पृथ्वीलाई प्रेमपत्र
जब हामीले सोच्यौ
पृथ्वी हाम्रो हो
हामी चुक्यौँ -
खासमा हामी पृथ्वीका हौँ
-निकोनार पार्रा (चिल्ली)
ए अजनबी साथी
मलाई थाहा छ -
रूख काटिनु बन्द गराउने छैन कविताले
आकाश छेंड़िनु बन्द हुने छैन कविताले
चरा हराउनु बन्द गराउने छैन कविताले
कार्बन उड़्नु बन्द हुने छैन कविताले
हिउँ पग्लिनु बन्द हुने छैन कविताले
हावा तात्तिनु बन्द हुने छैन कविताले
र पनि
किन लेखिरहेको छु होला हँ
यसरी कविता -
गम खान्छु
खाइरहन्छु
कहिल्यै नभेटेको अजनबी साथीले एक दिन भन्यो –
अरूलाई गुराँस, चाँप, गोदावरीहरू मन पर्छ
मलाई मन पर्छ आरूको फूल
सानुमा म आरूको रुख चढ़्थेँ
गाउँलेहरूले त्यो आरूको रुख ढालिदिएदेखि
मेरो त मानवताबाटै मन उठ्यो
त्यस दिन म बोजूको काखमा बेस्सरी रोएँ
बोजूलाई सोधेँ –
मान्छे किन यत्ति निष्ठूर र स्वार्थी बोजू
बोजूले चुह्लामा दाउरा ठेलिरही
धुवाँले भान्साकोठा रुमल्लिएपछि
म खोक्दै बाहिर निस्किएँ
र आधी जून हेरिबसेँ
यति भनिसकेपछि अजनबी साथीले
केही बेरको अन्तरालपछि भन्यो –
तिमी कविता लेख्छौ
किनभने तिमी अझ
मानवतामै आस्था राख्छौ
मैले झट्ट भनेँ –
म अझ कवितै लेखिरहेको छु
किनभने म
प्रकृतिमाथि आस्था राख्छु
अजनबी साथीलाई जब मैले भनेँ -
रुखको नाममा
चराको नाममा
बादलको नाममा
पृथ्वीको नाममा
प्रेमपत्र न हो
यो मेरो कविता
तब
ऊ चुपचाप
उता फर्किरह्यो
उसको आँखा देख्न सक्ने भएको भए
उसका आँखामा खोज्ने थिएँ हुँला
बालखा छँदै उसले निभाइदिएको
मान्छेको लागि फुल्ने ऊभित्रको पिरती-आगो
ओ अजनबी साथी
पृथ्वीलाई
सुटुक्क गरेको
प्रेमको झिल्का हो
यो कबाड़ी कविता
बाँच्दैन
यो प्यारो पृथ्वी
निकम्मा कविताले
पृथ्वी बाँचे
म बाँच्नेछु
तिमी बाँचेको हुनेछौ
र कविता पनि बाँचेको हुनेछ
आखिर कसरी बाँच्ला त
पृथ्वी ?
थाहा भए भनिदेऊ न
ओ अजनबी!