थाना लाइनको त्यो कुमार केटो- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाना लाइनको त्यो कुमार केटो

थाना लाइनमा जन्मे–हुर्केको कुमार सुब्बा दार्जिलिङ पर हरसिंङमा बस्थ्यो, लेबुङमुन्तिर । ऊ सानो डालको मान्छे थियो, तर दिल भने ठूलो ।
केही दिनदेखि नखुलेको दार्जिलिङमा अचम्मैसँग घाम लागेको छ, निकै उज्यालो छाएको छ । तर, थाना लाइनको त्यो कुमार केटो सम्झेर सिंगो दार्जिलिङ रोइरहेको छ ।
शान्ति ठटाल

‘तिम्रो समर्पण थियो ! सपना थिएन
तिम्रो विसर्जन थियो ! विपना थिएन
तिम्रो उत्सर्ग थियो ! उद्देश्य थिएन’
(युद्ध र योद्धा, अगमसिंह गिरी)

सन् १९७२, मार्च/एप्रिलतिरको कुरा हो । हाम्रो दार्जिलिङे भाषा–साहित्यका सितारा अगमसिंह गिरीको निधन भएको एक वर्षजति भएको थियो । अगमसिंहको स्मृतिमा हामीले गोर्खा दुःख निवारक सम्मेलनको हलमा एउटा स्मृति कार्यक्रम गर्नै लागेका थियौं— ‘नौलाखे तारा’ नाममा ।

त्यही कार्यक्रमको तयारीमा धपेडी रहेकै बेला एक दिन बिहानै चौरस्तानिर एक जना चिनारु अनुहार टहलिरहेको देखें । ती पपुलर मान्छे कोही थिएनन्, बरु संगीतकार गोपाल योञ्जन थिए । मैले नजिकै गएर उनलाई सम्मान जनाएँ, आफूलाई चिनाएँ पनि । त्यही मेसोमा अगमसिंह गिरी दाजुको स्मृतिमा एक कार्यक्रम गर्न लागिएको र त्यसमा गोपाल योञ्जनको एउटा ‘म्युजिकल पिस’ भइदिएमा सुनमा सुगन्ध हुने भनेर अनुरोध गरेकी थिएँ ।

अहँ, गोपालले सुरुमा मानेनन् । ‘मैले अगम दाइको शब्दमा केही काम गरेकै छैन, अहिले नगरौं’ भनेर सुरुमा उनी तर्किरहे । हुन पनि यता दार्जिलिङमा अगम दाइको सम्पर्क र सम्बन्ध संगीतज्ञ अम्बर गुरुङसित जे जति थियो, अरू कोहीसँग थिएन । तर, म गोपाल योञ्जनको पिछा लाग्न छाडिनँ ।

‘ठीक छ, ट्युन त भर्ने, केमा भर्ने त ?’, गोपालले जिज्ञासा राखे ।

‘गिरीको काव्य ‘युद्ध र योद्धा’ को कुनै अंशमा ट्युन गर्दा हुन्छ नि त’, मैले सुझाएकी थिएँ ।

नभन्दै गोपालले ट्युन भरे । दोस्रो विश्वयुद्धमा मरेका र घाइते सैनिकहरूको सम्झनामा लेखिएको गहन खण्डकाव्य ‘युद्ध र योद्धा’ बाट १० मिनेटजतिको समूह–गायनको म्युजिक तयार भएको थियो । त्यसमा अग्रपंक्तिमा थियो– गायक कुमार सुब्बाको स्वर, साथमा दावा ग्याल्मो, मणिकमल आदिको स्वर पनि थियो ।

इतिहासमा गरेका र कतिपय अभिलेखबद्ध हुनैपर्ने कुराहरूसमेत त्यसै हराएर जान्छन्, मेरै हकमा पनि कति गीत गाइए, कतिमा संगीत भरियो वा कतै कुनै शब्द पनि लेखियो भन्ने रेकर्ड म आफैंसँग छैन । तर, अगम दाजुको सृजनामा गोपाल योञ्जनको संगीत र कुमार सुब्बासहितको स्वरको ‘अभिलेख’ लाई मैले भुल्नै सकिनँ । त्यही भएर सन् २०२० को जाडो महिनामा म सिलगडी (दुई माइल) गएँ, सानो भ्यानमा हारमुनियम बोकेरै । भाइ कुमार सुब्बा केही वर्षयता मस्तिष्काघात भएर र मुटुमा पेसमेकर लगाएर आरामीमा बसेका थिए । म उनीकहाँ पुगें– ‘युद्ध र योद्धा’ को आधा शताब्दी पुरानो इतिहास सम्झाउन ।

त्यही सम्झेर म हारमुनियम बोकेरै ३ वर्षअघि कुमारलाई भेट्न गएकी थिएँ— त्यो संगीतको टुक्रा (ट्युन) स्मरण गर्न । गोपालको ट्युन मर्नु हुँदैन भनेर गएकी थिएँ, कुमारले मुस्किलैले सम्झेर गाह्रो गरि गाए, मैले मोबाइलमा रेकर्ड गर्न पाएँ । यो ट्युन रिफाइन गर्न एक पटक दावा ग्याल्मोलाई पनि भेटौं भन्दै छु । दावालाई अलिक बिसन्चो छ भन्ने सुनेकी छु ।

कुमार भाइलाई नजिकैबाट भेटेर, सधैं गाउन मात्रै चाहिरहने भाइको इच्छा सुनेर र दुःखसुखका बात गरेको त्यही पालि हो । अरूभन्दा पनि कुमारले संगीतमा राखेको आजीवन समर्पण म सधैं सम्झन्छु । ‘मलाई तपाईंको अप्ठेरो र साह्रो संगीतको शैली खुबै मन पर्छ भन्थ्यो’ भाइ । फेरि जे जस्तै साह्रो गीत पनि एकदमै सहज र सजिलो गरी गाइदिन्थ्यो ऊ ।

***

गोपाल योञ्जनसँग जोडिएको त्यो अवसरबाहेक ‘युद्ध र योद्धा’ काव्यको अर्को अंशमा पनि कुमार भाइले स्वर भरेका रहेछन्, पछि थाहा भयो । मनबहादुर राईको संगीतमा ‘म धिक्कारहरूमा बाँच्न चाहन्नँ, म लाञ्छनाहरूमा जिउन चाहन्नँ’ बोलको गीत कुमार भाइले गाएका रहेछन् । कर्म योञ्जन (जो कुमारको सांगीतिक जीवनका परिपूरक हुन् अथवा, भनौं एकअर्कामा सिक्काका दुई पाटा) कै संगीतमा अगमसिंहको अर्को गीत पनि गाएको मैले पाएकी छु, त्यसको शब्द थियो—

‘चिनारु खोज माटोमा यहीं

छरिएला उजेली

हो तिम्रो गाउँ तिम्रै हो ठाउँ

साक्षी छ यहाँ हिमाली

बाँच र बचाउ आफूलाई यहीं

भन्छ है हेर अतीतले

सम्झना सारा फर्काइदिन्छ

टिस्टा रंगीतले...’

कुमार भाइले मेरो ट्युनका धेरै गीत गाएका छन्— भजन, राष्ट्रभक्तिका सहित । मलाई सम्झना भइरहेको छ, सिक्किमे गीतकार बली सुब्बाको गीत रेकर्ड गर्न सन् १९९६ मा मसहितको टोली काठमाडौं पुगेको थियो, त्यसबेला कुमार सुब्बाले गाएका थिए—

‘जिन्दगीको हरेक बजारमा ठगिएको छ मान्छे

जिन्दगीको हरेक पीडामा कुल्चिएको छ मान्छे’

यो गीत शब्द/संगीतमा यस्तो राम्रो बनिदियो कि धेरै पछिसम्म पनि कुमार यही गीत गुन्गुनाउँथे । कुमारसँग जोडिएका यस्ता कति गीत–संगीत आज कता छन्— खोजबिनमै लाग्नुपर्छ, त्यति सजिलै भेटिन्न ।

थाना लाइनमा जन्मे–हुर्केको कुमार दार्जिलिङ पर हरसिंङ भन्ने ठाउँमा बस्थ्यो, लेबुङमुन्तिर । ऊ सानो डालको मान्छे थियो, तर दिल भने ठूलो । सपना, संघर्ष र साधनाको सुरुवातमै सन् १९६५ तिर मैले एउटा मौका पाएकी थिएँ— डीबी परियारको निर्देशनमा बन्दै गरेको ‘हिमालकी रानी’ फिल्ममा संगीत भर्ने । कलकत्ताको एचएमभीमा गीत रेकर्ड गर्न गएका थियौं— कुमार सुब्बा, दिलमाया खातीसहितको टोली । त्यसमा कर्म–गोपालको संगीत थियो । यसरी पिक्चरमा संगीत भर्नु अथवा गीत गाउन पाउनु निकै ठूलो कुरा थियो । दुर्भाग्य, हामीले हाम्रो काम सक्यौं । तर, पिक्चर भने आउनै सकेन । कुमारसँगको भेटमा ‘हिमालकी रानी’ को कुरा गरेर हामी रमाउँथ्यौं पनि । हिमालय कला मन्दिर सम्बद्ध कलाकार कुमार बिशेषतः कर्म योञ्जन र दिलमायाहरूसँग नङ–मासुको साइनोमा थिए ।

गीत–संगीतका आ–आफ्नो डम्फु बजाइरहेकै बेला सन् १९७२ पछि ‘अनि देउराली रुन्छ’ नाटकका कारण कुमार सुब्बा त चर्चाको आकाशमै पुगिहाले, सबैतिर हाईहाई । मनबहादुर मुखियाको नाटकमा त्यहाँ रहेका गीतहरू मुखियाकै थिए, कर्म योञ्जनको संगीतले दार्जिलिङ त के, सिंगो नेपाल र जतासुकैका नेपालीभाषी स्रोतागण उचालिएका थिए । मलाई के लाग्छ भने कुमार–कर्मको जोडी र मुखियाको नामलाई आज ५० बर्ष बितिसक्दा पनि कालजयी बनाउने त्यही ‘अनि देउराली रुन्छ’ थियो । योबाहेक मेरा बुझाइमा अर्को एउटा गीतले कर्म–कुमारको जोडालाई यत्रतत्र–सर्वत्र पपुलर बनाएको थियो, त्यो गीत थियो, मञ्जुलको— ‘मेरो सानो मुरलीमा मेरो देश

नअट्ला...।’ कुमार बित्नुभन्दा एक दिनअघि आएको ‘हिमालय दर्पण’ पत्रिकामा पनि लेखक कालुसिंह रनपहेंलीलाई कुमारले ‘अनि देउराली रुन्छ’ र ‘मेरो सानो मुरली’ गीतलाई आफ्नो सांगीतिक जीवनकै ‘माइलस्टोन’ भनेका रहेछन् । योभन्दा बढी नेपालमा नेपालय संस्थाले बोलाएर ३ पटक पलेंटी कार्यक्रममा गीत गाउन गएको अवसर र क्षण सम्झेर कुमार सधैं खुसी बाँडिरहेको हुन्थ्यो ।

अस्ति माघे संक्रान्तिको रातमा कुमारले धर्ती छाड्यो । त्यसको पर्सिपल्ट उसको अन्तिम संस्कारको क्षण थियो । केही दिनदेखि नखुलेको दार्जिलिङमा अचम्मैसँग घाम लागेको छ, निकै उज्यालो छाएको छ । तर, थाना लाइनको त्यो कुमार केटो सम्झेर सिंगो दार्जिलिङ रोइरहेको छ :

‘बिर्सेर गए पनि माया लिएर जाऊ

मेरो याद फेरि आउला पत्तो लिएर जाऊ...’

(शब्द/संगीत : गोपाल योञ्जन, स्वर : कुमार सुब्बा)

-कान्तिपुरका देवेन्द्र भट्टराईसँगको कुराकानीमा आधारित

प्रकाशित : माघ ८, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

५० वर्षअघिको भेट 

कुमार समर्पणयुक्त र भाव बोकेर मात्रै गाउन थाल्ने गायक थियो । रिहर्सल परेका बेला ऊ दिनैभर गीत गाइरहेको हुन्थ्यो । भनिरहन्थ्यो– गीत गाउन पाए मलाई दिनरातै उज्यालो लाग्छ ।
मनबहादुर मुखिया

दोलखाको बाबरे गाउँबाट यो कथा सुरु हुन्छ । ३ वर्षे उमेरमा बा–आमाका साथ लागेर छाडेको बाबरे गाउँ घुम्न २२ वर्षे लक्का जवान भएपछि मात्रै पुगेको थिएँ । त्यो पहाडी गाउँको दुःख र हैरानी तथा १२ महिनै काम गरेर मात्रै हातमुख जोर्न सकिने स्थिति देखेर म भावुक बनेको रहेछु क्यार !

दार्जिलिङ फर्कनासाथै नाटक–रंगमञ्चका चिनारुको संगत र गोर्खा दुःख निवारकजस्ता संस्थाको रस भिजेर होला, मैले लेखेको थिएँ— अनि देउराली रुन्छ ।

उसो त सन् १९७२ मा ‘अनि देउराली रुन्छ’ सार्वजनिक हुनुअघि दुई छोटा नाटक ‘तर क्षितिज हाँस्दैन’ र ‘अनुराग’ लेखेर मञ्चन भइसकेका थिए । त्यसमा कर्म योञ्जनको संगीत र कुमार सुब्बा, दावा ग्याल्मोको स्वर थियो । तर, एक सिकारु नाटक लेखक भएकाले हुन सक्छ– मभन्दा केही वर्षले जेठा कुमार सुब्बालाई मैले प्रत्यक्ष चिन्न पाएको थिइनँ, कर्म दाजुले सबै तरतिव मिलाउनुभएको थियो ।

पछि ‘अनि देउराली रुन्छ’ नाटकलाई रंगमञ्चमा उतार्ने इच्छाबारे र यो गीति नाटक भएकाले आफूले लेखेका गीतमा ट्युन भरिदिनसमेत अग्रज कर्म योञ्जनलाई आग्रह गरेको थिएँ । गीतमा धुन भरिसकेर गायकका रूपमा कुमार सुब्बालाई लिएर मकहाँ आउनुभएको थियो, कर्म योञ्जन । सन् १९७२ को सुरुवातमा मैले कर्ममार्फत गायक कुमारलाई गोर्खा दुःख निवारक सम्मेलन कक्षमा पहिलो पटक चिनेको थिएँ, कुराकानी भएको त्यही पहिलोपालि थियो ।

त्यसअघि कुमारले दार्जिलिङका केही सांस्कृतिक कार्यक्रमका स्टेजमा गीत गाइरहेको मैले देखेको थिएँ । उनी मजस्तै मझौला कदका थिए, हेर्दैमा असल लाग्ने । पछि संगतमा थाहा भयो— उनी निकै अन्तर्मुखी पनि रहेछन् । कति कुरा आफूलाई लागिरहेको भए पनि भन्नै नसक्ने । कतिपय गीतका शब्द वा सन्दर्भबारे उनी केही भन्न खोजिरहेका हुन्थे तर, भनिहाल्दैनथे ।

एक पटक भने कुमार वा कर्मले नभने पनि नेपालको तत्कालीन राजा शासनका कारण होला, मेरो एउटा गीतको शब्दमा हेरफेर गरिएको रहेछ । कुमार–कर्मसहितको टोली काठमाडौंको रत्न रेकर्डिंङ स्टुडियोमा ‘अनि देउराली रुन्छ’ को गीत रेकर्ड गराएर आएपछि र रेडियोबाट गीत बज्न थालेपछि मात्रै यस्तो शब्द हेराफेरी थाहा पाएको थिएँ । मैले लेखेको ‘सारंगीको तारले’ गीतको बीचको अन्तरामा ‘मेरो स्वरमा झुपडी र दरबारको कथा’ थियो, पछि रेकर्डमा भने ‘मेरो स्वरमा आफ्नै गाउँ र बस्तीको कथा’ भएको रहेछ । पछि दार्जिलिङमा कुमारलाई भेटेर त्यो शब्द हेरफेरबारे जिज्ञासा राखेको पनि थिएँ, त्यत्तिकै कुरो फासुफुस भयो । त्यसपछि मैले लेखेका र मन्चमा आएका ‘फेरि इतिहास दोहोरिन्छ’ (सन् १९७४), ‘क्रसमा टाँगिएको जिन्दगी’ (१९७५) र ‘विद्रोही राजरक्त’ (१९७८) भन्ने नाटकमा पनि कर्म र कुमारकै जोडा थियो ।

तर, ‘अनि देउराली रुन्छ’ ले अचम्मै गर्‍यो, मैले नसोचेको कुरा ! त्यसको ‘देउरालीका ठिटी हो’, ‘हे फूल चुँडेर लाने हो’ जस्ता गीतमा कर्मको संगीत र कुमारको स्वर यसरी जम्यो कि त्यो नाटक भनेकै त्यही गीत हो भनेजस्तै भयो । कथावस्तु त थियो नै, त्यसमाथि शब्द–संगीत–स्वर पनि परिपूरकझैं बने, पपुलारिटी बढाउन । त्यसरी मानवीय संवेदनालाई सूक्ष्म रूपले ब्याख्या गर्न नाटकभित्र गीतसंगीत प्रयोग गरिनु अपरिहार्यझैं थियो, त्यो समयमा ।

सन् ६० को दशकमा ख्याति कमाएका नाटककार मोहन थापाका नाटकमा पनि गीतसंगीत हालिएको थियो । थापाका ‘साँझको तारा (१९६४)’, ‘भुलेको बाटो (१९६४)’, ‘सीमा (१९६२)’, ‘समाधि (१९६३)’ जस्ता नाटकमा पनि प्रशस्तै गीत थिए । त्यसमा संगीत कपिलराज सुब्बा वा शरण–रञ्जितको हुन्थ्यो । त्यसबाहेक, नन्दा हाङखिमको ‘युद्धहरू’ नाटक र भवानी भिक्षुको ‘त्यो फेरि फर्केला ?’ कथामा पनि कुमार–कर्मकै जोडी थियो । भिक्षुको कथामा भने अगमसिंह गिरीले नाटकीकरण गरेका थिए ।

कुमारसँगको सांगीतिक साइनोको कुरा गर्दा ‘अनि देउराली रुन्छ’ का गीतहरू तथा ‘मेरो सानो मुरलीमा’ गीतबीच घनिष्ठ सम्बन्ध रहेकोझैं धेरै श्रोताले ठानेका रहेछन् । म दार्जिलिङ छँदै र पछि काठमाडौं आएपछि (सन् १९७९) पनि ‘मेरो सानो मुरलीमा’ गीतलाई ‘अनि देउराली रुन्छ’ भित्रकै कथा–व्यथा सम्झनेहरू पनि प्रशस्तै भेटिए । यो संयोग मात्रै हो, यी दुवै रचनामा कर्म योञ्जनको संगीत छ, यी दुवै एकै समयमा रेकर्ड भएर (सन् ७२ पछि) उधुम चर्चामा छाएका हुन् । तर, समय र सृजनाको तारतम्य मात्रै यसमा मिलेको हो ।

‘मञ्जुलको ‘मेरो सानो मुरलीमा’ गीत त मैले कर्म दाजुमार्फत पाएको हुँ, मञ्जुलले मलाई दिएको होइन । सन् ६० दशकको अन्त्यतिर राल्फाली समूह दार्जिलिङ पुगेका बेला मञ्जुलले यो गीत कर्म दाजुलाई दिएका रहेछन्, धुन भरिपाऊँ भनेर । पछि मैले त्यही गीत गाउन पाएको हुँ, जसले कुमार–कर्म–मञ्जुल ट्रियोलाई नसोचेको तालमा सबैतिर चिनायो’, कुमारले कतै अन्तर्वार्तामा भनेका पनि छन् ।

यसरी सन् १९७२ भरि नै ‘अनि देउराली रुन्छ’ ले नामकाम बनाइरह्यो । त्यसपछि पनि कुमारसँग हिमालय कला मन्दिरमा यदाकदा भेट हुन्थ्यो । धेरैपछि सन् २००७/०८ तिर होला—काठमाडौंमा आयोजना भएको कुमार सुब्बाको सांगीतिक पलेंटीमा पनि मैले कुमारलाई भेट्न पाएको थिएँ । कुमार एकदमै समर्पणयुक्त र भाव बोकेर मात्रै गाउन थाल्ने गायक थियो, रिहर्सल परेका बेला ऊ दिनैभर गीत गाइरहेको हुन्थ्यो । उसले ‘गीत गाउन पाएमा मलाई दिनरातै उज्यालो लाग्छ’ भनिरहन्थ्यो पनि ।

आज मेरो समवयी दौंतरी कुमारलाई स्मरण गरिरहँदा उसले गाएको एउटा गीत म खुबै सम्झन्छु । कहीँकतै चर्चा पनि त्यति भएन, अहिलेको हिसाबमा ‘अन्डररेटेड’ भन्छन् नि ! गीतकार किरण खरेलको शब्द र कर्म दाजुकै संगीतमा रेकर्ड भएको त्यो गीत मैले एक/दुई पटक रेडियोमा सुनेको हुँ ।

मैले सम्झेको त्यो गीतको स्थायीका शब्द तलमाथि पर्न सक्छन् तर, गीत भने यही थियो । यही गीतका शब्दबाट मेरो जीवनकाल र संघर्षका क्षणमा एकदमै नजिकमा बसेको साथी कुमार सुब्बालाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु :

‘सारा तारा चुँडालेर

आकाश रित्तै पारिदिऊँजस्तो लाग्छ

यस्तो लाग्छ कहिलेकाहीँ

आफैंलाई मारिदिऊँजस्तो लाग्छ.... ।’

प्रकाशित : माघ ८, २०७८ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×