२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

किन महिलाकै मात्र थर परिवर्तन ?

मसँग प्रश्नहरू दशकौंदेखि हुर्किरहेका छन्– किन महिलालाई मान्छेको व्यवहार गरिँदैन ? किन उनीहरूको अस्तित्व स्विकारिँदैन ?

थरका कुरा
एक किशारीको घटनाबाट विषय प्रवेश गर्छु । लेखक पारिजातको नेतृत्वमा कारागारका बन्दीहरूको मानव अधिकार सुरक्षार्थ बन्दी सहायता नियोग भन्ने एक गैरसरकारी संस्था स्थापना गरियो । संस्थाको सदस्य र कानुनी सल्लाहकारको हैसियतले जेलरको अनुमति लिएर म काठमाण्डु सदर कारागारको महिला विभागको अवस्था बुझ्न गएकी थिएँ ।

किन महिलाकै मात्र थर परिवर्तन ?

कारागारमा पस्नेबित्तिकै एउटी कलिली, लजालु किशोरीतर्फ मेरो ध्यान गयो । सानै उमेरमा कुन अपराधको सजाय भोगेकी होलिन् ? कौतूहलवश एकान्तमा लगेर प्रश्न गरेँ । किशोरीले भनिन्, ‘अँध्यारो हुनै लागेको थियो । गाउँको बजारबाट छिटो–छिटो घरतिर गइरहेकी थिएँ । एक्कासि एक जना पुरुषले तानेर मलाई घाँस–पातले भरिएको भुइँमा पछार्‍यो । र, जे गर्नु थियो गर्‍यो । म अत्तालिंदै घर भागेँ । घरमा कसैलाई पनि घटना भन्न डराएँ । मेरो पेट बढ्न थाल्यो । मैले उसै फुलेको होला भन्ठानें । केही महिनापछि पेटमा बच्चा चलमलाउन थाल्यो । डरले कसैलाई केही भन्न सकिनँ । एक साँझ पेट असाध्यै दुख्यो । दिसा गर्न खेतमा गएँ । दुखाइले छटपटिएँ र बेहोस भएँ । कति बेला होस आयो, थाहै पाइनँ । जुरुक्क उठेर घरतिर लागेँ । खेतमा के–कस्तो भयो थाहा पाइनँ । लुगा रग्ताम्य थियो, धोईधाई गरी अर्को लुगा फेरेर सुतेँ । धोएको लुगामा रगतको टाटो रहनु र खेतमा मृत शिशु फेला पर्नु— प्रमाण मौजुद थियो । भोलिपल्ट प्रहरीले मलाई पक्राउ गर्‍यो र बालहत्याको अपराधमा सजाय सुनायो । आमा–बुबाले कुलंगार ठहर्‍याएर मलाई त्यागे । म उनीहरूका निम्ति मरिसकेँ । प्रहरीले बलात्कारी खोज्ने प्रयासै गरेन । मलाई बलात्कारी को हो, अत्तोपत्तो छैन । भन्नुस् त दिदी म को हुँ ? मेरो जात के हो ? मेरो थर के हो ?’

त्यस दिन उनको बयान सुनेर अनि भयानक दयनीय अवस्था देखेर मेरा आँखा रसाए । मथिंगल हल्लियो । उसबेला मसँग मडारिएका प्रश्नहरू अझै मभित्र ज्युँदै छन् । उनलाई कसले अपनाउने ? उनको जात के ? थर के ? प्रश्न अनुत्तरितै छ । उनलाई अनागरिक घोषणा गर्ने ? कि जन्मसिद्घ नागरिकता दिएर स्थापित गर्ने ? परिवारले उनलाई मृतकसरह व्यवहार गर्‍यो । बलात्कारी पत्तो लगाउने दायित्व सरकारको होइन र ?

एउटा प्रश्न सधैं मभित्र बाँचिरहेको छ– विवाहपश्चात् महिलाको थर किन लोग्नेको थरमा गाभिन्छ ? यो प्रथा सरासर गलत छ । तर, के भनौं पाश्चात्य देशमा पनि महिलाको थर लोग्नेको थरमा गाभिएको छ । आखिर किन ? हाम्रो देशमा प्रशस्त मात्रामा महिला शिक्षित छन्, प्रतिष्ठित छन् । अधिकारका निम्ति जुर्मुराएका छन्, तर पुरुषले पत्नीउपर कब्जा जमाउन छाडेका छैनन् । जन्मँदै आफ्नो वंशको डीएनए प्राप्त गरिसकेकी महिलाको विवाहपछि डीएनए परिवर्तन हुन्छ ? यदि हुँदैन भने विवाहपछि महिलाको थर परिवर्तन हुने कारण एउटै हुन सक्छ, पत्नीमाथि आधिपत्य जमाउने प्रपञ्च वा षड्यन्त्र । आजभोलि धेरै महिलाले विवाहपछि पुर्खाकै थर राखेको देखिन्छ । वास्तवमा आफूलाई सबल घोषित गर्ने महिलाको यो एउटा साहसिक पाइलाको सुरुवात हो । हुन त थर परिवर्तन गर्ने/नगर्ने, यो विवाहित दिदी–बहिनीहरूको इच्छा हो । तर, विवाहपश्चात् थर परिवर्तन नगर्दा तपाईंको अधिकार राज्यले खोस्न सक्दैन । म यसमा दृढ छु । एउटा अपवाद छ– विवाहित तामाङ महिलाको थर परिवर्तन हुँदैन । यसमा तामाङ महिलालाई साधुवाद छ ।

मसँग प्रश्नहरू दशकौंदेखि हुर्किरहेका छन्– किन महिलालाई मान्छेको व्यवहार गरिँदैन ? किन उनीहरूको अस्तित्व स्विकारिँदैन ? म जान्ने भएदेखि नै महिलाहरूलाई घरधन्दामै सीमित देखें । व्यस्त महिलालाई एक चोक्टा आकाश हेर्ने फुर्सद पनि हुँदैनथ्यो । आफ्नै भाउजूहरू सम्झन्छु । कलमा चुटेको चामल खान नहुने परिवारका केही पुरुष सदस्यका निम्ति सखारै उनीहरू ढिकीमा धान कुट्न ओर्लिसकेका हुन्थे । भान्से बाहुनबाहुनीको उपस्थिति हुँदाहुँदै पनि तरकारीको जोहो गर्ने दायित्व भाउजूहरूकै हुन्थ्यो । संयुक्त परिवारका अड्डा धाउने पुरुष र विद्यालय जाने केटाकेटी सबैको आवश्यकता पूरा गरीवरी खान बस्दा आधा दिन ढलिसकेको हुन्थ्यो । साँझ परेपछि उनीहरूकै निम्ति खाना खुवाउने कामले सास फेर्ने फुर्सद पाउँथेनन् । सारा कामबाट निवृत्त भएर राति खाना खाँदा दस बजिसक्थ्यो । त्यस बेलाका महिला सम्झिँदा प्रश्न गर्न मन लाग्छ– के उनीहरू मानिस भएरै बाँचे ? तुलनात्मक दृष्टिले नियाल्दा अहिलेका विवाहित महिलाको अवस्था धेरै फेरिएको छ । तथापि पुरुष आधिपत्यबाट अझै महिलाहरू स्वतन्त्र छन् भन्न सकिँदैन । जतासुकैबाट अंकुश लगाइएको मात्र होइन, विवाहपश्चात् समेत महिलालाई लोग्नेको थरमा परिणत गराइन्छ, यसो भनौं महिलालाई अस्तित्वविहीन बनाइन्छ ।

मनुस्मृति र महिला

वेदबाट परिमार्जित मनुस्मृति हिन्दु धर्ममा आधारित ब्राह्मणबाद हो । आर्यहरूबाट हालीमुहाली गरी वर्णन गरिएको एक हिन्दुवाद ! डा. भीम राव अम्बेडकरले जलाएका थिए अमानवीय मनुस्मृति ।

मनुस्मृतिको एउटा पाटो केलाउनु आवश्यक छ, जुन हास्यास्पद छ । मनुस्मृतिअनुसार, महिलाले सिँगारपटार गरी आफ्नो पुरुष पतिको इच्छानुसार आचरण गरे ईश्वर खुसी हुन्छन् रे । यो ईश्वर भन्ने को हो ? कहाँ छ ? के मनुले देखेको छ ? यदि छ भने अरूले किन देख्दैनन् ? भक्तिभावले ईश्वरको ध्यान गरे ईश्वर प्रकट हुन्छन् रे ! यी मिथ्या कथनले मानिसलाई सधैं भुलभुलैयामा बाँच्न बाध्य बनाएको छ । महिलालाई आदर गर्नुपर्छ भन्दै स्वाभिमानलाई वन्धक बनाई सदिऔंदेखि उनको स्वतन्त्रता हनन गरिएको छ । मनुस्मृतिको धर्मशास्त्रले महिलालाई सधैं पुरुषले लादेको पराधीनतामा बाँधेको छ ।

म पोखरामा छँदाको एउटा पुरानो घटनामा पस्छु । एक जना अधबैंसे जमिनदार थिए । उनको परिवार ठूलो थियो– १४ जना श्रीमतीका उनी एक्लो पति । जग्गाहरूको स्याहार गर्न खेताला राख्दा पैसा नाश हुने भयले उनले १४ श्रीमती भित्र्याए । परिवार संख्याअनुसार, समान रूपले जग्गा वितरण गरे । उनी भन्थे, ‘सबै पत्नीहरू असाध्यै सुखी छन् र शान्त छन् । जग्गा कुनै बाँझो छैन, सबै हराभरा छन् । म पनि ज्यादै खुसी छु ।’ सबै श्रीमती आ–आफ्नो जग्गाको उब्जनी आफैं गर्थे, बचेको पैसा आफैं राख्थे । ‘सबै श्रीमती ब्राह्मण जातकै त होलान् नि ?’ उनलाई मेरो प्रश्न थियो । उनले भनेका थिए, ‘सबै एकै जातका छैनन् । फरक के पर्‍यो र सबै जना शान्त र सुखी छन् । तर, शूद्र जातको चाहिँ कोही छैन ।’ उनले मनुस्मृति अध्ययन गरे/ गरेनन् थाहा भएन । तर, मनुको मनसाय चरितार्थ गरेका थिए ।

मनुस्मृतिमा भनिएको छ– ब्राह्मण, क्षत्रिय र वैश्यले अन्तरजातीय विवाह गर्न पाउँछन्, तर शूद्रले शूद्रसँग मात्रै विवाह गर्न सक्छ । अन्तरजातीय विवाहबाट जन्मेका सन्तान अहिले सयौं थरमा विभाजित भइसकेका छन् । सायद ब्राह्मणहरूले वंशको संख्या बढाउन अन्तरजातीय विवाहलाई मान्यता दिएका हुन् कि ?

प्रकाशित : माघ १, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?