खै, म के बोलूँ ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खै, म के बोलूँ ?

कुनै मानिस सोसल मिडियामा देखिने वा सुनिने गरी एक्टिभ भएन भने अरू मानिस सोच्छन्, ‘फलानो केही बोलिरहेको छैन ! त्यो प्रतिगमनकारी हो कि क्या हो ? पुँजीवादी दलाल पो हो कि ? कि राजावादी हो, नभए अनुदार कम्निस्ट हो ?’
खगेन्द्र लामिछाने

खै म के बोलूँ !

बोल्ने विषय दुई–चार होइन, हजारौं छन् यहाँ । तर, आज–भोलि मलाई बोल्नै मन लाग्दैन । कहिलेकाहीँ मलाई पनि लाग्छ, किन मलाई बोल्न मन लाग्दैन ?

बोली केलाई भन्ने ?

आजको युगमा यो प्रश्न बडो गम्भीर भएर आएको छ, सबैमाझ । प्रविधिले आफूलाई एक्सप्रेस गर्ने माध्यम मानिसहरूको हातहातमा पुर्‍याइदिएको छ । त्यसैले मनमा लागेका कुरा मानिसहरू तुरुन्तै बोल्छन् । चाहे त्यसको नतिजा जेसुकै आओस् । पहिले कसैलाई केही भन्नुपर्‍यो भने हप्तौं वा महिनौं कुरेर भन्नुपर्थ्यो । अथवा चिठी पठाउनुपर्‍थ्यो । आजकल प्रविधिले मान्छेलाई कुर्नै नपर्ने बनाइदियो । कसैको समर्थन वा विरोध गर्नुपर्‍यो भने तपाईं आफू उभिएकै ठाउँबाट तुरुन्तै गर्न सक्नुहुन्छ ।

त्यसैले आजकल बोली हलुंगो भएको छ । पहिले बोलीको तुलना गोलीसँग हुन्थ्यो । आजकल खै कुन्नि केसँग पो हुन्छ !

अहिलेको समयमा बोली सुनिने वा देखिने माध्यम बनेको छ– सोसल मिडिया । कुनै मानिस सोसल मिडियामा देखिने वा सुनिने गरी एक्टिभ भएन भने मानिसहरू सोच्छन्, ‘फलानो केही बोलिरहेको छैन ! त्यो प्रतिगमनकारी हो कि क्या हो ? पुँजीवादी दलाल पो हो कि ? कि राजावादी हो, नभए अनुदार कम्निस्ट हो ?’

केही समययता मेरो फेसबुक पेजको इनबक्समा पनि शुभचिन्तक मित्रहरूका म्यासेज आउन थालेका छन् । म्यासेजमा राजनीतिक, सामाजिक अथवा भनौं समाजसेवाका विषयमा ‘तिमी किन बोल्दैनौ’ भन्ने खालका प्रश्नहरू हुन्छन् ।

मेरा शुभचिन्तक मित्रहरूको आग्रह होला– यो मान्छे प्रतिगमनकारी, पुँजीवादी दलाल, राजावादी अथवा कठोर कम्निस्ट केही पनि नभइदिए हुन्थ्यो ।

साँच्चै तपाईंले सोचेजस्तै म केही पनि होइन । हाम्रै समाजको एक असाध्यै साधारण मानिस हुँ । आमाको कोखबाट जन्म लिँदा म कुनै पुँजीवादी दलाल, प्रतिगमनकारी, राजावादी वा कठोर कम्निस्ट भएर जन्मेको होइन । म मानिसको रूपमा जन्मेको हुँ । त्यसैले म साधारण मानिस बनेरै जीवन बिताउन चाहन्छु । मनुष्य चोलामा एक दिन बिदा लिनु त छ नै । त्यति हो, यो पृश्वीमा मनुष्य चोला लिएबापत बोलेर मात्रै होइन, केही गरेर बिदा हुन चाहन्छु ।

नेपाल विषेशतः पहाडी क्षेत्र बढी भएको मुलुक हो । अहिले बाँझो देखिने पहाडका तरेली परेका खेत–बारीछेउ भएर तपाईं पक्कै पनि हिँड्नुभएको होला । फोटो पनि खिच्नुभएको होला र मुस्कानसहितको त्यही फोटो सोसल मिडियामा पोस्ट्याउनुभएको पनि होला । तर, ती पहाडका तरेली परेका खेत–बारी बनाउन कति पुस्ताले रगत–पसिना बगायो, कहिल्यै कल्पना गर्नुभएको छ ? उहिलेका मानिसहरू हामीजस्तो बोल्ने भएको भए सायद ती तरेली परेका खेत–बारी बन्ने थिएनन् । र, आज हामी धेरै नबोल्ने भएको भए ती खेत–बारी बाँझै बस्ने थिएनन् ।

तरेली परेका ती खेत–बारीका छेवैमा उभिँदा म बडो अलमलमा पर्छु, ‘म बोलौं कि केही गरौं ?’

तैपनि शुभचिन्तकहरू सोधिरहन्छन्, ‘देशमा यस्तो बेथिति छ, तिमी किन बोल्दैनौ ?’

फिस्स हाँसेर मनमनै भन्छु, ‘खै, म के बोलूँ !’

फेरि म को हो र बोल्नैपर्ने ?

तपाईंलाई लाग्ला, ‘लेखक/कलाकार भएर तैंले यस्तो भन्न पाउँछस् ?’

कलाकार मात्र होइन, यो देशका सबै नागरिक राष्ट्रका गहना हुन् भन्ने मान्यता राख्छु म । मैले लेख्नु, कलाकारिता गर्नु र किसानले जुम्लामा स्याउ फलाउनु, शेर्पाले हिमाल चढ्नु, वीरगन्जका कारखानामा मजदुरले काम गर्नु अनि एउटा डाक्टरले बिरामीको अप्रेसन गर्नु सारमा एउटै हो । नाम त हिमाल चढ्नेले पनि कमाउँछन्, स्याउ–सुन्तला फलाउनेलाई पनि मान्छेले चिन्छन् । प्रसिद्ध डाक्टर पनि छन्, प्रसिद्ध मजदुर पनि छन् ।

जति नै आदर्श छाँटे पनि मानिसमा सामाजिक अनि मनोवैज्ञानिक दबाब पर्छ नै । मलाई पनि त्यस्तै भयो ।

त्यसैले एक दिन म बोलें ।

कुरा गएको पुस महिनाको हो । चिसो बिहानीमा म पोखरा फेवातालको किनारमा हिँडिरहेको थिएँ । अचानक एउटा दृश्यले मेरा आँखा तान्यो । दृश्यमा एक जना दिदीले तालको किनारमा मज्जाले साबुनको फिँज निकाल्दै कपडा धोइरहनुभएको थियो । दृश्य देखेर बडो चित्त दुख्यो मेरो । टाढाबाट कपडा धोइरहेकी दिदी नचिनिने गरी फोटो खिचें । अनि होटलमा पुगेर फेसबुक पेजमा लेखें, ‘फेवाताललाई माया नगर्ने पोखरेली दिदी । सबेरै बिहान हिँड्न जाँदा देखेको यो दृश्यले मेरो बिहान नै बिगारिदियो ।’

प्रतिक्रिया सकारात्मक पनि आए, नकारात्मक पनि आए । मानिसहरूको सोचअनुसार नै प्रतिक्रिया आउने हो । क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै ! प्रतिक्रियामाथि फेरि प्रतिक्रिया दिइरहन जरुरी ठान्दिनँ म । तर, मैले लेखेको कुरा गलत थिएनजस्तो लाग्छ । अलि प्रकृतिप्रेमी छु, त्यसैले पनि मलाई खोला–नाला, रूख–पात, जंगल–ताल सबैको माया लाग्छ । तालको क्षेत्रफल मिचिएको खबरहरू पढ्दा दुःख लाग्छ । साबुनको फिँज निकाल्दै तालमा कपडा धोएको देख्दा चित्त दुख्छ । फेवातालमा बगिरहेका होटलहरूका ढलको कुरा सुन्दा त लाजै लाग्छ ।

तर, अब मैले तालको विषयमा केही नबोल्ने निर्णय गरेको छु । बरु तालमा डुङ्गा चढेर दिनभर घुमेका फोटाहरू सामाजिक सञ्जालमा सेयर गर्छु । म न अब तालको बारेमा फेसबुकमा लेख्छु, न ट्वीटरमा । यो मेरो नितान्त व्यक्तिगत निर्णय हो ।

बोल्न पाउनु मेरो अधिकारको कुरा हो भने, बोल्न नचाहनु पनि मेरो अधिकारको कुरा हो । त्यसैले अब म केही बोल्दिनँ !

पचासको दशकमा म पोखरामा पढ्दा सुनेको हुँ ताल संरक्षणको कुरा । बोलेर तालको संरक्षण हुने भए संसारकै उत्कृष्ट ताल बनिसक्थ्यो फेवाताल । धेरै मान्छेहरू घाँटी सुक्ने गरी कराए, कोकोहोलै मच्चाए । तर, ताल खिइँदै गयो दिनप्रतिदिन ।

त्यसैले अब म बोल्दिनँ । बरु, अब म केही गर्छु ।

म तालमा कहिल्यै कपडा धुन्नँ । पिसाब पनि गर्दिनँ । न सिँगान नै फाल्छु । न त तालको जग्गा नै मिच्छु । पोखरा जाँदा तालमा ढल फाल्ने होटलमा त झन् बस्दै बस्दिनँ ।

यति काम गरेपछि फेवातालको विषयमा अब म के बोलूँ ?

कस्सम म नबोलेको होइन !

२०४६ सालको जनआन्दोलनमा म बालक थिएँ । तर, पनि गाउँका दाइहरूले आयोजना गरेको राँके जुलुसमा राँको लिएर तोते बोलीमा नारा लगाउँदै, ‘पन्तायती वेवत्ता मुल्दाबात !’ भनेकै हुँ ।

माओवादी ‘जनयुद्ध’ ताका पनि हामी फरक तरिकाले बोल्यौं । सरकारको विरुद्धमा पनि बोल्यौं । माओवादीको विरुद्धमा पनि बोल्यौं ।

फेरि दोस्रो जनआन्दोलन भयो । कस्सम मैले आफ्ना दाँत हल्लिने गरी शंख बजाएको छु, त्यो आन्दोलनमा । नारा लगाउँदा घाँटी त कति पल्ट सुक्यो सुक्यो । त्योबेला जनता र जनताको नेतृत्व गर्ने झुन्डले धेरै बोलेर पो देशलाई लोद्दर लागेको हो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ, कस्सम !

देशमा बेथिति हुँदा मलाई पनि दुख्छ । मेरो मनमा पनि चण्डीज्वाला छुट्छ । रिसले भाउन्नै हुन्छ ! रिसले भाउन्न हुँदा मान्छेको नाकमा हान्यो भने त पुलिसले लगिहाल्छ । त्यसैले हामीले खुट्टा बजार्ने त भुइँमा हो । मुड्की बजार्ने भित्तामा हो ।

तर, जति नै रिसले भाउन्न भए पनि भुइँमा खुट्टा र भित्तामा मुड्की बजारियो भने आफैंलाई दुख्छ । त्यसको सट्टा कोदाली बजार्नुभयो भने जमिन खनिन्छ । खनेको जमिनमा बीऊ छर्नुभयो भने उम्रन्छ । फसल लाग्छ । पाक्छ । अनि खान पनि पाइन्छ ।

रिसलाई सदुपयोग गर्ने कि दुरुपयोग ? आफ्नै हातमा छ !

त्यसैले मित्र अब म बोल्दिनँ । पटक्कै बोल्दिनँ । तिमी खुसी भए पनि बोल्दिनँ, दुःखी भए पनि बोल्दिनँ । कस्सम, म बोल्दै बोल्दिनँ ।

थाहा छ ?

म बोलेको भए सायद ‘टलकजंग भर्सेस टुल्के’ का सबै डाइलग बोलेरै सकिन्थे । ‘पशुपतिप्रसाद’ लगायत अरू फिल्मका डाइलग पनि हावामा उडिरहन्थे । तर, मैले तिनलाई लेखें । त्यसैले फिल्म बन्यो । आज तपाईंले ती फिल्म हेरेर मज्जा लिँदै हुनुहुन्छ । मैले ती फिल्म लेखिरहँदा मनाङ र जुम्लाका किसानले स्याउ रोपेका थिए । चोकमा बसेर तिनै अर्ग्यानिक स्याउ नुनमा चोबेर खाँदै तपाईं फेसबुकमा लेख्दै हुनुहुन्छ, ‘आखिर तिमी किन बोल्दैनौ ?’

खै, म के बोलूँ ?

मैले बुझिसकें, अब त म बोल्दै बोल्दिनँ !

मैले चुड्की बजाएको भए मेरो कथासंग्रहका सबै कथा चुड्कीमै उड्थे । नाटकहरू त झन् चोकका रमितेहरूले मात्र हेर्थे होलान् । तर, मैले त्यसो गरिनँ । त्यसैले त ती पुस्तक बनेर तपाईंको बुक र्‍याकमा छन् होला ।

तरेली परेका खेतबारी मैले बाँझो राखेको छैन । त्यसैले घुम्दैफिर्दै मेरो बारीको सुन्तला तपाईंले चाख्नुभयो होला ।

अब त मैले झनै कुरा बुझें मित्र, म त अब बोल्दै बोल्दिनँ ! थाहा छ किन ?

सुन्नुस्...

माथि लेखेका कुरा ट्वीटरमा लेखेको भए सायद हप्तौंका लागि ट्वीट पुग्थे होला । फेसबुकमा लेखेको भए कैयौं हप्तालाई पुग्ने स्टाटस बन्थे होला ।

तर, मैले त्यसो गरिनँ । किन थाहा छ ?

यदि मैले त्यसो गरेको भए सामाजिक सञ्जाले भाषामा त्यो बक्‌बक् बन्थ्यो ।

सायद कोही बम्की पनि हाल्थ्यो, ‘एऽऽऽ तिम्रो बक्बक् धेरै भयो, बन्द गर !’

त्यसैले मैले बक्बक् गरिनँ ।

त्यसो नगरेको हुनाले अहिले यो आत्मपरकै भए पनि निबन्धात्मक लेख बनेको छ । र, तपाईंले बडो चाख मानेर अथवा रिसाउँदै पढ्दै हुनुहुन्छ ।

अझै गज्जबको कुरा के भएको छ थाहा छ तपाईंलाई ?

यो लेखेबापत मलाई पैसा पनि आउनेछ । सायद त्यसले मेरो भौतिक जीवनका दुई–चार दिनलाई सजिलो बनाइदिनेछ ।

‘....... ?’

...खै म के बोलूँ ?

प्रकाशित : माघ ८, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

गुरुकुलसँगै ब्युँझेका स्मृति

यहाँको राजनीति र परिवर्तन आगो पार गरेर आएको छ । रङ्गमञ्चले त्यो अनौठो अप्ठ्यारो यात्रालाई अनेकौं नाट्य प्रस्तुतिमा देखाएको छ । त्यो थलो थियो– गुरुकुल ।
अभि सुवेदी

थापागाउँस्थित कुञ्ज नाटकघरमा ३० पुस २०७८ मा ‘पुतलीको घर’ मञ्चन गरी गुरुकुल निकै वर्षपछि फेरि आयो । यो नर्वेली नाटककार हेन्रिक इब्सेन (१८२८–१९०६) ले लेखेको र अंग्रेजीमा ‘अ डल्स हाउस’ भएर सन् १८७९ मा प्रकाशित नाटक हो । यसलाई सुनील पोखरेलले नेपालीमा ‘पुतलीको घर’ (२०६३) शीर्षकमा रूपान्तरण गरेर गुरुकुलबाट छापेका हुन् । दक्षिण एसियामा उन्नाइसौं शताब्दीको यो युरोपेली नाटकलाई कालिक उद्बोधनका रूपमा प्रयोग गरियो । यस्तो चेतनाको पहिलो केन्द्र थियो– बंगाल ।

प्रसिद्ध बंगाली नाट्य निर्देशक शम्भु मित्रले सन् १९५८ मा बंगालीमा रूपान्तरण गरेर कलकत्ताको एक रङ्गमञ्चमा यो नाटक मञ्चन गरे । त्यसको शीर्षक थियो ‘पुतुल खेला’ अथवा ‘पुतलीको खेल’ । त्यसो त बंगालीमा यो पहिलो अनुवाद थिएन ।

त्यसभन्दा पहिला सन् १९५१ मा ‘पुतुलेर संसार’ शीर्षकमा प्रसिद्ध नाट्य निर्देशक उत्पल दत्तको निर्देशनमा यो नाटक कलकत्तामै प्रस्तुत भइसकेको थियो । तर, मित्रको अनुवाद र निर्देशनमा इब्सेनको यो नाटकको बढी प्रभावकारी प्रयोग भएको थियो । त्यसपछि मैले पढेअनुसार, सुनीलको अनुवाद यो भेगमा गरिएको अत्यन्त सफल प्रयोग हो । यो नाटक सुनीलले पहिले कसैलाई अनुवाद गराएर मलाई देखाए । केही नबुझिने त्यो अनुवाद देखेपछि मैले सुनीललाई भनें, ‘भाइ, तपाईं आफैं अनुवाद गर्नुहोस् ।’ त्यसपछि सुनीलले अनुवाद गरेको यो नाटकको पाण्डुलिपि हेरेपछि म अत्यन्त पुलकित भएको थिएँ ।

इब्सेनको यो नाटकको अनुवाद र मञ्चनको कथा चीन र जापानमा पनि छ, यहाँ विस्तृत लेख्न सकिँदैन । यसबाट नोर्डेली देशहरूमा इब्सेन एक पहिचान हुन् भन्ने बुझिन्छ । इब्सेनलाई नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्डका मानिसले आफ्नै नाटककारको रूपमा लिन्छन् । ती मृत्यु भइसकेका उन्नाइसौं शताब्दीका नाटककार इब्सेन नोर्डेलीका साझा पहिचान हुन् । एउटा वाचाल घटना छ । डेनमार्क एलबोर्ग सहरको थिएटरमा सुनीलले अक्टोबर २००३ मा ‘पुतलीको घर’ र ‘अग्निको कथा’ मञ्चन गराए । नेपालबाट नाटक प्रस्तुति गर्नेसँगै एउटा साझा सेमिनारमा भाग लिन लोकराज बरालसहित हामी केही एकेडेमिकहरू पनि गएका थियौं ।


अन्तिम दिन ‘अग्निको कथा’ सकिएपछि उनीहरूले एउटा पार्टी दिएका थिए । त्यसमा एक जना प्रोफेसरसँग मेरो पहिचान भयो । उनले मलाई सोधिन्, ‘प्रोफेसर, यो ‘अग्निको कथा’ लेख्ने नाटककार मरेको कति भयो ?’ कुरा वाचाल र रमाइलो थियो । तर, मेरो भनाइको अर्थ हो नोर्डेलीका निम्ति इब्सेन नै नाटककार हेर्ने मापदण्ड हुन्, जो विगतका भए पनि जीवित राखिराख्नुपर्ने एक संस्कृतिको पर्याय र माग हुन् । ती प्राध्यापकलाई नोराको भूमिकामा निशाले गरेको अभिनय अत्यन्त मन पर्‍यो । उनले निशाको अभिनयमा अर्कै संस्कृतिको घरायसी परिवेशमा पनि कसरी इब्सेनको नारी काल्पनिकीको प्रयोग हुने रहेछ भन्ने देखेको सुनाइन् । गुरुकुल माघ २३ गते २०५९ सालको दिन ‘अग्निको कथा’ मञ्चन गरेर बानेश्वर डाँडामा बनाएको सम नाटकघरमा आरम्भ भएको थियो । त्यही नाटक मञ्चन गरी पुस ३० गते २०६८ को दिन जमिनको लिज सकिएका कारण गुरुकुलले बन्द भएको घोषणा गर्‍यो ।

‘अग्निको कथा’ को मञ्च अनुप बरालले डिजाइन गरेका थिए, जुन सधैं रह्यो । पछि दिल्ली नाट्य फेस्टिभलमा यो नाटक गर्दा अनुप बरालले मुख्य पात्र ज्ञानको पाठ खेलेका थिए । दिल्लीका अखबारमा अनुपको अभिनयको प्रशंसा भएको पढ्यौं । यो बीचको समय आधुनिक नेपाली नाटक र रङ्गमञ्चका निम्ति अत्यन्तै महत्त्वपूर्ण रहिआएको छ ।

यो कालमा सक्रिय युवा निर्देशक, नाट्य कलाकार र लेखकहरूमा गुरुकुल र सुनील पोखरेलको प्रभाव देखिएको छ । तर, आधुनिक नेपाली नाट्यमञ्च र मञ्चनको यो कालमा सर्वनाम थिएटरका निर्माता, निर्देशक र लेखक अशेष मल्लले रचेको इतिहास अलग र स्वतन्त्र छ । अरू निर्देशक र कलाकारले पनि यो कालमा आफ्नै कामहरू गरे । त्यसमा अनुप बरालका आफ्नै शैली, काम र थिएटर थिए । त्यस्तै गुरुकुलसँग नजिकको सम्बन्ध भएका, तर स्वतन्त्र निर्देशक र नाटकहरू गर्ने पुष्कर गुरुङ यो कालमा सक्रिय थिए । यी सुनील पोखरेलका समकालीन मित्रहरू सबै अहिले पनि सक्रिय भएको कुरा महत्त्वपूर्ण छ भनेर उल्लेख मात्र गरेको हुँ । अनेकौं लेखक, शोधकर्ता र रङ्गमञ्चका इतिहासकारहरूले यो विषयमाथि लेखिआएका छन् । यो लेखको उद्देश्य केवल गुरुकुलको फेरि आरम्भ भएको सुखद कुराले प्रेरित भएर केही कुराहरू लेख्नु मात्र हो । गुरुकुलको विषयमा लेख्नु मेरा निम्ति अर्को कारणले महत्त्वपूर्ण छ ।


गुरुकुलकालमा मैले लेखेका पाँचवटा जति नाटक त्यही मञ्चमा प्रस्तुत भए । दुईवटाबाहेक ती सबै सुनीलको निर्देशनमा गुरुकुलमा त्यहीँका कलाकारले अभिनय गरेर प्रस्तुत भए । ती सबैमा मूल अभिनय गर्ने महिला पात्र निशा थिइन् । ती दुइटा नाटकचाहिँ मैले त्यही कालमा लेखेको ‘ठमेलको यात्रा’ थियो, जुन पुष्कर गुरुङको निर्देशनमा गुरुकुलमा वैशाख २०६१ मा मञ्चन भएको थियो ।

पुष्करले ब्रोसरमा लेखेका छन्, ‘नाटक गर्नुपर्छ भन्नेमा विशेष सुनील पोखरेल र अनिल पाण्डे दाइको उक्साइ, अनुप बरालको मञ्च परिकल्पना र राजन खतिवडा भाइको दिन–रातको मञ्च निर्माण/प्रपर्टी मेकिङ आदिको सामूहिक मद्दतले यो ठमेलको यात्रा निर्माणमा ठूलो सहयोग पुगेको छ ।’ नेपाली संस्कृतिमा आधारित सत्यमोहन जोशीले लेखेका नाटकहरू पनि गुरुकुलमा मञ्चित भए । अरू पनि धेरै भए । त्यस अर्थमा गुरुकुल मञ्च नाट्यकर्मीहरूको एउटा संगम भएको थियो । माओवादीकाल र त्यसको अन्त्यको चित्रण गरेर मैले लेखेको नाटक ‘मायादेवीका सपना’ निशाको निर्देशन र मूल अभिनयमा प्रस्तुत भएको थियो । त्यो नाटक निशाले दिल्लीमा नारी थिएटर फेस्टिबलमा र गुरुकुलमा सफलतापूर्वक प्रस्तुत गरेकी थिइन् । नाटककै माध्यमबाट त्यही कालको यो देशको सांस्कृतिक परिवर्तनको चित्र त्यसमा उल्लेख गरेको हुँ । गुरुकुललाई एकादेशको अमूक रङ्गमञ्चको कथाको रूपमा हेर्ने चलन छ । त्यसले भ्रम सिर्जना गर्छ । त्यस्तो धारणाले मूल कुरो नै छुट्छ ।

यो गुरुकुल नाट्य मञ्च र संस्थाले आधुनिक नेपाली रङ्गमञ्चमा खेलेको भूमिका र गरेको कर्म यसको एकल कथा होइन । सुनीलको भूमिका, उनको काल्पनिकी, सफलता र निराशाका कथा त्यसमा आउँछन् । त्यो अर्कै कथा हो, जसबारे अनेकौं लेख लेखिएका छन् । मैले पनि लेखेको छु । तीमध्ये ‘माइकेलान्जेलोको पग्लेको मर््तृि’ शीर्षकमा ‘कान्तिपुर’ १७ साउन २०७१ मा प्रकाशित लेख म सम्झिन्छु, जसमा सुनीलको विषयमा लेखेको छु ।

गुरुकुल वैश्विक थिएटर संस्कृतिको एउटा थलो भएको थियो, जुन नेपालमा त्यसअगाडि रचिएको थिएन । हामी सन् २००० मा अन्तर्राष्ट्रिय नाट्य संस्थाको सदस्य भएपछि यो क्षेत्रका बंगलादेश, भारत र नेपालका नाटकका साझा प्रस्तुति गर्ने थलो भयो, गुरुकुल । गुरुकुलले नाटक हेर्ने संस्कारको स्थापना गर्‍यो । त्यो बेला युवाहरूका भाष्यमा परिचित विषय अग्नि थियो । हामीले त्यो आगो लुकाएनौं, त्यसैको नाटक गर्‍यौं । तिनै युवाले आगोमा अन्तर्निहित विशाल सिर्जनाको सम्भावना देखे । हामीले त्यो भाष्य कवितामा राख्यौं । तिनै युवा नाटकका धरोहर भए । मैले भर्खरै गुरुकुलका निम्ति लेखेको छु, ‘स्थापनावादी, क्रान्तिकारी, पुरातनवादी र अभाँगार्दहरू सबै नाटक हेर्न र कति भाग लिन आए । गुरुकुल त्यसैले संगीत र चित्रकलाको पनि थलो भयो । विख्यात चित्रकारहरू कुची र क्यानभास लिएर गुरुकुल थिएटरमा, अझ नाटक चलिरहेकै बेला, चित्रकला बनाउन आए ।’

नेपाली राष्ट्रिय चरित्र हेर्दा यहाँको राजनीति र परिवर्तन आगो पार गरेर आएको छ । रङ्गमञ्चले त्यो अनौठो र अप्ठ्यारो यात्रालाई अनेकौं नाट्य प्रस्तुतिमा देखाएको छ । त्यो थलो मूलतः गुरुकुल थियो । गुरुकुल बन्द भएपछि खुलेका र युवाहरूले चलाएका सबै थिएटर त्यस्ता खोजी र नयाँ सिर्जनाका थलो भए । शिल्पी, मण्डला, कौसी, थिएटर मल, पुरानो घर र राष्ट्रिय नाचघरले अनेकौं नाटकलाई शक्ति र सिर्जनका थलोको रूपमा प्रयोग गरिआएका छन् ।

निशाले मलाई भनिन्, ‘अबको गुरुकुलमा म एउटा नयाँ किसिमको नाट्य संस्कृतिको नैरन्तर्य भएको हेर्न चाहन्छु । जिन्दगी यही हो, अनि म अर्को भाष्य जान्दिनँ ।’ तर, निशाले नजानेको अर्को भाष्य जटिल छैन । यो निशा र सुनीलको सहयात्रा हुनेछ । सुनीलले ‘नेपथ्य’ (अंक ८, २०६२) मा लेखे, ‘नाटकको प्रदर्शन सकिएपछि त्यसको प्रभाव हाम्रो घरसम्म आइपुग्छ । एकखालको डरलाग्दो खालीपन, आफूलाई रित्याएको अनुभव, एक्लोपन । अभि दाइले एउटा नाटक मेरो हातमा राखिदिनुभयो– ‘नाटकपछिको यात्रा’ । (यो नाटक उहाँकै ‘पाँच नाटक’ मा प्रकाशित भएको छ अहिले ।) हाम्रो घर एउटा अर्को मञ्च रहेछ भन्ने कुरा मैले त्यस दिन बुझें । अनौठो लाग्यो र एकदम डर लागेर आयो । अहिलेसम्म त्यो नाटक खेल्ने आँट गर्न सकेको छैन ।’

तर, अबको गुरुकुलको कर्म निशा र सुनीलको सहज र सिर्जनशील सहयात्रा हुनेछ ।

प्रकाशित : माघ ८, २०७८ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×