कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गुरुकुलसँगै ब्युँझेका स्मृति

यहाँको राजनीति र परिवर्तन आगो पार गरेर आएको छ । रङ्गमञ्चले त्यो अनौठो अप्ठ्यारो यात्रालाई अनेकौं नाट्य प्रस्तुतिमा देखाएको छ । त्यो थलो थियो– गुरुकुल ।
अभि सुवेदी

थापागाउँस्थित कुञ्ज नाटकघरमा ३० पुस २०७८ मा ‘पुतलीको घर’ मञ्चन गरी गुरुकुल निकै वर्षपछि फेरि आयो । यो नर्वेली नाटककार हेन्रिक इब्सेन (१८२८–१९०६) ले लेखेको र अंग्रेजीमा ‘अ डल्स हाउस’ भएर सन् १८७९ मा प्रकाशित नाटक हो । यसलाई सुनील पोखरेलले नेपालीमा ‘पुतलीको घर’ (२०६३) शीर्षकमा रूपान्तरण गरेर गुरुकुलबाट छापेका हुन् । दक्षिण एसियामा उन्नाइसौं शताब्दीको यो युरोपेली नाटकलाई कालिक उद्बोधनका रूपमा प्रयोग गरियो । यस्तो चेतनाको पहिलो केन्द्र थियो– बंगाल ।

गुरुकुलसँगै ब्युँझेका स्मृति

प्रसिद्ध बंगाली नाट्य निर्देशक शम्भु मित्रले सन् १९५८ मा बंगालीमा रूपान्तरण गरेर कलकत्ताको एक रङ्गमञ्चमा यो नाटक मञ्चन गरे । त्यसको शीर्षक थियो ‘पुतुल खेला’ अथवा ‘पुतलीको खेल’ । त्यसो त बंगालीमा यो पहिलो अनुवाद थिएन ।

त्यसभन्दा पहिला सन् १९५१ मा ‘पुतुलेर संसार’ शीर्षकमा प्रसिद्ध नाट्य निर्देशक उत्पल दत्तको निर्देशनमा यो नाटक कलकत्तामै प्रस्तुत भइसकेको थियो । तर, मित्रको अनुवाद र निर्देशनमा इब्सेनको यो नाटकको बढी प्रभावकारी प्रयोग भएको थियो । त्यसपछि मैले पढेअनुसार, सुनीलको अनुवाद यो भेगमा गरिएको अत्यन्त सफल प्रयोग हो । यो नाटक सुनीलले पहिले कसैलाई अनुवाद गराएर मलाई देखाए । केही नबुझिने त्यो अनुवाद देखेपछि मैले सुनीललाई भनें, ‘भाइ, तपाईं आफैं अनुवाद गर्नुहोस् ।’ त्यसपछि सुनीलले अनुवाद गरेको यो नाटकको पाण्डुलिपि हेरेपछि म अत्यन्त पुलकित भएको थिएँ ।

इब्सेनको यो नाटकको अनुवाद र मञ्चनको कथा चीन र जापानमा पनि छ, यहाँ विस्तृत लेख्न सकिँदैन । यसबाट नोर्डेली देशहरूमा इब्सेन एक पहिचान हुन् भन्ने बुझिन्छ । इब्सेनलाई नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्डका मानिसले आफ्नै नाटककारको रूपमा लिन्छन् । ती मृत्यु भइसकेका उन्नाइसौं शताब्दीका नाटककार इब्सेन नोर्डेलीका साझा पहिचान हुन् । एउटा वाचाल घटना छ । डेनमार्क एलबोर्ग सहरको थिएटरमा सुनीलले अक्टोबर २००३ मा ‘पुतलीको घर’ र ‘अग्निको कथा’ मञ्चन गराए । नेपालबाट नाटक प्रस्तुति गर्नेसँगै एउटा साझा सेमिनारमा भाग लिन लोकराज बरालसहित हामी केही एकेडेमिकहरू पनि गएका थियौं ।


अन्तिम दिन ‘अग्निको कथा’ सकिएपछि उनीहरूले एउटा पार्टी दिएका थिए । त्यसमा एक जना प्रोफेसरसँग मेरो पहिचान भयो । उनले मलाई सोधिन्, ‘प्रोफेसर, यो ‘अग्निको कथा’ लेख्ने नाटककार मरेको कति भयो ?’ कुरा वाचाल र रमाइलो थियो । तर, मेरो भनाइको अर्थ हो नोर्डेलीका निम्ति इब्सेन नै नाटककार हेर्ने मापदण्ड हुन्, जो विगतका भए पनि जीवित राखिराख्नुपर्ने एक संस्कृतिको पर्याय र माग हुन् । ती प्राध्यापकलाई नोराको भूमिकामा निशाले गरेको अभिनय अत्यन्त मन पर्‍यो । उनले निशाको अभिनयमा अर्कै संस्कृतिको घरायसी परिवेशमा पनि कसरी इब्सेनको नारी काल्पनिकीको प्रयोग हुने रहेछ भन्ने देखेको सुनाइन् । गुरुकुल माघ २३ गते २०५९ सालको दिन ‘अग्निको कथा’ मञ्चन गरेर बानेश्वर डाँडामा बनाएको सम नाटकघरमा आरम्भ भएको थियो । त्यही नाटक मञ्चन गरी पुस ३० गते २०६८ को दिन जमिनको लिज सकिएका कारण गुरुकुलले बन्द भएको घोषणा गर्‍यो ।

‘अग्निको कथा’ को मञ्च अनुप बरालले डिजाइन गरेका थिए, जुन सधैं रह्यो । पछि दिल्ली नाट्य फेस्टिभलमा यो नाटक गर्दा अनुप बरालले मुख्य पात्र ज्ञानको पाठ खेलेका थिए । दिल्लीका अखबारमा अनुपको अभिनयको प्रशंसा भएको पढ्यौं । यो बीचको समय आधुनिक नेपाली नाटक र रङ्गमञ्चका निम्ति अत्यन्तै महत्त्वपूर्ण रहिआएको छ ।

यो कालमा सक्रिय युवा निर्देशक, नाट्य कलाकार र लेखकहरूमा गुरुकुल र सुनील पोखरेलको प्रभाव देखिएको छ । तर, आधुनिक नेपाली नाट्यमञ्च र मञ्चनको यो कालमा सर्वनाम थिएटरका निर्माता, निर्देशक र लेखक अशेष मल्लले रचेको इतिहास अलग र स्वतन्त्र छ । अरू निर्देशक र कलाकारले पनि यो कालमा आफ्नै कामहरू गरे । त्यसमा अनुप बरालका आफ्नै शैली, काम र थिएटर थिए । त्यस्तै गुरुकुलसँग नजिकको सम्बन्ध भएका, तर स्वतन्त्र निर्देशक र नाटकहरू गर्ने पुष्कर गुरुङ यो कालमा सक्रिय थिए । यी सुनील पोखरेलका समकालीन मित्रहरू सबै अहिले पनि सक्रिय भएको कुरा महत्त्वपूर्ण छ भनेर उल्लेख मात्र गरेको हुँ । अनेकौं लेखक, शोधकर्ता र रङ्गमञ्चका इतिहासकारहरूले यो विषयमाथि लेखिआएका छन् । यो लेखको उद्देश्य केवल गुरुकुलको फेरि आरम्भ भएको सुखद कुराले प्रेरित भएर केही कुराहरू लेख्नु मात्र हो । गुरुकुलको विषयमा लेख्नु मेरा निम्ति अर्को कारणले महत्त्वपूर्ण छ ।


गुरुकुलकालमा मैले लेखेका पाँचवटा जति नाटक त्यही मञ्चमा प्रस्तुत भए । दुईवटाबाहेक ती सबै सुनीलको निर्देशनमा गुरुकुलमा त्यहीँका कलाकारले अभिनय गरेर प्रस्तुत भए । ती सबैमा मूल अभिनय गर्ने महिला पात्र निशा थिइन् । ती दुइटा नाटकचाहिँ मैले त्यही कालमा लेखेको ‘ठमेलको यात्रा’ थियो, जुन पुष्कर गुरुङको निर्देशनमा गुरुकुलमा वैशाख २०६१ मा मञ्चन भएको थियो ।

पुष्करले ब्रोसरमा लेखेका छन्, ‘नाटक गर्नुपर्छ भन्नेमा विशेष सुनील पोखरेल र अनिल पाण्डे दाइको उक्साइ, अनुप बरालको मञ्च परिकल्पना र राजन खतिवडा भाइको दिन–रातको मञ्च निर्माण/प्रपर्टी मेकिङ आदिको सामूहिक मद्दतले यो ठमेलको यात्रा निर्माणमा ठूलो सहयोग पुगेको छ ।’ नेपाली संस्कृतिमा आधारित सत्यमोहन जोशीले लेखेका नाटकहरू पनि गुरुकुलमा मञ्चित भए । अरू पनि धेरै भए । त्यस अर्थमा गुरुकुल मञ्च नाट्यकर्मीहरूको एउटा संगम भएको थियो । माओवादीकाल र त्यसको अन्त्यको चित्रण गरेर मैले लेखेको नाटक ‘मायादेवीका सपना’ निशाको निर्देशन र मूल अभिनयमा प्रस्तुत भएको थियो । त्यो नाटक निशाले दिल्लीमा नारी थिएटर फेस्टिबलमा र गुरुकुलमा सफलतापूर्वक प्रस्तुत गरेकी थिइन् । नाटककै माध्यमबाट त्यही कालको यो देशको सांस्कृतिक परिवर्तनको चित्र त्यसमा उल्लेख गरेको हुँ । गुरुकुललाई एकादेशको अमूक रङ्गमञ्चको कथाको रूपमा हेर्ने चलन छ । त्यसले भ्रम सिर्जना गर्छ । त्यस्तो धारणाले मूल कुरो नै छुट्छ ।

यो गुरुकुल नाट्य मञ्च र संस्थाले आधुनिक नेपाली रङ्गमञ्चमा खेलेको भूमिका र गरेको कर्म यसको एकल कथा होइन । सुनीलको भूमिका, उनको काल्पनिकी, सफलता र निराशाका कथा त्यसमा आउँछन् । त्यो अर्कै कथा हो, जसबारे अनेकौं लेख लेखिएका छन् । मैले पनि लेखेको छु । तीमध्ये ‘माइकेलान्जेलोको पग्लेको मर््तृि’ शीर्षकमा ‘कान्तिपुर’ १७ साउन २०७१ मा प्रकाशित लेख म सम्झिन्छु, जसमा सुनीलको विषयमा लेखेको छु ।

गुरुकुल वैश्विक थिएटर संस्कृतिको एउटा थलो भएको थियो, जुन नेपालमा त्यसअगाडि रचिएको थिएन । हामी सन् २००० मा अन्तर्राष्ट्रिय नाट्य संस्थाको सदस्य भएपछि यो क्षेत्रका बंगलादेश, भारत र नेपालका नाटकका साझा प्रस्तुति गर्ने थलो भयो, गुरुकुल । गुरुकुलले नाटक हेर्ने संस्कारको स्थापना गर्‍यो । त्यो बेला युवाहरूका भाष्यमा परिचित विषय अग्नि थियो । हामीले त्यो आगो लुकाएनौं, त्यसैको नाटक गर्‍यौं । तिनै युवाले आगोमा अन्तर्निहित विशाल सिर्जनाको सम्भावना देखे । हामीले त्यो भाष्य कवितामा राख्यौं । तिनै युवा नाटकका धरोहर भए । मैले भर्खरै गुरुकुलका निम्ति लेखेको छु, ‘स्थापनावादी, क्रान्तिकारी, पुरातनवादी र अभाँगार्दहरू सबै नाटक हेर्न र कति भाग लिन आए । गुरुकुल त्यसैले संगीत र चित्रकलाको पनि थलो भयो । विख्यात चित्रकारहरू कुची र क्यानभास लिएर गुरुकुल थिएटरमा, अझ नाटक चलिरहेकै बेला, चित्रकला बनाउन आए ।’

नेपाली राष्ट्रिय चरित्र हेर्दा यहाँको राजनीति र परिवर्तन आगो पार गरेर आएको छ । रङ्गमञ्चले त्यो अनौठो र अप्ठ्यारो यात्रालाई अनेकौं नाट्य प्रस्तुतिमा देखाएको छ । त्यो थलो मूलतः गुरुकुल थियो । गुरुकुल बन्द भएपछि खुलेका र युवाहरूले चलाएका सबै थिएटर त्यस्ता खोजी र नयाँ सिर्जनाका थलो भए । शिल्पी, मण्डला, कौसी, थिएटर मल, पुरानो घर र राष्ट्रिय नाचघरले अनेकौं नाटकलाई शक्ति र सिर्जनका थलोको रूपमा प्रयोग गरिआएका छन् ।

निशाले मलाई भनिन्, ‘अबको गुरुकुलमा म एउटा नयाँ किसिमको नाट्य संस्कृतिको नैरन्तर्य भएको हेर्न चाहन्छु । जिन्दगी यही हो, अनि म अर्को भाष्य जान्दिनँ ।’ तर, निशाले नजानेको अर्को भाष्य जटिल छैन । यो निशा र सुनीलको सहयात्रा हुनेछ । सुनीलले ‘नेपथ्य’ (अंक ८, २०६२) मा लेखे, ‘नाटकको प्रदर्शन सकिएपछि त्यसको प्रभाव हाम्रो घरसम्म आइपुग्छ । एकखालको डरलाग्दो खालीपन, आफूलाई रित्याएको अनुभव, एक्लोपन । अभि दाइले एउटा नाटक मेरो हातमा राखिदिनुभयो– ‘नाटकपछिको यात्रा’ । (यो नाटक उहाँकै ‘पाँच नाटक’ मा प्रकाशित भएको छ अहिले ।) हाम्रो घर एउटा अर्को मञ्च रहेछ भन्ने कुरा मैले त्यस दिन बुझें । अनौठो लाग्यो र एकदम डर लागेर आयो । अहिलेसम्म त्यो नाटक खेल्ने आँट गर्न सकेको छैन ।’

तर, अबको गुरुकुलको कर्म निशा र सुनीलको सहज र सिर्जनशील सहयात्रा हुनेछ ।

प्रकाशित : माघ ८, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?