगीत : गोपाल योञ्जन, स्वर : कुमार सुब्बा)

-कान्तिपुरका देवेन्द्र भट्टराईसँगको कुराकानीमा आधारित

प्रकाशित : माघ ८, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?